एउटै नगरपालिकामा कांग्रेसका दुई नेतालाई मेयरको टिकट !

महोत्तरी-नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको बर्दिवास नगरपालिका प्रमुखको लागि दुईजना नेताले टिकट पाएको दाबी गरेका छन् ।

लामो रस्साकसीपछि बर्दिबासमा नगरप्रमुखका दावेदार मानिएका प्रल्हाद क्षेत्रीले टिकट पाएको भन्ने पार्टीको आधिकारिक धारणा बाहिर आउन नपाउँदै अर्का नेता चिरञ्जीवी हमालले पनि नेपाली कांग्रेसबाट टिकट पाएको दाबी गरेका छन् ।

आफूलाई पार्टीले टिकट दिएको भन्दै दुवै नेता मनोनय दर्ता गर्न निर्वाचन कार्यालय पुगेपछि नेता तथा कार्यकर्ता अचम्ममा परेका छन् ।

सोमबार बिहान मात्र नेता क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको टिकट लिएर आएको बताएका छन् ।

तर कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ ।

यस विषयमा आयोगसँग परामर्श लिने कार्य भइरहेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

दुवै नेताको उम्मेदवारी दर्ता नभएको र आधिकारिक टिकट पुष्टि भएपछि मात्रै एक नेताको उम्मेदवारी मात्रै दर्ता हुने सापकोटाले बताए ।

नेताहरु भने आ– आफ्नो टिकट आधिकारिक भएको दाबी गरिरहेका छन् ।

यस्तै आंकाक्षी धेरै भएपछि उम्मेदवार टुङ्ग्याउन नसकेको माओवादी केन्द्रको तर्फबाट बर्दिवास नगरपालिकाको नगरप्रमुखमा राजु खड्काको उम्मेदवारी पर्ने भएको बताइएको छ ।

खड्का माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् । यद्यपि उनले उम्मेदवारी दर्ता गरेका छैनन् ।

अन्य पदाधिकारीको भने टुंगो लाग्ने क्रममा रहेकाले सबै पदमा उम्मेदवार टुंगो लागेपछि मात्रै मनोनयन दर्ता गर्ने माओवादी केन्द्रले जनाएको छ ।

धनुषाको कमला नगरपालिकाको मेयर पदमा पशुपति यादवले उम्मेदवारी

काठमाडौं – धनुषाको कमला नगरपालिकाको मेयर पदका लागि जनता समाजवादी पार्टी नेपालबाट पशुपति यादवले उम्मेदवारी दर्ता गराएका छन ।

कमला नगरपालिकामा कांग्रेसले मेयर पदका लागि विशेश्वर यादवलाई टिकट दिएको छ ।
त्यस्तै, जनमत पार्टीबाट दिपेन्द्र तेथवारको उम्मेदवारी रहेको छ भने समाजवादी एस बाट कुलदेव मोरबैताले उम्मेदवारी दिएका छन ।

पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उहाँहरूले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरुप समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताउनुभयो ।

प्रमुख दल सहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यलयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइरहनुभएको छ ।

काठमाडौँ महानगर प्रमुखमा सिर्जना सिंहको उम्मेदवारी

काठमाडौं – स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उहाँले प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताउनुभयो ।

आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभयो ।

सजिलो छैन कृषि व्यवसाय

काठमाडौं – बाँझो जग्गामा सुरु गरिएको कृषि व्यवसाय व्यवसायी कमोद महतोका लागि सहज छैन ।
सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र वर्षेनी विदेशिने युवालाई यसतर्फ आकर्षित गराउन पनि कठिन हुने उहाँ बताउनुहुन्छ ।

हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका लागि उत्पादनमा जोड दियो भने परनिर्भरतालाई हटाउन मद्दत पुग्ने उहाँजस्ता स्थानीय कृषकको भनाइ छ ।

कमला नगरपालिकाको कमला नदि किनारमा रहेको खेतमा व्यवसाय गर्दै आउनुभएका कमोद महतोको घर कमला नदिको किनारमा रहेको छ ।

महतो यतिकै बस्नुभन्दा केही गरौँ भावनाले पछिल्लो एक वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर काममा लागेको बताउनुहुन्छ । धनुषाको कमला नगरपालिका –७ निवासी कमोद महतोले आफ्नो आठ कठ्ठा जग्गामा खोर्सानी र गोलभेडाको खेती गरिरहनुभएको छ ।

यस वर्ष लगभग खेतमै आएका व्यापारीलाई खोर्सानी प्रतिकेजी रु १०० का दरले बिक्री गर्दा उनीहरुले बजारमा प्रतिकेजी रु २०० मा बिक्री गरिहेका पाइन्छ ।उहाँ भन्नुहुन्छ, “ हाम्रो व्यवसाय फस्टाउने र आम्दानी हेरेर अन्य युवा पनि यस पेशामा अकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ ।”

तत्काल आम्दानी नभए पनि पछि राम्रै आम्दानी हुने भन्दै कृषक महतो काममा मेहनती, लगनशील देखिनुभएको छ ।

कृषि व्यवसायमा आबद्ध कृषकको माग नै प्राविधिक सहयोग, मल, बीउपछि सिँचाइ सुविधाको छ । अन्य युवालाई यस पेशामा आकर्षित हुनसक्ने गरी तीनवटै तहका सरकारबाट सहयोग उपलब्ध भए यस्ता खेतीबाट उत्पादन वृद्धि हुनाका साथै प्रशस्त आम्दानी हुने देखिन्छ ।

भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन

भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो ।

पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्‍यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।

सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहनुभएको छ ।

मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभयो ।

मनोनयन दर्ता गर्नुअघि सुवेदीले पार्टी कार्यालय पसिरमा रहेको मदन भण्डारी र जीवराज आश्रित तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गएर बिपी कोइरालाको शालिकमा माल्यापर्ण गर्नुभएको थियो ।

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

काठमाडौँ-स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा(माओवादी केन्द्र)ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनिक गरे ।

स्वतन्त्ररुपमा उम्मेदवारी दिने उम्मेदवारले पनि आ आफ्ना घोषणापत्र सार्वजनिक गरे ।

सत्ता गठबन्धनमा रहेको माओवादीले घोषणापत्र नबनाएको हो वा किन सार्वजनिक गरेन भनेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, “हामीले स्थानीयस्तरमा नै घोषणापत्र बनाएका छाँै, स्थानीय तहमा नै ती सार्वजनिक भएका छन् ।”

पार्टीका तर्फबाट घोषणापत्रका लागि ७५३ वटै स्थानीय तहलाई सामान्य रुपरेखा पठाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रो ध्येय र प्रमुख नीति नै स्थानीय तहलाई बलियो बनाउने भन्ने रहेकाले केन्द्रले सामान्य निर्देशन मात्रै दिएको छ ।”

माओवादीले ‘गाउँगाउँमा सिंहदरबार र सिंहदरबारको अधिकार स्थानीय तहमा’ भन्ने नारा नै अगाडि सारेका कारण केन्द्रबाट हस्तक्षेप गरेर घोषणापत्र सार्वजनिक गर्ने कुरा सैद्धान्तिकरुपमा अमिल्दो भएको बताएको छ ।

सङ्घीयताको मर्मअनुसार सबै काम केन्द्रबाट नै गर्ने र लाद्ने भन्ने नभएको भन्दै प्रवक्ता महराले पूर्वको ताप्लेजुङले आफ्नो विशेषतामा घोषणापत्र बनाएको र पश्चिमको दार्चुलामा पनि सोहीअनुसार भएको बताउनुभयो ।

माओवादीले ‘व्यवस्था परिवर्तन ग¥र्यौ, अब अवस्था परिवर्तन गराँै’ भन्ने नारा देशभरका लागि एउटै तय गरेको उहाँको भनाइ छ ।

माओवादीले स्थानीय तहलाई घोषणापत्र बनाउन दिएको निर्देशिकामा ‘समाजवादउन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’लाई प्रमुख प्राथमिकतामा राखेको छ ।

त्यस्तै ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ स्थापित गर्ने विषयलाई महत्व दिइएको छ ।

त्यस्तै उद्यमशीलताको विकास–रोजगारीको विस्तार, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता, निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा र वन तथा जैविक विविधतालाई केन्द्रमा राखेर घोषणापत्र बनाउन भनेको छ ।

प्रवक्ता महराका अनुसार समृद्धिका लागि वन कार्यक्रम अगाडि बढाउन पनि निर्देश गरिएको छ ।

माओवादीले सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्नसक्ने सडकको निर्माण गर्ने, सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाउने तथा सञ्चार सुविधाको विस्तार गर्ने विषयलाई केन्द्रमा राखेको छ ।

नेपालको पानी जनताको लगानीको नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गर्ने तथा एलपी ग्यासको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युत्को उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउने गरी स्थानीयस्तरमा नै घोषणापत्र बनाउन भनिएको छ ।

उहाँले गठबन्धनमा आबद्ध रहेका दलबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिइएको बताउनुभयो ।

केही स्थानमा गठबन्धनको नीतिविपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति गठबन्धनको रहेकोसमेत प्रवक्ता महराको भनाइ छ ।

“एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावनाविपरीत जाने छुट कोही कसैलाई छैन, यसमा आबद्ध सबै दलको एउटै धारणा छ, त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्छौं”, प्रवक्ता महराले भन्नुभयो ।

उहाँले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिँदै बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने विश्वास व्यक्त गर्नुभयो ।

एउटै पार्टीमा त एउटाले टिकट पाउँदा अर्को रिसाउने र असन्तुष्टि व्यक्त गर्ने हुँदा गठबन्धनमा यस्तो देखिनु लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै उहाँले असन्तुष्टिलाई उचित तरिकाले सम्बोधन गरिने बताउनुभयो ।

गठबन्धनका आधारमा अगाडि बढ्दा कोही कसैले कसैलाई पेलेको वा बढी लिएको भन्ने अर्थमा लिन नहुने उहाँको भनाइ छ ।

“सबै दलको आफ्नो हैसियत र क्षमताअनुसार नै निर्णय भएको छ ।

कतै कांग्रेसबाहेकका गठबन्धनमा अरु दल मिलेका छन्, कही हाम्रो पार्टी र अन्य दल मिलेका छन्, तर समग्रमा गठबन्धन भएको छ”, प्रवक्ता महराले भन्नुभयो ।

केही साना पार्टीले पनि आफ्नो पार्टीलाई सहयोग गर्ने वचन दिएको उहाँले जानकारी दिनुभयो ।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

काठमाडौं- विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ ।
जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो ।

उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गर्नु भएको थियो ।जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उहाँ बस्दै आउनु भएको थियो ।

उहाँको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए । उहाँलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नसिङ होममा रहँदाउहाँले बोर्ड गेम्समा रमाउनु हुन्थ्यो भने हिसावका प्रश्नोत्तर लेख्दै बस्नु हुन्थ्यो । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्नुहुन्थ्यो ।उहाँ बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाउनु भएको थियो ।

उहाँले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गर्नु भएको थियो । उहाँले चार सन्तान जन्माउनु भएको थियो ।खेलकुँदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गर्नु भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण उहाँलाई खेल मैदान लगिएको थिएन ।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उहाँको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उहाँले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताउनु भएको थियो ।

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं – ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिका–८ मा सोमबार ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दैलेखको महावु गाउँपालिका–६ घर भएका हिक्मत दर्लामी मगरका १८ महिनाका छोरा धर्मराज रहेका छन् ।

जुम्लादेखि दैलेख तर्फ आउँदै गरेको ना ७ ख १०१८ नम्बरको ट्रकले आज बिहान पौने १० बजे बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले नियन्त्रणमा लिएको छ ।

फौजी संगठनमा चुस्त र दुरुस्त कार्य गर्न तालिम अपरिहार्य: आईजी केसी

काठमाडौं-सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पुष्पराम केसीले फौजी संगठनमा चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको लागि तालिम अपरिहार्य रहेको बताएका छन् ।

आईजी केसीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुने सि।सं। १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा आ-आफ्नो तहबाट योगदान पुर्‍याउनुपर्ने बताएका छन् ।

त्यसअवसरमा आईजी केसीले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पर्दै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारी निर्बाहमा भई तालिमले शारिरीक र मानसिक विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने मौकाको रुपमा लिनुपर्ने बताउदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन निर्देशन दिए ।

सोही अवसरमा आईजी केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानको तर्फबाट मायाको चिनो समेत प्रदान गरे ।

५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ३९ जना पुरुष गरी कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।

सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गरेका थिए ।

समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।

साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नार्गाजुन नगरपालिकाको सम्पर्क कार्यालय कारखाना चोकमा स्थापना गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको स्थापना गर्दै जनताको स्वतन्त्रता र संविधानको रक्षाका लागि स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका अग्रगमन पक्षधर साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य विनोद श्रेष्ठले अहिलेको चुनावमा जनताले अग्रगमन पक्षलाई अनुमोदन गर्ने व्यक्त गर्नुभयो । पार्टीका नेत्री शोनाम लामाले नार्गाजुन नगरपालिकाभित्र रहेका प्राचीन सम्पदास्थलको संरक्षण पर्यटकीयस्थल तथा त्यस आसपास क्षेत्रमा पूर्वाधार निर्माण गर्न जसपाले त्यस क्षेत्रको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

नार्गाजुन निर्वाचन प्रचारप्रसार समितिका सदस्य शङ्कर लामाले कार्यालयको स्थापनाले स्थानीय तहको चुनावमा आवश्यक कागजात सङ्कलनका साथै चुनाव प्रचारका कार्यक्रम तथा पार्टीका साङ्गठनिक गतिविधि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतमा कोरोनाका २ हजार ५ सय भन्दा बढी नयाँ सङ्क्रमित:३० को मृत्यु

काठमाडौं- भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।
अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । नयाँ सङ्क्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७।३७ प्रतिशत हो ।

भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुसी छैनन् मतदाता

गलेश्वर-स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् ।

हिजो आइतबार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु आजदेखि भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् ।

कतिपय राजनीतिक दलले बाजागाजा र कार्यकर्ताहरुसहित आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिरहेका छन् ।

मध्य वैशाखको समय ग्रामीण भेगका मतदाताहरुलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामकै चटारो छ ।

गाउँमै आयोजित चुनावी सभाहरुमा मतदाताहरु अपेक्षा गरे अनुसार नआए पछि विभिन्न पार्टीका उम्मेदवारहरु मतदातासँग भेटघाट गर्न र भोट माग्ने खेतबारीमै पुग्न थालेका छन् ।

आइतबार तीनवटा स्थानीय तहमा नेपाली काङ्ग्रेसले बाहेक अन्य दलले मनोनयन दर्ता गर्न सकेनन् ।

वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका अनुसार पहिलो दिन हिजो काङ्ग्रेसले मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पूरै प्यानल सहित उम्मेदवारी दर्ता गरेको हो ।

आइतबार रघुगङ्गा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवारबाट मनोनयन दर्ता भए बाहेक अन्य पालिकामा मुख्य पदमा उम्मेदवारी खासै पर्न सकेन ।

काङ्ग्रेसले मालिका, रघुगङ्गा, अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्षसहित अन्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।

उम्मेदवारी दर्ता गराएका दलका उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् ।

यहाँका किसानलार्ई धानको बिऊ राख्ने, मकै गोड्ने, गहुँ थन्काउने लगायत कामको चटारो छ ।

नेताहरूलाई वैशाख ३० गते हुने स्थानीय निर्वाचन कसरी आफ्नो पोल्टामा पार्ने भन्ने चिन्ता छ ।

तर, किसानलाई भने चुनावले छोएको देखिएको छैन ।

खेती सम्हाल्न मै व्यस्त रहेका यी किसान आफूहरुको पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना राख्छन् ।

जौ, गहुँ थन्काउने, धानको बिऊ राख्ने, आलु लगाउने, मल हाल्ने, तरकारी खेती लगाउने जस्ता काममा यतिबेला कृषकहरू व्यस्त छन् ।

मालिका गाउँपालिका–५ देवीस्थानका टेकबहादुर बूढालाई वैशाख ३० को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने कामकै चिन्ता छ ।

उहाँ भन्नुहुन्छ – “जसले जिते पनि गाउँको विकास गर्ने होइनन् । कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन् । हामी त किसानी मान्छे आफ्नो काम गर्‍यो, बस्यो ।”

“पार्टीका उम्मेदवार घरदैलोमा आई भोट माग्छन्, एउटाले जित्छ तर, वर्ष दिनसम्म खाने खेती गर्न छाडेर निर्वाचनमै अल्मलिए हामीसँग साँझ बिहान हातमुख जोर्ने उपाय हुन्न,” बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले भन्नुभयो ।

मंगला गाउँपालिका–४ की राधिका सापकोटा पनि आफ्नो गाउँमा राजनीतिक दलले निर्वाचनलाई लक्ष्य गरी आयोजना गरेका बैठकहरुलाई छाडेर मेलापात मै व्यस्त हुनुहुन्छ ।

पुरानै उम्मेदवार, पुरानै योजना, पुरानै नेता भएका कारण यस पटकको निर्वाचनमा कुनै नौलोपना नपाइएको उहाँको भनाइ छ ।

बेनी नगरपालिका–५ पुरण्य गाउँमा पिउने पानी र विद्युत् विस्तार गर्ने मुद्दा २०७४ कै निर्वाचनमा उठाइए पनि समस्या जस्ताको तस्तै छ ।

“पहिलेका चुनाव अघि गरेका प्रतिवद्धता जनप्रतिनिधिले सबै बिर्सिए,” स्थानीय तुलबहादुर परियारले भन्नुभयो – “बेनी नगरपालिकाभित्र पनि सहज रूपमा पानी पाइँदैन । गाउँमा बिजुली बाल्न पाइएको छैन ।

छोरानातिलाई पढाउन सहज छैन । यस्ता समस्या भोग्दै बस्नुपरेको छ भने अब पनि हामीले किन भोट दिने ? सबै नेता त्यस्तै हुन् ।”

राजनीति गर्ने नेताले प्रत्येक निर्वाचनमा जनतालाई ढाट्ने मात्रै काम गरिआएकाले राजनीतिभन्दा खेतीकै चिन्ता बढी लिनु श्रेयस्कर भएको यहाँका मतदाताहरुको भनाइ रहेको छ ।

दैनिक ज्याला मजदुरीमा गुजारा चलाउने यहाँका मतदातालाई पनि निर्वाचनप्रति खासै उत्साह छैन ।

तर, म्याग्दीको बेनी नगरपालिका–२ का डोलेन्द्र शर्मालाई कामको चटारो भए पनि छिटो काम सकेर दलहरुका चुनावी कार्यक्रममा जाने, कुरा सुन्ने र असल नेता छान्ने धोको छ ।

विगतका निर्वाचनहरुमा वैदेशिक रोजगारीमा रहेका कारण मतदान गर्न नपाउनुभएका शर्माले यस पटक भने जुनसुकै राजनीतिक दलको भए पनि असल उम्मेदवारलाई मत खसालेर चुन्ने अवसर नगुमाउने अठोट व्यक्त गर्नुभयो ।

“उम्मेदवारलाई भोट माग्न मतदाताको घरदैलो पुग्न हतारो छ,” उहाँले भन्नुभयोे – “हामीलाई भने नयाँ बाली लगाउने र लगाएको बाली थन्क्याउने चटारो छ ।”

निर्वाचन नजिकिए पनि जिल्लाका कतिपय युवा वैदेशिक रोजगारीमा जान गाउँ छोडेर राजधानीतिर हिँडिरहेका छन् ।

शिरमा कालो छाते टोपी र हातमा हरियो रङ्गको झोला बोकेका ४१ वर्षीय तीर्थबहादुर विक आइतवार बिहान बेनीको कालीपुल वसपार्कमा भेटिनुभयो ।

युएई हिँड्नुभएका उहाँको निधारमा बिदाइको रातो अच्छेता देखिए पनि निर्वाचनकै मुखमा देश छाड्नु परेकाले होला अनुहार मलिन छ ।

जिल्लाको धवलागिरि गाउँपालिका–४ का विकले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदाहुदै पनि रोजगारीको बाध्यताले विदेशिन बाध्य भएको दुःखेसो पोख्नुभयो ।

विगत पाँच वर्षदेखि युएईमा रोजगारी गरेर परिवारको खर्च धान्दै आउनुभएका विक डेढ महिनाका लागि बिदामा घर आउनुभएको हो ।

विकजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको पर्वाह नगरी कालीपुल बसपार्कबाट बस चढी विदेश उड्न काठमाडौँ पसिरहेका छन् ।

“डेढ महिनाको बिदा लिएर घर आएको थिएँ,” विकले भन्नुभयो – “भोट हाल्नका लागि पर्खेर बसे उता जागिर नै रहन्न ।”

यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको जानकारी दिनुहुने उहाँले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताउनुभयो ।

गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नू भनेर परिवारलाई सल्लाह दिएर आएको विक बताउनुहुन्छ ।

“यतिका चुनावमा मतदान गरिसकें, केही उन्नति भएजसो लागेन,” उहाँले भन्नुभयो ।

मुलुकमा नयाँ शासन व्यवस्था आए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको उहाँको ठम्याइ छ ।

“चुनाव जित्ने नेताका व्यवस्था फेरिए होलान्, हाम्रो त अवस्था जस्ताको तस्तै छ,” निराश भावमा विकले भन्नुभयो ।

सुडानमा भएको जातीय दंगामा १५ को मृत्यु

काठमाडौं – सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ ।
सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा हिंसात्मक झडप भएको भएको थियो । अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको बताएका छन् ।

तर सरकारले भने यो समाचारको पुष्टि गरेको छैन । यहाँका प्रत्यक्षदर्शी तथा स्थानीय गाउँलेहरुले दिएको जानकारीअनुसार आइतबार यहाँ आपसी भिडन्तकाक्रममा कम्तीमा पनि १५ जनाको ज्यान गएको छ र अरु दर्जनौँ घाइते भएका छन् ।

झडप शुक्रबारबाट सुरु भएको उनीहरुको भनाई छ । शुक्रबारदेखि दुई जातीका हतियारधारीहरुका बीचमा भिडन्त सुरु भएको र यसक्रममा दर्जनौँ नागरिक घाइते हुनुका साथै सयौँ घरमा आगजनी पनि गरिएको छ ।

स्थानीयले सय भन्दा बढी घरमा हतियारधारीहरुले आगो लगाएका जनाएका छन् । सो राज्यमा पछिल्लो समयमा विभिन्न जातीका बीचमा भिडन्त हुने गरेको छ । सो भिडन्तमा परेर सयौँ नागरिकको ज्यान जानुका साथै दशौँ हजार जना विस्थापित पनि भएका छन् ।

बुटवलका दम्पती जंगलमा मृत अवस्थामा फेला

काठमाडौं – ६ दिनअघि आफन्त भेट्न गएका बुटवलका एक दम्पती आइतबार सामुदायिक वनको जंगलमा मृत अवस्थामाफेला परेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं-७ शिव नगर सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहाुर केसीले बुटवल उपमहानगरपालिका वडा नं। ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको बताए ।

उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका र घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार दम्पतीका छोराहरू वैदेशिक रोजगारीमा रहेको र उनीहरू घरमा छोरी तथा बुहारीसँग बस्दै आएको छ । प्रहरीले यो घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।