२५० बोरा अफिमसहित मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । प्रहरीले २५० बोरा अफिमसहित मालबाहक कन्टेनरलाई नियन्त्रणमा लिएको जनाएको छ । बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो कन्टेनरमा २५ किलोको २५० बोरा अफिम सिड (पोष्टर दाना) नियन्त्रणमा लिएको हो ।

सीमा प्रहरी कार्यालय जमुनहा प्रहरीका इन्चार्ज माधव रिजालका अनुसार नियन्त्रणमा लिएको गाडीको चेकजाँचको क्रममा बन्द बडीभित्र फल्स बटम बनाई लोड गरिएको २५० बोरा सेतो धुलो जस्तो देखिने पदार्थ फेला परेको बताए ।

‘सूचनाको आधारमा भारततर्फ जाने गाडिमाथि कडा निगरानी राखेको अवस्थामा आरजे ०९ जिबि ४५४२ नं.को बन्दबडीको ट्रक आएको चेकजाँचको क्रममा ड्राइभर गाडीको चाबी छाडेर भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा सो माल बरामद भएको हो’, उनले भने ।

पोष्टर दाना अफिमको बिउ रहेको र यो लागु औषधको रुपमा नभए पनि बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने बताइएको छ ।

ठक्करबाट युवकको मृत्यु

मलङ्गवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो ।

घाइते युवकलाई तत्कालै नमूना अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड

काठमाडौं । गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो ।

प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो । नेपालमा उद्योग स्थापना गर्नुभन्दा पैसा बैंकमा राखेर ब्याज लिनु नै सबैभन्दा उत्तम विकल्प हुन्थ्यो ।

पछिल्ला पाँच वर्षमा नेपालको ऊर्जा क्षेत्रका गुणस्तरीय परिवर्तन भयो । रुग्ण अवस्थामा रहेका आयोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भए । ठूला क्षमताका प्रसारण लाइन पनि निर्माण सम्पन्न भए । झण्डै रु ३५ अर्ब बराबरको सञ्चित घाटा भएको नेपाल विद्युत् प्राधिकरणको मुनाफामात्रै वार्षिक रु १२ अर्ब बढी हुन थाल्यो ।

पछिल्ला आर्थिक वर्षमा त सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा प्राधिकरण स्थापित भएको छ । आन्तरिकरूपमा बिजुली बिक्री तथा वितरण गर्दै प्राधिकरण अब योजनाबद्धरूपमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ ।

गत वर्षको लक्ष्मी पूजाको दिनदेखि ३९ मेगावाट बिजुली भारत पठाएर व्यापार सुरु गरेको प्राधिकरणले गत जेठ १९ अर्थात् जुन २ तारिखदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद रु एक अर्ब ७२ करोड ३० लाख बराबरको विद्युत बिक्री गरेको छ । पछिल्लो एक महिनाको विवरण हो यो । प्राधिकरणले आगामी छ महिनासम्म बिजुली बिक्री गर्नेछ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत् दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिकरूपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट छवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

जेठ र मध्य असारसम्म हेर्दा मात्रै १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्क कटाएर खुदरूपमा रु एक अर्ब ७२ करोड ३० लाख कमाएको छ ।

जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रतियुनिट दर नौ रुपैयाँ ६७ पैसा छ । आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार) मा थियो । त्यसदिन औसत दर प्रतियुनिट चार रुपैयाँ ९२ पैसा थियो ।

यस अवधिमा ३ जुन (२० जेठ) मा सबैभन्दा कम रु ५६ लाख ६७ हजारको विद्युत् बिक्री गरिएको छ । त्यस दिन नौ लाख आठ हजार युनिट विद्युत् बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) रु सात करोड २८ लाखको विद्युत् बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३०० युनिट विद्युत् बिक्री गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारीरूपमा अगाडि बढेको बताउनुभयो ।

“जुन महिनामा निर्यात गरिएको विद्युत्को परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत् व्यापार प्रभावकारीरूपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमा समेत योगदान पुग्ने छ ।”

उहाँले चालु आवमा करिब रु पाँच अर्ब र आगामी वर्षमा करिब रु २० अर्बको विद्युत् निर्यातको प्रक्षेपण गरिएको बताउनुभयो । उहाँले भारतसँगको विद्युत् व्यापारले नेपालको जलविद्युत्को विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनुपर्ने देखिएको घिसिङले बताउनुभयो ।

“मुख्यरूपमा औद्योगिक ग्राहकबाट भोल्टेजका कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत् नपाएको गुनासो आउने गरेको छ, प्रायस् वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरि नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा अब विस्तारै देखिने छ”, उहाँले भन्नुभयो ।

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत् प्राधिकरणले थप चार जलविद्युतगृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

कार्यकारी निर्देशक घिसिङले दुई मुलुकबीचको विद्युत् व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार ९डे अहेड मार्केट०मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।

प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन)ले गर्छ । एनभिभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ । सोही आधारमा बिजुली बिक्री हुन्छ । वर्षाको समयमा विशेषगरी रातको समयमा खेर जाने बिजुली निर्यातका लागि पनि प्राधिकरणले पहल गरिरहेको छ ।

गठबन्धनको बैठक बस्दै, बागमती र सुदूरपश्चिमको मुख्यमन्त्रीको टुंगो लगाउने तयारी

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुनेछ । निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ ।

बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् ।

शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।

६ महिनामा ४४ मानवअधिकार उल्लङ्घनका घटना

सप्तरी । सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढेको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यो छ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ ।

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गर्नुभएको प्रतिवेदनअनुसार बढी चर्चामा रहेको घटनामा बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते देवरले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको उल्लेख छ । हत्या आरोपमा पक्राउ परेका २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदाको हत्या आरोपमा उहाँका श्रीमान् ४९ वर्षीय अगहनु सदा रु ५० हजार धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

यस वर्ष गैरराज्यबाट तीन हत्याका घटनामध्ये २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको अभिलेख छ । आरोपितहरू १६ मध्ये पुर्पक्षका लागि थुनामा दुई, धरौटीमा रिहा तीन, बालसुधार गृहमा एक र पक्राउ पुर्जी जारी भएका १० जना छन् । नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुनसकेको छैन । प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनामा १८ वर्षभित्रका १० पीडित छन् । आरोपित १५ वर्षदेखि ६८ वर्षका १५ मध्ये पाँच पुर्पक्षका लागि थुनामा र पाँच जना बालसुधार गृहमा छन् । बाँकी तीन आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने दुई जना हालै पक्राउ परेका छन् ।

यसैगरी महिला बलात्कारका तीन घटनामा २५ माथि ४० वर्षीयासम्मका तीन महिला पीडित भएका छन् । बलात्कारको घटनामा १८ देखि ३० वर्षीय पाँच आरोपीमध्ये तीन फरार छन्, एक हालै पक्राउ परेका छन् भने एक जनाले सफाइ पाएका छन् । महिला बलात्कार प्रयासका एक घटनामा २८ वर्षीया महिला पीडित भएकी छिन् । उक्त घटनामा आरोपित दुईमध्ये एक धरौटीमा रिहा भएका छन् भने अर्का एक फरार छन् ।

अमानवीय व्यवहारको एक घटनामा २७ वर्षीया एक महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको सो हिंसामा चार जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने दुई फरार छन् । इन्सेक प्रतिनिधि पोखरेलका अनुसार छ महिनाको अवधिमा बहुविवाहको पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत चार, घरेलु हिंसाका तीन तथा गर्भपतन, मानव बेचबिखन, अपहरण उद्योग, अभद्र व्यवहार, धम्की र झडपका एक–एक घटना अभिलेख गरिएको छ ।

कर्मचारीका मुद्दा हस्तान्तरण गर्न माग

बलेवा । कर्मचारीकै मुद्दा हेर्न गठन भएको प्रशासनिक अदालतमा मुद्दा नभएर सुनसान भएको छ ।

सरकारले कर्मचारीको मुद्दा छिटोछरितो फैसलामा लैजाने उद्देश्यले प्रशासनिक अदालत गठन गरे पनि उच्च र सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने प्रवृित्त रहेको जनाइएको छ । प्रशासनिक अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले सर्वोच्चले कर्मचारीका मुद्दा हस्तान्तरण गरिदिए छिटो फैसलामा पुग्न सकिने बताउनुभयो ।

“सर्वोच्चमा ३५ हजार मुद्दा छन्, वर्षमा पाँच हजार पनि फैसला भएका छैनन्”, उहाँले भन्नुभयो, “थपिँदै हरेक वर्ष उत्तिकै भइरहँदा कर्मचारीका मुद्दा ढिला सुनुवाइ भएका छन् ।” सुनुवाइ नहुँदा फैसला पनि स्वाभाविक रुपमा ढिला हुने उहाँले बताउनुभयो । उहाँले कर्मचारीको मुद्दा समयमा फैसला भएमा निजामती सेवा चुस्त हुने बताउनुभयो ।

प्रशासकीय अदालत काठमाडौँको आयोजनामा बिहीबार सम्पन्न भएको ‘प्रशासनिक न्याय र प्रशासकीय अदालतको अधिकार क्षेत्र’ विषयक अन्तरक्रियामा उच्च अदालत बागलुङका मुख्य न्यायाधीश कृष्ण गिरीले कर्मचारीतर्फका मुद्दा दर्ता गर्दैमा प्रशासनिक अदालत जानुपर्ने बताउनुभयो । “उच्च अदालत वा सर्वोच्चमा दर्ता नगर भन्न मिलेन, गरेकालाई उता लैजाऊ भन्न पनि अप्ठ्यारो छ”, उहाँले भन्नुभयो, “कानुन व्यवसायी र कर्मचारी स्वयंले प्रशासकीय अदालतमा जान सके छिटो न्याय निरुपण हुन सक्छ ।”

तत्कालका लागि कर्मचारी काज खटाउने पद्धतिलाई नियमित कार्यजस्तो बनेको भन्दै सो विषय पनि प्रशासनिक अदालतले हेर्नुपर्ने उहाँले बताउनुभयो । “काज बस्ने अधिकारलाई सरुवा जस्तो बाध्यात्मक र अप्ठ्यारो बनाउन मिल्दैन,” न्यायाधीश गिरीले भन्नुभयो, “अधिकार क्षेत्रबारे सबैको चासो भएमा कर्मचारीको मुद्दाहरु छिटो टुङ्गोमा पुग्छन् ।” उहाँले नेपालको न्याय प्रशासन चुस्त बनाउन अझै नसकिएको बताउनुभयो ।

निमित्त कर्मचारीले न्यायिक निरुपण गरेको, कार्य सम्पादन मूल्याङ्कन नभरेको, बढुवा समयमा नभएको जस्ता मुद्दा प्रशासनिक अदालतले हेर्छ । साथै, कर्मचारी बीचका अन्य विवाद पनि छिटो फैसलाका लागि प्रशासनिक अदालत जान सकिने व्यवस्था छ । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, उच्च अदालत बार एसोसिएशनका अध्यक्ष अखिलनाथ शर्मा, अधिवक्ता लक्ष्मीदेवी जिसीसहित विभिन्न क्षेत्रका कर्मचारीले आफ्नो क्षेत्रमा आइपरेका समस्याबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले प्रशासनिक अदालतको काम कर्तव्य र अधिकारबारे कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।

अदालतका कर्मचारी १५ हजार घुससहित पक्राउ

गोरखा । गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।

घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।

तीन आर्थिक विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले तीन वटा आर्थिक विधेयक पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९पच्चीसौं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

बैठकले पारित गरेको तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभा पठाएको थियो ।

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएको छ । हिजो प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका सुन आज प्रतितोला रु ३०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले बताएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अभिनेता राजेश हमाल प्रचण्ड निवासमा, यी विषयमा भयो छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच कुराकानी भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न हमाल उनको निवास खुमलटार पुगेका थिए । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कलाकार चेतन सापकोटाले बताएका छन् ।

देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरेका प्रचण्ड सचिवालयले जनाएको छ । भेटमा हमालले प्रचण्डसँग राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार रहेको बताएका थिए ।

नेपाललाई विदेशी चलचित्रको सुटिङका लागि हब बनाउन सकिने भन्दै त्यसका लागि नेपाली कला संस्कृति अनि प्राकृतिक दृश्यलाई विश्वमा चिनाउन जरूरी रहेको हमालले बताएका थिए ।

जवाफमा प्रचण्डले हमाललाई आफूले बौद्धिक अनि अध्ययनशील कलाकारको रूपमा बुझेको बताएको सापकोटाले जानकारी दिए ।

मन्त्रीलाई फिर्ता बोलाउने जसपाको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको जसपाका एक नेताले बताए ।

हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।

यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको थियो ।

सशस्त्र प्रहरीका ५६ जना इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको रकम विना शर्त भुक्तानी माग

काठमाडौँ । साना लगानी तथा स्वरोजगारमूखी विभिन्न छापा माध्यममा प्रकाशित लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी गराउन माग गरेका छन् । विहिवार काठमाडौँ स्थित अनामनगर बसेको पत्रकार तथा प्रकाशकहरुको बैठकले गत वर्षको साउनदेखि हालसम्म रकम विना शर्त तुरुन्त उपलब्ध गराउनुपर्ने माग सहित सूचना तथा सञ्चार मन्त्रालय मातहत रहेको विज्ञापन बोर्डलाई ध्यानाकर्षण गरेको छ ।

आफुहरुले प्रकाशित विज्ञापनको रकमका लागि विल लिएर पटक–पटक कार्यालय जादाँ पनि विभिन्न बाहना गरी रकम रोकेर राखिएको भन्दै विज्ञापन बोर्डसंग असुन्तुष्ट बनेका छन् । साना लगानी तथा स्वरोजगारमूखी मिडियालाई जोगाउन न्यायका लागि विभिन्न चरणको आन्दोलनको तयारीबारे छलफलमा जुटेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईको नेतृत्वमा बसेको बैठकमा विभिन्न सञ्चार माध्यमले मापदण्डका आधारमा पाउँदै आएको सुविधा समेत कटौती गर्न खोजिएको भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापत पाउनुपर्ने रकम भुक्तानी विना शर्त उपलब्ध गराउन विज्ञापन बोर्डलाई आग्रह गरेको छ ।

छलफलमा विज्ञापन बोर्डका अध्यक्षको कामप्रति समेत प्रश्न उठेको छ । पत्रकारिता क्षेत्रबाटै आएका बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पत्रकारहरुकै समस्यामाथी अंकुश लगाउन खोजिएको आरोप छ । उनले सूचना तथा सञ्चार मन्त्रालयबाट प्राप्त निर्देशन तथा नीतिगत कार्य गराउन आलटाल गरेको र सूचना लुकाउन खोजिएकोले सञ्चार माध्यमहरु त्यसतर्फ ध्यान आर्कर्षित हुन वैठकले निश्कर्ष निकालेको छ । साना लगानी तथा स्वरोजगारमूखी सञ्चारमाध्यमलाई थप प्रर्वद्धन गराउनुको सट्टा अपहेलनाको दृष्टिकोणबाट हेरेको भन्दै व्यवसायिक मुद्धमा एक ढिक्का भएर लाग्न सञ्चार माध्यम तथा पत्रकारहरुलाई आग्रह गरेको छ ।

प्रकाशित विज्ञापनको रकम भुक्तानीको माग गर्न विज्ञापन बोर्डसंग वार्ताका लागि नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईको नेतृत्वमा पत्रकारहरु राजिव सिलवाल, भिम लामा, नवराज न्यौपाने, पदमराज जोशी लगायतको टोली शुक्रबार जाने भएको छ । वार्ता नमिले शुक्रबार नै विज्ञापन बोर्ड र सञ्चार मन्त्रालयमा धर्ना बस्ने निर्णय भएको छ ।

फेरिए दुई जिल्लाका सिडिओ, को कहाँ ?

काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई रुपन्देहीको प्रजिअमा सरुवा गरेको छ भने रुपन्देहीका ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ ।

मकवानपुरका प्रजिअ पाण्डे सक्रिय र काम गर्ने प्रजिअका रूपमा चिनिन्छन्मकवानपुरमा मन्त्रालयका राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्र बैतडीको प्रजिअबाट मन्त्रालय ल्याइएका थिए ।