बाढीले सुन्दरहरैंचामा एक जनाको मृत्यु, १७५ परिवार विस्थापित

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएको उनले बताए ।

कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।

बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

श्रेष्ठका अनुसार बाढीले बगाएर सुन्दरहरैंचामा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैंचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

सुन्दरहरैंचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको थियो ।

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकामा

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन् ।

सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी. इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गरेका थिए । उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन् । उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् ।प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा दुई जनाको नाम सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।

स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा.टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।

मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिले पहिलो नम्बरमा डा. बराकोटी तथा दोस्रो नम्बरमा डा. मिश्राको नाम सिफारिस गरेको छ ।

स्वास्थ्यमा अहिले १२औँ तहको एउटा पद रिक्त छ । उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा लागि मन्त्रालयले गत ६ चैतमै सूचना निकालेको थियो ।

सिफारिसमा पर्ने डा. बराकोटी मेची अस्पताल र डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छन् । प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ ।

११औँ तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२औँ तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्याङ्कनका आधारमा हुने व्यवस्था छ ।

हिलाम्मे सडकमा धान रोपाइँ

कञ्चनपुर । म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे भएको सडकमा धान रोपाइँ गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङदेखि दुखुखोलासम्मको सडक हिलाम्मे छ । नयाँबजारका बासिन्दा श्रीराम पौडेलले सडक अलपत्र बनाउने निर्माण व्यवसायीलाई दबाब र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन सडकमा रोपाइँ गरिएको बताउनुभयो ।

“अधुरो र अधकल्चो सडकमा हिलाम्मे, पानीका पोखरी जमेर आवतजावतमा सास्तीका साथै दुर्घटनाको जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “निर्माण र मर्मतका लागि कसैले वास्ता नगरेपछि बाध्य भएर सडकमै रोपाइँ गरिएको हो ।” रणवाङ, नयाँबजार र सहश्रधाराका २० जनाभन्दा बढीले सडकमा सामूहिक धान रोपेर विरोध जनाएका हुन् ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तीन महिनादेखि सम्पर्कविहीन बनेका छन् ।

विसं २०७८ वैशाखदेखि मङ्सिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन बिल्डर्सलाई सहायक ठेकेदारका रुपमा गत पुसमा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयनले गत वैशाखदेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सञ्चालन नगरेको बताउनुभयो । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छाँै,” उहाँले भन्नुभयो, “मन्त्रालयमा जानकारी गराएर बिरुवा–काराभानको जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।”

विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । विसं २०७८ चैतसम्म थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागिसमेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो, हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको मङ्गला गाउँपालिका–२ का जीवन कार्कीले बताउनुभयो ।

सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बर्खापछि सडक निर्माणलाई तीव्र गति दिने बताउनुभयो ।

बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीनवटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर दूरीको बेनीदेखि सिम खण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।

सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

किसानलाई मल ल्याउन सहज बनाउँदै प्रशासन

काठमाडौं । खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ ।

नेपालमा मलको अभाव भएपछि मल ल्याउन किसानलाई सुरक्षाकर्मीले बाधा पु¥याएपछि आफ्नो खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपु¥याउन सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, व्यापारिक प्रयोजनका लागि हो या आफ्नो खेतबारीमा प्रयोग गर्नका लागि हो भन्ने एकिन गरी मल ल्याउन सहज वातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ । रासायनिक मल नहुँदा किसानले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केही खुकुलो गरिएको उहाँको भनाइ छ । भारतबाट मल ल्याउन प्रतिबन्ध रहेपनि व्यवहारिकता हेरेर यस्तो निर्णय गर्न परेको उहाँले बताउनुभयो ।

बाँकेका किसानले नेपालगञ्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँ लगायतका नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् ।

यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले गुनासो गर्नुभयो । भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्ती सोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।

पूर्वी नाकाबाट रु ४६ करोडको फलफूल आयात

काठमाडौं । पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा रु ४५ करोड ९७ लाख २७ हजार बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो । आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र रु १२ लाख राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताउनुभयो ।

उहाँका अनुसार रु २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ । यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र रु चार करोड ५१ लाख १० हजार बराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी रु १२ लाख ८० हजारको ४६ मेट्रिक टन केरा, रु ७९ लाख ५१ हजारको नरिवल, रु ६७ लाख ७० हजार जुनार, रु ४९ लाख ४९ हजारको आप, रु दुई करोड ९७ लाखको अनार, रु ७७ लाख ६१ हजारको अङ्गुर, रु एक करोड ७८ लाख ७८ हजारको सुन्तला, रु ३६ लाख ७३ हजारको नास्पति, रु पाँच लाख ९८ हजारको अम्बा, रु ९३ लाख ८४ हजार बराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको को मुल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार दुई रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ ।

अप्पर हेवाखोलाको आइपिओ आउँदै

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन ६ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ ।

कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’ को मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी–बिबी आइएस्’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिएकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् ।

नेकपा एसको केन्द्रीय परिषद् बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्य योजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।

प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम(लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ । प्रतिवेदनमा वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ ।

देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुने बताइएको छ ।

बामदेवले नयाँ दल घोषणा गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् ।

नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।

नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् ।

देशभर गोताखोर तालिमप्राप्त प्रहरी टोली परिचालन

काठमाडौँ । मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले देशैभरिका प्रहरी युनिटलाई २४ सै घण्टा तयारी अवस्थामा खटाएको छ । देशभरि भारी वर्षा बढेसँगै बाढीपहिरो तथा डुबानको जोखिम भएकाले उद्धारका लागि सशस्त्रले विपत्सम्बन्धी तालिमप्राप्त प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित खटाएको हो ।

देशका विभिन्न ६ स्थानमा गोताखोर तालिमप्राप्त प्रहरी खटाइएको छ । जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न सहज र छिटो बनाउन विभिन्न ठाउँमा गोताखोर खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए ।

प्रदेश १ को सुनसरी, बागमती प्रदेशको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको शमशेरगन्ज र सुदूरपश्चिम प्रदेशको कैलालीमा गरी ६ स्थानमा गोताखोरको आवश्यक उद्धार सामग्रीसहित तयारी हालतमा राखिएको उनले जानकारी दिए ।

यसबाहेक उपत्यकाका दुईवटा, कुरिनटार तालिम केन्द्र र अन्य सातैवटा प्रदेशमा तालिमप्राप्त विशेष टोली तयारी अवस्थामा खटाइएको छ । सशस्त्रले प्रत्येक बाहिनीमा कम्तीमा एक प्लाटुन तथा सानो युनिटमा सेक्सन र ठूलो युनिटमा प्लाटुनस्तरमा टोली विपत् व्यवस्थापनमा मात्र खटिने गरी राखिएको छ ।

सशस्त्र प्रहरीले विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रूपमा विपत् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको छ, जहाँ हालसम्म दुई हजार ३४ जना सशस्त्र प्रहरी कर्मचारीलाई विशिष्टीकृत विपत् व्यवस्थापन तालिम प्रदान गरेको छ ।

कागजपत्र नभएको भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

जलेश्वर । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राऊ गरिएको हो ।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा भारतबाट गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमतिपत्र बिना बिआर ०६ बिवाई ५५४५ र डिएल ९ सिक्युएस २६८१ नंको दुईवटा मारुती सुजुकी कार र बिआर ३० एम ७५७४ नंको मोटरसाइकल लिएर नेपाल आएका तीनै जनालाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।

चट्याङ लागेर दुईको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिनुभयो ।

“चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो,” प्रहरी निरीक्षक मल्लले भन्नुभयो, “अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।” त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् । “त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “घटनाबारे विस्तृतमा केहीबेरमा आउँछ ।”