सिरहामा इँटा हानाहान हुदा ५४ वर्षीय पुरुषको मृत्यु

काठमाडौं – सिरहामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान हुदा ५४ वर्षीय पुरुषको मृत्युभएको छ । सिरहा नगरपालिका–१३ फुलवरियामा शनिवार पर्खाल लगाउने विषमा विवाद हुँदा इँटा हानाहान भएको थियो ।

इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ । कुटपिटमा संलग्न स्थानीय ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्‍म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले बताए ।

शनिवार पर्खाल लगाउने विषमा विवाद हुँदा इँटा हानाहान प्रहारबाट गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागी प्रादेशिक अस्पताल सिरहामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी बुढाथोकीले बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरिरहेको छ ।

ताप्लेजुङ मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ

काठमाडौंं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियारको टोलीले आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।

ताप्लेजुङ फुङलिङ नगरपालिका- ४ कोप्चेबाट नियन्त्रणमा लिइएका मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारको दावी छ।

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरण सुरु

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो।

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।

विवाह स्थलबाट लडेर पुरुषको मृत्यु

काठमाडौं -सल्यानमा लडेर ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
भल्चौरमा आफन्तको छोरीको विवाहमा गएका दार्मा गाउँपालिका ४ गलातका ५६ वर्षीय सप्तप्रकाश मल्लको शनिबार राति लडेर मृत्यु भएको हो ।

विवाह स्थलबाट उनी झन्डै ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

मृत्यु भएका मल्लको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका अनुसार मृत्यु भएका मल्लको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

आज सुनको मुल्य तौलमा कति छ ?

काठमाडौं- सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५०० तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ९०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६० कायम रहेको महासङ्घले जनाएको छ ।

तराईका बिभिन्न जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस

काठमाडौं – तराईका बिभिन्न जिल्लामा बिहानदेखि नै घाम लागेको छ । तर, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश–१ का पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । यस्तै, पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढ्दो छ ।

गएको २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै, जनकपुरको ३९ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जको ३९ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव ५ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ८ डिग्री सेल्सियस, धनगढीको ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।

तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह गरेको छ।

बिजुलीको पोलमा ठोक्किदा दुई युवाको मृत्यु

काठमाडौं – काठमाडौंको काँडाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान सवा ६ बजे मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

काठमाडौं- राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन- यस्तो छ समयतालिका

काठमाडौं – राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

राष्ट्रिय परिक्षा बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाएको छ ।
यस्तो छ समयतालिका

आज कुन कुन स्थानमा वर्षाको सम्भावना ?

काठमाडौं – आज पनि राष्टिूय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभाव बारे बिवरण सावजनिक गरेको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।

जिल्ला तहको रिपोर्ट सुन्दा उत्साहित र आशावादी हुने अवस्था छैन: अध्यक्ष नेपाल

काठमाडौं-पाँच दलीय गठबन्धनबारे जिल्ला तहको रिपोर्ट सुन्दा आफ्नो पार्टीले उत्साहित र आशावादी हुने अवस्था नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

७३ औँ कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘पाँच दलीय गठबन्धनमा छलफल भइरहेको छ।

तर, तल्लो तहको रिपोर्ट सुन्दा उत्साहजनक छैन । पहिलो चरणको सहमति उत्सावर्द्धक नै थियो । महानगर र उपमहानगरको सहमति गरेको छौँ । महानगरको भागबण्डाले राम्रो सन्देश गरेको छ।’

उनले आफ्नो पार्टीको संगठन देशव्यापी भए पनि गठबन्धनमा रहेका दलहरूको तीव्र आकांक्षाले समस्या भएको बताए।

अध्यक्ष नेपालले भने, ‘देशैभर हाम्रो पार्टीको संजाल छ। हामीले हाम्रो हैसियत अनुसारको न्युनतम सबै जिल्लामा पाउनुपर्छ भनेका छौँ । कांग्रेस, माओवादी र जसपाले जितेको ठाउँमा ठिकै छ ।

एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ। सबैको आकांक्षा बढ्दो रहेछ। कांग्रेसका कतिपय नेताहरू गठबन्धनप्रति इमान्दार देखिएका छैनन्।’

उनले एमालेमा रहेका नेताहरूलाई ओली सुध्रिने मान्छे नभएकाले विद्रोह गरेर आफ्नो पार्टीमा आउन आह्वान गरे ।

एमालेमै बसेर समय सकिएपछि निराश भएर राजनीति बन्द गर्नुपर्ने अवस्था आउनु पर्नेबारे सचेत गराए।

एमाले भन्ने पार्टी कम्युनिष्ट होइन। केपी ओलीको एउटा कुर्सीको खुट्टा भाँचियो। अर्को पनि बलियो छैन ।

केही दिनअघि नै धर्मराइसकेको थियो। त्यहाँ क्रान्तिकारी र इमान्दार मान्छेहरुलाई ठाउँ छैन’ अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनप्रति समर्पित भएका योद्धाहरुलाई कुनै ठाउँ छैन। यहाँ आउनुस्।’

ओली दक्षिणपन्थी भाषमा भासिएर व्यक्तिवादी अहंकारी बनेको टिप्पणी गरे ।

एमालेको कुनै भविष्य नै नभएकाले त्यहाँ विद्रोह गरेर आफ्नो पार्टी निर्माणमा लागेको बताए।

‘७७ जिल्लामै पार्टी कमिटी बसेको छ। ७५३ पालिकामध्ये अधिकांश ठाउँमा कमिटी बनाइसकेका छौँ ।

७ महिनाको प्रतिकुलाको बिचमा हाम्रो पार्टीमा बढेको लहर यो सानो होइन’ उनको भनाइ छ ।

ओली अहंकार र दम्भको घोडामा चढेर सत्ताको मात लागेर अहिलेको परिस्थिती बनेको दाबी गरे ।

कटाक्ष गर्दै भने,‘अहंकार र दम्भको घोडामा चढेका ओली केन्द्रमा पछारिए, प्रदेशमा पछारिए, राष्ट्रियसभामा पछारिए, पछारिँदाखेरि पनि अहिलेसम्म पनि होस खुलेको छैन।’

स्थानीय तह निर्वाचन : राजनीतिक दललाई उम्मेदवार छान्न सकस

दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा छवटामा नेपाली काँग्रेससहित चार दल र चारवटामा काँग्रेसबाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरूबीच चुनावी तालमेल भएपनि उम्मेदवार छनोटमा भने सकस देखिएको छ ।

राजनीतिक दलहरूबीच गठबन्धन भएको ठाउँमा जित सुनिश्चित हुने अनुमानसहित आकाङ्क्षी धेरै हुँदा सत्ता गठबन्धनका नेताहरूले उम्मेदवारको नाम टुङ्ग्याउन नसकेको हो ।

जिल्लाको सबैभन्दा ठूलो तथा सबैको ध्यान केन्द्रित हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख नेपाली काँग्रेसको भागमा परेको छ ।

काँग्रेसमा नगरप्रमुखका लागि आठजना आकाङ्क्षीको नाम प्रदेशमा सिफारिस भएको छ ।

सहमतिमा एकजनाको मात्र नाम पठाउने प्रयासस्वरुप तीन दिनसम्म भएको छलफल नटुङ्गिएपछि गए राति कुमार पुरी, नारायण राई ‘निशान’, राजनशेर राई, रोजन राई, श्यामकुमार राई, भिषण राई र रामकुमारी राईको नाम सिफारिस गरिएको काँग्रेस नगर कार्यसमितिले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि नगर कार्य समितिको सोमबार बसेको बैठकले नगर प्रमुखको लागि जिल्ला सचिव तीर्थराज भट्टराईको नाम सर्वसहमतले सिफारिस गरेको थियो ।

भागबण्डामा नगर उपप्रमुख पाएको नेकपा (माओवादी केन्द्र)ले समेत अहिलेसम्म आफ्नो उम्मेदवारको नाम टुङ्ग्याएको छैन ।

नगर उपप्रमुखका लागि माओवादी केन्द्रमा विसन राई, विकास राई र विनोद आचार्यको नाम चर्चामा छ ।

सत्ता गठबन्धनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मात्र नभई जिल्लाका अन्य स्थानीय तहमासमेत उम्मेदवार टुङ्गो लाग्न सकेको छैन ।

नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको टुङ्गो नलागेपछि वडाध्यक्ष र सदस्यको विषयमा छलफल नै हुन बाँकी रहेको नेताहरूले बताएका छन् ।

विसं २०७४ सालमा भएको निर्वाचनमा सबैभन्दा बढी पाँचवटा स्थानीय तहमा जित हात पारेको एमालेले पनि यस नगरमा उम्मेदवार छनोट गर्न सकेको छैन ।

उसले सत्ता गठबन्धनले उम्मेदवार छनोट गरेपछिमात्र आफ्नो उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको समाचार स्रोतले जनाएको छ ।

जिल्लाका दशवटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा अहिलेसम्म सर्वसहमत नभएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताउनुभयो ।

“जिल्लामा उम्मेदवार टुङ्ग्याउन नसकेपछि प्रदेशमा सिफारिस गरिएको छ”, उहाँले भन्नुभयो, “दश स्थानीय तहको ७९ वडामध्ये ६१ वडाका लागि वडाध्यक्षको उम्मेदवार सर्वसहत भएको छ भने बाँकी १८ वडामा छलफल भइरहेको छ ।”

उता, जिल्लाको सबैभन्दा थोरै जनमत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समेत उम्मेदवार छनोट सर्वसहमत हुन सकेको छैन ।

राप्रपाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’, टीकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको छ ।

राजनीतिक दलले उम्मेदवारको नाम टुङ्ग्याउन नसक्दा मतदातामा भने अन्योल सिर्जना भएको छ । स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तिगत प्रभाव, चुनावी घोषणापत्र र राजनीतिक आवस्थाको आधारमा मतदान गर्छन् ।

उम्मेदवार छनोटमा सबैभन्दा बढी कठिन सत्ता गठबन्धनमा देखिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार भए पनि अधिकांश वडामा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् ।

सबै वडामा तालमेल नभएको खण्डमा गठबन्धनलाई घाटा हुने देखिएको छ ।

तालमेल भएका पालिकाको वडास्तरसम्म नै दलहरूबीच तालमेल गर्नेगरी छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनलाई सफल बनाउन जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ ।

दिक्तेल बजारस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा नौँवटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्लामा हुने निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो ।

एक सय ३६ मतदानस्थल र १९४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्लामा ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा मतदान केन्द्र सामान्यमा राखिएको छ ।

आगामी निर्वाचनमा जिल्लाका दशवटै स्थानीय तहकागरी एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

बुटवलमा हावाहुरीसहित वर्षा

काठमाडौं – शुक्रवार बुटवलमा हावाहुरीसहित र वर्षा भएको छ ।
शुक्रबार दिउँसो करिब साढे ४ बजेदखि यहाँको मौसममा एक्कासि परिवर्तन आएको हो ।

हावाहुरी र वर्षाले विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
हावाहुरी र बर्षाको कारणले निर्माणका काममा समेत प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् ।

मस्जिदमा आक्रमण : ८ जना घाइते

काठमाडौं – दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण हुँदा ८ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार गम्भीर घाइत भएको टाउकोमा चोट लागेको छ ।

शुक्रवार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा लमही नगरपालिका वडा ५ का ६४ वर्षीय गुठे कुरेसि, सोही वडाका ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याक दिन अली रहेका छन् ।

घाइतेहरू मध्ये चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ ।

अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ हजार बढीको ज्यान जाने गरेको छ ।
खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्य मात्रै नभई वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।

दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ । विशेष गरी महिला र बालबालिकाको स्वास्थयमा नराम्रो असर परेको छ । वातावरणमा पर्ने नकारात्मक असरका कारण जलवायु परिवर्तनको जोखिम पनि उत्तिकै बढेको छ । हिमालको हिउँ मात्रै पग्लिएको छैन, त्यसले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

सरकारी विवरणअनुसार नेपालमा परम्परागत ऊर्जाको प्रयोग हालसम्म पनि ६९ प्रतिशत बराबर हुने गरेको छ । त्यसमा दाउरा, गुइँठा र कृषि अवशेषलाई ऊर्जाका रुपमा खपत गरिन्छ । व्यावसायिक ऊर्जाका रुपमा बिजुली, पेट्रोलियम पदार्थ र कोइलाको प्रयोग गरिन्छ । त्यसको हिस्सा २८ प्रतिशत बराबर छ । यसैगरी नवीकरणीय ऊर्जामा लघु जलविद्युत्, सौर्य ऊर्जा र बायोग्याँस पर्छन् । त्यसको हिस्सा तीन प्रतिशत बराबर छ ।

मानवीय र वातावरणीय जोखिम बढाएको परम्परागत ऊर्जाको विकल्पका बारेमा सोच्नुपर्ने र त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता बढेर गएको छ । व्यावसायिक ऊर्जाका लागि मात्रै बर्सेनि ठूलो परिमाणमा लगानी गर्नुपरेको छ ।
नेपाल आयल निगमले चालु आवको फागुन मसान्तसम्म रु दुई खर्ब बराबरको इन्धन आयात गरेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले चालु आवको अन्त्यसम्म रु १० अर्ब बराबरको बिजुली आयात हुने जनाएको छ ।

यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढाएर त्यसबाट राष्ट्रियरुपमा आत्मनिर्भर हुने र विशेष गरी पेट्रोलियम पदार्थको खपत क्रमशः न्यून गर्दै लैजाने सरकारको सोच छ । सोही सोचअनुसार वर्तमान सरकारले ‘विदेशी ग्यास छाडौँ स्वदेशी बिजुली प्रयोग गरौँ’ भन्ने अभियान नै चलाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नियमितरुपमा देशभित्रै बिजुलीको खपत बढाउने अभियान चलाइरहनुभएको छ ।

मन्त्रालयको पहलमा नै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुगर्म क्षेत्रबाट काठमाडौँमा आई अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरेर आठ हजार ३०० विद्युतीय चुलो उपलब्ध गराउने योजना अगाडि सारेको छ । त्यसको प्रक्रियासमेत अगाडि बढाइसकेको छ तर केन्द्रले ल्याउन लागेको भनिएको विद्युतीय चुलोको सन्दर्भमा राखिएको ‘स्फेसिकेशन’मा गुणस्तर कायम नगरिएको भन्दै प्रश्नसमेत उठेको छ ।

विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने माग उठिरहेका बेला गुणस्तरमा पनि ध्यान दिनुपर्ने मत पनि उत्तिकै बलियो छ । नेपाल ऊर्जा प्रतिष्ठानका कार्यकारी निर्देशक डिल्ली घिमिरेले सरकारले सन् २०३० सम्ममा दिगो विकासको प्रतिबद्धता पूरा गर्न पनि खाना पकाउने ऊर्जालाई सफा ऊर्जामा रुपान्तरण गरी दिगो, सुलभ र आधुनिक ऊर्जा सेवामा पहुँचको ध्येय राख्दै गर्दा गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

खाना पकाउने ऊर्जाका लागि बिजुलीको प्रयोगले नेपालको उत्पादित बिजुली खपत बढाउने र भारतबाट आयातित खाना पकाउने ग्यासलाई विस्तारै कम गर्दै लैजाने नीति अवलम्बन गरी ऊर्जामा आत्मनिर्भरता बढाउनु आवश्यक छ ।

सरकारले तय गरेको राष्ट्रिय योगदान (एनडीसी)मा घरायसी खाना पकाउने ऊर्जातर्फ सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यस्तै सन् २०२५ सम्म ग्रामीण क्षेत्रमा पाँच लाख सुधारिएको चुलो जडान गर्ने र थप दुई लाख घरधुरीमा बायोग्यास जडान तथा ५०० ठूला बायोग्यास प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ ।

दिगो विकास लक्ष्यले समेत ९९ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच र दाउराको प्रयोग घटाएर ३० प्रतिशतमा झार्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाएर एक हजार ५०० किलोवाट घण्टा पु¥याइने उल्लेख गरिएको छ ।

जनचेतनाको अभावमा विद्युतीय चुलो प्रयोगका सम्बन्धमा अनेकन आशङ्का जनस्तरमा कायम छन् । त्यसलाई सम्बोधन गर्नुपर्ने टड्कारो आवश्यकता छ । विद्युतीय चुलो राष्ट्रिय अभियानका संयोजक नारायण ज्ञवालीले सरकारको अनुदानमा उपलब्ध भएको विद्युतीय चुलो गोदाममा थन्किनु दुःखद् भएको बताउनुभयो । मधेश प्रदेशमा प्रयोग गर्न भनेर ल्याइएका विद्युतीय चुलो गोदाममा बस्नु, बस्तीमा गुइँठाको प्रयोग नघट्नु कही न कही मिल्दो विषय नभएको उहाँको भनाइ छ ।

सो अभियानमा सम्बद्धका अनुसार भन्सार शुल्क मात्रै नलाग्ने व्यवस्था गरिए अनुदान नै दिनु पर्दैन । चालु आवमा सरकारले एक प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ । त्यस्तै मूल्य अभिवृद्धि कर तथा अन्य विभिन्न करका कारण विद्युतीय चुलो बजारमा महँगो हुँदै आएको छ । करमा छुट दिने र अनुदान दिने व्यवस्था हुन नहुने उहाँको भनाइ छ ।

विद्युतीय चुलोको प्रयोगका सम्बन्धमा जनचेतना जगाउँदै आउनुभएका विपीन श्रेष्ठका अनुसार घरमा प्रयोग हुने फ्युजको क्षमता कसरी बढाउने, कसरी विद्युतीय चुलो प्रयोग गर्ने भन्नेजस्ता सामान्य जानकारीसमेत उपलब्ध हुन नसक्दा समस्या उत्पन्न भएको छ । स्थानीय जनप्रतिनिधिमार्फत घरघरमा नै जनचेतना बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

जल तथा ऊर्जा आयोगले गरेको अध्ययनअनुसार नेपाल विद्युत् प्राधिकरणले तय गरेको महसुल महँगो भएकाले पनि विद्युतीय चुलो प्रयोगमा अभिवृद्धि हुन नसकेको हो । आम जनसमुदायमा विद्युतीय चुलो परीक्षणमा नै रहेको प्रविधि हो भन्ने भ्रम छ ।

सो भ्रमलाई पनि चिर्नु आवश्यक रहेको बताइएको छ । त्यसका लागि सरकारले नै जनचेतना अभिवृद्धि गर्ने योजना तय गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । सरकारले आगामी आवको बजेट, नीति तथा कार्यक्रम तय गर्न लागेको सन्दर्भमा यसतर्फ ध्यान दिनु जरुरी रहेको ज्ञवालीको भनाइ छ ।

त्यस्तै प्राधिकरणले आफ्नो वितरण प्रणालीमा सुधार गर्नुपर्ने, ट्रान्सफर्मर परिवर्तनलगायतका काम कारबाहीलाई तत्काल अगाडि बढाउनु जरुरी छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नवीकरणीय ऊर्जा कार्यक्रम संयोजक कुन्दर पोखरेल मजगैयाका अनुसार सरकारको योजनाअनुसार विद्युतीय चुलोको प्रयोग बढाउन जनचेतानमूलक सामग्रीको प्रवद्र्धनमा लागिपरेको बताउनुभयो ।

उहाँले विद्युतीय चुलोको गुणस्तरमा पनि उत्तिकै ध्यान दिइएको जानकारी दिँदै भन्नुभयो, “नापतौल तथा गुणस्तर विभागले तय गरेको मापदण्डका आधारमा नै हामीले चुलो आयात गरेका छौँ, मर्मतसम्भारमा पनि उत्तिकै ध्यान दिन आवश्यक प्रबन्ध गरिएको छ ।”

प्राधिकरणमा रहेर वैकल्पिक ऊर्जाको क्षेत्रमा काम गर्दै आउनुभएका इन्जिनियर सागर ज्ञवालीका अनुसार विद्युतीय चुलोको प्रयोगसँगै विद्युतीय सुरक्षाका बारेमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले खाना पकाउने ग्यासको क्रमशः खपत घटाउँदै लैजाने गरी योजना तय गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणले सहजरुपमा विद्युतीय चुलो प्रयोगका लागि वातावरण बनाउँदै लगेको तथा पाँच हजार मेगावाट बराबरको बिजुली प्रवाहका लागि ट्रान्सफर्मरको क्षमता रहेको इन्जिनियर ज्ञवालीको भनाइ छ ।

काठमाडौँ उपत्यकामा विद्युतीय चुलोको प्रयोग बढाउनका लागि १३२ केभी क्षमताको प्रसारण सर्किट बनाउनुपर्ने आवश्यकता छ । विद्यमान संरचनाबाटै प्रयोग बढाउने अवस्था भने छैन ।

त्यसो त काभ्रेको तेमालमा संस्थागतरुपमा नै विद्युतीय चुलो प्रयोगसम्बन्धी अभियान चलाइएको छ । ललितपुरको महाकालमा दुई हजार ३०५ घरमा विद्युतीय चुलो उपलब्ध गराइएको छ । त्यसमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र गाउँपालिकाले अनुदान उपलब्ध गराएको छ । घरको वाइरिङ तथा अन्य खर्चसमेत जोड्दा प्रतिघर लागत रु चार हजार २२३ बराबर पर्न गएको छ ।