जेलमा हिंसा हुँदा ४४ को मृत्यु : १०८ फरार

काठमाडौं – इक्वेडरको एक जेलमा भएको भयानक हिंसात्मक घटनामा परी सोमबार कम्तीमा ४४ कैदीको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार घटनामा परी अन्य १०० भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन ।

क्विटोबाट करिब ८० किलोमिटर टाढा इक्वेडरको मध्यभागमा अवस्थित सान्टो डोमिङ्गो डे लस कोलोराडोसको बेलाभिस्टा जेलभित्र प्रतिद्वन्द्वी लस लोबोस र आर ७ गिरोहबीच झगडा भएको अधिकारीहरूले बताएका छन् ।

जेलमा जारी हिंसाको क्रममा १०८ कैदी फरार भएका छन् भने जेलबाट भागेका ११२ जनालाई पुनः पक्राउ गरिएको प्रहरी प्रमुख फाउस्तो सलिनास्ले जानकारी दिनुभयो ।

कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी गराउन देउवाको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० गते वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् ।

अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको उनको भनाइ छ ।

हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गरेका हुन् ।

भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

काठमाडौं – भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा सोमबार नयाँदिल्लीमा आयोजित अन्तक्र्रियामा राजदूत डा शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा लगानीका अनेक सम्भावना छन् लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।”

नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरुपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बताउनुभयो ।

नेपाल र भारतबीचको भौगोलिक निकटता र कैयन् क्षेत्रका एकरुपताका कारण भारतीय उद्योगी व्यवसायीहरूलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह गर्नुभयो ।

बैंकिङ तथा रेमिटेन्स सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तक्र्रियामा डा शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गर्नुभयो ।

एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका सबै भारतका व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा वैदेशिक लगानी तथा रेमिटेन्स आदिका विद्यमान नीतिहरूका बारेमा जानकारी गराउनुभएको थियो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भारतमा आफूले गरेको कमाइ बैंकिङ च्यानलबाट पठाउन आग्रह गर्दै ग्लोबल आइएमई बैंकले विश्वका अन्य मुलुकजस्तै भारतबाट रेमिट्यान्स पठाउन पनि सहज बनाएको बताउनुभयो ।

प्रवासी नेपालीले नेपालमा रकम पठाउन तथा दुई देशबीचका आयात– निर्यातका जटिलता समाधानमा सहजीकरण गर्न राजदूतको ध्यानाकर्षण गराएका थिए । दूतावासका कन्सुलर बद्री तिवारीको समन्वयमा भएको उक्त कार्यक्रममा भारतस्थित विभिन्न नेपाली व्यवसायी, नयाँदिल्लीमा रहेका नेपाली व्यापारिक प्रतिष्ठान एवं बैंकका प्रतिनिधिलगायत उपस्थित थिए ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु -एक घाइते

काठमाडौं – उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक जना घाइते भएका छन् ।

मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार त्रियुगा नगरपालिका–१ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

एमालेका कार्यकर्तामाथि आक्रमण : चारजना घाइते

काठमाडौं – गोरखाको आरुघाट गाउँपालिका– १मा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।
सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ ।

आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् ।
सोमबार दिउँसो धोरतमा कार्यक्रम थियो । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेतमा खाजा खान लाग्दा कांङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने ।

कुटपिटबाट घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरु कार्यकर्तामाथि पनि टाउको, शरीरमा घाउहरु धेरै नै छ’, विक्रम गुरुङले भने ।

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : डा महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गर्नुभयो ।

“विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्”, उहाँले भन्नुभयो । उहाँले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गर्नुभयो ।

प्रवक्ता डा महतले नेकपा सरकारले आफ्नो पाँचवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्नुभयो । कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उहाँको भनाइ थियो ।

कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं स्थानीय निर्वाचनमा कामपा–४ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद न्यौपानेले अनुशासित र भ्रष्टचाररहित वडा निर्माण आफ्नो मुख्य अभियान भएको बताउनुभयो ।

सोही वडामा कांग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिनुभएको छ ।

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर मंगलबार विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै डलरको मूल्य पनि बढ्न थालेको हो।

अमेरिकी केन्द्रीय बैंक (फेड)ले त्यहाँको आधार ब्याजदर ०.५ प्रतिशतले बढाएपछि डलरको माग बढेको छ। फेडले दुई दशक यता सबैभन्दा धेरै दरले यसमा वृद्धि गरेको हो।

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

काठमाडौं – रोल्पाको गङ्गादेव गाउँपालिका-५ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ ।
सोमबार राति भएको झडपमा परी कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीको आरोप छ ।

तरुणदलका वडाध्यक्ष बुढामगरलाई धेरै चोट लागेको छ । उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ ।

घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

आज कतिले घट्यो सुनको मूल्य ?

काठमाडौं – आज पनि सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

सीता उत्पत्ति दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावण लगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भएपनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ ।

अयोध्या त्याग गरेपनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको माग अनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।

दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरेपनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ ।

प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागेपनि उहाँ धर्तीको कोखमा लुप्त हुनुभएको प्रसङ्ग रामायण लगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति हुनुभएकी सीता माटोमै लुप्त हुनुभएको थियो ।

सीता उत्पत्ति हुनुभएको भएपनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ ।

विसं २०७७ र २०७८ मा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले रामजानकी मन्दिरमा सीता जयन्तीका अवसरमा लाग्ने मेला प्रभावित भएको थियो । यस वर्ष भने कोरोना महामारी निकै कम रहेकाले मेला लागेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान दिएको छ ।

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसअघि उहाँ तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी पर्नुभएको हो । उहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

गठबन्धन कसैको विरुद्ध हैन-राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताउनुभएको छ ।

सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, “पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो ।”

नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरी राजनीतिक अस्थिरता निम्त्याएका कारण फेरि देशमा राजनीतिक अस्थिरता नहोस् भनेर गठबन्धन गरी सरकार गठन भएको महामन्त्री थापाको भनाइ थियो ।

सवारी चालक अनुमतिपत्र पाउन सास्ती

काठमाडौं – बागलुङ नगरपालिका–३ भलाटाकुराका सुमन किसानले सवारी साधन चलाउन सिकेको दुई वर्ष भयो ।
उहाँको हातमा सीप त छ तर त्यसको प्रयोग गर्ने अधिकार छैन । उहाँले सवारी साधन चलाउने अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउनुभएको छैन ।

महँगो शुल्क तिरेर सवारी साधन चलाउन सिक्नुभएका किसान आफ्नो मेहनत खेर जाने हो की भन्ने चिन्तामा हुनुहुन्छ । बागलुङमा चार पाङ्ग्रे सवारी साधनका लागि सवारी चालक अनुमतिपत्रको परीक्षा नभएको १० वर्ष भयो ।

पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा जाँदा एकै पटकमा लाइसेन्स बन्दैन । धेरै पटक धाउँदा खर्च धान्नै कठिन हुने उहाँको गुनासो छ । आफूले चिने जानेका र गाउँघरमा पुग्ने जो कोहीसँग किसानले सोधी खोजी गर्नुहुन्छ, ‘सवारी चालक अनुमतिपत्रका लागि परीक्षा कहिले हुन्छ रु”

किसान जस्ता धेरैको अहिले यही समस्या छ । पछिल्लो समय स्वदेशमा होस् वा विदेशमा रोजगारीका लागि सवारी चालक अनुमतिपत्र अनिवार्य जस्तै भएको छ । लामो समय यातायात व्यवस्था विभागले परीक्षाको प्रबन्ध गर्न नसक्दा युवा समस्यामा छन् ।

यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको फार्म खुलाएको छैन । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घर दैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गर्ने गरेका छन् ।

जैमिनी नगरपालिका–६ का दीपक नेपालीले भन्नुभयो, “मैले मकवानपुर पुगेर लामो समय पर्खेर र पैसा खर्चेर लाइसेन्स लिए ।’’ साना तथा ठूला सवारी साधन चलाएर स्वरोजगार बन्न युवा पुस्ता आकर्षित भएको पाइए पनि लाइसेन्स नहुँदा उनीहरु त्यसबाट वञ्चित छन् ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार २०६९ सालमा नयाँ मापदण्ड लागू भएदेखि दुई पाङ्ग्रे सवारी साधन बाहेकको सवारीचालक अनुमतिपत्र जारी भएको छैन ।

कोरोना महामारीको समयमा रोकिएको दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्रको परीक्षा नियमित हुन नसक्दा सर्वसाधारण मर्कामा छन् । “दुई वर्षको बीचमा एकपटक खुलेको अनलाइन फारम भरेकाको परीक्षा लिन भदौसम्मको तालिका छ’’, उहाँले भन्नुभयो, “अब नयाँ व्यवस्थापनसहित चुनावपछि फारम खुल्छ ।’’

चार पाङ्ग्रे सवारी साधनका लागि भने प्रयोगात्मक परीक्षा लिने मापदण्ड पुगेको संरचना बागलुङमा छैन । पटक पटक सरोकारवालाबीच मापदण्ड पुग्ने मैदानको खोजीका विषयमा छलफल भए भए पनि समस्या नसुल्झेको थापा बताउनुहुन्छ ।

अहिले एक दुई ठाउँबाट प्रस्ताव आएको छ, हामीले भाडामै लिएर भए पनि मैदान तयार गरौँ भनेर लागेका छौँ’’, उहाँले भन्नुभयो, ‘सोह्र रोपनी जग्गा एकै ठाउँमा चाहिन्छ, कार्यालयसँग जग्गा छैन ।’’

सीमा नाका आजदेखि बन्द हुँदै

काठमाडौं – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ ।

भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उहाँले बताउनुभयो ।

यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ ।

कस्तो छ आजको मौसम ?

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सर्वाजनिक गरेको छ । हाल मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।