काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइराला निलम्बित

काठमाडौँ । घूस काण्डमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन बारेको सूचना आज राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।

राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ ।

न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले न्याय परिषद् ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैँतालिस दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सो समयसम्म प्रतिवेदन पेस गर्न नसक्ने अवस्था भए परिषद्ले अवधि थप गर्न सक्ने समेत व्यवस्था रहेको छ ।

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

गायिका मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

काठमाडौँ । राजधानीको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिनुभएको छ ।

घटना लगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सल समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ । शव परीक्षण प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ । घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्टेटस सार्वजनिक भएको थियो ।

त्यसमा उनले कुनै पनि बेला जे पनि हुनसक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो । उक्त स्टेटस दबाबमा लेखिएको आशङ्का गरिएको छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यसदिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छन् ।

उपत्यकामा प्रदूषित खानेपानीका कारण हैजा

काठमाडौं । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो ।

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उहाँले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताउनुभयो । उहाँका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उहाँले जानकारी दिनुभयो । “पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छौं ।”

यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ ।

महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताउनुभयो । महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

१२ जनामा हैजा

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिनुभयो । तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन र चार जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।

राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।

खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् । दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मङ्गलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।

२६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु २६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८ दिन अवधिको रु दुई अर्ब, ९१ दिन अवधिको रु नौ अर्ब १० करोड, १८२ दिन अवधिको रु १० अर्ब र ३६४ दिन अवधिको रु पाँच अर्ब गरी कूल रु २६ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनानुसार २८ दिने ट्रेजरी आगामी साउन १० गते, ९१ दिने ट्रेजरी आगामी असोज ११ गते, १८२ दिने ट्रेजरी आगामी पुस १२ गते र ३६४ दिने ट्रेजरी २०८० असार १२ मा परिपक्व हुनेछ ।

यसअघि यही असार ६ मा बैंकले रु २५ अर्ब ५३ करोडको टे«जरी बिल बिक्री गरेको थियो । यसको बोलकबोल अनलाइनमार्फत आजै हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

तरलता अभाव कायमै, ट्रेजरी बिलको ब्याजदर उच्च

मुद्रा बजारमा देखिएको तरलता व्यवस्थापनमा चुनौती कायमै छ । एक वर्ष अगाडि तीन प्रतिशत आसपास रहेको ट्रेजरीको ब्याज हाल दोहोरो अङ्कमा पुगेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले २८ दिनको ट्रेजरी बिलको ब्याजदर ८‍.१७ प्रतिशत छ ।

यस्तै ९१ दिनको १०.४८ प्रतिशत, १८२ दिन अवधिको १०.५० प्रतिशत तथा ३६४ दिन अवधिको ट्रेजरीको १०.५२ प्रतिशत ब्याजदर रहेको छ । एक वर्ष अगाडि ३६४ दिने ट्रेजरीको व्याजदर ३.७२ प्रतिशत थियो ।

सोमबार ४१ जनामा कोरोना संक्रमण पुष्टि, २० जना निको

काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ भने सो समयमा कसैको मृत्‍यु भएको छैन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०२ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ४०९ जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ ।

गाउँपालिकाका कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला

काठमाडौँ । एकजना कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन् । कैलालीमा एक जना कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका हुन् ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरीमा घाइते अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
लिफ्ट मागेर आएका तीन जनाले गोदावरी आइपुगेपछि कुटपिट गरेर गाडी लगेको बताइएको छ ।

घाइते भण्डारीको उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको प्रहरीले बताएको छ ।

सोमबार दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकरममा पनि गिरावट

काठमाडौं । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४‍.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । साेमबार नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९२.५० रुपैयाँ पुगेको छ भने न्यादी हाइड्रोको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य ९.१५ प्रतिशतले बढेर १४१९ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

सर्वोच्चद्वारा कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी

काठमाडों । सर्वोच्च अदालतले आगामी प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न आदेश गरेको हो ।

‘असार १ गतेदेखि निर्वाचन आयोग मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गरिरहेको हुँदा हाललाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि कैदीवादीहरूको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नुरगराउन’ भनी अन्तरिम आदेश जारी गरिदिएको छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्च अदालतले २०६४ साल र २०७० सालका संविधान सभामा सरकारी कर्मचारी, सैनिक, तत्कालीन समयमा शिविरमा रहेका माओवादी लडाकु र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीमा समावेश गरी मतदानको अधिकार दिएको स्मरण गराएको छ । यो आदेश गर्दा नेपाल कानुन पत्रिका २०६८ अंक ६ र निर्णय नम्बर ८६३१मा प्रकाशित नजिरलाई पनि सर्वोच्चले आधार बनाएको छ ।

१४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । उदयपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेल छन् । किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।

आदर्श लघुवित्तकाे आईपीओ बाँडफाँट, पाँच जनाले पाए ११ कित्ता

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँट भएको हो ।

गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन उक्त गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणा जारी गरेकोे हो । सर्वसाधारणमा जारी गरिएको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको थियो ।

यी वाहेक बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो । हाल कम्पनीको चुक्तापूँजी १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।

अध्यक्ष नेपालले कार्यकर्तालाई दिए यस्तो निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका छन् ।

उनले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई काठमाडौँ मा सम्बोधन गर्ने क्रममा आज नेपालले वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लाग्न निर्देशन दिएका हुन् ।

‘पार्टीको सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित गर्नुपर्ने भएको छ । अधिकतम सफलता हासिल गर्नका लागि लाग्नुपर्छ, उनले भने, अरुमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भएको छ ।’

प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न नेपालले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले सात वटै प्रदेश सभाका निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तयार पार्न भनेका छन् ।

स्थानीय तह निर्वाचनबाट ६० प्रतिशत वडामा पार्टी सङ्गठन पुगेको दाबी गर्दै नेपालले अबको निर्वाचनसम्म सबै स्थानीय तह र पालिकामा सङ्गठन विस्तार गर्नुपर्ने बताए ।

नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरेका छन् ।

सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै नेपालले २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएको दाबी गरे ।

‘हामीले यसपटक झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौं,’ नेपालको भनाइ छ, ‘यसमा ९ लाख मत पायौं । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने थियौं । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं । २० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुनेछ ।’

महिला क्रिकेट टिम स्वदेश फर्किए

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

नेपाली टोली आज बिहान आइपुगेको हो । नेपालका लागि युएईसँगको सेमीफाइनल खेलमा वर्षा बाधक बनेको थियो । वर्षाले खेल रोकिएपछि फाइनल पुग्न सकेको थिएन ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । समूह चरणको अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भएको हो ।

अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाडौँ । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेल र रिजाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौँ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज ११ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

त्यसै गरी, राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । नवनिर्वाचित मन्त्रीले आजै कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

असार १५ गते सार्वजनिक बिदा

काठमाडौँ । असार १५ गते सार्वजनिक बिदा दिइने भएको छ । धान दिवसको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिइने भएको हाे ।

कर्णाली प्रदेश सरकारले जुम्ला बाहेकका नौ जिल्लामा धान दिवसको अवसरमा बिदा दिने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्को) २०७८ चैत्र २९ गतेको निर्णयअनुसार कर्णाली प्रदेशका जुम्लाबाहेकका अन्य नौ वटा जिल्लाहरूमा धान दिनको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।