महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

काठमाडौं – महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।
दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो ।

थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।

मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ ।

बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो ।

मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधीखोजी गरिँदैैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था गरिएको उहाँको भनाइ छ ।

अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ ।

विवाह गर्न आएकाहरुको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ ।

उमेर नुपगेकालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउने गरिएको आचार्यले बताउनुभयो ।

यसरी सम्झाउँदा पनि अभिभावकले नमाने स्थानीय प्रहरी चौकीको जिम्मा लगाउने गरिएको छ ।

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

काठमाडौं- दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन अहिले ४३५ मा परिमार्जन गरिएको छ।
परिमार्जन गरिएको छ। शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका छन्।

विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो। आज बिहानसम्म मृत्यु हुनेको अन्तिम संख्या ४३५ रहेको छ,’ सेलेले भने।

उनले आपत्कालीन राहत, शान्ति सुरक्षा र अवसरवादी अपराध रोक्न ३ हजार प्रहरी अधिकारी र ९ सय क्वाजुलु–नाताल प्रान्त मेट्रो प्रहरी खटाएको जानकारी दिएका छन् । सेनाले चिकित्सक, नर्स, मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता र फार्मासिस्टसहित १० हजारलाई त्यस क्षेत्रमा खटाएको बताएका छन् ।

राष्ट्रपति भण्डारी चितवन आउनुहुँदै

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै हुनुहुन्छ ।

नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन आउन लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।

सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाइ छ ।

औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिनुभयो । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन ।

यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् ।

एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ ।

देशभर सुरु भयो आजदेखि एसइई परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न तथा गराउन सबैमा आग्रह गर्नुभएको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७ र २०७६ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसइई परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी भएको जानकारी दिनुभयो ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी भएको उल्लेख गर्दै उहाँले परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी भएको जानकारी दिनुभयो ।

यस वर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ ।

यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ ।

बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “यस वर्ष एक महिना ढिलो परीक्षा सुरु भएको छ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, नतिजा जारी गर्न केही दिन तल–माथि हुनसक्ला, यद्यपि साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी नयाँ भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।

हेम बहादुरमल्ल सम्मान २०७६ सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने

काठमाडौँ-बर्ष २०७६को हेम बहादुरमल्ल सम्मान सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ ।

नेपाल जन प्रशासन संघले हरेक बर्ष प्रदान गर्दै आएको सम्मान यस बर्ष सुर्यनाथ उपाध्यायलाई दिने निर्णय गरेको हो ।

संघले आज राजधानिमा एक कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार सुर्यनाथ उपाध्यायलाई दिने निर्णय गरेको जानकारी दिएको छ ।

नेपाल जन प्रशासन संघले ख्याती प्राप्त प्रशासक एवं व्यवस्थापक स्व हेम वहादुर मल्लले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि को नेतृत्व तहमा रहेर उत्कृष्ट एवं विशिष्ट योगदान पुर्याए वापत उहाँको सम्झना तथा सम्मानमा स्थापित उक्त सम्मानको राशि २ लाख रुपैया रहेको छ ।

हेम बहादुरमल्ल सम्मान छनोट समितिले सुर्यनाथ उपाध्यायले राज्यको उच्च ओहदामा रहि सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको निष्कर्ष निकाल्दै उहाँलाई छनोट गरेको जनाएको छ ।

समितिले उहामा उच्च नेतृत्व क्षमता, सार्वजनिक क्षेत्रमा महत्वपुर्ण योगदान साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गर्ने कार्य गरेको जनाएको छ । साथै समितिले उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भै भ्रष्टाचार नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको जनाएको छ ।

यस सम्मान छनौट समितिमा पुर्व मन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि वास्कोटा , साल्ट ट्रेडिङ कर्पौरेशन लि का तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पुर्व सचिव पुण्य प्रसाद न्यौपाने र पुर्व सचिव जिवन प्रभा लामा सदस्य रहेका थिए ।

यो सम्मान २०७९ बैशाख ११ गते आईतवार सम्माननीय राष्ट्रपतिबाट राष्ट्रपति भवनमा विशेष समारोहविच प्रदान गरिने जनाईएको छ । उक्त सम्मान कार्यक्रम पश्चात दिउसो ३:३० बजे बानेश्वर स्थित एभरेष्ट होटलमा सुर्यनाथ उपाध्यायले आफ्नो मन्तब्य व्यक्त गर्ने नेपाल जन प्रशासन संघले जनाएको छ ।

ओलाङ्चुङ्गोला नाका नखुल्दा !

फुङ्लिङ-ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ ।

चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो ।

कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो ।

गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न – नगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।

सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो ।

आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।

वर्षा याममा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् ।

वर्षामा बाढीपहिरालगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् ।

फक्ताङलुङ—७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ८० प्रतिशत चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनदेखि आउन बन्द भएको छ ।

याक, चौंँरीका लागि नुनदेखि अत्यावश्यक खाद्य सामग्रीमा ल्याउन पाइएको छैन ।”

नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताउनुयो ।

समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुङ्गोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो ।

त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो ।

लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतदेखि नै याङ्माका समुदाय चीनको बजारमा निर्भर हुँदै आएको थियो । याङ्मा बस्तीमा नाका बन्द भएदेखि उनीहरू नेपाली बजारमा भर पर्न थालेका छन् ।”

नाका बन्द भएपछि आर्थिक सङ्कट हुँदै आएको चेम्जोङले बताउनुभयो । चीन यहाँको चौंँरी, याक तथा पशुजन्य खाद्य पदार्थको बजार हो ।

फक्ताङलुङ –७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौंँरी, याक, घिउ, छुर्पी, याक– चौंँरीका मासु, जमर ९याकको पुच्छर० चीनको बजारमा व्यापार हुने गरेको छ ।

उहाँले भन्नुभयो, “१६ महिनादेखि नाका बन्द भएको छ । चीनसंँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।”

पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक सङ्कटको चपेटामा परेको वालुङले बताउनुभयो ।

ओलाङ्चुङ्गोलामा बुनिएका गलैंँचाले चीनमा राम्रो बजार लिएको थियो ।

गलैंँचा बिक्री गरेरै मानिसहरूले राम्रो आयआर्जन गरेका थिए तर तीन वर्षदेखि गलैंँचा घरमै थुप्रिराखेको ओलाङ्चुङ्गोलाबासी लामा भुजुङ शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरा घरमा ५० वटा गलैंँचा थुपारिराखिएको छ । जिल्ला सदरमुका फुङ्लिङ बजारमा लगेर बेचेमा कम मूल्यमा विक्री गर्नुपर्छ । त्यसैले घरमै राखेको छु ।”

घर खर्च टार्न उत्पादन गरिएको गलैंँचा सदरमुकाम पुर्‍याएर उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको शेर्पाले बताउनुभयो ।

ओलाङ्चुङ्गोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुङ्गोलामा पुर्‍याएर राखिएको थियो ।

लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताउनुभयो ।

चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका चिराइतो कृषक निरास भएको सिरिजङ्घा गाउँपालिका—७ यामफुदिन निवासी मनकुमार राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला पहिला चिराइतो खोज्दै व्यापारी घरघर आउँथे तर आजभोति त्यसको कुरा गर्ने व्यापारी भेटिँदैन ।”

चीनतर्फ चिराइतो निर्यात हुन छाडेसँगै खेती गर्न छाड्दै गएको फक्ताङलुङ –६ निवासी चिराइतो कृषक राजकुमार राईले बताउनुभयो ।

खाद्य सामग्री ढुवानीको समस्या

लामो समय टिप्ताला नाका बन्द हुँदा गोला, याङ्मा, घुन्सा र फलेका साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बस्ने समुदाय सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ ।

सदरमुकामदेखि ओलाङचुगोलासम्म ५० केजी चामल पुर्‍याउँदा प्रतिकेजी रु सय ढुवानी भाडा पर्न आउँछ ।

पचास केजी चामल एक बोराको रु पाँच हजार ढुवानी खर्च पर्न आउने फक्ताङलुङ –७ का वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

सदरमुकाम फुङ्लिङदेखि एक दिनमा लेलेपसम्म गाडीमा सामान पुर्‍याउन सकिन्छ ।

लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलाङ्चुङ्गोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० सय मि सम्मको उचाइका बस्तीसम्म खाद्य सामग्री ढुवानी गर्नुपर्छ ।

सामानमा परेको मोलभन्दा ढुवानीमा तीन गुणा बढी खर्च हुने शेर्पाले बताउनुयो ।

नाका बन्दा नहुँदासम्म चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो ।

सीमा क्षेत्रदेखि आफ्नै याकमा सामान बोकाएर घरसम्म पुर्‍याइने गरेको शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम हुन आउँछ, तर सदरमुकामदेखि ल्याउँदा सामानको खरिद मोलभन्दा तीन गुणा बढी खर्च पर्न आउँछ ।”

कतिपय परिवारमा सामान ढुवानी गर्न पनि समस्या हुने गरेको शेर्पाले बताउनुभयो ।

याक वृद्धि

याङ्माका कान्दे ग्याबु शेर्पाको दुई वर्षअघि ३२ याक थिए तर अहिले उहाँसंँग बढेर ६४ याक छन् ।

कोरोनाको कारणले दुई वर्षदेखि चीनतर्फको नाका बन्द भएसंँगै याक चीनका बजारमा बिक्री नहुँदा सङ्ख्या बढ्दै गएको शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीन वर्ष भयो, याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि याकका बाछा र याक बिक्री भएको छैन ।”

हिमाली क्षेत्रका समुदायले चौँरी याक गोठबाट जीविका गर्दैआएका छन् ।

फिन्चो शेर्पाको पनि गोठमा तीन वर्षदेखि याक बिक्री भएको छैन । शेर्पाको तीन वर्षअघि २५ याक रहेकामा अहिले ६० हाराहारीमा छन् ।

याकको पोथीलाई डी र भालेलाई याक भन्नेर छुट्याइने गरेको शेर्पाले बताउनुभयो ।

समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि पाँच हजार मिसम्मको उचाइ याक र डीको उपयुक्त चरन क्षेत्र हो ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाका फेदीमा याक गोठ पाइन्छ ।

हिमाली समुदायको प्रमुख पुख्र्यौली पेसाका रूपमा रहेको चौंरी याक विगतदेखि नै चीनका विभिन्न बजारमा बिक्री हुँदै आएको याङ्माबासी टासीफिन्जो शेर्पाले बताउनुभयो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा याङ्मा क्षेत्रमा चार सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बिमासमेत गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो ।

चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माबासी सोनाम शेर्पाले बताउनुभयो ।

चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि रु एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको जनाइएको छ ।

छुर्पी र घिउ प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताउनुभयो ।

कोरोनाका कारणले तीन वर्षयता टिप्ताला नाका र सङ्खुवासभा जिल्लाको किमाथाङ्का नाका बन्द हुँदा हिमाली समुदायको प्रमुख पेसाको साधन चौँरी याक बिक्री नभएको मिक्वाखोला गाउँपालिका—५ पापुङका याक व्यवसायी रिङ शेर्पाले बताउनुभयो ।

मिक्वाखोला –५ तोक्पेगोला क्षेत्रमा रहेका याक चौँरीलगायत पशुजन्य वस्तु किमाथाङका नाका हुँदै चीनका विभिन्न बजारमा बिक्री हुने गरेको थियो ।

तोक्पेकोला क्षेत्रमा ३५ चौँरी याकका गोठ रहेको पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पेखोला क्षेत्रमा दुई हजारभन्दा बढी याक रहेको बताइएको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सात गाउँपालिकामा चौँरी याकपालन हुँदैआएको छ ।

राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याक पालनतर्फ आकर्षित हुने गरेको घुन्साका पेमा शेर्पाले बताउनुभयो ।

कोरोनाका कारणले चीनमा निर्यात नहुँदा हिमाली क्षेत्रमा याक उल्लेखनीय सङ्ख्यामा वृद्धि हुँदै गएको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो ।

कहिले खुल्ला नाका

सङ्घीय सरकारले किमाथाङ्का र ओलाङ्चुङ्गोला टिप्ताला नाका खुला गर्न परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयलाई आफ्नो धारणा पठाइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनबाट पत्रका जवाफमा हिमाली क्षेत्रका कति प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको छ भनेर सोधिएको थियो । यताबाट ९८ प्रतिशतले खोप लगाएको जवाफ पठाएका छौँ । उताबाट फेरि जवाफ आएको छैन । नाकामा आउजाउ गर्न परराष्ट्र र गृह मन्त्रालयसंँग समन्वय भइरहेको छ । ”

एक पक्षले मात्र नाका खुला गरेर नहुने र खुलाउन दुई पक्षको सहमतिमा चाहिने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो ।

चीनले आवश्यक सामग्री माग गरेमा सीमा क्षेत्र टिप्तालासम्म पुर्‍याइदिने तर मान्छे भने आउजाउ गर्न नपाउने त्यहाँका व्यापारीले बताएका छन् ।

उहाँले भन्नुभयो “चीनका लागि आवश्यक सामग्री सीमा क्षेत्रसम्म पुर्‍याइदिने गरिएको छ तर हाम्रो सामग्री भने हाल निर्यात नहुने भनिएको छ ।”

सामग्रीको पैसा भुक्तानी गरेपछि चीनदेखि आयात हुने तर नेपालको सामग्री भने निर्यात नहुने चीनका अधिकारीबाट जानकारी आएको प्रवक्ता लामाले बताउनुभयो ।

एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता

भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ ।

बागलुङ-प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ ।

यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ ।

ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो ।

सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दसै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् ।

टाढा–टाढाका विद्यार्थी हिजोअस्तिदेखि नै बागलुङ बजार झरेर होटलमा बसेका छन् ।

ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारी १५ विद्यार्थी लिएर आफै सदरमुकाम आउनुभएको छ ।

“विद्यार्थीलाई होटलमा राखेका छौँ, आज परीक्षा केन्द्र देखाउन लानु छ”, उहाँले भन्नुभयो, “परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या छ ।”

एकातिर अभिभावकको खर्च बढ्ने र अर्कातिर एक्कासि नयाँ ठाउँमा गएर परीक्षा दिनुपर्दा गाउँका विद्यार्थीलाई मनौवैज्ञानिक असर पर्ने प्रअ अधिकारीको भनाइ थियो ।

नेपाल माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ पशु विज्ञानको पढाइ हुन्छ ।

परीक्षा केन्द्र सदरमुकाममा तोकिँदा यातायातदेखि होटलको खाना र बासमा विद्यार्थीको ठूलो खर्च हुने गरेको छ ।

अरुकोभन्दा प्राविधिक धारका विद्यार्थीले परीक्षा दिने विषय पनि धेरै छन् ।

साधारण विषयतर्फको परीक्षा १७ गते सकिने भए पनि प्राविधिकतर्फको परीक्षा २० गतेसम्म चल्ने जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले चाहेर पनि यो वर्ष परीक्षा केन्द्र थप्न नसकिएको बताउनुभयो ।

“मन्त्रालयमा पनि यो विषयमा कुरा पुगेको छ, अर्को वर्षदेखि प्राविधिक धारका लागि थप परीक्षा केन्द्रको व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “तीन सयसम्म विद्यार्थी हुँदा तीन वटासम्म केन्द्र तोक्न सकियो भने पनि धेरै सहज हुने देखिन्छ ।”

विद्यार्थी थोरै भएका ठाउँमा परीक्षा केन्द्र राख्दा राज्यको व्ययभार पनि बढ्ने हुँदा माथिबाटै सोही अनुसारको प्रबन्धका लागि निर्देशन हुने गरेको एकाइले जनाएको छ ।

सदरमुकामदेखि १२० किमि टाढा निसीखोला गाउँपालिकासम्मका विद्यार्थी एसइई दिन सदरमुकाम आएका छन् ।

त्यहाँको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पनि प्राविधिकको विषयमा पढाइ भइरहेको छ ।

एकाइ प्रमुख उपाध्यायका अनुसार प्राविधिकतर्फ यहाँका विद्यालयमा कृषि, पशु विज्ञान, सिभिल इन्जिनियरिङ र कम्युटर इन्जिनियरिङको पढाइ हुन्छ ।

प्राविधिक धारसहित जिल्लाका कुल चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुँदैछन् ।

तीमध्ये साधारण संस्कृतका १२, गुरुकुलका पाँच र दृष्टिविहीन दुई विद्यार्थी पनि छन् ।

सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिकालगायत सामग्री पु¥याइएको एकाइले जनाएको छ ।

एकसय आठ सामुदायिक, ३२ संस्थागत र एक खुला गरी १४१ विद्यालयका परीक्षार्थीले एसइई दिनेछन् ।

कोभिड–१९ महामारीका कारण गएका दुई वर्षमा आन्तरिक मूल्याङ्कमार्फत एसइई नतिजा सार्वजनिक गरिएको थियो ।

अहिले महामारी थामिएर स्थिति सामान्य बनेपछि भौतिक रुपमै परीक्षा सञ्चालन हुन लागेको हो ।

निजी शिक्षण संस्थाले पूर्वाधारमा ध्यान दिनुपर्ने

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइरालाले समाज, मुलुक र विश्वविद्यालयलाई शक्ति प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले निजी शिक्षण संस्थाले पूर्वाधारमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा महेश्वर दाहाल, विश्वविद्यालयबाट सम्बन्धन पाएका निजी स्वास्थ्य शिक्षण संस्थाको छाता संस्था एशियाका अध्यक्ष यमप्रसाद अधिकारी, विश्वविद्यालयका डिन डा शैलेशमणि पोख्रेल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययनसँगै अनुसन्धानमा पनि जोड दिनुपर्छ भन्नुभयो ।

पाँचतले सो भवन झण्डै रु आठ करोडमा निर्माण गरिएको हो । विसं २०६४ मा स्थापना भएको कलेजमा हाल स्वास्थ्य सङ्कायमा प्रविणता प्रमाणपत्र तह र स्नातकको पठनपाठन हुँदै आएको छ ।

दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा

कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।

बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् ।

तीमध्ये दुई दृष्टिविहीन, पाँच संस्कृत विद्यालयका बटुक र २५५ प्राविधिक धारका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

विगत दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन गरिएको परीक्षा यो वर्ष पुनः त्यसअघिको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको हो ।

उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय एकाइले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

जिल्लाभरका १०८ सामुदायिक विद्यालय र ३२ निजी विद्यालय र एक खुला विद्यालय गरी जम्मा १४१ विद्यालयका चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुने एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।

“दृष्टिविहीन विद्यार्थीका लागि अभिभावकसहित आउन पाउने व्यवस्था मिलाएका छौँ, संस्कृत विषयका विद्यार्थीका लागि छुट्टै तयारी भइसकेको छ, प्राविधिक धारका सबै विद्यार्थीको परीक्षा बागलुङ बजारमा एकमुष्ट हुनेछ, आगामी दिन गाउँमा समेत केन्द्र राखिने छ”, उहाँले भन्नुभयो, “परीक्षालाई मर्यादित बनाउन सुरक्षाकर्मी र अनुगमनकर्ता खटाइएको छ, यस वर्ष ग्रेड वृद्धिका लागि ४८ विद्यार्थीका लागि तोकिएको केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।”

उक्त परीक्षाका लागि जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा सम्पन्न गर्न ३१ केन्द्राध्यक्ष, ३७ सहायक केन्द्राध्यक्ष, निरीक्षक २४५, परीक्षा सहायक ४९, कार्यालय सहायक ९८ र ४६५ सुरक्षाकर्मी खटाइएको छ ।

परीक्षामा जनता माध्यामिक विद्यालय नारायणस्थानका दुई दृष्टिविहीन, मुक्तिनाथ वेद विद्याश्रमका पाँच संस्कृततर्फका र प्राविधिक धारका १० विद्यालयका २५५ विद्यार्थी सहभागी हँुदैछन् ।

परीक्षालाई मर्यादित बनाउन परीक्षाको निरीक्षण, अनुगमन, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा समन्वय समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, उक्त एकाइ र स्थानीय तहका तोकिएका पदाधिकारी र कर्मचारी सहभागी हुने भएका छन् ।

वैशाख २० गतेभित्रै एसइईको सबै परीक्षा सम्पन्न हुनेछ । जिल्लामा रहेका ३१ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी २७१ विद्यार्थी भानु माध्यामिक विद्यालय केन्द्र र सबैभन्दा थोरै ६३ विद्यार्थी फ्युचर ब्राइटर बोर्डिङ केन्दबाट परीक्षा दिँदैछन् ।

भारतमा कोरोना संक्रमण दर तिब्र: सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं-छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’

मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ ।

अक्सिजन प्लान्ट विस्फोटको छानबिन गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं-ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार विस्फोटमा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको प्रजिअ उपाध्यायले बताए ।

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको छ ।

मेची–महाकाली रेलवेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण

कञ्चनपुर-राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी (निर्माण)को कार्य अन्तिम चरणमा पुगेको छ ।

रेलवे आयोजनाको सो खण्डको क्षेत्रमा पर्ने सुरुको बिन्दु कञ्चनपुरको गड्डाचौकीबाट अन्तिम बिन्दु कैलालीको खुख्खड क्षेत्रभित्र पर्ने स्थानमा सार्वजनिक सूचना टाँस गरी राय–सुझाव सङ्कलनको कार्य अगाडि बढाइएको छ ।

आयोजनाका वातावरणविद् दिपेश आर्चायका अनुसार आयोजना सञ्चालन हुने क्षेत्रको प्राकृतिक, भौतिक, सामाजिक, जैविक, सांस्कृतिक र आर्थिक प्रणालीबीच के–कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य भइरहेको छ ।

आयोजना कार्यान्वयन गर्दा प्रभाव पर्न सक्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय तह, वडा, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन उपभोक्ता समूह, सरोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय–सुझाव लिनका लागि सार्वजनिक सूचना टाँस गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

“वातावरण संरक्षण नियमावली २०७७ को अनुसूचि ९ को वातावरणीय अध्ययन प्रतिवेदनसम्बन्धी सार्वजनिक सूचनाको ढाँचाबमोजिम सात दिनभित्र राय–सुझाव माग गरेका छौँ”, उहाँले भन्नुभयो, “सुझाव आएपछि प्रतिवेदनलाई अन्तिम रुप दिई रेल विभागमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गर्छौँ ।”

मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङकन मस्यौदा प्रतिवेदनअनुसार प्रस्तावित रेल आयोजना सुदूरपश्चिम तराईको भागको पूर्व–पश्चिम राजमार्गको ३०० मिटरदेखि एक हजार ३०० मिटर दक्षिण हुँदै जाने छ । आयोजनाको सुरुआत बिन्दु गड्डाचौकीको महाकाली नदीभन्दा दुई किलोमिटर पूर्वमा रहने छ ।

यो मार्ग रेखा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन, लालझाडी–मोहना संरक्षण क्षेत्र, सरकारी वन, सामुदायिक वन, निजी आवादी जमिन हुँदै कैलालीको सुख्खडसम्म रहेको छ ।

प्रस्तावित सुख्खड–गड्डाचौकी मार्ग रेखा ९० किलोमिटर लम्बाइ, रेलवे तटबन्धको माथिल्लो चौडाइ आठ मिटरसम्म हुने छ ।

रेलमार्गमा कूल ११ रेलवे स्टेशन, दुई यात्रु स्टेशन, तीन सिग्नल स्टेशन, गड्डाचौकीमा टर्मिनल स्टेशन र पाँचवटा स्टेशन भविष्यमा स्टेशनका रूपमा विकास गरिनेछ ।

रेलवे आयोजनाको क्षेत्राधिकार मार्गरेखाको केन्द्रबाट दायाँ–बायाँ दुवैतर्फ २५–२५ मिटरको रहने छ ।

रेलवेको डिजाइन गति २०० किलोमिटर प्रतिघण्टा हुने छ ।

प्रस्तावित रेलवेमार्ग रेखासँगै निर्माण गर्न आवश्यक साना–ठूला पुलको सङ्ख्या १२९, प्राकृतिक डे«नेज क्रसिङ रहेका छन् ।

त्यसमा ७४ नदी क्रसिङ पार गर्न पुल आवश्यक हुने मस्यौदामा उल्लेख गरिएको छ । यसैगरी एलाइटमेन्टमा करिब २७ ठूला र साना नदी तथा खोला रहेका छन् ।

सुख्खड–गड्डाचौकी रेलवे आयोजनाको मुख्य रेखाको ५० मिटर क्षेत्राधिकारभित्र कृषि जमिन, जल क्षेत्र, नदी क्रसिङ, बस्ती, वन तथा सडक क्रसिङले ढाकिएको छ ।

“रेलवे आयोजना क्षेत्रमा पर्ने जग्गा स्थायीरूपमा अधिग्रहण गर्नका लागि ४३९ दशमवल आठ हेक्टर जमिन आवश्क पर्छ”, वातावरणविद् आर्चायले भन्नुभयो, “जसमा कृषि क्षेत्रको २२० दशमलव ३६ हेक्टर, वन क्षेत्रको १४२ दशमलव दुई हेक्टर, बस्ती तथा पूर्वाधारमा ५७ दशमवल १६ हेक्टर तथा प्राकृतिक र जल निकासीलगायत क्षेत्रमा १९ दशमलव ३९ क्षेत्र ओगट्ने अनुमान गरिएको छ ।”

आयोजना निर्माणकार्य चारदेखि पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

त्यसमा २८ हजार ५१३ दक्ष र अदक्ष कामदारले रोजगारी पाउने छन् ।

प्रस्तावित आयोजाको मार्गरेखामा रहेका बस्ती क्षेत्रका ८६८ निजी घर संरचना प्रत्यक्षरूपमा प्रभावित हुने छन् ।

घर संरचना भत्काउँदा घरधनीलाई जग्गा प्राप्ति ऐन २०३४ अनुसार क्षतिपूर्ति दिइने छ ।

घर संरचनाको अनुमानित लागत रु ९० करोड ५१ लख ४६ हजार ८३९ रहेको छ ।

आयोजना प्रभावित बासिन्दा र अन्य सरोकारवालाको छलफलका आधारमा हालको बजार मूल्यअनुसार जग्गाको मूल्य निर्धारण गरिएको वातावरणविद् आचार्यको भनाइ छ ।

उहाँका अनुसार घर जग्गा, रुखलगायत निजी सम्पत्तिको क्षतिपूर्ति भुक्तानीकोे कूल अनुमानित लागत रु ११ अर्ब ३५ करोड पाँच लाख ६५ हजार ७२४ अनुमान गरिएको छ ।

तेस्रो मदन भण्डारी स्मृति रोड रेस शनिबार

रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुष–महिला खुला र छात्र–छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा करिब ४०० खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ ।

खुलामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, रु १२ हजार र रु आठ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

त्यसैगरी छात्र–छात्रामा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुने खेलाडीले रु तीन हजार पुरस्कार पाउने छन् ।

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुङ्गिने छ ।

एसइई परीक्षाको सबै तयारी पूरा

वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो ।

उहाँले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी हुँदैछन् ।

परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् ।

एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ ।

यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ ।

बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “यस वर्ष एक महिना ढिलो गरी परीक्षा सुरु हुँदैछ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, त्यसले नतिजाका केही दिन तलमाथि हुनसक्ला, यद्यपि बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।