एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएका छन् । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’ को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलअन्तरले पराजित भएको हो । कुवेतको जितमा युसेफ अलसुलिमानले दुई गोल गरे भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे ।
खेलमा नेपालका दर्शन गुरुङले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४८औँ मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ७०औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।
यसैगरी खेलको ७३औँ मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरे पनि नेपाल ४–१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।
Month: February 2022
प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचीहरु
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू हुनेछ ।काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू हुनेछ ।
मन्त्री फेर्ने पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई खनालको दवाव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् ।
आज संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिएका हुन् ।
आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
उनले भने, ‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’
कोरोना नियन्त्रणमा प्रहरी अस्पतालले निर्वाह गरेको भूमिका सराहनीयः महानिरीक्षक सिंह
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले कोरोना सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले निर्वाह गरेकोे भूमिका सराहनीय रहेको बताउनुभएको छ ।
महानिरीक्षक सिंहले आज प्रहरी अस्पताल निरीक्षण गर्दै विगत ४० वर्षदेखि निरन्तररूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको यस अस्पतालले कोरोना सङ्क्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउँदै औषधिको गुणस्तर बढाउन, पारदर्शी सेवाप्रवाह गर्नका साथै कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अस्पतालका मेडिकल निर्देशक डा आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्दतिलाई अङ्गीकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेको बताउनुभयो ।
अभिनेता सलमान खानमाथि हत्याको प्रयास
काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् ।
टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् ।
सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।
यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
तीन जना व्यक्ति उक्त पत्र पुर्याउन राजस्थानदेखि मुम्बई पुगेको समेत प्रहरीले जनाएको छ । ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेलसँगको सोधपुछमा यो कुराको खुलासा भएको उल्लेख छ ।
ती तीन जनालाई पहिचान भइसकेको र पक्राउको तयारी भइरहेको समेत मुम्बई प्रहरीले जनाएको छ ।
नेपाल भित्रने रेमिट्यान्समा वृद्धि
काठमाडौँ । नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आथिक वर्ष २०७७–७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आएर ६ अर्ब ७६ करोड कायम भएको छ ।
१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा
काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ ।
कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई रु १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।
अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।
उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार , फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।
भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । रु ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा रु ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।
समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ ।
सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू) को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।
चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल ९भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल० को निर्यात कूल निर्यातमा ५०.५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कूल निर्यात रु ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६.१६, २१.८९ र २.४८ प्रतिशत छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९.५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको निर्यातमा १८.२३ प्रतिशतले ह्रास आई रु दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३.१२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९.१३ प्रतिशत पुगेको छ ।
नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।
चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१.१ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा रु दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३.८, मेशिनरी तथा पार्टस्को आयातमा २२.१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५.२ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा औषधीको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना, अष्टे«लिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा टर्कीबाट प्रमुखरुपमा वस्तु आयात हुने गरेको छ ।
चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्यरुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४.९ प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।
नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रममा पनि गिरावट
काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.६४ अंकले घटेर २ हजार ४८ दशमलव १६ बिन्दुमा पुगेको हो । आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज ८९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । बिहिबार नेप्सेमा एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा ग्रीन भेञ्चर लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । ग्रीन भेञ्चर लिमिटेडको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.६० रुपैयाँ पुगेको छ । त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८२९.६० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २७१.२० रुपैयाँ पुगेको छ ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था र युनलिभर नेवपाल कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ५ करोड ५ लाख भन्दा बढीको कारोबार भएको नेस्सेले बताएको छ ।
टेलिकमका चार हजार कर्मचारी प्रतिनिधि सञ्चालक सदस्यका लागि मतदान जारी
काठमाडौँ । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ ।
कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा वीरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेशकुमार कर्ण, यादवप्रसाद पनेरु, रञ्जित लोहिया, शङ्कर लामिछाने, सुनिलकुमार मिश्र र सुभाष साहले उम्मेदवारी दिएका छन् ।
लामिछानेलाई नेपाल टेलिकम वर्कस युनियनको समर्थन रहेको छ भने पनेरुलाई नेपाल दूरसञ्चार कर्मचारी सङ्घको समर्थन रहेको छ । तीन हजार ८०० भन्दा बढी कर्मचारी मतदाता रहेको निर्वाचन सात वटै प्रदेशबाट भइरहेको छ ।
राजधानी उपत्यकाका तीन स्थान काठमाडौँको भद्रकालीप्लाजास्थित टेलिकमको केन्द्रीय कार्यालय परिसर, ललितपुरको पाटन र भक्तपुरको गठ्ठाघरमा मतदान भइरहेको छ । त्यस्तै उपत्यका बाहिरका सम्बन्धित प्रदेशस्थित कार्यालयमा मतदान प्रक्रिया भइरहेको टेलिकमले जनाएको छ ।
टेलिकमको आठ सदस्यीय सञ्चालक समितिमा कर्मचारीकातर्फबाट एक, शेयर होल्डरमध्येबाट एक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट दुई, अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्रालयबाट समान एक-एक र टेलिकमको प्रबन्ध निर्देशकको प्रतिनिधित्व रहने व्यवस्था छ ।
सञ्चार मन्त्रालयका सचिव टेलिकम सञ्चालक समितिको अध्यक्ष रहन्छन् । टेलिकमभित्र तीन कर्मचारी सङ्गठन सक्रिय छन् । उम्मेदवारमध्ये लामिछाने र पनेरु बलियो प्रतिस्पर्धी रहेको बताइएको छ ।
प्रधानमन्त्रीद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठकमा नै सांसदहरुले मिटर व्याजीलाई पक्रउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
लमजुङ कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई
लजुङ । लमजुङ कारागार बेसीसहरको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै फिर्ता भएको हो ।
दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । सेना फिर्ता भएसँगै हाल कारागार निगरानीको जिम्मा पुनः नेपाल प्रहरीले लिएको छ ।
तत्कालीन समयमा कोरोना संक्रमण जोखिम बढेसँगै भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले सरकारको निर्णयअनुरूप कारागार सुरक्षाका लागि सेनालाई दिइएको थियो । लमजुङबाहेक अन्यत्र जिल्लामा पनि नेपाली सेनाले कारागार निगरानीको जिम्मा लिएको थियो ।
अन्यत्र जिल्लाका कारागारबाट केही महिनाअघि नै सेना फिर्ता भए पनि लमजुङमा भने स्थानीय तह निर्वाचनको समयसम्म सेनालेनै जिम्मा लिएको थियो । स्थानीय चुनावका बेला प्रहरी परिचालन गर्नुपर्ने भएकाले सुरक्षा समितिले चुनाव अवधिसम्म कारागारको निगरानी सेनाले नै गर्ने निर्णय गरेको थियो । चुनाव सम्पन्न भएसँगै सुरक्षा समितिको निर्णयबमोजिम कारागारबाट सेना फिर्ता भएको सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
कारागार निगरानीको जिम्मा नेपाली सेनाले लिने निर्णय भएसँगै तत्कालीन समयमा बेसीसहरको उदिपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट खटिएका नेपाली सेनाले कारागारको निगरानी गर्दै आएका थिए । केही महिनाअघिमात्रै श्रीजंग गणको सरुवा भएसँगै जिल्लामा आएको चण्डिप्रसाद गणले कारागारको निगरानी गर्दै आएको थियो ।
जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कारागारको बाहिरी सुरक्षा सेनाले गर्दै आए पनि आन्तरिक व्यवस्थापन र अत्यावश्यक काम भने प्रहरीले नै गर्दै आएको थियो । सेनाको निगरानीमा रहेका बेला पनि कारागारमा रहेका कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने काम प्रहरीले नै गर्दै आएको हो । ३५ जनाको क्षमता रहेको जिल्ला कारगारमा हाल सात महिला र ९३ जना पुरुष गरी एक सयजना कैदीबन्दी छन् ।
जिप दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । ११ जना घाइते भएका छन् ।
जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
आज मध्यरातदेखि ३६४ मेगावाट विद्युत् भारत जाने, विद्युत् व्यापारमा नयाँ फड्को
काठमाडौँ । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्यमा हिसाब गर्दा रु पाँच अर्ब बराबर थियो ।
यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन । सरकारको सार्थक प्रयासका कारण यस वर्ष प्राधिकरणले बिजुली जगेडामा राख्नुपरेको छैन । आफ्ना विद्युत् उत्पादनगृह बन्द गरेर निजी क्षेत्रको बिजुली खरिद गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।
गत वर्ष प्राधिकरणले अर्धजलाशय प्रकृतिका आयोजनाको उत्पादन बन्द गरेर निजी क्षेत्रका आयोजनाबाट बिजुली खरिद गर्नैपर्ने बाध्यताका कारण समस्या भोग्नुपरेको थियो । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नियमित पहल र प्राधिकरणको प्राविधिक तथा अन्य तयारीका कारण सार्थक सफलता प्राप्त भएको छ ।
निर्यातका लागि प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट बराबरको बिजुली आजदेखि भारत निर्यात सुरु भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् यही जेठ १९ गतेदेखि भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।
आजदेखि निजी क्षेत्रको ग्रिन भेन्चर्सकोे लिखु–४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।
पानी परेसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि कोशेढुङ्गा भएको जानकारी दिनुभयो ।
“स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ, यो दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत् निर्यात गरिरहेको उहाँले बताउनुभयो । यसबाट मुलुकभित्र उत्पादित विद्युत् बिक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ । आगामी दिनमा थप विद्युत् निर्यातका लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसको नतिजा छिट्टै देखिनेमा आशावादी रहेको उहाँको भनाइ छ । उहाँले दुई मुलुकबीचको विद्युत् व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिनुभयो । आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
प्राधिकरणले शुक्रबारका लागि विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) रहेको छ । भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।
विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ । प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन( ले गर्छ । एनभिभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।
मुलुकको प्रणालीमा कूल दुई हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार हाल कूल आन्तरिक माग एक हजार ६३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ ।
चालु आवमा कूल ६२१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कूल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरिएको छ । हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ ।
भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।
पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले कूल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई वर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ ।
नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयवासीले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वोच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुन नसक्दा नेपालले बिजुली निर्यात गरेको खबर सुनेका पश्चिम नेपालका नागरिक भने खुसी हुनसकेका छैनन् ।
स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्न
काठमाडौं । स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्न भएको छ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल इन्जिनियरिङ फिर्म्स (स्केफ) नेपालले निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसाय विकास परिषद्को सहयोगमा पुल डिजाइसम्बन्धी तालिम सम्पन्न भएको हो ।
स्वीस सरकारको प्राविधिक सहयोगमा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग ईकाइ अन्तर्गतको मोटरेबल स्थानीय सडक तथा पुल आयोजनाको प्राविधिक सहयोगमा पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न भएको जनाइएको छ ।
यो तालिम पुल डिजाइन, निर्माण र सुपरिवेक्षण संलग्न हुन चाहाने तर खासै विशेशज्ञता नभएका सुरुवाती ज्ञान हासिल गर्न चाहाने ईन्जिनियरहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो ।
यसै क्रममा स्केफ नेपाल र एलआरबीएसयूबीच नेपाली इन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको लागि निरन्तर रुपमा यस्ता खालका तालिमहरु आयोजना गर्न सहमति पत्रमा हस्ताक्षरसमेत गरिएको छ । उक्त सहमति पत्रमा स्केफ, नेपालका महासचिव ई.कमल कार्की र एलआरबीएसयूका टिम लिडर ई. सकिल मानन्धरले हस्ताक्षर गरेका हुन् ।
प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो । अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।