महिला र पुरूष मृत अवस्थामा फेला

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेको हो । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ र ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत अवस्थामा फेला परेका छन्।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर, उनका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको जनाइएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको हो र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाइएको छ ।

सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक बालुवाटारमा सुरू

काठमाडौं । निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक बालुवाटारमा सुरू भएका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल भइरहेको छ ।

यसअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो ।
२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

उक्त कार्यदललाई कुन दलले कति सिट लिने भनेर आजसम्म सिफारिस गर्न भनिएको छ ।

ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेका छन् ।

अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

त्यस भन्दा पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराउनुभएको थियो । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराइएको थियो ।

अध्यादेश र विधेयक उस्तै होइन

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताउनुभयो । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न टिका टिप्पणी भइरहेकामा उहाँले गुनासो गर्नुभयो । एमालेले नागरिकतामा राखिएको केही प्रावधान देशको हित विपरित रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आपत्ति जनाएको छ ।

यस्तै, सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो । दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भएपनि त्यसको सुनुवाई नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

सांसद कमला रोक्काले केही दिन पहिले पूर्वी रुकुममा भएको सडक दुर्घटनाप्रति सदनलाई जानकारी गराउँदै सडक सुधारमा ध्यान दिन नसकेकोमा सरकारको ध्यानकर्षण गराउनुभयो । स्थानीय शहिदमार्गको सुधारमा कुनै ध्यान नदिइएको, सञ्चार सुविधा उपलब्ध गराउन चासो नराखेको तथा विद्युत् सेवा उपलब्ध गराउनका लागि कुनै पनि पहल नभएको भन्दै तत्काल ती समस्या समाधानका लागि उहाँले आग्रह गर्नुभयो ।

वामदेव र बाबुराम माओवादीको ‘हँसिया हथौडा’ चिन्हबाट चुनाव लड्ने

नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेका छन् ।

पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए । गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍यौँ ।’

साथै मंगलबार नै बाबुराम र माओवादीले संयुक्त चुनाव चिह्नबाट लड्ने जानकारी दिन निर्वाचन आयोग जाने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए । गौतमको पार्टी आयोगमा दर्ता नभएकाले जानकारी गराउनुनपर्ने उनले जानकारी दिए ।

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साउन महिनाको अन्तिम दिन, सुन तोलामा ७०० रुपैयाँले सस्तिएको हो । मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि सस्तिएको महासंघले जनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २२० रुपैयाँमा खरिद बिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले नै गिरावट हुँदा एक हजार २३५ रुपैयाँमा किनबेच भयो ।

सोमबार पनि सुनको मूल्यमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले घट्दा प्रतितोला ९७ हजार ४०० रुपैयाँमा झरेको थियो ।

पिपुल्स पावरको IPO को आवेदन खुला

काठमाडौं । पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउन (आज) देखी सर्वसाधारणका लागि आईपीओ बिक्रीको लागी खुला गरिएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको छ ।

यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली तथा देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध गरेका छन् । 

 प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेको हो ।

फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएका छन् ।

शनिबार राति बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएका छन्।

निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजवाट समाप्त हुन लागेको तर कांग्रेस अझै बाँकी नै छ ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजवाट समाप्त हुदैँछ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ।

९० किलो गाँजा सहित एक जना पक्राउ

३१ साउन, जनकपुरधाम । सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेका छन् । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएका छन् ।
सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका-९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
साहका अनुसार एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको छ ।

नप्से परिसुचक ५५ अंकले बढ्यो

काठमाडौँ । यसअघि लगातार ५ दिनसम्म ओरालो लागेको सेयर बजार सोमबार भने उकालो लागेको छ । ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएर रोकिएका छा् ।

सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ ।
बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढे । कुल १८० कम्पनीको मूल्य बढ्दा ४ को मात्रै घट्यो । ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधि विद्युत्, रिभरफल्स पावर, पन्चकन्या माइ हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमशस् अगाडि रहे ।

एकैदिन कोरोनाबाट एकको मृत्यु , ८८८ जनामा सङ्क्रमण

काठमाडौं । एकैदिन नेपाल भरीमा थप ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी कूल ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेको छ

ओली र त्रिपाठीबीच भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएका छन् । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले मसँग पार्टी छ ।
अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित हुन्छ ।’ भेटमा एमाले र नेपाल समाजवादीबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

पत्नी र सासूलाई आगो लगाइएकामा एकको मृत्यु

करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएका छन् ।जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठँयू जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनीहरुको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।साथै सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ । यता घटनामा सम्लग्न शङ्करलाई चार दिनअघि प्रहरीले नेपाल भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएकोे जनाएको छ ।