सिरहाको लहान नगरपालिकामा नेकपा एकिकृत कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं – सिरहाको लहान नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एकिकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
उम्मेदवारी दर्ता गराएपनि निस्सा नदिएको भन्दै एकिकृत समाजवादीका कार्यकर्ताहरु ढुंगामुढा गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सो क्रममा एकिकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड गरेका छन् ।

समयमै उम्मेदवारी दर्ता गराएका थियौं’, एकिकृत समाजवादीका नेता सत्यनारायण यादवले भने, ‘तर मुनी साहले नगरपालिकामा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयमा राखेपछि उनीहरुले फायलहरु नै गायब गरे ।

डिएसपीलाई भनेर फाइल खोज्न लगाएपछि सिस्टम नै काम नगरेको भन्दै निर्वाचन अधिकृतले निस्सा दिन मानेका छैन् । सोही कारण आक्रोशित बनेका कार्यकर्ताहरु सामान्य तोडफोड गरेका छन् ।

मुनी साह लहानका निवर्तमान मेयर हुन् । गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित उनी पुनस् एमालेबाटै मेयरमा उम्मेदवारी दिएका छन् । मेयर हुंदा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले राखेका कारण उनीहरु एकिकृत समाजवादीका उम्मेदवारहरुलाई उम्मेदवारी दर्तामा समस्यामा पारेको आरोप लागेको छ।

नेकपा एसद्वारा उपमहानगरपालिकामा महिला नेतृलाई मेयरको उम्मेदवार

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेकपा एसकी नेतृ मिनाकुमारी लामा भएकी छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उनलाई मेयरको उम्मेदवार बनाईएको हो ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको पदाधिकारी बैठकले लामालाई उठाउने निर्णय गरेको हो ।

भागबन्डाको आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् ।

हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष लामाको नाम समेत सिफारिस भएको थियो ।

एसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो ।

गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि प्रतिक्रिया दिँदै लामाले आफूले जित्ने दाबी गरिन् ।

‘म उपमेयर हुँदा नै धेरै महत्त्वपूर्ण काम गरिसकेको छु ।

राम्रो अनुभव बटुलिसकेको छु,’ उनले भनिन्, ‘अब मलाई मेयरमा अवसर आएको छ । गठबन्धनले मलाई पूर्ण रूपमा समर्थन गर्नेछ ।’

लामाले यसअघि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयर जितेकी थिइन् ।

एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेकी हुन् ।

पोखरामा गठबन्धन उम्मेदवार बिरुद्ध एमालेकाे चोर उम्मेदवार

काठमाडौँ-नेकपा एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेलले सुन चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

एमाले केन्द्रीय सचिवालयले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेदेखीनै सामाजिक सञ्जालमा भाइरल भएको उक्त फुटेज अहिले जताततै चर्चाको बिषय बनेको छ ।

भिडिओमा एक सुनचाँदी पसलमा एक पुरूष र दुई महिला ग्राहकजस्ता देखिन्छन् । पुरूषले सुनको सिक्री खल्तीमा हाल्दै गरेको फुटेजमा देखिन्छ।

उक्त व्यक्ति एमाले उम्मेदवार पौडेल भएको भन्दै भिडिओ भाइरल भएको हो । मेयर उम्मेदवार पौडेलले भने उक्त भिडिओको ब्यक्ती आफु नभएको दावी गरेका छन् ।

एमाले कास्कीका समेत उक्त भिडिओका बारेमा पौडेलमाथी यसअघिनै प्रश्न उठेको बताईएको छ ।

सुन चोर्दै गरेको भिडिओ पोखराको पृथ्वीचोकस्थित एक सुनचाँदी पसलबाट बाहिरिएको हो ।

झन्डै १० वर्ष पुरानो भिडिओ भए पनि चोरीको आरोप लागेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको छ ।

पोखरा महानगरमा कमजोर उम्मेदवार उठाएको भन्दै कार्यकर्ताले उम्मेदवार परिवर्तन गर्न दबाब बढाएका छन् ।

एमालेले चोरलाई मेयर उम्मेद्वार बनाएसँगै एमालेको सँगठन तथा हैसियत प्रस्ट भएको पोखरास्थित गठबन्धनका नेताहरुले बताएका छन् ।

चोरको उम्मेदवारिलेनै एमालेको हैसिएत प्रष्ट भएको भन्दै गठबन्धन उम्मेद्वार धनराज आर्चायको जित निश्चित भएको पोखराका नेकपा एस नेताहरुले दावी गरेका छन् ।

देशभरी गठबन्धनका उम्मेदवार देखेर तर्सिएको एमालेले आफ्ना उत्कृष्ट उम्मेद्वारकोरुपमा चोरलाई उम्मेद्वार बनाएसँगै सर्वत्र आलोचना चुलिएको छ ।

एमालेको उम्मेद्वार चयनमै त्रुटी देखिएपछी गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेद्वार धनराज आर्चायले जित्ने मतान्तर थप बढने आम सर्वसाधारणको दावी रहेको छ ।

थप १० जनामा कोरोना संक्रमण पुष्टि-१८ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा मन्त्रालयका अनुसार देशभर गरिएको ४ हजार ६४ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

दोर्र्दीखोला जलविद्युत्को आइपिओ खुला : स्थानीयवासीले आवेदन दिनसक्ने

काठमाडौं – दोर्र्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गरेको हो ।

कम्पनीले आजदेखि खुला गरेको जारी पुँजी रु एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुने रु १० करोड ५४ लाख २६ हजार ४० मूल्य बराबरको रु १०० अङ्कित १० लाख ५४ हजार २६० कित्ता साधारण शेयरमा आयोजनाले प्रभाव पार्ने क्षेत्र लमजुङ जिल्लाको दोर्र्दी गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन ।

स्थानीयवासीले आजदेखि छिटोमा यही वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी जेठ ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनसक्ने छन ।

कम्पनीले हाल दोर्र्दी भएर बहने दोर्दी खोलामा १२ मेगावाट क्षमताको ‘दोर्दी १ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै सिद्धार्थ बैंकको बेँशीसहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्र्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक तथा एनएमबी बैंकको बेंशीसहर शाखाबाटसमेत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी–आइआर बिबी माइनस’ रेटिङको प्रमाणपत्र प्रदान गरेको छ ।

हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले हुलाक सेवालाई समयानुकूल बनाउँदै अत्याधुनिक सेवा दिने गरी आगामी आवको बजेटमा विशेष व्यवस्था गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आवको बजेटमै यसलाई समावेश गर्न आग्रह गर्नुभएको हो । “

हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ । निजी क्षेत्रले कति प्रगति गरिसके, हामी चाही पुरानै शैलीमा बसेर हुँदैन” अर्थमन्त्रीले भन्नुभयो । आगामी आवको नीति तथा कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज अर्थले छलफल गरेको हो ।

अर्थमन्त्री शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर, सञ्चार सचिव डा वैकुण्ठ अर्याल, बजेट लेखन समितिका सदस्यलगायतको छलफलमा सहभागिता थियो ।

बैठकमा सञ्चार मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुत गरेको थियो । सञ्चार सचिव डा अर्यालले गर्नुभएको प्रस्तुतिकरणमा हुलाक सेवा परम्परागत शैलीले चलेकाले सुधारको खाँचो रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले पुराना जनशक्तिलाई अवकाश दिइ नयाँ जनशक्ति भर्ना गरेर भए पनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सञ्चार मन्त्रालयले हुलाक कार्यालयलाई इ–कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने सञ्चारको प्रस्तावमा अर्थमन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो ।

सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा तीन प्रतिशत रकम अनिवार्य रुपले कट्टा गर्ने र यसरी कट्टा गरिएकोे रकम विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था लागू गर्न पनि प्रस्ताव गरिएकोे छ ।

“सबै कार्यालयबाट यसरी विज्ञापनबापत भुक्तानी हुने रकमको तीन प्रतिशत कट्टा गरी विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था हुने हो भने लोककल्याणकारी विज्ञापनको बजेट विनियोजनमा चाप पर्दैन” सञ्चार सचिव अर्यालले भन्नुभयो ।

बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले आगामी आवको बजेटमा ठोस विषयवस्तु मात्रै समेटेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । “यहाँ श्रीलङ्काको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ । यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ’ उहाँले भन्नुभयो ।

लुबाट बच्न मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ ।
गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।

बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ ।

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

प्रमुख पदमा महिलाको उम्मेदवारी

मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक/एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ ।

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बन्नुभएको हो ।

बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बन्नुभएकी माझीबाहेक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएका दुईजना नै सोही पालिकामा स्थानीय निर्वाचन २०७४ मा उपप्रमुख पद जित्नुभएको थियो ।

यसैगरी नेकपा एमालेले मनहरि गाउँपालिकामा २५ वर्षीया सुजिता थिङको उम्मेदवारी दर्ता गराएको छ ।

उक्त उम्मेदवारी दर्तासँगै थिङ कान्छी महिला उम्मेदवारका रुपमा चर्चामा आउनुभएको छ ।

मकवानपुरको तीनवटा पालिकामा सहमति नजुटेपछि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा दलहरुले आ आफ्नो उम्मेदवार दिएका छन् ।

गरिव देशका विलाशी जनता नेपाली: संसारकै महङ्गो माछा सालमन पनि आर्यात

काठमाडौं : संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ ।

प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ ।

नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविक हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा दुई हजार ७१८ किलो सालमन माछा आयात भएको देखिन्छ।

त्यस्तै,विभागको विवरण अनुसार सोही माछाको अन्य प्रकारसमेत गरी पाँच हजार ९५० किलो नेपाल भित्रिएको छ ।

अमेरिकी डलरको सञ्चिति कम भइरहेको बेला विदेशी नियोग वा होटल रेष्टुरेन्टले माछा आयात गरेको अनुमान गर्न सकिन्छ ।

ती माछाको आयात मूल्य एक करोड ९१ लाख ५४ हजार बराबर छ ।

उक्त माछाको आयातबाट सरकारले ५९ लाख १३ हजार बराबरको राजश्व प्राप्त गरेको छ।

नेपाल आयात गरिने वस्तुमा एक रमाइलो विवरण हो गङ्गटा ।

चालु आवको नौ महिनामा एक हजार ८०० किलो गङ्गटा नेपाल भित्रिएको छ ।

गाउँ घरका खेतबारीमा पाइने र नेपालीको खास पहिचानसमेत नगरेको गङ्गटालाई डरलाग्दो प्राणीका रुपमा लिइन्छ ।

उक्त जल प्राणीको आयात मूल्य १२ लाख ८२ हजार बराबर छ।

त्यसबाट सरकारले तीन लाख ८४ हजार बराबरको राजश्व संकलन गरेको छ ।

गङ्गटा, सर्पको टाउको पनि नेपाल भित्रिएको छ ।

विभागका अनुसार नौ महिनाको अवधिमा ६२ किलो पैठारी भएको छ ।

त्यसको लागत मूल्य एक लाख २९ हजार बराबर छ । सरकारले ३९ हजार राजश्व संकलन गरेको छ ।

सुक्खा माछाको आयातको विवरण पनि त्यस्तै छ ।

विभागका अनुसार दुई लाख ९५ हजार ६१ किलो सुक्खा माछा आयात गर्दा सरकारले दुई करोड ९५ लाख दुई हजार बराबर राजश्व संकलन गरेको छ ।

त्यस्तो माछाको आयात मूल्य नौ करोड ६६ लाख ८१ हजार बराबर छ ।

नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिससमेत देखिएको छ ।

नौ महिनाको अवधिमा तीन लाख ४८ हजार ७५० किलो क्याटफिसको आयात मूल्य आठ करोड ३९ लाख सात हजार बराबर छ ।

त्यसबाट सरकारले दुई करोड ५६ लाख पाँच हजार बराबर राजश्व संकलन गरेको छ।

माछाको मासु मात्रै पनि आयात भएको विभागको विवरणमा उल्लेख छ ।

नौ महिनाको अवधिमा आठ हजार किलो त्यस्तो मासु आयात भएको छ ।

त्यसको आयात मूल्य १८ लाख ८७ हजार रहँदा सरकारले रु पाँच लाख ७६ हजार बराबरको राजश्व संकलन गरेको छ।

टुनाफिस ९१० किलो नेपाल भित्रिँदा आयातकर्ताले रु २१ लाख ९९ हजार बराबर लागत मूल्य तिरेका छन् ।

त्यसबाट सरकारले रु ६ लाख ७१ हजार बराबरको राजश्व संकलन गरेको छ।

विभागका अनुसार ५७ हजार १६८ किलो प्राउन नेपालमा पैठारी भएको छ ।

त्यसको लागत मूल्य तीन करोड ४८ लाख ६१ हजार छ। सरकारले राजश्व मात्रै एक करोड पाँच लाख २९ हजार संकलन गरेको छ ।

झिङ्गेमाछा मात्रै तीन हजार २०० किलो आयात भएको छ ।

त्यसको लागत मूल्य एक करोड ३७ लाख एक हजार बराबर रहँदा ४१ लाख आठ हजार बराबरको राजश्व संकलन भएको छ ।

अर्को रमाइलो विवरण पनि छ । नेपालमा वैधानिक तवरबाटै २०० वटा कछुवा आयात भएको छ। त्यसको लागत मूल्य ८३ हजार छ र सरकारले रु २५ हजार राजश्वसमेत उठाएको छ।

महीसमेत किनेर खाए

घरभरी लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही महीसमेत विदेशबाट आयात गरेर पिउने गरेको छन् । गाउँमा कुनै युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसैकारण हुनसक्छ महीसमेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर मही खरिद गरेर पिएका छन् ।

नेपाल कृषि प्रधान देश भनिँदै आएको छ। ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्याङ्क पनि छ। कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर महीसमेत किनेर सेवन गर्नुपर्ने चरम परनिर्भर अवस्थामा नेपाली पुगेका छन्।

विभागका अनुसार महीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार बराबर छ ।

त्यसबाट सरकारले रु एक करोड आठ लाख ९० हजार बराबर राजश्व संकलन गरेको छ ।

बटर मिल्क मात्रै ११ हजार ८७५ लिटर आयात भएको छ ।

गोङ्ग हर्ट १६ हजार २०९ लिटर आयात भएको छ। स्वादजन्य दूध र क्रिम मात्रै दुई हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर नेपालमा पैठारी भएको छ।

दूध पाउडर पाँच लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध दुई लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरक फरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको छ।

त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ ।

विभागका अनुसार सो अवधिमा रु एक अर्ब सात करोड १९ लाख ३० हजार बराबरको दूध तथा दुग्धजन्य पदार्थको आयात भएको देखिन्छ ।

नेपालमा नै व्यावसायिक रुपमा पशुपालन गर्न सकिए मात्रै पनि ठूलो धनराशि विदेशिनबाट जोगिन सक्थ्यो।

सरकारले विभिन्न जोन नै तय गरेर कृषि उपजको उत्पादनमा वृद्धि तथा चौपाया पालनमा प्रेरित गरे पनि त्यसको सकारात्मक नतिजा आएको देखिँदैन ।

सरकारले आगामी आवमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने बताइ सकेका छन ।

तर, कार्यान्वयनको पाटो के कस्तो हुने हो भन्ने कुराले सबै कुरा निर्धारण गर्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन ।

रुखबाट घाँस झार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं – भोजपुरको भोजपुर नगरपालिका–१२ मोरीयामा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ वर्षीय गणेश थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

्थापा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

पत्रकार न्यौपानेलाई रु एक लाख सहयोग

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (इन्जा) ले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई रु एक लाख सहयोग गरेको छ ।

इन्जा एसियाका उपाध्यक्षसमेत रहनुभएका पत्रकार न्यौपानेलाई उक्त रकम इन्जा ग्लोबलका सचिव दीपक रिजालले आज हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत बुधबार भर्ना हुनुभएका पत्रकार न्यौपानेको मुटुको शल्यक्रिया गरिएको थियो ।

इन्जाले विपद्मा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले बताउनुभयो ।

कन्सल्टेन्सीहरुद्वारा वैदेशिक रोजगारीका नाममा ठगी : सचेत रहन आग्रह

काठमाडौं- वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ ।
शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागमा यस प्रकारका उजुरीहरुको संख्या दिनह बढिरहेको छ । यस्तो कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परि उनीहरुमाथि अनुसन्धान भैरहेको विभागले जनाएको छ ।

विज्ञप्तिमा विभागले भनेको छ, ‘उजुरीको अनुसन्धान गर्दै जादा त्यस्ता कन्सल्टेन्सीहरुले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरुका खातामा रकम जम्मा गर्न लगाउने, गैरकानुनी असूलिको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरु पक्राउ पर्ने गरेका छन् ।’

यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानूनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।

संयम र धैर्यता एमालेको चरित्र हो : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ ।

मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको हो ।

“दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो”, उहाँले भन्नुभयो, “छिन्नभिन्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।”

अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठूलो विजयको तयारीमा आफूहरु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनको वैचारिक र व्याहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति नेकपा ९एमाले० रहेको छ ।”

अध्यक्ष ओलीले मनमोहनमा हतारोसँग काम नगरी सुविस्तारसँग काम गर्ने बानी रहेको बताउनुभयो । “उहाँको राजनीतिक यात्रा रिले रेस जस्तो थिएन । उहाँ राजनीतिकको म्याराथुन धावक हो”, अध्यक्ष ओलीले भन्नुभयो, “म्याराथुन धावक भएको हुनाले उहाँ ७१ वर्ष उमेरमा सांसद र प्रधानमन्त्री हुनुभयो ।” उहाँले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीजस्तै धैर्यता र संयम अपनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “मनमोहन अधिकारीले धैर्यता नराखेको भए बहुदलीय व्यवस्था ल्याएर प्रधानमन्त्री कसरी हुनुुहुन्थ्यो रु संयम र धैर्यता एमालेको चरित्र हो । त्यो मूलमन्त्र लिएर एमालेलाई अगाडि बढाउनुपर्दछ”, उहाँले भन्नुभयो, “ हामी सबैले आचारण, व्यवहार र चिन्तनमा सुधार ल्याउन जरुरी छ ।”

उहाँले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताउनभयो । हाम्रो पार्टीमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उहाँले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेन्डा बोकर एमाले अगाडि बढेको बताउनुभयो । मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो ।

शौचालय राम्रो छ तर पानी छैन

काठमाडौं – चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि नयाँ देखिन्छ । शौचालयमा धाराको टुटी जोडेर राखिए पनि टुटीबाट पानी भने कहिल्यै झर्दैन । यो अवस्था काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको हो ।

सो क्षेत्रकै सबैभन्दा जेठो र विद्यार्थी सङ्ख्याको हिसाबले पनि राम्रो रहेको उक्त विद्यालयका विद्यार्थीले भने पानीको अभावमा शौचालय राम्रोसँग प्रयोग गर्न पाएका छैनन् । सिङ्गो कोलाती गाउँमै खानेपानीको समस्या भएकाले विद्यालयका विद्यार्थीले शौचालयमा पानीकोे अभाव मात्रै झेल्नु परेको छैन, पिउने पानी पनि घरबाट लगेर प्यास मेटाउनुपर्ने बाध्यता रहेको छ ।

विद्यार्थीले खानेपानीका लागि घरबाट नै बोकेर लैजानुपर्छ । गाउँमै पानीको समस्या रहेकाले खानेपानी बोकेरै लानुपर्ने बाध्यता रहेको कक्षा ६ मा अध्ययनरत अञ्जना नेपालीले बताउनुभयो । “

हामी सबै साथीले पिउने पानी यसरी नै घरबाट बोतलमा बोकेर लैजाने गरेका छौँ ।” उहाँले भन्नुभयो, “हाम्रो त घर नजिकै विद्यालय भएको कारण पनि सजिलो छ । कहिलेकाहीँ बिस्र्यो भने पनि घरमा नै गएर खाने गरेका छौँ ।”

सोही विद्यालयका कक्षा ७ मा अध्ययनरत विक्रम नेपाली र कक्षा ९ मा अध्ययनरत नकुल नेपालीले पनि खानेपानी र शौचालयमा प्रयोग गर्ने पानीको व्यवस्थापन नहुँदा निकै समस्या हुने गरेको बताउनुभयो ।

खानेपानीदेखि शौचालय जानुपर्ने अवस्थामा घरमै पुगी फर्केर आउने गरेको विद्यार्थीको अन्य विद्यार्थीको पनि भनाइ थियो । विद्यालय सहयोगी सोमाया पहरीले विद्यालयमा आफूले काम गर्न थालेदेखि नै खानेपानीका लागि गाउँदेखि तल रहेको खोल्साबाट पानी बोकेरै ल्याउनुपरेको बताउनुभयो । “

काम गर्न थालेको १८ वर्ष भयो, त्यही बेलादेखि बिहानै धाराबाट बोकेर ल्याएर पानी घरमा राख्ने अनि विद्यालय खोल्ने समय भएपछि लगेर ख्वाउने गर्दै आएको छु ।” उहाँले भन्नुभयो, “पछि गाउँमा नजिकै धारा आए पनि पर्याप्त नभएका कारण अहिले पनि त्यसरी नै बोकेर नै ख्वाउने गरेको छु ।”

धेरै विद्यार्थी सङ्ख्या भएकाले दिनको दुई चार गाग्री ल्याएको पानीले सुरु सुरुमा खान आउने विद्यार्थीलाई पुगेपनि सबैलाई व्यवस्थापन गर्न गाह्रो भएको विद्यालय सहयोगी पहरीको भनाइ थियो ।

पानीको मुहान नजिक नभएका कारण सधैँभरी बोकेर समस्या समाधान गर्न कठिन भएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले यस भेगकै सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समयमा शैक्षिक वातावरण सुधार हुँदै आए पनि अझै खानेपानीको समस्या समाधान गर्न भने चुनौती नै रहेको बताउनुभयो ।

करिब ३०० विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपानी समस्या समाधानका लागि भौगोलिक जटिलताकै कारण पनि कठिन भएको उहाँको गुनासो थियो । पानी अभावका कारण विद्यार्थीलाई मात्रै नभएर शिक्षकलाईसमेत शौचालय प्रयोग गर्नका लागि समस्या भएको विद्यालयले जनाएको छ ।

पछिल्लो समयमा खानेपानी समस्या समाधानका लागि वडा नं ५ सल्लेबाट थोरै पानी आइरहे भए पनि आफूहरुले उपभोग गर्दै आएको पानी कोलाती बासिन्दाले लगेको भन्दै विरोध गरेर सल्लेबासीले रोकिदिएका थिए ।

विद्यालयमा आफू व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि विज्ञान प्रयोगशाला सामग्री, कम्प्युटर ल्याबको व्यवस्था, विद्यालयमा नर्स र विज्ञान प्रयोगशाला भवन निर्माण गरिए पनि खानेपानीको समस्या भने अहिलेसम्म पूरा गर्न नसकिएको अध्यक्ष लामाले बताउनुभयो ।

चुनावी मैदानमा पत्रकार-को कहाँबाट उम्मेदवार ?

काठमाडौँ- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् ।

देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।

मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । अर्घाखाँचीको सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिनुभएको छ । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा विगत लामो समयदेखि कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले महासङ्घको साधारण सदस्यता त्यागेर उम्मेदवार बन्नुभएको हो ।

चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्वाध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख, बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खान डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनान होमिएका छन् । पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ ।

महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने महासङ्घले जनाएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंह, नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट राजविराज–८ को वडाध्यक्षमा पत्रकार शतिश दत्त, पत्रकार महासङ्घ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा ९माओवादी केन्द्र० का तर्फबाट सोमवार उम्मेदवारी दिनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासङ्घका महासचिव रोशन पुरीले आह्वान गर्नुभएको थियो ।

यसैगरी नेकपा ९माओवादी केन्द्र०का तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराउनुभएको । यीलगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनुभएको बताइएको छ ।

महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्नसमेत आह्वान गरिसकेको छ ।

महासङ्घले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाउँदै आएको छ ।

प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ ।