सिरहाको गोलबजारमा बस र ट्रक एकापसमा ठोक्किँदा ३१ जना घाइते

काठमाडौं- सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा बस र ट्रक एकापसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्वरको बस को। १ ख ५४३४ नम्बरको ट्रकसँग ठोक्किँदा ३१ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनाबाट टिकुलियाका सुनिल सिंह, महेन्द्र चौधरी, लालो चौधरी, अर्जुन चौधरीलगायत ३१ घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते सवैको अवस्था सामान्य रहेको र स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ ।

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक जारी

काठमाडौं-निर्वाचन तयारीको बिषयमा छलफल गर्न आज नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक बसेको छ ।

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक शंखमुलस्थित एक पार्टी प्यालेसमा बैठक जारी रहेको समाचार स्रोतले जनाएको छ ।

एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो ।

एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सल्लाहकार परिषद्को आजको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको तयारीलगायतका विषयमा छलफल भएको छ।

एमालेले विभिन्न स्थानीय तहबाट सिफारिस भएर आएका प्रमुख र उपप्रमुखको छनोट तीव्र पारेको छ ।

अधिकांश स्थानीय तहबाट प्रमुख र उपप्रमुख पदका लागि सिफारिस भइसके पनि उम्मेदवार चयनको काम भने सम्पन्न भइसकेको छैन।

चट्याङका कारण महिलाको मृत्यु

काठमाडौं – मेलम्ची नगरपालिका–१० भन्ज्याङकी एक महिलाको मृत्यु भएको छ । मेलम्ची–१० की ५२ वर्षीया पम्फा कार्कीको मृत्यु भएको हो । उनको चट्याङका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।

कार्कीको खेतबाट घर जाने क्रममा बुधबार बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । अहिले इलाका प्रहरी कार्यालय मेलम्चीको टोली घटनास्थलमा पुगेको छ ।

स्थानीयवासीले चट्याङबाट मृत्यु भएको आशङ्का गरे पनि घटना हेर्दा चट्याङ लागेको नदेखिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार “टाउकोमा चोट रहेको, चट्याङबाट आत्तिएर लड्दा टाउको बजारिएको देखिन्छ ।”

बिहानै डेरीमा दूध लिएर आउने स्थानीयासीले देखेपछि घटनाका बारेमा थाहा भएको थियो । त्यसपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको र शव परीक्षणका लागि मेलम्ची लगिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार ३८० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५२ डलर आसपास कारोबार भइरहेको छ ।

बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

काठमाडौं – बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् ।

आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छे । उहाँले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताउनुभयो ।

चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । “एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो ”, उहाँले भन्नुभयो, “ज्यान जोगाउनै गाह्रो भयो ।” चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दासमेत कोही नआएको उहाँको दुःखेसो छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताउनुभयो । उहाँले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ ।” हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ ।

चितुवासँगै हात्ती आतङ्क

लामो समयदेखि सो क्षेत्रमा जङ्गली हात्तीले समेत दुःख दिइरहेको छ । प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गए राति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ ।

उहाँको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पु¥याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलले जानकारी दिनुभयो ।

हातखुट्टा बाँधेको अवस्थामा भेटियो युवकको शव

काठमाडौं – धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको शव भेटिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा-२१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा २५ वर्षीय युवकको शव भेटिएको हो ।
युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ ।

पानीमा शव तैरिरहेको देखेपछि स्थानीहरुले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान खुल्न सकेको छैन । युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यो घटनाबारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

सक्षम नेतृत्वको खोजीमा मतदाता

सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेर काम थालेपछि स्थानीयस्तरमा रहेका राजनीतिक दलले पनि आफ्ना गतिविधि बढाएका छन् ।

स्थानीयस्तरमा नेताहरु उम्मेदवारी दाबी गर्ने र राजनीतिक दल उम्मेदवार छनोटलगायत काममा जुटेका छन् ।

साथै राजनीतिक दलले मतदातालाई प्रभावित पार्न विभिन्न राजनीतिक कार्यक्रमसमेत गर्न थालेका छन् ।

टीकापुर नगरपालिका–६ की सङ्गीता विश्वकर्मालाई जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिँड्नसक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्छ भन्ने लाग्छ ।

“नेतृत्व शिक्षित हुनुपर्छ, शिक्षितसँगै युवा, महिला, बालबालिकाका भावना बुझ्ने, हामीलाई नगर विकासमा सहभागी गराउनसक्ने योजना भएको नेता चुन्ने योजनामा छौँ”, उहाँ भन्नुहुन्छ, “निर्वाचनमा उम्मेदवार धेरै हुन्छन् ।

यसपटक नगर विकासका लागि समय दिनसक्ने, सबैको हितमा काम गर्नसक्नेलाई जिताउनुपर्छ भनी हामी सचेत छौँ ।” नेता व्यक्तिगत स्वार्थ त्यागेको विकासप्रेमी हुनुपर्छ ।

विकासप्रेमीसँगै नागरिकको भावना सम्बोधन गर्नसक्ने, सबैलाई मिलाएर लैजाने खालको नेता होस् भन्ने सबैको चाहना हुन्छ ।

नेता नागरिकका सबैखाले अपेक्षा पूरा गर्नसक्ने क्षमताको होस् भन्ने चाहना नागरिकले राखेका छन् ।

टीकापुर–७ सत्तीकी उषा ढुङ्गानालाई अब आउने नेतृत्व लैङ्गिक संवेदनशीलता बुझेको, सामाजिक कुरीति अन्त गर्नसक्ने र काम गर्ने जोश जाँगर भएको शिक्षित युवा होस् भन्ने लाग्छ ।

“हाम्रो समाजमा लैङ्गिक समानता नभएका कारण महिला सदियौँदेखि हिंसाबाट पीडित छन्”, ढुङ्गाना भन्नुहुन्छ, “नेतृत्वमा बस्ने लैङ्गिक संवेदनशीता बुझेको हुन आवश्यक छ ।”

नागरिकका असीमित चाहनालाई क्रमशः पूरा गर्नु नेतृत्वको दायित्व भएकाले नेतृत्व छान्दा चुक्न नहुनेमा युवा सचेत छन् ।

कुरा मात्र गर्नेभन्दा साना साना समस्या र माग पूरा गर्नसक्ने नेता छान्नुपर्ने टीकापुरका सुशील ओझा बताउनुहुन्छ । “कैलालीको समस्या फोहोर व्यवस्थापन, छाडा पशु चौपाया, ढल निकास, सडक बनाउनुपर्नेजस्ता समस्या छन्”, उहाँले भन्नुभयो ।

पालिकाको नेतृत्वमा बसेर निर्णय लिनुपर्ने व्यक्ति कम्तीमा स्नातह तह उत्तीर्ण हुनुपर्ने टीकापुर–५ का रमेश चौधरी बताउनुहुन्छ ।

“पढेको, अनुभव भएको नेताले पो हिम्मतका साथ काम गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “नेतृत्व छान्दा गल्ती भएमा पाँच वर्ष पछुताउनु पर्ने हुन्छ । यसपटक हामी सचेत छौँ ।”

कैलालीकै अर्जुनकुमार वन पनि विकास गर्न सक्ने, हाम्रो नभई राम्रो क्षमता भएको, पढे लेखेको, युवाका भावना समेट्न सक्ने नेतृत्व आवश्यक रहेको बताउनुहुन्छ ।

“आफन्त, नातेदार हो भनेर सक्षम मानिस छोडेर आफ्नालाई जिताउँदा पछुताउनुबाहेक केही हात लाग्दैन”, उहाँ भन्नुहुन्छ, “पालिकाको नेतृत्वमा जाने सबैको अभिभावक हो ।

सबैको अभिभावक असल, क्षमतावान्, कुशल हुनुपर्छ । यसका साथै सबै क्षेत्रलाई साथमा लिएर विकासका कार्यमा खट्ने हुनुपर्छ ।” कैलालीमा १३ स्थानीय तह छन् ।

यसपटकको निर्वाचनका लागि कैलालीमा ७२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कूल मतदाता सङ्ख्या पाँच लाख २७ हजार ५४८ पुगेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा मतदाता सङ्ख्या चार लाख ६० हजार ५७८ थियो ।

ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट: १ काे मृत्यु ४ घाइते

काठमाडौँ-सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको जानकारी दिएका छन् । प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौँ ।”

महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ ।

तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिनुभयो । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।”

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ ।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् ।

आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।

बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन

काठमाडौं -जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ ।
ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।

विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो ।

साउनमा रु दुई लाख ६३ हजार, भदौमा रु चार लाख ४४ हजार, असोजमा रु चार लाख सात हजार, कात्तिकमा रु ६ लाख ५३ हजार, मङ्सिरमा रु सात लाख दश हजार, पुसमा रु तीन लाख ७८ हजार, माघमा रु तीन लाख ७९ हजार, फागुनमा रु तीन लाख ६३ हजार र चैतमा रु तीन लाख २४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताउनुभयो ।

मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभाव वारे बिवरण सावजनिक गरेको छ ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि दिउँसो स् देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।देशका पहाडी भू-भागका केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्र्नुपर्ने बताउनुभयो ।

कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ ।”

निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उहाँले सबैलाई आग्रह गर्नुभयो । “अब केही दोधार छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताउनुभयो ।

बकपत्रमा बयान फेरिएसँगै पल शाह कारागार मुक्त हुने संभावना उच्च

काठमाडौँ-करणीको अभियोगमा कारागार चलान भएका अभिनेता पुर्ण बिक्रम शाह पल शाह छुट्ने सम्भावना उच्च भएको छ ।

उनी माथि लागेको करणीको अभियोगमा जाहेरीकर्ता पिडितले बयान फेरेसँगै उनी छुट्ने सम्भावना बढेको हो ।

जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहले उन्मुक्ती पाउने गरी बकपत्र दिएसँगै मुद्दा कमजोर हुने संकेत देखिएको हो।

कलाकार पल शाहले आफूमाथि पटक पटक करणी गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छन्।

अदालतले बयान लिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन् ।

आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन् ।

आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँले बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ।

पलले आफूमाथि करणी नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको तर आफ्नो बयान भनेर अदालतमा बुझाएको पीडितको दाबी छ।

पीडितका बुबाले तनहुँ र नवलपुर प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए।

दुवै जिल्लाका जिल्ला अदालतले उक्त मुद्दामा प्रारम्भिक सनुवाई गरेका छन् ।

तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालतमा पुनरावेदनमा गएका छन्।

अदालतमा बयान फेरिपछि नाबालिग ‘होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ।

पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ।

कतिपय मुद्दामा बकपत्र फेरिएसँगै पीडकले सफाइ पाउने गरेको नजिर रहेको छ ।

पुर्व सभामुख कृष्ण बहादुर महराको मुद्धामा समेत बयान फेरिएसँगै उनले उन्मुक्ती पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए ।

जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो ।

तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।

जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् ।

प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।

शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।

जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् ।

पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो । उच्च अदालतले पेशी तोकिसकेको छैन ।

बयान फेर्न आर्थिक चलखेल र प्रभाव

पल शाहमाथी करणीको आरोप लागाएकी गायिका तथा उनको वुवामाथी बयान फेर्न दवाब र आर्थिक प्रलोभन देखाईएको समाचार स्रोतले बताएको छ ।

‘केही दिन पहिले पल शाहकी बहिनीले गायिका र उनको परिवारलाई भेटिछन् ।

धरधरी रोएर ‘मेरो दाइलाई छुटाइदिनुस्, दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो’ भनिछन्,’ ती कानुन व्यवसायीले भने, ‘परिवारको र नाबालिकाको पनि मन पग्लिएछ क्यारे । बिहान अदालत जाने बेला बयान फेर्दैनौं भनेरै गएका हुन् ।’

जबर्जस्ती करणीको मुद्दामा जाहेरीकर्ता बयान फेर्दा हुने कानुनी कारबाहीको बारेमा नाबालिका र उनको परिवारलाई पटकपटक सम्झाइबुझाई गरे पनि अहिले बयान फेर्नुले आफूलाई समेत अचम्मित तुल्याएको ती कानुन व्यवसायीले बताए ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ ।

बालिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी छ ।बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ ।

पीडितहरुले दबाबमा परेर बिगतमा पनि अदालतमा बयान फेरेका घटना छन् ।

अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने गरेको छ ।

यसरी आर्थिक प्रलोभना तथा दबावमा करणी जस्तो मुद्धामा बयान फेरिदै अभियुक्त छुट्दा यस्ले कानुनमा नकारात्मक प्रभाव पार्ने जनकारहरुले बताएका छन् ।

देशमा बलात्कार तथा करणीका घटना दिन प्रतिदिन बढदै जादा यसरी मुद्धा प्रभावित हुदै अभियुक्त छुट्ने परिपाटीले देशमा बलात्कारका घटना बढने देखिन्छ ।

बयानकै आधारमा अभियुक्तलाई उन्मुक्ती दिनु भन्दा पनि तथ्य तथा छानविनका आधारमा निर्णय गर्नुपर्ने देखिन्छ ।

भारतीय बक्स अफिसमा ‘केजीएफ-२’चार दिनमा कमाइ ३ सय ८२ करोड भन्दा बढी

काठमाडौं – भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ ।
भारतको साउथ ‘केजीएफ च्याप्टर २’ फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ ।

यो चलचित्रको रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो । यसअघि बलिउड अभिनेता सलमान खानको ‘सुल्तान’ले यस्तो रेकर्ड राखेको थियो ।

गत बिहीबार रिलिज भएको ‘केजीएफ-२’ले शुक्रबार, शनिबार र आइतबार पनि हिन्दी भाषी राज्यमा उछाल व्यापार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केजीएफ-२’ले हिन्दी भर्सनमा बिहीबार ५३.९५ करोड, शुक्रबार ४६.७९ करोड, शनिबार ४२.९ करोड र आइतबार ५१ करोड भारु कमाइ गरेको छ । यसरी यो फिल्मले हिन्दी भर्सनमा मात्रै चार दिनमा १९४.६४ करोड कमाएको छ । ‘केजीएफ-२’ले सबै भाषामा गरी चार दिनमा ३८२.५० करोड भारु कमाइ गरेको छ ।

हुरीले उडाएको जस्तापाताले लागेर मृत्यु

काठमाडौं – जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो ।

गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए । उपचारकै क्रममा मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।