चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ

काठमाडौं, २६ असार । चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज विहान काठमाडौं आइपुगेको छ । आठ सदस्यीय सहित नेतृत्व गर्दै उनी आज काठमाडौं आएका छन्।
नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् । केही दिनअघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । उनले परराष्ट्रमन्त्री डा‍‍‍ खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।

बाजुराको बूढीगङ्गामा नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का विजयी


बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छ । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का (कुँवर) निर्वाचित हुनुभएको हो ।

बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित हुनुभयो । उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताउनुभयो ।

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा कांग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित हुनुभएको थियो । कांग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । दश वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा कांग्रेस विजयी भयो ।

सुनको मूल्यमा बृद्धि


सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २००ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार १८५ कायम रहेको महासङ्घले जनाएको छ ।

मधेस प्रदेशसभाकाे बैठकबाट कर तथा गैरकर राजस्व विधेयक पारित


मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभयो ।

बैठकमामा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नुभएको थियो । यसअघि हिजो शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो । विधेक पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

बस मर्मत गर्ने क्रममा सहचालकको मृत्यु


बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वाडा नं.– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो । बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अहिले बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

भारतबाट नआउने भयो मल


भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित भएका छन् । मल ल्याउन पहलका लागि कृषि मन्त्रालयबाट मन्त्रीदेखि अन्य उच्च अधिकारीहरु पटक पटक भारत पुगेका थिए । पाँच वर्षको लगातार प्रयासपछि २०७८ फागुन १६ गतेमात्रै दुई देशको बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता भएको पाँच महिना बितिसक्दा पनि मल भने आउन नसकेन ।
मल किन आएन भन्ने बारेमा मन्त्रालयका कुनै पनि स्पष्ट जवाफ दिन सक्दैनन् । सम्झाताअनुसार चालु आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिकटन मल नेपाल आयात हुनुपर्ने हो । तर, यो आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा पनि सो मल आएन । कृषि मन्त्रालयका एक सहसचिवले भने, ‘भारतले मल दिन्छु, दिन्छु भनिरहेको थियो तर अहिले आएर के के बहाना बनाएर मल दिनमा आनाकानी गरिरहेको थियो । अझै भारतसँग छलफल र डकुमेन्ट आदान प्रदान भइरहेको छ ।
असारे खेतीका लागि मल ल्याउन भन्दै तत्कालीन कृषिमन्त्री महिन्द्रराय यादव आफै पनि भारत गएका थिए । त्यहाँका सम्बन्धित मन्त्रीमा उनले एक हप्ताभित्र नै मल नेपाल पुग्ने आश्वासन दिएका थिए । मन्त्री यादव नेपाल आएपछि संसदमै गएर असारको १५ गतेभित्र भारतबाट रासायनिक मल आइपुग्ने दावी गरेका थिए । जीटुजीबाट आउने मलबाट नै किसानले धान रोप्न पाउने उनको प्रतिकृया थियो । तर ५० प्रतिशत भन्दा बढी रोपाईं भएर आइतबार असारको २६ गते भइसक्दा पनि मलको हाहाकार उस्तै छ ।
भारतबाट मन्त्री फर्किसकेपछि कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु पनि मल ल्याउनकै लागि भारत गएका थिए । उनीहरु पनि खाली हात फर्केका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडका एक कर्मचारीले भने, ‘भारतले मल दिने भनेको छ, तर कहिले दिन्छ अहिलेसम्म निश्चित भएको छैन, भारतको कुरा बुझ्दा यसपटकको धान रोपाईंमा त्यहाँको मल प्रयोग गर्न नपाइने देखियो ।
पाँच वर्षका लागि भएको सम्झौताको एक आर्थिक वर्ष समाप्त हुँदा नेपालले सम्झौता बमोजिम एक आर्थिक वर्षमा पाउने एकलाख ५० हजार मेट्रिकटन मल गुमाएको छ । सम्झौताअनुसार एक वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने भनिएको छ । अब साउनमा भारतले मल दियो भने १७० हजार मल दिनुपर्ने हुन्छ ।

बाबुराम र उपेन्द्रले बोलाए छुट्टाछुट्टै बैठक


जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएकाे छ।

बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएकाे छ।

बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको उनले बताए।

बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ।

यस्तै उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ।केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ।

‘काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उनले विज्ञप्ति जारी गरेका छन्।

जसपा विभाजनउन्मुख छ। संघीय परिषद अध्यक्ष बाबुराम र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र पक्षबीच सौहार्यपूर्ण वातावरणमा अलग हुने सहमति भएका थिए।

जसपाले हालै तीन मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाउँदा पनि बाबुरामसँग परामर्श नगरिएको नेताहरू बताउँछन्।

आफ्नै तलब खर्चेर र्‍यापर यम बुद्धको सालिक बनाउने (बालेन)


काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले ‘आफ्नै तलब’ खचगरेर चर्चित र्‍यापर यम बुद्धको सालिक बनाउने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार बालेनले लेखेका छन्, म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँनेछु ।

मेयर बालेनले असार पहिलो साता ल्याएकोे २५ अर्ब ४१ करोड आकारको अनुमानित बजेटमै यम बुद्धको सालिक बनाउने (रु १५ लाख विनियोजन) योजना समावेश थियो । तर त्यो निर्णय शुक्रबार बालेन आफैंले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि भने चर्को आलोचना भयो । आलोचनाबाट बच्न बालेनले तत्काल निर्णय बदले– मेरै तलबबाट बनाउँछु यम बुद्धको सालिक ।
आलोचनाको जवाफमा ‘आफूले पाउने पारिश्रमिक खर्चेर सालिक बनाउँछु’ भन्नुले बालेनमा यो विषय नबढोस् भन्ने चाहना देखिन्छ । तर बालेनलाई सजिलै बजारले छोड्नेवाला छैन । यो निर्णयले यति धेरै चासो पाउनुमा पनि बालेन मेयर हुनु नै हो । यदि बालेनको ठाउँमा अरू कोही हुन्थे भने संभवतः रातारात निर्णय बदल्नुपर्ने वा बदलिने परिस्थिति नै सिर्जना नहुन सक्थ्यो ।
बालेनका हरेक निर्णय चासोका साथ हेरिनुमा पनि उनकै पृष्ठभूमिले काम गरेको छ । यदि कुनै राजनीतिक दलबाट मेयर जितेका हुन्थे भने उनलाई अहिले जसरी चासोका साथ नहेरिन सक्थ्यो । तर राजनीति, चुनाव र सत्तालाई मुठ्ठीभित्रको खेल सम्झिने दलहरूलाई चकित तुल्याउँदै बालेनले मेयर जिते । पक्कै पनि सत्ताको नेतृत्व गरिरहेको पाँच दलीय गठबन्धन र बलियो संगठनात्मक संरचना रहेको एमालेका उम्मेदवार हराउनु सजिलो थिएन । तर गैरदलीय उम्मेदवारी दिएर पनि बालेनले काठमाडौंको मेयर जिते । त्यसपछि बालेन आमचासोमा पर्ने नै भए ।

बलियो राजनीतिक बिरासत बदल्ने असाधारण सफलता पाएका बालेन आफूलाई व्यक्तिमा मात्रै सीमित नराखेर फरक ‘सोच’का रूपमा परिभाषित गर्छन् । मेयर बन्ने चुनावी दौडकै क्रममा उनको दावी थियो– म उम्मेदवार बनिरहँदा राजनीतिप्रति युवा पुस्ताको आकर्षण छ ।

तर तिनै बालेनले सालिक बनाउने महानगरको निर्णय स–गर्व शेयर गरेपछि भने समर्थनको ठाउँ आलोचनाले भरियो । यसलाई पनि अस्वाभाविक मान्न मिल्दैन । किनकि दलहरूले गरेको गल्ती बालेनबाट नहोस् भन्ने अपेक्षा हुनु स्वाभाविक हो ।

निकट विगत हेर्दा पनि राजनीतिप्रति नागरिकमा वितृष्णा उत्पन्न हुनुपर्ने कारण मध्ये नेताहरूमा देखिएको सालिकरमूर्ति मोह एक हो । मान्छेका आधारभूत आवश्यकता भुलेर धार्मिक ग्रन्थ रामायण वर्णित राममन्दिर निर्माणलाई प्राथमिकतामा राखेको भनी तत्कालीन प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भएको थियो । अझ नागरिक कोरोना महामारीको त्रासदीमा हुँदा पशुपतिनाथमा सुनको जलहरी चढाउने अपरिवर्तित अड्डीले ओली अलोकप्रिय बने । गैरकम्युनिष्ट नेताहरूमा मूर्ति र मन्दिर मोह सामान्य नै भयो ।

तर दलहरूकै विकल्पमा महानगरको मेयर अनुमोदित बालेनले पनि मूर्तिकै निर्णय प्राथमिकतामा राखे । संभवतः यम बुद्धको मूर्ति बनाउने निर्णय मेयर जित्नुअघि बालेनले गरेका बचनबद्धताको परिणाम हुन सक्छ ।

किनकि इन्जिनियरसँगै बालेनको पृष्ठभूमि र्‍यापर हो । र्‍यापर भएरै उनी बालेन्द्रबाट बालेन भए । बालेन भएरै मेयर जिते । त्यसपछि आफ्ना मार्गदर्शक र समर्थकप्रति ऋणी हुने नै भए । बालेनले पहिलो बजेटबाटै त्यो ऋण चुक्ता गर्न चाहे ।

अझ हिपहप विधामा यम बुद्धले जुन सम्मान पाएका छन्, बालेनको निर्णय कत्तिपनि अनौठो होइन । बरू हिपहप विधाबारे हामीसँग रहेको ‘दृष्टिदोष’ समस्या हो । किनकि यम बुद्धको सट्टा हनुमान, शिव, गणेश, बुद्ध वा अरू कुनै धार्मिक ग्रन्थमा उल्लेखित पात्रको मूर्ति बनाउने निर्णय गरिएका थिए भने यो तहकै आलोचना नहुन सक्थ्यो १ आखिर बनिरहेकै छन्, अनेक मूर्तिहरू ।

संगीत क्षेत्रका हस्तीहरूको सालिक राजधानीदेखि मोफसलका चोकहरूमा छँदैछ, बन्दैछन् । नेपाली कांग्रेसले संस्थापक नेताहरूको मूर्ति कुद्न छोडेको छैन । नेताका मूर्ति थपिरहेकै छन् ।

मदन भण्डारीको मूर्ति कति बने भन्ने लगत सायद नेकपा एमालेसँग छैन । किनकि मदन भण्डारीप्रति एमालेमा अथाह सम्मान छ, सवाल गर्नलाई कुनै ठाउँ नै छैन । माओवादीले सशस्त्र विद्रोहमा प्राण गुमाएकाहरूको सालिक कति बनाए होलान् १

मधेश आन्दोलनमा सहादत पाएकाहरूको सालिकमा वर्सेनि श्रद्धाको फूल चढाइँदैछ । मूर्ति निर्माण र उचित तिथि बनाएर तिनको पूजा राजनीतिक इतिहासको अंश बनेको छ । नेपालमा मूर्ति निर्माण र पूजाको परम्पराले सम्भवतः शाह वंशीय शासनकालबाटै तीव्रता पायो । पूर्वराजाहरूका सालिक अहिले पनि चोकचोकमा छँदैछन् ।

समाज विकास क्रमको इतिहासमा शाह वंशीय शासनकाल भन्दा निकै अगाडिबाट मूर्ति निर्माण र पूजा भयो । अनेक देवी देवता, कूल देवता इत्यादिका मूर्ति त्यसका प्रमाण हुन् । राणा र राजतन्त्रको अन्त्यपछि दलहरूले आफ्नो शासन व्यवस्था चलेको अनुभूति दिलाउन नेताहरूको सालिक निर्माणमा होड चलाए । सँगै, भोट बढाउने प्रयोजनका निम्ति धार्मिक ग्रन्थमा उल्लेखित पात्रहरूको मूर्ति निर्माणको रेकर्ड राख्न चाहे ।

बदलिन नसकेको तिनै मूर्ति संस्कृति र सोचको सिको बालेनले पनि गरे । उनी जुन बाटो भएर महानगरको नेतृत्वमा पुगे, सकेसम्म इमान्दार बन्ने प्रयत्न स्वरूप यम बुद्धको मूर्ति बनाउने निर्णय लिए । यो निर्णयले आकाश खस्नेवाला छैन । किनकि देशमा सुकुम्वासी हुने भनेका मान्छेहरू हुन्, मूर्तिहरूका लागि त जति पनि जमिन खाली छ ।

तिनै मूर्तिहरूमा एक बन्ने हुन्, यम बुद्ध । लोकगीत वा शास्त्रीय संगीतमा व्यक्तित्व बनाउनेका मूर्तिजस्तै हिपहप विधामा योगदान गरेकाले उनको सालिक ठडिने हो । संगीतका अरू विधामा योगदान गरेकाहरूको सालिक छन् भने यम बुद्धको किन नबन्ने १

उसैपनि बालेनको जितबाट हिपहप अलग छैन । नयाँ पुस्ताको रोजाइमा बालेनको सोच र हिपहप संस्कृति दुवै परेका हुन् । त्यसैले यम बुद्धको सालिक उभ्याउने बालेनको निर्णय नयाँ गल्ती होइन ।

तर बालेनसँगै देशको नेतृत्व गरिरहेका राजनीतिक नेतृत्वले अविछिन्न रूपमा निरन्तरता पाउँदै आएको यो संस्कृतिबारे सोच्न भने आवश्यक छ– समाजका हरेक मान्छेमा खुसी खोज्ने कि मूर्ति उभ्याउने ।

होटलमा २१ वर्षीया युवती । मृत फेला

२६ असार । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् ।

पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएका छन् । होटेलको कोठा नंं १०५ मा बस्ने सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् ।

मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको छ ।सदीक्षासँगै बसेका युवकलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।

नागरिकता ऐन संशोधन विधेयक फिर्ता


काठमाडौं । संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको बताए । त्यसपछि सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गर्‍यो ।

यो सँगै नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएका छन् । संसदमा नागरिकता ऐन संशोधन विधेयक २०७५ साल साउन २२ गतेदेखि विचाराधीन थियो।

आजको मौसम कस्तो छ ?


आज देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेका छन् । प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको छ ।

रातको समयमा देशका पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आङ्शिक बदली भई प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

तीन महिनाभित्र परिणाममुखी काम गर्छु मन्त्री यादव


नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएका छन् । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महत्पूर्ण काम गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “म पर्सावासीलाई धन्यवाद दिनचाहन्छौ र मन्त्रालयको काम गर्नुभन्दा अघि आशीर्वाद लिन वीरगञ्ज आएको छौं । जिल्लाका सबै सडकको ‘डिपिआर’ बनाएर बोलपत्र आह्वान गर्नुका साथै पर्यटनको विकासका लागि चिडियाखाना बनाउने कामसमेत अगाडि बढाउने मन्त्री यादवले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई लगायत नवनिर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।

अस्पतालमा २४ घण्टासम्म चिकित्सक राउण्डमा नजाँदा ?


चितवन, २६ असार (रासस) चिकित्सकले अस्पतालमा नियम बनाएका छन् कि भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन ।

पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहनुभएका ५५ वर्षीय श्याम सार्कीले भन्नुभयो ,“ डाक्टर साहेब नआनुभएको २४ घण्टा भयो । उसो त अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकसंग भेट्न पाएका छैन ।

बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए । वृृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सक ‘कहिले आउलान्’ भनेर प्रतिक्षा गरिरहेका देखिन्थे । आक्कल झुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए ।

महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा ऋतुराज तिवारीको हो । बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाउनुभएन । उनीहरु भन्दैथिए, “कम्तीमा चिकित्सकले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।” यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको यसै हुने उनीहरूको बुझाइ छ ।

चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । आफ्नो ड्युटीमा नजानु भएका डा तिवारीले टेलिफोनमा भन्नुभयो, “गल्ती भयो, अब म गर्दिनँ ।” यसअघि पनि डा तिवारी राउण्डमा नजाने गरेको नर्सहरूको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिनुभया । उहाँले भन्नुभयो, “तालिकाअनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल भित्र पर्छ । पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकको अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आफूले सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताउनुभयो । उहाँले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गरिने जानकारी दिनुभयो ।

१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण

खेम राज खनाल बिराटनगर, असार २३ गते ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय ९मानीनय मन्त्रिस्तर० को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यस कार्यालयमा पदस्थापना हुनु भएका प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आजै कार्यभार सम्हाल्नु भएको हो । नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सक्नु भएको छ । बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ । यसै गरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

पूर्वप्रधानमन्त्रीको हत्या


जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएका छन्। स्थानीय समयअनुसार बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो।
आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो। उनको छाती र घाँटीमा गोली लागेको अधिकारीहरूले बताएका छन्।

आबेमाथि पछाडिबाट गोली हानिएको थियो। गोली लागेका आबे त्यहीँ ढलेर बेहोस भएका थिए। उनले लगाएको सर्टमा रगत देखिएको थियो।हेलिकप्टरबाट अस्पताल ल्याइपुर्‍याउँदा उनका मुख्य अंगहरूले काम गर्न छाडिसकेका थिए। केही घन्टाको प्रयासपछि डाक्टरहरूले साँझ उनलाई मृत घोषणा गरेका थिए।

आबेमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले हिरासतमा राखेको छ।

यामागामी नारा सहरकै बासिन्दा भएको खुलेको छ तर उनले के काम गर्थे भन्ने बाहिर आइसकेको छैन। सन् २००२ देखि २००५ मा उनले जापानको म्यारिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए। आबेमाथि आक्रमण गर्न यामागामीले घरमै बनाएको हतियार प्रयोग गरेको अधिकारीहरूले बताएका छन्।

जापानमा सर्वसाधारणले बन्दुक राख्ने कानुन निकै कडा छ। बन्दुक राख्न कुनै नागरिकले १३ वटा चरण पार गर्नुपर्ने हुन्छ। बन्दुक राख्न चाहनेले सुरूमा सुटिङ वा हन्टिङ क्लबमा भर्ना हुनुपर्छ। त्यसपछि उनीहरूले बन्दुक चलाउनेबारे पढ्नुपर्छ र लिखित परीक्षा पास गर्नुपर्छ। मानसिक स्वास्थ्य ठिक भएको र दुर्व्यसनमा नफसेको प्रमाणित भएपछि डाक्टरले प्रमाणपत्र दिनुपर्छ।

बन्दुक चलाउने र सुरक्षित राख्नेबारे अर्को छुट्टै पढाइ गर्नुपर्छ। प्रहरीले बन्दुक राख्न चाहनेसँग के प्रयोजनका लागि बन्दुक राख्न लागेको हो भनेर लामो अन्तर्वार्ता गर्छ। त्यस्ता व्यक्तिको छिमेकीसँगको सम्बन्ध, पारिवारिक र आर्थिक अवस्थाको पनि प्रहरीले अध्ययन गर्छ।

सबै प्रक्रिया पूरा भएपछि बन्दुक राख्ने ठाउँको पनि प्रहरीले अनुमगन गर्छ। यति लामो प्रक्रिया पूरा गरेर बन्दुक राख्ने जापानीको संख्या नगन्य छ।

कडा बन्दुक कानुन र राजनीतिक हिंसा लगभग नहुने भएकाले जापानले आफूलाई सुरक्षित समाज ठान्थ्यो। दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अंगालेको जापानको अन्तर्राष्ट्रिय छवि पनि त्यस्तै थियो।

शुक्रबार आबेमाथि गोली प्रहार भएको खबर आएपछि मानिसहरू अचम्ममा परेका थिए।

जापानमा शीर्ष नेताको हत्या प्रयास भएको २८ वर्षमा यो पहिलोपटक हो। यसअघि सन् १९९४ मा पूर्वप्रधानमन्त्री मोरीहिरो होसोकावामाथि एक होटलमा आक्रमण भएको थियो। तर उनलाई केही भएन।

त्यसअघि सन् १९६० मा जापान सोसलिस्ट पार्टीका प्रमुख इन्जेरिओ असानुमालाई चक्कु घोपेर हत्या गरिएको थियो।

जापानमा बिरलै हुने हिंसाको शिकार आबे भएका छन्। राजनीतिक परिवारबाट आएका आबे सन् २००६ मा पहिलोपटक जापानको प्रधानमन्त्री बन्दा दोस्रो विश्वयुद्धपछि सबभन्दा कम उमेरमा जापानी प्रधानमन्त्री बनेका थिए। त्यतिबेला उनले लामो समय काम गर्न पाएनन्। एक वर्षमै राजीनामा दिनुपर्‍यो।

२०१२ मा उनको पार्टीले बहुमत ल्यायो। आबे फेरि प्रधानमन्त्री बने। यो कार्यकालमा उनी ८ वर्षसम्म प्रधानमन्त्री भए। लगातार यति लामो समय जापानी प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति हुन्।

आफ्नो कार्यकालमा उनले जापानी शासनलाई स्थायित्व मात्रै दिएनन्, जापानको अर्थतन्त्र र विदेश सम्बन्धलाई पनि मजबुत बनाउन भूमिका खेले। उनले लागू गरेका आर्थिक नीतिहरूलाई ुआबेनोमिक्सु पनि भन्ने गरिन्छ।

आबेले अमेरिका, अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाड बनाउन पनि महत्वपूर्ण योगदान दिए। जापान दोस्रो विश्वयुद्धमा पराजित भएपछि अमेरिकाले तयार पारिदिएको शान्तिवादी संविधानमा अडिएको छ। आबेले भने जापानी सैनिक अरू देशको सहयोगका लागि बाहिर पनि जान सक्ने कानुन ल्याए।

चीनमा उनको छवि राम्रो नभए पनि आबेले सम्बन्ध सुधारका लागि पहल गरेका थिए। उनले चीनको भ्रमणसमेत गरेका थिए।

कार्यकाल सकिन बाँकी छँदै आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए। राजीनामा दिए पनि सत्तारूढ पार्टीभित्र उनको बलियो पकड थियो।

आबेका हजुरबुवा पनि जापानका प्रधानमन्त्री थिए। उनका बुवा विदेशमन्त्री भएका थिए।

१९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री बनेका आबेका हजुरबुवा किसी नोबुसुकेको पनि हत्या प्रयास भएको थियो। सन् १९६० मा नोबुसुकेले अमेरिकासँग सुरक्षा सन्धी गरेका थिए। उक्त सन्धी पास भएको एक महिनामै किसीमाथि चक्कु आक्रमण भयो।

आक्रमणकारीले ६ पटक उनको तिघ्रामा चक्कु हानेका थिए। उक्त आक्रमणबाट किसी बाँचे। आबेमाथि आक्रमण गर्नेले छातीमै गोली हाने। उनी बाँच्न सकेनन् ।

(फाइनान्सियल टाइम्स, द गार्डियन, द इकोनोमिस्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)