संसदको कार्यसूचीमा नागरिकता विधेयक मात्र

काठमाडौँ । संसदको कार्यसूचीबाट नागरिकता विधेयक बाहेकका विषय हटाइएका छन् ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छन् ।
संसद बैठक केहीबेर अघिबाट सुरु भएका छन् । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

कर्जा विस्तारमा कडाई राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा कर्जा विस्तारमा कडाई गर्ने भएका छन् । आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त जानकारी दिनुभएको छ ।
गत आवमा १९ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य रहेकोमा चालू आवमा १२.६ प्रतिशतमा सीमित गरिने भएको छ । बढ्दो आयात नियन्त्रण र विदेशी मुद्रा सञ्जितीमाथिको दबाब कम गर्न कर्जा विस्तारमा कडाइ गरिने भएको हो ।अघिल्लो आवमा लक्ष्यभन्दा ३ प्रतिशत कम अर्थात् १६ प्रतिशत कर्जा विस्तार भएको थियो ।

चालू आवमा उत्पादनमूलक क्षेत्रलाई लक्षित गरेर कर्जा विस्तार गरिने राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने “गभर्नर महाप्रसाद”


नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएका छन् । चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने छ बताएका हुन् । उनका अनुसार कोभिड महामारीका कारनले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिन्छ ।

चालू वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको छ । यसै गरी, बाह्य क्षेत्र (अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायत) ले पनि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने छ । यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

नेप्सेमा आज दोहोरो अङ्कको ओरालो


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर दुई हजार १७.४६ मा ओर्लिएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक भए पनि बजारले त्यसलाई स्वीकार नगरेको पाइएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ५.४० अङ्कले ओरालो लागेको छ । कूल २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर रु एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० मूल्यमा खरिद बिक्री भए ।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख ४० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट भएको छ । बैंकिङ १५.१७, व्यापार ५०.३७, होटल तथा पर्यटन ५८.६३, विकास बैंक ७१.३५, जलविद्युत् ३५.७८, वित्त २७.८, निर्जीवन बीमा ३२.६५, उत्पादन ११२.८९, अन्य ३२.८२, लघुवित्त ४८.८५, जीवन बीमा १०९.६७, सामूहिक लगानी कोष ०.१७ र लगानी ०.८५ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड दुई हजार ४७३ मूल्यमा कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड ८० लाख चार हजार ३२५, गुर्खाज फाइनान्स रु चार करोड ९५ लाख आठ हजार ४४४, नेपाल पुनरबीमा कम्पनी रु तीन करोड ८३ लाख आठ हजार २९० र अरुण काबेली पावरको रु तीन करोड ४२ लाख ४८ हजार ४६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, किसान लघुवित्त ८.४१, गणपति लघुवित्त ६.०७, नयाँ सारथी लघुवित्त ४.०१, सेन्ट्रल फाइनान्स २.७६ र सानिमा लार्ज क्यापका लगानीकर्ताले २.४७ प्रतिशतले कमाए । त्यस्तै, सप्तकोसी डेभपमेन्ट बैंक ५.७९, रुरु जलविद्युत् परियोजना ४.७३, सूर्योदय बोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशतले गुमाएका छन् ।

काठमाडौं उपत्यका भित्र चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो


बागमति प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । बाग्मति प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।
यसअघि ५ किलोमिटरसम्म २० रुपैयाँ थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ कायम थियो ।

बागमति प्रदेश सरकारले बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

एक वर्षमा ५७० उद्योग र व्यावसायिक फर्म थप


म्याग्दी जिल्लामा पछिल्लो एक वर्षमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो । 

पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्म कानुनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो, उहाँले भन्नुभयो, “नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।”

दर्ता र नवीकरणका क्रममा उद्योगबाट रु नौ लाख ३०५, वाणिज्यतर्फ रु सात लाख ६९ हजार २४५ र अन्य शीर्षकमा रु १२ हजार २०० राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ७६२ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।  

यसैगरी रु २६ लाख आठ हजार १२३ राजस्व सङ्कलन भएको थियो । नयाँ दर्ता भएका ३३८ मध्ये २०९ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २३३ उद्योग र ३०९ वाणिज्य फर्म नवीकरण भएका छन् । जिल्लामा हाल उद्योग दुई हजार ६६१ र व्यावसायिक फर्म एक हजार ५२८ वटा रहेका छन् । उद्योगमा एक हजार ५२८ ले रोजगारी पाएका छन् । 

गत आर्थिक वर्षमा कूल रु एक करोड १३ लाख बजेटमध्ये रु ९३ लाख ६० हजार ११५ बजेट खर्च भएको छ । १७२ जनालाई उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरेको छ । बेनपा–९ तोरीपानीमा २२, धौलागिरि–७ ताकममा २७, मालिका–५ देवीस्थानमा ३४, रघुगङ्गा–६ पाखापानीमा २७, अन्नपूर्ण–४ नारच्याङमा २७ र मङ्गला–२ बाबियाचौरमा ३५ जनालाई तालिम प्रदान गरिएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले बताउनुभयो ।  

१३ जनालाई मेसिन उपकरण खरिद गर्न रु १५ लाख ९५ हजार अनुदान उपलब्ध गराएको छ । सात वटा पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि रु बीस लाख विनियोजन भएकोमा छवटा योजना सम्पन्न र रु १६ लाख ७९ हजार खर्च भएको छ । तीन ठाउँमा व्यवसाय दर्ता शिविर सञ्चालन र २० पटकमा २२२ फर्मको अनुगमन गरेको कार्यालयले जनाएको छ

विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता


वाहको सात नागरिकता विधेयक पारित गर्न मागप्रतिनिधिसभाको आजको बैठकमा नागरिकता राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गर्दा माग गरिएको छ ।

सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताउनुभयो ।

सोही पार्टीका गङ्गा चौधरी (सत्गौवा) ले सार्कका अन्य मुलुकका अभ्यासलाई हेरेर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्नेबित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा संशोधनकर्ता दुर्गा पौडेल, घनश्याम खतिवडा, अञ्जना विसङ्खे, नरबहादुर धामी, डा सूर्यप्रसाद पाठक, गोकुलप्रसाद बास्कोटालगायतले छलफलमा भाग लिनुभएको थियो । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दफाबार छलफलका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्नेक्रम सुरु भएको हो ।

किसानलाई ठगेर डेरी व्यवसायी सम्पर्कविहीन


पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् । कृषक तथा व्यवसायीलाई लाखौँ रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् ।

सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । व्यवसायी हमाल र उनकी श्रीमतीको मोबाइल स्विचअफ गरिएको तथा उनीहरुको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले प्रहरीमा खोजीका लागि निवेदन दिएका छन् ।

हमालले फिदिम नगरपालिका–२, ३, ५, ७, ८, १४, फाल्गुनन्द गाउँपालिका–१, ३, ४ लगायत वडाका सयौँ कृषकको दूध सङ्कलन गरी घ्यु र छुर्पी उत्पादन गर्दै आएका थिए । उत्पादित दुग्ध सामग्री उनले फिदिमको सिदिन डेरी उद्योगमा बिक्री गर्दथे । कृषकबाट सङ्कलन गरेको दूधबाट उत्पादित सामग्री फिदिममा बिक्री गरी रु ६५ लाख कृषकलाई वितरण गर्न भनी लगेपछि उनी फरार भएको सिदिन डेरी उद्योगका सञ्चालक गोपाल रिजाल लगायतले प्रहरी उजुरी दिनुभएको हो । हमालले डेरी सञ्चालनका लागि रिजालबाट थप रु १६ लाख, अन्य व्यवसायी तथा कृषकबाट समेत लाखौँ रुपयाँ लिइ हमाल फरार भएको निवेदकले जनाएका छन् ।

व्यवसायी रिजाल, फिदिम–२ का कृषक तिवेन्द्र शर्मा अधिकारी, हमालले सञ्चालन गरेको डेरी उद्योगका कर्मचारी फिदिम–३ का सुरेन्द्र राई लगायतले जिल्ला प्रहरी कार्यालय पाँचथरमा हिँजो निवेदन दिएका हुन् । व्यवसायी हमाल फरार भएको भनी प्रहरीमा निवेदन परेको र खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

हमालले गत फागुन १४ गते फिदिम नगरपालिकामा डेरी उद्योग दर्ता गरी व्यवसाय सुरुआत गरेको पाइएको छ । उनले करदाता सेवा कार्यालय फिदिममा व्यवसायको स्थायी लेखा नम्बरसमेत लिएको पाइएको हो । कृषकले उनको खोजी गरी आफूहरुको रकम फिर्ता गराइदिन माग गरेका छन् । फिदिममा व्यवसाय सुरुआत गरेको छोटो समय भए तापनि स्थानीय डेरीमा बिक्री हुनेभन्दा प्रतिलिटर रु पाँच बढी दिने आश्वासन दिइ हमालले यस क्षेत्रमा उत्पादित दूध आफ्नो डेरीमा ल्याउन सफल भएको बुझिएको छ ।

सिमेन्टको व्यापार किन खस्कियो

पछिल्लो समय बजारमा माग कम हुँदा सिमेन्टको खपत कम भएकोले सिमेन्ट उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् ।सामान्यदेखि ठूला विकास निर्माणको काम समेत सुस्त हुन पुग्दा घाटामा सिमेन्ट बिक्री गर्नुपरेको उद्योगीको दाबी गरेको छ ।
सिमेन्ट व्यवसायीले पछिल्ला केही वर्षमा उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेका छन् । विशेषगरी वर्षा सिजनमा निर्माणको काम कम हुने सिजन हो ।

वर्षा सिजनमा सिमेन्टको खपत कम हुनु स्वाभाविक भए पनि वर्ष भरी नै सिमेन्टको खपत कम भएको सिमेन्ट उद्योगीको भनाइ छ । यद्यपि कतिपय सिमेन्ट उद्योगले आफूले घाटामा व्यापार नगरेको बताएका छन् ।
अर्घाखाँची सिमेन्टका रमेश थापाले आफ्नो उद्योगको उत्पादन तथा व्यापार लक्ष्यअनुरूप नै भइरहेको दाबी गरे । उनले भने, ‘अन्य उद्योगमा बिजनेस डाउन भएको स्वाभाविक हो तर हाम्रोमा भने टार्गेटमै छौं ।’

पछिल्ला वर्षमा समग्र सिमेन्ट उद्योगको व्यापारको अवस्था केही कम भएको उनले बताए । भूकम्पपछि नेपालमा सिमेन्टको उच्च माग भएको थियो ।

के कारण खस्किँदैछ सिमेन्ट उद्योगको व्यवसाय रु

विक्रम संवत् २०७२ सालको महाभूकम्पपछि नेपालमा विकास निर्माण तथा पुनर्निर्माणको कामले तीब्रता पाएको थियो । सो समयमा निजी आवासीय घरदेखि सरकारले सञ्चालन गर्दै गरेका ठूला आयोजनाहरूको पनि विकास निर्माण तथा पुनर्निर्माण गरिएको थियो । जसका कारण सिमेन्टको माग उच्च रहेको र माग पूरा गर्न निकै धौधौ पर्ने गरेको उद्योगी सम्झन्छन् ।

तर पछिल्ला वर्षमा सिमेन्टको माग नै कम हुन पुगेको छ । जसले गर्दा सिमेन्ट उद्योगको नाफा तथा आम्दानी नै घटिरहेको उद्योगीहरू बताउँछन् ।

सिमेन्ट उत्पादकको छाता संगठन नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा पछिल्लो समय उद्योगीले ८ प्रतिशतदेखि १० प्रतिशतसम्म घाटामा सिमेन्ट बिक्री गर्नुपरेको दाबी गरे ।
उनले भने, ‘पछिल्ला वर्ष प्रायः हरेक सिमेन्ट उद्योगले करीब ८–१० प्रतिशतको घाटामा बेचिरहेका छन् । उत्पादन लागतभन्दा कममा बेचिरहेका छन् ।’

महंगीको मार

पछिल्लो समय विश्व बजारमा डण्डी लगायतका निर्माण सामग्रीको मूल्यमा निकै उतारचढाव आएको छ । निर्माण सामग्रीको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको असर निर्माण क्षेत्रमा परेको उद्योगीहरू बताउँछन् ।

डन्डीको मूल्य करीब १ हप्तामै प्रतिकिलो ५० रुपैयाँभन्दा बढीले बढेको छ । डन्डीको मूल्यमा भएको अस्थिर र उच्च मूल्यवृद्धिले गर्दा निर्माणजन्य काम कम भएको उद्योगीहरू बताउँछन् ।

अर्घाखाँची सिमेन्टका थापा भन्छन्, ‘आर्थिक मन्दीले पनि निर्माणको काममा असर पुग्यो । जसले पनि सिमेन्ट उद्योगको व्यवसायमा केही असर गर्‍यो ।’

मुलुकमा आर्थिक संकट रु

पछिल्लो केही महिनायता नेपालले भोग्दै आएको वित्तीय संकटले पनि निर्माण क्षेत्रमा असर गरेको छ । बैंकले सहज रूपमा कर्जा दिन नसक्दा घर बनाउने सोचमा रहेका व्यक्तिहरूले पनि अहिले काम शुरू गर्न नसकेका शिवम् सिमेन्टका केशव अर्याल बताउँछन् ।

उनी भन्छन्, ‘मूल्यवृद्धि त छँदैछ तर बैंकले सहजै कर्जा दिइरहेका छैनन्, यसले पनि घर तथा भवन बनाउने सोच बनाएकाहरूलाई पनि सोच बदल्न बाध्य भएको छ ।’
छैनन् ठूला विकास निर्माणका काम

पछिल्लो समय विकास खर्च गर्न नसकेर सरकार आलोचित बन्ने गरेको छ । यस वर्ष पनि विकास खर्च सोचेअनुरूप हुन सकेको छैन । आर्थिक वर्षको अन्त्यसम्ममा विकास खर्च करीब ५० प्रतिशत मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

विकास निर्माणमा भएको यस्तो सुस्तताले सिमेन्ट उद्योगलाई असर गरेको उद्योगीहरू बताउँछन् । ‘सरकारले विकास निर्माणमा खर्च गर्नै सकेको छैन,’ शिवम् सिमेन्टका अर्याल भन्छन्, ‘त्यसो हुँदा सिमेन्टको माग नै छैन ।’

विभिन्न कारणले सिमेन्टको माग नहुँदा अहिले सिमेन्ट उद्योगले ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको उद्योगीको भनाइ छ ।

उत्पादन क्षमता झ्याप्पै बढ्यो, माग घट्दै गयो ?

भूकम्पपश्चात नेपालमा सिमेन्टको माग निकै धेरै थियो । भूकम्पबाट अति प्रभावित हरेक घरपरिवारले नयाँ घर बनाउँदा सिमेन्टको खपत पनि धेरै भएको थियो । यसले सिमेन्ट व्यवसाय निकै फस्टाएको उद्योगीहरू बताउँछन् ।
यसबीचमा सिमेन्ट उद्योगको उत्पादन क्षमता भने निकै कम थियो । ‘त्यतिखेर नेपाली सिमेन्ट उद्योगहरूले बढीमा २ हजार ५०० टनभन्दा बढी उत्पादन गर्ने क्षमता राख्दैनथे,’ शिवम् सिमेन्टका अर्यालले भने । तर पछि नेपालमा चिनियाँ लगानीमा २ ठूला सिमेन्ट उद्योगहरू सञ्चालनमा आए ।

उनीहरूले एकैपटक १० हजार टन उत्पादन क्षमतामा उद्योग चलाए । जसकारण पनि माग र आपूर्तिबीच ठूलो खाडल हुन पुगेको उद्योगीको भनाइ छ । ती २ उद्योगले उच्च उत्पादन क्षमतासहित आएपछि अरू उद्योगलाई पनि क्षमता बढाउने दबाब पर्‍यो । जसकारण नेपाली उद्योगले क्रमशः आफ्नो उत्पादन क्षमता बढाए ।

चिनियाँ लगानीको उद्योगले एकैपटक धेरै उत्पादन गर्ने र बजारमा सस्तोमा सिमेन्ट बेच्ने नीति लिए, ती उद्योगको सिमेन्टको मूल्य केही सस्तो पनि छ । यसरी किन्नेले पनि उनीहरूकै सिमेन्ट किन्न थाल्दा अन्य उद्योगलाई समस्या भएको उद्योगीहरू बताउँछन् ।

तर उत्पादन क्षमता बढ्दै जाँदा सिमेन्टको माग तथा खपत भने घट्दै गएको उद्योगीको भनाइ छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले कोरोना महामारीपछि क्रमशः सिमेन्टको माग कम हुँदै गएको जानकारी दिए ।

सरकारले नेपाली सिमेन्ट उद्योगलाई अगाडि बढाउनका लागि विदेशी लगानीका उद्योगलाई अब प्रवेश गर्न दिन नहुने समेत उनले बताए । उनले भने, ‘२ ठूला उद्योगका कारण पनि साना उद्योगलाई समस्या भएको छ, सरकारले विदेशी लगानी भित्र्याउँदा विचार गर्नुपर्छ, सकभर अब लगानी भित्र्याउनै हुँदैन,’ उनले भने ।

थरिथरिका करले समस्या भएको गुनासो
सिमेन्ट उद्योगीहरू सरकारले उद्योगमा लगाउँदै आएको विभिन्न करका कारण पनि बजारमा उपस्थिति सहज हुन नसकेको बताउँछन् । सरकारले आन्तरिक राजस्व तथा भन्सार शुल्क त उद्योगबाट लिँदै आएको छ, यसबाहेक पनि विभिन्न ठाउँमा चरणबद्ध तरिकाले कर असुल्दा यसको असर मूल्यमा पर्न गएको र बजारमूल्य महंगो पर्न गएको सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा बताउँछन् ।

२०४६ सालपछि सरकारले हरेक समय उद्योगबाट करको बोझ थप्ने गरेको गुनासो उनले गरे । ‘२०४६ सालपछि प्रत्येक उद्योग ग्रूम हुन लाग्यो भने निमोठ्ने काम सबैतिरबाट हुन्छ,’ उनले भने, ‘स्थानीयदेखि वन, भूमिसुधार लगायत जसले देख्यो, त्यसले कर लगाइदिन्छन् । यो कर तिर्दा विकास निर्माणको काम महंगो पर्न जाने कुरा उनीहरू ख्याल नै गर्दैनन् ।’

निकासीमा ‘ब्रेक थ्रू’

पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी शुरू गरेको छ । शुक्रवारबाट उद्योगले रुपन्देहीको बेलहिया ९सुनौली० नाका हुँदै भारततर्फ सिमेन्ट निकासी गरेको छ ।

बजेटमार्फत सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेसँगै सिमेन्ट निकासी शुरू भएको हो । उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ ।

दैनिक १ हजार ८०० टन क्लिंकर उत्पादन क्षमताको प्लान्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले जनाएको छ ।
बजेटमार्फत सिमेन्ट उद्योगीलाई सरकारले सम्बोधन गरेसँगै उद्योग सिमेन्ट निकासीमा अग्रसर हुन थालेका छन् । जसको शुरूआत पाल्पा सिमेन्ट उद्योगले गरेको हो ।

अवकाशको मुखमा परेको सचिव पनी दक्षिण कोरिया उडे


काठमाडौँ । साउन १२ गतेदेखि अनिवार्य अवकाश लिँदै गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव महेश्वर न्यौपाने पर्यटन बोर्डको खर्चमा दक्षिण कोरिया उडेको हो।

साउन ३ देखि ८ गतेसम्म दक्षिण कोरियाको सिउल सहरमा हुने नेपाल कल्चर सेन्टर कोरिया कार्यालय, नेपाली सांस्कृतिक हलको समुद्घाटन समारोह तथा बोर्ड अनावरणका लागि सचिव न्यौपाने कोरिया पुगेको हुन् ।
नेपाल पर्यटन बोर्डको चाँजोपाँजोमा उडेका सचिवको भ्रमण टोलीमा बोर्डका सिइओ धनञ्जय रेग्मीसहित केही कर्मचारी र सञ्चालक समिति सदस्यसमेत रहेका छन् ।

स्रोतका अनुसार नेपाल सांस्कृतिक केन्द्रले आयोजना गर्ने यो कार्यक्रम पर्यटन प्रवर्द्धनसँग सम्बन्धित नभएको भन्दै बोर्ड र मन्त्रालयभित्रै आलोचना भई रहँदा बोर्डको सञ्चालक समिति अध्यक्ष रहने प्रावधान अनुसार सचिव कोरिया उडी छाडेका हुन् ।

सरकारले बोर्डका सिइओ रेग्मीमाथि छानबिन गर्न समिति बनाई समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाए पनि सचिव न्यौपानेको अध्यक्षतामा रहेको बोर्डले उक्त प्रतिवेदन नै अघि नबढाएको अवस्थामा बोर्डकै खर्चमा अवकाशको मुखैमा भएको विदेश भ्रमणले उनीमाथि प्रश्न उठेको छ ।

त्यसै त उच्च पदस्थहरू विदेश भनेपछि हुरुक्कै हुँदै आएको र शाखा अधिकृत जाने कार्यक्रममा समेत सहसचिव तथा सचिव नै कुद्दै जाने गरेको आरोप लाग्दै आएको छ, त्यसैमाथि दशकौँ निजामतीमा बिताई उच्च पदबाट अवकाश हुनै लाग्दा केही अघिसम्मै विदेश कुद्नु पदीय गरिमा कायम राख्न नसकेको छ राय प्रशासकहरूको ।

सचिव जस्तो व्यक्ति, त्यो पनि केही दिनमै अवकाश हुँदै छ, एउटा हल र बोर्ड अनावरण गर्न विदेश उड्ने हो एक सचिवले भने, त्यही भएर त सचिवको पद सचिव जस्तो रहेन ।

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउदै

नेपाल राष्ट्र बैंकले आज अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दै।

नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ। गत वर्षको सुरूवातमा उच्च डरले कर्जा लगानी बढ्दा बाहिरी दबाब बढेसँगै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो।
आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भएको छ। बैठकले मौद्रिक नीति पारित गरेसँगै दिउँसो सार्वजनिक गरिने छ। बैंकहरूले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौजत बढाउने, पुनर्कर्जा सुविधा घटाउने बुझिएको छ।

राष्ट्रपति भवन सेनाको नियन्त्रणमा


काठमाडौं । श्रीलंकाली सेनाले कोलम्बोस्थित राष्ट्रपति कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सरकारविरोधी प्रदर्शनकारीलाई धरपकड गर्दै सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।

साथै, सेनाले प्रदर्शनस्थलमा बनाइएका टेन्टहरु भत्काइदिएको छ । केही प्रदर्शनकारी नेताहरुलाई समेत सेनाले नियन्त्रणमा लिएको समाचारहरुमा जनाइएको छ ।
प्रधानमन्त्रीको कार्यालयअगाडि टेम्पल ट्रिजबाट प्रदर्शनकारी हटेपछि सेनाले राष्ट्रपति सचिवालय आफ्नो नियन्त्रणमा लिएको हो । सेनाको धरपकडमा केही प्रदर्शनकारी घाइते भएको पनि अल जजिराले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघले शपथ लिएको केही घण्टामै सेनाले कारबाही सुरु गरेको हो । हप्तौँ लामो प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष मुलुक छाडेर भागेका थिए । विक्रमासिंघले शुक्रबार नयाँ प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।

नागरिकता ऐन संशोधनमा मुख्यतः तीन वटा विषय

६ साउन, काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट पारित गर्न खोजेको नागरिकता ऐन संशोधन विधेयकले मुख्यतः तीन वटा विषयलाई सम्बोधन गर्न खोजेको छ ।

पहिलो– जन्मको आधारमा नागरिकता पाएकाहरुको विषय । २०७२ सालमा संविधान जारी हुनु भन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो । उनीहरुका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख छ । संघीय कानुन नबन्दा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले नागरिकता पाउन सकिरहेका छैनन् । एन पारित गर्न लागिएको नागरिकता विधेयकले यो विषयलाई सम्बोधन गरेका छन् ।
जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानका बाबु र आमा दुबै नेपालको नागरिक रहेको अवस्थामा १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्थाका लागि राजनीतिक दलहरुका बीचमा समेत कुनै विमती देखापरेको छैन । प्रस्तावित विधेयक अनुसार पारित भएर ऐन बनेपछि ३ असोज २०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

दोस्रो– आमाको नामबाट नागरिकता जारी । नेपालको संविधानले आमाको नामबाट नागरिकता जारी हुने भनेका छन् । तर, संविधान अनुसार संघीय कानुन नबन्दा यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको छैन । प्रस्तावित विधेयकले यो विषयलाई सम्बोधन गरेको छ । प्रस्तावित विधेयक अनुसार पारित भएर ऐनका रुपमा लागू भएपछि नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर, यसका लागि निवेदक आमाले ‘स्वघोषणा’ गर्नुपर्ने हुन्छ । बाबुको पहिचान हुन नसकेको भावमा गरेको ‘स्वघोषणा’ गरेर नागरिकता लिँदा झुटो विवरण पेस गरेको पुष्टि भएमा कारबाहीको भागीदार हुनुपर्नेछ ।

तेस्रो– गैरआवासीय नेपालीलाई नागरिकता । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा नै गैरआवासीय नेपालीहरुले लगाए । उनीहरुको यही मागलाई सम्बोधन गर्ने विषय प्रस्तावित विधेयकमा छ । प्रस्तावित विधेयक अनुसार राजनीतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नागरिकता जारी हुने विषय प्रस्तावित विधेयकमा छ ।

सर्पकाे नाम सुन्नासाथ मान्छेको भावभंगी

अहो सर्प । सर्पकाे नाम सुन्नासाथ मान्छेको भावभंगी कस्तो हुन्छ ? कान ठाडो हुन्छ, आँखीभौं तन्किन्छ । डर हो वा घिनले, मान्छेको अनुहार खुम्चन्छ । अर्थात् मान्छे ‘सर्प’को नामसँग उल्कै डराउँछन् ।

अब कहीं–कतै सर्प देखिए भने ?
मान्छेले त्यसलाई कुनै हालतमा बाँकी छाड्दैन । कुटीकुटी मार्छ ।

औसत १५ वर्षको आयु लिएर धर्तीमा आएको सर्प यसरी नै मान्छेको सिकार बनेर अल्पायुमै मर्छन् । ठ्याक्कै तथ्यांक छैन, कति सर्पले अकालमा ज्यान गुमाउँछन् । यद्यपि प्रकृतिले दिएको आफ्नो पूर्ण आयु गुजारेर मृत्यु भएको सर्प विरलै भेटिन्छन् । सर्प अनुसन्धानकर्ता कमल देवकोटा यसै भन्छन् ।
मान्छेले सर्पलाई यति घृणा गर्छ कि, सायद यो धर्तीमा अरु कुनै प्राणीले त्यस्तो खेदो सहनुपरेको छैन । जबकि जीवविज्ञानले भन्छ, ‘यो धर्तीमा मान्छेभन्दा पहिले त सर्प अस्तित्वमा आए ।’ यसको सोझो हिसाब–किताब के भने, सर्पलाई यहाँ बाँच्ने हक उत्तिनै छ जति मान्छेलाई । योगदानकै तराजुमा तौलने हो भने पनि पर्यवरणीय चक्रलाई सन्तुलन राख्न सर्पको भूमिका अहम् छ ।

सर्पले मान्छे बचाउँछ

‘एस्क्लेपियस’, जसलाई पुरातन ग्रीक समाजले स्वस्थ देउताको रुपमा विश्वास गर्थे । उनले उपचारका लागि सर्पको प्रयोग गर्थे भनिन्छ । युनानीहरु सर्पलाई ज्ञान, उपचार र पुनरुत्थानको पवित्र प्राणी मान्ने गर्छन् । यसैबाट प्रभावित भएर चिकित्सा विज्ञानले ‘सर्प’लाई एक प्रतीकात्मक चिह्नको रुपमा उपयोग गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका कतिपय अचूक औषधि सर्पबाट बन्छन् । क्यान्सरको विरामीको दुखाई कम गर्ने औषधि सर्पको विषबाट बन्छ । बीबीसीको एक रिपोर्ट अनुसार गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ । साथै सर्पको विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ ।

सर्पले मान्छेलाई जटिल रोगहरुबाट बचाउँदै आएको पो छ । तैपनि सर्पसँग मान्छे क्रुर र कठोर छ । यो प्राणीप्रति किन मान्छे यति रुष्ट भए ?

किनभने मान्छेलाई लाग्छ, ‘सर्पले डस्छ । सर्पले डसेपछि मृत्यु नै हुनसक्छ ।’
जबकि विश्वमा जति प्रजातिका सर्प छन्, त्यसमध्ये ८० प्रतिशत प्रजातिका सर्पले डस्दैन । डस्यो भने पनि त्यसमा विष हुँदैन । कुरा रह्यो विषालु सर्पको । यी सर्पले मान्छेलाई खोज्दै–लखेट्दै डस्दैन । न सर्पलाई मान्छेको रगत पिउनु छ, न मासु खानु । उनको आहार त प्रकृतिमा अरु नै छ । सर्प मांसहारी हो । भ्यागुतो, छेपारो, मुसो, किरा–फट्याङ्ग्रा उसको खास भोजन हो । एक पटक अघाउञ्जेल खाएपछि १५ दिनदेखि १ महिनासम्मलाई पुग्छ । मान्छेजस्तो खन्चुवा प्राणी पनि होइन यो ।

यतिबेला तपाईंको मनमा प्रश्न उठ्नसक्छ, सर्पले आफ्नो आहार छाडेर किन मान्छे डस्छ त रु

सर्प अति रक्षात्मक

नागिनका कथा वा मिथकहरुलाई एकछिन विर्सनुहोस् । किनभने मनगढन्ते कथामा झै सर्पले बदलाको भावले लखेट्दै–लखेट्दै मान्छेलाई मार्दैन । सर्प विशेषज्ञ कमल देवकोटा भन्छन्, ‘कथामा मात्र हो, सर्पले लखट्दै मान्छेलाई डस्न आउने । वास्तविक जीवनमा त त्यस्तो हुँदैन ।’

कस्तो हुन्छ त ?

खासमा सर्पले मान्छेसँग दुश्मनी साधेर डसेको होइन । त्यो त उसले आफूलाई मान्छेबाट बचाउन खोजेको हो । मान्छे वा दोस्रो प्राणीबाट आत्मरक्षा गर्नका लागि सर्पले डस्छ ।

सर्प बढी नै रक्षात्मक प्राणी हो । साथै धेरैजसो आक्रामक पनि । जब सर्पको सामुन्ने अरु कुनै प्राणी पर्छ, उसले आफ्नो बचाउको लागि दोस्रो प्राणीमाथि हमला गर्छ । ‘सर्पसँग सधैं सतर्क र सजग हुन जरुरी छ’ देवकोटा भन्छन्, ‘सावधानी अपनाउने हो भने सर्पको संभावित जोखिमबाट बच्न सकिन्छ ।’
कहिलेकाहीं ओछ्यानमा आइपुग्छ, कहिले शौचालयमा घुस्रिन्छ, कहिले झार–जंगलमा लुकेर बस्छ, कहिले रुखको मुडामा गुजुल्टिएर बस्छ । यस्तो अवस्थामा मान्छे नजिक परेमा सर्पले आफूलाई असुरक्षित ठान्छ । तब, आफ्नो प्राण बचाउन उसले मान्छेलाई डस्छ । उसको नियत होइन, मान्छेलाई मार्ने । बरु आफूलाई बचाउने पो हो ।

यद्यपि सचेतना र सतर्कताको अभावमा वा बेलाबखत दुर्घटनाबस् सर्पले मान्छेलाई डस्छ । हाल यसको तथ्यांक भने डरलाग्दो छ ।

वर्षमै तीन हजारको मृत्यु

सन् २०२२ मा स्टन्ट नेपालले गरेको तात्तातो अध्ययनले देखाउँछ, नेपालमा बर्सेनि औसत ३७ हजार हाराहारी मान्छेलाई सर्पले डस्छ । यसमध्ये तीन हजारले ज्यान गुमाउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकले भने बर्सेनि औसत २० हजार जनालाई सर्पले डस्ने र त्यसमध्ये १ हजार जनाको मृत्यु हुने उल्लेख थियो । यो भने सने १९८७ को तथ्यांक हो ।

विश्वव्यापी कोरोनाले नेपालमा जति मान्छेको मृत्यु भयो, तुलनात्मक रुपमा सर्पको डसाइबाट हुने मृत्युको आंकडा बढी छ ।

नेशनल जियोग्राफिकको एक रिपोर्ट अनुसार यस ग्रहमा तीन हजार प्रजातिका सर्प छन् । त्यसमध्ये ६ सय प्रजातिका सर्प विषालु छन् । नेपालमा भने लगभग ९० प्रजातिका सर्प अभिलेख गरिएका छन् । त्यसमध्ये २० प्रजातिका सर्प विषालु छन् । यसबाट स्पष्ट हुन्छ, अधिकांश सर्प विषालु छैनन् । ‘मान्छेलाई सबै सर्प विषालु छ भन्ने लाग्छ’ सर्प विशेषज्ञ देवकोटा भन्छन्, ‘त्यसैले भेट्नासाथ मारिहाल्छन् ।’

खास कुरा त के भने, सर्पले डसेर जति मान्छे मर्छन् । त्यसको सैयौं गुणा बढी सर्प मान्छेको कुटाइबाट मारिन्छ ।

काठमाडौंमा विषालु सर्प
नेपालका २६ वटा जिल्ला छन्, जसलाई सर्पदंशको जोखिम क्षेत्रको रुपमा लिइन्छ । तराईको मेचीदेखि महाकालीसम्मका जिल्लासहित पाल्पा, सिन्धुली, सुर्खेत, डडेल्धुरामा विषालु सर्पको डसाइबाट ज्यान गुमाउनेको संख्या बढी छ । यद्यपि विषालु सर्प यी भेगमा मात्र होइन, पहाड एवं लेकाली क्षेत्रमा पनि हुन्छ । जस्तो हिमालयन करेत, माउन्टेन पिट भाइपर जस्ता विषालु सर्पको थातथलो लेक नै हो ।

त्यसो त काठमाडौंमा पनि विषालु सर्पको विगविगी छ । काठमाडौंमा वैशाख यता असारसम्म मात्रै ६ वटा किङ कोब्रा भेटिएको छ । निकै विषालु मानिने यी सर्प दक्षिणकाली क्षेत्रबाट उद्वार गरिएको हो । कलंकीबाट गोमन सर्प उद्वार गरिएको छ । यहाँ अर्को विषालु सर्प पिट भाइपर पनि उत्तिकै छ । टेकुमा उपचार गर्न आउनेहरुमध्ये धेरैजसोलाई यही सर्पले डसेको पाइएको छ ।

विषालु डसाइको औषधि प्रति विष

जब कुनै व्यक्तिलाई सर्पले डस्छ, उसको उपचार सर्पको विषबाटै गरिन्छ । सुईमार्फत ‘एन्टी स्नेक भेनम’ दिएर सर्पले डसेको मान्छेलाई बचाइन्छ ।

विषालु सर्पले डस्नासाथ त्यसको विष शरीरमा फैलन्छ रु कति समयावधिभित्र अस्पताल पुग्नुपर्छ रु आम जिज्ञासा हो यो ।

सर्पले डस्नासाथ त्यसको विष लाग्यो भन्ने हुँदैन । कतिपय अवस्थामा सर्पले डस्छ, तर विष छाड्न भ्याउँदैन । यस्तो अवस्थालाई ‘ड्राइ बाइट’ अर्थात सुख्खा डसाइ भनिन्छ । अर्को अवस्थामा सर्पले डस्छ र विष छाड्न भ्याउँछ । तेस्रो स्थिति हुन्छ, एकै डसाइमा दुई पटक विष छाड्न सक्छन् ।

पहिलो अवस्थामा डराउने कुरै भएन । यद्यपि अस्पताल भने जानैपर्छ । दोस्रो र तेस्रो अवस्थामा शरीरलाई विषले गलाउन सक्छ । खासगरी यसले स्नायु प्रणालीमा तुरुन्तै असर गर्छ । त्यसैगरी रगतमा पनि यसको असर पर्छ ।

शरीरको कुन भागमा डसेको हो, त्यही अनुसार नै विषको असर देखिन्छ । ‘सर्पले डस्नासाथ सकेसम्म सर्पदंश केन्द्रमा लैजानुपर्छ’ देवकोटा भन्छन्, ‘यति नै समयमा पुर्याउनुपर्छ भन्ने छैन, जतिसक्दो चाँडो गर्नुपर्छ ।’

सर्पले डसेको व्यक्तिलाई तुरुन्तै एन्टि स्नेक भेनम दिइँदैन । किनभने उनको शरीरमा सर्पको विष नहुन पनि सक्छ । यस्तो अवस्थामा एन्टि भेनम दिइयो भने त्यसले उल्टो असर पर्छ । त्यसैले लक्षण देखिएपछि मात्र यसको उपचार थालिन्छ ।

आँखा लोलाउने, जिब्रो सुन्निने जस्ता यसका साझा लक्षण हुन् ।
झारफुक र गलत विधि

सर्पको विषले मात्र होइन, गलत उपचार विधि र ढिलाइले मान्छेको ज्यान जाने गरेको पाइन्छ । सर्पले डस्नासाथ गरिने प्राथमिक उपचारमा केही गलत तौरतरिका अपनाउने गरिएको छ ।

जस्तो डसेको भागलाई काटेर त्यसको रगत फ्याल्ने, मुखले विष चुसेर फ्क्याँक्ने, डोरीले कसेर तीन–ठाउँ बाँध्ने, झारफुक गर्ने । यसले पीडितलाई अस्पताल पुर्याउन ढिलाइ हुने मात्र होइन, नकारात्मक असर पनि पर्छ ।

नेपालमा सेनाले केही ठाउँमा सर्पदंश उपचार गराउँदै आएको छ । यसैगरी निजी क्षेत्रले सरकारी अस्पतालको समन्वयमा पनि सर्पदंशको उपचार गर्दै आएको छ । सर्पले डसेपछि अन्य अस्पताल होइन, सर्पदंश केन्द्र नै लैजानुपर्छ ।

सर्पको डसाइबाट हुने मृत्युदर कसरी घटाउने ?

सर्पको डसाइ आफैंमा एक दुर्घटना हो । खासगरी हाम्रो असावधानीले निम्त्याउने दुर्घटना ।

वनजंगलमा काम गर्दा सर्पले टोेकेका घटना धेरै छन् । यसैगरी घरमा सुतिरहेकै अवस्थामा पनि सर्पले डस्ने गरेका छन् । राति शौचालय जाँदा वा झारजंगलमा हिंडडुल गर्दा सर्पले डस्ने गरेको छ ।

सर्पको डसाइबाट बच्ने एउटै काइदा हो, यसबाट सधैं सतर्क र सावधान रहने । खासगरी झारजंगल, काठ एवं रुखको मुडा, ओडार, ढुंगाको काप, शौचालय, खाटको मुनी आदि ठाउँमा सर्प हुनसक्छ । घाँसदाउरा गर्दा पन्जा लगाउने, जुत्ता लगाउने, राति सुत्दा सकेसम्म पलङमा सुत्ने र राम्ररी झुल लगाउने, राति शौचालय जाँदा वा अँध्यारोमा हिँडडुल गर्दा टर्च लाइट बाल्ने जस्ता सानोतिनो सतर्कताले पनि सर्पको डसाइबाट बच्न सकिन्छ ।

सर्पको पूजा र धार्मिक कथन

पूर्वीय दर्शनमा सर्पलाई ‘नाग देवता’को रुपमा पुज्ने गरिएको छ । सर्पको महिमा दर्शाउने एउटा पर्व छ, नागपञ्चमी । धार्मिक विधान अनुसार पातालमा नाग देवताको बसोबास हुने भएकाले यसदिन खनजोत गर्नुहुँदैन ।

साउनको याम, सर्पको कुरा त अझ विशेष मानिन्छ । किनभने साउनलाई भगवान शिवको भक्ति आराधनाको महिना भनिन्छ । नाग धारण गर्ने भगवान शिवलाई नीलकण्ठ पनि भनेर पुकारिन्छ । त्यसको पछाडि यस्तो कथा छ ।

पौराणिक कथा अनुसार देवता र राक्षसवीच आपसी समझदारीमा समुद्र मन्थन गरी ‘अमृत’ निकाल्ने तय भयो । त्यस अनुरुप मन्दरा पर्वतलाई मदानीको रुपमा प्रयोग गर्ने र बासुकी नागलाई पर्वत घुमाउने डोरीको रुपमा प्रयोग गरियो । तर, समुद्र मन्थनको क्रममा अमृतभन्दा बढी विषाक्त तत्व निस्कियो । यसले सारा ब्रह्माण्डमा नै असर गर्ने देखियो । त्यसपछि ब्रह्माण्डलाई बचाउन भगवान शिवले उक्त विष आफूले पिए र त्यसलाई घाँटीमा राखे । यसरी विषको असरले भगवान शिवको घाँटी नीलो भयो ।

यी धार्मिक विधान र कथनहरुले सर्प एवं प्रकृतिप्रति हाम्रो पुर्खाको बुझाइ स्पष्ट पार्छ । सर्पको योगदान बुझेर नै उनीहरुले यसलाई धर्तीमा कसरी सुरक्षित बाँच्न दिने भनी धार्मिक विधि एवं पद्धतिको विकास गरे ।

वर्षा हुँदा किसान हर्शीत


बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ थालेका छन् ।

जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी रहेको छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखामा रोपाइँ हुनसकेको थिएन् । सुख्खा ठाउँमा भल छोपेर रोपाइ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए ।

“वर्षा सुरु भयो, अब केही दिन पानी पर्छ भनेको रेडियोमा सुनेको छु”, जैमिनी नगरपालिका–९ का किसान टङ्कप्रसाद शर्माले भन्नुभयोे, “अब त खडेरीले नसताउला भन्ने लागेको छ ।” यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताउनुभयो ।

असारको अन्तिम सातायता साउनको ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइ गरेका किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए ।

असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्ने गरेका थिए । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छभने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । डाँडाकाँडा र लेक रहेको क्षेत्रमा पानी परेपछि किसानलाई भ्याइनभ्याइ छ ।