स्वतन्त्र उम्मेदवार साहद्वारा ११ बुँदे प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं – जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११ बुँदे आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।

साहले आज पत्रकार सम्मेलन गरी आफू नगरप्रमुखमा निर्वाचित भएपछि गर्ने प्रमुख प्रतिबद्धता समेटिएर तयार पारिएको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वरोजगार, खेलकुद, पर्यटन प्रवद्र्धन र सुशासनको क्षेत्रमा काम गर्ने साहले प्रतिज्ञापत्रमा उल्लेख गर्नुभएको छ । यस्तै साहले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न सबै काम डिजिटल माध्यमबाट गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार

धनुषाको कमला नगरपालिका–१ का वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सर्वदेव यादवका बुवामाथि धारिलो हतियार प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेका उम्मेदवार यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि गए राति धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

लागुऔषध गाँजासहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषध पाँच किलो गाजाँसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरबाट लागुऔषध गाँजासहित धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका ३१ वर्षीय किसुनदेव यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरमझियाबाट प्र२–०३–०१९प १९४२ नंको मोटरसाइकलमा डुमरियातर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

भारतमा २४ घण्टामा तीन हजार २७५ जना कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौं – भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार ३९३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघ्न थालेको छ । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमतिमध्ये ४१ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

कुल सङ्क्रमितमा एक हजार ३५४ जना दिल्लीमा रहेका छन् । हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ८५३ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५५ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ९७५ पुगेको छ । भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेका छन् । २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म तीन हजार १० जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ४७ हजार ६९९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन् ।

विमलेन्द्र निधिद्वारा धनुषाको चुनावी सभा बहिस्कार

धनुषा-कांग्रेसका नेता विमलेन्द्र निधिले धुनषामा शनिबार हुने कांग्रेसको चुनावी सभा बहिस्कार गर्ने भएका छन् ।

वक्तामा आफ्नो नाम नपरेपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिच्किएका हुन् ।

धुनषामा शनिबार हुने कांग्रेसको चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आफ्नो नाम नपरेपछि उनले सभा बहिस्कार गर्ने भएका हुन् ।

निर्वाचन परिचालन समितिले तयार बनाएको सूचीमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे, महेन्द्र यादवसहित भनिएको छ ।

शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेको थियो ।

उक्त सूचीमा निधिको नाम कहीं पनि उल्लेख छैन ।

जनकपुरको सभामा समेत उनको नाम समावेश नगरिएपछि नेता निधिले धनुषामा हुने चुनावी सभालाई बहिष्कार गर्ने धनुषा कांग्रेस उपसभापति गणेश झाले बताए ।

‘पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, लगायतका नेता लेखेर कहाँ हुन्छ ?’ उनले भने, ‘त्यसैले पर्सि धनुषामा हुने चुनावी सभामा विमलेन्द्र दाइ आउनुहुन्न ।’

नेताहरुकै गृह जिल्लामा समेत नाम उल्लेख नगरेकोमा आफूहरुको आपत्ति रहेको उनको भनाइ छ ।

चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरुको सूची बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफल समेत नगरेको झाले दाबी गरे ।

गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ: माधव नेपाल

चितवन-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन्।

सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गरे।

नेपालले भने, “राम्रोसँग व्यवस्थापन गरेका छौँ ” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे।

चुनावको माहोल अनुकूल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए ।

राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्ने समेत बताए ।

“हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ” अध्यक्ष नेपालले भने, “गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नुपर्छ।”

ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं – सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ ।

तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को१७प ८५६३ नंको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३ वर्षीय सतिषकुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका–१ का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

१६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं – उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

राउतले ती किशोरीलाई मंगलबार राति त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

काठमाडौं – नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका अनुसार यो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक) मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिनेछ ।

अमेरिका नेपाललाई द्विपक्षीय सहयोग गर्ने पहिलो दातृ देश हो । नेपाल र अमेरिकाबीच आज भएको पञ्चवर्षीय विकास सहयोग सम्झौताले दुई देशबीचको ७५ वर्षको विश्वास, आपसी सम्मान र प्रतिबद्धताको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको छ ।

अप्पर सोलुको आइपिओ खुला

काठमाडौं – अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपीओ०को बिक्री खुला गरेको हो ।

आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ९साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला (गाविसका )बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै एनएमबि बैंक र लक्ष्मी बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यलयबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

यस्तो छ साना दलका उम्मेदवारको चुनावी मुद्दा

गण्डकी-भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकामा मुख्य प्रतिष्पर्धा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच हुने आँकलन गरिए पनि यहाँका साना तथा नयाँ दलका साथै स्वतन्त्र उम्मेदवार उच्च मनोबलका साथ चुनावी मैदानमा छन् ।

भ्रष्टाचाररहित सुखि र समृद्ध पोखराको आफ्ना चुनावी मुद्दा र काम गर्ने अठोट नै मत पाउने आधार भएको बताउने उम्मेदवार घरदैलो र वस्तीमा पुगी आफ्ना प्रतिवद्धता जनतामाझ पुर्‍याउन निकै व्यस्त छन् ।

चुनावको मिति नजिकिदै गर्दा सकेसम्म हरेक मतदातामा पुग्ने नसकेमा मुख्य मुख्य वस्तीमा पुग्ने योजनाका साथ घरदैलोमा लागेको उम्मेदवार बताउँछन् ।

सचेत नेपाली पार्टीकातर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार भोजराज खनाल ‘फरक परिणामका लागि फरक विचार, इमानको राजनीति इमानदार सरकार’ भन्ने नाराका साथ आँफू चुनावी अभियानमा जुटेको बताउनुहुन्छ ।

आँफूले जनताको सेवा गर्ने निश्वार्थ योजनासहितको प्रतिवद्धता लिएर जनता माझ पुगेको जनाउँदै उहाँले यसमा जनताको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पालिकामा संस्थागत भएको भ्रष्टाचार र विचौलियापन निर्मूल गरी इमानदार नेतृत्व र कर्मचारी स्थापित गर्नका लागि नैतिक शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो ।

स्थानीय तहमा निर्वाचित भएसँगै आँफूलाई सर्वेसर्वा ठानी नागरिकलाई केही नठान्ने प्रवृत्तिलाई अन्त्य गरी जनताको नोकर हुँ भन्ने भावनाको विकास गर्ने उहाँले बताउनुभयो ।

पोखराको हेमजाबाट आँफूले चुनावी प्रचार अभियान थालेको जानकारी दिँदै उहाँले अन्य दलले जस्तो तडकभडक नगरी मतदातामाझ पुगिरहेको बताउनुभयो ।

“राजनीतिलाई पेसा नभै सेवा हो भन्ने भावनालाई आत्मसात गरी जनताका अपेक्षालाई पूरा गर्ने, सुशासन, भ्रष्टाचार मुक्त पालिकाको निर्माण गर्ने अभियानमा पोखरेली जनताले विश्वास गर्नेमा म ढुक्क छु ”, उहाँले भन्नुभयो ।

सचेत नेपाली पाटीले महानतगरमा उपप्रमुखको उम्मेदवारमा सोनी परियारलाई अघि सारेको छ । पार्टीले वडा गतरुपमा भने अन्य उम्मेदवार नउठाएको खनालले जानकारी दिनुभयो ।

राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका–९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाट आफ्नो चुनावी प्रतिवद्धतासहित मतदाता शिक्षा दिँदै घरदैलोमा हिडिरहनुभएको छ ।

ठूला दलका नाममा विभिन्न प्रलोभनमा पार्ने प्रबृत्तिलाई निरुत्साहन गर्नुका साथै भोट बढाउनका लागि दिवङ्गत व्यक्तिका नामसमेतमा मत हाल्ने विगतदेखिको कुपरम्पराको अन्त्य गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय नागरिक पाटीले पोखरा महानगरमा प्रमुखको उम्मेदवारमा सिर्जनादेवी रिजाल कार्कीलाई अघि सारेको छ भने वडा नं २१ मा वडा अध्यक्षसहित पाँचै जनाको समूह चुनावी अभियानमा होमिएको रानाभाटले जानकारी दिनुभयो । अन्य वडामा भने पार्टीका तर्फबाट उम्मेदवारी परेको छैन ।

भ्रष्टाचार नियन्त्रणसहित पूर्वाधार विकासका लागि विज्ञ टोली बनाएर अघि बढ्ने, सम्पदाको संरक्षण गर्ने प्रतिवद्धतासहित चुनावमा होमिएको विवेकशील साझा पार्टीले महानगरका ३३ वटा वडामध्ये झण्डै ५० प्रतिशत वडामा आफ्नो घरदैलो सम्पन्न गरिसकेको सो पार्टीका प्रमुख पदका उम्मेदवार सुशिला केसी अधिकारीले जानकारी दिनुभयो ।

घरदैलोका क्रममा मतदाताको आश्वासनले आँफू उत्साहित बनेको बताउँदै उहाँले यस निर्वाचनमा सम्मानजनक मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विवेकशील साझाले महानगरको उपप्रमुखमा माधव भण्डारीलाई अघि सारेको छ भने वडा नं २६ को वडा अध्यक्षमा चन्द्रज्योति ढुङ्गाना उम्मेदवार रहनुभएको छ । अन्य वडामा भने सो पार्टीको उम्मेदवारी छैन ।

बैकल्पिक राजनीतिक शक्तिका रुपमा आफूलाई उभ्याउने प्रयत्नमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टचार मुक्त महानगरको नारालाई जोड दिएको छ ।

पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवार शंकर खराल र उपप्रमुख पदका उम्मेदवार रन्जना कुमारी सेन पौडेल यतिखेर चुनावी प्रतिवद्धताका साथ घरदैलोमा निरन्तर कृयाशिल हुनुहुन्छ ।

घरदैलोका क्रममा उहाँहरूले सिप विकासलाई प्राथमिकता दिई रोजगारी सुनिश्चित गर्ने, कर वृद्धिले पीडित बनेका महानगरवासीको राहतका लागि ५० प्रतिशतसम्म कर कटौती गर्ने शैक्षिक गुणस्तर वृद्धि एवम् शिक्षकलाई पोत्साहन गर्न तलब वृद्धि र प्राविधिक शिक्षालगायतमा जोड दिने मुद्दालाईं अघि सार्नुभएको छ ।

महानगरपालिकामा कूल मतदाता दुई लाख सात हजार ७१२ छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

काठमाडौं – त्रिवेणी गाउँपालिका -९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
बुधबार रातिबाट सुरु भएको विवादमा एकअर्कालाई दोषारोपण गरी झडप गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले दुवै पक्षबीच केही ठाउँमा ढुङ्गा हानाहान भएपछि जिल्लाबाट प्रहरी परिचालन गरिएको जानकारी दिए ।

कांग्रेसनिकट तरुण दलले वाईसीएलका चुडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन् । माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन् ।

कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य संगठन

काठामडौं – विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

विश्वमा कोभिडका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ । साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त संगठनको भनाई छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो ।

तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ ।

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु- १ घाइते

काठमाडौं – अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २:१५ बजे (०९१५ जिएमटी) रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए।
घटना बारे अनुसन्धान जारी छ।

गठबन्धन एकताबद्ध भएर अघि बढेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गर्नुभएको छ ।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ भन्नुभयो ।

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन जित्न असहज छैन ।”

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार हुनुहुन्छ । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ ।

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसक्नुभएको छ ।

ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

काठमाडौं – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्निपीडित पराले आगलागीबाट
घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताउनुभयो ।

स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बस्नुभएको थियो । उहाँहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ ।

हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ

काठमाडौें – उदयपुरमा हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन् ।
उदयपुर त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाणसहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिभी हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा बिबाद उत्पन्न भएको थियो । बिबाद हुँदा ममता चौधरीले सुखनीदेबी चौधरीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थिचि हत्या गरि मृतकलाई खाटमा सुताई भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।