मलामी बोकेको ट्रयाक्टरको दुर्घटना हुदा दुईको मृत्यु, ३१ घाइते


सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु सहित ३१ जना घाइते भएका छन् ।

आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।  मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो । 

मलामी बोकेर फर्किंदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा स्थानीय तहबाटै निःशुल्क पासपोर्टको फारम भर्न सकिने

खेम राज खनाल असार,२३ हेटौडा
मकवानपुर । अब देखि मकवानपुर जिल्लाका १० वटै स्थानीय तहबाट निःशुल्क रुपमा विद्युतीय पासपोर्टको लागि अनलाईन फारम भर्न मिल्ने भएको छ।
आज बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले कार्यालयमा अनलाईन फारम भर्नेको अत्याधिक भीड बढेको गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्वयमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाईन फारम भर्ने व्यवस्था मिलाईएको बताए।
२४ गते शुक्रबारबाटै स्थानीयतहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने गरि व्यवस्था गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
मकवानपुरमा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५ सय ४० जनाले फारम भर्न सकिने ब्यबस्था मिलाईएको भन्दै प्रजिअ पाण्डेले शुक्रबार कार्यालयमा समयमानै पुगेर स्थानीय तहबाट फारम भर्न सेवाग्राहीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको उपस्थित रहेको थियो

एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव नियुक्त


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सांसद सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतक बनाउने भएका छन्।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेका छन् ।
यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको हो ।

त्यस्तै बैठकले एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरेका थिए।

फेरि रोक्यो पुनर्कर्जा ‘राष्ट्र बैंकले’

हामीले असार सुरू भएदेखि नै पुनरकर्जा जारी गर्न रोकेका छौं । राष्ट्र बैंक स्रोतले भन्यो, अहिले लगानी भइसकेको कर्जा भुक्तान हुँदै गर्दा सम्भवत आगामी आर्थिक वर्षमा यस्तो लगानी रकम कोषमा रहेको रकम बराबरको सीमामा आउन सक्छ। कोभिडलगत्तै राष्ट्र बैंकले आफ्नो कोषमा रहेको पाँच गुणासम्म पुनर्कर्जा सुविधा दिने व्यवस्था गरेको थियो। अर्थतन्त्र चलायमान बनाउन भन्दै यस्तो सुविधा दिन राष्ट्र बैंकले नोट नै छापेको थियो। यो सुविधालाई राष्ट्र बैंकले घटाउँदै लगेको छ। केही दिनअघि भएको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले जारी गरिने पुनर्कर्जा राष्ट्र बैंकको कोषमा भएको रकम बराबर मात्रै गर्ने तयारी भइरहेको समेत जानकारी दिएका छन्।

राष्ट्र बैंकले पछिल्लो पटक आफ्नो कोषको ४।१२ गुणासम्म ९दुई खर्ब १२ अर्ब रूपैयाँ० मात्रै पुनर्कर्जा दिने व्यवस्था गरेको थियो। असार लागेयता राष्ट्र बैंकले अघोषित रूपमा पुनर्कर्जा जारी गर्न बन्द गरेको छ। हाल राष्ट्र बैंकको कोषमा करिब ४२ अर्ब ४० करोड बराबर रूपैयाँ छ।

गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामार्फत राष्ट्र बैंकले दिँदै आएको पुनर्कर्जा एक खर्ब ५८ अर्ब रूपैयाँसम्म थियो। जेठसम्ममा भने लगानीमा रहेको यस्तो पुनर्कर्जा एक खर्ब १५ अर्ब रूपैयाँमा सीमित भएको छ। अहिले पुनर्कर्जा दिन बन्द गरिएसँगै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा पुनर्कर्जा अन्तर्गतको लगानी ४२ अर्ब रूपैयाँ हाराहारी आउने अनुमान गरिएको छ। राष्ट्र बैंकले तीन शीर्षकमा पुनर्कर्जा जारी गर्छ। लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष र साधारण पुनर्कर्जाको रूपमा बैंकहरूमार्फत् लगानी भइरहेको छ। राष्ट्र बैंकले अर्धवार्षिक समीक्षाबाट असल कर्जाको धितोमा प्रदान गरिने पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट अधिकतम ७ प्रतिशत ब्याजदर लिन पाउने व्यवस्था गरेको छ। यसअघि राष्ट्र बैंकले बैंकहरूलाई एकदेखि तीन प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउँन्थ्यो भने बैंकहरूले ग्राहकसँग तीनदेखि पाँच प्रतिशतसम्म ब्याजदर लिन पाउँथे।

हाल राष्ट्र बैंकले बैंकहरूलाई ४ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, २ प्रतिशतमा विशेष पुनर्कर्जा र ५ प्रतिशतमा साधारण पुनर्कर्जा रकम प्रदान गर्छ। बैंकहरूले भने यिनमा ग्राहकसँग क्रमशः ७ प्रतिशत, ५ प्रतिशत र ७ प्रतिशत लिन पाउँछन्।

सरकारी जग्गा ‘लिज’ मा दिन नयाँ कानुनको प्रबन्ध


सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज (भाडा)मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेका छन् ।

राजपत्रका सूचना प्रकाशित गरेर ‘ सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो । कार्यनीतिअनुसार विदेशी कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घका निकाय, नेपाल पक्ष रहेका अन्तर सरकारी सङ्गठन, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत स्थापना भएका विश्वविद्यालय, बोर्ड समिति वा अन्य स्वायत्त संस्था, प्रचलित कानुनबमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा दर्ता भएका कुनै पनि संस्था वा व्यक्तिले सरकारी जग्गा उपभोग गर्न पाउनेछन् ।

सरकारको नाममा दर्ता कायम नभएका जग्गा सरकारको नाममा दर्ता भएपछि मात्रै लिजमा उपलब्ध गराइनेछ । सरकारले त्यस्ता जग्गा अल्पकालीनरुपमा पाँच वर्ष, मध्यकालीन रुपमा १५ वर्ष र दीर्घकालीन रुपमा ४० वर्षसम्म लिजमा उपलब्ध हुनेछ । कुनै सरकारी जग्गा लिजमा लिई उपयोग गर्न चाहने व्यक्ति, संस्था वा निकायले रु पाँच हजार निवेदन दस्तुरसहित निवेदन दिनुपर्नेछन् । जग्गा लिजमा लिनु पर्नाका कारण र कार्ययोजना पेश गर्नुपर्ने कार्यविधिमा प्रबन्ध गरिएको छ ।

लिजमा उपलब्ध गराउने सम्बन्धमा जग्गा रहेको सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयसहितको सिफारिस, विदेशी कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घका निकायलगायतका नेपाल पक्ष रहेका अन्तर सरकारी सङ्गठनको हकमा परराष्ट्र मन्त्रालयको सिफारिस आवश्यक पर्दछ ।

लिजमा लिन लागेको जग्गा विपद् व्यवस्थापनको लागि आवश्यक नपर्ने भन्ने सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिससमेत आवश्यक पर्छ । सरकारी जग्गा उपयोग गर्न दिने वा लिजमा उपलब्ध गराउनका लागि सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक सिफारिस समिति रहनेछ । सो समितिमा जिल्ला समन्वय अधिकारी, डिभिजन वन कार्यालयको प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, जिल्लाका नापी कार्यालयको प्रमुख सदस्य एवं सम्बन्धित कार्यालयको प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

सो समितिले जग्गा लिनुको उद्देश्य, कार्ययोजना र औचित्य, माग भएको जग्गा रहेको स्थान र क्षेत्रफल, माग भएको जग्गाको संरक्षणको सुनिश्चितता, ऐतिहासिक, पुरातात्विक, धार्मक, सांस्कृति महत्वका स्थलको मौलिमकतामा असर नपर्ने कुराको प्रत्याभूति, लिजबापत जग्गा उपलब्ध गराउँदा प्राप्त हुने रकम जरुरी छ । सम्झौतामा तोकिएको शर्त पालना गर्नुपर्नेछ । लिजमा प्राप्त जग्गा असल नियत र विवेकपूर्ण ढङ्गले प्रयोग गर्नुपर्ने, त्यस्तो जग्गा अतिक्रमण वा हानिनोक्सानी नहुने गरी प्रयोग गर्नुपर्ने, जुन प्रयोजनाका लागि जग्गा लिइएको हो, सोही प्रयोजनाका लागि प्रयोग गर्नुपर्नेछ । लिजमा लिएको जग्गा बेचबिखन गर्न, सट्टापट्टा गर्न, सब लिजमा वा कुनै प्रकारको सम्झौता गर्न वा आंशिक वा पूरै हक हस्तान्तरण गर्न वा धितोबन्धक दिन नहुने, त्यस्तो जग्गाको मूल्याङ्कन गरी आफ्नो कूल सम्पत्तिको मूल्य कायम गर्न वा त्यसको आधारमा सुविधा निर्धारण गर्न पाइने छैन ।

त्यस्तो जग्गा लिज अवधि समाप्त हुनुभन्दा छ महिनाअगावै लिज अवधि थप्नको लागि कार्यालयमा निवेदन दिनुपर्नेछ । लिजमा लिएको जग्गामा विद्युत् ट्रान्सफर्मर, विद्युत् पोल, विद्युतीय सवारी चार्जिङ स्टेशन, टेलिफोन टावर, सुरक्षा युनिट, खानेपानी ट्याङ्कीजस्ता सार्वजनिक उपयोग र महत्वका कुनै सरकारी वा सार्वजनिक संरचना निर्माण गर्न आवश्यक भई अन्य विकल्प नदेखिएकामा आवश्यकताअनुसार त्यस्तो जग्गा सो प्रयोजनका लागि उपलब्ध गराउन सकिनेछ ।

बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति


काठमाडौं। शुक्रबार बसेको संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठबले बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हद म्याद बढाउन सहमति जुटाएका छन् । समितिले यौनहिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको हो । महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनुपर्ने माग गर्दै आएका थिए ।
यस्तै, थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
समितिले जुटाएको सहमतिअनुसार अब कुनैपनि बलात्कारमा परेका नाबालिगले बालिग १८ वर्ष पूरा भएको ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नुपर्ने छ भने बालिगको हकमा भने घटना भएको २ वर्षभित्र उजुरी गर्नुपर्ने छ ।

यस्तै, समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

सभामुख सापकोटाले बोलाए छानविन समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । सभामुखले दिउँसो १ बजे बैठकका लागि छानबिन समितिका सदस्यहरुलाई बोलाएको हो ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।

तीन देशका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएका छन् ।

सीमा नाकामा बढ्दै कोरोना सङ्क्रमण


सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा सङ्क्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा सङ्क्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिनुभयो ।

गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना सङ्क्रमित भेटिएको तथ्याङ्क छ । भेटिएका सबै सङ्क्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा महतोले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिलो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ । पीसीआर परीक्षणका लागि आवश्यक एजेन्ट कीटको अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा उदय सिंहले जानकारी दिनुभयो ।

मुलुकका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि पर्सा जिल्लामा नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापर्वाही गरिरहेका छन् ।

नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले रिावोट


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेका छन् । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४।७० अङ्कले ओरालो लागेर एक हजार ९९२।६२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक ५।६० अङ्कले ओरालो लागेर ३७९।८९ मा सीमित भएको छ । कूल २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर रु एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ मूल्यमा खरिद बिक्री भए । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ४१ अर्ब ९८ करोड ४९ लाख १६ हजार बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ १५।१५, व्यापार ६७।१, होटल तथा पर्यटन ९६।४७, विकास बैंक ९४।७८, जलविद्युत् ५९।०१, वित्त ४७।३५, निर्जीवन बीमा ८९।३६, उत्पादन १२१।७७, अन्य २८।३६, लघुवित्त ६५।५४, जीवन बीमा १९३।०७, सामूहिक लगानी कोष ०।१६ र लगानी १।४२ अङ्कले ओरालो लाग्यो ।

त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु तीन करोड ९७ लाख ६६ हजार ७८३, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु तीन करोड ९१ लाख ३८ हजार ६८५, अरुण काबेली पावर रु तीन करोड ७९ लाख २९ हजार ६३१ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७३ लाख ४४ हजार ९१७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई समुन्नत स्किम एक २।८२, नवील इक्विटी फण्ड २।४६, कुमारी बैंकको ऋणपत्र २, लक्ष्मी इक्विटी फण्ड १।९८ र गुराँस लघुवित्तका लगानीकर्ताले १।९५ प्रतिशतले कमाए ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनी ५।४४, बलेफी हाइड्रोपावर ४।९०, हिमाल दोलखा हाइड्रोपावर ४।७९, वेस्ट फाइनान्स कम्पनी ४।७४ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४।६६ प्रतिशतले गुमाए ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएका छन् । पार्टी अध्यक्ष पुष्प कमल दाहाल ले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि बैठक स्थगित भएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए ।

त्यसपछि प्रचण्डले नामहरु वाचन सुरु गरे । तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् । नेताहरुको विरोध कायमै रहेपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट

बिहीबार नेप्से परिसूचक १६।६० अंक घटेर २०२७।३२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३।४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १।१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।२१ अंक घटेको छ।यस दिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ स्टकको ३१ हजार २७६ पटकको कारोबारमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको ४७ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली र शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।यस दिन कुल ४६ वटा स्टकको मात्र मूल्य बढेको छ। मूल्य बढेका स्टकको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावट दर पनि कम नै रहेको छ। यस दिन समिट लघुवित्तको शेयरमूल्य सर्वाधिक ५।२० प्रतिशत घटेको छ। त्यसैगरी, लिबर्टी इनर्जीको ५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३।९७ प्रतिशत, गुराँस लघुवित्तको ३।८४ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ३।६४ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाट अरु सबैको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०।६६ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

जनताले मल र नागरिकता कहिले पाउँछन् ?


प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल नागरिकता विधेयक ल्याएर गैरनागरिक बनेको नेपालीलाई नागरिकता दिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले नागरिकता विधेयक ल्याउँदा मुलुकको भौगोलिक संवेदनशीलतालाई पनि ख्याल राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा डिला सङ्ग्रौला पन्थले देशभर रोपाइँ चलिरहेको भए पनि किसानले मल नपाएको उल्लेख गर्दै  किसानले मल कहिले पाउँछन् भनी प्रश्न गर्नुभयो । सांसद दिलकुमारीले जनताको छोराछोरीले अझै नागरिकता पाउन नसकेको भन्दै नागरिकता विधेयक कहिले संसदमा पेश हुन्छ भनी प्रश्न गर्नुभयो । सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गर्नुभयो । सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता नगर्ने सरकार निर्णयबारे परराष्ट्र मन्त्रालयले गरेको पत्राचारका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल आइपिएसको सदस्य बन्न नसक्ने भन्ने निर्णय र एमसिसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे÷नगरेका बारे जानकारी गराउन माग गर्नुभयो । 

सांसद  देवप्रसाद तिमिल्सिनाले किसानलाई मलको व्यवस्था गर्न सरकारकालाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद देवेन्द्रराज कँडेलले कोरोना सङ्क्रमितले बीमाबापतको रकम नपाएको र बीमाको रकम भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद नवराज सिलवालले गैरनागरिकलाई नागरिकता दिने गरी विधेयक ल्याउन नहुने बताउनुभयो । “नेपाली नागरिकले नागरिकता नपाएको भए उहाँहरुलाई तत्काल नागरिकता दिनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो छिमेकमा धेरै जनसङ्ख्या भएका मुलुक छन्, गैर नेपालीले नागरिकता नपाउनेतर्फ सरकार सचेत हुनुपर्छ ।”

सांसद निरुदेवी पालले किसानले मल, नागरिकले नागरिकता र विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पद्मकुमारी अर्यालले जनसरोकारका विषय सम्बोधन गर्न सरकारले ध्यान नदिएको बताउनुभयो । चालु आवमा निर्माणाधीन विभिन्न २३१ आयोजनालाई बजेट कटौती गरिएको उल्लेख गर्दै उहाँले ती आयोजनालाई तत्काल बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसाल गौतमले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विप्रेषणको सदुपयोग गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान साझा सङ्कल्प पारित गर्न आग्रह गर्नुभयो ।

 सांसद पोल्देन छोपाङ गुरुङले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भइरहेको भन्दै तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवावले नगरकोट–दुवाकोट सडक तत्काल निर्माण सम्पन्न गरी पर्यटकीय क्षेत्रमा हुने आवातजावतलाई सहज बनाउन माग गर्नुभयो ।

युवालाई पलायन हुनबाट रोक्न सामाजिक सुरक्षा कोषको भूमिका महत्वपूर्ण छ : श्रममन्त्री कुँवर


काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारका लागि ठुलो संख्यामा युवाहरु पलायन हुने क्रम बढिरहेकोले युवा पलायन रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको ‘सामाजिक संरक्षणको दिगोपनाको लागि सामाजिक सुरक्षा कोषको भूमिकां’ विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो कुरा बताउनुभएको हो ।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई सबल, सक्षम बनाउने कार्यमा सरकार सक्रिय भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनतालाई सहुलियत दिने गरी ऐन कानुनहरु सिर्जना गरी जनप्रेमी र जनताको हित हुने खालका योजनाहरु सार्वजनिक गछौं ।’
पछिल्लो समय युवा पलायन बढ्दा मुलुकको आयातमा मात्र भर पर्नुपरेको भन्दै यसले विदेशी मुद्राको सञ्चिति ह्रास आएको र राजस्वमा समेत गम्भीर असर पर्ने गरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘युवा पलायन रोकिनुपर्दछ, युवालाई उद्यमी र स्वरोजगारमुखी कार्यमा लगाउनुपर्दछ जसका लागि सामाजिक सुरक्षा कोषले आकर्षक कार्यक्रमहरु तर्जुमा गर्नुपर्दछ ।’
उहाँले पत्रकार र कलाकारहरुको समेत समाजमा ठुलो योगदान रहने भएपनि उनीहरुको भविष्य अन्धकार हुने गरेकाले पत्रकार र कलाकारहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले १७ हजार रोजगारदाता संस्था रहेकोमध्ये ५ हजार संस्थाले मात्र सामाजिक सुरक्षा कोषमा आवद्धता जनाएकोले सबै रोजगारदाता कम्पनीहरुलाई कोषमा आवद्ध हुन आग्रह गर्नुभयो ।
सचिव अर्यालले योगदानकर्ताले जीवनको उत्तरार्धमा पेन्सन पाउँछ, दुर्घटना हुँदा उपचार पाउँछ, घर बनाउँदा सहुलियत ऋण पाउँछ, बच्चा पढाउन पैसा पाइन्छ, त्यसैले सामाजिक सुरक्षा कोष आम श्रमिकवर्गका लागि जीवनपयोगी छ भन्दै सबै श्रमिकहरुलाई कोषमा आवद्ध हुन आग्रह गर्नुभयो ।
आगामी आर्थिक वर्षको सुरुवातदेखि नै थप प्रभावकारि सामाजिक सुरक्षा कार्यक्रमहरु ल्याउने सचिव अर्यालले उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भदौ १ गते देखि लागु हुने योगदानकर्तालाई घर बनाउन सहुलियत ऋण उपलब्ध गराउछौं, त्यसैगरी बैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई सामाजिक सुरक्षमा आवद्ध गराउछौं, संविधानले सुनिश्चित गरेको श्रमिकहरुको हतहितका कार्यक्रमहरुलाई कार्यान्वयनमा तहमा लैजान्छौँ, श्रमिक र रोजगारदाताहरुका सहजीकरण गर्ने गरी मिटिङ्ग प्वाइन्ट बनाउँछौ ।’
पछिल्लो समय ४५ लाख युवाहरु बैदेशिक रोजगारमा भएका जानकारी गराउनुहुँदै उनीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन नेपाल सरकार र श्रम मन्त्रालय सक्रिय भएर लागेको जानकारी गराउनुभयो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो सामाजिक सुरक्षाको आवश्यकता र महत्वको विषयमा चर्चा गर्नुभयो ।
हालसम्म ३ लाख ५० श्रमिकहरुले कोषमा योगदान गरिरहेका छन् भने अन्य श्रमिकहरु पनि आउने क्रम जारी रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सुरक्षा कार्यक्रममा आम श्रमिकहरुलाई सहभागि गराउनका लागि पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बस्नेतले भन्नुभयो, ‘सामाजिक सुरक्षा कोष अन्र्तगतका कार्यक्रमहरु श्रमिकहरुको हितमा भएकाले त्यस्ता कार्यक्रमहरुलाई पत्रकारले प्राथमिकताका साथ प्रकाशित गर्नुपर्दछ, सामाजिक सुरक्षाको फाइदाका विषयमा जानकारी गराउनु पर्दछ ।’
उहाँले न्यू मिडियाले जनमानमा कस्ता सूचना पस्किने भन्ने विषयमा जानकारी नहुँदा सरकारले ल्याएका राम्रा कार्यक्रमहरुका विषयमा जनताले जानकारी समेत नपाएको बताउँदै रचनात्मक सूचना तथा समाचारहरु प्रकाशित गर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपत्यकाका प्रजिअहरुमध्येबाट उत्कृष्ट काम गर्न सफल ललिपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नेपालम सामाजिक सुरक्षा अति आवश्यक रहेको बताउनुभयो ।
उहाँले ललितपुरमा एक श्रमिकमाथि रोजगारदाता कम्पनीले गरेको दर्दनाक घटनाको विषयमा बेलिविस्तार लगाउँदै नेपालमा श्रमिक वर्ग पिडामा रहेकाले उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूचना विभागका महानिर्देशक गोगन हमालले अरुको हक हितका काम गर्ने पत्रकारहरु समेत अति कम पारिश्रमिक लिएर काम गरिरहेको बताउँदै पत्रकारहरुको पारिश्रमिक बढाउन र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनका लागि विभाग सक्रिय रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले आफ्नो विभागबाट सामाजिक सुरक्षा कोषसँग मेल खाने धेरै कार्यक्रमहरु अगाडि बढाएको बताउनुभयो ।
बैदेशिक रोजगार विभागका महानिर्देशक शेष नारायण पौडेल, श्रम विभागका महानिर्देशक उमाकान्त आचार्य, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, बैदेशिक रोजगार कार्यालय ताहाचल कार्यालयका प्रमुख रमेश अर्याल, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल लगायतले सामाजिक सुरक्षाको महत्व र आवश्यकताका विषयमा औल्याउनुभएको थियो ।
दुर्गाप्रसाद चौलागाईंले गर्नुभएको कार्यक्रममा नेपाल सरकारका पूर्व प्रशासक लगायत वरिष्ठ पत्रकारहरु, श्रमिक क्षेत्रका प्रतिनिधिहरु लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शेरबहादुर कुँवर ।

कार्यक्रम तस्वीरमा

कार्यक्रममा सम्बोधन गर्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै ललितपुरका प्रजिअ घनश्याम उपाध्याय ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनकुमार हमाल ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईं ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराई ।

बुढीगंगा नगरपालिकाको मतदान केन्द्रमा तनाव ।

बिहीबार बुढीगंगामा मतदान जारी छ। त्यसक्रममा बिहीबार दिउँसो ११:५५ बजे एउटा मतदान केन्द्रमा तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। वडा नम्बर ९ का त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तनाव सिर्जना भएको हो। प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही हवाई फायर पनि गरेको छ। यद्यपि कति राउन्ड हवाई फायर गरेको भन्ने खुलिसकेको छैन।

‘मतदान केन्द्रमा मत हाल्न खोज्ने क्रममा दुई पक्षबीच सुरूमा भनाभन भयो। त्यसपछि हानाहान भयो, थापाले भने,‘बाहिर लाइनमा बसेका मान्छेहरू भित्र छिर्न खोजे त्यही बेलामा झडप भयो। प्रहरीले हवाई फायर गर्‍यो। भीड अहिले नियन्त्रणमा आउने क्रममा रहेको उनले बताए। ‘अहिले नियन्त्रणमा आएको छ। अहिले निर्वाचन पुनसह सुरू हुने अवस्थामा छ। झडप हुँदा दुई जना घाइते समेत भएको उनले बताए। एक जना नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार भरत थापा घाइते छन्।

यस्तै, अर्की एक जना सीता देवी थापा पनि घाइते छिन्। उनी कुन पार्टीकी हुन् भन्ने खुलेको छैन। यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि पुनस् निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो। कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्। मतदानका लागि १० मतदानस्थल र १९ केन्द्र छन्। मतदान सकिएपछि मतपेटिका संकलन गर्ने र सकेसम्म आजैदेखि मतगणना सुरू गर्ने तयारी छ।