रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानिने

काठमाडौं – ललितपुर वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । आज रथलाई तानेर गाबहाल पुर्‍याइने गुठी संस्थान ललितपुर शाखाका प्रमुख हरि सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार रथ तान्नका लागि विभिन्न किसिमको तयारी भइरहेको छ । आज जावलाखेल–पुल्चोक सडक बिहानैदेखि एकातर्फबाट मात्रै सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “सकेसम्म सवारी आवागमनमा कम असर पुगोस् भनेर ध्यान दिइएको छ ।”

बिजुली, केबुल र इन्टरनेटको तारका कारण रथ तान्न समस्या हुनसक्ने उहाँले बताउनुभयो । रथ तान्दा नगर प्रहरीले रथलाई अवरोध गर्ने खालका तार काटेपछि रथ अगाडि बढाइनेछ । उहाँले भन्नुभयो, “रथको सुरक्षा र त्यहाँभित्र रहेका मानिसको सुरक्षाका लागि पनि त्यहाँको अवरोध हटाउनुपर्छ ।” विगत दुई वर्ष कोभिडका कारणले जात्रा नियमित रुपमा सञ्चालन हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो ।

सङ्क्रमणको जोखिमका कारण साङ्केतिक रुपमा मात्रै रथ तानिएकामा यो वर्ष विधिपूर्वक गर्न लागिएको हो । त्यसैले पनि स्थानीयवासी हर्षित र उत्साहित भएको प्रमुख सुवेदीले बताउनुभयो ।

एकातिर सिङ्गो मुलुकमा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको पनि रौनक छ । निर्वाचनकै दिनमा पनि रथ तान्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रथ यात्राका क्रममा कुनै झगडा नहोस् भनेर हामीले दलहरुसँग पनि समन्वय गरिरहेका छौँ ।”

चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि आज तानिएको हो । आजै गाबलहालमा छोयलाबु गरिनेछ । भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गल बजार आसपास पु¥याइनेछ ।

मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । मछिन्द्रनाथको यो यात्रा गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।

पहिले पहिले काठमाडौँबासी र भक्तपुर पनि रथ तान्न आउने गरेको ललितपुरका ज्येष्ठ नागरिक बताउँछन् । फरक फरक मान्छेले रथ तान्दा सुरक्षित नभएपछि अहिले त्यो हटिसकेको छ ।

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यो वर्ष झण्डै ५० लाख खर्च हुने कार्यालयले अनुमान गरेको छ । मछिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायतका कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ ।

रथ नियमित रुपमा र अवरोध नभई सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम पनि लाग्नसक्छ ।

जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उहाँले बताउनुभयो । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन् ।

जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा हजुरबुबा नसक्ने हुँदै जाँदा सन्तानले त्यो जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उहाँले बताउनुभयो ।

जात्राका लागि विभिन्न किसिमका काठ, बाँस, बेतलगायतका कुरा आबश्यक पर्छ । कतिपय देशभित्रै पाइन्छ भने कति भारतबाट ल्याउनुपर्ने प्रमुख सुवेदीले बताउनुभयो । देशभित्रै र विदेशबाट लोपोन्मुख जातका रुख, विरुवा ल्याउन समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।

आईजीपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ प्रारम्भ

काठमाडौं – नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं – जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

एकीकृत समाजवादीको गीतमा बामदेव गौतमको शब्द

काठमाडौं-नेकपा एकीकृत समाजवादीको लागि राष्ट्रिय सभा सदस्य बामदेव गौतमले शब्द संरचना गरेर चुनावी गीत तयार पारेका छन् ।

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको ‘जनता जगाउने कलममा छाप लगाउने’ बोलको चुनावी गीत गौतमले लेखेका हुन् ।

उक्त गीत मंगलबार युट्युवमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको चुनावी गीतको भिडिओमा एकीकृतका शीर्ष नेता लगायत बामदेव पनि देखिन्छन् ।

एघार वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – भोजपुरमा एघार वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् ।

उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एमालेविरुद्ध मतदान गर्न नेकपा एसको कार्यकर्तालाई निर्देशन

काठमाडौं-नेकपा एकीकृत समाजवादीले एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

एसले चुनावी गठबन्धन नभएको र आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको हो ।

मंगलबार साँझ बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमा नेपालले यस्तो निर्देशन दिएका हुन् ।

बैठकपछि महासचिव डा. बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा एकीकृत समाजवादीसँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय भएको उल्लेख छ ।

एकीकृत समाजवादीले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा प्रतिगागी एवं दक्षिणपन्थीविरुद्ध मतदान गर्न निर्देशन दिएको हो ।

बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझैपनि अन्तिमसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ ।

महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको विज्ञप्तिमा जनाएको छ ।

युक्रेनमा बस दुर्घटनामा १६ जनाको मृत्यु

काठमाडौं – युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।
पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ ।

१० तले घरको छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको ठमेलमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौको ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

महर्जनले आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ । यस घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ ।

बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ ।

बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिनुभयो ।

बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।

ललितपुरमा २६ वर्षीया महिला बलात्कृत

काठमाडौं – ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंकबहादुर बिकलाई सोमबार पक्राउ गरेको छ ।

बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यो घटनाकोबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्रिभुवन विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिको फोन

काठमाडौं-अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै फोन गरेपछि विमानस्थलमा त्रास फैलिएको छ ।

विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो ।

अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएको छ ।

त्यस्तै, प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका जनाइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप : ६ जना घाइते

काठामडौं – पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।

झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

काठमाडौं – लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागुऔषध फेला परेको थियोे । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बाघ नियन्त्रणमा

चितवन -चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ ।

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो ।

सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो ।

अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ ।

बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।

बाघ राख्न कसरा र सौराहामा खोर छ । कसराका खोरमा दुईवटा बाघ रहेका छन् ।

एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो ।

सूचना अधिकारी तिवारीका अनुसार विसं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ ।

निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।

‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत अवस्थाम भेटिए

काठमाडौंं – महेन्द्रनगरको कञ्चनपुरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् ।

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’