प्रधानमन्त्री देउवा चढेको हेलिकोप्टरमा इन्धन सकिएपछि आकस्मिक अवतरण

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौँबाट धनगढी उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।

हेलिकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानलगायतले भेटघाट गरेका थिए ।

करिब २० मिनेटको भैरहवा बसाइपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।

बालिका हराएको सूचना ! छोरी सम्झेर १ सेयर गरिदिनुहोला ! १ सेयर ले छोरी भेटिन सक्छिन !

वर्ष १३ की गरिमा सेढाई (लक्ष्मी) नाम गरेकी बालिका काठमाडौंको काँडाघारी हरहर महादेबबाट मिति २०७९/०३/०३ गते बिहान ६ : ३० बजेको समयमा हराईरहेकी हुँदा देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी अथवा बालिकाको आफन्त ९८४३९५६७८९, ९८२३११६२४६ मा सम्पर्क गरिदिनु हुन सविनम्र अनुरोध गर्दछौँ ।

काँडाघारी सनसिटी स्थित पुष्पबाटिका विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिका विद्यालयबाट बास्केट बल खेलेर घर फर्किने क्रममा बाटैबाट हराएकी हुँदा देख्नु वा भेट्नु हुने जो कोहीले बालिकाको आफन्त, विद्यालय तथा नजिकैको पुलिस चौकीमा खबर गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।

बालिकाले खैराे टिसर्ट, प्याजी कलरको टाउजर र निलो रंगको चप्पल लगाएकी छन् ।

त्रिवि शिक्षण अस्पतालद्दारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको छ ।

डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै अस्पताल प्रशासनले हालको लागि बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

‘सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा स्थगित गर्नुपरेको हो,’ अधिकारीले अनलाइनखबरसँग भने,’ अस्पताल प्रशासनले पटक–पटक बीमा बोर्डमा गएर भुक्तानी अनुरोध गरेको थियो । तर, सरकारबाट पैसा नआएको भन्दै भुक्तानी दिन बोर्डले अनाकानी गर्‍यो ।’

‘आठ करोड पैसाको भुक्तानी नहुँदा पनि सेवा दिइरहेका थियौं । तर, धेरै समयको भुक्तानी बाँकी हुँदा अन्य सेवा प्रभावित भयो । जसले गर्दा बाध्य भएर सेवा बन्द गर्नुपर्यो,’ अधिकारीले थपे ।

हाल टिचिङमा मात्रै दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् ।

सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउने, कुनै किसिमको आर्थिक कठिनाइ विना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

तर, पछिल्लो समयमा बीमितहरुले योगदान अनुसारको सुलभ र प्रभावकारी सेवा पाउन नसक्दा कार्यक्रमको आकर्षण नै खस्कँदै गएको छ । त्यसका साथै समयमा नै स्वास्थ्य संस्थाले सरकारबाट भुक्तानी पाउन नसक्दा कार्यक्रम नै बन्द गरिरहेका छन् ।

खोलाले बगाएर शिक्षिकाको मृत्यु

नुवाकोट । खोलाले बगाएर शिक्षिकाको मृत्यु भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ का राधिका आचार्यको शुक्रबार विद्यालय पढाउन जाँदै गर्दा भीरबाट खस्ला खोलाले बगाएर मृत्यु भएको हो ।

तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो ।

घटनास्थलभन्दा ५०० मी. तलबाट उद्दा गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत थिइन् ।

त्रिभुवन विमानस्थलबाट चार लाख भारु सहित भारत जान लागेका युवक प्रहरी नियन्त्रणमा

काठमाडौँ । प्रहरीले चार लाख भारु सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका एक नेपाली करिब ४ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

त्रिभुवन विमानस्थल प्रहरीले तनहुँको ब्यास नगरपालिका – १२ का रन्जन पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट ३ लाख ९३ हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

नेपालमा ५ सयभन्दा बढीका भारतीय नोट प्रतिबन्ध भएकाले पाण्डेका साथमा भेटिएका कारण उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठले बताए ।

पाण्डे नेपाल एयरलाइन्सको विमानमार्फत बिहीबार नयाँ दिल्ली जान लागेका थिए ।
उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले बताएको छ ।

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नेप्से शुक्रबार सामान्य अंकले घटेको छ । आज नेप्से ७.५७ अंकले घटेर एक हजार ९ सय ७१ दशमलब ३६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १२.५७ अंकले बढेर एक हजार ९ सय ७८ दशमलब ९४ विन्दुमा बन्द भएको थियो ।

आज शेयर कारोबार दुई घण्टा भएको थियो । यस अवधिमा नेप्सेमा ७३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब १८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ६० कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५९६.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार रिभर फल्स पावर लिमिटेडको नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।

तारागाउँ विकास समितिको सदस्यसचिवमा थापा नियुक्त

काठमाडौं । तारागाउँ विकास समितिको सदस्यसचिवमा डोटीको जोरायल गाउँपालिका–५ कामहेन्द्र थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई सदस्यसचिवमा नियुक्त गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त समितिमा विगत केही महिना यतादेखि अध्यक्ष तथा सदस्यसचिव पद रिक्त थियो ।

उक्त समितिमार्फत नेपाली कला, संस्कृति र सौन्दर्य अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने, पर्यटकीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय सेवालाई गुणात्मक बनाउन तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने, सम्भाव्य ग्रामीण पर्यटकीय स्थलहरूको अध्ययन अनुसन्धान गर्ने, ग्रामीण पर्यटन पूर्वाधारको विकास र विस्तार गर्ने लगायत गतिविधिहरु भइरहेका छन् ।

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माले) को अवरोधबीच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल हुने तथा असार ९ र १० गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका प्रस्ताव गर्नुभयो । सम्बन्धित शीर्षकमाथिको छलफलमा भाग लिन चाहने सांसदले छलफल हुनुभन्दा एक दिन अगावै राष्ट्रियसभाको कार्यव्यवस्थामा दलीय आधारमा नाम उपलब्ध गराउनुपर्नेछ ।

असार ६ गते कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

असार ७ गते शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । यस्तै असार ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह र रक्षा मन्त्रालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

संसदीय छानबिन समिति नबने बैठक बहिस्कार : एमाले

एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले आगामी आवको बजेट निर्माणका क्रममा भएका गतिविधिले सन्देह प्रकट गरेको बताउनुभयो । “बजेट निर्माण गर्ने स्थान अत्यन्त्यै संवेदनशील ठाउँ हुनुपर्छ, त्यहाँ अर्थमन्त्री, सचिव तथा अर्थ मन्त्रालयका उच्च अधिकारीको मात्र प्रवेश हुन्छ”, उहाँले भन्नुभयो, “राजस्वको दर थपघट गर्ने विषय अति संवेदनशील हुन्छ, अत्यन्त गोपनियताका साथ गरिने अन्तर्राष्ट्रिय अभ्याससमेत छन्, तर नेपालमा त्यसो हुन सकेन ।”

उहाँले बजेट निर्माणको संवेदनशीलता देखाउँदै सांसदलाई अर्थ मन्त्रालय प्रवेशमा रोक लगाएको र विज्ञका नाममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको विषयमा संसदीय छानविन समिति बनाउन माग गर्नुभयो । संसदीय छानबिन समिति नबनेसम्म अर्थमन्त्रीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७९ पेश गर्न नसक्ने र समिति नबनाइ प्रक्रिया अगाडि बढाइए आफूहरुले बहिस्कार गर्ने उहाँले बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते अपराह्न १ बजे बस्नेछ ।

नेकपा एमालेद्दारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक शुरु हुने वित्तिकै एमाले सांसदहरुले बैठक अवरोध गरेका हुन।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

तर एमालेले अर्थमन्त्री शर्माको विराधे गदैं बैठक अवरोध गरेको हो । दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।

त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउदै अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनाधिकृत रुपमा विचौलियालाई सहभागी गराएर रको दररेट निर्धारण गर्ने काम गरेकोले त्यसमा संसदीय छानविन गर्नुपर्ने माग गरे ।

उनले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा त्यसो नगरेपनि यस विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताए । त्यसो गर्न पनि नमानिएकाले अर्थमन्त्रीलाई एमालेले स्वीकार गर्न नसकिने एमाले सांसद भटटराईले बताए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

नेकपा एकीकृत समाजवादीले सदस्यता वितरण विशेष अभियान थाल्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संगठन विस्तार साथै पार्टी सदस्यता वितरणलाई जोड दिएको छ । बेदुराम भुसालको अध्यक्षमा बिहीबार बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

अन्तर संगठन निर्देशन पठाउँदै पार्टीको केन्द्रीय संगठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका मोर्चारजनसंगठनलाई विधानको व्यवस्थाअनुसार नाम पठाउन भनिएको छ ।

त्यस्तै असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सक्न पनि निर्देशनमा भनिएको छ । एमालेसँगको विद्रोह गरेको छोटो अवधिमा नै पार्टी मजबुत हुँदै गरेको निष्कर्षसहित नेकपा एसले यसलाई अझै अजबुत बनाउने प्रणसमेत गरेको छ ।

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा फेरि अर्का शिक्षक पक्राउ परेका हुन् । केही समय अगाडी पनि आफ्नै विधालयकी छात्रालाइ दुर्व्यवहार गरेको आरोपमा काठमाडौंमै शिक्षक पक्राउ परेका थिए ।

तर यो घटना भने गुल्मीको हो । गुल्मी प्रहरीले आफ्नै विधालयमा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ ।

पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ ।

कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार, घटना १५ दिन पहिलेको हो । तर पनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको हो ।

‘घटना जेठ १७ गतेको रहेछ, तर अभिभावकले बुधबारमात्रै जाहेरी दिनुभयो, जाहेरी प्राप्त भएपछि बुधबार नै उनलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक खरेलले भने ।

खरेलले बुधबार पक्राउ परेका शिक्षक उपर बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम सुरू गरिएको बताए ।

सैन्य गठबन्धनमा मेरो तहबाट कुनै सम्झौता हुँदैन : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा पुगेका प्रधानसेनापति शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगर्ने र नगरेको बताएका थिए ।

त्यही क्रममा उनले आफनो असार १३ गतेबाट हुन लागेको अमेरिका भ्रमणमा पनि कुनै सम्झौता गर्ने कार्यक्रम नै नरहेको प्रष्टाएका हुन् ।

‘अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन,’ प्रधानसेनापति शर्माले भने,-‘अहिले सार्वजनिक भएको एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नता पनि छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।’

प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ ।

त्यस्तै सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र साँचो भएको प्रधानसेनापति शर्माले प्रष्ट पारे । तर त्यो भूकम्पका बेला लेखिएको र त्यो सैन्य गठबन्धनका लागि नभएको पनि बताए ।

‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु,’ प्रधानसेनापतिले भने ।

एसीसी महिला टी -२० : नेपालद्दारा भुटान ५० रनले पराजित

काठमाडौं । एसीसी महिला टी -२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।

जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।
ओपनिङमा आएकी एसहे छोदेनलाई दोस्रो ओभरमै कविता कुँवरले बोल्ड आउट गराएपछि भुटानको विकेट पतन सुरु भएको थियो ।

भुटानलाई सस्तैमा अल आउट गर्न नेपालकी सबनम राईले ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले मात्र ६ रन दिएर ४ विकेट लिएकी हुन् । सीता राना मगर र कविता कुँवरले समान २ तथा अस्मिना कर्मचार्यले र इन्दु बर्माले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९४ रन बनाएको थियो । नेपालका ओपनर र पुछारका ब्याटरले गतिलो प्रदर्शन नगरे पनि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा नेपालले भुटानलाई सम्मानजनक लक्ष्य दिएको थियो ।

नेपालका लागि पाँचौं क्रममा आएकी काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी बकप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।

भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १/१ विकेट लिए ।

प्रावि प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । प्रावि प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

निमावि तहका शिक्षकको अन्तर्वार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ ।

https://drive.google.com/file/d/1ZW0B7YahAdIDDvXii5VCZXgE0s5j5qMl/preview

नायव सुब्बाबाट शाखा अधिकृत बढुवाका लागि ८० जनाको नाम सिफारिस

काठमाडौँ । ८० जना नायब सुब्बाहरूलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले सामान्य प्रशासन समूह र लेखा समूहका ३६–३६ जना र राजश्व समूहका ८ गरी ८० जनालाई राजपत्रअनंकित प्रथम श्रेणी (नायब सुब्बा) बाट राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरेको हो ।