कालीकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ ।

सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो ।

उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताउनुभयो ।

“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उहाँले भन्नुभयो, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा आइतबारदेखि नियमित सञ्चालनमा आएको छ ।”

अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पु¥याउने लक्ष्य रहेको छ ।

यसअघि कोभिड–१९का सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा।सुनारको भनाइ थियो ।

उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् ।

अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन् ।

प्राविधिक धारका फरक फरक पाठ्यक्रम समायोजनको तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा एकरुपकता ल्याउन पाठ्यक्रम समायोजनको तयारी भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।

सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ ।

तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सिटिइभिटीको तीनवर्षे डिप्लोमा कार्यक्रमसमेत सञ्चालनमा छ ।

शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सिटिइभिटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरकरूपमा सञ्चालन भइरहेको छ ।

सिटिइभिटीको कार्यक्रम सामुदायिक विद्यालय, उसका आंगिक तथा सम्बन्धन प्राप्त शिक्षालयमा सञ्चालन भइरहेका छन् ।

माध्यमिक तह (९–१२) मा चार सय ८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालित छन् ।

त्यसैगरी, साढे ५०० भन्दा बढी माविमा सिटिइभिटीको डिप्लोमा कार्यक्रम सञ्चालन छ ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिकरूपमा तयारी भएको जानकारी दिनुभयो ।

पाठ्यक्रममा समायोजन, एकीकरण र अद्यावधिकीकरणका लागि प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)का व्यवस्थापन बोर्डका अध्यक्ष प्रा डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सिटिइभिटीका सदस्यसचिव, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक र राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव सदस्य रहेको समिति बनेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको छलफलपछि समिति बनेको हो ।

समितिले अहिले कार्यान्वयनमा रहेका सामुदायिक माध्यमिकमा सञ्चालित प्राविधिक धार कक्षा ९–१२ र प्राविधिक तथा व्यावसायिक तालिमअन्तर्गत शिक्षालय, सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालित प्रि–डिप्लोमा तथा डिप्लोमा कार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको मागसमेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रम तयार गरी ३० दिनभित्र पेस गर्ने जिम्मा दिएको छ ।

माध्यमिक तह ९–१२ मा कृषि, भेटेरिनरी, सिभिल, इलेक्ट्रोनिक्स, कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ । सिटिइभिटीमा धेरै कार्यक्रम छन् ।

शिक्षा मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति बनाएको छ ।

मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा शिक्षा तथा मानव स्रोेत विकास केन्द्रको उपमहानिर्देशक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को महाशाखा प्रमुख सदस्य रहने समिति बनाएको छ ।

कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल

कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ ।

कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो ।

“खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो कांग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौं,” उहाँले भन्नुभयो, “व्यासमा थुप्रै पूर्वाधार बनेको छ, कांग्रेसले जितेका कारण यो सम्भव भएको हो ।”

कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल

भारतको राजदूतमा डा. शर्मा नियुक्त

भारतको राजदूतमा डा. शर्मा नियुक्त

काठमाडौँ-भारतका लागि नेपालको आवासीय राजदूतमा डा. शङ्करप्रसाद शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि राजदूतमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई नेपालको संविधानको धारा २८२ अनुसार उक्त पदमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।

भारतको राजदूतमा डा. शर्मा नियुक्त

न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस

न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस

काठमाडौँ-न्याय सेवा आयोगको बैठकले १८५ जना कर्मचारीको सरुवा गरेको छ ।

बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृतको सरुवा गरेको हो ।

आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ ।

लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस

वनका २ सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ-सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले दिपक थापा मगरसँग २ लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सुनसरीको साबिक वराहक्षेत्र गाविस वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्यधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम अधिकतम सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

काठमाडौँ-विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे ।

त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस्था कम हुने सकारात्मक सङ्केत देखिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले हालै जारी गरेको ‘निर्वाचन आचारसंहिता–२०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ व्यवस्थाले शिक्षालयमा दलगत राजनीतिक हस्तक्षेप रोक्न कडाइ गरेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले यही चैत ३ गते नेपाल राजपत्रमार्फत जारी गरेको सो आचारसंहिता यही चैत १५ गतेदेखि लागू हुँदैछ ।

आचारसंहिताको परिच्छेद २ को ‘ग’ अनुसार ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ व्यवस्था कायम गरिएको हो ।

परिच्छेद ४ को ‘ट’ ले राजनीतिक दल, उम्मेदवार वा दलका भातृ सङ्गठनले १८ वर्ष पूरा नभएका बालबालिकालाई चुनावी प्रचारप्रसार, धर्ना जुलुस, आमसभामा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

सोही आचारसंहिताको परिच्छेद २ को ‘छ’ अनुसार १८ वर्ष पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने, परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकले कुनै पार्टीको प्रचारप्रसार गर्न नपाउने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुने, शिक्षकहरुले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन र मत माग्न नपाइने उल्लेख गरिएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिताको अनुगमनका लागि केन्द्रस्तरमा एक आयुक्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति र जिल्लास्तरमा पनि अनुगमन समिति तथा केन्द्रबाट नेपाल सरकारका सचिवस्तरको नेतृत्वमा विशेष अनुगमन टोली खटाइने बताउनुभयो ।

आचारसंहिताको उलङ्घन भएको उजूरी प्राप्त भएमा त्यसको अध्ययन गरी कारबाही गर्न आयोगले उचित निर्णय लिने उहाँले जनाउनुभयो ।

विद्यालयमा मतदान केन्द्र (बुथ) पनि नराख्न आउने गरेका आग्रहलाई भने आफूहरुले हाललाई कार्यान्वयन गर्न नसक्ने उहाँको भनाइ छ ।

निर्वाचनका समयमा विद्यालय बन्द हुने र सो क्रममा नाबालिगको प्रयोग नहुने भएकाले विद्यालयमा बुथ राखेर बालबालिकाको अधिकार हनन् नहुने सहायक प्रवक्ता अर्यालको तर्क छ ।

बाल संरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)सहित विभिन्न संस्थाले आचारसंहितामा ती विषय समावेश गर्न गत महिना आयोगका पदाधिकारीलाई सुझाव दिएका थिए ।

सिजपका अध्यक्ष राजेश शर्माले निर्वाचन आचारसंहितामा पहिलो पटक दलहरुले प्रचारप्रसारका क्रममा विद्यालयको प्रयोग गर्न नपाइने व्यवस्था हुनु आफूहरुको आवाजको सुनुवाइ भएको बताउँदै यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्छ भन्नुभयो ।

उहाँले आफूहरुले बालअधिकारबारे उठाएका अधिकांश माग सम्बोधन भएको जनाउँदै अनुगमनमा सघाउने बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालका अध्यक्ष कृष्ण थापाले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने प्रावधान सकारात्मक भएको जनाउँदै निर्वाचनमा बुथ राख्दा त्यहाँ झै–झगडा र झडप हुनसक्ने भएकाले निर्वाचनमा प्रयोग भएका विद्यालयका कोठा र भौतिक सामानको बीमा वा क्षतिपूर्तिका लागि सोचिनुपर्ने बताउनुभयो ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को शिक्षासम्बन्धी हक, बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ मा शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको व्यवस्था गरिएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका–२०६८ ले विद्यालयलाई सशस्त्र गतिविधि, हिंसा, दलगत राजनीति तथा अन्य हस्तक्षेप, भेद्भाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाटमुक्त राख्ने व्यवस्था गरेको छ ।

विसं २०६३ मङ्सिर ५ को विस्तृत शान्ति सम्झौतापछि नेपाल सरकारले २०६८ जेठ ११ मा मन्त्रिपरिषद्बाट विद्यालय शान्ति क्षेत्रको अवधारणा पारित गरेको थियो ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार विद्यालयमा हुने त्यस्ता गतिविधि बालबालिकाविरुद्धको कसुर हो । यो कसुरका लािग रु ७५ हजारसम्म जरिवाना र तीन वर्ष कैद हुनसक्ने प्रावधान छ ।

यस्तो काम नैतिक पतन हुने फौजदारी कसुर मानिएको छ । सिजपले जुलुुस तथा कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न, कुनै पनि बहानामा विद्यालय बन्दजस्ता गतिविधि नगर्ने, हुन नदिने र शान्तिपूर्ण सुरक्षित तथा बालमैत्री वातावरणमा शिक्षण सिकाइको प्रत्याभूति गराउने वातावरण गराउन स्थानीय सरकारको पनि ध्यानाकर्षण गराउँदै आएको छ ।

तत्कालीन नेकपा (माओवादी)को सशस्त्र युद्धकालमा २०६० असोज २६ गते डोटीको मुढभरास्थित शारदा उच्च माध्यमिक विद्यालयमा विद्रोही पक्षको सांस्कृतिक कार्यक्रममा सुरक्षा निकायबाट भएको गोली प्रहारका क्रममा चार विद्यार्थीसहित दशको मृत्यु तथा केही विद्यार्थी घाइते भएपछि अधिकारकर्मीले बालबालिका शान्ति क्षेत्र र विद्यालय शान्ति क्षेत्रका लागि आवाज उठाउन थालेका थिए ।

लालपुर्जाविहीनका बारेमा छानबिन टोली

काभ्रेपलाञ्चोक-पैतालिस वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न छानबिन टोली फिल्डमा पठाइएको छ ।

दुई वडामा खटेको दुई टोलीले कोरोना सङ्क्रमणको उच्च जोखिमलगायत विभिन्न कारण दुई वर्षदेखि रोकिएको छानबिनको कामलाई निरन्तरता दिने जनाएको छ ।

उक्त गाउँपालिकाको वडा नं ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले टोली पठाइएको नापी कार्यालयले जनाएको छ ।

गाउँपालिका, सम्बन्धित वडा कार्यालय तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच पटक–पटकको छलफलपपछि पुनः टोली पठाउने सहमति भएको हो ।

“आन्तरिक विवादलगायत रोकिएको कामलाई निरन्तरता दिन दुई टोली खटाइएको छ उहाँहरुले रोकिएको काम पुनः सुरु गर्नुभएको छ,” नापी कार्यालयका प्रमुख राम विनयकुमार सिंहले भन्नुभयो ।

यो पटक पठाइएको टोलीले आन्तरिक विवादसँगै लालपुर्जा वितरणसम्बन्धी वृहत्रुपमा अध्ययन गर्नेछ ।

दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई शाखा स्थापना गरिएकामा नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकिएको थियो ।

कोरोनाको जोखिम घटेपछि २०७७ मङ्सिरदेखि पुनः काम थालिए पनि केही काम नहुँदै पुनः कोरोनाको दोस्रो लहरले छानबिनलाई थाती राखिदियो ।

गत पुसदेखि काम पुनः थालिने गरी टोली पठाइने तयारी गरे पनि कोरोना तेस्रो लहरका कारण नसकिएको उहाँले बताउनुभयो ।

त्यसयता छानबिनका लागि टोली पठाउन ती कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वय भएको थियो ।

करिब दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका ती शाखा कर्मचारीविहीन अवस्थामा थिए ।

फिल्डमा खटेको नापीको टोली स्थापनाको केही महिनापछि नै फर्किएपछि ४५ वर्षदेखि लालपुर्जाको पर्खाइमा बसेका करिब एक हजार दुई सय परिवारमा पुनः निराशा छाउनका साथै लालपुर्जा वितरणमा थप अन्योल हुँदै आएको थियो ।

साबिकको पीपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्व तहको विवादका कारण नापी टोली फर्किएको थियो ।

त्यसपछि भुम्लू गाउँपालिकाले सात र आठ नं वडाका बासिन्दाको जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा माग गरेकामा त्यहाँ कार्यालयको दुई शाखा राखिएको थियो ।

जग्गाको नक्साङ्कन गर्न लाग्दा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डमा खटिएका नापी र मालपोतको दुबै शाखामा २०७७ माघ महिनासम्म लालपूर्जाका लागि निवेदन दिएका थिए ।

करिब ३०० को लालपुर्जा तयार भइसके पनि कोरोना सङ्क्रमणका कारण करिब डेढ वर्षसम्म जमिन छानबिन गरी लालपुर्जा वितरणको काम रोकिएको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।

“छानबिन गरी पुर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकाले त्यसबारे गहनरुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको छ,” उहाँले भन्नुभयो ।

साबिकको भुम्लुटार र फलाँटे गाविसबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् । कार्यालयका अनुसार ७ नं वडास्थित कार्यालयमा ९३२ र ८ नं मा ३१७ थान निवेदन दर्ता भएको छ ।

निवेदन बुझ्ने काम भए पनि थप प्रक्रिया अघि बढेको थिएन ।

नापीले मालपोतबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्ता गरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ ।

हाल दुवै वडामा तेस्रो पक्षका व्यक्तिमा किनबेच नभएको जग्गा मात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निक्र्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको जनाइएको छ ।

“निवेदनउपर छानबिन गरी जग्गादाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिरहेका बेला कोरोनाले काममा असर पार्‍यो, लामो छलफलपछि कामलाई निरन्तरता दिन कर्मचारी खटेका छन्, अब काम अघि बढ्ला !,” गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भन्नुभयो ।

बैंक वित्तीय संस्थामा तरलताको सङ्कट: घरजग्गाको कारोबारमा बहार

काठमाडौँ-बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ ।

गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ ।

यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन् ।

संशोधनतर्फ कूल चार हजार ५३९, हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ ।

घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ ।

गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ ।

गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए । यस्तै घर जग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए ।

संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए ।

बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ ।

विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै रु छ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व सङ्कलन भएको छ ।

रजिष्टे«शन दस्तुरबाट रु तीन अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९ ,अतिरिक्त शुल्कबाट रु चार लाख दुई हजार ५४५ पूँजीगत लाभकरबाट रु एक अर्ब ४४ करोड ४६ लाख तीन हजार तीन बराबरको राजश्व उठाइएको छ ।

सो महिना मात्रै घर जग्गाको कारोबारमा रु ५५ करोड ६५ लाख ९४ हजार ४०९ बराबरको छुट समेत पाएका छन् ।

बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा रु ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले रु ४५ करोड ३२ लाख छ हजार ३५३ बराबरको राजस्व सङ्कलन गरेको छ ।

मालपोत कार्यालय कलङ्कीले रु ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले रु १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले रु १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले रु ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व सङ््कलन गरेको छ ।

यस्तै, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व सङ्कलन गरेको छ ।

विभागको विवरण अनुसार लखनखेल मालपोतले रु ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व सङ्कलन भएको छ ।

यस्तै, मालपोत कार्यालय बाँकेले रु ११ करोड २३ हजार ४०९,मालपोत कार्यालय कास्कीले रु १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले रु १६ करोड २८ लाख ३४ हजार ८७७ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले रु नौ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले रु तीन करोड ३५ लाख ८४ हजार ३३८ बराबरको राजस्व सङ्कलन गरेको छ ।

केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व सङ्कलन गरेको छ ।

त्यसमा सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका दुई मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका तीन मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम सङ्कलन गरेको छ ।

प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमासमेत सो कोषमार्फत घर जग्गाको कारोबार गर्दा रकम सङ्कलन गरिएको छ ।

त्यसबापत रु चार करोड २९ लाख ५१ हजार ७९४ बराबरको रकम सङ्कलन भएको छ ।

न्याय सेवा आयोगको बैठक बस्दै: नियुक्ती र सरुवाको निर्णय हुने

न्याय सेवा आयोगको बैठक बस्दै: नियुक्ती र सरुवाको निर्णय हुने

काठमाडौँ-आज न्याय सेवा आयोगको बैठक बस्ने भएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय सेवा आयोगको बैठक बोलाएका हुन् ।

कामु प्रधानन्यायाधीश कार्कीले आजको बैठकमा नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्ने समाचार स्रोतले बताएको छ ।

आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपराह्न २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएको न्याय परिषद् स्रोतले बताएको छ ।

लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन बैठकमा मुख्य एजेन्डाका रुपमा रहेको छ ।

त्यसै गरी आजको बैठकले न्याय सेवाका केही कर्मचारीहरुलाई सरुवा समेत गर्ने बताइएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मिरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।

न्याय सेवा आयोगको बैठक बस्दै: नियुक्ती र सरुवाको निर्णय हुने

झलनाथको क्षेत्रमा ओलीको जनसभा

काठमाडौँ-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज इलामको सूर्योदय नगरपालिकामा बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

अघिल्लो निर्वाचनमा झलनाथ खनालले चुनाव जितेको क्षेत्रमा आज ओलीले सम्बोधन गर्ने छन् ।

एमालेले आयोजना गरेको बृहत् जनसभालाई अध्यक्ष ओली आज सम्बोधन गर्न इलाम पुगेका हुन् ।

जनसभाको आयोजना गरेको एमालेले पार्टीको नीति बिचार कार्यक्रम तथा चुनावी एजेण्डालाई आम जनतासम्म पुर्‍याउन उक्त जनसभा बिशेष रहेको जनाएको छ ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।

जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने बताइएको छ ।

वैशाखी टेकेर नभइ माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ

वैशाखी टेकेर नभइ माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताउनुभएको छ ।

प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो,“देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ अरु पार्टीसँग जाने होइन । माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको छ ।”

उहाँले केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ तर निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपिल गर्दछु ।”

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर माओवादीले प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाएको बताउँदै उहाँले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

वैशाखी टेकेर नभइ माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ

उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा.भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनुभएको छ ।

शनिबार चितवनको सौराहमा सम्पन्न सङ्घको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतरूपमा डा भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणि बाँस्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा दुर्गाप्रसाद गौतम र देवेन्द्रप्रसाद चौलागाईँ, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवमा शोभा कोइराला, शोभाकान्त बस्याल, विक्रम लिम्बू चेम्जोङ र प्रेम बस्नेत रहनुभएको छ ।

अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भीमलाल पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले अबको युग निर्माणको भएकाले उद्योगी व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समृद्धिको यात्रामा पूँजीको विकास गर्नुपर्छ, त्यसका लागि उद्योगीहरूको भूमिका महत्वपूर्ण रहन्छ ।” साधारणसभामा अध्यक्ष डा भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव ईश्वरबहादुर गुरुङले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन पारित भएको छ ।

विसं २०७० मा स्थापना भएको नेपाल उद्योग सङ्घ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घअन्तर्गतको संस्था हो ।

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ ।

यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् ।

१८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ ।

जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।

नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ ।

केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् ।

यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ । नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ ।

१८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसङख्या मात्र बाँकी छ ।

विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड-दक्षिण एसियामा नेपाल

संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ ।

लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।

दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ ।

गत वर्ष भारत १३९औँ स्थानमा थियो ।

दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ ।

अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।

फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।