सङ्घले भन्यो – हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव

काठमाडौं – नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताएका छन् । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।

इन्जिनियरको वृद्धि विकास रोक्ने षडयन्त्र

काठमाडौँ – भौतिक तथा पूर्वाधार मन्त्रालयका इन्जिनियरको वृद्धि विकास रोक्ने षडयन्त्र भएकाे छ । मन्त्रालयका कर्मचारीले खारेजीमा परेको स्थानीय पूर्वाधार विभागका कर्मचारीहरूलाई आफ्नो मन्त्रालयमा समायोजन नगर्न भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

आगामी बजेटमा इन्जिनियरको वृद्धि विकास रोक्ने र संरक्षण गर्नुपर्नेमा राजनीतिक नेतृत्वले टुक्रे योजनामा सम्मिलित भई राजमार्गहरुको कार्य जिम्मेवारीमा असर गरेको देखिन्छ ।

सरकारले विभाग खारेज गर्दै त्यहाँ रहेका रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाईमा रहने तथा बाँकी कर्मचारी प्रदेश सरकार र भौतिक पूर्वाधार सम्बद्ध सङ्घीय मन्त्रालयमा समायोजन हुने भनेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारी युनियनहरूले संयुक्त रूपमा मन्त्री रेणुकुमारी यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट वक्तव्यमार्फत आएको उक्त व्यवस्था कार्यान्वयन नगर्न माग गरेका छन् ।

मन्त्रालयको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले विभागबाट कार्यान्वयन भइरहेका करिब ६०० वटा नयाँ सडक योजना र करिब १०० वटा पुल निर्माण सम्बन्धी टुक्रे योजना सङ्घीय कार्यक्रमहरूबाट हटाई सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्नसमेत भनेका छन् ।

‘मूल दायित्व राष्ट्रिय राजमार्गको निर्माण मर्मत सम्भार तथा संरक्षण गर्ने रहेकोमा राजनीतिक नेतृत्वले टुक्रे योजनामा सम्मिलित भई राजमार्गहरूको कार्य जिम्मेवारीमा असर गरेको देखिन्छ,’ पत्रमा भनिएको छ,’आव २०७९-०८० को लागि पेस भएको बजेटमा सो स्थानीय स्तरका कार्यक्रमहरू हटाई संविधानसम्मत कार्यक्रमहरू मात्र समावेश गर्नुपर्छ, यस्ता कार्यक्रमहरू संशोधन गरी आगामी आ व मा सङ्घीय कार्यक्रमहरूबाट हटाई सम्बन्धित निकायमार्फत कार्यान्वयन हुनुपर्छ ।’

कुन स्थानीय तहले कति बजेट पाए ? (सूचीसहित)

काठमाडौँ – आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।

स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

https://drive.google.com/file/d/1ktE_qO9LbPSKwGoFswTQUlBAPcsG4p1U/preview

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा – प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई हिजो साँझ पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

नेप्सेको ओरालो यात्रा कायमै, दोहोरो अंकको गिरावट

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओरोलो यात्रा कायमै रहेको छ । आज बिहिबार पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । बुधबार नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।

आज कारोबार भएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १५३.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४७ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको भएको छ । यस कम्पनीको आज १२ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

अधिकृतको सेवाकालीन पाठ्यक्रम तयार

काठमाडौं – गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रदेश परिषद्को चौथो बैठकले पारित गरेको छ ।

प्रदेश र स्थानीय तहका कर्मचारी, निर्वाचित जनप्रतिनिधिलाई आवश्यक तालिम, अभिमुखीकरण गराउनेलगायत उद्देश्यबाट गठित प्रतिष्ठानले सम्पादन गर्दै आएका कार्य प्रभावकारी भएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

सरकारको कामकार्बाहीलाई प्रभावकारी बनाउने जिम्मा कर्मचारी प्रशासनको भएकाले उनीहरुलाई चुस्त र सबल बनाउन नियमित प्रशिक्षण जरुरी रहेको बताउँदै उहाँले जिम्मेवारीमा आएका कर्मचारीको वृत्ति विकासका लागि समेत तालिम जरुरत पर्ने बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रदेश र स्थानीय तहका विभिन्न सेवामा कार्यरत सङ्घीय निजामती सेवाका राजपत्राङ्कित तृतीय श्रेणी तथा प्रदेश निजामती र स्थानीय सेवाका छैटौँं, सातौँ र आठौँ तहका अधिकृतका लागि सेवाकालीन तालिम सञ्चालन गर्न पाठ्यक्रम तयार पारिएको बताउनुभयो । पाठ्यक्रममा व्यक्तित्व विकास, कौशल, नेतृत्व र प्रबन्धकीय सीप, अनुसन्धान र नवीनतम ज्ञानका साथै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिकासँग सम्बन्धित विषयवस्तु समावेश रहेको उहाँको भनाइ छ ।

बैठकमा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाललगायत सहभागी हुनुहुन्थ्यो ।

तारा एयरकाे पोखरा – जोमसोम उडान एक हप्ताका लागि स्थगित

काठमाडौं – तारा एयरलाइन्सले पोखरा – जोमसोम उडान एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले एक हप्ताका लागि पोखरा जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको बताउनुभएको छ ।

उहाँका अनुसार बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट पाँच वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको हो ।

यता, मौसम विभागले बिहीबार एक सूचना जारी गदै आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ ।

तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।

सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ।सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएका छन् ।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका तीन जनासहित २२ यात्रुको ज्यान गएको थियो ।

आगामी बजेटमा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक

काठमाडौं – सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताउनुभएको छ ।

बैठकमा सांसद पूर्णकुमारी सुवेदीले बजेट समग्रमा राम्रो भएको बताउँदे बजेटले शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगार युवाका लागि कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । कृषिमा रुपान्तरण राम्रो पक्ष भएको उल्लेख गर्दै उहाँले वनको संरक्षण गरी सदुपयोग गर्ने खालका थप कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

सांसद सरलाकुमारी यादवले निर्यात बढाउन आवश्यक पूर्वधार बढाउनुपर्ने बताउँदै मुलुक आर्थिक सङ्कटमा भए पनि आत्तिने अवस्था छैन भन्नुभयो । निजी क्षेत्र र निर्यात क्षेत्रलाई प्राथमिकतामा राखेको बजेट सकारात्मक भएको उहाँको भनाइ थियो ।

सांसद खगराज अधिकारीले सरकारले उत्पादन सिर्जना गर्नुपर्ने बताउँदै शेयरबजार दैनिक घटेको र अर्थतन्त्रलाई माथि उठाउने खास योजना नदेखिएको टिप्पणी गर्नुभयो । आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको र सो कार्यक्रम अहिले निजी क्षेत्रलाई दिने कुरा गलत छ भन्नुभयो । साथै उहाँले बजेटमा हिजोका विकासलाई प्रतिस्थापन गरी नयाँ कार्यक्रम ल्याएको बताउनुभयो ।

सांसद एकवाल मियाँले गठबन्धनले गर्दा स्थानीय तहको निर्वाचनमा महिला पछाडि परेको उल्लेख गर्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने ठाउँमा रुख नभएको भन्दै किन रोक्नुप¥यो भनी प्रश्नसमेत गर्नुभयो ।

सांसद सीतादेवी यादवले बजेट राम्रो भएको तर कार्यान्वयन प्रभावकारी हुन जरुरी रहेको उल्लेख गर्दै सरकारले ९८ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने भनिए पनि स्वास्थ्यचौकीमा औषधि नपाइने गरेको बताउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले बजेटमा धेरै कार्यक्रम भएकाले कार्यान्वयनमा गाह्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भावनामा कुरा गरेर कल्पनामा देश नचल्ने बताउँदै यथार्थमा रहेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले कृषिमा आत्मनिर्भर बनाउन चक्लाबन्दी कानुन लागू गर्नुपर्ने, कृषि उपकरणमा पर्याप्त सहुलियत दिनुपर्ने, सहकारी नीति लागू गर्नुपर्ने, सिँचाइको पर्याप्त सुविधा हुनुपर्ने सुझाव दिनुभयो ।

सांसद महोम्मद इस्तियाक राईले बजेटमा रहेका कार्यक्रम कार्यन्वयनमा चुनौति रहेको बताउनुभयो । उहाँले बजेटमा बाँकेका धेरै कार्यक्रम छुटेको बताउँदै पश्चिम नेपालको महत्वपूर्ण नेपालगञ्जको विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रमसमेत नभएको गुनासो गर्नुभयो । विद्युतीय सवारीसाधन र ड्राइफुडमा लगाइएको कर केही सीमित व्यक्तिलाई पोस्न ल्याइएको हो कि भनी उहाँले शङ्का गर्नुभयो ।

सांसद डा शिवमाया तुम्बाहाम्फे बजेट चुनावलक्षित भएको र हुबहु कार्यान्वयन हुन नसक्ने दाबी गर्दै समाजवादोन्मुख देखिएकोसमेत टिप्पणी गर्नुभयो । सबै सुकुम्बासी, भूमिहीन दलित र घरबारविहीनलाई उचित र समानरूपमा जग्गा र बासस्थानको व्यवस्था मिलााउनुपर्ने माग गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले कृषि क्षेत्रमा क्रान्तिकारी कार्यक्रम रहेको उल्लेख गर्दै किसानलाई राहत दिने कार्यक्रम राम्रो छ भन्नुभयो । उहाँले मलखादको समयमै व्यस्थापन गर्न सुझावसमेत दिनुभयो । बजेटमा पर्यटनमा १० लाख भित्र्याउने लक्ष्य राम्रो भएको बताउँदै उहाँले यसबाट आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो । बजेट कार्यान्वयका लागि बाँकी आवश्यक प्रावधान मौद्रिक नीतिमा समेट्नुपर्ने उहाँको भनाइ थियो ।

बजेटले राजनीतिक र आर्थिक सङ्कट ल्याएको छ : ज्ञवाली

काठमाडौँ – प्रतिनिधिसभाको आज तेस्रो दिन पनि सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराउनुभयो । बजेटमाथिको छलफलमा सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताउनुभएको छ । उहाँले वर्तमान विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको धारणा राख्नुभयो ।

सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताउनुभयो । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, ‘बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैँ आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।’ बजेटबारे छलफल भइरहेकाे छ ।

एक सय ९७ तोला चाँदीसहित एक जना पक्राउ

काठमाडौं – एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो । विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।

तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताउनुभयो । “अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्”, उहाँले भन्नुभयो, “हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भन्नुभयो, “बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन ।” उहाँले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राख्नुभयो ।

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उहाँको भनाइ थियो । अध्यक्ष नेपाल आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन सुर्खेत आउनुभएको हो ।

एमालेद्धारा बागमती प्रदेशसभा अवरुद्ध


काठमाडौं – बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ ।सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो ।मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गर्नुभएको हो । बैठक अझै चल्न सकेको छैन ।

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि


काठमाडौं – मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो ।आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको छ ।यही अधिवेशनअन्तर्गत मधेस प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ ।नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विसं २०७८ चैत २९ गते प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको थियो ।

गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह


काठमाडौं – एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् । हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । “अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो ।कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गत वैशाख १३ गते रेकर्ड भएको छ । त्यो दिन कैलालीको अधिकतम तापत्रलम ४०।८ डिग्री सेल्सियस मापन भएको थियो भने अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस हाराहारी छ । गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरी बताउनुहुन्छ । “अझै केही दिन तापक्रम बढ्छ”, उहाँले भन्नुभयो । गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पु¥याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ । “दिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छ”, उहाँले भन्नुभयो । लापर्बाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उहाँको भनाइ छ ।गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा खरेल बताउनुहुन्छ । “यो समयमा अस्पतालमा बिरामी बढेका छन् । बिरामीमा बालबालिका र ज्येष्ठ नागरिक बढी छन्”, उहाँले भन्नुभयो ।

सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार


काठमाडौं – सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ ।सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो । लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।