पोखरामा कांग्रेसका बागी उम्मेदवार नेकपा एसका धनराजकै समर्थनमा

पोखरा-नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले आफ्नाे बागी उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कार्कीले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका हुन् ।

निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन् ।

सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् ।

कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको र साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको बताएका छन् ।

उनले मेयर पदमा आफ्नो उम्मेदवारी निष्क्रिय भएको पनि बताएका छन् ।

वैशाख ३० गते सार्वजनिक विदा

काठमाडौं – सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । निर्वाचनको दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताए ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।
आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर दुई हजार २६८.८४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले उकालो लागेर ४३९.४७ अङ्कले उकालो लागेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि भएन । कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु एक अर्ब ३९ करोड छ लाख सात हजार ७०२ बराबरको कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ ।

बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार ५०६ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८३ लाख ५३ हजार ८९९ बराबरको कारोबार भयो ।

एनआइसी एशिया बैंक रु पाँच करोड चार लाख ८९ हजार ५९१, हिमालयन डिस्टिलरी रु चार करोड ९५ लाख ८५ हजार ९४१, शिवम् सिमेन्ट रु तीन करोड ८६ लाख ७१ हजार ९९२ र नबिल बैंक रु तीन करोड ६९ लाख पाँच हजार ६८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नती सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले कमाएका छन् ।

हिमालयन ऊर्जा विकास कम्पनी ३.७८, स्वरोजगार लघुवित्त विकास बैंक ३.२४, गुह्यश्वरी मर्चेन्ट बैंक ३.०४, समता घरेलु लघुवित्त २.९९ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई २.८३ प्रतिशतले ओरालो लाग्यो ।

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुुर्‍याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन मतदाताहरूमा अनुरोध गरेको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कुनै किसिमको प्रलोभन, डर, धाक, धम्कीमा नपरी मतदान गर्न आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन हुनेमा पार्टी विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ७५३ वटै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौं ।”

चितवनमा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएकामा त्यसको निन्दा गर्दै दोषीमाथि उहाँले कारबाहीको माग गर्नुभयो । उहाँले रुकुम पश्चिम, बाजुरा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, पाण्डुसेनलगायत केही स्थानमा छिटफुट झडपका घटना भएका जानकारी दिँदै निर्भयपूर्वक मतदान गर्ने वातावरण सिर्जना गर्न पार्टीका तर्फबाट उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

पार्टीले स्थानीय सरकारलाई नागरिकको सेवकमा रुपान्तरण गर्ने, जनतामुखी नीति उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्दै सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर उपलब्ध गराउने, वडाबाटै नागरिकमैत्री सेवाप्रवाह, घरदैलोमा सेवा ‘अगुवा विद्यालय’ को स्थापना, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा, सार्वजनिक स्थानमा निःशुल्क वाईफाई, छात्रालाई निःशुल्क सेनिटरी प्याड, पर्याप्त शिक्षक दरवन्दीको व्यवस्था एक शिक्षक एक ल्यापटपको व्यवस्था तथा शिक्षामा हुने लगानी अहिलेको भन्दा दोब्बर गर्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले हरेक तहमा उद्यम विकास केन्द्र र रोजगार बैंक, वैदेशिक रोजगारीमा जानेलाई सीपमूलक तालिम, एक वर्षभित्रै संविधानका अधिकार लिने कानुन निर्माण, न्याय सम्पादनमा जनशक्तिको व्यवस्था, पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण, यथार्थपरक बजेट निर्माण भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन एक हेक्टरभन्दा कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा वनको विकास तथा ‘फोहरबाट मोहर आर्जन’ गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ पार्टीले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

काठमाडौं – जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो ।

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ ।
जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।

स्थानीय निकायको निर्वाचनमा निर्णायक शक्तिका रुपमा नेकपा एस

काठमाडौं-स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एस निर्णायक शक्तिका रुपमा देखिएकाे छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल फेरि निर्णायक शक्तिका रुपमा देखिएका हुन् ।

स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एसले खेल्ने भूमिकाले देशभरको चुनावी परिणाममा ठूलै उथलपुथल ल्याउने अवस्था बनेको छ ।

गठबन्धनले देशभर तालमेल गरेको छैन । महानगरपालिका, उपमहानगरपालिकाका अलावा ७५३ मध्ये आधाभन्दा कममा तालमेल गरेको छ ।

यसले देशभरको चुनावी नतिजामा फरक परिणाम ल्याउन सक्छ ।

महानगरपालिका र उपमहानगरपालिकाको प्रतिष्पर्धामा एकातर्फ गठबन्धनको दल विशेषले प्रमुख र उपप्रमुखमा उम्मेदवार खडा गरेका छन् ।

अर्कातर्फ एमाले प्रतिष्पर्धी देखिएको छ । एमाले फुटेर नेकपा एस बनेको छ । एसको मत जता जान्छ उसकै पल्लाभारी हुने धेरै पालिकाहरु छन् ।

एसको कार्यकर्ताको सक्रियता र मत नै चुनावमा जित या हारको निर्णायक बन्न सक्छ । त्यसैले माधव नेपाल उचित समयको पर्खाइमा देखिन्छन् ।

नेकपा एसमा अधिकांश एमालेका पुराना र परिश्रमी कार्यकर्ता छन् । पालिकाको तल्लो तहसम्मको समाज बुझेकाहरु थोरै संख्यामा भएपनि प्रभाव पार्ने खालका छन् । उनीहरुको सक्रियता कस्तो हुन्छ भन्ने चासो देखिएको ।

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न माधव नेपाल नै निर्णायक बनेका थिए ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने देखि प्रदेशहरुमा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकार बनाउन पनि उनकैको भूमिका निर्णायक थियो ।

त्यसपछि भएका राष्ट्रियसभाको चुनावमा पनि माधव नेपाल नै निर्णायक बने ।

यसपटक स्थानीय चुनावमा पनि माधव नेपाल नेतृत्वको नेकपा एस देशका प्रायः पालिकाहरुमा निर्णायक देखिएका छन् ।

विगतमा एउटै दल भएको भन्दै उम्मेदवार नउठाएको स्थानमा एसका मतदाता सूर्यमै मतदान गर्नसक्ने विषय पनि नउठेको होइन ।

कतिपय पालिकामा एसले जित्ने सम्भावित भए एमालेका मतदाताको मत पनि जान सक्छ । यसकारण पनि एस निर्णायक शक्ति बनेको छ ।

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

काठमाडौं – कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उहाँको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

परिवर्तन-शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता शर्माको अपिल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गर्नुभएको छ ।

आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा आज विशेष अपिल जारी गर्दै उहाँले प्रतिगामी र प्रगतिशील शक्तिबीचका लडाइँका रुपमा निर्वाचन आएकाले प्रतिगमनलाई परास्त गर्नु आजको मुख्य कार्यभार रहेको बताउनुभयो ।

एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै नेता शर्माले सम्पूर्ण मतदाता र गठबन्धनका नेता कार्यकर्तालाई वाम लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई विजयी बनाउन आग्रह गर्नुभएको छ ।

स्थानीय तहको कार्यसम्पादनले मुलुकको समग्र समृद्धिको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सबल, सक्षम, क्षमतावान, सुशासनयुक्त र प्रभावकारी स्थानीय तह अहिलेको आवश्यकता रहेको बताउँदै नेता शर्माले मतदानपूर्व स्थानीय तहको राजस्व परिचालन, पारदर्शीता र सुशासनका सम्बन्धमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सीमित स्रोत र साधनकाबीच स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले पारदर्शीता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित हुने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

“सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ । मतदानमा हामीले गर्नुपर्ने विवेकपूर्ण निर्णय यही हो”, उहाँले भन्नुभएको छ ।

स्थानीय तहहरू सामान्य सरकार होइनन् भन्दै उहाँले स्थानीय सरकार लोकतन्त्र, विकास, सेवा प्रवाह र शासनका केन्द्रबिन्दुका रुपमा रहेको बताउनुभयो । सङ्घीय संरचनामा सङ्घीयताको लाभ जनतालाई प्रत्यक्ष रूपमा अनभूत गराउने प्रस्थानविन्दु पनि स्थानीय तह नै भएको उल्लेख गर्दै उहाँले नागरिकको सबैभन्दा नजिकैको शासकीय इकाइ स्थानीय तह सबल र सक्षम नभइ मुलुकको विकास र समृद्धि सम्भव नभएको बताउनुभयो । “आम नागरिकमा सुशासनको प्रत्याभूति गराउने मुख्य कर्तव्य रहेको स्थानीय तहको महत्व असिमित छ”, उहाँले भन्नुभएको छ ।

नेता शर्माले स्थानीय समृद्धि र स्थानीय विकासका लागि स्थानीय तहको समग्र क्षमता विकास कुशल नेतृत्व र पारदर्शी कार्यसम्पादन चाहिने बताउनुभएको छ । “स्थानीय तहले केन्द्रबाट गएको मात्र होइन, आफ्नै तहको तर्फबाट रोजगारमूलक कार्यक्रम बनाउनुपर्छ स्थानीय तह रोजगार योजना बनाउने र हरेक वर्ष वार्षिक बजेटमा कार्यक्रम समेट्नुपर्छ”, उहाँले अपिलमा भन्नुभएको छ, “सीपमूलक तामिल दिने र विदेशबाट आएकालाई सीपअनुसार काम गर्न उत्साही गर्नुपर्छ हामीले यही विषयलाई मध्यनजर गरेर जनप्रतिनिधि छान्नुपर्छ ।”

नर्कमा जाने डर देखाएर भोटमाग्दै मेयर उम्मेदवार स्थापित

काठमाडौँ-एमालेकाको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्।

काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका हुन्।

‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ’, स्थापितले सम्बोधन गर्दै भने, ‘यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’

किन यस्तो भन्नुभएको भन्ने प्रश्नमा उनले आफ्नो बचाउ गर्दै उनले भने ‘यो भनेको सांकेतिक कुरा हो क्या। एउटा पवित्रको बाटो हुन्छ। अर्को पाटो चाँही मासुभात खाने अनि बाटोमा सुत्ने खालको हुन्छ,’ स्थापितले थप प्रष्ट पार्दै भने, ‘केही राजनीतिक पार्टीले हाम्रा दाजुभाइ दिदीबहिनीलाई किन्न सकिन्छ भन्ने शब्द प्रयोग गरेको छ। कोही किनियो भने त नर्कमा नै जान्छ भन्न खोजिएको हो।’

स्थापितलाई भोट नहाल्दा तिमी बेठीक हुन्छौं भन्ने सन्देश दिनका लागि जनताले बुझ्ने भाषामा नर्कमा जान्छौ भनेर भनेको बताउदैँ आफ्नो बचाउ गरे ।

गठबन्धन चुनावका लागि मात्र होइन- शान्ति प्रक्रियालाई पूर्णता दिन पनि हो : उपसभापति खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताउनुभएको छ । कसैलाई जिताउन वा हराउनका लागि नभइ संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उहाँले बताउनुभएको छ ।

उपसभापति खड्काले आज सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गर्नुभयो ।

गिरिजाबाबु र प्रचण्डले सुरुआत गर्नुभएको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ”, खड्काले भन्नुभयो, “त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ ।”उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताउनुभयो ।

आफ्ना प्रतिस्पर्धाका कुरा काटेर होइन आफ्ना प्रतिबद्धता राखेर मत माग्नुहोस”, गठबन्धनका नेतालाई उहाँले भन्नुभयो, “आफ्ना कार्यक्रम र प्रतिबद्धता राखेर भोट मागौँ, इमानको राजनीति गर्नुपर्छ, कुरा काटेर होइन । नेपाली कांग्रेसका उपसभापति खड्काले विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन वीरेन्द्रनगरका मतदातालाई आग्रह गर्नुभएको छ ।

वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यो पालिकामा कांग्रेसले प्रमुखमा उपेन्द्र खड्कालाई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएको छ ।

मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

मकवानपुरमा निर्वाचनका लागि प्रशासनद्धारा नेपाली सेना ५००, सशस्त्र प्रहरी ४००, नेपाल प्रहरी ९०० र म्यादी प्रहरी एक हजार ४०० परिचालित गरिएको हो । पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहने छन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात् मतदानस्थल वरिपरी नेपाली सेना परिचालन गरिएको छ ।

सबै सुरक्षाकर्मी मतदान केन्द्रको सुरक्षा र गस्ती गर्ने लगायतको काम गर्ने बताइएको छ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र कर्मचारीसँग मतपत्र लगायतका सामग्री लिएर पठाउने तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

यस्तै जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाउने कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताउनुभयो । मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष र एक लाख ४४ हजार ९५९ महिला तथा छ जना तेस्रो लिङ्गी गरी कूल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । त्यसमा ६५ हजार ५४ नयाँ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आरुबारीस्थित पानीपोखरीअघिको सडकमा पानी जम्दा आवागमनमा कठिनाइ

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गर्नुभयो ।

सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उहाँले सुनाउनुभयो । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको गुनासोे थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताउनुभयो ।

ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिँदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उहाँको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताउनुभयो ।

पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उहाँको ठम्याइ थियो । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौँ उपत्यकाका १० वटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ ।

मतगणनामा सहभागी हुने सबैकाे मापसे परीक्षण हुने

काठमाडौँ-स्थानीय तह निर्वाचनपछिको मतगणनामा सहभागी हुने सबैमा मादक पदार्थ पिए नपिएको जाँच हुने भएको छ।

निर्वाचन आयोगले मतगणनामा सहभागी हुने कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक र राजनीतिक दलका प्रतिनिधिको गणनास्थल जानु अघि मापसे परीक्षण हुने भएको हो।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख निर्वाचन अधिकारी रोशन शंकर घिमिरेले सर्वदलीय बैठकमा यसबारे जानकारी दिएका हुन्।

दलहरुले आयोगको यो निर्णय सही रहेको बताउँदै कडाइपूर्वक लागु गर्न आग्रह गरेका छन्।

सिरहाको मिर्चैयामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप

काठमाडौं – सिरहाको मिर्चैया बजारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा माओवादी कार्यकर्ता चढ्ने एउटा कारमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका छन् । कारको अगाडिको सिसा फुटेको छ ।मिर्चैयाका डीएसपी हरिबहादुर ओलीका अनुसार वडा नम्बर २ मा कांग्रेस र माओवादीका कार्यकर्ताबीच विवाद भएको थियो ।

दुवै पक्षका मानिसलाई ल्याएर छलफल गरिरहेकै बेला सामान्य झडप भएको उनले बताए । ‘अहिले विवाद मिलाउन छलफल भइरहेको छ’, उनले भने । कांग्रेसले माओवादी र माओवादीले कांग्रेसमाथि आर्थिक चलखेल गरी मतदाता फकाउने प्रयास गरेको आरोप लगाइरहेका छन् । यही विषयमा विवाद बढेर तनाव सृजना भएको स्थानीय बताउँछन् ।

मिर्चैयामा नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयर श्रवण यादव पुनः चुनावी मैदानमा छन् । कांग्रेसले सीताराम यादवलाई मेयरमा खडा गरेको छ ।

सिटिसी मल लिलाम बिक्रिमा

काठमाडौँ-सुन्धारास्थित सिटिसी मल लिलाम बिक्री हुने भएको छ ।

८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने सूचना कर्मचारी सञ्चय कोषले सोमबार जारी गरेकाे छ ।

सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागेको हो।

आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।

सिटिसी मलमा घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी छ ।

गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङसहित तीन जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।

कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो।

कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो।

सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोगमा तामाङलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो।