गोली हानी एकै घरका आठ परिवारको हत्या

काठमाडौं – मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ ।
मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ ।अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ।गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो ।

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ ।

पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको हो ।

निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरुत्साहित बनेका थिए ।

तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएकोे हो ।

अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ ।

आगामीे वैशाख महिनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले बताउनुभयो । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न झमेला भएको उहाँले बताउनुभयो ।

रु नौ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गतको झोलुङ्गे पुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ ।

स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् ।

कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको उहाँले बताउनुभयो ।

विसं २०७१ मङ्सिर १५ गते निर्माण थालिएको थियो ।

तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ ।

मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो ।

ठूलो सङ्ख्यामा श्रमबजार प्रवेश गर्ने श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरूलाई रोजगारीमा आबद्ध गराउने मन्त्रालयको योजना छ ।

मन्त्रालयले यसअघिदेखि नै विभिन्न सरकारी निकायबाट विधागतरूपमा प्रदान गरिने तालिमको प्रभावकारिता नदेखिएको भन्दै प्रतिष्ठान बनाएर सबै प्रकारका तालिम एकै संस्थाबाट प्रदान गर्नुपर्ने विषय उठाउँदै आएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई पुनःसंरचना गरी अधिकारसम्पन्न संस्थाका रूपमा विकास गरिने जानकारी दिनुभयो ।

प्रतिष्ठानमा आयोजित कार्यक्रममा उहाँले एक दर्जन बढी सरकारी निकायले उस्तै प्रकारको तालिम कार्यक्रम सञ्चालन गरे पनि परिणाममुखी नभएकाले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको तालिम प्रदान गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि तयारी अघि बढाइएको बताउनुभयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाइनुपर्छ भन्नुभयो ।

प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले आफ्नै प्रत्यक्ष व्यवस्थापन तथा तालिम प्रदायक संस्थामार्फत आधारभूत तालिम, उद्यमशीलता विकास तालिम, प्रशिक्षक प्रशिक्षण गरी तीन लाख १० हजार बढीलाई तालिम प्रदान गरिएको बताउनुभयो ।

तालिम सञ्चालनको छुट्टै नीति तथा कानुनको अभावले सीप विकास तालिम व्यवस्थित हुन नसकेको उहाँको भनाइ छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप तालिम कार्यक्रम अहिले विभिन्न मन्त्रालय, विभाग तथा अन्य सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरे पनि लगानीअनुसार प्रतिफल भने प्राप्त गर्न सकेको देखिँदैन ।

सीप विकास तालिम कार्यक्रमलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन यसलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो ।

सीमा क्षेत्रमा हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने प्रहरीको मुख्य योजना छ ।

जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि सहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मातहतमा इलाका प्रहरी कार्यालय ( क क्षेणी) तीन, इलाका प्रहरी कार्यालय (ख क्षेणी) सात, वडा प्रहरी दुई, सीमा प्रहरी चौकी तीन, प्रहरी चौकी २८ र अस्थायी प्रहरी पोष्ट १२ गरी कूल ७१ प्रहरी युनिट छन् ।

नेपाल प्रहरीतर्फ जिल्लाभरि कूल एक हजार १६७ दरबन्दी रहेको यस जिल्लामा हाल ९४३ प्रहरी कार्यरत छन् ।

जग्गादान पर्साको सखुवाप्रसौनी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि रामेश्वरप्रसाद कलवार र कलवाती देवीले सखुवाप्रसौनी–२ पंचगावा बजारस्थित नौ कठ्ठा दुई धुर जग्गादान गर्नुभएको छ ।

उक्त जग्गा गाउँपालिकाको नाममा नामसारी गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभएको हो ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती सरिता कँणेल खनाललाई सो सङ्घकी उपाध्यक्ष ज्योति केसीले फूलमालासहित बिदाइ गर्नुभएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभयो ।

महानिरीक्षक खनालले साङ्गठनिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय केसी र पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयोे ।

महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुति दिनुहुने सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्दैै कर्तव्य पालनाका सिलसिलामा घाइते भई अङ्गभङ्ग भएका राष्ट्रसेवकहरूको समेत शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

उहाँले सङ्गठन आजको यस स्थानमा आइपुग्नुमा सङ्गठनका पूर्वज नेतृत्व, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीले पुर्‍याएको योगदानको स्मरण गर्नुभयो ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारी उत्तरी सिमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षामा खटिएको जानकारी दिनुभयो ।

उहाँले सीमा अपराध नियन्त्रण, आपत्विपत् पीडित नागरिकको उद्वार तथा चोरी निकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा सङ्क्रमितको उपचारमा नेपाल एपिएफ अस्पतालमार्फत प्रदर्शन गरेको सेवा था समर्पणभावको समेत सरकार तथा विभिन्न निकायबाट प्रशंसा भइरहेको उल्लेख गर्नुभयो ।

समारोहमा सम्बोधनका क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा बधाई दिँदै अवकाशपछिको जीवन सुखमय बितोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।

शशांक कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ

काठमाडौं-नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ ।

चुनाव खर्चबारे कोइरालाले दिएको अभिव्यक्तिलाई लिएर आयोगले जवाफ मागेको हो ।

कोइरालाले हालसालै २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।

आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।

यस्तै २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचार संहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै आयोगले केकसो भएको हो तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन एकीकृत समाजवादी पार्टीलाई भनेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ

काठमाडौँ-शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ ।

नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उहाँले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताउनुभएको हो ।

आज अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्ति प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोसुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई संरक्षण गरिरहेका छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।”

उहाँले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्नसक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरुको रटानका कारण थप समस्या सिर्जना भएको बताउनुभयो ।

हाल विद्यमान कानून र स्रोतसाधनले बागमती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै मन्त्री झाँक्रीले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा सरकारका पूर्वमुख्य सचिव एवं बागमती सफाइका मुख्य अभियन्ता लीलामणि पौड्यालले बागमती नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई सरकारले छिटो व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

देशैभरका नदी किनारालाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने खालको ऐन ल्याउन उहाँले सरकारसँग माग गर्नुभयो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पूर्ण अधिकारसहितको बागमती सभ्यता ऐन र पर्याप्त लगानी बजेट नहुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भइरहेको बताउनुभयो ।

भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार

काठमाडौं- नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा रु एक करोड ५० लाखको कारोबार भएको छ ।

मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ ।

मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिनुभयो । मेलामा विद्यार्थीलाई रु ४० र अन्यलाई रु ५० प्रवेश शुल्क निर्धारण गरिएको छ ।

यही चैत २४ देखि सुरु भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्ने छ । मेलामा २०० भन्दा बढी कक्ष राखिएका छन् । मेलामा रु आठ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले मेला आयोजना गरेको हो ।

मोटरसाइकलबाट खसेर एक जना महिलाको मृत्यु

काठमाडौं – मोटरसाइकलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।
बाराको पचरौता नगरपालिका–८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २–०३–०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट ईशनाथ नागरपालिका–२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवी रहेकी छन् ।

जापान जान लागेकी महिला गोलीसहित विमानस्थलबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताउनुभयो ।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उहाँको भनाइ छ ।

एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गर्नुभयो ।

गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।

नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उहाँको सुझाव छ ।

आज मधेस प्रदेशसभाको बैठक बस्दै

काठमाडौं – मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाउनुएको छ ।

गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई रु दुई-दुई लाख दान गर्ने घोषणा गर्नुभएको थियो ।

अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गर्नुभएको छ ।

एमालेले आइतबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई अध्यक्ष ओलीले पठाउनुभएको रकम हस्तान्तरण गरेको हो ।

एमाले अध्यक्ष ओलीले पठाउनुभएको सहयोग रकम ग्रहण गर्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामाले ओलीको स्वास्थ्य दीर्घायुको कामना गर्नुभएको छ ।

भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

पत्नी राधिका शाक्यसँगै हलेसी मन्दिर दर्शन तथा मारतिका गुम्बा अवलोकन गर्नुभएका अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रेस चौतारी नेपालले हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराउनुभएको थियो ।

आज कतिले घटयो सुनको मुल्य-तोलामा कति पुग्यो ?

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला रु ९९ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

साथै बैठकले प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउने निर्णयसमेत गरेको थियो । गठबन्धनको शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचनलगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गरिने संयन्त्रका सदस्य सचिव एवं प्रधानमन्त्री शेरबहादुर देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।