बुधबार नेप्से परिसूचक ३६.७३ अंकले गिरावट

काठमाडौं -बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
हिजो (मंगलबार) केही सुधार भएको बजारमा बुधबार भने ३६.७३ अंकको गिरावट आएको हो ।

आज बजार २३२०.५१ विन्दुमा झरेर रोकिएको छ । यो १.५६ प्रतिशतको गिरावट हो । बुधबार कुल २२८ कम्पनीको ३२ हजार ५ सय ६ पटक कारोबार भएको छ । यी कारोबारबाट ३५ लाख ७० हजार १४ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार कारोबार रकम १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँको भएको छ । बुधबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै वित्त र अन्य उपसमुहका लगानीकताले गुमाए ।

यस दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । हिमालयन उर्जा विकास कम्पनीको मूल्य ६.२९ प्रतिशतले घट्यो । नेष्डो सबैभन्दा धेरै कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रह्यो । सो कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रुपैयाँ बराबरको कारोबार भयो ।

पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु-२० घाइते

काठमाडौं- पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो ।

ठेक्का कारोबार नभएका ठेकेदारलाई उम्मेदवार बन्नबाट नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाडौं – सर्वोच्च अदालतले सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई उम्मेदवार बन्नबाट नरोक्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ ।

निर्वाचन आयोग नेपाललाई विपक्षी बनाएर यादव श्रेष्ठले उत्प्रेषणको माग गर्दै दायर गरिएको रिटमामाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार यस्तो आदेश दिएका हुन् ।

आदेशमा ‘कानूनले निर्धारित योग्यता पुगेको र कानूनमा तोकिएको अन्य अयोग्यता नभए’ मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणापत्रको देहाय (ठ) बमोजिम गरिएको घोषणाका आधारमा ठेक्का कारोबार भएका स्थानीय तहबाहेक अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्न अन्तरिम आदेश गरेको छ ।

निर्वाचन आयोगले गत चैत १६ गते एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय तहमा उम्मेदवारले मनोनयनपत्रसाथमा स्वघोषणापत्र पेस गर्नुपर्ने व्यवस्था राखेर जसको बुँदा नम्बर (ठ) मा ‘कुनै स्थानीय तहको ठेक्कपट्टा वा चलअचल सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ भन्ने उल्लेख गरेको थियो ।

सोही बुँदाले ठेक्कापट्टामा संलग्न व्यक्ति कुनैपनि क्षेत्रमा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भन्ने कुरा आकर्षित हुने भन्दै निवेदक श्रेष्ठले रिट दायर गरेका थिए ।

नाइजेरियामा सडक दुर्घटना हुदा बीस जनाको ज्यान गयो

काठमाडौं – नाइजेरियामा मंगलबार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा गुडिरहेका बस एक आपसमा ठोक्किन पुग्दा यो दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर २० जनाको ज्यान गएको र अरु केही घाइते भएका सो राज्यका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती दुवै सवारी साधनको गति उच्च भएका कारण दुर्घटना भएको थियो ।

उक्त क्षेत्रको सडकको अवस्था तथा सवारी साधनका चालकहरुले प्रायः उच्च गतिमा सवारी गुडाउने भएकाले यसअघि पनि बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

नाइजेरियामा सडकको दुराबस्था, असुरक्षित ड्राइभिङका कारणले नै यहाँ प्रायः सडक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।

भरतपुरमा स्मार्ट सडक बत्ती जडान

काठमाडौं – भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आउनुभएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताउनुभयो । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।

अहिले सडक बत्तीका लागि खम्बा गाड्न फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । एक हजार १९० वटा फाउण्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म अधिकांश निर्माणको काम सम्पन्न भएको र ५०० खम्बा गाढीसकेको उहाँको भनाइ छ ।

मङ्गलपुर बजार क्षेत्र र बाइपास रोड क्षेत्रमा काम बाँकी रहेको उहाँले बताउनुभयो । बाटो र घरका कारण समस्या आएको भए पनि केही समयमा समस्या समाधान गरी निर्माण र जडानको काम सम्पन्न गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यी सबै काम सकेर बत्ती जडानको काम सक्दै गर्दा वैशाखको अन्तिम वा जेठको दोस्रो साता लाग्छ ।” यही वैशाख १ गते भरतपुर महानगरपालिकाको चौबिसकोठीमा स्मार्ट सडक बत्ती बालेर सुभारम्भ गरिएको छ ।

यस अभियानअन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिनेछ । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको साझेदारीमा बत्ती जडान गरिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० मा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभीले काम गरिरहेका छन् ।

उहाँले भन्नुभयो, “सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउन उज्यालो शहर अभियान सहयोगी बन्नेछ ।” भरतपुरका मुख्य शहरी क्षेत्र जिल्ला प्रशासन चोक, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, सहिदचोक, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला चोक र मालपोत चोकमा हाइमास्ट बत्ती जडान गरिँदैछ ।

बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलीमिली बनाइने योजना छ । लामो समयदेखिको गृहकार्य र पहल कदमीका कारण काम हुन सकेको नगर प्रमुख दाहालले बताउनुभयो ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले अन्य प्रमुख सडककोसमेत सर्भे गरेर प्राधिकरणमा पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले शहर सुन्दरतासँगै अपराध नियन्त्रणमा सहयोग पुग्छ ।

यस अभियानअन्तर्गतको बत्ती जडान योजनामा महानगरपालिकाको १० प्रतिशत साझेदारी छ । उज्यालो कार्यक्रमसँगै रातका समयमा हुने सवारी दुर्घटना र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्छ । ”

हाकिम चोक–गीतानगर–जगतपुर सडकखण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा ५६९, मङ्गलपुरदेखि शुक्रनगरसम्मको २२ दशमलव १३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलव ४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडकबत्ती जडान हुनेछ ।

दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलव ८६ किलोमिटर सडकखण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलव १७ किलोमिटर सडकखण्डमा ५० बत्ती र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलव २६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।

‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम बजेटमा थप्दैनौँ : मन्त्री झाँक्री

शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो ।

सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू–टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ बाहिरिन्छौँ ।

राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन् । अर्को कुरा यसको सञ्चालनको मोडालिटीसमेत छैन ।”

उहाँले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ ।

एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताउनुभयो ।

“आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौँ । पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन ।

तराई र काठमाडौँ उपत्यका क्षेत्रमा जग्गाको अभाव छ”, उहाँले भन्नुभयो ।

मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रम यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रुपान्तरण गर्न लागिएको बताउनुभयो ।

उहाँले यसअघिको सरकारविना कुनै योजना उक्त कार्यक्रम ल्याएकाले मोरङको सन्थाल बस्तीमा टेण्डर गरेर शिलान्यास गर्दासमेत काम सुरू हुन नसकेको बताउनुभयो ।

मलेसियामा कोभिड संक्रमण बढ्यो- ६ हजारभन्दा बढी संक्रमित-१२ को मृत्यु

काठमाडौं – मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ ।

यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ ।यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ ।

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गर्नुभएको हो ।

यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका काम नगर्न र सबैलाई मानवीय सहायताका लागि बाटो बनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो ।

युक्रेनमा रुसले आक्रमण गरेको महिना दिनभन्दा बढी भए पनि अहिले पनि कतिपय स्थानमा रुसको हमला जारी नै रहेको पाइएको छ ।

त्यसैले यो पर्वका अवसरमा युद्धविराम गरी अप्ठेरोमा परेका नागरिकलाई सहायता वितरणको काममा लाग्नका लागि वातावरण निर्माण गर्न उहाँले आग्रह गर्नुभएको हो ।

श्रीलङ्कामा कफ्र्यु आदेश जारी

काठमाडौं – श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्र्यु लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।

आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कफ्र्यु लागाउनु परेको जनाएको छ ।घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।

आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्य बृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका छन् ।आन्दोलनकारीहरुले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनु, महङ्गी बढ्नु र बस्तु तथा सेवाहरुको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरुको दाबी छ । आर्थिक अभावका कारण कतिपय अत्यवश्यक सेवा तथा बस्तु समेत अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

सरकारी अधिकारीहरुले नै कतिपय औषधी, अत्यावश्यक अन्य विभिन्न सामानहरुको अभाव भएको जनाएका छन् छ भने दैनिक लामो समय विद्युत कटौती समेत भएको छ ।

आर्थिक सङ्कटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ । राजधानी काठमाडौदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुको झडपका क्रममा २९ जना घाइते भएका छन् ।

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

काठमाडौं – तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्माका २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आदेश आफ्नो नभई सिस्टमको पक्षमा: गभर्नर अधिकारी

काठमाडौँ-नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आदेश आफ्नो नभई सिस्टमको पक्षमा भएको उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतले हिजो (मंगलबार) गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशपछी गर्भनर अधिकारी काममा फर्किएका हुन् । आदेशपछि बुधबार काममा फर्किएका उनले आदेश आफ्नो नभई सिस्टमको पक्षमा आएको बताएका हुन् ।

‘म एउटा माध्यम मात्रै हुँ । यो सिस्टमको लागि आएको आदेश हो,’ उनले भने, ‘यहाँहरूले मेरो लागि भन्दा पनि सिस्टमकै लागि बोलिदिनुभएको छ। त्यसको लागि कृतज्ञ छु। अब आफ्नो जिम्मेवारीमा फर्किएको छु ।’

चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

उनले वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। त्यसको भोलिपल्ट मात्रै अदालतमा रिट दर्ता भएको थियो ।

बुधबार राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए ।

अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ ।

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं- काठमाडौंमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।

शंखरापुर नगरपालिका–६ स्थित बज्रयोगिनीको मूल जात्रामा मानिसहरूको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

उक्त सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई मङ्गलवार साँझ पक्राउ गरेको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।

गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । “परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ”, उहाँले भन्नुभयो ।

कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो । विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउनुहुन्छ ।

गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो । ‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ ।

विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो ।

रु एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन् ।

चट्याङ लागेर एक वृद्धको मृत्यु

काठमाडौं – मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मृत्यु भएका छन् , भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौं- बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।
आज बुधबार सुनको मुल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको छ ।
महासंघले जनाएको अनुसार चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख २ हजार २ सयमा छापावाल, एक लाख एक हजार ६०० रुपैयाँमा तेजावी र १ हजार ४२० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।