मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ ।

एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।

उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन स्थानीय पालिका बनाउने षड्यन्त्रलाई नेपाली जनताले नमान्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गर्नुभयो ।

उहाँले पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गर्नुभयो ।

अध्यक्ष ओलीले विसं २०५१ मा मासिक रु १०० देखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक रु १३३ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।

साझाका तीन वटा बिजली बस तातोपानी आइपुगे

काठमाडौं । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा तातोपानी नाका आइपुगेको छ ।

चीनको उकालो सडकमा बिजली बसको ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको दी गो’ कम्पनीले जानकारी दिएको छ ।

पहिलो चरणमा साझाले तीन वटा बिजुली बस काठमाडौं ल्याउँदै छ ।

चीनको नानजिंगस्थित सीएचपीसी कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भएका हुन् ।

ती बस काठमाडौं आइपुगेपछि उपत्यकाका सडकमा प्ररीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि ल्याउने साझाले जानकारी दिएको छ ।

नयाँ वर्ष राजनीतिकरूपले स्थिर-सबल र समृद्धि बनोस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

नववर्ष–२०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले हामी त्यसतर्फ कति केन्द्रित भयौँ, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध हुने आकाङ्क्षा राखेका हामी नेपालीहरू आफ्नो सुखद् भविष्यका लागि अनवरत सङ्घर्ष गरिरहेका छौँ ।”

राजनीतिकरूपले असङ्गतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङगतर्फ उन्मुख रहेको बताउँदै उहाँले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभई योग्य र राम्रा मान्छेलाई उम्मेदवार बनाउन राजनीतिक दललाई सुझाव दिनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै राजनीतिक दल, नेतृत्व तहका व्यक्ति र नेपाली मात्रले नयाँ वर्ष राजनीतिकरूपले स्थिर र सवल, विकास र समृद्धिका लागि सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय बनाई स्वस्थ एवं सवल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔँ भन्ने कामना गर्दछु ।

नेपालमा कोभिड–१९ को कारण यो वर्षमा झन्डै नौ हजारले ज्यान गुमाए

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण नेपालमा पछिल्लो एक वर्षमा आठ हजार ८९३ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार वर्ष २०७८ मा मात्रै सो संख्यामा नागरिकले ज्यान गुमाएका हुन् ।
यस्तै, यो वर्ष ६ लाख ९७ हजारजना संक्रमित भएका छन् । यो पीसीआर परीक्षणअनुसारको तथ्यांक हो ।

नेपालमा हालसम्म पीसीआर र एन्टिजेन परीक्षणमार्फत ११ लाख १८ हजार ७६९ जनामा कोभिड–१९ पुष्टि भएको छ । कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ पुगेको छ ।
अहिले देशभर ५५४ जना सक्रिय संक्रमित छन् । पछिल्ला दिनहरूमा दैनिक थपिने संक्रमितको संख्या ३० भन्दा कम छ भने मृत्यु शून्य रहेको मन्त्रालयको तथ्यांक छ ।

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

काठमाडौं- एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ जनाको मृत्यु

काठमाडौं – फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् ।

‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

जिप दुर्घटनामा दुई प्रहरीको मृत्यु

काठमाडौं- यहाँ जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिनुभयो ।

अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ ।

२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं- सुर्खेतमा २४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीव नेपाली रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जङ्गलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रोशन गुरुङ हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

काठमाडौं- यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ ।
महासङ्घको आज बिहान सम्पन्न महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

अध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संंयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो ।

तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई , हरिशरण केसी मत ल्याई विजयी हुनुभएको छ । यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति , भुवन बराल , रवि रिमाल, डम्बरराज पन्त , रामप्रसाद सुवेदी , जीतबहादुर भारती र राजेन्द्र रिजाल मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा चेतप्रसाद (अर्जुन) गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा आत्माराम थापा, भानुभक्त बराल, किरणकुमार खड्का, वर्गीय संयोजक बसतर्फ सुनिल कुँवर मत ल्याई विजयी हुनुभएको छ । वर्गीय संयोजक मिनिबसतर्फ मञ्जयप्रकाश श्रेष्ठ, पर्यटकतर्फ रामसुन्दर परियार, मालवाहक नवीन प्रजापति, ट्याक्सीतर्फ प्रकाश तिवारी, ट्याम्पो रामप्रसाद घिमिरे, माइक्रोबसतर्फ नारायणप्रसाद भट्टराई, जिपतर्फ रवीन्द्रमान श्रेष्ठ र हलुका मालवाहकतर्फ चिन्तामणि आचार्य निर्वाचित हुनुभएको छ ।

यस्तै, प्रदेश १ को संयोजकमा सरोज श्रेष्ठ, मधेस प्रदेशको संयोजकमा हरिनारायण यादव, बागमती प्रदेश संयोजकमा सुमन गिरी, गण्डकी प्रदेश संयोजकमा केदारप्रसाद पौडेल, लुम्बिनी प्रदेश संयोजकमा सञ्जीव रोका, कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकराज जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार राति भएको निर्वाचनमा ८१६ मत खसेको थियो ।

निर्वाचन सम्पन्न गर्न कमी रहँदैन

निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने बताउनुभएको छ ।

नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अनुभव र कार्यशैलीले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका बताउनुभयो ।

उहाँले भन्नुभयो “निर्वाचनमा खटिएका सबै कर्मचारीको बुझाइ साझा र एकरुपता हुनुपर्छ ।

स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि कुनै पनि कुराको कमी नराखीकन गर्ने दायित्व र जिम्मेवारी रहेको छ”, उहाँले भन्नुभयो, “निर्वाचनको व्यवस्थापनको कुरा गर्दा निर्वाचनको दिनमात्रै नभएर निर्वाचनको समग्र मतदान केन्द्र, मतदानस्थल, मतगणना, जनशक्ति व्यवस्थापनलगायतका आममतदाताले सहजरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने जिम्मेवारी र दायित्व पनि छ ।”

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग समन्वय र सहकार्य गर्दै सबैले आ–आफ्नो जिम्मेवारी र दायित्वमा एकरुपता लिन कार्यक्रमले सहयोग पु¥याउने आयोगको अपेक्षा रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली जिल्लाको १० जिल्ला र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्ला गरी १३ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, १३ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको जानकारी दिनुभयो ।

उहाँले निर्वाचन सम्पन्न गर्न धेरै कुराको विचार गर्नुपर्ने अवस्था आउने भएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्ने बताउनुभयो ।

“आफूले मात्रै राम्रो गरेर हुँदैन अरुले पनि राम्रो गरिदिनुपर्छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्दछ”, उहाँले भन्नुभयो, “मतदान केन्द्रमा खटिएको एउटा कर्मचारीलाई गर्ने काम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग पनि जोडिएर आउने भएकाले सबैलाई उत्तिकै जिम्मेवार र जागरुक बनाउनु जरुरी हुन्छ ।”

नेपाल टेलिकमल ल्यायो नयाँ वर्ष अफर

नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ ।

विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्ष (New Year) को अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष (New Year Offer) अफर उपलब्ध गराएको हो ।

यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ ।

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।

यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २ बजे बस्दै

काठमाडौँ – आज (वुधबार) पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ।

साथै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए। अब स्थानीय तहको चुनाव आउन ३० दिन मात्रै बाँकी रहेको छ।

बीटीआइमा स्नातक अध्ययन सुरु हुने

बुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि यहाँको पुरानो प्राविधिक शिक्षण संस्था बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ)मा स्नातक तहको अध्यापन हुने भएको छ ।

आगामी शैक्षिक सत्रदेखि सो तहको अध्यापन सुरु हुन लागेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा इन्स्टिच्युट र काठमाडौँ विश्वविद्यालय काठमाडौँको सहकार्यमा चार वर्षे ब्याचलर अफ टेक्निकल एजुकेशन (बीटेकएड), जनरल मेकानिकल इन्जिनियरिङ जनरल विषयको पठनपाठन गर्ने गरी गत पुसमा सम्झौता भएको थियो ।

यो कार्यक्रमले लामो समयदेखि स्नातक कार्यक्रम सञ्चालन गर्ने योजना पूरा भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

आगामी असोजदेखि सुरु हुने शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने तालिका तय भएको बीटीआइका कामु कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यु पन्थीले जानकारी दिनुभयो ।

विसं २०२१ मा तीन जना प्राविधिक तालिम दिइ सुरु भएको बीटीआइले हालसम्म २५ भन्दा धेरै प्राविधिकले तालिम प्राप्त गरिसकेका छन् ।

हाल उक्त इन्स्टिच्युटमा दुई वर्षे १२१ जना, चार वर्षे ७६ जना, प्रिडिप्लोमा १५३ जना गरी जम्मा ३३२ अध्ययनरत छन् ।

यसबाहेक छोटो अवधि तालिम कार्यक्रमअन्तर्गत तीन हजार १८४ ले तालिम लिइसकेका छन् ।

बीटीआइबाट उत्पादिन प्राविधिक जनशक्ति हाल देशका विभिन्न उद्योगमा रोजगार पाएर खपत भएका छन् ।

विभिन्न उद्योगीले यहाँबाट उत्पादित जनशक्तिलाई रोजगार प्रदान गर्दैआएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो ।

बीटीआइमै तीन वर्षे शैक्षिक डिप्लोमा कार्यक्रम थप गर्ने र छिट्टै बीटीआइलाई इन्जिनियरिङ कलेजको रुपमा विकास गर्ने योजना रहेको बीटीआइका कामु निर्देशक पन्थीको भनाइ छ ।

यस्तै बीटीआइबाट उत्पादित जनशक्तिबाट सयौँ उद्योगको स्थापना र सञ्चालन भएका छन् ।

उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव र सीप नभएको जनशक्ति मात्र उत्पादन गर्दा काम नपाउने र बेरोजगार बन्नुपर्ने भएकाले नेपालमै पहिलो पटक विसं २०२० मा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रशिक्षण केन्द्रका रुपमा बीटीआइको स्थापना भएको हो ।

यस संस्थामा हाल डिप्लोमा तालिम कार्यक्रमअन्तर्गत चार वर्षे मेकानिकल, बिल्डिङ र इलेक्ट्रिकल, जुनियर टेक्निसियनअन्तर्गत दुई वर्षे मेकानिकल, बिल्डिङ, कार्पेन्ट्री र बिल्डिङ एण्ड कन्स्ट्रक्सन, प्रिडिप्लोमा तालिम कार्यक्रमअन्तर्गत दुई वर्षे मेकानिकल र इलेक्ट्रिकल, एक हप्तादेखि छ महिनाका मागमा आधारित विभिन्न तालिम सञ्चालन हुँदै आएका छन् ।

३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् ।

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

कस्तो छ आजको मौसम ?

काठमाडौं- आज पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।