सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा मोहनकृष्ण सापकोटा नियुक्त

काठमाडौं । सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा मोहनकृष्ण सापकोटा नियुक्त भएका छन् । सरकारले पुर्व गृहसचिव सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको हो ।

वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सापकोटाले यो भन्दा अगाडि पुर्व गृहसचिवको रुपमा काम गर्दै आएका थिए । पर्यटन ,सार्वजनिक खरिदको कार्यालय देखी विभिन्न मन्त्रालयहरुमा काम गरिसकेका सापकोटालाई हाल सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरिएको हो । प्रशासन क्षेत्रको प्रखर ब्याक्तित्वको नियुक्तिले यो क्षेत्र चासो राख्ने ब्यक्तिहरुले खुशी व्यक्त गरेका छ्न ।

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकममा भने सुधार

काठमाडौं । नेप्से बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.८९ अंकले घटेर एक हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा झरेको हो । आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज नेप्सेमा एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.२० रुपैयाँ पुगेको छ भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४२०.४० रुपैयाँ पुगेको छ ।

बलेफी हाइड्रोपावर कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड ५१ लाख भन्दा बढीको कारोबार भएको नेस्सेले जानकारी दिएको छ ।

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ ।

आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गर्नुभयो । उहाँले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताउनुभयो ।

ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताउनुभयो ।

उहाँले जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र सोही अनुरुप कर्तव्यपालन गर्न सक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गका रूपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताउनुभयो ।

देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगका रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवम् अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ । यसका साथै लोक सेवा आयोगले सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका कर्मचारी व्यवस्थापनका विभिन्न विषयमा परामर्शसमेत प्रदान गर्दै आएको छ ।

राष्ट्रपति भण्डारीले मुलुकको आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशिता तथा गोपनीयता लगायतका मुख्य सिद्धान्तमा आधारित भई कार्यसम्पादन गर्दै आएको र त्यसले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताउनुभयो ।

समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिनुभयो । उहाँले उत्तरपुस्तिका परीक्षण प्रणालीलाई थप विश्वसनीय बनाउन सहसचिव, उपसचिव वा सो सरहका पदहरुमा दुईजना विज्ञबाट अलग अलग रुपमा दोहोरो परीक्षण गर्ने शाखा अधिकृत वा सो सरहको पदका उत्तरपुस्तिका तथा सङ्गठित संस्थातर्फका नवाैँ वा सोभन्दा माथिका पदका परीक्षाका उत्तरपुस्तिका आयोगमा नै विज्ञद्वारा परीक्षण गराउने पद्धतिको विकास गरिएको जानकारी दिनुभयो ।

आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले स्वागत मन्तव्य राख्नुभएको समारोहमा सदस्य माधव वेल्बासेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो क्रममा उत्कृष्ट कर्मचराीलाई पुरस्कृत गरिएको थियो भने लामो समयसम्म आयोगमा सेवा गर्नुभएका आयोगका पूर्वसदस्य गौरीलाल दासलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आयोग विसं २००८ असार १ गते गठन भएको थियो । नेपालको सबैभन्दा जेठो संवैधानिक निकाय उक्त आयोगले सोही साल भदौ १८ गते पहिलो पटक छ पदका लागि विज्ञापन गरेर कार्यारम्भ गरेको थियो ।

कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काठमाडौं । कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडि सवार बालक गम्भीर घाइते भएका थिए ।

कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको बताएको छ ।

कांग्रेस र माओवादी केन्द्र मिलेर अघि बढेपछि गठबन्धनमा समस्या देखियो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्म विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर अघि बढेको जनाएका छन् ।

मंगलवार काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको निर्णयअनुसार सिट बाँडफाँड गर्न समेत तयार नभएको भनाइ छ ।

६ महानगरपालिका र ११ उपमहानगरलिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँड गरिएको बाहेक आम रुपमा गठबन्धनमा सामेल सबै दलबीच चुनावी तालमेल हुन नसकेको निश्कर्ष निकाल्दै अध्यक्ष नेपालले भनेका छन्, ‘अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गए पहिलो पार्टीलाई हराउँन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत एक देखी २० प्रतिशत कटौती भए उसले सिट गुमाउने छ भन्ने तथ्यांकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफूहरू मात्रै मिलेर अघि जाने गरी बढे, उनीहरू स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनकाबीच सिट बाँडफाँड गर्न तयार भएनन्, त्यसैले आम रुपमा पाँच दलीय गठबन्धन हुन सकेन ।’

सोही कारण कांग्रेस र माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलहरूलाई पन्छाएर आफूहरूबीचमा मात्रै सिट बाँडफाँट गरेकोमा नेपालको प्रतिवेदनमा गुनासो प्रकट भएका छन् । ‘धेरै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीचमा मात्रै सिट बाँडफाँट गरियो, त्यो पनि पालिका, उपप्रमुख र वा अध्यक्ष र उपाध्यक्ष पदको मात्र । वडाको बाँडफाँट त उक्त दुई पार्टीकाबीचमा पनि भएन ।’ उनका अनुसार तल्लो तहसम्म गठबन्धन हुनु पर्नेमा कांग्रेस र माओवादीका कारण हुन सकेको थिएन ।

गठबन्धनभित्र पाँच समस्या
नेपालले गठबन्धनभित्र पनि उपगठबन्धन गर्ने कुरालाई पुनः दोहो¥याउँदै स्थानीय तह निर्वाचनमा सही रुपमा तालमेल हुन नसकेको विषयलाई सात बुँदामा उल्लेख गरेका छन् ।

उनका अनुसार गठबन्धनभित्र पाँच प्रकारका समस्या रहे, पहिलो गठबन्धन गर्न नै नचाहने, दोस्रो गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो गठबन्धनभित्र उपगठबन्धन गर्ने, चाैँथाैँ गठबन्धन भएका स्थानमा इमान्दारितापूर्वक भोट नहाल्ने पाँच गठबन्धन बाहिरका दलहरूसँग चुनावी तालमेल गर्ने, छैटाैँ गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु्, सातौँ गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्न चाहने । ‘यो प्रवत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखियो,’ मंगलवार जारी बैठकमा नेपालले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थलबाट गोली सहित महिला पक्राउ

काठमाडौँ । प्रहरीले विमानस्थलबाट गोली सहित एकजना महिलालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्योण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका ७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिएर आएको झोला ह्यालण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले बताएको छ ।

नेपालको हित विपरीत कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्री देउवाको प्रचण्ड र नेपाललाई आश्‍वासन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हित विपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफुबीच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित विपरीत कुनै पनि सम्झौता नगर्ने बताएका जानकारी दिए ।

नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफुबाट नहुने र अरु देशले चासो राखेर कसैले भने पनि आफुले नमान्‍ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।

त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम  (एसपीपी) मा तत्काल हस्ताक्षर गर्ने कुनै तयार नरहेको र अमेरिकाले पनि दवाव नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाई छ । अध्यक्ष नेपालले अहिले सवैको गतिविधिहरूलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको धारणा राखे ।

उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका बिषयमा आवश्यक छलफल गर्न तयार रहेको जिकिर गरे ।

सञ्चारका सहसचिव सिंह सचिब पदका निम्ति बढुवामा सिफारिस

काठमाडौं । नेपाल सरकारको सचिव पदमा बढुवाका लागि एक सहसचिवको नाम सिफारिस भएको छ ।
सचिव बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका सहसचिव विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले निजामती सेवा ऐनअनुसार ज्येष्ठताका आधारमा सिंहको नाम मात्र बढुवाका लागि सिफारिस गरेको समितिले जनाएको हो ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि तीन सहसचिव र पाँचौँ पटक ज्येष्ठताबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सिंहको नाम मात्र सिफारिस भएको हो ।

सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार महाशाखाको प्रमुख एवं मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस सिंहलाई सचिवमा बढुवा गर्नेछ ।

अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपाल संगठन गर्न अब्बल साबित

काठमाडौ‌ । पूर्व प्रधानमन्त्री माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) गठन भएको ९ महिना पुगेको छ । २०७८ भदौं ९ मा निर्वाचन आयोगले वैधानिकता दिएसँगै नेपालको पार्टी देशब्यापी संगठनात्मक अभियानमा छ । अहिले पनि कतिपय पालिका र वडा तहमा माधव नेपालको पार्टी विस्तार भईसकेको छैन । तर पनि छोटो समयको उहाँको लगाब सहितको मेहनतले पार्टीले चाडैं ठूलो आकार लिने सकेत देखिदै छ । पार्टी प्रतीको आकर्षक पनि बढदो छ ।

तर १५ बर्ष एमालेको नेतृत्व सम्हालिसकेका माधव नेपाल सुक्ष्मरुपमा पार्टी संगठन विस्तार अभियानमा लाग्छन् भन्ने नेकपा एकीकृत समाजवादीले ९ महिनामा निर्माण गरेको संगठनले पनि देखाउँछ ।

एकीकृत समाजवादीले पार्टी गठनको यो छोटो अवधीमै स्थानीय तहको चुनावको सामना गरिसकेको छ । गत बैशाख ३० को स्थानीय तह चुनावमा एक महानगरपालिका, एक उपमहानगरपालिका प्रमुख सहित २० पालिका प्रमुख वा अध्यक्ष, २३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष, १९० वडा अध्यक्ष, १८४ महिला सदस्य, १८० दलित सदस्य र ३८९ खुल्ला सदस्य गरी ९८६ जना जनप्रतिनिधीका रुपमा विजयी गराउन सफल भएको छ ।

नेपालको पार्टीले नयाँ पार्टी, नयाँ चुनाव चिन्ह लिएर एमालेसँगको पार्टी विभाजन पछिको पहिलो चुनाव सामना गरेको थियो । एकीकृत समाजवादीले देशब्यापी संगठन निर्माण अभियान जारी राखेको छ । वाँकी पालिका र वडा कमिटि आगामी साउन मसान्तसम्ममा पूर्णता दिईसक्ने लक्ष्य उसले राखेको छ ।

पार्टीको स्थायी समिति बैठकमा मंगलबार अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमा अहिलेसम्म निर्माण भएका संगठनात्मक अवस्थाको फेहरिस्त उल्लेख गरिएको छ ।

कुन कमिटिमा कति संगठित ?
१. केन्द्रीय तहमा
केन्द्रीय कमिटि सदस्य : ३६८
केन्द्रीय आयोग सदस्य : १०७
केन्द्रीय सल्लाहकार परिषद् सदस्य : १५७
केन्द्रीय जेष्ठ मञ्च सदस्य : ३८
केन्द्रीय परिषद् सदस्य : ११३
केन्द्रीय विभाग : ७५५

केन्द्रीय तहमा जम्मा : १५८३

२. प्रदेश कमिटि
प्रदेश १ : २४४
मधेस प्रदेश : १६८
बागमती : २१७
गण्डकी : १३९
लुम्बिनी : १६५
कर्णाली : १७०
सुदुरपश्चिम प्रदेश : १७३
उपत्यका विशेष प्रदेश : ५६
सम्पर्क विशेष प्रदेश : ६३
प्रवाश विशेष प्रदेश : ४१
प्रदेश कमिटिमा जम्मा : १४१६

३. जिल्ला कमिटि
प्रदेश १ (१४ जिल्ला) मा १९१६
मधेस प्रदेश (८ जिल्ला) मा १६७३
बागमति प्रदेश (१३ जिल्ला) मा २२७०
गण्डकी (११ जिल्ला) मा १०२२
लुम्बिनी –
कर्णाली (१० जिल्ला) १५२६
सुदुरपश्चिम प्रदेश (९ जिल्ल)मा १४३५

जिल्ला कमिटिमा जम्मा स् ९,८४२ (यसमा लुम्बिनी प्रदेश अन्र्तगतका जिल्ला कमिटिको जोडिएको छैन)

४० पालिका कमिटि
प्रदेश १ का ९७ पालिकामा संगठन बनेको छ । त्यहाँ ४५४५ जना संगठित छन् ।
मधेस प्रदेशका ७२ पालिकामा संगठन बनेको छ । त्यहाँ ४४८२ जना संगठित छन् ।
बागमती प्रदेशका ९५ पालिकामा संगठन बनेको छ । त्यहाँ ५२३४ जना संगठित भएका छन् ।
गण्डकी प्रदेशका ५६ पालिकामा संगठन बनेको छ । त्यहाँ १७१७ जना संगठित भएका छन् ।
कर्णाली प्रदेशमा ७२ पालिकामा संगठन बनेको छ । त्यहाँ ३९०६ जना संगठित भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा ८८ पालिकामा संगठन बनेको छ । त्यहाँ ३६२९ जना संगठित भएका छन् ।

पालिका कमिटिमा जम्मा : २३,५१३

पालिका कमिटिमा संगठित यो संख्यामा लुम्बिनी प्रदेशको पालिकाहरुको जोडिएको छैन । एकीकृत समाजवादीले अझै प्रदेश १ का ४० पालिका, मधेस प्रदेशको ६४ पालिका, बागमति प्रदेशको २४ पालिका, गण्डकी प्रदेशको ३० पालिका, कर्णाली प्रदेशको ७ पालिका र सुदुरपश्चिम प्रदेशको १४ पालिकामा संगठन अझै बनाउन बाँकी नै छ । त्यहाँ उसको संगठन बनिसकेको छैन ।

५. वडा कमिटि
प्रदेश १ को ४५१ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा १५,५५८ जना संगठित छन् ।
मधेस प्रदेशको ६०० वडामा वडा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा १७,५२७ जना संगठित छन् ।
बागमति प्रदेशको ७७८ वडामा कमिटि बनेको छ । यधपी कुलमा कति संख्याका कार्यकर्ता संगठित भएका छन् भन्ने तथ्यांक केन्द्रीय कार्यालयमा आउने क्रममै रहेकोले यसमा संख्या नखुलाइएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
गण्डकी प्रदेशको २७१ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा ६,६२४ जना संगठित छन् ।
कर्णाली प्रदेशको ५०४ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा १२, ९२५ जना संगठित छन् ।
सुदुरपश्चिम प्रदेशको ४३६ वडामा कमिटि बनेको छ । ति वडाहरुमा कुलमा ४,९९६ जना संगठित छन् ।

वडा कमिटिहरुमा जम्मा स् ५७,६३० (यसमा लुम्बिनी प्रदेशको र बागमति प्रदेशको सदस्यको संख्या जोडिएको छैन)

अझै वडामा प्रदेश १ का ७०६, मधेसको ६७०, बागमतिको ३४२, गण्डकीको ४९२, कर्णालीको २१४ र सुदुरपश्चिमको २१४ वडामा कमिटि बनेको छैन । एकीकृत समाजवादीले साउन मसान्तभित्र नबनेका वडा र पालिका तहमा पनि संगठन बनाईसक्ने जनाएको छ ।

केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्ममा गरी अहिलेसम्म नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशको जिल्ला, पालिका र वडा कमिटिमा संगठितहरु बाहेक देशैभर ९३,९८४ जना संगठित गरिसकेका छन् ।

आन्दोलित इन्जिनियरहरुको माग ठोस रुपमा सम्बोधन हुन सकेन, बिकास प्रभावित हुने संकेत

काठमाडौ । आर्थिक वर्ष २०७९/०८० बजेट बक्तव्यको बुँदा नं ३०५ हटाउनु पर्ने माग आन्दोलनमा उत्रिएका इन्जिनियरहरुले प्रमुख मागका रुपमा राखेका छन् ।

बजेट बक्तव्यमा स्थानीय पुर्वाधार विभाग खारेज गरेको बिषयलाई लिएर सोमबार सडक बिभाग र मगलबार भौतिक मन्त्रालयको गेटमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका इन्जिनियरहरु अब कडा रूपमा प्रस्तुत हुने भएका छन् ।
स्थानीय पुर्वाधार विभाग खारेज गर्दा प्रदेश अन्तर्गत स्थानीय बिकास कार्यालय मार्फत निर्माण भएका अर्बैका भौतिक पुर्वाधारहरु संरक्षणमा चुनौती थपिने भन्दै कर्मचारी यूनियनहरुले बिभागिय मन्त्री तथा सचिवलाई जेठ १७ गते ध्यानाकर्षण गराएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७/०८० को बजेट बक्तव्यको बुँदा नं ३०५ मा स्थानीय पुर्वाधार विभाग खारेज गरी बिभागमा रहेका प्राविधिक कर्मचारी मध्ये १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पुर्वाधार बिकास सहजीकरण इकाइमा रहने तथा बाँकी कर्मचारी प्रदेश सरकार र भौतिक पुर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने ब्यवस्था मिलाएको छु भन्ने उल्लेख छ ।

स्थानीय पुर्वाधार विभागका कर्मचारीहरुलाई भौतिक पुर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन गर्दा बृत्तिबिकासमा समस्या आउने भन्दै यूनियनलेआन्दोलनका कार्यक्रम अघि बढाएको छ ।

बिरोध कार्यक्रमलाई संबोधन गर्दै भैतिक योजना तथा यातायात मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष नेत्र देबकोटाले सिंगो सडक विभागमाथि आँखा लगाउने विषय भएकोले १५ दिन देखि आफुहरु निरन्तर आन्दोलनमा रहेको बताए ।

सम्बन्धित निकायले आफ्नो विषय गम्भिररुपमा नलिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको देबकोटा जानकारी दिए ।
बिरोध कार्यक्रममा स्थानीय योजना प्रदेशरस्थानीय तहमा हस्तान्तरण गर, हाम्रो वृद्धि बिकास माथी पटक पटक भइरहेको हस्तक्षेप बन्द गर, लगायतका नाराहरु राखिएको छ ।

यो अभियानमा सबैको हितका निम्ति धर्मेन्द्रकुमार झा, नारायण लामिछाने लगायतका वरिष्ठ इन्जिनियरहरुको नेतृत्वमा अहिले कहिले लोकसेवा आयोग त कहिले मुख्यसचिव हुँदै प्रधानमन्त्री समक्ष सम्म भौतिक सचिब गोपाल सिग्देल सहितको साथमा बसेर आफुहरु माथि अन्यायको चलखेल हुनलागेकोले यो रोकि वृद्धिबिकासको अभियान सुचारु गराइदिनुहुन सबै पक्षलाई हारगुहारमा लागिरहनुभएको छ ।

यसैबीच मन्त्रालयमा कालोपट्टी बाधेर समेत बिरोध जनाइसक्दा समेत ठोस निर्णय आउन नसक्दा धेरै इन्जिनियरहरुलाइ निरास पैदा गराएको जनकपुर साइडका इन्जिनियर कृष्ण महत्तोले सम्पत्ति न्युजलाइ बताउनुभयो ।

यस कारण प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा तत्काल हस्ताक्षर नगर्ने

काठमाडौँ । प्रधानमन्त्री देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् ।

देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो । त्यसका लागि सम्झौताको मस्यौदा अमेरिकाले नेपाली सेना, सरकार र राष्ट्रपति कार्यालयलाई बुझाइसकेको थियो । एसपीपीमा सरकारले सम्झौता गर्न लागेको थाहा पाएपछि वामपन्थी दलहरुले त्यसको विरोध गर्दै आएका छन् ।

सञ्चारमाध्यममा सम्झौताको मस्यौदा सार्वजनिक भएपछि सम्झौता तत्काल गर्न नहुने भन्दै सत्ता गठबन्धनका काँग्रेसबाहेकका दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत विरोध जनाएपछि प्रधानमन्त्री देउवा एसपीपी सम्झौता तत्काल नगर्ने मनस्थितिमा पुगेका हुन् ।

मंगलबार प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बीचमा यसबारेमा लामो छलफल भयो,’ बालुवाटार स्रोतले भन्यो, ‘एसपीपी अघि बढाउँदा अहिले गठबन्धनमै अप्ठ्यारो पर्ने निष्कर्ष निस्किएपछि प्रधानमन्त्रीज्यू पछि हट्नुभयो ।’

आज बिहान पनि प्रधानमन्त्री देउवा, प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच यसै विषयमा छलफल भएको छ ।

जनक शिक्षाको बचाउमा शिक्षा मन्त्री पौडेल (पूर्णपाठसहित)

काठमाडौँ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेको छ । उनी पढाइ सुरु भएको लामो समयसम्म पाठ्य पुस्तक छाप्न नसकेको जनक शिक्षाको पक्षमा लागेका हुन् ।

‘निःशुल्क पाठ्यपुस्तक छपाई तथा वितरणः शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भएतापनि कक्षा १–३ को पाठ्यपुस्तक नीजि प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ,’ मन्त्री पौडेलले भने ।

उनले जनक शिक्षाबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नु पर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको बताए ।

बाँकी पुस्तक पनि छाप्ने काम भइरहेको मन्त्री पौडेलको भनाइ थियो । उनले नीजि प्रकाशकबाट छपाइ एवं वितरण काम भइरहेको बताए ।

https://drive.google.com/file/d/1JvHz8YDFVqiUkzw5L2R21TqHm_Jj1tJA/preview

अबदेखि जग्गा धितो राखेर बैंकले ऋण नदिने

काठमाडौँ । जग्गा धितो राखेर अब देखि बैंक तथा वित्तीय संस्थाले ऋण नदिने भएको छ । बैंक तथा बित्तिय सस्थाले जग्गा धितोमा ऋण दिने काम सोमबारदेखि बन्द गरेको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् ।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ।

‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नेपर्नेछ,’ मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्नुपर्नेछ ।’ उल्लिखित निर्देशनलाई देखाउँदै सोमबार र मंगलबार मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमानेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितोरबन्धक पारित गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

मन्त्रालयले २७ गते यस सम्वनधमा परिपत्र गरेको छ । अब स्थानीय तहले जग्गा वर्गीकरण नगरेसम्म जग्गा रोक्का हुँदैन । राष्ट्र बैंकले आज सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नियमित छलफलका लागि डाँकेको छ ।

खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने

काठमाडौं । युवा तथा खेलकूदमन्त्रीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने सरकारको नीतिअनुसार विगतमा निर्माणाधीन खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट जाने प्रस्ताव गरेको बताउनुभएको हो ।

मन्त्री पौडेलले खेलाडीहरुको संरक्षण र विकासका लागि यस आर्थिक वर्षमा खेलकुद बीमाको अवधारणाको विकास गरिएको, दुर्घटनामा परेको खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको बताउनुभयो । उहाँले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडी जीवन बीमा, खेलाडी तथा प्रशिक्षण स्वास्थ्य बीमा, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक खेलाडी भत्ता लगायतका विषयमा बजेट व्यवस्था गरेको बताउनुभयो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज वैदेशिक भ्रमणमा रहनुभएकाले उहाँको सट्टामा शिक्षामन्त्री पौडेलले खेलकुद क्षेत्रको विकास विद्यालयमा तहदेखि नै हुने भएकाले एक विद्यालयमा एक खेलकुदको विकास गर्ने बताउनुभएको हो ।

न्युन विन्दुमा झर्यो नेप्से, कारोबार रकम एक अर्बमा खुम्चियो

काठमाडौं । नेप्सेको आरोलो यात्रा मंगलबार पनि कायमै रहेको छ । यसअघि ३२ सय विन्दुसम्म पुगेको नेप्से पछिल्लो समय निरन्तर गिरावट हुँदा दुई हजार विन्दु भन्दा तल झरेको हो । नौं महिनाकै न्युन विन्दुमा नेप्से झरेको छ ।

गत भदौ ३ गते बिहिबार नेप्से उच्च विन्दुमा पुगेको थियो । त्यसदिन नेप्से तीन हजार दुई सय २७ दशमलब ११ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । तर, आज नेप्से ३६.०७ अंकले घटेर एक हजार ९ सय ९६ दशमलब २६ विन्दुमा झरेको हो ।

त्यस्तै, कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ । गत साउन ३१ गते आइतबार नेप्सेमा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । यसदिन नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको थियो । तर, आज नेप्सेमा एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९० कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ४४८.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको छ ।