काठमाडौं । बिहिबार नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९६०.७० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०५.३० रुपैयाँ पुगेको छ ।
शिवश्री हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।
काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो ।
‘मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।
काठमाडौं । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो बाहिर आएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपराह्न १ः३० बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका हुन् । पोखरेलले कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो । उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् ।
सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका छन् । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् । मंगलबार साँझ उक्त अडियो सार्वजनिक भए पछि बोलाइएको न्यायपरिषद्को आकस्मिक बैठकको मुख्य एजेण्डा अडियो टेप प्रकरणको विषय रहेको न्याय परिषद्का एक सदस्यले बताए । उनले भने, ‘आजको मुख्य एजेण्डा भनेको अडियो टेप प्रकरण नै हो ।
आजको बैठकले यस विषयमा तत्कालै केही निर्णय गर्नेछ । सम्भवतः न्यायाधीशलाई आजै जिम्मेवारीबाट मुक्त गरी तीन सदस्यीय जाँचबुझ समिति बनाएर छानबिन गर्न सक्नेछ ।’ नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थाल्दा पोखरेल राणाको पक्षमा थिए ।
अधिवक्ता पोखरेल एमालेको कानुन विभाग सदस्य
घुसको डिल गर्ने अधिवक्ता पोखरेल एमालेको कानुन विभाग सदस्यसमेत हुन् । इच्छाराज तामाङ पनि एमालेका पूर्व सांसद हुन् । उनी दोस्रो संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक सांसद चुनिएका थिए ।
पोखरेलको घर भएको गौरादह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ । त्यसैले पनि एमाले अध्यक्ष ओलीसँग उनको राम्रो सम्बन्ध छ । यो घुसको डिल भएको समय, २०७८ पुसमा उनी नेपाल बार एशोसिएसनको कोषाध्यक्ष थिए । न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन् । उक्त समयमा नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश जबरामा न्यायिक विचलन आएको भन्दै उनको राजीनामा मागेर आन्दोलनमा थियो । अधिवक्ता पोखरेल भने खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए ।
अडियोमा न्यायाधीश कोइरालाले घुस लिने सम्बन्धमा डराउँदै ‘मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ’ भन्ने लगायतका कुरा गरिरहेका छन् । तर अधिवक्ता पोखरेलले भने ‘त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने’ आश्वासन दिएका छन् । बाहिरिएको अडियो टेपमा अधिवक्ता पोखरेलले सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेका छन् ।
जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ ।
अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए । काठमाडौंका एक नम्बरका न्यायाधीश राजुकुमार खतिवडाले तामाङलाई धरौटीमा छाड्ने कुरामा असहमति जनाएपछि न्यायाधीश कोइरालाले तामाङलाई थुनामा पठाएको यो प्रकरणलाई नजिकबाट हेरेका एक अधिवक्ताले बताए ।
सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो । न्यायाधीश कोइरालाई घुसको अफर गर्ने कानुन व्यवसायी पोखरेलमाथि नेपाल बार एसोसिएसनले कारबाहीको तयारी गरेको छ ।
वीरगन्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उल्लेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/ ७८ को साउनदेखि जेठसम्ममा वीरगन्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो ।
चालु आव २०७८/७९ को सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि रु एक खर्ब ५३ अर्ब ३६ करोड ७ लाख मूल्यको २५ लाख ३१ हजार ६ सय ६० किलो लिटर इन्धन आयात भएको छ । यो गत आव भन्दा ७८/५१ प्रतिशत बढी इन्धन आयात हो ।
त्यस्तै, वीरगन्ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्याँसको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा २ लाख ३९ हजार ६सय ३८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आवको सोही समयमा १८ हजार ५०० मेट्रिक टन बढी अर्थात् २ लाख ५८ हजार १५० मेट्रिक टन बढी आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात बढे पनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार दुई सय २० किलोलिटर इन्धन आयात भएकोमा चालु आवमा ३ हजार ३ सय ६० किलोलिटर कम अर्थात् सात हजार ८६०किलोलिटर आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
उहाँले वीरगन्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए ।
गत आवमा रु ५४ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ राजश्व सङ्कलन भएकोमा चालु आवमा रु १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको बताए । नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपी ग्यास वीरगन्ज नाकाबाटै हुने गरेको छ ।
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओको निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुले पार्टी परित्यागको घोषण गरेका छन् । सुदुरपश्चिमका प्रभावशाली नेताहरु ओम प्रकाश पुन ‘निर्माण’, शंकर बहादुर खड्का ‘सिकन्दर’, दलबहादुर धामी ‘अग्नी’ रमेश परियार ‘जीवन’ले एक विज्ञप्ति सार्वजानीक गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरुले एक विज्ञप्ति सार्वजानीक गर्दै ‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल बिभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र धुर्विकृत गर्ने व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयास स्वरुप हामीले आजकै मिति देखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ भनेका छन् ।
विज्ञप्तिमा टुट, फुट र बिभाजनमा नभएर एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणमा लाग्नकालागि सबैलाई अनुरोध समेत गरेका छन् । ‘टुट, फुट र बिभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि सबै इमानदार कम्युनिस्ट क्रान्तिकारीहरुलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । कमरेड किरण देखि कमरेड विप्लवका नेतृत्वमा पार्टी निर्माण तथा पुननिर्माणमा संगसंगै यहाँसम्म आएको कुरा सर्वविदितै रहेको भन्दै पार्टीको सहि निति र निर्णयमा पार्टीले दिएको जिम्मेवारीमा कटिबद्ध भएर नै आएको बताउँदै उनीहरुले अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनितिलाई मध्यनजर गरि अबको राजनीतिक धार र बाटो बदल्ने निर्णयमा पुगेको बताएका छन् ।
यसरी पार्टी परित्याग गर्ने ओम प्रकाश पुन पूर्व पालिट ब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज, हाल नवौं महाधिवेशन आयोजक कमिटी सदस्य , किसान र सुकुम्बासी संगठनको अध्यक्ष रहेका छन् भने शंकर बहादुर खड्का ‘सिकन्दर’ संविधानसभा सभासद, पूर्व केन्द्रीय सदस्य तथा सेती व्युरो इन्चार्ज र हाल पार्टीको केन्द्रीय सल्लाहकार सदस्य रहेका छन् । यसै गरी दलबहादुर धामी ‘अग्नी’ नवा महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज र रमेश परियार ‘जीवन’ पुर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज हाल विशेष कमिटी सदस्य रहेका छन् ।
काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।
बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले बताएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घटदो क्रममा छ ।
काठमाडौँ । १७ एसएसपी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् ।
नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधवार १७ जनाको नाम सिफारिस गरेको हो । निकै लामो रस्साकस्सी पछि बढुवा सिफारिस गरिएको छ । सूचीको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर आएका छन् भने दोस्रो नम्बरमा टेक प्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन् । दीपक थापा चौथो नम्बरमा छन् ।
यसै गरी सूचीमा क्रमशः श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रीमण्डल हेरफेर नगर्ने भएका छन । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन ।
‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘उहाँको आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्नु हुन्न भनेर हामीले भनेका छौँ । तर मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिनु भएको छ ।’
उनका अनुसार नेकपा एसको बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् ।
दुई साताअघि नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चारजनाईलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।
सो निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष नेपालले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिए प्रधानमन्त्रीले ‘बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने’ भन्दै नेकपा एसको निर्णय कार्यान्वय गरिदिएका छैनन् ।
देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेकपा एसमा भने किचल सुरु भएको छ । बहालवाला मन्त्रीहरुले पार्टीको सो निर्णय वारेमा सुरुमा नै आफू अनविज्ञ भएको बताउँदै असन्तुष्टि जाहेर गर्दै संघीय संसदको निर्वाचनसम्म निरन्तरता पाउनु पर्ने बताउँदै आएका छन भने अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवासँगको भेटमा दबाब बढाउँदै आएका छन् ।
तर, नेकपा एसवाट मन्त्रीमण्डलमा नयाँ अनुहार थपेपछि कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल थप तीन पार्टीबाट पनि नयाँ अनुहार थप्नु पर्ने दबाबलाई टार्ने पक्षमा देखिएपछि प्रधानमन्त्री देउवाले बजेटको जवाफ सकिएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने पुनः दोहो¥याएका छन ।
काठमाडौं । टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए । २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको थियो । टिपर चालक दोलखाको मेलुङ–३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ । शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरिएको निर्देशनालयले जानकारी दिएको छ । बढुवाका लागि निवेदन परेका मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवा गरिएको हो ।
बढुवा उपर चित्त नबुझे ३५ दिनभित्र शुल्क तिरेर निर्देशनालयमा उजुरी दिन सकिने पनि निर्देशनालयले जानकारी दिएको छ ।
लमजुङमा माध्यमिक तहतर्फ पहिलो श्रेणीमा एक जना शिक्षक बढुवा भएका छन् ।
स्याङ्जामा निमावितर्फ पहिलो श्रेणीका तीन जना शिक्षक बढुवा भएका छन् भने मावितर्फ दुई शिक्षक बढुवा भए ।
बागलुङमा मावितर्फ दुई र निमावितर्फ दुई शिक्षक बढुवा भएका हुन्। तनहुँमा निमावितर्फ तीन शिक्षक बढुवा भए । मावितर्फ पनि तीन शिक्षक बढुवा भएका छन् ।
गोरखाका निमावि दुई शिक्षक बढुवा भएका छन् । नवलपरासी सुस्ता पूर्व मावितर्फ एक शिक्षक मात्रै बढुवा भए । म्याग्दीमा निमावितर्फ एक, मावितर्फ दोस्रो श्रेणीका तीन शिक्षक र प्रावितर्फ पहिलो श्रेणीका तीन शिक्षक बढुवा भएका छन् ।
पर्वतमा मावितर्फ एक र निमाविमा दुई शिक्षक बढुवा भएको निर्देशनालयले जनाएको छ । कास्कीमा मावितर्फ पाँच शिक्षक बढुवा भएका छन् ।
मुस्ताङमा निमावितर्फ दोस्रो श्रेणीका दुई शिक्षक र मावितर्फ दुई जना नै बढुवा भएका छन् । मनाङमा निमावितर्फ तीन जना शिक्षक बढुवा भएका छन् ।
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले मङ्गलवार प्रशासन, लेखा परीक्षण र संसद् सेवाका विभिन्न समूहका ४१ जनाको नाम सिफारिस गरेको हो । आयोगका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ १७ जना, लेखा समूह ६ जना, राजस्व समूह ३ जना, लेखा परीक्षण ८ जना, नेपाल सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूहतर्फ १ जना, नेपाल न्याय सेवा तर्फको सरकारी वकिल समूह दुई जना, कानून समूह एक जना र न्याय समूह तीन जना बढुवा नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरेको हो ।
काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिनुभयो ।
उहाँका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । उहाँले भन्नुभयो “ फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । ”
विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उहाँले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका विरामी खोजिरहेको बताउनुभयो । वागबजारका दुई जना १८ र २३ बर्षिय युवतीमा यहि असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक/एकमा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताउनुभयो । उहाँले वागबजारको पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उहाँले पानीको कारणले हैजा भएको आफूले शंका गरेपनि परीक्षणको रिर्पोट नआएकन केही भन्न नसकिने बताउनुभयो । “हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ, ” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “ हामीले घरवरपरका छिमेकीसंग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन भनेर अध्ययन गरिरहेका छौ ।”
उहाँले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताउनुभयो । असार २ गते चटपटे खाएपछि ति युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागको थियो ।
प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदुषित खानेकुरा तथा झिंगा धन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत शुरु गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धिकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उहाँले बताउनुभयो । कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसंग पनि खानेपानी शुद्धिकरण गरेर मात्र वितरण गर्न भनेको छ ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।