लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।

गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो-एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना लोककल्याणकारी विज्ञापनको रूपमा विरतण गर्न लागेको छ ।

यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन आवेदन आह्वान गरेको र आवेदन आएलगत्तै तीन–चार दिनभित्रै सञ्चारमाध्यमलाई लोकल्याणकारी विज्ञापन उपलब्ध गराइने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

केही महिनाअघिदेखि नै लोककल्याणकारी विज्ञापन वितरणको तयारी गरिए पनि मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन ढिलाइ भएको र कर्मचारी आभावलगायतका कारणले केही समय ढिलाइ भएको उहाँले बताउनुभयो । लोकल्याणकारी विज्ञापनको सबै तयारी भइसकेको र केही दिनभित्रै सबै सञ्चारमाध्यमलाई त्यो उपलब्ध गराइने उहाँको भनाइ छ । त्यस्ता विज्ञापन एवं सूचना सञ्चारमाध्यमले प्रकाशन–प्रसारण गरेवापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यसैगरी पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरू बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको छ । बीमामा सहभागी पत्रकारले वर्षमा एकपटक रु एक लाखसम्मको औषधोपचार खर्च पाउने र रु सात लाखसम्मको दुर्घटना बीमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

मणिपुर पहिरो अपडेट : २५ जनाको मृत्यु, ३८ बेपत्ता

काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।

घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।

के छ आजको मौसम ?

काठमाडौँ । केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ ।

मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले नकारी दिनुभयो ।
उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी पर्ने सम्भावना रहन्छ । अहिले यो रेखा सामान्य स्थानबाट तल रहेको छ ।

यसले गर्दा देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ । राति भने वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति ठूलो पानी पर्ने हुँदा भिरलो जमिनमा बसोबास गर्नेलाई सवाधानि अपनाउन आग्रह गरिएको छ ।

एकै दिन २ हजार ४२ जना सवारी चालकमाथि कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९५ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लङ्घन गर्ने ५० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री हेरफेर गठबन्धनको शीर्ष तहबाट टुंग्याउनुपर्ने एसको अडान

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

हिजो बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएका छन् । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्ने गरी शीर्ष तहले नै टुंग्याउनुपर्ने बताए ।

सबै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय उठेको भन्दै उनले भने, ‘यसकारण गठबन्धनका दलभित्र बसेर सबैतिर एकैतिर सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरी काम गर्‍यो भने सबैभन्दा परिपक्व हुन्छ, प्रत्येक सांसदहरुले तनाव लिनु पर्दैन । अथवा म फलानोलाई हटाउन लागिरहेको छु बनाउन लागिरहेको छु भन्ने तनावबाट उनीहरु मुक्त हुन्छन्, पार्टीभित्र दबाव कम हुन्छ ।’

सात प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् । एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्ती छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ । ‘कहिँ न कहिँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।

एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुंग्याउने निर्णय गरेको बताए । ‘अहिले हल्ला चलेको विषयमा गठबन्धनको शीर्ष नेताले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने निर्णय भएको छ’ उनले भने ।

सशस्त्र प्रहरी निरीक्षक डा.साहलाई गृह मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौँ । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ ।

सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा. साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो ।

यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत उनी सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा. साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

साथै गैरहाजिर रहनुको कारणसहित सफाई पेस गर्न यही असार २ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सफाई पेस गर्न सात दिनको मौका दिइएकोमा त्यसको समेत बेवास्ता गरेको भन्दै मन्त्रालयले उनलाई सेवाबाट हटाउने प्रक्रिया थालिएको छ ।

मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? भनी स्पष्टीकरण सोधेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।

असई र प्रहरी जवान भर्नाका लागि थप पद संख्या माग (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीले ४ सय ४३ जना प्रहरी सहायक निरीक्षक (असई) भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४ सय ४३ जना असईको भर्ना खुलाएको हो ।

त्यसैगरी २ हजार ४ सय ७४ जना प्रहरी जवानको पनि भर्ना प्रहरीले खुलाएको छ । २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४ सय ४३ जना असई माग गरेको सूचनामा उल्लेख छ ।
यता २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५ सय ०३ जना थप गरी कुल जम्मा २ हजार ४७४ जना प्रहरी जवान माग गरेको छ ।

माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २ सय १९ जना महिला रहेका छन् ।

राष्ट्रिय परिचय पत्र वितरण सेवामा देखिएकाे प्रभावकारीता

काठमाडौं । सार्वजनिक सेवा सुविधा सहज र छिटो छरितो रुपमा नागरिकलाई प्रदान गर्नकै लागि राष्ट्रिय परिचयपत्र ल्याउन लागिएको हो । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरण बाहेक अनुहार (फोटो), दश ओटै औँलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ ।

यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुबै रुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश गर्ने सरकारी योजना छ । एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइएको हुन्छ । व्यक्तिको पहिचानका लागि राष्ट्रिय परिचयपत्रबाटै कायम हुने भए पनि राजनीतिक तथा नागिरकको हैसियतका लागि भने नागरिकतालाई तत्कालका लागि निरन्तरता दिने योजनामा सरकार रहेको छ ।

यसको मतलव अहिलेजस्तो आफ्नो पहिचानका लागि वा भनौँ कुनै सेवा सुविधा लिने, बैंकमा खाता खोल्ने, सिमकार्ड किन्ने लगायतका प्रयोजनका लागि नागरिकता बोकिरहनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यति मात्र होइन अन्य फंसनल आईडीलाई पनि राष्ट्रिय परिचयपत्रमा आवद्ध गराउने गराउने र विभिन्न प्रयोजनका लागि छुट्टाछुट्टै परिचयपत्र बोकिरहनुपर्ने झञ्जटको समेत क्रमशः अन्त्य गर्ने गरी यसको डिजाइन गरिएको छ ।

राष्ट्रिय परिचयपत्र दश अंकको हुनेछ । तर, कुनै व्यक्तिको राष्ट्रिय परिचयपत्रको नम्बर थाहा पाउँदैमा सो व्यक्तिको अन्य विवरण भने थाहा पाउन नसकिने गरी यसमा सेक्युरिटी फिचरहरु राखिने बताइएको छ । हरेक व्यक्तिको जनसांखिक विवरण र बायोमेट्रिक विवरण नेशनल आईडेन्टिटी रजिस्ट्रि (एनआईआर) मा केन्द्रीकृत रुपमा रहने छ ।

राष्ट्रिय परिचयपत्रमा नागरिकतामा जस्तै व्यक्तिका जनसांखिक विवरण राखिनेछ । ती विवरणहरु परिचयपत्र भित्रको चिपमा राखिनेछ । त्यसका साथै व्यक्तिको डिजिटल फोटो र फिंगरप्रिन्ट समेत समावेश हुने राष्ट्रिय परिचयपत्रमा नागरिकता नम्बर, जारी मिति लगायतको विवरण पनि रहनेछ । त्यसले गर्दा वर्षौं पुरानो फोटोको आधारमा मात्रै व्यक्तिको पहिचान प्रमाणीकरण गर्नुपर्ने अहिलेको अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । ‘अहिलेको नागरिकतामा जस्तो अनुहार मिल्ने, केही वर्षपछि व्यक्तिको अनुहार परिवर्तन हुने हुँदा झुक्याउने सम्भावना यसमा रहँदैन । राष्ट्रिय परिचयपत्र र ई–पेमेन्टको सुविधा हुने वित्तिकै सबै सरकारी भुक्तानी अनलाइनबाटै गर्न सकिनेछ ।

यस्तो अवस्थामा कुनै कुनै सेवा लिन सरकारी कार्यालयमा जानै नपर्ने अपेक्षा गर्न सकिन्छ । यसको मतलब कुनै व्यक्तिको पहिचान पुष्ट गर्न भौतिक रुपमै अनिवार्य रुपमा उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ । जार्नै पर्ने अवस्थामा समेत अहिलेको तुलनामा धेरै नै सहज हुनेछ । अहिले नागरिकता हराउँदा, च्यातिदा वा नष्ट हुँदाको जस्तो झञ्जट समेत हट्नेछ । न त पुनः नागरिकता बनाउने जस्तो झञ्जटिलो प्रक्रिया पार गर्नुपर्ने अवस्था नै यसमा रहन्छ । राष्ट्रिय परिचयपत्र हराउँदा समेत पाँच मिनेटमै तयार गर्न सकिने जनाइएकाे ।

अहिलेको अवस्थामा पहिचानको कमजोरीका कारण ठगी र किर्तेको समस्या निकै व्यापक छ । एउटाको नागरिकतामा बैंकबाट ऋण नै लिइदिने, कम्पनी नै दर्ता गरिदिने सम्मका घटनाहरु तपाईं हामीले सुनिरहेकै छौँ । त्यस किसिमको अवस्थाको समेत अन्त्य हुनेछ ।

कानूनअनुसार नेपाली नागरिकता पाउन योग्य भएका व्यक्तिले नागरिकता नभए पनि यो परिचयपत्र पाउनेछन् । ६ महिना वा त्यसभन्दा लामो समय नेपाल बस्ने विदेशी नागरिकले समेत राष्ट्रिय परिचयपत्र पाउन सक्ने बताइएको छ । तर, कार्ड वितरण गर्ने प्रणाली एउटै भए पनि नेपाली नागरिकले पाउने भन्दा विदेशीले पाउने परिचयपत्रको हैसियत भने फरक हुनेछ । राष्ट्रिय परिचयपत्र भने १६ वर्षभन्दा कम उमेरका बालबालिकाले समेत पाउने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रमा विशेष किसिमको सेक्युरिटी फिचर राखिएको छ । यसमा राखिएको विवरण यदी कसैले हेरेको खण्डमा समेत त्यसको ‘लग’ बस्छ । वेबसाइटमा लगइन गरेर एक वर्षसम्मको क–कसले, किन र कहाँ आफ्नो विवरण हेरियो भन्ने कुराको सम्पुर्ण जानकारी तपाईंले पाउन सक्नेगरी प्रविधिको विकास गर्ने काम भइरहेको छ । मालपोत, भुमिसुधार, लोकसेवा, पञ्जीकरण जस्ता निकायले राष्ट्रिय परिचयपत्रको विवरण हेर्न सक्छन् तर, त्यसका लागि सम्बन्धित व्यक्तिले निवेदन तथा आफ्नो विवरणमा पहुँच राख्ने अनुमति भने दिएको हुनपर्छ । राष्ट्रिय परिचयपत्रमा राखिएको आफ्नो विवरण कसैले हेरेको खण्डमा सम्बन्धित व्यक्ति स्वयमले अनलाइन मार्फत त्यसको जानकारी पाउन सक्छन् ।

कुनै व्यक्तिको विवरण राखेको खण्डमा त्यो मिल्यो कि मिलेन भनेर मात्रै राष्ट्रिय परिचयपत्रबाट भेरिफाई गराउन सकिने तर व्यक्तिका डाटा भने उपलब्ध नगराइने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । यसको मतलव राष्ट्रिय परिचयपत्रको रुपमा उपलब्ध गराइने कार्डकै आधारमा व्यक्तिको पहिचान गरी मोबाइलका सिम कार्ड बिक्री गर्न सकिनेछ । यस्तो अवस्थामा अर्काको नाममा सिमकार्ड निकाल्ने संभावना समेत रहनेछैन ।यसबाट आफ्नो विवरण दुरुपयोग हुने संभावनाप्रति सचेत रहन सहज हुने मात्रै नभएर गोपनियताको हक सम्बन्धि कानूनअनुसार मुद्दा हाल्न समेत सकिनेछ । जसले गर्दा व्यक्तिगत गोपनियताको सुनिश्चितता गर्ने अपेक्षा गर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्रबाट राज्यलाई समेत जिम्मेवार र जवाफदेही बनाउने र राज्यप्रति जनविश्वास समेत बढ्ने अपेक्षा गरिएको छ । अहिलेको समयमा राज्यले सामाजिक सुरक्षा वापत दिने सेवा सविधामा समेत ठूलो मात्रामा घोटाला हुने गरेको छ । त्यसलाई समेत नियन्त्रण गर्न सकिने भएकाले वार्षिक रुपमा राज्यको अरबौं रुपैयाँ जोगाउने अपेक्षा गरिएको छ । सेवालाइ प्रभावकारी बनाउनका लागि विभागका महानिर्देशक तीर्थराज भट्टराई दिन रात नभनि लागिपर्नु भएको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि कार्यकक्षमै दुर्व्यवहार

काठमाडौं । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।

अखिल (क्रान्तिकारी) को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेका हुन् ।

भारतीय सीमामा गोली हानी एक नेपालीको हत्या

बर्दिया । भारतीय सीमामा गोली हानी एक नेपालीको हत्या भएकाे छ । जिल्लासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जंगलमा गएका एक नेपालीमाथि गोली प्रहार हुँदा मृत्यु भएको हाे ।

बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली हानिएको प्रहरीले जानकारी दिएकाे छ ।

गोली लागेर घाइते गोडियाकालाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । उनलाई कसले गोली हानेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनको शव गुलरिया अस्पतालमा शव परीक्षणपछि आफन्तले बुझेर लगेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् ।

राप्ती हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावित रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ जारी गरेको थियो ।

सो अवधिसम्म रितपूर्वक आवेदन दिने आवेदकहरूमा ५ लाख ७५ हजार १७० कित्ता शेयर कम्पनीले असार १६ गते बाँडफाँट गरेको हो । कम्पनीले स्थानीयका लागि ६ लाख १२ हजार ७९३ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयका लागि छुट्याईएको ३७ हजार ६२३ कित्ता शेयर भने वितरण हुन सकेको छैन् । उक्त शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्दा थप हुनेछ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले रुकुम जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी साउन १ गतेदेखि उक्त आयोजनबाट व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

यस आयोजनाको कुल लागत व्याज सहित रू. १ अर्ब ३३ करोड ४४ लाख २८ हजार हुने अनुमान गरिएको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ३१ करोड ८६ लाख ५२ हजार ८०० रहेको छ । संस्थापकतर्फ जारी पूाजीको ५२ प्रतिशत शेयर स्वामित्व रहेको हो ।

आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर जारी गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३८ प्रतिशत शेयर जारी गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार ८०० पुग्नेछ ।

गत आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक सञ्चित नाफा रू। २ करोड २ लाखभन्दा बढी छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३५ रहेको छ । प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको पहिलो कारोबारका लागि मूल्य रेञ्ज कम्पनीले पाउनेछ ।

सुन तस्करी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले शुक्रबार अवैध सुन तस्करी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले पोखराको रामबजार बस्ने २५ वर्षिय रमेश सुनार र रुपन्देही घर भई हाल काठमाडौंको टोखामा बस्ने सुनिता बिक विरुद्ध मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत माघ १५ गते पोखराको पावरहाउस चोकबाट एक हजार ७.७० ग्राम सुन सहित रमेश सुनार पक्राउ परका थिए । उक्त सुनमा टोखामा रहेको गणेश ज्वलर्सका सञ्चालक सुनिता बिकको पनि संलग्न रहेको पाईएको छ । उनीहरु दुबैजनाले सुनको अवैध ओसार पसार गरि राजस्व चुहावट गरेको विभागको आरोप छ ।

राजस्व अनुसन्धान विभागका अनुसार बरामद भएको उक्त पहेँलो धातु परिक्षण गर्दा सुन रहेको र शुद्धता ९९९.९ भएको सुन भएको नदेखिएको थियो । चोरी पैठारी भएको सुनलाई गालेर अवैध ओसार पसार गरिएको, बैंक तथा दर्ता रहको फर्मबाट सुन खरिद नगरी अन्यन्त्रैबाट सुन चोरी पैठारी गरि बैधानिकबाट काँचो सुन खरिद गरिएको प्रमाण पेश गर्न उनीहरुले नसकेको विभागको भनाई छ । विभागले उनीहरु विरुद्ध ८० लाख १३० रुपैयाँ विगो माग दाबीसहित उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।

४६ लाख कालो धनसहित चारजना पक्राउ

कास्की । प्रहरीले स्रोत नखुलेको करिब ४६ लाखसहित चार जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित चार जनालाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका ७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन् ।

उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारकाे निर्णय, कुनमा कति ?

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ । त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित विभूषण (पहिलो संशोधन) नियमावली २०७७ अनुसार सरकारले हरेक वर्ष १ सय मानपदवी, ५० अलंकार र ५० पदक वितरण गर्दै आएको छ । यस्तै नेपाल रत्न एक र २ वटा राष्ट्र गौरव पदक वितरण गर्दै आएको छ ।

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणम घटाएको भएता पनि हिरा र चाँदीको मुल्य भने जस्ताको तस्तै राखेको छ ।
सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई १० किसिमका विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी सुन प्रयोग हुने नेपाल रत्न पदकबाट ८५ ग्राम सुन घटाएर अब ९० ग्राम मात्रै राख्ने निर्णय गरिएको छ । यो पदमा ४२५ ग्राम चाँदी र ४२ ग्राम हिरा पनि प्रयोग हुन्छ ।
राष्ट्र गौरव पदकमा ४५ ग्राम सुन प्रयोग हुने गरेकोमा अब ३० ग्राम मात्र प्रयोग गरिने छ ।

राष्ट्रदिपतर्फ

महाउज्वल राष्ट्रदीप प्रथम श्रेणीमा १३० ग्राम सुन प्रयोग हुनेमा अब ८५ ग्राम मात्रै प्रयोग हुने भएको छ । यो पदकमा १०० ग्राम चाँदी पनि प्रयोग हुने गर्छ ।

उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीयमा ९० ग्राम सुन प्रयोग हुने गरेकामा अब ६० ग्राम मात्रै प्रयोग हुने भएको छ ।

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ४५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ३० ग्राम मात्रै प्रयोग हुने भएको छ ।

कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ३५ ग्राम सुन प्रयोग हुने गरेकामा अब २० ग्राम मात्रै प्रयोग हुने भएको छ । यसमा १५० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।

राष्ट्रदीप पञ्चम श्रेणीमा ६ ग्राम सुन प्रयोग हुँदै आएको थियो । यसलाई यथावत् राखिएको छ ।

जनसेवाश्रीतर्फ

सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीतर्फ १२० ग्राम सुन प्रयोग हुँदै आएकोमा अब ८४ ग्राम सुन मात्रै राखिने छ । यसमा १०० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।

प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीतर्फ ८५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ५९ ग्राम मात्रै प्रयोग हुने छ । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ३५ ग्राम सुन प्रयोग भएकामा अब २५ ग्राम प्रयोग हुने भएको छ ।