जीप दुर्घटनामा चालकको मृत्यु

काठमाडौं -बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नंको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको हो ।

चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ । जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं- सर्लाहीको मलंगवामा चापाकलबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मङ्गलवार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–१०, निवासी ३६ वर्षका अवदेशकुमार गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा मोटर जडान गरेको चापाकल चलाउने क्रममा गुप्तालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दिउँसो करेन्ट लागेर अचेत बनेका गुप्तालाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारेको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापा

खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ ।

यसअघि अध्यक्ष नियुक्त हुनुभएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक नगरपालिका–५ कटुञ्जे निवासी थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

उहाँलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) मा व्यवस्था भएबमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ ।

थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

तीनछाँगे झरनामा टिकटक बनाउनेले नगद पुरस्कार पाउने

काठमाडौं – ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवद्र्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ ।

सुनकोसी गाउँपालिका–९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनछाँगेको विषयमा लेख, रचना, गीत, कविता तथा सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट तीन जनालाई नगदसहित पुरस्कृत गरिने भएको हो ।

तयार पारिएको सामग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोसी गाउँपालिका–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचार सामग्रीसमेत तयार पार्न सकिने उहाँको भनाइ छ ।

नयाँ वर्ष–२०७९ को पहिलो दिन वैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवद्र्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत् साङ्गीतिक कार्यक्रमसहितको तयारी गरेको प्रवद्र्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताउनुभयो ।

कार्यक्रममा स्थानीयवासीको जातीय पहिचान झल्काउने झाँकी, ककनीको अग्र्यानिक स्वादसहित स्वादिष्ट परिकारहरु, राष्ट्रिय फूल लालीगुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ ।

स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवद्र्धन अभियान चलाएका छन् । सुनकोसी–९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइएको छ ।

पुरानो किंवदन्ती बोकेको धार्मिक तथा प्राकृतिक रमणीय स्थल तीनछाँगे विगतमा ओझेलमा थियो । त्यहाँसम्म पुग्ने बाटोसमेत थिएन । अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगेसम्म पुग्ने सहज बाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायत पूर्वाधार निर्माण गरिएको छ ।

पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ ।

मधेस प्रदेशका जिल्लामा चुनावको पार्टीगत अवस्था

धनुषा-स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ ।

एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्नेगरी चैत २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

बैठकबाट यही चैत २२ गते पालिका–जिल्ला कमिटीसँग आ–आफ्ना सङ्गठनको अवस्था बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित गरिएकामा गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीयस्तरसम्म पनि हुनसकेको छैन ।

मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायत जिल्लामा गठबन्धनका लागि बैठक भए पनि पर्सा, बारा, रौतहटलगायत जिल्लामा भने अझै हुनसकेको छैन ।

नेपाली कांग्रेस मधेश प्रदेशका उपाध्यक्ष वीरेन्द्रकुमार सिंह गठबन्धनको बैठक आज महोत्तरीको बर्दिबासमा बस्ने जानकारी दिनुहुन्छ ।

उहाँ गठबन्धनका लागि कांग्रेस सकारात्मक रहेको भन्दै अधिकांश पालिका तथा जिल्लास्तरमा पनि गठबन्धनका लागि गृहकार्य भइरहेको प्रतिक्रिया दिनुहुन्छ ।

मधेश प्रदेशमा कांग्रेस, (नेकपा माओवादी) केन्द्र, जनता (समाजवादी) पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन छ ।

मधेश प्रदेशका ८ जिल्लामा १३६ पालिका छन् । तराईका आठ जिल्ला मिलेर बनेको मधेस प्रदेश रणनीतिक महत्व बोकेको क्षेत्र हो ।

क्षेत्रीय राजनीतिबाट आएर राष्ट्रिय दलको हैसियत बनाएका लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टीको आधारक्षेत्र पनि मधेस प्रदेश नै हो ।

कुनै बेला मधेस–तराई नेपालको राजनीतिमा पुरानो दल कांग्रेसको एकल भोट बैंकको रुपमा चिनिन्थ्यो ।

इतिहासमा पनि राजनीतिक आन्दोलन कांग्रेसले मधेसबाटै विस्तार गरेको देखिए पनि पछिल्ला चुनावमा कांग्रेस मधेसमा खुम्चिँदै गएको छ ।

केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव कांग्रेस मधेसमा कमजोर हुँदासमेत स्थानीय तहमा पहिलो पार्टी भएको जिकिर गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “एमाले मधेसमा खासै देखिएन । मधेसका लागि मात्र भनेर खुलेका दलहरू जुट्ने र फुट्नेमा व्यस्त छन् ।

क्षेत्रीय दलका रुपमा उदाएका मधेश केन्द्रित दलहरुले जनताका काममा केही गर्न सकेका छैनन् ।”

नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार पनि यस पटक जिल्लाका अधिकांश पालिकामा जित्ने जिकिर गर्दै भन्नुहुन्छ,“जनताको झुकाव पुनः कांग्रेस पार्टीतिरै देखिएको छ ।

गाउँ–गाउँमा अहिले लहर चलेको छ । मधेसवादी दलका गतिविधिले जनता सन्तुष्ट नभएकाले यसपटक कांग्रेसले अधिकांश पालिकामा जित्ने पक्का छ ।”

गत चुनावमा जिल्लामा पार्टीगत अवस्था

मधेश प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगर र ५९ गाउँपालिका गरी १३६ स्थानीय छन् । यी पालिकामा १२७१ वडा छन् ।

मधेस प्रदेशको पूर्वी सीमा जिल्ला सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिकासहित १८ स्थानीय तह छन् । यी १८ स्थानीय तहमा १६४ वडा छन् ।

सिराहा जिल्लामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ पालिका छन् । जिल्लाका १७ पालिकामा १६४ वडा छन् ।

प्रादेशिक राजधानी धनुषा जिल्लामा एक उपमहानगर, ११ नगर तथा छ गाउँपालिका गरी १८ स्थानीय तह छन् ।

यी १८ स्थानीय तहमा १६९ वडा छन् । पन्ध्र स्थानीय तह रहेको महोत्तरीमा दश नरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तहका १३८ वडा छन् ।

सर्लाहीमा भने सबैभन्दा धेरै ११ नगरपालिका र नौ गाउँपालिकासहित २० स्थानीय तह छ । त्यहाँ २०० वडा छन् ।

सोह्र नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा १५७ वडा छन् ।

एउटै जिल्लामा दुई उपमहानगरपालिका रहेको बारामा पाँच नगरपालिका र नौ गाउँपालिका गरी १५ स्थानीय तह छन् । यी १५ पालिकामा १६७ वडा छन् ।

मधेसकै एकमात्र महानगरपालिका रहेको पर्सामा तीन नगरपालिका र दश गाउँपालिका गरी १४ स्थानीय तह छन् ।

यी १४ स्थानीय तहमा ११२ वडा छन् । कूल १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा कांग्रेसले पालिकाको प्रमुखमा जम्मा ४० स्थानीय तहमा जितेकामा उपप्रमुखमा भने ३८ स्थानीय तहमा मात्र जितेको थियो ।

वडातर्फ २९५ ठाउँ जितेको कांग्रेस प्रमुखपदमा जितेको आधारमा मधेसका स्थानीय तहमा २९ प्रतिशतको हैसितमा छ ।

उपप्रमुख-उपाध्यक्षतर्फ करिब २८ प्रतिशतको हैसितमा रहेको कांग्रेस वडा तहमा त्योभन्दा कम २३ प्रतिशतमा सीमित छ ।

मधेस प्रदेसमा दोस्रो दलको हैसियत तत्कालीन सङ्घीय समाजवादी फोरमले पाएको थियो ।

पछि यो दल नयाँ शक्ति, राष्ट्रियता जनता पार्टीसँग मिल्दै अहिले जनता समाजवादी पार्टीको नाममा रहेको छ ।

मधेसमा तेस्रो दलको हैसियतमा तात्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले बनाएको थियो । उसले २५ स्थानीय तहमा प्रमुख पद जितेको थियो ।

अहिले उक्त दल लोसपाको नाममा रहेको छ ।

केन्द्रमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र मधेसमा अघिल्लो स्थानीय तह निर्वाचनका आधारमा चौथो हैसियतमा छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार माओवादीले २१ स्थानीय तहमा प्रमुख जितेको थियो ।

अठार स्थानीय तहमा प्रमुख जितेको नेकपा(एमाले) मधेसमा पाँचौँ दलको हैसियतमा थियो भने त्यसपछि नेपाल लोकतान्त्रिक फोरमले तीन, नेपाली जनता दलले दुई र नयाँ शक्ति पार्टीले एक स्थानीय तहमा २०७४को स्थानीय तह निर्वाचनमा प्रमुख पद जितेका थिए ।

मधेश प्रदेश सभापति कृष्ण यादव कांग्रेस मधेसमा कमजोर नभएको बताउँनुहुन्छ ।

उहाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक कांग्रेसले दोब्बर स्थानीय तह अर्थात कम्तीमा ८० ठाउँ जित्ने जिकिर गर्नुहुन्छ ।

सभापति यादव भन्नुहुन्छ,“विगतको चुनावमा मधेश आन्दोलनको प्रभाव थियो तर अब यहाँ त्यो निस्प्रभाव हुँदै गएको छ, अहिले धमाधम अरु पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेको लाम लागेको छ ।

यहाँ कांग्रेसप्रति पुनः जनताको विश्वास जागेको छ । हामी ८० भन्दा माथि स्थानीय तह जित्ने आंकलन गरेर बसेका छौँ ।”

वडा तहको अवस्था

सप्तरी-नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेको सप्तरीमा कांग्रेसले पाँच स्थानीय तहमा प्रमुख र सात स्थानीय तहमा उपप्रमुख, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पाँच–पाँच, नेकपा(एमाले)ले दुई र तात्कालीनका नयाँ शक्तिले एक स्थानीय तहमा जितेको थियो ।

जिल्लाका कूल १६४ मध्ये कांग्रेसले ४० वडा अर्थात २५ प्रतिशत वडामा जितेको थियो ।

सिराहा: सिराको १७ स्थानीय तहमध्ये कांग्रेसले जम्मा दुई स्थानीय तहमा मात्र जितेको थियो ।

त्यस जिल्लामा माओवादी केन्द्रले छ, सङ्घीय समाजवादी फोरमले पाँच र एमालेले चार स्थानीयमा तह जितेका थिए ।

कांग्रेसले जिल्लाको कल्याणपूर नगरपालिका र नवराजपुर गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

सिरहाका कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव पार्टी अन्तरघातको शिकार हुँदा सिरहामा कांग्रेसको अवस्था बिग्रेको तर अहिले २०७४ का भन्दा माहोल फरक भएकोले यस पटक कांग्रेस नै पहिलो पार्टी बन्ने जिकिर गर्नुहुन्छ ।

धनुषा: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृह जिल्ला धनुषामा कांग्रेसले आठ स्थानीय तहमा जितेको थियो ।

सबैभन्दा बढी रणनीतिक महत्वको जनकपुरधाम उपमहानगरपालिकामा हारेको कांग्रेसले आठ प्रमुख र सात उपप्रमुखमा जितेको थियो ।

कूल १६९ वडा रहेको धनुषामा कांग्रेसका ४७ वडाध्यक्ष थिए ।

धनुषामा दोस्रो दलको हैसियत एमालेले बनाएको थियो । उक्त दलले चार स्थानीय तहमा प्रमुख, र माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समान दुई–दुई स्थानीय तहमा जितेका थिए ।

महोत्तरीः १५ स्थानीय तह रहेको महोत्तरीमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जम्मा तीन स्थानीय तहमा प्रमुख र एउटामा मात्र उपप्रमुख जितेको थियो ।

महोत्तरीमा दश नगरपालिका र पाँच गाउँपालिका रहेकोमा राष्ट्रिय जनता पार्टीले सात, माओवादी केन्द्रले चार र सङ्घीय समाजवादी फोरमले एक स्थानीय तहमा जितेका थिए ।

जिल्लाका १३८ वडामध्ये कांग्रेसले ३५ वडामा जितेको थियो ।

सर्लाही: सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला सर्लाहीको २० स्थानीय तहमध्ये कांग्रेसले जम्मा पाँच स्थानीय तहमा प्रमुख जितेको थियो भने चार स्थानीय तहमा मात्र उपप्रमुख जितेको थियो ।

सर्लाहीमा राष्ट्रिय जनता पार्टीले छ, एमालेले चार, माओवादी केन्द्रले तीन तथा सङ्घीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले एक–एक स्थानीय तहमा जितेका थिए ।

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसँग एकता भइसकेकाले कांग्रेसका स्थानीय तहका प्रमुखको सङ्ख्या छ पुगेको छ । सर्लाहीका २०० वडामध्ये कांग्रेसले ४७ वडामा जितेको थियो ।

रौतहटः रौतहटको १८ स्थानीय तहमध्ये आठ पालिकामा प्रमुख र छ पालिकामा उपप्रमुख जितेको कांग्रेसले १५७ वडामध्ये ५२ वडामा पनि जितेको थियो ।

रौतहटमा दोस्रो दल तत्कालीन सङ्घीय समाजवादी फोरम रहेको थियो । उसले चार स्थानीय तहमा जितेको थियो ।

रौतहटमा माओवादी केन्द्रले तीन, राष्ट्रिय जनता पार्टीले दुई र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तहमा जितेका थिए ।

एमाले भने चन्द्रपुर नगरपालिकामा उपप्रमुख मात्र जितेको थियो । लोकतान्त्रिक फोरमसँगको एकतापछि रौतहटमा कांग्रेसको स्थानीय तहमा प्रमुखको सङ्ख्या नौ पुगेको थियो ।

बारा: सोह्र स्थानीय तह रहेको बारा जिल्लामा कांग्रेसले छ स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो ।

जिल्लामा तत्कालीन सङ्घीय समाजवादी फोरमले चार, तात्कालीन राजपाले तीन र नेकपा एमालेले दुई स्थानीय तहमा जितेका थिए ।

नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तह जितेको थियो । लोकतान्त्रिक फोरम कांग्रेसमा मिलेपछि कांग्रेसका प्रमुखको सङ्ख्या बारामा सात पुगेको थियो ।

पर्सा: चौध स्थानीय तह रहेको पर्सा प्रदेशमै एकमात्र महानगर भएको जिल्ला हो । जिल्लाको जम्मा तीन स्थानीय तहमा प्रमुख र पाँच स्थानीय तहमा उपप्रमुख जितेको कांग्रेसले कूल ११२ वडा वडामध्ये ३७ वडामा जितेको थियो ।

पर्सामा पहिलो दल सङ्घीय समाजवादी फोरम हो । फोरम चार स्थानीय तहमा विजयी हुँदा, माओवादी केन्द्रले तीन, नेकपा एमालेले दुई तथा नेपाली जनता दलले दुई स्थानीय तह जितेका थिए ।

वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

काठमाडौं- खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताउनुभएको छ ।

मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभएको थियो ।

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको थियो ।

परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।

सो अवसरमा उहाँले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकामा खुसी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो । मन्त्री चौधरीले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताउनुभयो । कार्यक्रममा उहाँले सन्तनेता स्वर्गीय कुष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण पनि गर्नुभभयो ।

हेलम्बु गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पाले यहाँका बाढीपीडितको समस्या समाधानका लागि मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले ११ बुँदे ज्ञापनपत्र बुझाउँदै हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार रु पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा १५ देखि २० लाख उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभयो ।

मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड बापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि पनि ठोस पहल गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पालगायतको उपस्थिति थियो ।

मंगलबार ३४.७९ अंकले घट्यो नेप्से

काठमाडौं । आज मंगलबार शेयर बजार परिसूचक नेप्से ३४.७९ अंकले घटेर २४ सय तल झरेको छ ।
मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५.०१ विन्दुमा झरेको छ ।

लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ लाख ७३ हजार २४ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।

आज राति मेघ गर्जन-चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभरकाका पहाडी भेगका आंशिक बदली रहेको तथा बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

आज राती देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताउनुभएको छ ।

आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐनर युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धि परामर्श गोष्ठीमा उहाँले आम नेपालीले ल्याएको परिवर्तन जनता आफैँले अनुभूति गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसका लागि पनि संविधानका आधारमा कानुन बनाउनुपर्छ ।” ‘डिजिटलाइजेसन’ र ‘ग्लोबलाइजेसन’ को अधिकतम फाइदा लिनुपर्नेमा अध्यक्ष दाहालको जोड छ ।

यसबाट कसरी फाइदा लिन सकिन्छ भनी सकारात्मक र रचनात्मक विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो ।

विकासको अरुको मोडेललाई यान्त्रिक तरिकाले जसरी पछ्याउन नसकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हाम्रो आफ्नै तरिकाले बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न आवश्यक रहेको छ ।”

आफू प्रधानमन्त्री हुँदा मध्यपहाडी राजमार्ग र ‘लिङ्क रोड’ को विकासमा विशेष ध्यान दिएको अध्यक्ष दाहालले बताउनुभयो ।

आफैँले ल्याएको परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसका लागि अरु मन्त्रालयहरुले पनि समन्वयात्मक ढङ्गबाट ऐन, नीति बनाउन लाग्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत सहरी विकासको गोष्ठी गर्न ढिला भए पनि महत्वपूर्ण विषय भएकाले यसमा छलफल आवश्यक रहेको बताउनुभयो ।

सिङ्गो विश्व नै एक सताब्दीदेखि सहरीकरणमा अघि बढेको र सन् २०५० सम्ममा संसारको ७० प्रतिशतभन्दा बढी सहरी क्षेत्रमा बसोबास गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकीकृत विकास प्रक्रियामा कस्तो नीति र ऐन बनाएर जाने भनेर पछि परेका छौँ ।”

अझै पनि हाम्रा सहर व्यवस्थित हुन नसकेको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

हाम्रो देशमा २००७ सालदेखि सहरीकरण सुरु भएको र २०४६ सालपछि तीव्र भएको उहाँले बताउनुभयो ।

संविधानअनुसार तीन तहको सरकार बनेपछि सङ्घीय राजधानी, प्रदेश राजधानी र पालिकाको केन्द्र पनि व्यवस्थित गर्दै जानुपर्नेमा उहाँको जोड छ ।

गृहमन्त्री बालकृष्ण खाँणले सडकमा एउटाले बनाउने र अर्काेले खन्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

पालिकाको केन्द्रसम्म सडक पुगेका ठाउँमा पनि वडासम्म विस्तार हुननसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रसम्म पूर्वाधार निर्माणको योजना लैजानुपर्छ ।”

स्थानीय तहको निर्वाचनमा सहभागी हुन गृहमन्त्री खाँणले सबै दललाई आग्रह गर्नुभयो ।

विगतमा नेपाली कांग्रेस र तत्कालीन (नेकपा माओवादी)ले मिलेर नै शान्ति सम्झौता गरेको र हाल विकासका लागि पनि सँगसँगै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाउँका बस्ती विस्तारै रीत्तिदै गइरहेको र सहरमा क्रमशः बस्ती घना भइरहेको बताउनुभयो ।

सहर निर्माणलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “अहिले हामीले योजनाबद्ध सहर विकास गर्न सकिरहेको छैनौँ ।”

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत सहरी विकासका लागि ऐन र नीति आवश्यक रहेकाले त्यसको तयारी अघि बढाइएको बताउनुभयो ।

खोलामा घर बनाएकाले अहिले घरभित्र खोला पसेको उहाँले बताउनुभयो ।

सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा काठमाडौँलगायत सहरी क्षेत्रमा दुई सयजना बस्ने खुल्ला ठाउँ पनि नहुने अवस्था आइरहेको उहाँको भनाइ थियो ।

कतारमा अवैधानिक रूपमा बसेकालाई स्वदेश फर्कने समय थपियो

काठमाडौं- दोहा–कतार सरकारले आममाफीको समयावधि पुर्न अप्रिल अन्तिमसम्म थपेको छ ।
कतारको आन्तरिक मन्त्रालयले कानुन उल्लङ्घन गरी बसेका आप्रवासीहरूको अवस्थालाई वैधानिक भएर बस्न वा बिना जरिवाना मुलुक छोड्न दिएको समय अवधि ३० अप्रिलसम्म थपिदिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कानुन उल्लङ्घन गर्ने सबै प्रवासीहरूले खोज तथा अनुगमन विभागमा सेटलमेन्ट आवेदन बुझाउनुपर्ने र एक रोजगारदाताबाट अर्को रोजगारदातामा सरुवा गर्न इच्छुक व्यक्तिले विभागमा आफ्नो निवेदन पेस गर्नुपर्ने जनाएको छ।
मन्त्रालयले अप्रिल ३० तारिखसम्म कानुन उल्लङ्घन गर्ने जोकोहीलाई दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको केन्द्रमा जान सुझाव दिएको छ ।

कतार सरकारले आममाफीको समय अवधि थप गरेसँगै अवैधानिक रूपमा बसेका थुप्रै नेपाली कामदार पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्।

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं – धनुषाको जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडानम्बर(१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर-९ घर भई जनकपुरधाम-४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका-१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दुवैजनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उहाँले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरहरुमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट सुरु गरिने उहाँले बताउनुभयो ।

तराई मधेस केन्द्रित सघन सहरी विकास कार्यक्रममार्फत जनसाङ्ख्यिक सन्तुलन कायम गर्न आबश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भन्नुभयो, “पहाडी जिल्लाबाट तराई मधेसमा हुने बसाइँसराइलाई निरुत्साहित गर्न हिमाली तथा पहाडी नगरपालिकाहरुमा विस्तार गरिनेछ ।”

सहरी विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्दै विकास निर्माणमा दोहोरोपन हटाइने प्रधानमन्त्री देउवाले बताउनुभयो । सरकारी खर्च कम गर्न सकेमा मुलुकको सहरी विकासले काँचुली फेर्नसक्ने उहाँको विश्वास छ ।

सहरीकरणमा देखिएका समस्या तथा चुनौतीको सम्बोधन गरिने र नयाँ सहरी नीतिमार्फत सम्मुनत राष्ट्रिय सहरी पूर्वाधारको पहुँचमा विस्तार गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसले सहरी विकासका लागि समुचित स्रोत परिचालन गर्ने तथा अन्तर सरकारी समन्वय र सहरी सुशासन सुनिश्चित गर्न सहयोग गर्नेछ ।”

विश्वका अत्यधिक गतिमा सहरीकरण भइरहेका देशमा नेपाल पनि एक रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । आर्थिक, सामाजिक र राजनीतिक विकासका साथै देशको समग्र विकासमा सहरीकरणको भूमिका रहेको उहाँको भनाइ छ ।

नेपालले व्यवस्थित सहरीकरणका लागि दोस्रो पञ्चवर्षीय योजनादेखि प्रयास गर्दै आएको भए पनि नेपालका सहरहरु अपेक्षित विकास हुन नसकेको उहाँले बताउनुभयो । व्यवस्थित, सफा, सुन्दर र नयाँँ सहरको विकासको विकास गर्ने र सँगै विद्यमान पुराना सहरहरुमा आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “सहरी क्षेत्रका बासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउन तत्काल ठोस कामहरु सुरु गर्न जरुरी भइसकेको छ ।”
सहरी विकास मन्त्रालयले सहरी विकासको क्षेत्रका मुख्य चुनौतीहरु पूर्वाधार लगानी, सहरी शासकीय आवश्यकता र सहरी आयामहरुलाई समावेश गरी नीतिको मस्यौदा तयार गरेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

मस्यौदामा सम्मुनत, सन्तुलित सहरी प्रणालीको विकास, पूर्वाधार विकास र लगानीमा नवप्रवद्र्धनमार्फत तीनै तहका सरकारहरुबाट समन्वयात्मक रुपमा भौतिक योजना तर्जुमा र कार्यान्वयन समावेश रहेको उहाँले प्रस्ट पार्नुभयो ।

मेलम्ची नदीको पानी पुन: पथान्तरण

मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो ।

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो ।

पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो ।

त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो ।

सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।

भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

काठमाडौं- भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ

महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

फेरियो कम्पनी रजिस्ट्रार र वाणिज्य-आपूर्ति विभागको नेतृत्व

काठमाडौँ-सरकारले कम्पनी रजिस्ट्रारको कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्व फेरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा सहसचिव महेश बराललाई खटाएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लीला प्रसाद शर्मा खटाइएको छ ।

मन्त्रालयले आफु अन्तर्गतका दुई महत्त्वपूर्ण निकायमा कार्यालय प्रमुख फेरेको हो ।

बराललाई रिक्त रजिस्ट्रारमा खटाउँदै गर्दा शर्मालाई भने महानिर्देशक प्रेमकुमार श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा पठाइएको हो ।

श्रेष्ठ ६ महिनामै मन्त्रालय तानिएका हुन् ।

८ महिनादेखि नेतृत्वविहीन बनेको मन्त्रालयले नेतृत्व पाउनु अघिल्लै दिन अर्थात् गत बुधवार मात्रै दुवै विभागमा सरुवा तथा नयाँ प्रमुख पठाइएको थियो ।