प्रहरी एकेडेमीको कार्यकारी निर्देशकमा डिआइजी आचार्य

काठमाडौं-प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्यलाइ नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिइएकाे छ ।

एआइजी निरज शाहीले अवकाश पाएपछि उनकाे स्थानमा नायव महानिरीक्षक मुकुन्दराज आचार्यलाइ प्रतिष्ठानकाे जिम्मेवारी दिइएकाे हाे ।

महानिरीक्षकको सचिवालयमा कार्यरत डिआइजी आचार्यलाई निमित्त प्रमुखको रुपमा प्रतिष्ठानमा खटाइएको हो ।

निमित्त नहुँदा एकेडेमीका नियमित काम नै अवरुद्ध भएपछि निमित्त प्रमुख खटाइएको हो । उनी आइतबार हाजिर भएका छन् ।

डिआइजी आचार्य एआइजी बढुवाका पनि प्रमुख दाबेदार हुन् । हाल नेपाल प्रहरीमा एआइजीका चार पद रिक्त छन् ।

प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताउनुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उहाँले गठबन्धनको निरन्तरतामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र, संविधान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गठन्धनलाई विभाजित गर्ने षड्यन्त्र भइरहेका छन्, गठबन्धनका शक्तिहरुले धेरै मेहनत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, स्थानीय चुनावमा मात्र होइन, भोलि प्रदेश र सङ्घीय चुनावसम्म लैजानु आवश्यक छ ।”

अध्यक्ष दाहालले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुआत यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताउनुभयो । संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध सङ्घर्ष नगरेको भए देश दुर्घटनामा परिसक्थ्यो भन्नुभयो ।

उहाँले भन्नुभयो, “देशलाई प्रतिगमन र निरङ्कुशताबाट बचाउननै यो गठबन्धनको जन्म भएको हो ।” देशका छ महानगर र ११ उपमहानगरमा गठबन्धनका साझा उम्मेदवार छान्न सजिलो नभए पनि सबैले देशको समग्र राजनीतिक स्थितिलाई विचार गरेर नेपाली जनताको भाग्य र भविष्यप्रति इमान्दार भएर निर्णय उहाँले बताउनुभयो ।

गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन उहाँले मतदातासमक्ष आग्रह गर्नुभयो । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्य प्रमुखमा र नेपाली कांग्रेसका कोपिला रानाभाट उपप्रमुखको उम्मेदवार हुनुहुन्छ ।

वर्षाअघि मेलम्चीको पानी रोकिने

काठमाडौं – मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ ।

दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।

हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । “

सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन् ।

कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ । वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ ।

गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गर्नुभएको थियो । पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरु भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो ।

गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो । उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो । सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन ।

असारमा पटक–पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो । वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन । सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो ।

अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन । आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन । दातृ निकाय एशियाली विकास बैंक (एडिबी)ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ ।

संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं- जेठ ३ गतेका लागि संसद बैठक आह्वानका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ ।

त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।

सुरक्षाकर्मीद्वारा प्रचारसामाग्री हटाइँदै

काठमाडौं – पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ ।

बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले हटाउन थालेको हो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन् ।

क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने यस अगाबै प्रतिबद्धता जनाइसकेका थिए ।

तीन लाख ३९ हजार ८३६ मतदातामध्ये पुरुष एक लाख ९१ हजार ५३७ र महिला एक लाख ४८ हजार २८३ र अन्य १६ मतदाता रहेका छन् । पर्सा जिल्लामा १६७ वटा मतदानस्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

गठबन्धनले जनताको विश्वास जित्दै आएको छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ । कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौँ ।

विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दैै दुई/दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले पोखरालाई पर्यटकीय नगरमा विकास गर्ने, तालतलैयाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रवद्र्धनसहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

भ्रष्टाचार नगर्ने, सुशासनको प्रवद्र्धन, जनताको मन जित्ने, विश्वास जित्ने र जनतासँग निरन्तर भेटघाट गरिरहनसमेत उहाँले उम्मेदवारलाई सुझाव दिनुभयो ।

संसारलाई आकर्षित गर्नसक्ने पोखरा महानगरको प्रमुख/उपप्रमुख पद धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले फेवाताललाई जोगाउने र अतिक्रमण हटाउनु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले तालको अतिक्रमण नहटाउँदासम्म पोखराको आफ्नो पहिचानलाई जोगाउन नसकिनेसमेत उल्लेख गर्नुभयो ।

नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहातका सबै सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ । सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतकर्ता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी गण मातहात सुरक्षा बेस, सीमा सुरक्षा पोष्ट (बिओपी) र सीमा निगरानी पोष्ट (एफओवी) निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशिल रहेका छन् ।

दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ ।
निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावका लागि जिल्लाभर जनपद, म्यादी प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रि«य अनुसन्धान र नेपाली सेना गरी कूल तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।

मतदान केन्द्रको भित्री घेरामा जनपद र म्यादी प्रहरी सुरक्षाका लागि खटिने तथा बाहिरी घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने प्रहरी प्रमुख काफ्लले जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी टोलटोलमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखिएको बताइएको छ भने निर्वाचन विशेष सुरक्षा योजना तयार गरी गस्ती बढाइएको छ ।

मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुनका लागि जिल्लाको सुरक्षाको व्यवस्था सुदृढ पारिएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनलाई लक्षित गरी सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारी लागू गरिसकेको बताउनुभयो । उहाँले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या लगायतलाई मध्यनजर गरी सुरक्षा विश्लेषण गरी १३६ संवेदनशील, पाँच अतिसंवेदनशील र ११ सामान्य मतदानस्थल वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएकोसमेत जानकारी दिनुभयो ।

त्यस्तै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी एउटा मतदान केन्द्रमा आठदेखि ३८ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ रेग्मीले बताउनुभयो । उहाँले भारतसँग सिमाना जोडिएका नाका क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता बढाएको जानकारी दिँदै मतदान दिनको ४८ घण्टा अगाडि नाकाबन्द गरिने बताउनुभयो ।

निर्वाचनअघि निर्वाचनको दिन र निर्वाचनपछिको सबै सुरक्षाको उचित प्रबन्ध मिलाइसकेका छौँ”, प्रजिअ रेग्मीले भन्नुभयो । निर्वाचनका लागि जिल्लामा तीन हजार ६६८ कर्मचारीलाई परिचालन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जिल्लामा कूल ४६१ मतदान केन्द्रका लागि उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिएका हुन् । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि प्रशिक्षण दिइ जिम्मेवारीसमेत बाँडफाँट गरिसकेको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा खटिने ९५० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार एउटा मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी गरी पाँच सरकारी कर्मचारी र तीन स्वयंसेवक परिचालन गरिएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् ।

दम्भ देखाए विनाश बाहेक केही हुने छैन : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् ।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए ।
तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले भने, ‘दम्भले केपी ओलीको विनाश गरायो ।

देशमा समाजवादी र प्रतिक्रियावादी दुई वटा गठबन्धन: अध्यक्ष नेपाल

पोखरा-अहिले देशमा दुई वटा मात्र गठबधन्धन रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।

अध्यक्ष नेपालले एउटा समाजवादी गठबन्धन र अर्को प्रतिक्रियावादी गठबन्धन रहेका बताएका छन् ।

पोखरामा आइतबार गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘अहिले यहाँ दुईटा गठबन्धन छ, त्यो हो एउटा केपी ओलीको प्रतिगागी प्रतिक्रियावादी गठबन्धन र अर्को पाँच दलीय समाजवादी, लोतान्त्रिक गठबन्धन हो ।’

अध्यक्ष नेपालले यो देशमा गणतन्त्र ल्याउनै सकिँदैन भन्ने केपी ओली गर्दा एमाले अहिले प्रतिगामी बाटोमा अगाडि बढ्को आरोप लगाए ।

आफूहरुले नेकपा एमाले बनाएको बताउँदै अध्यक्ष नेपालले भने, ‘तर, केपी ओली पार्टी, संगठन भन्दा पनि व्यक्तिवादी भए ।

अहिले ओलीले त्यही भएर प्रतिगामी, दक्षिणपन्थीहरुसँग गठबन्धन गरेका छन् ।’

जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताउनुभएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने बताउनुभएको हो ।

“नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी हो, पाँचवर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनतमको अपमान गरेको छ, कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,”–उहाँले भन्नुभयो ।

महामन्त्री थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमासमेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौँको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो ।

“पाँच वर्षमा काठमाडौँ महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,”– उहाँले भन्नुभयो । उहाँले एक पटक कांग्रेसलाई अवसर दिनसमेत आम काठमाडौँका मतदातासँग आग्रह गर्नुभयो ।

गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौँ महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताउँदै काठमाडौँको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
“म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौँ महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाइँको मतको अपमान हुन दिन्न,”– उहाँले भन्नुभयो । टोलबासीको सुख दुःखमा आफू लाग्नेसमेत उहाँको भनाइ छ ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताउनुभयो ।

कांग्रेस काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार मुकुन्द रिजालले काठमाडौँको विकासका लागि कांग्रेसले महिला उम्मेदवारलाई अगाडि सारेको बताउनुभयो । “सिर्जना सिंह पार्टीको मात्र उम्मेदवार होइन, आम कार्यकर्ताकोसमेत उम्मेदवार हुनुहुन्छ,”– उहाँले भन्नुभयो ।

१७ वर्षीया किशोरी बलात्कृत

काठमाडौं – इलाममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको आरोपमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौँबाट इलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सबै आन्तरिक उडान बन्द हुने

वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

दक्षिण कोरियामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौं – दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो । तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ ।

दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन् ।अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता आएर त्यसमा केही बृद्धि भएको बताइएको हो ।

तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । यहाँ मृत्यु दर पनि कम रहेको बताइएको छ । हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ । संक्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरुले जनाएका छन् ।