मतदाता शिक्षाको अभावः नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्‍याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् ।

वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए ।

तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएका छन् ।

उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताउनुभयो ।

“आजको नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको देखाउँछ”, प्रदेश निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “अब यसमा राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई यसबारे सिकाउनुपर्दछ । अन्यथा मत बदर हुने बढी सम्भावना देखिन्छ ।”

स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएर मत बदर हुनसक्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले बताउनुभयो ।

बदर मतको सङ्ख्या कम गराउन राजनीतिक दलहरुले मतदाता शिक्षाका विषयमा मतदातालाई बैलैमा जानकारी दिनुपर्ने उहाँको भनाइ छ ।

मतदाता शिक्षा कार्यक्रम नरहे पनि मत बदर हुनसक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम राखिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो ।

पहिरोका कारण अवरुद्ध सडक खुल्यो

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो ।

पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो ।

पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

ई शिवहरि सापकोटाको अवकाशसँगै को आउला सडक विभागको भावी नेतृत्वमा ?

अबकाशको मुखमा करिव चार महिना सडक विभागका महानिर्देशकको जिम्मेवारीमा रहेर ५८ वर्ष उमेर हदका कारण ई शिवहरि सापकोटा बैशाख १९ गते सेवानिवृत्त भएसँगै अब सडक विभागको महानिर्देशकमाको आउला भन्ने प्रश्न अहिले निजामती वृतमा चर्चामा आउन थालेको छ ।

ईन्जिनियर शिवहरि सापकोटा सेवानिवृत्त भएसँग सडक विभागको भावी नेतृत्वपारे विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् ।

४ महिनाको छोटोसमयमा ईन्जिनियर सापकोटाले गरेको कार्यको मुल्याँङ्कन गदैँ विभागका कर्मचारीहरूले केशवकुमार शर्मा का पालामा पनि निकै राम्रो भएकाले उहाँ पछि सापकोटा डीजी बनेको भए विभागले काँचुली फेर्ने र सिष्टम बस्ने थियो भन्दै आएका छन् ।

यध्यपी ४ महिनाको छोटोसमयमा समेत ईन्जिनियर सापकोटाले लोभलालच र पैसाको पछि नलागी हुने कामलाई हुने र नहुने कामलाई नहुने भनी कसैको दबाबमा नपरी उत्कृष्ट कार्य सम्पादन गरेर विदा भएका छन् ।

अहिले सापकोटाको अवकाशपछि मात्र अर्जुनजङ्ग थापा डीजी बनेको भए सडक विभागको संगठन निकै राम्रो बन्ने थियो भन्ने कर्मचारीको यतिबेला पनि सुझाव रहेको छ ।

हाल सापकोटाको अवकाशपछि विभागको नेतृत्व निमित्तका रूपमा योजना महाशाखा एवं प्रवक्ता शिव नेपालले सम्हाली रहेका छन् ।

वरिष्ठताको हिसाबले २०४७ सालका सार्वजनिक सेवा प्रवेश गरेका हाल उत्तर—दक्षिण करिडोर आयोजना प्रमुख दीपक श्रेष्ठ विभागको डीजी बन्नुपर्ने हा तर, चार महिनापछि सेवा निवृत्त हुने भएकाले श्रेष्ठले डीजी बन्न रुचि नराखेको जानकारहरूले बताएका छन् ।

चार महिनापछि सेवा निवृत्त हुने तथा निःशुल्क रुपमा डीजी बन्ने सम्भावना अत्यन्त न्युन भएकाले श्रेष्ठ छोटो समयकलागी पैसा खर्च गरेर डीजी बन्ने पक्षमा नरहेको चर्चा अहिले प्रशासन वृतमा चलेको छ ।

उता स्रोत, साधन र शक्ति भएर पनि एडीबी निर्देशनालयका आयोजना प्रमुख सुशीलबाबु ढकाल अहिले डीजी बनेर पछि मन्त्रालय कुर्नुभन्दा हतार नगरी आउने र रमाउने सोचमा रहेको समाचार स्रोतले बताएको छ ।

मन्त्रालयका बैदेशिक महाशाखा प्रमुख केशवकुमार शर्माको जागिर अवधि तीन वर्ष मात्र बाकी भएकाले विभागतिर फर्कनुभन्दा सचिव बन्न उनी त्यतातर्फ लागिपरेका छन् । शर्मा आगामी २०८२ चैत्र ९ गते अनिवार्य अवकाशमा जादैछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने रेल विभागका महानिर्देशक दीपक भट्टराई आगामी २०७९ श्रावण १८ गते र सडक विभागका सुपरिटेण्डेन्ट इञ्जिनियर (सु.ई.) हरू दीपक श्रेष्ठ २०७९ भदौ १९, कैलाश श्रेष्ठ २०७९ असोज ६ र अशोक तिवारी २०७९ फागुन २२ गते सरकारी जागिरको भारी बिसाउँदै छन् ।

यस्तो अवस्थामा विभागमा विभागको नेतृत्व सम्हाल्नेमा अर्जुनजंग थापा र शिव नेपालमध्ये कसले बाजी मार्लान् भन्ने व्यापक चर्चा र चासो बढेको छ ।

थापाले १० महिना सडक विभागको नेतृत्व मा रहदा इतिहासमा नभित्रीएको बिकृती भित्र्याउन सफल भएका महानिर्देशक मा चिनिन्छन । यिनि पटकपटक बिभाग भित्रिनु पर्ने कारण खोजिन थालेको छ । ठेक्का मा लाग्ने कालोसूचीमा रहेकाहरु यतिबेला थापा कजिको लबिङमा छ्न सँगै बिभाग सुधारकहरु भने नेपाल भए सुशासनको घाम सडकले पाउने भन्ने तर्क धेरैको सुनिन्छ ।

थापा २०८० कार्तिक ६ गते सेवा निवृत्त हुँदैछन् भने शिव नेपाल २०८० जेठ २६ सम्म समयावधि रहेको छ।

संयुक्तरुपमा मतदाताको घर घरमा जानुस् : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक प्रगतिशिल र दक्षिणपन्थी गठबन्धनको बीचमा सङ्घर्ष भएको बताउनुभएको छ ।

संविधान जोगाउने, सुशासन कायम गर्ने, गणतन्त्रका हिमायती, धर्मरिनपेक्षताका पक्षधर प्रगतिशिल गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले यही गठबन्धनको पक्षमा मतदात गर्न आम मतदातालाई आग्रह गर्नुभयो ।

पाँच दलीय गठबन्धनका तर्फबाट आज यहाँ आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै उहाँले दुई तिहाई जनमतलाई खण्डित गरेर प्रतिगामी पथमा अग्रसर हुने प्रवृत्तिलाई परास्त गर्ने ध्येयका साथ आफूहरुकाबीचमा सहकार्य भएको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “केपी ओलीको कार्यकालयमा कही नभएको जात्रा देख्न पाइयो, त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनु हुँदैन ।”

अनुचित कुरा समाप्त पार्न, भ्रष्टचारको अन्त्य गर्न, सुशासनको प्रत्याभूति दिलाउन, कृषिको विकास, उद्योगधन्दाको विकास तथा शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने, स्वच्छ सफा हराभरा बस्ती बनाउने, पर्यावरणमैत्री अर्थतन्त्र बनाउने उद्देश्यका साथ देशवयापीरुपमा गठबन्धन अगाडि बढेको अध्यक्ष नेपालको भनाइ छ ।

गफ गरेर होइन, कामबाट जनताको मन जित्न आग्रह गर्दै उहाँले अहङ्कार र दम्भले कोही कसैको फाइदा नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गफँै गफले जनतालाई मुर्ख बनाउन सकिन्छ भन्ने केहीले ठानेका होलान्, तर त्यो सफल हुँदैन ।”

नेता नेपालले फोहोरमैलाको व्यवस्थापन गर्न, खानेपानीको उचित प्रबन्ध गर्ने उद्देश्यका साथ काम गर्न र इमान्दार भएर लागिपर्न आग्रह गर्दै आम जनतालाई आह्वान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुचित काम केही गरेका छैनौँ, देश र जनताको निम्ति जविन समर्पित गरेका छ भनेर जनतालाई आग्रह गरौ, यसबाट मतदाताले हामीलाई विश्वास गर्छन् ।”

संयुक्तरुपमा मतदाताको घर घरमा जान र प्रष्ट पार्न आग्रह गर्दै उहाँले नमिलेका स्थानमा मिलाउन एवम् प्रभावकारीरुपमा निर्वाचनको कार्यक्रम बनाउन आग्रह गर्नुभयो । मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा वृद्धभत्ताको शुरुवात गरेको अध्यक्ष नेपालले स्मरण गर्नुभयो । उहाँले परिवर्तनको पक्षमा मतदान गर्ने वातावरण बनाउन सबै पक्षको सार्थक सहयोग आवश्यक रहेको बताउनुभयो ।

गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्ति विरुद्ध हो : अध्यक्ष केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताउनुभयो ।

वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट गर्नुभयो ।

व्यवस्था जोगाउने शर्तमा पाँच दलकाबीचमा गठबन्धन भएको उल्लेख गर्दै उहाँले गलत प्रचार गर्ने प्रवृत्तिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले इमान्दार भएर एक अर्कालाई सहयोग गरौँ । राष्ट्रिय जनमोर्चाले देशभर नै सहयोग गर्छ । गठबन्धनभन्दा प्रतिगमन बलियो छ । त्यसकारण संयुक्त प्रतिवाद गरौँ ।”

उहाँले राजनीति व्यवसाय नभएकाले इमान्दार भएर जनताको सेवा गर्नुपर्ने र जनतामा पैदा भएको वितृष्णालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष केसीले बुद्धिमत्तापूर्ण तरिकाले जनपक्षीय उम्मेदवारलाई विजयी गराउन र प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन मेट्रो रेल चलाउनुपर्ने, करको भार कम गर्नुपर्ने र फोहोरमैलाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गणतन्त्रको संस्थागत गर्दै सङ्घीय प्रणालीको प्रवद्र्धन गर्न, सबै तहमा सुशासन कायम गर्दै पारदर्शीरुपमा सेवाग्राहीलाई सुविधा दिने ध्येयका साथ काम गर्ने प्रतिबद्धताका साथ आफू निर्वाचनमा होमिएको बताउनुभयो ।

सुशासन कायम गरेको खण्डमा देश समृद्ध हुने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले जनताको भावना विपरित जानेहरु पराजित हुने विश्वास व्यक्त गर्नुभयो ।

यसपालिको मनसुनमा धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा

काठमाडौं- यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ ।

विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो ।

विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदुरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ ।

सुदुरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।

यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने ९३४ देखि ५५ प्रतिशत० देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ९३५ देखि ५५ प्रतिशत० हुने आकलन गरिएको छ ।

विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा छ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यस पटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आकलन गरिएकाले पूर्वतयारी र प्रतिकार्य योजना बनाउन जरुरी रहेको औँल्याउनुभयो ।

उहाँले त्यसका लागि विभागले सूचना मात्रै दिने हुँदा सम्बन्धित निकायबाट बेलैमा तयारी गर्न पनि सुझाव दिनुभयो । उहाँले विभाग आर्थिकलगायत विविध चुनौतीबाट गुज्रिरहेकाले भौतिक पूर्वाधारमा गरेको लगानीको १० प्रतिशत रकम मात्रै यस क्षेत्रमा लगानी गर्न सके धेरै क्षति न्यूनीकरणमा सहयोग पुग्ने पनि बताउनुभयो ।

विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आकलन गरी उक्त विवरण सार्वजनिक गरिएको बताउनुभयो । उहाँका अनुसार ३३.३ प्रतिशतभन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६।६ प्रतिशतसम्मलाई सरदर र त्योभन्दा माथि भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था आकलन गरिन्छ । उहाँले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर उक्त तथ्य निकाल्ने गरिएको बताउनुभयो ।

यसका लागि विभन्न मोडलको प्रयोग गरिने र त्यसको आधारमा विश्लेषण गरेर आकलन गर्दै आइएको छ । सन् २०२० देखि विभागले आफैँ पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आकलन गर्न थालेको छ ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी उक्त आकलन तयार पारिएको हो ।

यस्तै विश्व मौसम सङ्गठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानीको प्रारूपको आकलन, विभागको आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनलाई समेत आधार लिएर बनाइएको हो ।

यद्यपि जलवायु प्रणाली, विभिन्न ऋतुगत सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारूपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विज्ञहरुले बताएका छन् ।

आज विभागले सार्वजनिक गरेको आकलनपछि आयोजित समारोहमा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनेशकुमार घिमिरेले केही क्षेत्रमा आकलन नमिलेको कुरासमेत आइरहेकाले त्यसलाई अझै वैज्ञानिक बनाउनुपर्ने जरुरी आँैल्याउँदै अहिलेको आकलनले मुलुकमा चुनौती भएको जानकारी आएको र बेलैमा तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मौसम बदली हुनेबित्तिकै गौरवको आयोजना मेलम्चीमा केही भइहाल्ने हो कि भनेर चिसो पस्ने गरेको उल्लेख गर्दै विपद्ले खानेपानीका संरचनामा क्षति पुर्याउने गरेको बताउनुभयो ।

ऊर्जा मन्त्रालयको जलस्रोत तथा ऊर्जा सचिव सागरकुमार राईले मौसम प्रणालीलाई वैज्ञानिक बनाउन कसरी तिखार्न सकिन्छ सोअनुसार गर्न विभागका विज्ञहरुलाई सुझाव दिनुभयो । उहाँले मौसम विज्ञान विभागले सूचना मात्रै दिने भएकाले त्यसको क्षति न्यूनीकरणका लागि तत्तत् निकायले भूमिका खेल्न जरुरी रहेको पनि औँल्याउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले यो आकलनले पश्चिम तराईमा बाढी बढी हुने देखाएको औँल्याउँदै अझै बढी सचेतनापूर्वक काम गर्नुपर्ने देखाएको देखिएको बताउनुभयो ।

विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले मौसमका सूचनाका लागि आधिकारिक सूचना जाने एप निर्माण जरुरी छ भन्नुभयो । उहाँले अझै पूर्वसूचना प्रणालीलाई वैज्ञानिक बनाउँदै लैजान पनि सुुझाव दिनुभयो ।

उक्त अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका राजेन्द्र शर्मा, कृषि मौसमविद् रामेश्वर रिजाल, विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठले धारणा राख्नुभएको थियो ।

प्रतिगामीलाई मत दिनुभयो भने पछुताउनुपर्छ, सन्तानले दुख पाउँछन्: अध्यक्ष नेपाल

काठमाडौं-नेकपा एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपालले प्रतिगामीलाई मत दिए पछुताउनु पर्ने र सन्तानले दुख पाउँने बताएका छन् ।

पाँच दलीय गठबन्धनले शुक्रबार रत्नपार्कमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘प्रतिगामीलाई मत दिनु भयो भने पछि तपाईंहरु पनि पछुताउनुपर्ने छ । तपाईंका सन्ताहरुले दुख भोग्नुपर्ने छ । यदि हामी भविष्यलाई सुनिश्चित गर्न चाहन्छौँ भने, परिवर्तनको यात्रामा जान चाहन्छौँ भने अहिलेसम्म प्राप्ता भएको उपलब्धि जोगाउन चाहन्छौँ भने पाँच दलीय गठबन्धनको विकल्प छैन ।’

उनले प्रगतिशील लोकतान्त्रिक वामपन्थी गठबन्धनको पक्षमा मतदान गरेर प्राप्त राजनीतिक उपलब्धी जोगाउन सार्वजनिक अपिल गरेका छन् ।

उनले भने-ओलीबाट कसरी संविधान मिच्ने काम भयो ? कसरी दुईतिहाईको सरकार आफैले धुजाधुजा पार्ने काम भयो रु कसरी जनाधारको अनादार गर्ने काम भयो ? कसरी मुलुकमा भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने काम भए ? कसरी अत्यन्तै हाँस्यपद काम भए ? एकैचोटी एकैठाउँमा बसेर देशभरका पालिकामा अस्पताल उद्घाटन गर्ने काम भयो ।

६ महिना, एक वर्षपछि सम्पन्न हुने प्रयोजनहरु आजै उद्घाटन गर्ने काम भयो । पाँच वर्षपछि सम्पन्न हुने आयोजना आजै उद्घाटन हुने काम भयो । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो । त्यस्तो जात्रा देखाउनेलाई विर्सेर पनि मत दिने काम गर्नु हुँदैन ।

प्रतिगामी दक्षिणपन्थी गठबन्धनविरुद्ध सबै एकजुट हुनुपर्ने बताए । ‘अहिले दुईवटा गठबन्धनबीचको कुरा छ । एउटा प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ। त्यसको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । केपी ओलीले गरिरहेका छन्, ’उनले भने, ‘त्यहाँ राप्रपा जस्ता राजावादी शक्तिहरु त्यो गठबन्धनमा सामेल छन् । विदेशीका सामु लम्पसार पर्नेहरु छन् । संविधान विरोधीहरु त्यस गठबन्धनमा छन् ।’

उनले अर्कोतर्फ प्रगतिशिल गठबन्धन रहेको भन्दै संविधान रक्षा गर्ने, समाजवादको बाटोमा अगाडी बढ्ने शक्तिलाई मत दिएर विजय गराउनु जरुरी रहेको बताए ।

उनले इतिहासका सबै मोडमा काँग्रेस र नेकपा सँगसँगै अगाडि बढेको इतिहास भएको भन्दै दम्भीहरु कमजोर र समाप्त हुँदै गएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले काठमाडौ महानगरपालिकालाई सुन्दर महानगरपालिका बनाउन सकिने भन्दै गठबन्धन देशका लागि आवश्यक भएकाले सोहीअनुसार गठबन्धनप्रति विश्वास गर्नसक्ने वातावरण बनाउनुपर्ने भ्रष्टाचार र कुशासनमा फस्दैनौ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

उनले काठमाडौ महानगरका गठबन्धनका उम्मेदवारहरूले मतदातालाई यसरी प्रस्ट पार्न सके विजयको सुनिश्चित रहेको दावी समेत गरे ।

उनले कतिपय स्थानमा गठबन्धनमा रहेकाहरुले प्रतिगामी शक्तिसँग साँठगाँठ गरेर उम्मेदवारी दिएको सुनिएको भन्दै त्यस्तालाई कारवाही गरिने बताए ।

स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा

काठमाडौं- सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो ।

मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराउनुभयो । “सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ”, उहाँले भन्नुभयो, “तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौं ।

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ । सचिव डा पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताउनुभयो । सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सञ्चालन हुनेछ ।

यसरी मतदान गरौँ

यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् ।

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई वडा सदस्यलाई यही वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिकामा एक/एक जना अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख निर्वाचित हुनेछन् ।

यस्तै पालिकाका प्रत्येक वडामा पाँच सदस्यीय वडा समिति निर्वाचत हुनेछ ।

आसन्न स्थानीय निर्वाचनमा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउछन् ।

मतसङ्केत गर्ने दिन मतदाता फोटोसहितको मतदाता परिचयपत्र लिएर आफ्नो नामावली भएको मतदान केन्द्रमा जानुपर्नेछ ।

मतदानको दिन नजिकिएसँगै निर्वाचन आयोग तथा राजनीतिक दलहरुले मतदाता शिक्षाका कार्यक्रम अगाडि बढाएका छन् ।

आयोगले सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमार्फत मतदानका लागि अपिल गर्दै आएको छ ।

यस्तै राजनीतिक दल तथा तिनका उम्मेदवारले मतदातालाई नमूना मतपत्रमार्फत बदर नहुने गरी मतदान गर्न सिकाइरहेका छन् ।

मतदातालाई सहज होस् भनेर निर्वाचन आयोगले सम्पूर्ण जिल्लाका नमूना मतपत्र सार्वजनिक गरिसकेको छ ।

मतपत्रको पहिलो कोलममा अध्यक्ष/प्रमुख, दोस्रोमा उपाध्यक्ष÷उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला वडा सदस्य, पाँचौँमा दलित महिला वडा सदस्य र छैटौँको दुई कोलममा वडा सदस्य दुई जना उम्मेदवारको निर्वाचन चिह्न राखिएको छ ।

प्रत्येक मतदाताले आफूलाई मन परेका उम्मेदवारको कोठाभित्र स्वतिक छापद्वारा मतसङ्केत गर्नुपर्छ ।

स्वस्तिक छाप र मसी प्रत्येक मतदान केन्द्रमा व्यवस्था गरिएको हुन्छ ।

मतदाताले अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुई जना गरी सात जनालाई मात्र मतदान गर्न पाउँछन् ।

कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ ।

दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ ।

यसैगरी स्वस्तिक छापको सट्टा औँठा छाप लगाएमा, मतपत्रमा केरमेट गरेमा, कुनै चिह्न कोरेमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा र मतपेटिका बाहिर मत खसालेमा त्यस्तो मत बदर हुने आयोगले जनाएको छ ।

मतदाताले मतदान केन्द्रमा राखिएको गोप्य मतदानस्थलमा गई आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई, छापको मसी नलतपतिने गरी पट्याएर मतपेटिका खसाल्नुपर्छ ।

मत बदर हुने अवस्थाहरुः

१) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको
२) औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मतसङ्केत गरिएको
३) मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको
४) उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यन्त्र मत सङ्केत गरिएको
५) उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरिएको
६) कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको
७) निर्वाचित गर्नुपर्ने सङ्ख्या वा बढी उम्मेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछट्टै मतसङ्केत गरिएको
८) मत सङ्केत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको
९) आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको
१०) मतपेटिका भन्दा बाहिर राखिएको
११) जाली मतपत्र

डोटीमा दुई हजार ५०० सुरक्षाकर्मी निर्वाचनमा खटिने

काठमाडौं – यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि डोटीमा दुई हजार ५०० सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिले यहाँका नौवटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताउनुभयो ।

उहाँ भन्नुभयो, यस पटकको निर्वाचन भएरहित वातावरणमा सम्पन्न गराउन हामीले सुरक्षा रणनीति निकै बलियो बनाएका छौँ, निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गर्छौं ।

निर्वाचनका समयमा जिल्लामा नेपाली सेना ५००, म्यादी प्रहरीसहित नेपाल प्रहरी एक हजार ७०० तथा सशस्त्र प्रहरी ३०० गरी कूल दुई हजार ५०० परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने छ भने भित्री घेरामा प्रहरीको सुरक्षा रहने छ ।

निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

स्थानीय प्रशासनले जिल्लामा रहेका कूल ११५ मतदानस्थलमध्ये नौवटा लाई अतिसंवेदनशील, ३० वटा लाई संवेदनशील र ७६ वटा मतदानस्थललाई सामान्यमा राखेको प्रजिअ विष्टले जानकारी दिनुभयो ।

ओलीसँग भोट माग्ने नैतिक आधार छैन : गगन थापा

काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताए । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए ।

उनले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए । महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भएपनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो । प्रदेश, स्थानीय, संघको चुनाव । यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो । आज जुन मुद्दाहरुमा चुनाव लडिँदैछन् यी मुद्दाहरु यो चुनावमा हुनुपर्ने नै होइन ।’

उनले थपे, ‘त्यसकारणले गर्दा यो ५ वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याई पनि हो र जनताको बीचमा पनि ५ वर्ष खेर फाल्नेले ५ वर्ष किन खेर फालेको भन्ने कुराको जवाफ जवाफ नदिकन, ५ वर्षको लागि माफी नमागीकन आज मञ्चमा उभिएर नेपाल कम्युनिष्ट पार्टीको नेता, नेपाल कम्युनिष्ट पार्टी भित्रका सबै घटकहरुले र मुलतः नेपाल कम्युनिष्ट पार्टी भित्रको नेकपा एमालेको आजको अध्यक्षले जसले जिम्मा लिनुभयो ।’

उनले फेरि भने, ‘५ वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्याण्डेट पाएको थिएँ । मैले चलाउन सकिन, यसको लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो ।’

महामन्त्री थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए । उनले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेसँग रहेको पनि स्पष्ट पारे । महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले खेर फाल्न नचाहेको बताए । उनले विगतका ५ वर्षमा कम्युनिष्टहरुले खेर फालेको समयलाई काँग्रेसले त्यो क्षतिलाई पूरा गर्ने गरेर काम गर्ने दाबी गरे ।

महामन्त्री थापाले भने, ‘समुन्नत नेपाल निर्माण गर्ने हामीसँग संकल्प पनि छ । हामीसँग योजना पनि छ । ५ वर्ष यही गरिनुपर्दथ्यो । ५ वर्ष खेर गयो । हामी अबको ५ वर्ष खेर फाल्न चाहँदैनौँ । २०७९ देखि २०८४ सालसम्मको ५ वर्ष यो संकल्प हामी पूरा गर्न चाहन्छौँ ।

यो वाचा पूरा गर्न चाहन्छौँ । यो संकल्प र वाचा पूरा गरेर हामी गएको ५ वर्षको जुन क्षति छ, त्यो क्षतिलाई पनि पूरा गर्न चाहन्छौँ । हामीले समुन्नत नेपाल भन्ने संकल्प अघि सार्दै गर्दा नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाले सार्नुभएको समुन्नत नेपालको बारेमा सोच्ने हो ।

काठमाडौँमा गठबन्धनको चुनावीसभा सुरु

स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावीसभा सुरु भएको छ ।

राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गठबन्धले देशव्यापी संयुक्त आमसभा गरिरहेका छन् ।

बिहीबार मात्रै गठबन्धनले चितवनको भरतपुरमा चुनावीसभा आयोजना गरेको थियो ।

काठमाडौँमा गठबन्धनकातर्फबाट प्रमुख पदका उम्मेदवारमा सिर्जना सिंह हुनुहुन्छ ।

सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।

पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर बजेट तर्जुमा हुदै

काठमाडौं-कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा गरिरहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जंगल, खानी, कृषिलगायत प्राकृतिक स्रोतको अधिकतम उपयोग, निर्यात प्रवर्द्धन व्यवस्थापन एवं प्रतिस्थापन, गुणस्तरीय पर्यटन सेवा विस्तार र विद्युत् ऊर्जाको विकासलाई प्रमुख प्राथमिकतामा राखेर अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

बजेट महाशाखाका एक अधिकारीका अनुसार निरपेक्ष र बहुआयामिक गरिबीको अवस्थाबाट देशलाई मुक्त गर्दै मध्यम आयस्तर भएको राष्ट्रमा स्तरोन्नतिमा सघाउने कार्यक्रम, सरकारका नीति तथा कार्यक्रम, वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रम, शिक्षा, स्वास्थ्य क्षेत्रको सबलीकरणका साथै भौतिक पूर्वाधार निर्माण आगामी बजेटका प्राथमिकतका क्षेत्र हुन् ।

पन्ध्रौँ योजनाले परिकल्पना गरेका विकासका परियोजना, दिगो विकासका लक्ष्य हासिल गर्न अघि सारिएका विकास–निर्माणका परियोजना तथा कार्यक्रमको निरन्तरता, संसदीय समितिबाट भएका निर्देशन र सरकारले गरेका प्रतिबद्धता, राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट समय–समयमा व्यक्त भएका विचार र मार्ग निर्देशनलाई आधार बनाएर बजेट तर्जुमा भइरहेको ती अधिकारीले बताए ।

“मुलुकको सामाजिक–आर्थिक उन्नयनका राष्ट्रिय लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता, पूँजी र सीपमा पहुँच विस्तार, गुणस्तरीय मानवपूँजी निर्माण, आय बढोत्तरी, प्रतिस्पर्धात्मक क्षमता वृद्धि तथा आर्थिक जोखिम घटाउने विषय आगामी बजेटका प्राथमिकता हुन्”, अर्थतन्त्रलाई गतिशील तुल्याउने कार्यक्रमबारे जानकारी दिँदै उनले भने ।

भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सघन सार्वजनिक–निजी साझेदारी, आर्थिक विस्तारमा सहयोग पुग्नेगरी कर प्रणालीलाई लगानी एवं व्यवसायमैत्री बनाउने, कर संरचना र दरमा सामयिक सुधार गरी कर प्रणालीलाई सरल तुल्याउने, प्रतिबद्धताअनुरुप वैदेशिक सहायता परिचालनमा जोड, राष्ट्रिय आवश्यकता, नीति तथा प्राथमिकताका आधारमा अन्तर्राष्ट्रिय विकास सहायतालाई राष्ट्रिय बजेट प्रणालीमा आबद्ध गरेर उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर सृजनामा उपयोग गर्ने विषय प्राथमिकताका बजेटमा समावेश हुनेछ ।

त्यस्तै, आर्थिक अनुशासन कडाइका साथ पालना गराउने प्रावधान पनि बजेटमा समेटिनेछ ।

मतदान गर्न सिकाउँदै उम्मेदवार

काठमाडौं – निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यालयले मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएको छ ।
यसभन्दाअघिका निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएकामा यसपटक सो कार्यक्रम नगर्ने भएकाले कांग्रेसले नै यसलाई निरन्तरता दिएको हो ।

मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । मतदानसम्बन्धी जानकारी नहुँदा निर्वाचनमा मत बदर हुने गरेकाले कांग्रेसले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएको हो ।

चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरुले नै सिकाउन आएको स्थानीय बृद्धा टीकामाया दर्जीले बताउनुभयो ।

“मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि बुढेसकालका कारण बिर्सदै जाने रहेछ, हामीजस्ता ज्येष्ठ सदस्यका लागि मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उहाँले भन्नुभयो ।

रम्भा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष विष्णु थापाले पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहनुभएको छ । मतदातासँग मत माग्ने मात्रै होइन उनीहरुलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो, “पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम, र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ ।”

बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसकोतर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएकी सुनिता अधिकारी पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका छन्, मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरुलाई सचेत गराइएको हो ।”

थानेश्वर तिमिल्सिना पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । बगनासकाली गाउँपालिका–९ मा उहाँ वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन् ।

मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घरघरमा मतदान गर्न जानकारी दिने गरिएको छ । विगतका निर्वाचनलाई नियाल्दा निर्वाचन आयोगले घरघरमा प्रतिनिधि खटाएर मतदाता शिक्षाबारे जानकारी दिने गरेको थियो । यसोगर्दा पनि मत बदर भएकै हुन्थ्यो ।

तिनाउँ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलोमा पुगेर मतदाता शिक्षासँगै जनताको अपेक्षा सङ्कलन गरिरहेको उपाध्यक्ष पदका उम्मेदवार लालबहादुर थापाले बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा (एस)का कार्यकर्ताबीच झडप

काठमाडौं – कैलालीको बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका चुनाव प्रचारप्रसारको क्रममा कार्यकर्ताबीच झडप भएको छ । कैलालीको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।