पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३२९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । यस्तो १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४पुगेको छ ।

विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित सात जना पक्राउ

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

विनोद शाहीको हत्या अभियोगमा नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् । नेपाली कांग्रेसबाट मेयरमा विजयी भएकी उनमाथि समेत आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो ।

यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा शनिबार मेयर चलाउने र नेत्र शाहीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते

काठमाडौँ । काठमाडौँको बल्खुमा आज भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् ।

मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमा छोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधनसहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

शेयर बजारमा उच्च अंकको वृद्धि, दुई अर्ब ४८ करोडको कारोबारमाथिको कारोबार

काठमाडौं । शेयर बजारमा साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ५७.६१ अंकले बढेर दुई हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको हो । आज नेप्सेमा एक दुई ४८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अब साल्ट ट्रडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघसवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार बैंक अफ काठमाण्डूको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको भएको छ । यसको आज २२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ ।

नेपालमा ओमिक्रोनको नयाँ भेरियण्ट ‘बीए फाइभ’ फेला

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन भेरियण्टअन्तर्गत नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखा परेको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा. डा. राजीव श्रेष्ठका अनुसार अन्य प्रयोगशालाबाट संकलन गरिएको सिक्वेन्सिङमार्फत ‘बीए फाइभ’ उपप्रजाति भेटिएको हो ।

अन्य प्रयोगशालाबाट संकलित नमुना भएकाले थप जानकारी उपलब्ध नभएको अस्पतालले जानकारी दिएको छ । अहिले ओमिक्रोन भेरियण्डका दुई नयाँ उपप्रजातिले संक्रमण दर विश्वका केही देशमा पुनः बढिरहेको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिले युरोप, अमेरिका, जर्मनी हुँदै नेपालसम्म फैलिएको हो । अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियण्ट फैलिएको थियो । नयाँ लहर आउँदा कत्तिको घातक हुन्छ भन्ने कुरा विभिन्न तत्वले प्रभाव अस्पतालले जनाएको छ ।

नयाँ उपप्रजातिले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने अनुमान गरिएको छ । ओमिक्रोनले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि हुँदै आएको छ ।

चीनको ग्वाङ्डोङ प्रान्तमा पानीमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

बेइजिङ । चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् ।

सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ सहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लङ्गर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ । प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ ।

बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन् ।

विज्ञप्ति अनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ । केही चालक दलले जहाजलाई त्यागेका थिए, उनीहरूलाई सुरक्षामा तान्न प्रयासमा बाधा पुर्‍याएको थियो, उद्धारकर्ताहरूले भने, न्यूयोर्क पोस्टका अनुसार । आँधीले अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ ।

दक्षिण चीन सागरमा सञ्चालित औद्योगिक सहायता जहाज दुई दर्जनभन्दा बढी चालक दलका सदस्यको डुबानमा पारेको हुन सक्ने देखिएको छ ।

कमजोरी सुधार्न सके कम्युनिष्टमा माओवादी पहिलो पार्टी बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीमा देखा परेको कमजोरी सुधारेर अगाडी जान सकिएमा आउने संघ र प्रदेशको चुनावमा माओवादी पार्टी कम्युनिष्ट पार्टीहरुमध्ये पहिलो पार्टी बन्न सक्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको मत सुधारिउर आएको र त्यसले पनि आफुभित्रकै कमजोरी सुधार्न सके कम्युनिष्टमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको भनाई थियो ।

काठमाडौंमा आज देखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गदैं अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् । गत स्थानीय तह निर्वाचनमा पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सो अनुसारको परिणाम प्राप्त गर्न भने नसकिएको प्रचण्डको भनाई थियो ।

उनले तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको बताए । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादी अध्यक्ष प्रचण्डको भनाई थियो ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएका थिए ।

‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरु (काँग्रेसलगायतका गठबन्धनका दलहरु) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए ।

गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरे जस्तो सफल हुन नसकेको बताए ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरू लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालिकोट जस्ता जिल्लाहरूमा अरू दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए ।

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरूलाई पनि कारबाही गरिने बताए ।

पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सफल हुन नसकिएको बताए । तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको प्रचण्डको भनाई थियो ।
पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने उनले बताए ।

एमालेको सचिवालय बैठक सुरू, यी एजेण्डामा हुँदैछ छलफल

काठमाडौं । आगामी संघ प्रदेश चुनावमा जसरी पनि सत्ता गठबन्धन तोडनुपर्ने चुनौतिमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठक केही समय अगाडीबाट शुरु भएको हो ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारेको छलफल बैठककमा मुख्य एजेण्डा छन् ।

त्यस्तै प्रचार कामको व्यवस्थापन, वैचारिक‍रराजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय गरिने बताइएको छ ।

केएमसी स्कुलभित्र कर्मचारी मृत फेला, हत्या भएको आफन्तको आशंका

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । काभ्रे जिल्लाको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

उनी शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो । प्रहरीका अनुसार उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृतकका आफन्त परिवारले उनको हत्या भएको आशंका गरेका छन् । यद्यपी प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गर्न सकेको छैन । गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न नसकेको प्रहरीले जनाएको छ ।

मृतक परिवार तथा आफन्तहरू एक सय बढी घटनास्थलमा पुगेका छन् । आफन्त र परिवारले घटनास्थलमा तनाव सिर्जना गर्ने भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको छ ।

मृतकका परिवारले वार्ता टोलीमा मिडियाकर्मीहरू पनि राख्न माग गरेका छन् । ‘हामीले वार्ता टोलीमा मिडियाकर्मी राख्नुपर्छ भनेका छौं। टोली पनि बनायौं तर मिडियालाई नदिने तपाईंहरूसँग मात्रै वार्ता गर्ने कुरा गरे,’मृतकका मामा श्याम खत्रीले भने,‘त्यसैले कुरा हुनसकेको छैन ।’

छुट्टाछुट्टै स्थानबाट २१ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाशराज सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईको उक्त होटलमा जुवा खेलीरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा सल्यान शारदा नगरपालिका ११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रूपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

लालबन्दी नगरपालिका १० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

६ वटा विधेयक ल्याउने तयारीमा शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ ।

उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ ।

संघीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएको छ । संघीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीबारे पनि सम्बोधन हुने जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै संघीय संसदमा प्रस्तुत हुने अपेक्षा रहेको बताए ।

आईजीपी विवाद मुद्दामा चौथो सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ भइरहेको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी विवादसँगै राखिएको एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ सकिएको छ । एआईजी बढुवाविरुद्ध पूर्व डिआइजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले रिट दायर गरेका थिए । जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवाविरुद्धको रिटका प्रत्यर्थी धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेस गर्न आदेश गरेका थिए ।

घनश्याम अर्याल सहित ३ जना डिआइजीले अहिलेका आईजीपी धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२०० रुपैयाँ मूल्य कायम भएको महासंघले बताएको छ ।

कोरियामा १३ जना नेपाली कामदार पक्राउ

काठमाडौँ । शुक्रबार एउटै कम्पनीबाट कोरिया प्रहरीले १३ जना यस्ता नेपाली कामदारलाई पक्राउ गरेको सूचना पाएको नेपाली संघका केन्द्रीय सहकोषाध्यक्ष सुवेदीले जानकारी दिए । कोरियामा यस्ता नेपाली कामदार ठूलो संख्यामा लुकेको हुन सक्ने उनको अनुमान छ । उनका अनुसार पक्राउ गरिएका कामदार कोरियाली प्रहरीले आफ्नै नियन्त्रणमा राख्छ र नेपाल फर्काइदिन्छ । तर, यसका लागि कामदार आफैँले टिकट खर्च व्यहोर्नुपर्ने हुन्छ । टिकट व्यवस्था नगरेसम्म कामदार प्रहरीकै नियन्त्रणमा हुने उनले बताए ।

नेपाली कामदार पक्राउ परेको विषयमा कोरियाली सरकारले नेपाली दूतावासलाई औपचारिक जानकारी नदिएको कोरियास्थित नेपाली दूतावासले जनाएको छ । स्थानीय मिडियामार्फत जानकारी पाएको बताउँदै दूतावासका अधिकारीहरूले त्यस विषयमा खोजी गरिरहेको बताएका छन् ।

वैदेशिक रोजगार विभाग पनि यस विषयमा अनभिज्ञ रहेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । कोरियाले नेपालबाहेक भारत, श्रीलंका, बङ्गलादेश, फिलिपिन्सलगायतका मुलुकबाट पनि मौसमी कामदार लैजाने गरेको छ । यस्ता कामदारको पारिश्रमिक करिब दुई लाख रुपैयाँसम्म हुने उनले जानकारी दिए ।

मौसमी कामदारका रूपमा कोरिया जाने नेपाली कामदारबाट नेपाली दलालले १२ लाख रुपैयाँसम्म असुलेको गैरआवासीय नेपाली संघ कोरियाको दाबी छ ।

नेपालबाट मौसमी कामदारका रूपमा कोरिया पुगेका नेपालीहरू गैरकानुनी रूपमा लुक्न थालेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरू अवधि सकिएपछि पनि लुकेर काम गर्न थालेको पाइएको हो ।

कुनै मौसमलाई मात्रै लक्षित गरी कोरिया जाने कामदारलाई अधिकतम ६ महिनाको भिसा दिइएको हुन्छ । यस्ता कामदार तोकिएको मौसम सकिएपछि नेपाल फर्कनुपर्ने हुन्छ । नेपालको स्थानीय सरकार र कोरियाको स्थानीय सरकारबीच भगिनी सम्बन्ध स्थापित गरी नेपाली कामदार कोरिया पठाइने गरिएको छ ।

यस्ता कामदार अवैधानिक रूपमा कोरियामा लुक्न थालेको गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष यज्ञराज सुवेदीले बताए । कोभिडको समयमा धेरै नेपाली कामदार भिसा अवधि सकिएपछि पनि नेपाल नफर्की कोरियामा लुकेर बस्न थालेका हुन् ।

आज ओन्टारियोसँग भिड्दै नेपाल

काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ । साँझ ७ : १५ बजे क्यानडाको ओन्टारियो क्लबविरुद्ध टि-२० फर्म्याटको खेल खेल्न लागेको हो ।

यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ । नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ ।

क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।