भोट माग्न उम्मेदवार घर घरमा

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन् ।

उम्मेदवारी दर्तालगत्तै परिणाम आफ्नो पक्षमा पार्न दलहरुले निर्वाचन परिचालनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा यतिबेला ठूला दलहरु केन्द्रित भएका छन् । यहाँ उम्मेदवारहरु पनि कर्णाली प्रदेशका अन्य स्थानीय तहबाट बढी छन् । वीरेन्द्रनगरमा प्रमुख-उपप्रमुख, १६ वडाका अध्यक्ष, सदस्य गरी ४७७ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १७, उपप्रमुखमा १५ जना उम्मेदवारी छ ।

त्यस्तै वडाध्यक्षमा १०७, महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३, खुला सदस्यमा १८० जनाले मनोनयन दर्ता गरेका छन् । हरेक वडामा टोल कमिटीले आ–आफ्ना दलको झन्डा, उम्मेदवारहरुको फोटो, निर्वाचन चिह्न प्रचारमा जुटिसकेका छन् ।

वीरेन्द्रनगरको नगरप्रमुख पदमा नेपाली कांगे्रसबाट उपेन्द्र खड्का, नेकपा (एमाले)बाट मोहनमाया ढकाल, नेकपा (माओवादी केन्द्र) बाट राजेन्द्र गिरी, नेकपा (एकीकृत समाजवादी) बाट धना शाही, राप्रपाबाट मुकुन्दश्याम गिरीको उम्मेदवारी परेको छ ।

त्यस्तै, उपप्रमुखमा कांगे्रसबाट रामकुमारी थापा, एमालेबाट नीलकण्ठ खनाल, माओवादी केन्द्रबाट शान्ति ढकाल, एकीकृत समाजवादीबाट वीरबहादुर रावत, रापप्राबाट लक्ष्मीकुमारी विकले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । प्रमुख÷उपप्रमुख लगायतका पदमा साना दल र स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

कांगे्रसले आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन अपिल गर्दै वडा तथा टोल कमिटीहरुलाई निर्वाचन अभियानमा होमिन अपिल गरेको छ । कांगे्रसका वीरेन्द्रनगर कार्य समिति सचिव रमेश सापकोटाले मङ्गलबार वडा सभापतिहरुसहितको बैठक बसेर टोलटोलमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिनुभयो ।

टोल कमिटीलाई सक्रिय बनाएर उम्मेदवारसहित घरदैलो गर्ने, वडास्तरमा निर्वाचन परिचालन र प्रचार समिति तत्काल गठन गरी सम्पूर्ण क्रियाशील सदस्यलाई परिचालन गर्ने निर्णयअनुसार आजदेखि चुनावी अभियान सुरु भइसकेको छ,” उहाँले भन्नुभयो, “नगरप्रमुखदेखि वडा सदस्यसम्मका उम्मेदवारहरुले भोट माग्न थालिसकेका छन्, सिङ्गो पार्टीपङ्क्ति पनि आफ्ना उम्मेदवारको प्रचारका लागि खटिएको अवस्था छ ।”

एमाले ले पनि आफ्ना उम्मेदवारलाई विजयी बनाउन घरदैलो कार्यक्रम लगायतका चुनावी अभियान सञ्चालन गरिसकेको छ । एमाले जिल्ला प्रचार विभागका प्रमुख गङ्गाराम तिमिल्सेनाका अनुसार वैशाख २७ गते वीरेन्द्रनगरको पीपलचौतारीमा नगरस्तरीय जनसभा र त्यसअघि वैशाख १६ देखि १९ गतेसम्म नगरका चार स्थानमा कोणसभाको आयोजना गर्ने भएको छ । माओवादी केन्द्र, रापप्राले पनि वीरेन्द्रनगरमा चुनावी अभियान थालिसकेका छन् ।

वीरेन्द्रनगरमा ६७ हजार ५७ मतदाता छन् । स्थानीय तह निर्वाचन २०७४ मा नगरप्रमुखमा कांगे्रसका देवकुमार सुवेदी र नगर उपप्रमुखमा एमालेका मोहनमाया ढकाल निर्वाचित हुनुभएको थियो । कूल १६ वडामध्ये एमालेले नौ वडा, कांगे्रसले ६ र माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका थिए ।

यसपटक कर्णालीका अन्य जिल्लामा सत्ता साझेदार दलहरुले तालमेल निर्णय गरे पनि सुर्खेतमा भने ती दलले अलग–अलग उम्मेदवारी दिएका छन् । सुर्खेतका अन्य स्थानीय तहमा पनि चुनावी रौनक सुरु भइसकेको छ ।

सुर्खेतमा नौ स्थानीय तह छन् । ती सबै स्थानीय तहमा दलहरुले अलग–अलग उम्मेदवारी दर्ता गरेका छन् । कतिपय स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरेर जाने सहमति भइरहेको जनाइएको छ । सुर्खेतमा मुख्य गरी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने गरेको छ ।

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

काठमाडौँ- नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औँ संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ ।

उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानून मन्त्रालयबाट सहमति भएर आएपछि गृहमन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।

यसअघि २० वर्ष सेवा अवधि नपुगेसम्म निवृत्तिभरण पाउने व्यवस्था थिएन । उक्त विनियमावली संशोधन भएमा १६ वर्षमै अवकास लिन सकिने भएकाले तल्लो तहका प्रहरी कर्मचारी राहत मिल्नेछ ।

मन्त्रालयले मूल नियमावलीको नियम १३१, उपनियम (१) मा (१क) थप गरी उपनियम (१0मा जुनसुकै कुरा लेखिएको भए पनि विसं २०६० चैत २६ पछि नेपाल प्रहरीमा नियुक्त हुने प्रहरी कर्मचारीको हकमा सेवा अवधि र निवृत्तिभरण संशोधनको प्रस्ताव गरेको हो ।

प्रस्तावित नियमावलीमा निवृत्तिभरण प्राप्त गर्न प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मको निवृत्तिभरणको अवधि २० वर्ष, प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्ष र प्रहरी जवानदेखि वरिष्ठ हवल्दार तथा कार्यालय सहयोगीको हकमा १६ वर्षे सेवा अवधि तोकिएको छ ।

बीस वर्ष सेवा अवधि नपुग्दै अवकास पाएको खण्डमा भने निवृत्तिभरणबापतको रकम नियुक्ति भएको मितिले २० वर्ष पूरा गरेको दिनबाट मात्रै पाउनेछन् । हाल लागू भइरहेको नियमावलीको नियम १३१ को उपनियम (१) मा २० वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकाश पाएमा निवृत्तिभरण पाउने व्यवस्था थियो । त्यसलाई सहजीकरण गर्दै तहगत विभाजन गरी सेवा अवधि घटाएर निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको हो ।

यसअघि नवौँ संशोधनबाट विसं २०६० चैत २६ अघि नियुक्त भएकाको हकमा मात्र उक्त सेवा प्राप्त थियो । अब संशोधन भएमा त्यसपछि नियुक्त प्रहरी कर्मचारीलेसमेत उक्त सेवा पाउने छन् । अवकाश पाएदेखि निवृत्तभरण पाउनेसम्मको चारवर्षे अवधिमा उनीहरु विभिन्न क्षेत्रमा वा वैदेशिक रोजगारीमा समेत गएर आकर्षक जागिर खान सक्नेछन् ।

यस्तै उनीहरुको स्थायी दरबन्दी खाली हुँदा नयाँ युवाले रोजगारी पाउनेछन् । उक्त व्यवस्थाबाट तल्लो तहका कर्मचारीलाई राज्यले केही हेरेको भन्ने महसुस भई सेवामा थप उत्प्रेरणा मिल्ने विश्वास गृहमन्त्री खाणको रहेको उहाँका प्रेस संयोजक मधुसुदन भट्टराइले जानकारी दिनुभयो ।

यस्तै मूल नियमावलीको नियम १३४ मा रहेको अशक्त भत्ता पनि २० प्रतिशतबाट ५० प्रतिशतमा पु¥याउने गरी प्रस्ताव गरिएको छ । मूल विनियमावलीको नियम ८७ को उपविनियम ९६० मा प्रहरी महनिरीक्षकको अध्ययन बिदाबाहेकका बिदा गृहमन्त्रीबाट स्वीकृत हुनेछ भन्ने प्रतिबन्धात्मक वाक्यांश थप्न प्रस्ताव गरिएको छ ।

सशस्त्र प्रहरीमा पनि संशाधन प्रस्ताव

यस्तै गृहमन्त्रालयले सँगसँगै सशस्त्र प्रहरी (पहिलो संशोधन) नियमावली २०७२ पनि संशोधन प्रस्ताव अघि बढाएको छ । प्रस्तावित नियमावलीमा पनि सशस्त्र प्रहरीको निरीक्षकदेखि महानिरीक्षकसम्मको हकमा २० वर्ष सेवा अवधि पूरा गरेमा निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ ।

यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको हकमा १८ वर्ष र सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी वरिष्ठ हवल्दार तथा परिचरको हकमा पनि निवृत्तिभरणको अवधि १६ वर्ष तोक्ने गरी प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरीमा जस्तै सशस्त्रमा पनि निवृत्तिभरणको सुविधा लिन भने नियुक्ति भएको मितिबाट २० वर्ष पुगेको हुनुपर्नेछ । यस्तै सशस्त्र प्रहरीमा मूल नियमावली २०७२ को नियम ७२ को सट्टा बहालवाला सशस्त्र प्रहरी कर्मचारीले तलब वृद्धि हुँदा स्केलको सुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाइ रकम समान पदको निवृत्त सशस्त्र प्रहरी कर्मचारी, अशक्त सशस्त्र तथा असाधारण निवृत्तभरण बुझिरहेका अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारको निवृत्तिभरणमा पनि थप हुने प्रस्ताव गरिएको छ ।

हाल कायम रहेको विनियमावलीमा ‘अशक्त र असाधारण निवृत्तिभरण बुझिरहेका अमर सशस्त्र प्रहरीका परिवार’ भन्ने वाक्यांश थिएन । गृहमन्त्रालयले अशक्त भत्ता नेपाल प्रहरीमा जस्तै सशस्त्रमा पनि २० बाट ५० प्रतिशत पु¥याउने प्रस्ताव गरेको छ ।

यस्तै महिला सशस्त्र प्रहरी कर्मचारीका हकमा ६० दिन सुत्केरी बिदा पाउँदै आएकामा ९८ दिन हुने प्रस्ताव गरिएको छ । उनीहरुका लागि बेतलबी बिदा तीन महिनासम्म पाउनेमा अब संशोधन भएर आएमा छ महिनासम्म पाउनेगरी संशोधन प्रस्ताव गरिएको छ । प्रस्तावित विनियमावलीमा अध्ययन बिदा नेपाल सरकार र अन्य बिदा गृहमन्त्रीबाट स्वीकृत हुने प्रस्ताव गरिएको छ ।

सुनको मूल्यमा गिरावट

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९९ हजार तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।

एक करोड ५७ लाख ३९ हजार राजश्व सङ्कलन

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो ।

भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा।लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै ब्रोडलिङ्क, वेबसफर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजश्व बुझाएका हुन् । उहाँका अनुसार जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले रु ३०-३० लाख बुझाउन बाँकी रहेको छ । अन्य स–साना कम्पनीहरु प्नि रहेको र उनीहरु राजश्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजश्व बुझाउन थालेका हुन् ।

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

काठमाडौं – सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उहाँको भनाई छ । मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताउनुभएको हो । यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ ।

सो समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् । संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि संघषर्स गर्नु परिरहेको, खाद्यान्न औषधिजस्ता आधारभूत आवश्यकताहरुको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको अवस्था रहेको राष्ट्रसंघले बताएको छ ।

एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ

शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा( एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ ।

यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।”

देशैभर एसइई शान्त रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।

अर्को प्रसङ्गमा बोल्दै उहाँले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताउनुभयो ।

कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले गठबन्धनले निर्वाचनलाई प्रभावकारी रुपले अगाडि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै ठाउँमा मिलेको छ । नमिलेको ठाउँमा पनि आज, भोलि १६ गतेसम्म मिलाउने गरी तयारी भइरहेको छ ।”

बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उहाँले जुनसुकै दलभित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ गर्नु चाहिँ दलीय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताभित्र पर्ने कुरा नभएको बताउनुभयो ।

बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरुको सहमतिका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नुपर्ने उहाँको भनाइ छ ।

उम्मेदवारको चुनावी कार्यसूची : सफा र सुन्दर नगर बनाउनेदेखि भ्रष्टचार अन्त्य गर्नेसम्म

काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले समृद्ध सफा जनकपुरधाम नगर बनाउने कार्यसूचीलाई अघि सारेका छन् ।

जनकपुरधामलाई सुन्दर, सफा नगर बनाउनेदेखि भ्रष्टाचार अन्त्य गर्नेसम्मको कार्यसूची लिएर जनतामा जाने विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार मनोनयन दत्र्ता गराएका उम्मेदवारले बताएका छन् ।

मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिको रुपमा विकास गर्ने कार्यसूचीलाई मुख्य बनाउने उहाँहरुको भनाइ छ । ‘‘जनकपुरधाम सुन्दर र समृद्ध बन्ने दिशामा अघि बढिसकेकाले यसलाई सफल पार्ने मेरो कार्यसूची छ”,सत्तारुढ साझेदार दलको तर्फबाट जनकपुरधामको नगरप्रमुख उम्मेदवारी दिनुभएका निवर्तमान नगरप्रमुख लालकिशोर साहले भन्नुभयो, ‘‘ जनकपुरधाम समग्र रुपान्तरणको बाटोमा अघि बढ्ेको छ, यसलाई पूर्णता दिने मेरो लक्ष्य छ ।”

त्यही लक्ष्य र कार्यसूचीका साथ आफू पुनः नगरप्रमुखमा उम्मेदवारी दिएको उहाँको भनाइ थियो । ‘‘मेरो पाँच वर्षे कार्यकालमा उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ” उहाँले भन्नुभयो,‘‘४०-५० किलोमिटर सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वार्डमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पिसिसी ढलान लगायतका थुप्रै काम भएका छन् ।”यसलाई थप पूर्णता दिन उपमहानगरमा आफ्नो नेतृत्व आवश्यक छ, उहाँले भन्नुभयो ।

डम्पिङ साइड निर्माण नहँदा सरसफाइको समस्या भोग्दै आएका जनकपुरधाम नगरवासीलाई आफू निर्वाचित भएको एक महिनाभित्र सरसफाइको समस्याबाट छुटकारा दिलाउने नेकपा (एमाले)का तर्फबाट नगरप्रमुखका उम्मेदवार शिवशङ्कर साहले बताउनुभयो । ‘‘म निर्वाचित भएको एक महिनाभित्र डम्पिङ साइड निर्माण गरी फोहरमैला व्यवस्थापन गर्छु”, उहाँले भन्नुभयो,‘‘अहिले जनकपुरधाममा देखिएको मुख्य समस्या सरसफाइ नै हो, त्यसमा सुधार ल्याउनु आफ्नो पहिलो प्राथमिकता हो ।”

नगरक्षेत्रको सरसफाइलाई जोड दिँदै सफा र सुन्दर जनकपुर नगर बनाउनु नै आफ्नो उम्मेदवारीको उद्देश्य रहेको उहाँको कथन थियो । पछिल्लो समय बढ्दै गएको आर्थिक अपारदर्शी र भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्नु पनि आफ्नो कार्यसूची रहेको उहाँले बताउनुभयो ।

निरन्तर खस्किँदै गएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयतामा सुधार ल्याउँदै निजी विद्यालय जस्तै सामुदायिक विद्यालयकोस्तर उकास्ने आफ्नो चुनाबी कार्यसूची भएको जनमत पार्टीबाट नगरप्रमुखको पदमा उम्मेदवारी दिनुभएका अनिता साहले सुनाउनुभयो ।

‘‘जनकपुरधाम नगरक्षेत्रको शिक्षा र स्वास्थ्यको गुणस्तरियता खस्किएको छ”, उहाँले भन्नुभयो,‘‘त्यसमा सुधार ल्याउँदै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍यउने मेरो योजना छ ।” चुनाब जिते लगत्तैबाट यो योजनालाई कार्यान्वयनमा लैजाने छु, उहाँको कथन छ ।

धार्मिक पर्यटकीय नगरीको रुपमा परिचित जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट जनकपुरधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार मनोज चौधरीको योजना छ ।

‘‘सफा जनकपुर, सुन्दर जनकपुर र हरियाली जनकपुर बनाउने मेरो योजना छ”, उहाँले भन्नुभयो,‘‘ यसबाहेक शिक्षा, स्वास्थ्यकोस्तर उठाउने र नगरक्षेत्रको सरसफाइको अवस्थामा सुधार गर्ने छु ।” यसका लागि नगरवासीसँग हातेमालो गरी अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।

अधिकांश उम्मेदवारले नगरक्षेत्रको स्वास्थ्य, शिक्षा र सरसफाइलाई प्रमुख एजेन्डा बनाएर प्रचारप्रसार गरिरहँदा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्ररुपमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका मनोज साहले जनकपुरधाम विमानस्थलको स्तरोन्नति र ग्रामीण ‘कनेक्टिभिटी’लाई प्राथमिकतामा राख्नुभएको छ ।

‘‘अहिलेसम्म जनकपुरधाम विमानस्थलकोस्तर बढ्न सकेको छैन्”, उहाँले भन्नुभयो,‘‘ यो विमानस्थलमा अहिले आन्तरिक उडान मात्र हँुदै आएको छ, यसको स्तरोन्नति गरी बाह्य वा अन्तर्राष्ट्रिय उडान गर्नेस्तरसम्म पु¥याउछु ।” यसका लागि आफूले अवसर पाउनुपर्ने उहाँको कथन थियो ।

विभिन्न सामाजिक अभियान चलाउँदै आएको अर्का स्वतन्त्र उम्मेदवार बैधनाथ साहाले जनकपुरधाम नगरक्षेत्रका धार्मिक पोखरी, कुण्ड र तलाउको स्तरोन्नति गरी पर्यटन प्रवद्र्धन गर्ने एजेन्डाका साथ चुनाबी प्रतिस्पर्धामा आएको बताउनुभयो ।

यसबाहेक रोजगारीको अवस्था सिर्जना गरी स्वरोजगार बढाउने योजना आफूुसँग रहेको उहाँले भन्नुभयो । यसरी जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वको दौडमा सहभागी नगरप्रमुखका उम्मेदवारले मतदातालाई आकर्षित गर्न थरिथरिका कार्यसूची बनाएका छन् । निर्वाचनका लागि जनकपुरधाम उपमहानगरको प्रमुख पदमा २१ र उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस नेता कोइरालाद्वारा चुनावी अभियानमा सहभागी हुन अपिल

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गर्नुभएको छ ।

डा कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबै मिलेर कांग्रेसलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गर्नुभएको हो ।

निर्वाचनको सकारात्मक परिणामले प्रदेश र सङ्घीय निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने उहाँले उल्लेख गर्नुभएको छ ।

कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताको सङ्ख्या अत्यधिक रहेको, अधिकांश योग्य र सक्षम रहेका भए पनि टिकट वितरण कार्य सहज नभएको उल्लेख गर्दै नेता कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेबारेमा आफूहरूले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा आवाज उठाएको बताउनुभएको छ ।

“कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु ।

निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टि छातीभित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौँ ।

साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु”, कोइरालाद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।

नेता कोेइरालाले टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र आफ्नो पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेका कार्यकर्तालाई कांग्रेसको मूलप्रवाहमा फर्कनसमेत आग्रह गर्नुभएको छ ।

१० प्रकारका सामानहरु नेपाल भित्र्याउन नेपाल सरकारको रोक

काठमाडौं – नेपाल सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।
सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

उच्च व्यापार घाटा भएको भन्दै नेपाल सरकारले अब देशभित्र १० प्रकारको समानमा रोक लगाएको छ । मन्त्रालयका अनुसार रोक लगाइएका सामानहरुमा मोबाइल सेटदेखि जिप, कार र भ्यानहरु र २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकलसमेत छन् ।

त्यस्तै ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन,सबै प्रकारका खेलौनाहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, कुरकुरे, कुरमुरे, लेज र खेल्ने तास आयातमा रोक लगाइएको छ। सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ ।

रोक लगाइएका सामान के-के हुन् ?

नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको मनोनयन

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गर्नुभएको छ ।

उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिनुभएको छ ।

कांग्रेसबाट उम्मेदवारी दिनुभएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । उहाँ हाल तरुण दल बाँकेको सचिव हुनुहुन्छ ।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुनुहुन्छ ।

उहाँ उपमहानगरपालिकाको प्रवक्ता समेत हुनुहुन्थ्यो । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी हुनुहुन्थ्यो ।

त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ ।

नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उहाँसँग ६५ मतले पराजित हुनुभएको थियो ।

माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै हुनुहुन्छ ।

जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ ।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

“तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ”, महानिर्देशक अधिकारीले भन्नुभयो ।

अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ । “अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्छ”, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ । यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ । विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ । अधिकारीले भन्नुभयो, “अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन । हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ ।”

नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन् । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रसान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन् । पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन् ।

वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ ।

यस्तो छ एयरलाइन्सको तयारी

प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन् । उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताउनुभयो ।

“उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ । रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ”, प्रवक्ता बर्तौलाले भन्नुभयो ।

अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ । रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राख्नुभयो ।

बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले राति १० बजेसम्म उडान गरिरहेका छौँ, १२ बजबेसम्म उडान गर्दा एयरलाइन्सन र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायतको प्रबन्ध जरुरी छ ।”

एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ । तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन् ।

आगलागीबाट दुई घर जलेर नष्ट

काठमाडौं – ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो ।

टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र

काठमाडौं – आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ । पन्ध्र दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाइने उहाँले बताउनुभयो ।

शर्माले भन्नुभयो, “हामीले गरेको तयारीअनुसार काम अघि वढाउन सकिएमा जेठ दोस्रो सातादेखि सवारी चालक अनुमतिपत्रको काम अघि बढ्छ ।” जिल्लामा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिन लागिएको हो ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवश्यक पर्ने परीक्षास्थल र सवारीसाधन उपलब्ध गराएवापत परीक्षार्थीसँग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो । प्रयोगात्मक परीक्षास्थल भरतपुर महानगरपालिका वा चितवन जिल्लाअन्तर्गत पर्ने नगरपालिकाभित्र हुनुपर्ने छ ।

प्रयोगात्मकस्थल संवेदनशील स्थान अस्पताल, विमानस्थल, शिक्षण संस्था, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय राजमार्ग, मन्दिरलगायत क्षेत्रबाट कम्तीमा २०० मिटर टाढा हुनुपर्ने शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल कार्यविधि, २०७८ मा उल्लेख भएबमोजिम नै छनोट गरिने छ ।” प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको मात्र आर्थिक प्रस्ताव गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा धेरै सवारीसाधन गुड्ने भए पनि सवारी अनुमतिपत्र लिन हेटौँडा वा काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । हाल यस प्रदेशमा हेटौँडामा एक ठाउँ र काठमाडौँमा चार ठाउँमा सवारी चालक अनुमतिपत्र दिइँदै आएको छ ।

प्रदेशमा झण्डै १८ लाख व्यक्तिसँग सवारी चालक अनुमतिपत्र भएको प्रारम्भिक तथ्याङ्क छ । शर्माका अनुसार वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गरिँदै आएको छ । चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र दिँदै गर्दा भीडभाड बढी हुने भएकाले जिल्ला समन्वय समितिको मातहतमा रहेको भवनमा कार्यालय स्थानान्तरण गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । साउनसम्ममा कार्यालय सार्ने तयारी छ । अनुमतिपत्रबाहेकका सबै काम यहाँ हुँदै आएका छन् ।

आज चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभाव वारे विवरण सावजनिक गरेको छ ।

आज दिउँसो देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का पहाडी भू-भागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी राती पनि देशको प्रदेश १ का पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

४ महिनामै महानिर्देशकले गरे फरक कामः रचे इतिहास

काठमाडौँ—सडक बिभागका महानिर्देशक शिवहरी सापकोटाले आउदो शुक्रवार आफ्नो सार्वजनिक सेवाको पदबाट अवकाश पाउदै हुनुहुन्छ ।

अबकाशको मुखमा करिव चार महिना अगाडी सडक बिभागमा सरुवा भएर आउनु भएका ईन्जिनियर सापकोटाले उक्त अबधिलाई निकै राम्रोसँग सदुपयोग गरी उल्लेखनिय कार्यहरु सम्पादन गर्नु भएको छ ।

सडक बिभागमा उहाँको आफ्नो आगमनसँगै इन्जिनियरिङ गभर्नेन्स कार्यको प्रारम्भ गर्नुभयो जुन हाल उक्त कार्यलयमा संस्थागत भैसकेको छ ।

उहाँले सडक विभागमा निकैलामो समयदेखी थाती रहेको कार्य विवरण स्वीकृतिको कार्य अगाडी बढाउदै अन्तिम चरणमा पुर्याउनु भएको छ ।

सडक बिभागमा सधै बेथिती बढ्यो भन्ने उजुरी बढीरहदा उहाँले त्यसको नियन्त्रण तथा समाधानार्थ सडक विभागको आन्तरिक अनुगमन निर्देशिका स्विकृति गरी कार्यान्वयनमा ल्याउनु भएको छ ।

आफ्नो सार्वजनिक सेवा जिवनको अन्तिम समयमा बिभागमा आउनु भएको उहाँले पुल निर्माण कार्यको डिजाइन र निर्माण ठेक्काका लागि मापदण्डको स्वीकृतिगरी कार्यान्वयनमा ल्याउनु भएको छ ।

बिभागको कार्यमा सुधार गर्दै सडक बिभागको क्षमता प्रर्दशन गर्ने क्रममा उहाँले बिभागमा प्रत्येक महिनाको पहिलो सोमबार बिहान १०ः३० बजे विभागका कर्मचारीहरुको बैठक नियमित गर्ने र सडक विभागका समस्या तथा समाधान बारे छलफल गर्ने नयाँ रित स्थापित गराउन सफल हुनु भएको छ ।

उहाँले निकै लामोसमय देखि चर्चामा रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यान्वयन गर्दै निर्माणकार्यको सुरुवात गराउनु भएको छ ।

उहाँले विश्व बैंकको आर्थिक सहयोगमा नेपाल रणनीतिक सडक जडान तथा व्यापार सुधार परियोजना अन्तर्गत पहिलो चरणमा मुग्लिङ नारायणगढ सडक निर्माण सम्पन्न पश्चात सुस्ताएको दोस्रो चरणको नागढुङ्गा–नौबिसे मुग्लिङ सडक स्तरोन्नति कार्यको कार्यान्वयनमा ल्याउनु भएको छ ।

उहाँले जादाजादै आफ्नो ४ महिने कार्यकालमा २०३० का लागि राष्ट्रिय राजमार्गको गुरुयोजना तयार गर्न पहल गर्नेकार्य समेत गर्नुभएको छ ।

दुईखम्बे कार्य योजनामा केन्द्रित राष्ट्रिय राजमार्गहरूमा सडक सुरक्षा कार्यहरू सुदृढ गर्नेकार्य तर्फ समेत उहाँको नेतृत्वको सडक बिभाग अग्रसर रहेको छ ।

यि बाहेक उहाँले आफ्नो ४ महिले कार्यकालमा सडक विभागमा सडक र पुल निर्माण कार्य र भारी क्विपमेन्ट तथा यान्त्रिक सम्बन्धी ब्यापक क्षमता अभिबृद्धि तालिमको प्रारम्भ साथै विश्व बैंकको लगानीमा निर्माण भएको नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना मुङ्लिङ–नारायणघाट सडक सफलतापूर्वक सम्पन्न, बंगलादेश–भुटान–भारत–नेपाल सडक अन्तर्गत महेन्द्र राजमार्गको बुटवल गोरुसिङ्गे चनौटा खण्डको निर्माण कार्य विश्व बैंकको आर्थिक सहयोगमा सम्पन्न भएको छ ।

पिपुल्स पब्लिक अफ चाइना अनुदानबाट अरनिको राजमार्गको मर्मतसम्भार कार्य सम्पन्न भएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा पृथ्वी राजमार्गको माडीखोला दमौली र पोखरामा सेती नदीमा सिग्नेचर ब्रिज निर्माणकार्यको सुरुवात भएको छ ।

एसियाली विकास बैंकको लगानीमा नारायणघाट–बुटवल सडक आयोजना, महेन्द्र राजमार्गको कमला कञ्चनपुर सडक विस्तारको आयोजनाको सुरुवात भएको छ । काँकडभिट्टा–लौकी सडकको डीपीआर तयारी कार्यलाई तीव्रता दिन र प्रारम्भिक खरिद कार्य सुरु गर्न स्वीकृतिको कार्य समेत सम्पन्न भएको छ ।

साथै सडक बिभागले बिभिन्न योजना परियोजनाको सन्दर्भमा आर्थिक सहयोगका साथै ॠण सहयोग गर्ने निकाय एसियाली विकास बैंक र विश्व बैंकसँग बैठक गर्दै बिभिन्न बिषय टुङ्गो लगाउनेकार्य समेत गरेको छ ।

छाेटाे समयमा यि महत्वपुर्ण कार्य गर्न सफल सापकाेटा नेपालको सडक बिभागको स्थापनाकाल देखिको ईतिहासमा पहिलो पटक महानिर्देशक पदमा कायम रहदा रहदै अवकाश पाउने पहिलो महानिर्देशक रुपमा ईतिहासमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

उहाँकाे अवकाशसँगै अब आउदाे आइतवारबाट सडक बिभागकाे निमित्त महानिर्देशककाे रुपमा शिवप्रसाद नेपालले जिम्मेवारी बहन गर्नुहुने छ ।