राजश्व विभागका महानिर्देशक पौडेलको सरुवा

काठमाडौँ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल सरुवा भएका छन् । करिब ९ महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त पौडेलको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

उनलाई सरकारले २०७८ असोज १८ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट अनुसन्धान विभागको प्रमुख बनाई पठाइएको थियो । आज विभागबाट बिदाइ भएका महानिर्देशक पौडेलले आफ्नो कार्यकालमा भएका कामकारबाहीबारे जानकारी गराउँदै एउटै आर्थिक वर्षमा दुई पटक विभागीय प्रमुखहरू परिवर्तन हुँदासमेत विभागबाट हुने अनुसन्धान र अभियोजनले निरन्तरता पाएको बताए ।

‘बहुराष्ट्रिय कम्पनीहरूले कारोबारमा गरेको पुजिगत लाभ कर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सी जस्ता अत्यन्तै जटिल र केही नयाँ विषयमासमेत विभागले अभियोजना गरेको र यस्तै विषयमा आफ्नो अनुसन्धानलाई केन्द्रित गरेको छ’, महानिर्देशक पौडेलले भने, ‘महालेखापरीक्षकका विभिन्न वर्षका वार्षिक प्रतिवेदनहरूमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा विभागको अनुसन्धान निरन्तर छ’

पछिल्लो केही महिनामा आयातमा भएको कडाइका कारणले वस्तुको चोरी पैठारी बढ्न सक्ने (चिनी, लत्ता कपडा, मदिरा, विद्युतीय सामान) र नियमित भन्सार विन्दु प्रयोग नगरी एकै पटक गोदाम स्थलमा स्रोत नखुलेका वस्तुको भण्डारण र कारोबार गरेको सूचनाका आधारमा यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई थुनामा नै राखी अनुसन्धान र अभियोजनलाई तीव्रता दिइएकोसमेत महानिर्देशक पौडेलले जानकारी गराए ।

असोज १८ देखि आजसम्ममा ६९ वटा मुद्दा दर्ता गर्दै विभागले साढे १० अर्ब बढी बिगो तथा जरिवाना तोकेको छ । दुई सय तीन प्रतिवादीबाट १० अर्ब ३० करोड ६५ लाख ४३ हजार तीन सय ९५ जरिवाना तोकेको मुद्दामा तीन जना नेपालगन्ज र चार जना भद्रपुर गरी ७ जना कर्मचारीसमेत छन् ।

सो अवधिमा ४६ वटा विदेशी विनिमय अपचलनमा मुद्दा दायर गरेको छ । ७८ जना प्रतिवादी रहेको उक्त मुद्दामा एक अर्ब १० करोड २१ लाख ४७ हजार सात सय ८४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

विभागका अनुसार ६ सय ६८ वटा सवारीलाई भीसीटीएसमा कारबाही गरिएको छ भने जसबाट तीन करोड ४३ लाख २६ हजार ६ सय राजश्व सङ्कलन भएको छ । सो अवधिमा सात सय १३ वटा नियमित, आकस्मिक तथा द्रुत गस्ती परिचालन गरिएको थियो ।

यसैगरी उच्च सरकारी वकिलको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएका र राय प्राप्त भई अभियोजन प्रक्रियामा रहेका मुद्राको सङ्ख्या २६ रहेको पनि विभागले जनाएको छ ।

पौडेलको कार्यकालमा ठूला र महत्वपूर्ण निर्णयहरु भएको विभागले जनाएको छ ।

पौडेलको सरुवासँगै रिक्त महानिर्देशकमा सहसचिव झलकराम अधिकारीलाई पठाउने चर्चा छ । माघ १८ गते सहकारी विभागको रजिस्टारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा सरुवा गरिएका पौडेललाई करिब ४ महिना पछि केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको थियो ।

अमेरिका भम्रणबारे प्रधानमन्त्रीले देशलाई जानकारी दिनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रण बारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।
नेपालले भ्रमणमा देशलाई उचित हुने भन्दाबाहेक अन्य कुनै पनि गतिविधिहरू सरकारले गर्न नहुने बताएका छन् । उनले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए साथै परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने समेत बताए ।

अध्यक्ष नेपालले भने – कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लाएका छौँ । त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन ।

त्रिविको पदाधिकारी कार्यालय सञ्चालनमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ ।

त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो ।

त्रिविका रजिस्ट्रार प्रा. डा. पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । ‘ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ’, उनले भने, ‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।’

तालाबन्दीका कारण त्रिविका पदाधिकारी कार्यालय आएर काम गर्न सकेका थिएनन् । उनले झन्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरुले जेठ २९ गते ताला खोलेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए ।

यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो ।

त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।

सरकारी नीतिका कारण २२ उद्योग बन्द हुने अवस्थामा

काठकमाडौं । उद्योगीहरुले सरकारको नीतिका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल स्टिल रोलिङ मिल्स एशोसिएशनले जनाएको छ । एशोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै एमएस बिलेट आयात गर्दा लाग्दै आएको भन्सार तथा अन्तशुल्क घटाउन आग्रह गरेको हो । सरकारले आर्थिक विधेयक २०७९ मार्फत एमएस बिलेट आयातमा लगाउँदै आएको अन्तशुल्क वृद्धि गरेको थियो ।

अर्थमन्त्री जनादर्न शर्माले यही जेठ १५ गते संसद्मा आगामी आर्र्थिक वर्षको बजेट सार्वजनिक गर्दै बिलेट आयातमा चार दशमलव ७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमै प्रति मेट्रिक टन रु तीन हजार ५०० अन्तशुल्क बनाइएको घोषणा गर्नुभएको थियो ।

उहाँले चालू आर्थिक वर्षमा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएर एमएस बिलेटमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क महसुल बढाउनुभएको थियो । अर्थमन्त्री शर्माले एमएस बिलेट आयातमा भन्सार दर चार दशमलव ७५ प्रतिशत र अन्तःशुल्क प्रतिमेट्रिकटन रु दुई हजार ५०० कायम गर्नुभएको थियो । चालू आर्थिक वर्षको तुलनामा उहाँले आगामी आर्थिक वर्षको बजेटमा अन्तःशुल्क महसुलमा प्रतिमेट्रिकटन रु एक हजारले वृद्धि गर्नुभएको हो ।

प्रतिस्थापन विधेयक ल्याउनुअघि आयत हुने बिलेटमा प्रति मेट्रिकटन रु एक हजार ६५० अन्तःशुल्क लाग्दै आएको थियो । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चापदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सारदर तथा अन्तःशुल्क शून्य गर्ने व्यवस्था गर्नुभएको थियो । त्यसलाई निरन्तरता दिँदै उहाँले स्पञ्ज आइरन आयातमा भन्सारदर एक प्रतिशत कायम गरेर अन्तःशुल्क शून्य बनाउनु भएको छ । सरकारले एकै प्रकृतिका उद्योगमा विभेदकारी कर नीति लागू गरेको एशोसिएशनले जनाएको छ । हाल सञ्चालनमा रहेका ३० डण्डी उद्योगमध्ये सरकारले बिना अध्ययन आठ उद्योग (स्पञ्ज आइरन उत्पादन गर्ने उद्योग) लाई मात्र फाइदा हुने गरी भन्सार तथा अन्तशुल्क महशुलमा छुट दिएको उद्योगीको भनाइ थियो ।

नेप्सेमा दोहोरो अंकको पहिराे, ९९ करोड ८६ लाख बराबरको कारोबार

काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार ३२ दशमलब ३४ विन्दुमा पुगेको हो । आज नेप्सेमा ९९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २९८.३० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.७० रुपैयाँ पुगेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था, एनएमबी फिफ्टी, ओरियन्टल होटल्स र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज ९ करोड एक लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

नक्कली कागजात पेश गरी छात्रवृत्ति दाबी गर्ने कर्मचारीका छोराछोरीको निवेदन रद्द

काठमाडौँ । निजामती कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झन्डै २ सय आवेदन रद्द भएका छन् ।

आवेदन रद्द भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालय श्रोतले जनाएको छ ।
छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीको लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पुगेका र योग्यता पुगेका ६ सय ९९ जना छनौट भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अस्वीकृत आवेदकलाई पनि १५ दिनभित्र उजुरी वा गुनासो दर्ता गर्न समय दिएको छ ।

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।

मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैंक एकापसमा गाभिएपछि सबैभन्दा ठूलो बैंक बन्नेछ । एकापसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहने बताइएको छ ।

आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । दुई बैंक एक आपसमा गाभिएपछि बन्ने बैंकको कूल चुक्तापूँजी रु ३२ अर्ब ८१ करोड हुनेछ ।

राजस्व छलीको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

यसरी मुद्दा दायर गरिएकाहरुमा अर्घाखाँची छत्रदेव २ स्थायी घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा रिब्दीकोट २ घर भई बुटवलको कारोबार हेर्ने शङ्कर प्रसाद आचार्य (मालिका ढुवानी सेवा), रुपन्देही सिद्धार्थनगर १ की रेखा जैसवाल (न्यु मनकामना सप्लायर्स) र भारत दिल्ली गान्धिनगर घर भई काठमाडौं १ मा बस्ने आशिष सिंह छन् ।

यी चारै जनालाई एक करोड ३८ लाख ५५ हजार रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गर्न विभागले माग गरेको छ ।

त्यस्तै जैसवाल, मियाँ र सिंहलाई थप ९ करोड २१ लाख ९५ हजार रुपैयाँ बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गरिएको छ ।

अध्यक्ष ओली र नारायणकाजीबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । माओवादी नेता श्रेष्ठले आइतबार करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर स्रोत बताउँछ । यो भेटका बारेमा दुवै पार्टीका संयन्त्रलाई पनि यसको जानकारी दिइएको थिएन् ।

वाम गठबन्धनको सम्भावनालाई नेकपा एमाले र माओवादी केन्द्रको संस्थापनले अस्वीकार गरिरहेका बेला प्रचण्डसँग पार्टीभित्र फरक मत राखिरहेका श्रेष्ठले भेट्नुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।

मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा दुवै नेता चिन्तित रहेको निकट स्रोतले जनाएको छ । श्रेष्ठ एमसीसीको व्याख्यात्मक घोषणासहित पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति रुष्ट छन् । चिनियाँहरूले माओवादीका वरिष्ठ नेता वर्षमान पुनमार्फत पनि पछिल्लो अवस्थाको बारेमा चासो राखेका स्रोत बताउँछ ।
यता,प्रधानमन्त्रीको अमेरिका भ्रमण र त्यसअघि भइरहेका अमेरिकी गतिविधिहरूलाई एमालेले जस्तै नारायणकाजी, देव गुरुङलगायतका नेताहरूले पनि असामान्य भन्दै सरकारको जवाफ मागेका छन् ।

सोमबार पुन एमालेका उपमहासचिव प्रदीप ज्ञवालीबीच गोप्य भेट भएको छ ।

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानविन समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा डा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताउनुभयो ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण अघिल्लो बर्षको प्रश्नपत्र दोहरिने गर्दछ ।

अबदेखि शेयर बजार ६ दिन खुल्ने, शुक्रबार १ बजे बन्द

काठमाडौं । अबदेखि शेयर बजार कारोबार हप्ताको ६ दिन नै सन्चालन हुने भएको छ ।

सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए ।

उनका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने भएको छ । शुक्रबार भने १ बजे बजार बन्द हुने भएको छ ।

लगानीकर्ताले कारोबार ६ दिन नै सन्चालन गर्न लामो समयदेखि माग गरिरहेका थिए । जेठ अगाडि भने आइतबारदेखि बिहीबारसम्म गरी कारोबार ५ दिन मात्र चल्ने गरेको थियो ।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो (आइतबार) को तुलनामा सोमबार तोलामा ३०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।

बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गरिने : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै नेताहरु सोमबार बिहान फेरि प्रधामन्त्रीलाई भेटन गएका हुन् ।

भेटमा आफूहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भनेर प्रधानमन्त्रीलाई सोधेको र प्रधानमन्त्रीले बजेट लगत्तै नागरिकतासम्बन्धी विधेक संसदबाट पारित गर्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिए । दलहरुबीचको किचलोका कारण नागरिकतासम्बन्धी विधेयक २०७५ भदौदेखि संसदमा अड्केको अड्क्यै छ ।

संसद्‌मा एमालेद्वारा बजेटको छलफल रोक्न ‘स्थगनको प्रस्ताव’ दर्ता (पत्रसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले जारी बजेटको छलफल रोक्न माग गदैं संसद्‌मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

संसदको कार्यसूचीको पहिलो नम्बरमा उक्त प्रस्तावलाई राखिएको छ ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्‌मा छलफल हुने भएको छ ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्‌मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

आइजिपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइका लागि इजलास तोकियो

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलास तोकिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

रिटको सुनुवाई आज सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा हुने भएको हो ।

यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।