तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सय रुपैयाँले बढेको हो । आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

सिमावर्ती अपराध अनुसन्धान दशौं तालिम सम्पन्न

खेम राज खनाल

जनकपुर । धनुषा केन्द्रमा मिति २०७९/०३/०५ गतेबाट संचालित सिमावर्ती अपराध अनुसन्धान (जु.प्र.अरप्र.ह.रप्र.ज.) तालिम दशौं समुहको मिति २०७९ असार १२ गते मधेश प्रदेश तालिम केन्द्र जनकपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री रबिन्द्र के.सी. को प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

नवनियुक्त मन्त्रीहरूले आज सपथ लिँदै, आजै मन्त्रालयमा हाजिर

काठमाडौं । आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूको सपथ हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिईन ।

पुनर्गठित मन्त्रिमण्डलमा पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरिएको थियो ।

समाजवादीले गत जेठ २२ मै सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद पुर्गठन गर्ने सहमति सत्ता गठबन्धनभित्र भएको थियो ।

यसअघि समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए । नव नियुक्त मन्त्रीहरूलाई आजै मन्त्रालयमा स्वागत गर्ने तयारी गरिएको छ भने आजै बाट नयाँ मन्त्रीहरूले आफनो काम सुचारु गर्ने छ्न ।

सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद

खेम राज खनाल

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका २ मुडेरास्थित सीमा ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईलको टेम्पर ग्लास बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको २ हजार ४ सय वटा टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुरबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्मा दाहालको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीबाट सशस्त्र प्रहरी नायव निरीक्षक राजेन्द्र कुमार रावलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले असार १२ गते करीब १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त औषधी सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीबाट बरामद गरिएको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको टोलीले असार १२ गते महोत्तरी जिल्लाको सम्सी गाँउपालिका २ स्थित पर्सा बजारबाट करीब १ लाख ८ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।

यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ पकौलीबाट असार १२ गते सशस्त्र प्रहरीले करीब १ लाख ७४ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको औषधी र मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार घनश्याम यादवको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोमराज शर्माको कमाण्डमा खटिएको टोलीले असार १२ गते करीब १ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ ।
पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने सो पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठकमा पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुनेछ । महासचिव भुसालको प्रतिवेदनमा राजनीतिक व्यवस्था रक्षाका लागि एमालेबाट विद्रोह गरी पार्टी स्थापना गरिएको उल्लेख छ । सो प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्याबारे चर्चा गर्दै आगामी कार्यदिशाबारे उल्लेख छ । सो प्रतिवेदनमा बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् । बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले गर्नेछन् ।

प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरु भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।

प्रतिनिधिसभाको आजको बैठकवाट दुई विधेयक पास


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएका छन् । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो । आजको अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सोमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले लोकसेवा आयोगलाई सबै प्रदेशमा समानुपातिकरूपमा विस्तार गरिनुपर्ने, प्रदेश लोकसेवा आयोगसँगको सम्बन्ध, परीक्षा सञ्चालनमा समन्वय, मुलुकमा दक्ष जनशक्ति र कर्मचारी उत्पादनमा ध्यान दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

वाम तालमेलमा लागे वामदेव


तत्कालीन नेकपा एमालेका उपाध्यक्ष एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सक्रियता बढाएका छन् । स्थानीय तहको निर्वाचनमा निष्क्रिय रहेका उनी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको चर्चा सुरु हुनासाथ सक्रिय भएका छन् ।
तत्कालीन नेकपा फुटाउन भूमिका खेलेको आरोप खेपेका गौतम पुनः वाम तालमेल गरेर नेकपा जुटाउने अभियान जुटेका हुन् । गत शनिबारदेखि सुरु भएको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै गौतमले नेकपा जुटाएरै छोड्ने प्रतिवद्धता जनाए । शनिबार र आइतबार एकता राष्ट्रिय अभियानका नाममा बैठक राखेका उनले नेकपालाई पुरानै अवस्थामा फर्काएर आफूसमेत सक्रिय राजनीतिमा लाग्ने प्रतिवद्धतता जनाएका छन् । संयोजन समितिले पार्टी एकता वार्ता कमिटी निर्माण गर्ने छन्। हामी एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्ने छौं । त्यसैगरी जसपा र राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट र समाजवादी पार्टी तथा समूहसँग पार्टी एकता र कार्यगत एकताको निम्ति वार्ता अगाडि बढाउने छौं,’ राजनीतिक प्रस्तावमा गौतमले भनेका छन्, ‘यदि नेकपा जुटाउन सम्भव नभएमा सम्भव हुन सक्ने पार्टीहरुसँग एकताको प्रस्ताव राख्ने छौं । हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ साल जेठ ३ मा एकीकृत भएको नेकपाको पुनरोदय हुने छ ।

उनले यसरी निर्माण हुने नेकपा नै स्थापनाकालको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारी हुने दाबीसमेत गरे । उनले भनेका छन्, ‘हामी पनि सोही पार्टीमा सगौरव एकीकृत हुनेछौं ।

नेप्से परिसूचकमा वृद्धि


लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४।९२ अङ्कले उकालो लागेर एक हजार ९५६।९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७।९३ मा पुगेको छ । कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । 

बैंकिङ ३५।५, व्यापार १२१।०८, होटल तथा पर्यटन १४०।९३, विकास बैंक २५७।१४, जलविद्युत् १५६।९२, वित्त १०२।४३, निर्जीवन बीमा २६२।८८, उत्पादन २८४।५३, अन्य ९६ं०३, लघुवित्त २३१।०३, जीवन बीमा ३६६।७८, सामूहकि लगानी कोष ०।५ र लगानी ५।१९ अङ्कले उकालो लाग्यो ।

शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार रु २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८८८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ६४ लाख ३८ हजार ९५३ बराबरको कारोबार भयो । हिमालयन बैंक रु आठ करोड ३७ लाख ९२ हजार ९३६, ङादी ग्रुप पावर रु आठ करोड ३३ लाख ५३ हजार, नबिल बैंक रु छ करोड ७६ लाख २७ हजार ८५८ र शिवम् सिमेन्ट रु पाँच करोड ४१ लाख ७० हजार ६६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

२१ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो नेप्सेका अनुसार आज कारोबार भएकामध्ये कूल २१ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ३१ कम्पनीको शेयर मूल्य भने ९ प्रतिशत बढीले वृद्धि भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुह्यश्वरी मर्चेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सिनर्जी पावर, घलेम्दी हाइड्रोपावरलगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र २।१६, एनसिसी बैंकको ऋणपत्र २, आइसिएफसी फाइनान्स २, गुडविल फाइनान्स १।८१ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले ०।२१ प्रतिशतले गुमाए । 

विभिन्न मुलुकमा अलपत्र कामदारकाे उद्धार


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धिसँगै यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएको र गुनासा तत्काल सम्बोधनको व्यवस्था गरिएको स्पष्ट गर्नुभयो । तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराउनुभयो ।

लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन प्रस्तुत


प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नुभएको हो । बैठकमा अहिले राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, कूल बजेटमध्ये १०।९५ प्रतिशत मात्रै शिक्षा क्षेत्रका निम्ति अपुग हुन्छ, सार्वजनिक शिक्षाको सुदृढीकरणको लागि सरकार प्रतिबद्ध छ, नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गर्दा १५औँ योजनालाई समेत आधार मानिएको छ, नीति तथा कार्यक्रम र बजेटमा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम,  सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको छ । 

आजकाे मौसम कस्तो छ

आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । सोमबार गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सुनचाँदीको भाउमा सामान्य वृद्धि


साताको पहिलो दिन सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । असार १२ गते, सुन तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले महंगिएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार भने सुनको भाउ गिरावट भएको थियो । त्यस दिन सुन तोलामा ३०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।

वैदेशिक रोजगारीमा विचौलियाबाटै ठगी

झापा । भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट रु तीन लाख ५० हजार असुलेका थिए । उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलिया हुन् ।ठगीको शिकारमा परेका बेचन यादव, रोहित यादव, राजीव सहनी, मनोज मण्डल र सञ्जय चौधरीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका पीडक उराउले गतवर्ष वडाध्यक्षको रोहवरमा रकम तिर्ने भाकासहितको कागजमा सही पनि गरेका थिए ।

पाँच वर्ष वितिसक्दा पनि पीडित युवा नत वैदेशिक रोजगारीमा जान पाए, नत ऋण काढेर जम्मा गरेको उनीहरुको रकम फिर्ता नै भयो । “गाउँकै चिनेजानेको दाइ भएकाले उहाँले भनेको पत्यायौंँ,” ठगीमा परेका भद्रपुर–५ बेचन भन्छन्, “पैसा पहिल्यै जम्मा गर्न लगाए । भनेकै बेला ऋण काढेर भए पनि दियौँ तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौँ ।” पर्ख भन्दै आलटाल गरेको तीन वर्ष बितेपछि पीडितहरुले गत वर्ष नगरपालिकालाई गुहारेका थिए । वडाध्यक्ष बन्धु कार्कीको रोहवरमा २०७८ असार २७ गते चार महिनाको भाका राखी रकम तिर्ने कबुलनामा कागज समेत गरिएको थियो तर कागजमा तोकिएको भाकाभित्र पनि उराउले रकम फिर्ता गरेनन् । आर्थिक रुपमा विपन्न परिवारका ती पाँच युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे । विसं २०७८ मङ्सिर २८ गते विभागमा उनीहरुले उजुरी पनि दिए ।

तर विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन ।“यस्तो मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ भनेर सल्लाह पाएपछि हामी पाँचै जना मिलेर संयुक्त निवेदन दियौँ,” अर्का पीडित भद्रपुर–५ का २८ वर्षीय राजीव भन्छन्, “विभागका सरहरुले व्याजसहित रु पाँच लाख ५० हजार तिराइदिन्छौँ भन्नुभएको छ ।” पीडितका अनुसार उक्त विभागले यस मुद्दामा कारबाही प्रक्रिया अघि बढाए तापनि परिणाम भने निस्किएको छैन । विभागले पीडक उराउविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । पक्राउ पूर्जी जारी भएको सुइँको पाएपछि उनी फरार भएका छन् । अचेल गाउँतिर उनी देखिदैनन् । पीडितहरु प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेकामा निराश छन् ।

वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा प्रमुख जिल्ला अधिकारीसमक्ष समेत उजुरी दिन सकिने कानुनी व्यवस्था छ । झापामा एक वर्षमा वैदेशिक रोजगारीका ठगी सम्बन्धी ३४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् । उनी प्रजिअको रुपमा झापा आइसकेपछि नै २० वटा त्यस्ता उजुरी प्रशासनमा परेका छन् । आपसी सहमतिमा रकम फिर्ता हुने रहेछ भने जिल्लामै छलफल चलाउने र नभए आवश्यकता अनुसार वैदेशिक रोजगार विभागमा उजुरी गर्न पठाउने कार्य हुँदै आएको प्रजिअ रिजाल बताउँछन् ।

एक वर्षमा पाँच वटा मुद्दामा पीडितहरुको रु २३ लाख ६० हजार फिर्ता गराएको र अरु पाँच वटा मुद्दाको रकम फिर्ता गर्ने सहमति भएको छ भने आठ वटा मुद्दालाई विभागमा पठाइएको उनको भनाइ छ ।बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको शिकार बन्ने क्रम बढेको छ । “ठगी गर्नेलाई कानुनी कारबाही गरेर रकम फिर्ता गराउने र पीडकलाई दण्डित गर्ने कुरा त छँदैछ,” प्रजिअ रिजाल भन्छन्, “रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना रहँदैन । पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन् ।”रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिकास्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने प्रजिअ रिजालको सुझाव छ ।