तीर्थयात्री सवार बस दुर्घटनामा २६ जनाको मृत्यु

एजेन्सी । तीर्थयात्री सवार बस दुर्घटना भएको छ । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके -०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको हो । जसमा मध्ये प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

दुर्घटनामा २६ जनाको मृत्यु भएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई जनाएका छन् । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको छ । उत्तराखण्डका मुख्यमन्त्रीले प्रकोप नियन्त्रण कक्षबाट उद्धार कार्यको निगरानी गरिरहेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार राति देहरादून पुगेका छन् ।

पुरालाका एसएचओ अशोक कुमारले भने–गहिरो खाडल र अन्धकारका कारण शव सडकसम्म लैजान समस्या भएको छ । उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको एजेन्सीले जनाएको छ ।

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम सार्वजनिक गर्यो


काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीको नाम टंगो लगाएका छन् ।
आइतबार बसेको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीको नामसमेत टुंगो लगाएका छन् । सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने भएको छ । भवानी यसअधि स्वास्थ्य राज्यमन्त्री थिए । यसपटक उनी फूल मन्त्री हुने भएका छन् –
हाल, एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी भइ सचिवालय समितिले नयाँ मन्त्रीको नाम टुंगो लगाएसँगै एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको छ ।

देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । २ हजार ६३४ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज ९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ११० पुगेको छ ।
यसैगरी, आज ११ हजार ९७३ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राजधानीमा फोहर नउठ्दा नदी बने प्रदूषित

काठमाडौँ । राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ । राजधानीमा विगत चार महिनादेखि फोहरको नियमित व्यवस्थापन हुन सकेका छैन । फोहर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित हुदैगएका छन् । मानिस दैनिक फोहरको थुप्रो पार गरेर सङ्घीय राजधानी काठमाडौँमा यात्रा गर्न बाध्य छन् । राजधानीका जम्मा भएको फोहरमध्ये धेरैजसो काठमाडाै‌‌‌ उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक जग्गामा थुपारिएको छ ।

यसरी थुपारिएको फोहर सिधै नदीमा मिसिने गरेको वातावरणका विषयमा अनुसन्धानमा लाग्नुभएका गोदावरीका अशोक महर्जन बताउनुहुन्छ । पछिल्लो समय राजधानीको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राखी स्थानीयवासीले लैजान नदिएपछि राजधानी दुर्गन्धित बनेको छ । सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहर थुप्रिएको छ । मास्क लगाएका मानिस पनि फोहरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ ।

सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थलमा फोहर गर्नेलाई कानूनी कारबाहीको दायरमा नल्याएसम्म फोहरको समस्या समाधान हुँदैन । पछिल्लो समय अभियानकर्मीले फोहर फाल्नेलाई कानुनी कारवाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन् । वाग्मती सफाइ महाअभियानको ४७३ औँ हप्तामा पनि नदी किनारमै फोहर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी रहेका छन् । फोहर नउठे पनि वाग्मती सफाइ महाअभियानले शनिबार ४७३औँ हप्ताको सफाइ कार्यक्रम जारी राख्यो । सफाइबाट चार मेट्रिक टन फोहर उठाइएको छ ।
उठाइएको फोहर लिन काठमाडौँ महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहर कार्यालयनजिकको खाली ठाउँमा राखिएको छ । कुहिने फोहर भने नदी किनारमै छोड्ने गरिएकाले एकपटक जम्मा गरिएको फोहर व्यवस्थापन गर्न नपाउँदा फेरि नदीमै मिसिन थालेको छ । फोहर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीकै भनाइ छ । तैपनि अभियानकर्मी शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ नदी सफाइमा सक्रिय हुँदै आएका छन् ।

नदी किनारबाट फोहर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहनुभएका सफाइ अभियानकर्मी डा माला खरेल जानकारी दिनुहुन्छ । यसबीचमा केही समयमात्र फोहर उठेको छ । टिपेको फोहर व्यवस्थापन नहुँदा हिँड्दैछ पाइला मेट्दैछ भने झैँ नदी फेरि प्रदूषित हुनेक्रम चलिरहेको छ ।महाअभियानले सफाइका क्रममा जम्मा भएको नकुहिने फोहर व्यवस्थापन गरे पनि राजधानीवासीका घर घरमा जम्मा भएको फोहर नदी किनारमा थुपारिरहँदा नदीमा जति सफाइ गरे पनि फोहरमुक्त बनाउन नसकिने अवस्थामा पुगेको अभियानकर्मी खरेल सुनाउनुहुन्छ । शनिबार सिनामङ्गलको गुह्येश्वरी माध्यमिक विद्यालय परिसरअघिको नदी किनारमा गरिएको सफाइमा सयौँ अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले राससलाई बताउनुहुन्छ ।

सफाइका क्रममा नदी किनारमा उम्रिएको झाडी फँडानी गर्नाका साथै घरदैलो गरी चेतना जागरण पनि गरिएको उहाँको भनाइ छ । जतिपटक आम मानिसमा जागरण फैलाए पनि फोहरलाई राजधानीवासीले वर्गीकरण नगर्दा पनि व्यवस्थापनमा समस्या आउने गरेको छ । कुहिने फोहरलाई घरमै जैविक मल बनाएर कौसीमा तरकारी खेती गर्न सकिने भए पनि धेरैको यसतर्फ ध्यान जान सकेको छैन ।

नौ वर्षदेखि वाग्मतीलगायत राजधानीका नदी सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन ।महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी पनि सफाइ अभियान पनि सुरु गरिएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ । राजधानीमा जति स्थानमा सफाइ भए पनि फोहर व्यवस्थापन नहुँदा अभियानबाट केही हुन नसकेजस्तो सन्देश गएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । गुह्येश्वरीमाथिको वाग्मतीलगायत यसका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ अभियान चलिरहेको जनाइएको छ । 

ललितपुरको गोदावरी र भक्तपुरको हनुमन्ते खोलामा पनि सफाइ अभियान जारी छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको भने हुनुपर्नेजति सहयोग भएको छैन । फोहर व्यवस्थापन गर्नु स्थानीय सरकारकै दायित्व भएपनि यसमा रुचि देखाइएको छैन । देशको राजधानी काठमाडौँ उपत्यकामा चार महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक शहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ । यसले पर्यटन व्यवसाय धराशायी बन्ने चिन्ता बढाएको छ ।
पछिल्लो समय पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहर व्यवस्थापनमा समस्या आएको गुनासो बढ्न थालेको छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन् ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका थिए ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेनन् ।स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ ।महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह पछिल्लो समय फोहर व्यवस्थापनका समस्या समाधानका लागि लाग्नुभएको छ । फोहर समस्या समाधान गरेर देखाउने उहाँको प्रतिबद्धता छ । यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका थिए । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउनुहुन्छ । दललाई तिनका प्रतिबद्धता सम्झाउन सचेत नागरिकले दबाबमूलक अभियान जारी राख्नुपर्ने उहाँको भनाइ छ । महानगर प्रमुख शाहले भने फोहर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुभएको र पहिलो कार्यपलिकाको बैठकदेखिकै बहसले देखाएका छन् ।

एकीकृत समाजवादी आफ्ना मन्त्रीहरुप्रती कठोर बन्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीबाट सङ्घीय सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको छ । पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको हाे । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ ।

मन्त्रीहरू हेरफेर गर्ने वा नगर्ने शीर्ष नेताहरूसँग छलफल गरेर अध्यक्ष माधवकुमार नेपालले नै निर्णय गर्ने उपमहासचिव विजय पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रीहरूलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको थियो ।

‘हामीले छ महिनाका लागि भनेर मन्त्रीहरू पठाएका थियौँ । छ महिनाभन्दा बढी भइसक्यो । मन्त्रीहरूसँग बसेर यसबारे छलफल गर्छौँ,’ सचिवालय बैठकपछि आज उनले पत्रकारहरूसँग भने, ‘शीर्ष नेताका बीचमा समझदारी भएर उपयुक्त ठानेमा अध्यक्षले आवश्यक निर्णय लिनुहुन्छ ।’

पार्टीले मन्त्री हेरफेरको निर्णय गरेमा मन्त्रीहरूले निर्णय मान्नुपर्ने उनले बताए । ‘पार्टीले उहाँहरूलाई फिर्ता गर्न चाह्यो भने स्वभाविक रूपमा लिनुपर्दछ,’ उनले भने, ‘हाम्रा सबै मन्त्रीले यो निर्णय स्वभाविक रूपमा लिनुहुन्छ ।’

प्राइम कमर्सियल बैंकले पाँच अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गर्न लागेको हो ।

प्रतिकित्ता रू. एक हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

यो ऋणपत्रमा सामूहिक लगानीकोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा असार १४ गतेसम्म विक्री खुला हुने बैंकको भनाई छ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकको यो ऋणपत्रलाई केयर रेटिङग नेपालले समयमै दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व क्षमता औसत रहेको समेत संकेत गर्दछ ।

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाको निधन

चितवन । एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाको निधन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।

चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कँदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिएका छन् ।

गएको आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो । त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जङ्गली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट १०० रुपैयाँ उठाइने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ ।

माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका अलावा हालै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो । माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको भ्रातृ सङ्गठन अखिल९क्रान्तिकारी० भित्र देखिएको केही असन्तुष्टिका बारेसमेत छलफल भएको थियो ।

गत पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । त्यसबारेमा पनि बैठकमा सामान्य चर्चा परिचर्चा भएको बताइएको छ । पदाधिकारी छिट्टै टुङ्गोमा पु¥याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ ।

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

काठमाडौँ । तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै ।

सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा रु ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण रु १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन । तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो । कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको मात्रा कम छ भने बाह्य ऋणको मात्रा बढी छ । रु आठ खर्ब ६३ अर्ब १९ करोड आन्तरिक हो भने रु नौ खर्ब ८४ अर्ब ९९ करोड भने विभिन्न दातृ निकाय र बहुपक्षीय निकायले नेपाललाई उपलब्ध गराएको ऋण हो ।

गत वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण रु १७ खर्ब ३७ अर्ब ६४ करोड बराबर थियो । सरकारले फागुन मसान्तसम्म थप रु ८९ अर्ब ५० करोड आन्तरिक ऋण लिएको छ र यस्तै, अनुदान र ऋण गरी बाह्य सहायता रु ४७ अर्ब ९४ करोड लिएको छ ।

पछिल्लो तीन वर्षमा मुलुकको ऋणभार दोब्बरले बढेको देखिन्छ । विवरणअनुसार २०७४ को फागुनमा सरकारको कूल ऋण रु आठ खर्ब ४३ अर्ब रहेकोमा ०७७ फागुनसम्म त्यो बढेर रु १५ खर्ब ८९ अर्ब ४६ करोड बराबर पुगेको थियो ।

त्यसपछि पनि लगातार सार्वजनिक ऋणको मात्रामा वृद्धि भएको देखिन्छ । सरकारको सार्वजनिक ऋणको मात्रामा क्रमशः वृद्धि हुँदै गएपछि बजेटमा नै वित्तीय व्यवस्थाअन्तर्गतको शीर्षकमा समेत क्रमशः बजेट वृद्धि हुँदै गरेको विवरणबाट देखिन्छ ।

यही जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत बराबरको बजेट विनियोजन गरिएको छ ।

चालू आवमा रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म रु ८२ अर्ब ४८ करोड २३ लाख बराबरको रकम भुक्तानी गरिसकिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल लक्ष्यका हालसम्म ४३ दशमलव ५४ प्रतिशत भुक्तानी गरिएको छ । सरकारको लक्ष्यअनुसार वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२ दशमलव ७ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

चालू आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८ दशमलव ६ प्रतिशत हुने संशोधित अनुमान सरकारको छ । कुल सरकारी खर्च मध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१ दशमलव २ प्रतिशत, पुँजीगत खर्च रु तीन तीन खर्ब नौ करोड अर्थात् ७९ दशमलव ४ प्रतिशत हुने सरकारको अनुमान छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट रु ५५ अर्ब ४६ करोड व्यहोर्दा रु चार खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब ४२ अर्ब २६ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद रु दुई खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने गरी प्रबन्ध गरिएको छ ।

यसबाट पनि सार्वजनिक ऋणको मात्रामा बढोत्तरी हुने नै देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७६ मा रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख बराबर बजेट वित्तीय व्यवस्थाका लागि विनियोजन भएको थियो ।

त्यस्तै २०७७ मा रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख बराबरको जोहो गरिएको थियो । त्यस्तै २०७८ मा रु एक खर्ब ७२ अर्ब ७८ करोड बराबर वित्तीय व्यवस्थाका लागि राखिएपनि रु एक खर्ब ९७ करोड अर्थात् ५८ दशमलव ४४ प्रतिशत बराबरको दायित्व भुक्तानी गरेको थियो ।

सरकारले आन्तरिक तथा बाह्य क्षेत्रबाट लिएको ऋणको साँवा तथा व्याज भुक्तानी गर्ने समयसीमा निर्धारण गरिएको हुन्छ । सोही आधारमा नै सरकारले बजेटमा वित्तीय व्यवस्थाको शीर्षक नै राखेको हुन्छ ।

महालेखा नियन्त्रक सुमनराज अर्यालका अनुसार यो सरकारको नियमित काम भित्रै पर्ने विषय हो । “सरकारले आन्तरिकरुपमा उठाएको ऋण तथा बाह्य क्षेत्रसँग लिएको ऋणको साँवा वा ब्याजको भुक्तानीका लागि निर्धारण गरिएको समयभित्रै तिर्नुपर्ने भएकाले वित्तीय व्यवस्थामा यस खालको प्रबन्ध गरिएको हो । यो नियमित काम हो”, अर्यालले भन्नुभयो ।

व्यक्तिगतरुपमा लिइएको कर्जाको साँवा र ब्याज भुक्तानीका लागि समयसीमा निर्धारण भएजस्तै सरकारको पनि सोही आधारमा समय निर्धारण भएको हुन्छ । यद्यपि, यसले सरकारको दायित्व क्रमशः बढिरहेको देखिन्छ । देशको कूल गार्हस्थ्य उत्पादन ९जिडीपी० रु ४८ खर्ब माथि पुगेका सन्दर्भमा सार्वजनिक ऋणको दायित्व बढाउने वा नबढाउने भन्नेमा पनि जिज्ञासा छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालू आवमा ३५ दशमलव ६४ प्रतिशत बराबरको वैदेशिक सहायता लिइएकामा आगामी आवमा ३० दशमलव ८७ मा झारेको यसअघि नै सार्वजनिकरुपमा जानकारी दिनुभएको छ ।

उहाँले आयोजनाका आधारमा मात्रै वैदेशिक सहायता र ऋण लिने प्रणालीको विकास गर्न खोजिएको समेत उल्लेख गर्नुभएको छ । आमरुपमा विदेशी ऋण बढाउनेभन्दा पनि आयोजनालाई केन्द्रमा राखेर ऋण लिने र सोही आयोजनाले नै तिर्ने प्रबन्ध गर्न लागिएको उहाँको भनाइ छ ।

रगतको मृल्यवृद्धि, प्रतियुनिट कति ?

काठमाडौं । सरकारले रगतको मुल्य बृद्धि गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मुल्यबारे पत्र पठाएर जानकारी दिएको हो ।

जनस्वास्थ्य प्रयोगशालाको अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १६ सय ४० सम्म कायम गरेको हो । अहिलेसम्म प्रतियुनिट रगतको मुल्य ५२५ रुपैयाँ रहेको थियो ।

नयाँ मुल्य अनुसार यसअघि ८० रुपैयाँ पर्ने ब्लड ब्यागको १५० रुपैयाँ पर्ने देखिन्छ । त्यस्तै, ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेलाई १०० रुपैयाँ बनाइएको हो ।

विश्व वातावरण दिवसमा ‘डोको डस्बिन’ वितरण

काठमाडौं । विश्व वातावरण दिवसका अवसर पारेर आज मेचीनगर–१० धुलाबारीमा शुभारम्भ अभियानले ‘डोको डस्बिन’ वितरण गरेको छ । वातावरण स्वच्छ र धुलाबारी बजारलाई सफा बनाउने उद्देश्यले अभियानले डोको डस्बिन वितरण गरेको हो ।

धुलाबारी चोक बजारका पसलबाट निस्कने फोहरमैलालाई व्यवस्थापन गर्ने उद्देश्यले अभियानले पसल अगाडि डोकोको डस्बिन राखिदिएको छ । यसअघि पनि अभियानले धुलाबारी बजारलाई हरियाली बनाउने उद्देश्यले प्रत्येक पसल अगाडि गमलामा थुपीको बिरुवा रोपनकार्य गरेको थियो ।

अभियानका अध्यक्ष केपी शिवाकोटीले सो डस्बिन खरिदका लागि कर्णाली बचत तथा ऋण सहकारी संस्था र ज्योति विकास बैंकले सहयोग गरेको बताउनुभयो ।

यसैगरी, थोप्लेविरान सामुदायिक वनले आजै विभिन्न जातका तीन हजार बिरुवा रोपन गरेको छ । सामुदायिक वन परिसरमा उपभोक्ता स्वयम् उपस्थिति भएर सो बिरुवा रोपिएको हो ।

महानगरप्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले राससलाई जानकारी दिनुभयो ।

यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

अबको चार दिनभित्र नेपालमा मनसुन प्रवेश गर्ने

काठमाडौं । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ ।

उहाँले भन्नुभयो, “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।”प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताउनुभयो । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

दोलखामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको निधन

दोलखा । गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ । चरीकोट -जिरी सडकखण्ड अन्तर्गत गौरिशंकरवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको हो ।

भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी र चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताएका छन् ।

सर्वोच्चले लुकायो निजगढ विमानस्थल निर्माणमा रोक लगाउने आदेश

काठमाडौं । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक्षिप्त आदेश लुकाएको छ ।

‘राष्ट्रको महत्वपुर्ण आदेशका बारेमा जानकारी लिनका लागि मैलेसमेत पटक पटक खोजी गरें । तर, पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेशसम्म फेला पार्न सकिनँ,’ सूचना हकका अभियन्ता तारानाथ दाहालले भने, ‘यस्तो महत्वपूर्ण र सर्वाधिक चासोको फैसला सार्वजनिक नगर्नुको कारण मैलेसमेत बुझ्न सकेको छैन ।’

उनका अनुसार प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सदाका लागि निर्माण रोक लगाउने आदेश विवादित भएपछि न्यायाधीशहरूले आदेशको संक्षिप्त र पूर्ण दुवै पाठ सार्वजनिक गर्न नसकेका हुन सक्छन् ।

सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले विमानस्थल निर्माणमा सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरेको थियो ।

गत १२ जेठमा सरकारका निर्णय बदर गर्दै वैकल्पिक स्थान खोज्न दिएको आदेशका बारेमा पक्ष/विपक्षमा बहस भइरहेका बेला सर्वोच्चले संक्षिप्त आदेश १० दिन नाघिसक्दा पनि सार्वजनिक गर्न सकेको छैन ।

‘निजगढ विमानस्थल निर्माणमा रोक लगाउने निर्णयका बारेमा श्रीमानहरूले मौखिक आदेश दिनुभएको छ । तर, त्यसको संक्षिप्त आदेश अझै सार्वजनिक भएको छैन,’ सर्वोच्चका प्रवक्ता बिमल पौडेलले भने, ‘श्रीमानहरूले आदेश सार्वजनिक गर्न नभनेसम्म हामीले पनि गर्न सक्ने कुरा भएन । सायद आदेशको संक्षिप्त र पूर्ण पाठ चाँडै सार्वजनिक होला ।’

सो मुद्दाका बारेमा सर्वोच्चका न्यायाधीशहरूले एकै पटक सार्वजनिक गर्न निर्देशन दिने अपेक्षा प्रवक्ता पौडलले गरेका छन् ।

न्यायाधीशहरूको सो आदेश लगत्तै पक्ष र विपक्षमा बहस सुरु भएपछि सर्वोच्च संक्षिप्त आदेशसम्म सार्वजनिक गर्न हच्किएको हुन सक्ने नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईको अनुमान छ ।

‘यस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको मुद्दाको संक्षिप्त आदेश त तत्कालै सार्वजनिक गर्नुपर्ने हो । तर, अहिलेसम्म नभएको देख्दा म स्वयं आश्चर्यमा परेको छ,’ भट्टराईले भने, ‘सायद सरकारले कस्तो एक्सन लिन्छ भन्ने कारणले पनि सार्वजनिक नगरिएको हुनसक्छ रु’

समयमा नै आदेश सार्वजनिक गरेर पारदर्शीता देखाउनु पर्नेमा सर्वोच्चको ढिलाइले शंका उब्जाउने भट्टराईको टिप्पणी छ ।