युवा तथा खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् ।

रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।

रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त्री गहतराज रुस जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

रुस प्रस्थान गर्नुभन्दा अघि मन्त्री गहतराजले खेलकुद कूटनीति मार्फत् नेपाल–रुसको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताए ।

मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमासमेत छलफल हुने मन्त्री गहतराजले बताए । भ्रमणको क्रममा गहतराजले खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको मन्त्री गहतराजले बताए ।

कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक

काठमाडौँ । कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिले पाउने शैक्षिक प्रोत्साहन वृत्तिको सूची सार्वजनिक गरेको हो ।

शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आवेदकले पेस गरेको विवरण, कागजात सम्बन्धित कलेज र अभिभावकको कार्यालयले प्रमाणित गरेको कागजात, सम्बन्धित विश्वविद्यालयबाट प्राप्त विवरणसमेतका आधारमा इन्जिनियरिङ, मानविकी, सूचना प्रविधि, विज्ञान, कृषि विज्ञान, वन विज्ञान, चिकित्सा शास्त्र, व्यवस्थापन, कानुनलगायत सङ्कायमा गरी ६९९ जनाको सूची सार्वजनिक गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै १५ दिन भित्र आवेदन आह्वान गरेको थियो ।

जसपा र राजपा लोकतान्त्रिक बिच समाहित


जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा राजपा लोकतान्त्रिक समाहित भएको छ । जनकपुरमा आज आयोजित एक समारोहबीच जसपा अध्यक्ष यादव र राजपा लोकतान्त्रिकका अध्यक्ष रितेशकुमार सिंहले दुवै पार्टी एक भएको घोषणा गरेका छन् ।

सो समारोहमा अध्यक्ष यादवले अन्य मधेस केन्द्रित दललाई पनि एकताका लागि आह्वान गरे । उनले जनकपुरमै केहिदिन अगाडी लोसपालाई पनि एकताका लागि आह्वान गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत र जसपाका नेता कार्यकर्ताहरू सहभागी थिए ।

नेपाल र अमेरिकाबीचको क्रिकेट खेल बराबरीमा


आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन् । नेपालले दिएको २७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनको योगफल बनाएपछि खेल बराबरीमा सकिएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले ११४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन बनाए । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रन जोडे । नेपालका आदील अन्सारीले दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ विकेट लिए । अमेरिकालाई जितको लागि अन्तिम छ बलमा छ रन चाहिएको थियो तर नेपालका आदील अन्सारीले पाँच रन खर्चिदै खेललाई बराबरीमा ल्याए । निकै रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो ।

पाँचौ बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल बराबरीमा सकियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै आसिफ शेखले ६१ रन जोड्दा देव खनालले ५४ रन बनाए । आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रनमा आउट भए । कप्तान सन्दीपले १० रन बनाए । आरिफ शेख ८, दीपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ र सुशन भारीले १ बनाए ।

अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए भने अलि खान र सौरभ नेत्रभाल्करले २÷२ विकेट लिए । खेलमा आदील प्लेयर अफ द म्याच घोषित भए । उक्त सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मङ्गलबार खेल्नेछ ।

लाइन मर्मतका लागि तीन आयोजना बन्द


गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ ।प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत्गृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युत्गृहबाट विद्युत् उत्पादन स्वतः बन्द हुने छ ।
पहिराले मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली इआरएस जडान गरी गत वर्ष २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत्गृहबाट उत्पादित विद्युत् पनि बन्द हुने छ ।

करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने छ । आइतबार मध्यमस्र्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुने छ । आज आइतबार करिब साढे २०० मेगावाट मात्रै विद्युत् निर्यात हुने छ ।

आलु तथा मकैमा किराको समस्या


दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पुर्याएको छ । किराले आलु र मकैका पातलाई खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक–पटक गुनासो राख्दै आएका छन् ।

ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेकोे जानकारी दिनुभयो । उहाँले किरा नियन्त्रणका लागि गोडमेल गर्नुपर्ने,झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पुर्याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो । जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन् । बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौँलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन् । जिल्लामा गत वर्ष समेत आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पुर्याएको थियो ।

मधेशमा समृद्धिको आधार कृषि मुख्यमन्त्री


मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताउनुभएको छ । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बनाउन आवश्यक छ । प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको छ । समयमा मलखाद, बीउबिजन र सिँचाइको सुविधा पु¥याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने चर्चा गर्दै उहाँले मलखाद समयमा नपाएर किसानले खेतीका बेला बर्सेनि दुःख भोगिरहेका छन् ।

कृषि समृद्धिको मुख्य आधार भन्ने कुरामा सबै सहमत छौँ, तर मलखाद, बीउबिजन समयमा किसानलाई दिनसकेका छैनौँ, मुख्यमन्त्री राउतले भन्नुभयो, “सङ्घीय सरकारले समयमा कृषि सामग्री उपलब्ध गराउन नसकेपछि अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनपर्छ । कहिल्यै समयमा मलखादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने सङ्घीय सरकारको अड्डीले कृृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको उहाँको भनाइ छ । मुख्यमन्त्री राउतले मुलुकमै कृषि उद्योग स्थापनाका लागि लगानी बढाउने वातावरण सरकारले बनाउनुपर्ने उल्लेख गर्नुभयो । “मधेस सरकारले प्रदेशभित्र यस्ता उद्योग खोल्न चाहनेलाई २० वर्षसम्म कर नलिने र जग्गा लिजमा उपलब्ध गराउने कानुन नै बनाएको छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “तर सङ्घ र प्रदेश सरकारबीच यसको समन्वय नहुँदा उद्यमी उत्साही हुनसकेका छैनन् ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीप अभिवृद्धि र उद्यम स्थापनामा आफ्नो संस्था सहयोगी रहने प्रतिबद्धता जनाउनुभयो । सीप सिकाउने र युवालाई साना उद्यम सञ्चालन गर्न प्रेरित गर्ने कुरामा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्लामा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिँदै प्रत्येक स्थानीय तहमा स्थानीय सीप बढाउने नीति बनाउन कमर्सले अपिल गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधीर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपालका विमानस्थल हेर्न लायक बनाउँछु : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दो बनाइने बताउनुभएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अवधारणाअनुसार नव निर्मित वाटर फाउन्टेनको कार्यक्रममा उहाँले नेपालका विमानस्थलका थप विकास तथा विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउने खालका बनाइने बताउनुभयो ।“विमानस्थलकै बाटो भएर हजारौँ पर्यटक तथा यात्रु ओहोरदोहोर गर्छन्, तिनै विमानस्थल फोहर भए अवस्था के होला, नेपालका सबै विमानस्थलमा थप विकास तथा विस्तार गरी पर्यटकसहित यात्रु लोभिने खालका बनाउँनेछु ।
टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौ महिनाभित्र कामसक्ने वातावण मिलाउन आग्रह गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका भौतिक पूर्वाधारको निर्माणसँगै तिनीहरुको उचित सरसफाइदेखि व्यवस्थित बनाउनसमेत उहाँले आग्रह गर्नुभयो । आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्याससमेत गर्नुभएको छ । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि उक्त नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

एक वर्षमा काम सम्पन्न गरिसक्ने गरी कूल रु पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इञ्जिनीयरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिनुभयो । उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टी कन्ट्रक्सनले लिएको छ । भवन निर्माणपछि यात्रुलाई सहज हुने अपेक्षा लिइएको छ । आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङस्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइनेछ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो व्यागेज कन्भेयर बेल्ट दुईतर्फी व्याग लिन मिल्ने बेल्ट हुने भएको छ । फरक प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु २६ करोड रुपैयाँ मात्रै बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले उक्त विमानस्थल निर्माणका लागि रु एक खर्ब २० अर्बको अनुमान गरिएकाले बजेट पर्याप्त नभएको गुनासोसमेत गर्नुभयो । 

सोही प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।

जन्ममिति बढाएर वृद्धभत्ता लिने कारबाही गरिने

बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना दुबै हुने भएका छन् । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडा स्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताए। यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्तर्गत थप कारबाही हुने जनाइएको छ । यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन । उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

किसानलाइ मल उपलब्ध गराउन माग

खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद लक्ष्मीकुमारी चौधरीले अहिले अनलाइनका समयमा पनि विद्यार्थीलाई किताब दिन नसक्नु विडम्बनापूर्ण भएको र यसले राज्यको प्राथमिकतामा विद्यालय नपरेको शङ्का उब्जाएको भन्दै तत्काल समस्या समाधन गर्न माग गर्नुभयो । उहाँले किसानलाई मलखाद उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । सांसद लक्ष्मी परियारले विद्यार्थी पुस्तकविनै कहिलेसम्म विद्यालय धाउनुपर्ने भन्दै बालबालिकाले चाँडो किताब पाउने वातावरण बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सुनको मूल्य उच्च दरले वृद्धि


आइतबार सुनको मूल्य उच्च दर वृद्धि भएका छन् । जेठ २९ गते, सुन मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि महंगिएको छ ।यस दिन छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँ पुगेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ३०० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा झरेको थियो ।

साताको पहिलो दिन, चाँदीको भाउ महंगिएको छ । यस दिन चाादी तोलामा १५ रुपैयाँले बढेर प्रतिोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो

बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने


वाणिज्य बैंकहरुले आगामी महिना पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। अहिले ब्याजदर बढाउदा बैंकको लागत मात्रै बढ्ने त्यसले कुनै फाइदा नगर्ने देखिएकोले असार पनि ब्याजदर यथावत राख्ने सहमति भएको हो। पैंसा बढेको छैन्, लागत बढाएर फाइदा गर्दैन भनेर नबढाउने जस्तो कुरा भएका छन् नेपाल बैंकर्स एशोशियसनको अध्यक्ष अनिल उपाध्यले भने त्यसै आधारमा भोली एउटा सहमति गछौ। बैंकहरुले गत फागुन यता नै निक्षेपको ब्याजदर यथावत राख्दै आएका छन्। ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर नबढाउने पक्षमा देखिएका हुन्।अहिले ब्याजदर बढाउने अवस्था नदेखिएकोले यथार्थ बस्ने कुरा भएको उनले बताए।
फागुनदेखि नै बैंकहरुले मुद्दती निक्षेपमा ११।०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। आगामी महिना पनि बैंकहरुले यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

बैंकहरुले विगतमा निक्षेपमा बढाएको ब्याजदरले गर्दा उनीहरुको लागत निकै बढेको छ। यसले गर्दा आधार दर बढेर दोहोरो अंक नजिक पुगिसकेको छ। यसको असर बैंकहरुको कर्जाको ब्याजदरमा देखिन्छ। अहिले बैंकहरुको कर्जाको औसत ब्याजदर नै ११।४३ प्रतिशत पुगेको छ।

एमालेको प्रश्न प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण माथी


काठमाडौँ — प्रमुख प्रतिपक्षी दलले शेरबहादुर देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसद्‌मा जानकारी दिनुपर्ने माग गरेका छन् ।प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी नदिएको तथा भ्रमणको व्यवस्थापनमा दुवै देशका परराष्ट्र सम्बन्धसँग सम्बन्धित निकाय सक्रिय नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएकोप्रति पनि ज्ञवालीले आशंका व्यक्त गरेका छन् । यो भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपर्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय । भ्रमणको चाँजोपाँजो मिलाइरहेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले होस सेना त्यसमा जोडिएको छ, उनले भने, यसले गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ या रक्षामन्त्रीको हैसियतले रु रक्षामन्त्रीको हैसियतले हुँदैछ भने त्यसको विषयमा पनि सदनले थाहा पाउन जरुरी छ ।

देउवाको अमेरिका भ्रमणबारे र त्यहाँ हुने भनिएका सम्झौताको चर्चाले कतै नेपालको परराष्ट्र नीतिमा खलल पुग्ने हो कि भन्ने आशंका ज्ञवालीले जनाएका छन् । एकातिर परराष्ट्र मन्त्रालय र स्टेट डिपार्टमेन्ट भ्रमण व्यवस्थापनको फ्रन्टलाइनमा नहुनु । यसको चाँजोपाँचो रक्षा मन्त्रालय र अन्य खालका निकाय हुनु । अनि यस्ता विषयमा सहमति हुँदैछ भनेर चर्चा चल्नुले गम्भीर आंशका पैदा गरेको छ । नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन, उनले भने ।पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले सरकारले प्रमुख प्रतिपक्षीसँग अन्तर्राष्ट्रिय भ्रमण र सम्झौताबारे छलफल गर्न छाडेको बताए । उनले विगतमा यस्ता विषयमा राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने प्रचलन रहेकोमा त्यस्तो हुन नसकेको बताएका हुन् ।

ललितपुरको महालक्ष्मीमा पुण्य कर्मका निम्ति रक्तदान


ललितपुर ।हिजो शनिवार महालक्ष्मी एकता समाजको पहलमा बिश्व रक्तदाता दिवसको शुभ( अवसरमा महालक्ष्मी नगरपालीका वडा नं 3 स्थीत बोझेपोखरीको मन्दिर प्रांगणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।१ उक्त कार्यक्रम महालक्ष्मी नगरपालीका का उप प्रमुख लक्ष्मी महर्जन को प्रमुख आतिथ्यमा भएको थियो ।सो कार्यक्रममा महालक्ष्मी नगरपालिका १० वटै वडाका जनप्रतिनिधी हरुको सकृय सहभागीताले कार्यक्रम थप आकर्षक भएको थियो । संकलित रगत सर्वसाधारण जसको कुनै पहुँच छैन जसले रगत पाउदैन त्यस्ता वर्गलाई उपलब्ध गराउने उद्देश्यले गरिएको कार्यक्रम भएकोले सोचेको भन्दा सहभागी उल्लेख्य रहेको महालक्ष्मी न पा ९ लामाटारका बिनिता लामिछाने ले बताइन।कार्यक्रम नवराज श्रेष्ठ को अध्यक्षता मा भएको सो कार्यक्रम का संयोजक धन बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भने प्रविधिक सहयोगमा प्रस्तुति रक्त संचार केन्द्र थापाथलीबाट आउनु भएका टोलि सकृय रहेको थियो। ३११ जनाले सेवा भाबका साथ रक्तदान गर्न उपस्थीत भएपनि १६५ जनाको रगत लिन मिलेको अध्यक्ष श्रेष्ठले सम्पत्ति न्युजलाइ जानकारी दिनुभयो । उपस्थीत रगत दान गर्नुहुने वा दान गर्ने मनसायका साथ आउनु भएका महानुभावहरुलाई समाजको तर्फबाटअध्यक्ष श्रेष्ठले धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

विद्युत् तार ‘अन्डरग्राउन्ड’ डेढ वर्षभित्र बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ गरिने बताएका छन् काठमाडौं महानगर । प्रमुख शाहले आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताए । हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने उनले बताए छन् ।सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने उनले बताए ।