डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले|) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी हुनुभएको छ ।

बौँदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी

काठमाडौं – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौँदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ ।

छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार वडामा एमालेकै समूह विजयी भएको हो । अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत प्राप्त गर्नुभयो ।

उपाध्ययक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकान्ती घिमिरेले तीन हजार ५०६ मत प्राप्त गर्नुभयो । वडा नं १ को वडाध्यक्षमा एमालेका अनिल थापा मगर ६०२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका टोलनाथ कँडेलले ४६३ मत प्राप्त गर्नुभयो ।

वडा नं २ मा एमालेकै श्यामसुन्दर श्रेष्ठले एक हजार १३५ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गर्नुभयो । वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका तेजबहादुर थापा ६२० मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका कुलबहादुर ठाडामगरले ५१९ मत प्राप्त गर्नुभयो ।

वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनबहादुर सारु ८६८ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका मोहन थापामगरले ३८६ मत प्राप्त गर्नुभयो । वडा नं ५ भने एमालेका भीमबहादुर थापा खरुमगर ४६२ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका खुमकुमार सारु मगर ७२१ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभयो ।

धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं – जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गर्नुभयो ।

मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका मिथिलेश साह निर्वाचित हुनुभएको छ । जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी)का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडासदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित हुनुभएको छ ।

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राख्नुभएको छ ।

उहाँले ८६९ मतका साथ अग्रता कायम राख्नुभएको छ भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले ४६१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

बारामा कांग्रेस ३ एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

काठकाडौं – निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी हुनुभएको हो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँ सोही पदमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा ९एमाले० र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।

भरतपुर महानगरपालिकामा रेनुदाहालको अग्रता कायमै

काठमाडौं – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ ।

गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा उहाँले ९८ मतले अग्रता कायम राख्नुभएको छ ।

दाहालले एक हजार १०५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का विजय सुवेदीले एक हजार सात मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाउनुभएको छ ।

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।

चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा नं १ मा कांगे्रस र २ मा माओवादी विजयी

काठमाडौं – चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र ० विजयी भएका छन् ।शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गर्नुभयो ।यस्तै, चन्द्रागिरि –२ को वडाध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत प्राप्त गर्नुभयो ।

चन्द्रागिरि नगर प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाभित्रका पाँच हजार ६७७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार घनश्याम गिरीले दुई हजार ४१३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८९४ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

ललितपुर- १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

काठमाडौं- ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गर्नुभएको छ । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ ।

कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाउनुभएको छ । महानगरपालिकामा २९ वडा रहेका छन् ।

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांगे्रसको अग्रता

काठमाडौं – ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांगे्रसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ । कांगे्रसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ ।

महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांगे्रसबाट लक्ष्मी महर्जनले ३३८ मत पाउनुभएको छ ।

महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौं – धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गर्नुभएको छ । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गर्नुभएको छ ।

नेकपा (एमाले)की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गर्नुभएको छ ।

हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् ।

धरान २ मा एमालेका राई विजयी

धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो ।

म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं- शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
छवटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई वडामा विजयी भएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–१ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजाले ३३२ र वडा नम्बर २ मा साही पार्टीका ओमप्रकाश फगामीले ३२९ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो ।

मालिका गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका टङ्कप्रसाद पुनले ४६२ मत, वडा नम्बर २ मा एमालेका उदयकुमार बुढाथोकीले ७५१ र वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढाले ३४५ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।

यसैगरी मालिका–४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

रघुगङ्गा गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी विजयी हुनुभएको छ । मङ्गला गाउँपालिका–१ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीकाका धनबहादुर खाती क्षेत्री विजयी हुनुभएको छ । 

धौलागिरि गाउँपालिका–२ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित हुनुभएको छ । छवटै स्थानीय तहको मतगणना जारी छ ।

बेनीको मेयरमा एमाले, उपमेयरमा माओवादी, मङ्गला र अन्नपूर्णमा एमाले, मालिका, धौलागिरि र रघुगङ्गा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । कूल ८५ हजार ३७५ मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको थियो । जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

काठमाडौं – पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ ।

जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गर्नुभएको छ ।

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ ।

छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित निकालेका छन् ।

वडा नम्बर ६ बाट मतगणना सुरु गरिएको बौँदीकालीको वडा नम्बर ६ र ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी हुनुभएको छ । उहाँले ७२९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, बौँदीकाली–५ मा भने एमालेको प्यानल नै वियजी भएका छ । यहाँ वडाध्यक्षमा एमालेका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ४६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गर्नुभयो ।

बौँदीकाली–४ को वडाध्यक्षमा कांग्रेसका मनबहादुर सारु मगर ८६८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गर्नुभयो । यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा बौँदीकालीको वडा नम्बर १, ३ र ४ कांग्रेसले जितेको थियो भने वडा नम्बर २, ५ र ६ एमालेले जितेको थियो ।

मध्यपुरथिमि–२ मा कांग्रेस-भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी

काठमाडौं – मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ ।
उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नुभएको छ । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनुभएको छ । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी हुनुभएको छ ।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राख्नुभएको छ भने गठबन्धनबाट नेकपा( माओवादी केन्द्र ) का विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनुभएको छ । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ ।

भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो । मत गणना जारी छ ।

आजको मौसम : देशभर यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

हाल प्रदेश नं १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेशमा , गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती स् प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ

।प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा

काठमाडौँ – यसपटकको निर्वाचनमा दुई लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदैछन् ।

त्यसमा एक लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरीका ६५ हजार बढी परिचारित छन् भने नेपाली सेनाबाट ७१ हजार सहभागी छन् । त्यस्तै सशस्त्र प्रहरीका ३२ हजार बढी परिचालित भएका छन् ।

मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिनुभएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यसपाली आपाराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र तिनका प्रतिनिधिबीच हुनसक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताउनुभयो ।

उहाँले यसपालीको निर्वाचनको माहोल शान्तिपूर्ण नै रहेको बताउनुभयो । उहाँका अनुसार विभिन्न जिल्लामा छिटफुट घटना भएको छ । प्रहरीले मतदान केन्द्रमा १८ जनासम्म प्रहरी परिचालन गरिएको बताउनुभयो ।

नेपालका चार सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) ले निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गरी लागू गरेका छन् । चारै निकायले आ–आफ्नै छुट्ट छुट्टै सुरक्षा रणनीति समेत बनाएका छन् ।