पनौतीमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पनौती । गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । बनेपा सडकखण्ड अन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे हाे ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

यस्तो छ सुनचाँदीको बजार मूल्य

काठमाडौं । आइतबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ ।

कर्मचारीको मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन जारी गर्नुपर्ने

विराटनगर । नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।

दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता रहेको थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र २०७९ जारी गरिएको छ ।
सङ्घीय सरकारले कर्मचारी मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन छिट्टै जारी गर्नुपर्ने, नेपाल निजामती कर्मचारी युनियनले दिएको सुझावअनुरुप सबै सेवा समूहका सम्पूर्ण कर्मचारीको भावनाको कदर गरी प्रदेश निजामती सेवा ऐन जारी गराउन दबावमूलक अभियान सञ्चालन गरिने, सबै सेवा समूहका कर्मचारीलाई सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था गर्न पहल गर्ने, कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पूर्वानुमानयोग्य बनाउन चक्रिय प्रणाली व्यवस्था गर्नुपर्ने, कर्मचारी स्वेच्छिक अवकाश योजना पुनःकार्यान्वयमा ल्याउनुपर्ने, विनाधितो नेपाल सरकारले छुट्टै कोषको व्यवस्था गरी शून्य प्रतिशत ब्याजदरमा ५० लाखसम्मको सहुलियत ऋणको व्यवस्था हुनुपर्ने, कर्मचारीलाई न्यूनतमरुपमा मर्यादित जीवन निर्वाह गर्न पुग्नेगरी तलबभत्ताको व्यवस्था गर्नुपर्ने तथा तलब भत्ता स्वचालित रुपमा वृद्धि हुने प्रणाली ऐनमा नै उल्लेख हुनुपर्ने जस्ता बुँदा घोषणापत्रमा उल्लेख छन् ।

सोही अवसरमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले निजामती कर्मचारी ऐन नआएका कारण प्रदेश र स्थानीय तहले धेरै समस्या खेप्नुपरेको बताउँदै सरकारले यो ऐन छिट्टै ल्याउनुपर्नेमा जोड दिए ।

उनले निजामती कर्मचारी ऐन नआएमा आगामी भदौ २० गते मनाउने निजामती कर्मचारी दिवस नमनाउने भन्दै कर्मचारीको मनोबल एवं उत्साह बढाउन कर्मचारीको मागमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल सरकारले १७८ मेगावाट बिजुली भारतलाई बेच्न थाल्यो

काठमाडौँ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७‍‍‍.७ मेगावाट बिजुली भारतलाई बेच्ने भएको छ ।

नेपालले गत बुधबार रातिबाट त्रिशूली र देवीघाट जलविद्युत आयोजनाको करिब ३९ मेगावाट बिजुली भारतमा बेच्न थालेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिएका छन् ।
नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गत वर्ष कात्तिकमा अनुमति पाएको थियो । गत वर्ष त्रिशूली र देवीघाट जलविद्युत आयोजनाको मात्रै बिजुली भारतले किनेकोमा अहिले मर्स्याङ्दी, मध्यमर्स्याङदी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३६४ मेगावाट बिजुली खरिद गर्ने सहमति दिएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए । नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरू तीन आयोजना माथिल्लो तामाकोसी, माथिल्लो भोटेकोसी र चमेलियाको बिजुली किन्नका लागि भने भारतले हालसम्म स्वीकृति दिएको छैन ।

केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो । वर्षायाममा नेपालको बिजुली खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो ।

तानसेनमा वडा भवन निर्माण सुरु

पाल्पा । तानसेन नगरपालिका–११ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ । शनिबार तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले भवनको शिलन्यास गर्नुहुँदै संरचना बलियो र व्यवस्थित भयो भने सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

आर एण्ड आर सिभिल कन्स्ट्रक्शन सेवा कम्पनीले कूल लागत रु ८० लाख ७० हजार ५०१ लागतमा सम्झौता गरी काम सुरु गरेको हो । सो भवन आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको छ । जिल्ला समन्वयबाट ६० प्रतिशत र तानसेन नगरपालिकाबाट ४० प्रतिशत रकम भवन निर्माणका लागि विनियोजन बजेटबाट काम थालनी गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताउनुभयो ।

लिपिन्देवी मन्दिरको परिसरबाट हाल वडाले सेवा प्रदान गरिएको छ । जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएको वडा कार्यालयको व्यवस्थित भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो ।

यात्रु ओसार्ने एम्बुलेन्स कारबाहीमा

पाल्पा । यात्रु ओसार्ने एम्बुलेन्स कारबाहीमा परेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको हो । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो ।

प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा ट्राफिक कारबाहीमा परेको हो । भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो । पहिलोपटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छाडिएको छ ।

प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादरभन्दा सो भाडादर बढी हो । यात्रु बोकेको भन्ने सन्दर्भमा छानबिनको प्रक्रियामा रहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो । “उपचार गरेर फर्केका बिरामी नै लिएर आएको भन्नेछ तैपनि बिरामी बोक्ने एम्बुलेन्सले यात्रु नै बोकेको भए दोषीलाई कारबाही हुनेछ”, उहाँले भन्नुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ मा अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने भनिएको छ । कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन । भन्सार महसुल छुट हुने गरी सुविधा प्रदान गरिएको सवारीलाई जुन प्रयोजनको निम्ति भन्सार महसुल छुट दिइएको हो त्यस्तो प्रयोजनको निम्तिबाहेक अन्य प्रयोजनका निम्ति त्यस्तो सुविधा प्राप्त सवारी प्रयोग गर्न पाइने छैन ।

यस्तै राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा एम्बुलेन्सलाई बिरामी ओसारपसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने प्रावधान छ । एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र सङ्घीय तहमा अनुगमन समितिहरूको व्यवस्था गरिएको छ ।

भारतमा तीन महिनापछि कै बढी कोरोना संक्रमित भेटिए

काठमाडौं । भारतमा बितेको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए ।

यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो ।
भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भयो भने २ हजार ६१२ संक्रमित निको भए । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् । यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ ।

भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९.८७ भेटिएको छ । शनिबार १०० जनाको कोरोना परीक्षण गर्दा १० जना संक्रमित भेटिएको हो ।

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, पाँच जनाको सनाखत

रुपन्देही । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस पुलबाट खोलामा खसेको हो ।

आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जना मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।

चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरीको अनुमान छ । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले जानकारी दिनुभयो ।

रोहिणी पुलबाट पटक–पटक सवारीहरु खोलामा खस्ने गरेका छन् । तीनवटा जेसीभीको प्रयोग गरेर दुर्घटनामा परेको बसलाई सुल्टो बनाएर यात्रुको उद्धार गरिएको केसीको भनाइ छ ।

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । रुपन्देही डिएपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले बताएकाे छ ।

चितवनमा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

रत्ननगर । सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ ।

जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई रु एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट विनियोजन गरिएको छ । भरतपुरले आगामी आवका लागि समपूरक बजेट रु दुई करोड ५० लाख र विशेष अनुदान रु १४ करोड आठ लाखसमेत पाएको छ । त्यस्तै रु एक अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा रु ५१ करोड ६९ लाख पाउने भएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेनु दाहाल निर्वाचित हुनुभएको छ । नगरप्रमुख दाहालकै पहलमा भरतपुरमा ठूला–ठूला आयोजना आउन सफल भएका छन् । सङ्घीय सरकारले यसै वर्षदेखि सुरु गर्ने गरी भरतपुरमा शिक्षक अस्पतालका लागि समेत बजेट छुट्याइसकेको छ ।

यसैगरी जिल्लामा दोस्रो बढी बजेट प्राप्त गर्ने रत्ननगर नगरपालिका छ । यस नगरपालिकाले रु ५९ करोड ७२ लाख बजेट सङ्घीय सरकारबाट पाएको छ । यसमा समानीकरण अनुदान रु २० करोड ९६ लाख, सशर्त अनुदान रु ३३ करोड ७६ लाख र विशेष अनुदान रु पाँच करोड छ ।

त्यस्तै राप्ती नगरपालिकाले सङ्घीय सरकारबाट रु ५५ करोड ५९ लाख बजेट पाएको छ । राप्तीले पाएको बजेटमध्ये समानीकरण अनुदान रु १८ करोड ५३ लाख, सशर्त अनुदान रु २४ करोड २६ लाख र विशेष अनुदानतर्फ रु दुई करोड रहेको छ । माडी नगरपालिकाले सङ्घीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ४९ करोड ६० लाख प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदान रु १३ करोड ९२ लाख, सशर्त अनुदान रु ३१ करोड ९८ लाख र विशेष अनुदान रु दुई करोड ५० लाख रहेको छ ।

खैरहनी नगरपालिकाले सङ्घीय सरकारबाट आव २०७९/८० मा रु ४८ करोड आठ लाख बजेट प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदानमा रु १८ करोड १८ लाख, सशर्त अनुदानमा रु २५ करोड १२ लाख र विशेष अनुदानमा रु तीन करोड ५८ लाख रहेको छ । त्यस्तै कालिका नगरपालिकाले रु ४० करोड ९८ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदान रु १५ करोड ५६ लाख, सशर्त अनुदान रु २३ करोड ४२ लाख र विशेष अनुदान रु एक करोड प्राप्त गरेको छ ।

जिल्लाको इच्छाकामना गाउँपालिकाले सङ्घीय सरकारबाट जिल्लाका स्थानीय तहमा सबैभन्दा कम बजेट प्राप्त गरेको छ । गाउँपालिकाले आव २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट रु ३८ करोड बजेट प्राप्त गरेको छ । गाउँपालिकाले समानीकरण अनुदानअन्तर्गत रु ११ करोड १९ लाख, सशर्त अनुदानमा रु २४ करोड ३१ लाख र विशेष अनुदानमा रु एक करोड ७० लाख प्राप्त गरेको छ ।

बजेटले खोल्यो सिमेन्ट निर्यातको अवसर

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले देशभित्रको खानी तथा खानीजन्य पदार्थको प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर विशेष प्रबन्ध गरेको छ ।

सरकारले बिजुलीमा विशेष छुट दिने घोषणा गरेको छ । त्यसबाट सिमेन्ट उत्पादकले सरकारको पछिल्लो कदमले यस उद्योगलाई थप राहत दिएको र क्रमशः निर्यातको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । देशभित्रै पनि सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउने नीतिगत प्रबन्ध हुन थालेको छ । बिटुमिन राखेर कालोपत्रे गरिएका सडकभन्दा ढलान गरिएका सडक बलियो हुने र त्यसले सिमेन्ट देशभित्रै खपत हुने क्रमशः वातावरण पनि बनीरहेको छ ।

नेपालमा पछिल्लो दिनमा ठूलो लगानी भएको क्षेत्रकासमेत सिमेन्ट उद्योग नै छ । चिनियाँ लगानीका दुई उद्योगमध्ये एक उद्योग सञ्चालन भइसकेको छ । नवलपरासीमा चिनियाँ लगानी रहेको होङ्शी शिवम् सिमेन्टले आक्रामकरुपमा बजार विस्तार गरिरहेको छ । त्यस्तै चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगले उत्पादन सुरु गर्ने तयारीमा छ । सरकारले आगामी आवको बजेटमा गरिएको प्रबन्धले सिमेन्ट उद्योगको विकास र विस्तारमा थप वातावरण बनाउनेछ ।

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाका अनुसार बजेटमा सरकारले गरेको सुविधाका कारण सिमेन्ट उद्योगीलाई फाइदा हुनेछ । नेपालको व्यापार घाटा कम गर्ने उपयुक्त उत्पादनसमेत सिमेन्ट हुनसक्ने देखिन्छ । अध्यक्ष थापाले सरकारले पहिलो पटक आफूहरुको माग सम्बोधन गरेको बताउनुभयो ।

“हामीले लामो समयदेखि सिमेन्ट निर्यातका लागि सहयोग गरिदिन आग्रह गर्दै आएका थियौँ, आगामी आर्थिक वर्षको बजेटमा वार्षिक रु १० करोड बढीकोे विद्युत् खपत गर्ने र निर्यात गर्ने उद्योगलाई सहुलियत दिइएको छ, यसले हामीलाई निर्यात गर्न सहज भएको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाका अनुसार सरकारले छुट दिएसँगै वार्षिक रु दुई खर्ब बढीको सिमेन्ट निर्यात गर्न उद्योगी तयार रहेको जानकारी दिनुभयो । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भैसकेको उहाँको भनाई छ । देशभित्रै ठूला उद्योग सञ्चालनमा छन् । ती उद्योगले ओपिसी, पीपीसी सिमेन्टका अलावा क्लिन्करसमेत उत्पादन गर्छन् ।

कुनै समय ठूला पूर्वाधार निर्माण सुरु गर्नु अगाडि सिमेन्ट कहाँबाट आयात गर्ने भन्ने सम्बन्धमा चिन्ता हुने गर्दथ्यो तर, पछिल्ला दिनमा त्यो चिन्तासमेत हटेर गएको छ । सरकारी लगानीको हेटौँडा र उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट असाध्यै गुणस्तरीय रहेको पाइन्छ । निजी क्षेत्रले उत्पादन गरेको सिमेन्टसमेत उच्च गुणस्तरीय रहेको नेपाल नापतौल तथा गुणस्तर विभागको अध्ययनले पनि देखाएको छ ।

सिमेन्ट उत्पादक सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेल पनि आगामी आवको बजेटमा सिमेन्ट उद्योगलाई विशेष प्राथमिकता दिइ राखिएका प्रावधानले आफूहरुलाई हर्षित तुल्याएको बताउनुहुन्छ । उहाँले निर्यातमा उपलब्ध गराइने सहुलियतसँगै सिमेन्ट निर्यातको बाटो खुला भएको बताउनुभयो । नेपाली सिमेन्ट उद्योगले वार्षिक एक करोड टन सिमेन्ट निर्यात गर्न सक्ने अवस्थामा छन् । बजेटको प्रावधानले उद्योगीलाई थप सहज बनाइदिएको छ ।

“हाम्रो उत्पादन लागत बढी छ, बजेटमा समावेश भएअनुसार विद्युत् र निर्यातमा छुट पाएपछि हाम्रो लागत कम हुन्छ, लागत कम भएसँगै भारतीय सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न हामीलाई सहज भएको छ”, उहाँले भन्नुभयो । उपाध्यक्ष पोखरेलका अनुसार हाल सञ्चालनमा रहेका सबै सिमेन्ट उद्योगलाई निर्यातको अनुमति भएको भन्दै क्षमताअनुसारको निर्यात गर्न सबै उद्योग तयारी अवस्थामा छन् । उहाँले सरकारले निर्यातमा छुट दिए पनि सिमेन्ट निर्यात गर्न केही समय लाग्ने जानकारी दिनुभयो ।

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल पनि सरकारले विद्युत र निर्यातमा छुटसँगै निर्यातमा सहज हुने बताउनुहुन्छ । उहाँले बजेटले सिमेन्ट उद्योगीका माग सम्बोधन गरेको भन्दै निर्यातमा वृद्धि हुने आशा व्यक्त गर्नुभयो ।

बजेटमा छुट
यही जेठ १५ गते आइतबार सङ्घीय संसद्मा अर्थमन्त्री जनादर्न शर्माले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने विषय समावेश गर्नुभएको छ ।

उहाँले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टील, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रवद्र्धन गरिने र यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने व्यवस्था बजेटमा गर्नुभएको छ ।

त्यस्तै, सरकारले औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न र उत्पादन एवं निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी वार्षिक रु १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

सरकारले उत्पादन र निकासीको आधारमा कार्यविधि बनाएर दुईदेखि १५ प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । बजेटमा गरिएको प्र्रबन्धअनुसार उच्च निर्यात सम्भावना भएका क्लिङ्कर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानीलगायतका वस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा ‘बिजिनेस प्रोसेस आउटसोर्सिङ’जस्ता सेवा पहिचान गरी निर्यात प्रवद्र्धन गर्ने लक्ष्य छ । त्यस्ता वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था बजेटले गरेको छ ।

मुलुकमा औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न र उत्पादन वृद्धि एवं निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी वार्षिकरुपमा बिजुली महसुलमा नै छुट दिइनेछ ।

नेपाली निर्माण व्यवसायीलाई विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गर्ने कानुनी प्रबन्ध मिलाउने र यसबाट सेवा निर्यातको थप अवसर सिर्जना हुने सरकारको विश्वास छ । यस प्रावधानसँग जोडिएर पनि नेपाली सिमेन्ट उद्योगले फाइदा लिन सक्नेछन् ।

नेपालबाट निकासी हुने वस्तुको सहज निकासीको लागि गुणस्तर परीक्षण गर्न विद्यमान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाका रूपमा स्तरोन्नति गर्ने, कृषि, वन तथा खानीजन्य कच्चा पदार्थलाई समावेश गरी औद्योगिक प्रशोधन शृङ्खलामा खेतदेखि कारखाना एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गर्ने सरकारको योजनाले सहयोग नै पुग्नेछ ।

विद्युत् भार कटौतीको अन्त्यपछि देशभित्रको औद्योगिक क्षमता पनि बढेको छ । लागत नै कम हुँदा बजारमा सस्तो मूल्यमा सिमेन्ट उपलब्ध हुन थालेको छ । त्यसमाथि ठूला चिनियाँ लगानीका सिमेन्ट उद्योग देशभित्र भित्रिएपछि त्यसले पारेको सकारात्मक वातावरण पनि आफैँमा महत्वपूर्ण छ । यी र यस्ता कारणले सिमेन्ट उद्योगमा थप लगानी भित्रने सम्भावना पनि बढेर गएको छ । देशभित्र ६० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

हालैमात्र सुर्खेतमा सूर्यतारा सिमेन्ट उद्योगमा रु १५ अर्ब बराबरको लगानी हुने गरी सरकारले अनुमति प्रदान गरेको छ । लगानी बोर्डबाट स्वीकृत पाएको सो उद्योगमा व्यवसायी मुकुन्द तिमिल्सिना र बालकृष्ण भुसालले लगानी गर्न लाग्नुभएको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर सो उद्योग स्थापना गर्न लागिएको हो ।

बजेट महत्वकाङ्क्षी नभई वास्तविक हो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उहाँले बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले चालू आवको तुलनामा आगामी आवको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएकाले यसलाई महत्वाकाङ्क्षी भन्न नमिल्ने बताउनुभयो । उहाँले संविधान र सङ्घीयताको मर्मलाई मध्यनजर गरी बजेट तर्जुमा गरिएको धारणा राख्नुभयो ।

कृषि क्षेत्रमा प्रोत्साहन, बाँझो जमिनको सदुपयोग र युवालाई कृषिमा आकर्षण गर्न बजेटले कार्यक्रम समावेश गरेको उहाँले जानकारी दिनुभयो । किसानलाई आत्मसम्मानका साथ उत्साहित गर्नुपर्ने भएकाले योगदानमा आधारित किसान हितकोषको व्यवस्था गरिएको र बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।

उपलब्ध स्रोत, साधन, पुँजी र प्रविधिलाई जोडेर तीव्र उत्पादनतर्फ देशलाई लैजाने आजको आवश्यकता भएकाले सोहीअनुरुप बजेट तर्जुमा गरिएको मन्त्री शर्माले बताउनुभयो । उत्पादनमूलक उद्योग, निर्यात प्रवद्र्धनलगायत विषयलाई बजेटले समेटेको पनि उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले निर्वाचन हुने वर्ष भए तापनि संविधानतः सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट पेश गर्नुपर्ने भएकाले सो दायित्व निर्वाह गर्दै बजेट ल्याइएकाले निर्वाचनवपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व सङ्कलन पनि सन्तोषजनक रहेको बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चालू आवमा वैदेशिक सहायता उत्साहप्रद्र्धक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने अपेक्षा गर्नुभयो ।

उहाँले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने भन्दै कृषकलाई मलको अभाव हुन नदिने बताउनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलगायत ठूला पूर्वाधार आयोजना यसैवर्ष सुरु गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले पर्यटन क्षेत्रको पुनरुत्थान, लगानीमा सहुलियत, कृषि, वन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । मन्त्री शर्माले शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिई प्राविधिक र भौतिक सुधारलाई जोड दिइएको बताउनुभयो ।

दोहोरिए सडक बिभागको महानिर्देशकमा अर्जुन थापा

काठमाडौ‌ । भौतिक पुर्वाधार निर्माण यातायात मन्त्रालय अन्तर्गत रहेको सडक बिभागमा महानिर्देशकका रूपमा अर्जुनजङ्ग थापालाई जिम्मेवारी दिने गरि निर्णय भएको छ । बिभागमा ५ महिना यस अघि पनि महानिर्देशकको जिम्मेवारी समालिसक्नु भएका थापालाई मन्त्रालयमा सरुवा गरि मन्त्रालयबाट शिबहरी सापकोटालाई महानिर्देशकको जिम्मेवारी दिएको थियो । महानिर्देशक सापकोटाको सेवा अबधि सकिएसँगै निमित्त महानिर्देशकका रुपमा एकमहिना देखि शिव नेपालले काम गर्दै आउनुभएको थियो ।

बिभागका सिनियर सहसचिव नेपाललाई सरकारले महानिर्देशकको जिम्मेवारि दिने चर्चा व्यापक रूपमा चलेको भएपनी सरल अनि काममा बिश्वास गर्ने धेरै चलखेल गर्न नसक्ने नेपालले महानिर्देशकको जिम्मेवारी पाएनन । यस अघि महानिर्देशक भैसकेका थापा पुन बिभाग भित्रनुलाइ केही महिना कामको लयमा हिडेको बिभाग कतै माफियाको कब्जामा जाने त होइन प्रश्न उब्जाएको छ ।

हरेक ब्यक्ति वृद्धि बिकास मात्रै चाहादैनन् यसको उर्जाले परिणाम हासिल हुन्छ । तर एक ब्यक्तिलाई पटक-पटक एउटै पद दिँदा सडकमा जनताको तहबाट कुलमान जस्तै भएर थापाको खोजी गरिएको त होइन भन्ने चर्चाले बजार पाएको छ । यद्यपि थापाको पहिलो महानिर्देशक कार्यकालमा बिभागभित्र त्यस्तो उल्लेखनीय कार्य हुन नसकेको बिभाग भित्रका इन्जिनियरहरु स्वीकार गर्छ्न ।

उहाँको कार्यकालमा गुप्ता थरका कालोसूचीमा परेका दलाली गर्नेहरूले बिभाग घेरेर बसेकाले थापाले थेरै काम गर्न सकेनन् तर दोहोरिएर आएका नव नियुक्त महानिर्देशकले आफ्नो जागिरको बाँकी एक वर्षको कार्यकालमा भने केही गर्छ्न कि त्यो भने हेर्न बाँकी रहेको बिभाग नियाल्नेहरुको धारणा छ । महानिर्देशक थापाले सोमबारदेखि आफ्नो दोश्रो कार्यकालको सुरुवात गर्ने बताइएको छ ।

अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको छ । महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका २ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेप्से दोहोरो अंकले घट्यो, लगानीकर्ता मारमा

काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ३३.७६ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दुमा पुगेको नेप्सेले जनाएको छ । विहीबार नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । बुधबार नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।

आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । विहीबार एक अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज उपकार लघुवित्त कम्पनी र बलेफी हाइड्रो पावरको शेयरमूल्यमा क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर बन्द भएका छन् ।

आज किसान लघुवित्त कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.९५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक भएको छ । यस कम्पनीको आज ६ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

वैदेशिक रोजगार बोर्डमा जागिरकाे अवसर (विज्ञापनसहित)

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ बमोजिम बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि ऐनको दफा ४१ को उपदफा (१) बमोजिम खुला प्रतिस्पर्धाद्वारा पूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

इच्छुक योग्य उमेदवारहरुले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।