राष्ट्रियसभा बैठक (लाइभ)

काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमध्ये सात वटा मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुँदै छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँग सम्बन्धी विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, सांसद तुलसा कुमारी दाहालले ‘‘विनियोजन विधेयक, २०७९ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाा कायम गरियोस्’’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

अदालत परिसरबाट फरार व्यक्ति पक्राउ

नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताउनुभयो । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अबदेखि विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अनिवार्य दुई पाइलट राख्नुपर्ने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुईजना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ ।

यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् ।

प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौँ बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ ।

हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ ।

यसैगरी हेलिकप्टरले पनि यही असार ७ गतेदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा आफ्नो रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने निर्णयसमेत गरेको छ ।

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दैछ ।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ ।

कार्यसूची अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन् ।

यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तै राट्रियसभाको बैठक पनि आज दिउसो १ बजे बैठक बस्नेछ ।

बहराइनलाई पछि पार्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको छ ।

त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

सशस्त्र प्रहरी बलका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबारको निर्णयअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको दरबन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको एपीएफ मुख्यालय हलचोकले जनाएको छ ।

बढुवा सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने जनाइएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा टोपबहादुर डाँगी छन् । २०६० सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका ८७ जनामध्ये उनीहरूको बढुवा सिफारिस भएको हो । उक्त ब्याचबाट विभिन्न तीन चरणमा डीएसपीमा बढुवा भएका थिए ।

यसपटकको बढुवा सिफारिसमा ज्येष्ठता र वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमतालाई पहिलो प्राथमिकता दिइएको बुझिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

प्रचण्डले के का निम्ति राजस्वको महानिर्देशकमा अधिकारीलाई बनाए

काठमाडौं । चुनावमा पार्टीलाई चन्दा उठाइदिने प्रतिबद्धता व्यक्त गरे लगतै जगेडाना रहेका सहसचिव झलक अधिकारीले प्रचण्डको आशिर्वादमा राजस्व अनुसन्धान विभाग महानिर्देशकको पद हात पारेका छ्न । पढेर लोकसेवा जाच दिएर आएका प्रशासकहरु पढ्ने बेलाका सिद्धान्त भुल्दै नेतालाई जे गर्न नि तयार छु मलाई ठाउँ चाइयो भन्छ्न भने कसबाट सुधारको अपेक्षा गर्ने यो नियुक्तिको भित्री चुरो बुझेहरु सतहमै कुरो गर्न थालेका छ्न । चार महिना सामान्य प्रशासन मन्त्रालयमा जगेडामा रहेका सहसचिव अधिकारीले तनाव लिएर बरण्डामा हल्लिनु भन्दा सर्तपूरा गरेरै एकाएक जिम्मेवारी लिएका छन। सहसचिव अधिकारीले ठुलै डिलमा जिम्मेवारी हत्याए पनि केही मिडियामा प्रचारप्रसार गर्दै बुधबार पदभार ग्रहण गरेका हुन् ।

महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन् । काङ्ग्रेस पृष्ठभुमि भएपनि राम्रो काम गर्दागर्दै पौडेल महानिर्देशक बनेको ८ महिना नपुग्दै सरुवा गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रकाश काङ्ग्रेस हुनु नै गल्ती भयो भन्दै आक्रोश सहित दर्जनौं कर्मचारीहरू प्रतिरक्षामा निम्ति पुगेपछि प्रधानमन्त्रीले त्यहाँ त प्रचण्डले पटकपटक भनेकाले मैले वचन दिएको हुँ भनेपछि काङ्ग्रेसी कर्मचारी फर्केका थिए ।

सरुवामा परेका पौडेल अहिले सामान्यमा भएपनी अब सञ्चार मन्त्रालय जाने तयारी गरेको बुझिन्छ अधिकारी भने यसअधि ४ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका बेला शक्तिकेन्द्र रिझाउन सफल भएका थिए ।

अघिल्लो हप्ता मात्रै अधिकारीको संघीयबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । कार्यालयले अधिकारीलाई महानिर्देशकको जिम्मेवारी पाएसँगै कालाबजारिहरुबीच खुशी छाएको बताइएको छ ।

अधिकारी यसअघि सहकारी विभागका रजिस्ट्रार थिए । उनी ठुला करदाता कार्यालयमा प्रमुखका रुपमा काम गरिसकेकाले पनि ठुला करछली गर्नेहरूको गिरोह पहिचान गर्न उनलाई गाह्रो नपर्ने निष्कर्षमा पद दिइएको समाचार श्रोताले बताएको छ ।

एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनमा छलफल भएको छैन : अध्यक्ष नेपाल

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् ।

आज विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा नेपालले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन । यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’

अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताए ।

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकारको विषयलाई लिएर अहिले विवाद भइरहेको छ । नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताए ।

तर नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।

अब चालु आव सकिन २७ दिन बाँकी, पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

हालसम्मको विवरण हेर्दा मात्रै रु एक खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ । प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शुन्य सात मात्रै हो ।

सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बराबरको खर्च गर्ने घोषणा गर्नुभएको थियो ।

यद्यपि घोषणाअनुसार काम हुन सकेन । केही दिन पहिले रासससँगको कुराकानीका क्रममा उहाँले आगामी आवमा तोकिएअनुसारको खर्च गराउनका लागि सबै उपाय अवलम्बन गर्ने दृढता व्यक्त गर्नुभएको थियो ।

सरकारको खर्चको हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले अपेक्षाकृतरुपमा विकास निर्माणको काममा खर्च गर्न सकेको छैन । यही असार ४ गते शनिबारसम्म सरकारको कूल खर्च ६४.५५ प्रतिशत बराबर भएको छ । त्यसमा चालुतर्फको खर्च सबैभन्दा बढी छ । त्यसका कर्मचारीको तलब भत्ता, दैनिक खर्च जोडिएको हुन्छ ।

चालु खर्च ७७.२ प्रतिशत बराबर भएको छ । त्यो भनेको रु आठ खर्ब २२ अर्ब ४५ करोड ६५ लाख बराबर हो । सरकारले चालु आवमा चालुतर्फ कूल रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो ।

यस्तै वित्तीय व्यवस्थातर्फ हालसम्म कूल रु ९१ अर्ब ३७ करोड ६८ लाख बराबर खर्च गरिएको छ । चालु आवमा सरकारले रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थाका लागि छुट्याएको थियो । त्यसमा दातृ निकायलाई तिर्नुपर्ने ऋणको साँवा र ब्याजको हिस्सा रहेको छ ।

सरकारले विभिन्न दातृ निकायसँग लिएको ऋण तिर्ने विभिन्न समयसीमा हुन्छ । सोही आधारमा दायित्व भुक्तानी गर्नुपर्छ । कूल लक्ष्यमध्ये हालसम्म ४८.२४ प्रतिशत बराबरको वित्तीय व्यवस्थातर्फको खर्च भएको छ ।

सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म रु नौ खर्ब ४८ अर्ब २० करोड ९७ लाख बराबरको राजस्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८०।२३ प्रतिशत बराबर हो । त्यसमा कर राजस्व रु आठ खर्ब ७८ अर्ब ३३ करोड एक लाख बराबर सङ्कलन भएको छ ।

यसमा भन्सारलगायतका राजस्व समावेश छन् । चालु आवमा कर राजस्वतर्फ रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर सङ्कलन गर्ने सरकारको लक्ष्य छ । कूल लक्ष्यमध्ये हालसम्म ८२।२४ प्रतिशत सङ्कलन भएको छ ।

त्यस्तै गैरकरतर्फ रु एक खर्ब १२ अर्ब ६३ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ६९ अर्ब ८७ करोड ९६ लाख बराबर अर्थात् ६२.०४ प्रतिशत सङ्कलन भएको छ ।

यस्तै अनुदानतर्फ रु ५९ अर्ब ९१ करोड ९९ लाख सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १३ अर्ब ८८ करोड ३३ लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको २३.१७ प्रतिशत हो ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते सार्वजनिक गर्नुभएको आगामी आवको बजेटमा चालु आजको अन्त्यसम्म कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत बराबर हुने संशोधित अनुमान प्रस्तुत गर्नुभएको छ । कुल सरकारी खर्चमध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको छ ।

चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्ष वैदेशिक सहायता तर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ ।

राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले रु ३० हजार पाउनेछ भने दोस्रो हुने टोलीले रु २० हजार हात पार्नेछ ।

त्यसैगरी खुला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडौंमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ ।

बुटवल र काठमाडौँमा असार ११ देखि १६ गतेसम्म विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ ।

असार १७ र १८ गते राष्ट्रियस्तरको फूल कन्ट्याक्ट कराते काठमाडौँमा हुनेछ भने असार २० र २१ गते उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभयो ।

“नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उहाँले भन्नुभयो । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको थियो । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो ।

“विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ”, मन्त्री शर्माले भन्नुभयो । सो अवसरमा आर्थिक वर्ष २०७९/८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराउनुभएको थियो । “मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा उल्लेख गरेको छु”, उहाँले भन्नुभयो ।

सोही अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने जानकारी गराउनुभएको थियो ।

उपप्रमुख किशोरी साहमाथि आक्रमण

जनकपुरधाम । एक जना उपप्रमुख किशोरीमाथि आक्रमण भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आक्रमण भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गरेको हो ।

आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी छन् ।

बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।

नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरुले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरे । त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।

त्यसलगत्तै उनीमाथि आक्रमण भएको हो । तत्कालै पुगेको प्रहरी टोलीले उपप्रमुख किशोरीलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो ।

नेप्सेमा दोहोरो अंकको पहिरो, एक अर्ब १३ करोडमाथिको कारोबार

काठमाडौं । नेप्से साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३७.२७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब ११ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । आज नेप्सेमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६५६.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार रिभर फल्स पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।

गठबन्धन जोगाउँदै चुनावमा जुट्ने तयारी भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी ६ महिनाभित्र संघ र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । आज काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष नेपालले मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको जानकारी दिएका हुन् ।

नेपालले सत्ता साझेदारी गरिरहेका दलहरूको गठबन्धन आगामी निर्वाचनसम्मै जाने दावी समेत गरे । उनले गठबन्धन जोगाउँदै चुनावमा जुट्ने तयारी भइरहेको पनि बताएका छन् ।

‘मंसिरलाई आधार मानेर चुनाव गर्ने तयारी भइरहेको छ । अहिलेदेखि चुनावको तयारी गर्नुपर्नेछ । संघ र प्रदेश सभा दुवै चुनावसम्मै गठबन्धन कायम रहन्छ’, उनले भने।

उनले अब गठबन्धनभित्र चुनावमा सिटबारे छलफल गर्न बाँकी रहेको बताएका छन् । आइतबार बिहानै गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरी सुधार्दै सत्ता गठबन्धन अघि बढाउने विषयमा छलफल भएको नेता नेपालले जानकारी दिएका छन् ।