गठबन्धनले जितेमात्र देशमा गणतन्त्र, संघीयता र संविधान रहने: नेता श्रेष्ठ

पोखरा-नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले गठबन्धनले जितेमात्र देशमा गणतन्त्र, संघीयता र संविधान रहने बताएका छन् ।

पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रम तथा रोजगारमन्त्रीसमेत रहेका श्रेष्ठले गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिए ।

मन्त्री श्रेष्ठले भने, ‘यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने मुलुक ठूलो दुर्घटनामा जान्छ ।’

उनले गणतन्त्र जोगाउनका लागि समेत गठबन्धनलाई जिताउनपर्ने बताए ।

मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले पोखरामा त्यसको गुण तिर्नुपर्ने समेत बताए ।

पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन् ।

मलेसियालमा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित- चार जनाको मृत्यु

काठमाडौं – मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ ।

यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

परीक्षा बोर्डले तोक्याे कक्षा १२ को परीक्षा केन्द्र

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ ।

साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।

जेठ १६ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परीक्षा केन्द्रको सूचि

मङ्गलबार राति १२ बजेदेखि सीमानाका बन्द हुने

काठमाडौं – सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो ।

यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादकपदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ । मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको र निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ । साथै अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहितापालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं – क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो ।

त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ । सो समेतगरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ । सो दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन् । ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ ।

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टिभीले जनाएको छ ।

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन् । तर अब भने मानिसहरुलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरुको भनाई छ ।

प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।

नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई अझै परिस्कृत गर्दै लैजानेमा धेरै मतैक्य छ । सोही क्रममा आयोगले स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा (सिसी क्यामेरा) को प्रबन्ध गरेको छ ।

मतगणनाको क्रममा हुने अवाञ्छित गतिविधि रोक्न र विवाद कम गर्ने उद्देश्यका साथ सिसी क्यामेराको प्रबन्ध गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो । आज या भोलिसम्म सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसक्नेछ । कूल ३५० पालिकामा यसअघि नै सिसी क्यामेरा जडान भइसकेको छ ।

त्यस्तै ५० पालिकाले आफुखुसी आयोगको भीएमएस सिस्टमसँग जडान नहुने सिसी क्यामेरा जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुने गरी क्यामेरा प्रबन्ध गर्न भनिएको छ । त्यस्तो कार्य वैशाख २९ गतेसम्म पूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।

आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले यसअघि नै कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन रु भन्ने प्रश्न उत्पन्न भएको बताउनुभएको थियो ।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो । निर्वाचनका लागि कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको संख्या उल्लेख्य रहेका छन् । आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको संख्या ७६ हजार १६२ छ । सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन् ।

एक्काइसदेखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरी कुल ३५ हजार २५८ उम्मेदवार छन् । यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ३७ हजार ५४ छ । सो उमेर समूहमा २६ हजार ५१५ पुरुष र १० हजार ५३९ महिला छन् ।

यस्तै ६५ वर्ष माथिका चार हजार ३५० पुरुष र एक हजार १७७ महिला गरी पाँच हजार ५२७ उम्मेदवार रहेका छन् । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कूल एक लाख ४५ हजार १० उम्मेदवार छन् ।

नगरपालिका प्रमुखमा तीन हजार २३८, उपप्रमुखमा एक हजार ९६४, गाउँपालिका अध्यक्षमा तीन हजार ९२ र उपाध्यक्षमा दुई हजार १६३ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै वडाध्यक्षमा ३२ हजार ४९६, सदस्यमा ५३ हजार १७३, महिला सदस्यमा २५ हजार ५९९ र दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेस कार्यकर्ता हत्याको विरोधमा प्रदर्शन

काठमाडौं-नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवनमा कांग्रेस निकट युवाहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका हुन् ।

उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।

आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।

परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउनसमेत उनीहरुले दिएका छैनन् ।

शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन ।

हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।

सुनको मूल्यमा सामान्य वृद्धी- चाँदीको स्थिर

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० छ । यसको मूल्य आइतबार प्रतितोला रु ९८ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७२ डलर आसपास कारोबार भइरहेको छ ।

निर्वाचनको दिनमा वर्षाको सम्भावना ? सतर्कता अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भातरको बिहार(पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको असानीु चक्रवात उक्त प्रणाली उत्तर-पश्चिम (भारत) तर्फ सर्ने क्रममा छ ।

वैशाख ३० गतेसम्म उक्त चक्रवात कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने विभागले जनाएको छ । उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने र त्यसदिन हल्कादेखि मध्यम वर्षा हुने सक्ने विभागले जनाएको हो । विभागकी प्रवक्ता विभूति पोखरेलले पनि मतदाताहरुलाई मतदान केन्द्रमा जाँदा त्यही अनुसारको तयारी गरेर जान आग्रह गरिन् ।

उनले पानी पर्ने भएकाले मतपेटिका कसरी सुरक्षित राख्‍ने मुख्य कुरा हुने बताइन् । उनले भनिन्,ुपानी पर्न सक्ने सम्भावना रहेकाले मतपेटिकाको संरक्षण गर्न जरुरी देखिन्छ । मतपेटिका संरक्षण गरिएन भने मिहिनेत खेर जान्छ । त्यसका लागि सोही अनुरुपको तयारी गर्नुपर्छ ।

उनले पनि छाता बोकेर जान सुझाव दिइएको छ । मतपेटिकामा मत खसाल्दा पानीले भिज्‍न सक्‍ने सम्भावना पनि हुने भएकाले विशेष तयारी आवश्यक रहेको उनले बताइन् ।

साथै चुनावको अघिल्लो दिन तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना रहेकोविभागले जनाएको छ । महाशाखाले मौसमी प्रणालीका कारण निर्वाचनमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध समेत गरेको छ ।

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

काठमाडौँ-आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ ।

जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिनुभयो ।

तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उहाँले बताउनुभयो ।

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

काठमाडौ- भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो ।

घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
हाल मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य पहाडी भू(भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौन अवधि सुरु हुदैँ: सीमा नाका बन्द हुने

काठमाण्डाै – शुक्रवार हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ ।

मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् ।

यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् ।

भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ ।

चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

काठमाडौँ-आसन्न स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब ६ दिन बाँकी छ ।

वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।

तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

नेपालमा संघीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार भएपछि विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए ।

सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा ४० हजारभन्दा बढी जनप्रतिनिधि चुनिनेछन् ।

परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ ?

आयोगले मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि गत फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

त्यसबीचमा निवेदन दिएका मतदाताहरूका साथै नयाँ मतदाताका परिचयपत्र एकसाथ छपाइ भइरहेको छ ।

त्यसपछाडि परिचयपत्र हराएका मानिसहरूले चुनावअघि अब नयाँ पाउने सम्भावना छैन ।

‘करिब ३३ लाख मतदाता परिचयपत्र छपाइको काम भइरहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘छापिएपछि मतदान पत्रसँगै अथवा अन्य सामग्रीसँग मतदान केन्द्रहरूमा पठाउने भन्नेबारे हामी हेर्छौँ ।’

मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ ।

तर मतदाता परिचयपत्र हराएका कतिपय मतदाताले मतदान गर्न पाइन्छ कि पाइँदैन भनी चिन्ता व्यक्त गर्दै आएका छन् ।

मतदानका लागि जरुरी भएरै आयोगले सबै योग्य मतदातालाई परिचयपत्र वितरण गर्ने गरेको प्रवक्ता पौडेलको तर्क छ ।

तर विगतको अभ्यास हेर्दा मतदाता परिचयपत्र हराएको खण्डमा नागरिकता अथवा अरू सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न दिने निर्णय चुनावको एक दुई–दिनअगाडि आयोगले गरेका उदाहरण छन् ।

‘यसपालि के हुन्छ भन्ने कुरा आयोगले गर्ने निर्णय भएकोले मैले अहिले नै केही भन्न सकिनँ,’ उनले भने, ‘यसबारे आधिकारिक निर्णय भएको छैन ।’

उसो भए आजको मितिसम्म निर्वाचन आयोगको आधिकारिक धारणा भनेको मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाउँदैनन् भन्ने हो ? भन्ने प्रश्नमा प्रवक्ता पौडेलले भने- ‘हजुर हो, मैले भन्नुपर्दा त्यही नै हो ।’

परिचयपत्र कहिले बाँडिन्छ ?

अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदान केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ ।

आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ ।

प्रवक्ता पौडेलका अनुसार मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आआफ्नो परिचयपत्र लिन पाउँछन् ।

स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ ।

मतदानका लागि निर्वाचन आयोगले देशैभरि दश हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिसकेको छ ।

नेप्सेमा हरियाली- दोहोरो अङ्कको वृद्धि

काठमाडौं – धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार २५६.५७ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८० अङ्कले उकालो लागेर ४३६.३५ मा पुगेको छ ।

कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब १० अब ३० करोड ३६ लाख ९० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ २.५४ र लघुवित्त ०.०३ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ४.९१, होटल तथा पर्यटन ७१.९७, विकास बैंक १०८.६२, जलविद्युत् ६६.४, वित्त ५३.५६, निर्जीवन बीमा ९.४९, उत्पादन ११.५७, अन्य ३५.८६, जीवन बीमा ३८.५८, सामूहिक लगानी कोष ०.०७ र लगानी १.४९ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो संस्थाको रु सात करोड ५३ लाख ५९ हजार ४५५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ६० लाख ७८ हजार ३५५, नबिल बैंक रु चार करोड १५ लाख ४८ हजार ९०३, एनआइसी एशिया बैंक रु तीन करोड ६७ लाख ९० हजार ८६७, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ५८ लाख ८१ हजार ९०४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रो पावर ८.८२, माउण्टेन इनर्जी नेपाल ८.६६, हिमालयन ऊर्जा विकास कम्पनी ७.५८ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतले कमाए ।

त्यस्तै उन्नति सहकार्य लघुवित्त ४.९२, एनआइसी एशिया सेलेक्ट फण्ड ४.०६, एशियन लाइफ इन्स्योरेन्स ३.५४, रुरु जलविद्युत् परियोजना ३.१२ र गरिमा विकास लघुवित्तका लगानकिर्ताले २.५७ प्रतिशतले गुमाए ।