संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन गृहमन्त्री


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भने संविधान देशको गतिशील दस्तावेज रहेको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल माथी उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने हुन्छ ।

‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । यसर्थ ‘संविधान लाई आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन । नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो ।’
सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए ।

विधेयकमा केही कमीकमजोरी भए पछि संशोधन गर्दै जानुपर्ने बताएका गृहमन्त्री खाणले उक्त विधेयक अहिले पारित गरेर नागरिकताविहीन नागरिकको संख्या घटाउनुपर्नेमा जोड दिए ।

नागरिकताको प्रस्ताव सर्वसम्मतिले स्वीकृत


राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल नागरिकताको (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेका छन् ।

बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएका थिए । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषण गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते बिहान ११ बजे बस्नेछ ।

लागुऔषध कारोबारमा तीन जना पक्राउ


भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी स्वासनी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४ कठुधारस्थित प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे थियो ।

कोरोना संक्रमणबाट २ जनाको मृत्यु र ३४७ जना संक्रमित

८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेका छन् ।

जसमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६९ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

कारागार व्यवस्थापन लागी विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन लागी विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएका थिए ।

त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गर्नुभयो । सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो

यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिनुभएको थियो । उहाँहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनुभएको थियो । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो ।

यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्नुभएको थियो ।

दुई दशकमा पनि बनेन बसपार्क


दिपायल सिलगढी नगरपालिकाले दुई दशक अघिदेखि निर्माण तयारी थालेको दिपायल बसपार्क हालसम्म पनि निर्माण हुन सकेको छैन । नगरपालिकाले २७ वर्ष अगाडि सार्वजनिक बसपार्क निर्माणका लागि स्थानीयवासीबाट पाँच रोपनी जग्गा खरिद गरेको थियो ।

यत्तिका समय बसपार्क निर्माण नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको दिपायलमा गतिलो बसपार्क नभएका कारण यहाँका यातायात व्यवसायीले वर्षौंदेखि मूल सडकमै गाडी पार्किङ गर्दै आएका छन् । यहाँका यातयात सञ्चालकले मूल सडकमै गाडी पार्किङ गर्न थालेपछि सो सडक हुँदै अछाम, बाजुरा जाने रात्रिकालीन बसलाई समस्या हुँदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यवसायी खड्कबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, नगरपालिकाले बसपार्क बनाउन किनेको जमिन अलपत्र छ, यातायात व्यवसायीले सडकमै गाडी पार्किङ गर्ने गरेका कारण दिनमा यात्रु र राति नाइट बस सञ्चालनमा समस्या हुँदै आएको छ । नगरपालिकाले बसपार्क बनाउनका लागि खरिद गरेको जमिन प्रयोगमा नआउँदा अहिले उक्त जमिन गौचरणमा परिणत भएको छ । विसं २०५२ मा नगरपालिकाले रु एक लाख ९० हजारमा दिपायलका स्थानीयवासीबाट उक्त पाँच रोपनी जमिन रु ३८ हजारका दरले खरिद गरेको थियो ।  

तत्कालीन समयमा नगरपालिकाले बसपार्क निर्माणका लागि रु आठ लाख ९० हजार खर्च गरी चारैतिरबाट उक्त जमिनमा घेरबारसमेत गरेको र पछि साँघुरो हुने भन्दै निर्माण कार्य अगाडि बढ्न नसकेको दिपायल सिलगढी नगरपालिकाका कर्मचारी तेजराज भट्टले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बसपार्क निर्माणका लागि रु आठ लाख ९० हजार खर्च भयो तर पछि साँघुरो हुने भन्दै काम बन्द भयो, अहिले बसपार्क निर्माणका लागि पहल भए पनि जमिन नपाउँदा काम अगाडि बढ्न सकेको छैन ।”

उता दिपायल सिलगढी नगरपालिकाकाका नगरप्रमुख बाजीसिंह खड्काले डोटीमा सवारीसाधन दैनिकरूपमा थपिँदै गएकाले दिपायलमा किनिएको जमिनमा बसपार्क बनाउँदा साँघुरो हुने भएकाले राजपुरमा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सवारीसाधनको सङ्ख्या दिनहुँ थपिँदै गएको छ, दिपायलमा किनिएको पाँच रोपनी जमिनले नपुग्ने भयो, राजपुरमा नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) भइसकेको छ ।” नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि डिपिआर गरिए पनि राजपुरमा बसपार्क बनाउँदा सबैलाई पायक नपर्ने भन्दै यातायात व्यवसायीले नै विरोध गर्न थालेपछि उक्त कार्य पनि अन्योलमा परेको बताइएको छ ।

हाल नगरपालिकाले दिपायल पिपल्लामा रहेको निजी जमिन भाडामा लिएर बसपार्क सञ्चालन गर्दै आए पनि उक्त बसपार्कमा मुस्किलले १० देखि १२ वटा मात्रै बस अट्ने भएकाले पार्किङका लागि समस्या हुँदै आएको शैलेश्वरी यातयात व्यवसायी प्रालीको कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बसपार्क साँघुरो छ, विद्युत्, सुरक्षा तथा शौचालयको राम्रो व्यवस्था छैन, गाडी पार्किङ गर्न पनि समस्या भएको छ ।” डोटीको दिपायल दिल्पेश्वर माविस्थित सेती किनारमा रहेको निजी जमिन नगरपालिकाले खरिद गरी बसपार्क सञ्चालन गरे गाडी पार्किङदेखि अन्य यात्रुलाई पनि सहज हुने यहाँका स्थानीयवासीको माग रहेको छ । व्यवस्थित बसपार्क नहुँदा गाडी व्यवसायीले आफ्ना गाडी सडकमै पार्किङ गर्ने गरेका कारण जुनसुकै समयमा पनि यहाँ ठूलो सवारी दुर्घटना हुनसक्ने दिपायल सिलगढी नगरपालिका–४ का पूर्ववडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो ।

मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारमा उत्साह

आज (आइतबार) सेयरको बजारको परिसूचक नेप्से, सबै उपसमूहहरु र कारोबार रकम समेत उल्लेख्य बढेको छ ।

नेप्से परिसूचक ६१.०५ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २०७८ अङ्कमा कायम भएको छ ।

कुल २ अर्ब ७३ करोडको कारोबार भयो, यसअघि शुक्रबार १ अर्ब ४४ करोडको मात्रै कारोबार भएको थियो । सबै उपसमूहहरु बढेका छन् ।

बैङ्किङ २२, विकास बैङ्क १७७, फाइनान्स ११७, होटल तथा पर्यटन ७४, जलविद्युत् ८४, जीवन बीमा २०७, उत्पादन १००, माइक्रोफाइनान्स १७५, निर्जीवन बीमा ११७, अन्य १०३ र व्यापार उपसमूह ८८ अङ्क बढे ।

१७९ कम्पनीको मूल्य बढ्यो भने १ को घट्यो । तीन कम्पनी सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९.६ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैङ्क र अरुणकाबेली पावर क्रमश: अगाडि रहे ।

शुक्रबार घोषित मौद्रिक नीतिले सेयर धितोमा एउटा बैङ्कबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको सेयर ऋणमा जोखिम भार १५० बाट घटाएर १ सय कायम गरेको छ ।

वैदेशिक रोजगारीमा देखिएका समस्या ‘शेरबहादुर कुँवर’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताउनुभयो । उहाँले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो ।

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उहाँको भनाइ थियो ।

प्राचीन सम्पदा सङ्कटमा


महोत्तरीका प्राचीन सम्पदाले संरक्षण नपाएर सङ्कट झेल्दैछन् । अहिलेको मधेस प्रदेशमा पर्ने प्राचीन मिथिला क्षेत्रका पवित्र मानिने यहाँका धार्मिक र पुरातात्विक महत्वका सम्पदा संरक्षण नपाएरै खण्डहर बन्दै गएका छन् ।

उत्तरमा चुरे पहाडी क्षेत्रको मनोरम वनक्षेत्र, दक्षिणमा मित्रराष्ट्र भारतसँगको सीमा पूर्वमा रातु, बडहरी, बिगही नदी र कैयन ठाउँ सडक, कुलोले धनुषासँग सीमा छुट्याएको र पश्चिममा बाँके नदीसम्मको जिल्लाको भूभागमा अवस्थित कैयन प्राचीन सम्पदा छन् । यी प्राचीन सम्पदाबारे तीनै तहका सरकार बेखबर हुँदा यिनीहरूका अवस्था खस्किदै गइरहेको छ ।

जिल्लाको सुदूर उत्तरवर्ती बर्दिबास नगरक्षेत्रमै कैयौँ प्राचीन सम्पदा छन् । बर्दिबास–३ राईमण्डल यस्तै प्राचीन धार्मिकस्थलमध्येको एक हो । परापूर्वकालमा स्वर्गका राजा इन्द्रले भगवान शिवको तपस्या गरेका मानिने यो ठाउँ भव्सी नदी र चुरे पाहाडका शृङ्खलाका काखमा छ । यो राईमण्डल धार्मिक क्षेत्रमा पहाडको पाखामा धार्मिक मान्यताका देवीदेवताका मूर्ति कुँदिएका छन् । पाखाकै खापमा परेवाको सघन बसाइँले जोसुकै नवआगन्तुकको मन खैचन्छ । तल फाँटमा स्वर्गका राजा इन्द्रले स्थापना गरेका विश्वास गरिएको इन्द्रेश्वर महादेव मन्दिर छ । यो ठाउँमा सम्पदाको संरक्षण, विकास र पर्यटकीय सम्भावनाबारे सङ्घीय र प्रादेशिक सरकारमात्र नभएर स्थानीय सरकार नै बेखबर रहेको राईमण्डलका बासिन्दा बताउँछन् । 

त्यसैगरी बर्दिबास–५ को मरहा नदी किनारमा चुरे पहाडी शृङ्खलाको थुम्कामा टुटेश्वरनाथ शिव मन्दिर अवस्थित छ । “प्रकृतिले हामीलाई नदिएको हैन नि।।।१ पहाड, कन्दरा, नदी, मनोरम सघन वन र धार्मिक परिचय, सबैछन् हाँमीसँग छ” बर्दिबास–५ टुटेश्वरकै बासिन्दा भुवन महत भन्नुहुन्छ, “हामीले तिनको संरक्षण भने गर्न सकेनौँ ।” बर्सेनि नेपाल र भारतका लाखौँ भक्तजन दर्शनका लागि आउने टुटेश्वरधाम अब संरक्षण र सम्वद्र्धन हुन नसक्दा रुग्ण खण्डहर बन्दै गरेको महतको भनाइ छ । यसबाहेक बर्दिबास–४ माइस्थानमा अति प्राचीन देवी शक्तिपिठ पञ्चधुरा माई मन्दिर छ । यी सबै धार्मिक सम्पदा वास्ताका नजरले ओझेलमा परेका बर्दिबास नगरवासी बताउँछन् ।

माइस्थानको माई मन्दिर परिसरको मनोरम तलाउ केही वर्ष पहिले त्यहाँ पुगेका श्रद्धालुको आँखामा नाचिरहेकै हुन्छ  । तलाउ भरिएर वनतिर बगेको कञ्चन पानी, जतिखेर पनि ढकमक्क फुलेका देखिने कमल, एक दशकअघिसम्म माई मन्दिरमा देखिने यी खास परिचय थिए । तर अहिले त्यहाँ पुग्ने पुराना श्रद्धालुलाई फरक ठाउँ आइएछ कि भन्ने भ्रम हुन्छ । न तलाउमा पानी।।।१ न ढकमक्क कमल।।।१ यी मात्र नभएर अहिले जिल्लाका सबैजसो पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् । कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा कतैबाट पहलकदमी नदेखिएपछि अस्तित्व लोप हुने स्थिति बनेको हो ।

जिल्लामा हिन्दू परम्पराका मठ, मन्दिर, इस्लाम परम्पराको रौजामजार र बौद्ध परम्पराका गुम्बा छन् । जिल्लाका यी पुरातात्विक महत्वका स्थलको संरक्षण÷सम्वद्र्धन हुन नसक्दा क्रमशः खण्डहर बन्दै जाने स्थिति बनेको आम टिप्पणी सुन्ने गरिएको छ । प्राचीनकालदेखिका प्रसिद्ध शिवालयमा  साउन महिना र महाशिवरात्रीका अवसरमा लाखौँ श्रद्धालुको भीड लाग्ने गरेको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित श्रीजलेश्वरनाथ, बर्दिबास–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्धनाथ र सोनमा–१ मगरथानास्थित श्री मङ्गलनाथ आदिकालमै स्थापित प्राचीन शिवालय मानिन्छन् । यीमध्ये जलेश्वरनाथमा मन्दिर मर्मतसम्भारको काम थालिए पनि वर्षौँ बितिसक्दासम्म काम सम्पन्न हुन नसकेको जलेश्वरवासी बताउँछन् । त्यसैगरी टुटेश्वरनाथ महादेव मन्दिरले मर्मतसम्भार नपाएको वर्षौँ बितिसकेको त्यहीँकै बासिन्दाको भनाइ छ । 

त्यस्तै अति प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर रातु र बडहरी नदीको बगरमै मिसिसक्दा पनि कोही हेर्ने नभएका सिद्धपुर बस्तीका परेखन सादा बताउनुहुन्छ । जिल्लामा प्रसिद्ध धार्मिकस्थलको कुरा उठ्दा बलवा नगरपालिका–३ पडौलस्थित कारिख महाराजस्थान, बलवा–१० स्थित ध्रुवकुण्ड, भङ्गाहा–९ हरिहरपुर कञ्चनवनस्थित रामजानकी विहार र रामसीताको विवाहमा बेदी ९विवाह मण्डप० बनाउन माटो खनिएको ठाउँ मटिहानीस्थान मुख्य हुन् । 

यस्तै रामगोपालपुरको विशाल सौतिनियाँ पोखरी, रामायणकालकै पितृमात्रीभक्त श्रवणकुमारका नेत्रविहीन बाबुआमा बस्ने ठाउँ मानिएको लोहारपट्टी नगरपालिकाको बगडास्थित अन्धाअन्धीस्थान र पिपरा गाउँपालिकाको बनौलीदनौलीस्थित मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढमध्ये धेरैजसो अहिले समुचित सम्भार र संरक्षण नपाउँदा बेवारिसे जस्तै बनेका छन् । यी प्राचीन सम्पदामध्ये रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको मानिने मटिहानी–७ स्थित लक्ष्मीसागर भने मटिहानी नगरपालिकाले मर्मतसम्भारसँगै रङरोगन गरेपछि अहिले झकिझकाउ देखिन्छ ।

“यदाकदा यी सम्पदाको संरक्षण र विकासका नाउँमा योजना बनेका कुरा सुनिन्छन्”, लोहारपट्टी–४ खुट्टा वरःटोलका बासिन्दा सामाजिक तथा राजनीतिक कार्यकर्ता नागेन्द्र चौधरी भन्नुहुन्छ, “योजना भने स्थलमा नभएर सायद कागजमै टुङ्गिने गरेका छन् ।” जनताले प्रयास थालिएछ है भन्ने अनुभूति गर्नेगरी लक्ष्मीसागरबाहेक कतै नहुँदा निरासा छाएको चौधरीको भनाइ छ ।

यसबाहेक औही नगरपालिकाको भोइलस्थित सोनामाई मन्दिर, जलेश्वर नगरक्षेत्रका भार्गव ऋषि आश्रम र भार्गवसर, सन्सारी माई मन्दिर, राजदेवी मन्दिर र जिल्लाकै अन्हेरबाट मन्दिर अतिप्राचीन धार्मिक धरोहर हुन् । जलेश्वर नगरक्षेत्रका अति प्राचीन धार्मिक महत्वका पवित्र मानिने भार्गव सर ९तलाउ०, पुरन्दर र वरुण सर सम्भार नहुँदा अब नगरभरिको फोहर थुप्रिने ठाउँ बनेका जलेश्वर–५ का बासिन्दा नेपाली कांग्रेस महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ ।

जिल्लामा हिन्दू परम्पराका यी धार्मिकस्थलबाहेक इस्लाम परम्पराका सुफी सन्त गदाअलि शाह, बहारअलि शाह र रहमअलि शाहका बलवा नगरपालिका–११ रौजाअवस्थित मजार ९समाधिस्त गरिएको ठाउँ० सबै धर्म परम्पराका श्रद्धालु याचकको दुःख पुकारा गर्ने साझास्थल रहँदै आएको छ । रौजामजार भनेर चिनिने यस ठाउँमा आफ्नो दुःख पुकार गर्ने दैनिक सयौँ सङ्ख्याका याचक पुग्दछन् । 

त्यसैगरी जिल्लाको गौशाला र बर्दिबास नगरक्षेत्रमा कैयौँ बौद्ध परम्पराका गुम्बा संरक्षणको पर्खाइमा छन् । यिनको सम्भार र विकासमा मुख्यरुपले सम्बन्धित स्थानीय तहले तत्परता र पहलकदमी देखाउनुपर्ने रौजाकै बासिन्दा मन्सुल कवारी बताउनुहुन्छ । यद्यपि जिल्लाका यी प्राचीन सम्पदाले आवश्यक संरक्षण र वास्ता अहिलेसम्म पाउन नसकेका आम सर्वसाधारणको गुनासो छ । 

त्यसैगरी यता नेपाल–भारत सीमाक्षेत्र अवस्थित मटिहानी रामायणकालीन जनश्रुतिका कैयन उदाहरणसँग जोडिँदै आएको धार्मिकस्थल हो । देशभरिकै सबै धार्मिक मठको मुख्य मानिने लक्ष्मीनारायण मठ यहीँ छ । मटिहानी नगर बसाउने सन्त तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबा मानिन्छन् । यहाँ तश्मैयाबाबा र पिरबाबाको समाधिस्थल छ । 

यसबाहेक प्राचीन वैदिक भाषा संस्कृतको पठनपाठन हुने ३०४ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस० यहाँ छन् । यी स्थलको सम्भारमा पछिल्लो कालमा मटिहानी नगरपालिकाले चासो देखाएपछि अवस्था केही फेरिएको छ । यद्यपि यहीँ नै नेपालको प्रजातान्त्रिक आन्दोलनका सहिद केशव कोइरालाको स्मारकस्थल भने रुग्ण बनेको मटिहानीका नेपाली कांग्रेसका नेता उपेन्द्र चौधरी बताउनुहुन्छ ।  

मठका महन्थ देशभरिकै मठहरूका नायक अर्थात् मानमहन्थ पदवीले विभुषित भए पनि ठाउँको विकासमा प्रयत्नशील नदेखिएका आम मटिहानीवासीको गुनासो छ । तीनदशक पहिलेसम्म देशका कुनाकाप्चाका विद्यार्थी शिक्षा आर्जन गर्न आउने महामुनि याज्ञवल्क्य र मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस० र राजकीय संस्कृत माध्यमिक विद्यालयमा अब बाहिरी विद्यार्र्थीको सङ्ख्या स्वात्तै घटेको छ । एकदशक अघिसम्म ५०० को हाराहारीमा रहने गरेको विद्यार्र्थी सङ्ख््या अहिले नियमित पठनपाठनमा २०० मुनि खुम्चेको छ ।

जिल्लाका यी यावत् धार्मिकस्थलका नाउँमा विभिन्न संस्थाले विभिन्न निकायबाट रकम ल्याएर हजम गर्ने प्रवृत्ति मौलाएपछि स्थानीयवासीले मतलव राख्न छाडेका जिल्लामा आम टिप्पणी सुनिँदो छ । जिल्लाको मुख्य पहिचान मानिएका यी धार्मिकस्थलका नाउँमा रकम ल्याएर आपूmखुशी मनपरि गर्नेलाई अब कारवाहीको दायरामा ल्याउनुपर्ने आम धारणा बाक्लिँदै गएको छ । खासगरी तीनै तहका सरकार र यी मातहतका निकायले गर्ने काममा आर्थिक अपारदर्शिता बढ्दै गएपछि सर्वसाधारण ‘ठालूहरूको कमाइ खाने भाँडो’ भनेर टिप्पणी गरिरहेका  भेटिन्छन् । 

जिल्लाका यी धार्मिक र पुरातात्विक महत्वका स्थलको तत्काल संरक्षणको पहलकद्मी नभए  पछिल्लो पुस्ताले इतिहास पढ्दामात्रै यी ठाउँबारे जानकारी पाउने अवस्था बन्नसक्ने बुद्धिजीवीको टिप्पणी छ ।

जिल्लाका धार्मिकस्थलको दुरावस्थाबीच स्थानीय पहलकदमीबाटै प्रारम्भिक काम थालिनु पर्ने जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउनुहुन्छ । पछिल्ला दिनमा धार्मिकस्थलको सम्भारमा मटिहानी नगरपालिकाले चासो बढाउँदा सकारात्मक सुधार देखिएको र ती काममा प्रादेशिक र सङ्घीय सरकारको पनि नजर पर्न थालेको कर्णको भनाइ छ । जिल्लाका सबै प्राचीन सम्पदाको संरक्षणमा स्थानीय तत्परता बढाउन सम्बन्धित स्थानीय तहले पहलकदमी लिएर राज्यका अन्य तहको ध्यान आकृष्ट गर्न सकिने कर्ण बताउनुहुन्छ ।

“हामी सम्बन्धित ठाउँका बासिन्दा र हाम्रा स्थानीय जनप्रतिनिधिमूलक निकाय बेखबर हुने र अन्यले आएर काम गरी दिने भन्ने हुँदैन”, कर्ण भन्नुहुन्छ, “पहिलो प्रयत्न स्थानीय तहबाट गर्नेहो, अनि प्रदेश र सङ्घ गुहारेको अर्थ हुन्छ ।” यो कुरामा पहलकदमी लिन कर्णले जिल्लाका सबै स्थानीयतह नेतृत्वसँग अपिल पनि गर्नुभयो ।

एकासी रुख ढल्दा तीन जनाको मृत्यु, १ दर्जन घाइते

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख एकासी ढल्दा एउटा बस र एउटा स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएका छन् ।
सल्लाको रुख ढलेर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा६१च नम्बरको स्कुटीलाई च्याप्दा अन्य १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन्।
घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पतालमा र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएका तीन मध्य एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन सकेका छैन ।
सो घटनामा मृतक नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

घटनामा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

मन्त्री खाँणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन सो निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक शुरू गर्न पनि निर्देशन दिएका छन् ।

रुख ढल्दा १६ जना घाइते

भक्तपुर । भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएको छ । त्यस घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।

घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नागरिकता विधेयकमा गठबन्धन भित्रै असन्तुष्टि


नेपालको नागरिकता विधेयकमा गठबन्धनमा सहभागी भएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदले असन्तुष्टि पोखेका हुन् ।

विधेयक पारित गर्न गठबन्धनमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भूमिका निर्वाह गरे पनि उक्त विधेयकका बारेमा ती पार्टीकै कतिपय नेताहरुले विरोध जनाएका छन् । जनमोर्चा पहिलेदेखि नै उक्त विधेयकको लागी विपक्षमा उभिएका थिए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले राज्य व्यवस्था समितिबाट सहमति जुटेको विषय पनि नागरिकता विधेयकबाट हटाइएको भन्दै आपत्ति जनाएका थिए । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संसदमा पार्टीका तर्फबाट बोल्दै गुरुङले ६ जना सांसदहरुको तर्फबाट संयुक्त रुपमा संसदीय समितिमा सहमति भएका विषय छुटेकाले २३ बुँदामा संशोधन प्रस्ताव राखिएको बताए ।

नेपाली पुरुषसँग बिहे गरेर आएकी विदेशी महिलाको हकमा ७ वर्षसम्म राजनीतिक अधिकारबाहेक अरु अधिकार दिने गरी परिचय पत्र दिनेबारे राज्य व्यवस्था समितिमा पास भए पनि सरकारले त्यसलाई फिर्ता लगेकोमा चिन्ता व्यक्त गरे । उनले संविधानको धारा ११ मा जन्मको आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको आधारमा र धारा १४ मा गैर आवासीय नेपालीलाई नागरिकता दिने विषयमा विवाद रहेको बताए ।

नेपाली नागरिकसँग बिहे गरेर आएकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्नेमा उनको जोड थियो । एकीकृत समाजवादीका सांसद रामकुमारी झाक्री र लक्ष्मी चौधरीले समेत नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाकै सवालमा विधेयकमा गरिएको व्यवस्थाको विरोध गरेका थिए ।

उक्त विधेयक पारित भए लगत्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काँग्रेसले बलजफती गरेको आरोप लगाए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले एमसीसी पारित, एसपीसीमा अमेरिकालाई पत्र लेख्ने विषय तथा नागरिकता विधेयकमा काँग्रेसले बलजफती गरेको भन्दै असन्तुष्टि पोखे ।

‘नेपाली काँग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफती हामीलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै ध्यान पुगोस्,’ श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरूमा सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य हो ।’

माओवादी केन्द्रकै सांसद रेखा शर्माले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाको हकमा ७ वर्षे प्रावधान संसदीय समितिबाट पारित भइसकेको अवस्थामा त्यसलाई उल्ट्याउनु ठिक नभएको टिप्पणी गरिन् । ‘संसदीय समितिबाट अंगीकृत नागरिकताको विषयमा पारित भइसकेको हो । त्यसलाई समेत लत्याएर अर्को नागरिकता विधेयक संसदबाट पारित भयो । त्यसमा सन्तुष्ट छैनौँ,’ शर्माले भनिन् ।’

उनले उक्त विधेयक राष्ट्रियसभा र राष्ट्रपतिबाट समेत अनुमोदन हुनुपर्ने र त्यसमा पुनर्विचार गर्ने ठाउँ रहने प्रस्ट पारिन् । यदि पुनर्विचार नभए फेरि फेरबदल वा संशोधनको सम्भावना पनि जीवितै रहेको उनको भनाइ छ ।

तर माओवादीकै अर्का सांसद सन्तकुमार थारुले नागरिकता विधेयकमा अधिकांश प्रावधान माओवादी पार्टीले उठाएको विषय भए पनि अंगीकृत नागरिकताको विषयमा आफू पनि सन्तुष्ट नभएको बताए । तर संसदबाट पारित भइसकेकाले कानुन बनाएर लागु गर्नुको विकल्प नरहेको थारुले बताए ।

तर, एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले नागरिकता विधेयकलाई पारित गर्न आफैले मत दिएर असन्तुष्ट हुन नमिल्ने जिकिर गरे । ‘विदेशी महिला नेपाली पुरुषसँग बिहे गरेर नेपाल आएको सम्बन्धमा अंगीकृत नागरिकताको विषयमा धेरैले आशंका गरेका थिए’ खतिवडाले भने, ‘अब संसदबाट भोट हालेर पारित गरेपछि असन्तुष्ट हुन मिल्दैन । अब सबै सन्तुष्ट हुनुपर्छ ।’

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भए पनि राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ । राष्ट्रियसभाबाट पनि पारित भएमा राष्ट्रपतिले त्यसलाई अनुमोदन गरेपछिमात्र कार्यान्वयनमा जाने प्रावधान छ । यदि विवादित भएमा राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि फिर्ता गर्न सक्ने व्यवस्था छ ।

नागरिकतासम्बन्धी विधेयक संसदमा २०७५ साउन २२ मा दर्ता गरिएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले २०७७ असार ७ मा पारित गरेको थियो ।

मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ।

द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।

केही विज्ञहरूले भने डब्लुएचओले हतारमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको भनेर आलोचना गरेका हुन्।

मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ। १६ हजार बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिएको थियो। परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टी भएको थियो।

सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।

त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।

यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका हुँदैनन्।

संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।

मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।

मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३.३ प्रतिशतले ज्यान गुमाएका छन्।

मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।

सुनको मूल्य बढ्यो


८ साउन, काठमाडौं । आइतबार सुनको मूल्य बढेका छन् तर चाँदीको मूल्यमा गिरावट आएका छन् ।

सुनको मूल्य प्रतिकिलो ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ छ । गत शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

एउटै रूखमा तीन जना झुण्डिए


झापा । झापामा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन्। केचनाकवल गाउँपालिका -५ मा आज विहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार झुण्डिएको अवस्थामा फेला पर्नेमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।
हिजो दिउँसोदेखि हराएका आज विहान झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए। ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्।