निजामतीका कर्मचारीहरू आन्दोलित

काठमाडौं । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएको छ। निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

‘सरकारले तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा हामी वृहत् आन्दोलनको तयारीमा भेला भएका छौं । अहिले पेन डाउन गरेर सुरु गरेता पनि आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको छ’ भट्टराईले भने, ‘नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्छ । त्यही अनुसारको हाम्रो आन्दोलनको कार्यक्रम तय हुँदैछ ।’

मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ ५.८४, व्यापार ११.३८, होटल तथा पर्यटन ४६.१६, विकास बैंक ५२.०३, जलविद्युत् २६.८१, वित्त २४.८४, निर्जीवन बीमा ३६.४८, अन्य ३८.६५, लघुवित्त १७.४८, जीवन बीमा १०१.९२ र लगानी ०.९८ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ७१ लाख ६९ हजार ९३५ बराबरको कारोबार भयो ।

त्यस्तै, नबिल बैक १० करोड ८५ लाख ४३ हजार १५१, नागरिक लगानी कोष आठ करोड २१ लाख २८ हजार ९६९, नेशनल हाइड्रोपावर सात करोड ६५ लाख ९१ हजार ५४५ र हिमालयन डिस्टिलरी सात करोड १८ लाख ४४ हजार ३४२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबीबी म्युचुअल फण्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाए । त्यस्तै, जानकी फाइनान्स ४.३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३.८४, सिनर्जी पावर ३.५५, एशियन लाइफ इन्स्योरेन्स ३.४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गमुाए ।

एक जनाको मृत्‍यु संगै थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जनाको मृत्‍यु संगै थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन्
जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका १० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४३ जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चुनावमा भाग लिन पुगे ११६ दल “दर्ता चल्दै”

मंसिर ४ गते हुने गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन एक सय सोह्र (११६) वटा दल योग्य रहेका छन्।

साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मंसिरको चुनावमा भाग लिन योग्य हुन्छन्।
तर चुनावका लागि भने दल दर्ता गर्नुपर्ने हुन्छ। आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको छ।

आइतबार पहिलो दिन जम्मा ६ दलले दल दर्ता गरेका छन्। आयोगका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ।
मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी आयोगमा दर्ता भएका छन्।

सार्वजनिक बिदाका दिन पनि दल दर्ता कार्य गरिने आयोगले यसअघि नै सूचना निकालेर जानकारी गराएको थियो।

दल दर्ताका लागि चुनावमा भाग लिनेसम्बन्धी केन्द्रीय समितिको निर्णयलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।

राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन, २०७७/७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो ।

बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको सन्देशसहित प्राप्त उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले उक्त समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रमाणीकरण विधेयक पढेर सुनाउनुभयो । प्रमाणीकरण भएको विधेयक ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ हो । उक्त विधेयक यही साउन १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २५ गते बुधबार १ बजे बस्ने छ ।

केन्द्रीय नेतालाई जिल्ला पठाउँदै कांग्रेस

नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्ने भएका छन्।

कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार केन्द्रीय समिति बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेकोले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ।

आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो।
‘केन्द्रीय नेतालाई छिट्टै जिल्ला तोकेर पठाउँछौं,’ उनले भने, ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन हुन्छ।’

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो।

कांग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

बजेट घोषणा अनुसार नै तलब वृद्धि गर्ने “अर्थमन्त्री शर्मा”

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए ।

पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रावलले पनि मन्त्री शर्माले अहिले १५ प्रतिशत तलब वृद्धि लागू गर्ने बताएको जानकारी दिए । साथै मन्त्री शर्माले निजामती सेवाभित्र र बाहिर नमिलेको मर्यादाक्रम लगायतका विषयहरु पनि मिलाउने बताएको छ ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो ।

तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक डकुमेन्ट सार्वजनिक भएको छ । अर्थ मन्त्रालयको छापसहितको सो विवरण अनुसार शाखा अधिकृतहरुले यही साउन महिनादेखि २४ प्रतिशत, उपसचिवहरूले २३।३ प्रतिशत, सहसचिवहरूले २३।३ प्रतिशत र सचिवहरूले १८।४ प्रतिशत बढी तलब पाउने छन् । यसको आधिकारिकता भने पुष्टि भइसकेको छैन ।

तर चालकको भन्दा आफूहरुको तलबमान कम भएको भन्दै नासुहरु यसमा असन्तुष्ट छन् । असमान ढंगले तलब वृद्धि गरिंदा आफूहरु मर्कामा परेको भन्दै नासुहरुले आज सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका छन् । असमान तलवृद्धिको विरोधमा भोलि ९मंगलबार० विदा बस्ने घोषणा समेत उनीहरुले गरेका छन् ।

माछा उत्पादन गरेर नै आफ्ना पहिचान


विराटनगर, २३ साउन । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएको हो । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएका छन् ।

अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाउनुभएको छ । मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध हुनुहुन्छ । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उहाँको भनाइ  छ । उहाँले गएको वर्ष रु ४० लाखको माछा बिक्री गर्नुभएको थियो । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उहाँले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गर्नुभएको छ । दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी रु ५६ सम्म बिक्री भइरहेको बताइएको छ । 

पानीमा तैरने र नतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गर्नुभएको छ । किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस  माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले रु ३० लाख अनुदान दिएको अधिकारीले जानकारी दिनुभयो । प्राप्त अनुदानबाट रु ७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ ।

रहु, भ्याकुर, ग्रासकार्प, नैनी जस्ता जातका माछा उत्पादन गर्ने र यसका लागि बजारको समस्या नभएको बताइएको छ । माछा उत्पादक अधिकारीले माछाको दाना उत्पादन गर्न ठूलो क्षमताको मेसीन आवश्यक रहेको र यसबाट उत्पादित दाना अन्य माछापालन गर्ने व्यवसायीलाई सहयोग पुग्ने भएकाले प्रदेश सरकारले आर्थिक अनुदान दिनुपर्ने माग गर्नुभयो । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले आफ्नै पौरख, क्षमता र लगानी गरी राज्यको उत्पादनमा सहयोग गर्ने किसानलाई उचित मूल्याङ्कन एवं सहयोग हुनुपर्ने बताउनुभयो ।

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आव २०७७/७८ भन्दा गएको आवमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आवमा नौ हजार एक सय ६० मेट्रिक टन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।

ट्राउट माछातर्फ आव २०७७/७८ मा सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको छ । जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगी गएको वर्षमा ३८ मेट्रिक टन ट्राउट माछा उत्पादन भएको छ । यस क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउन जलाशय क्षेत्रको पहिचान गरी माछा उत्पादन एवं माछापालनमा किसानलाई प्रोत्साहन गर्नु पर्ने भन्दै प्रदेश नं १ का कृषि सचिव मोघनाथ तिमल्सेनाले भन्नुुभयो, “अब कृषि उत्पादन वृद्धि नगरी मुलुकमा समृद्धि आउँदैन ।

प्रभावशाली नेताहरूसँग देउवाले छलफल


मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सिट बाँडफाँटबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र परामर्श लिन थालेका छन् । पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूसँग देउवाले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजेदेखि छलफल चलिरहेको छ । मंसिर ४ को चुनावमा गठबन्धनबीच तालमेल गर्नेबारे गत शुक्रवार औपचारिक सहमति भएको थियो ।
पेचिलो मानिएको सिट बाँडफाँटबारे देउवाले पार्टीमा छलफल गरेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायत बैठकमा सहभागी छन् ।

कोभिड संक्रमणका कारण उपसभापति पूर्णबहादुर खड्का सहभागी छैनन भने, अष्ट्रेलिया भ्रमणमा गएका अर्का उपसभापति धनराज गुरुङ पनि बैठकमा सहभागी छैनन् । सिट बाँडफाँटमा सहमति जुटाउन बनेको कार्यदलको बैठकअघि देउवाले पार्टीमा छलफल गरेका हुन् ।
कार्यदलको बैठक सोमवार ३ बजे बस्दैछ ।

नेकपा माओवादीलगायत गठबन्धनका दलले प्रतिनिधि सभाका ५० प्रतिशत सिटमा दाबी पेश गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकले भने बहुमत आफूसँग रहने गरी चुनावी तालमेलको निर्णय गरेको थियो ।

सयपत्री हाइड्रोपावरको आइपीओ भोली बिहान बाँडफाँट


सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेका आईपीओ मंगलबार बाँडफाँट हुने भएका छन्। हाइड्रोपावरको आइपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएका छन्।
हाइड्रोपावरको आइपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको २५.७२ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७६ हजार ५८ जनाले मात्रै शेयर पाउनेछन् । यसले गर्दा कम्पनीको आइपीओमा आवेदन गर्ने करिब साढे १५ लाख आवेदकको हात खाली हुने

जडीबुटी निकासीबाट राजश्व सङ्कलन


जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजश्व संकलन भएका छन् । आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु १३ लाख राजश्व सङ्कलन गरेको हो ।

गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो ।

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो  जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ । 

काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन

काठमाडौँ, २३ साउन । यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ ।

पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै  त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ । 

उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ ।  

योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दिर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ ।  फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ । 

निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याइँदै

काठमाडौँको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ । 

कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन  भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।  

निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ । जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ । 

ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने जनाउँदै यसका लागि सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।  फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुर्नेमा उहाँको भनाइ छ ।  

फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सह लगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चात्को उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ । 

त्यसैगरी विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको सुझाव छ । 

अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  उहाँका अनुसार  फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ । 

आगामी दिनमा फोहर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा अन्य स्थानीय तहको प्रमुखको  पनि  जोड रहेको छ । 

वैकल्पिक बाटोको खोजी

हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोकै कारण उपत्यकाको फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ । हाल फोहर व्यस्थापन भइरहेको स्थान बञ्चरेडाँडासम्म फोहर व्यवस्थापन गर्नका लागि  कामपासहित अन्य १७ वटा स्थानीय तहको पनि सहकार्यमा काम अघि बढेको हो ।  

मुड्खुखोलादेखि बञ्चरेडाँडासम्म कै बाटोमा पटक पटक समस्या आएका ले  हप्तौसम्म उपत्यकाको फोहर व्यवस्थापनमा समस्या अएको हुँदा आगामी दिनमा त्यस्ता समस्या नआयोस भनेर विकल्पको तीव्र खोजी गरिएको हो । मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने भएको छ । यसको लागि कामपामा चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको छ ।  

‘स्थानीयतको सहमतिअनुसार काम

यसअघिनै उपतयकाको १८ स्थानीय तह र  स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भइसकेको छ । सहमतिअनुसार रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ । 

सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापनको काम रोक्ने भनिरहँदा उपत्यकाको १८ स्थानीय तहले भने वार्ताबाट समस्या समाधान गर्ने योजना बनाएर बसेको छ ।  

जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ । 

काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्नसक्ने वस्तुको खरिद गर्ने तयारी पनि गरिरहेको जाइएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेको छ ।  बाटो मर्मतको कारण अहिले भने एक सय ५० गाडीले मात्र अन्तिम व्यवस्थापनस्थलमा फोहर विसर्जज गर्ने काम गरिरहेको छ । 

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार दुई मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आएकाले समस्या पटक–पटक बल्झिरहेको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिएको छ । दुई वर्षअघि नै बञ्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन ।  

सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका सामान्य भइसकेको छ । यी र यस्ता समस्या आगामी दिनमा उपत्यकाकबासीले सामना गर्न नपर्ने गरी काम भइरहेको कापकोको भनाइ छ । त्यसको लागि चरणबद्धरुपमा काम भइरहेको छ ।  

कहिले स्थानीयको आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर छ । फोहरमैलाविज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउनुहुन्छ । 

बञ्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुवै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको धारणा छ । विज्ञका अनुसार फोहरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहर ९जिरो वेस्ट० अवधारणाको प्रवद्र्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु नसके आगामी दिनमा थप समस्याको सामना गर्नुपर्ने छ ।

ढकाल संग एमाले अध्यक्ष ओलीको भेटे

काठमाडौँ । सरकारले अगामि मङसिर ४ गते एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनको मिति घोषणा सँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संग भेट गरेका छन् ।


ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए ।


निर्बाचन घोषणा पछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएकोछ । गएको स्थानीय निर्बाचनमा एमाले र परिवार दलले चुनाबी सहकार्य गरेका थिए । भेटमा स्थानिय निकायको निर्बाचनको समिक्षा हुनुको साथै अगामि निर्बाचनमा पनि दूई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले जानकारी दिए ।

दुबै नेता बिच आपसी सवाद र छलफलको माध्यबाट अगाडि बढने र परिवार दलले एमाललाई स्थानीय निकायमा सर्पोट गरेकोमा अध्यक्ष ओलीले प्रशन्नता ब्यत्त गरेको पौडेलले जानकारी दिए । झण्डै २ घण्टा भएको छलफलमा सत्ता गठनबन्घ र अगामि निर्बाचनको बारेमा छलफल भएको थियो स्मरण रहोस दोस्रो संबिधानसभाको निर्बाचन पछि का निर्बाचनमा परिवार दल र एमाले बिच चुनाबी सहकार्य हुदै आएको छ ।

दुई अर्ब लगानीमा क्यान्सर अस्पताल

चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेका छन् । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी'सिएमसी क्यान्सर इन्स्टिच्युट' तयार गरिइएको हो ।

अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन ।” भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको हो उहाँको भनाई छ । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै रु एक अर्ब २७ करोड खर्च गरेको छ उहाँले दाबी गर्नुभयो । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी रु दुई अर्बभन्दा बढी खर्च लाग्ने उहाँको भनाइ छ ।

क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा. लम्सालको भनाइ छ ।

भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अङ्कोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह यहाँ ल्याईदै छ । उहाँले भन्नुभयो, “हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौँ ।” गुणस्तरमा कमी हुन नदिने गरी एक सय शय्याको आधुनिक अस्पताल निर्माण गरिएको हो ।

निर्देशक डा लम्सालले थप्नुभयो, “क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नु पर्ने र विदेश जानुपर्ने बाध्यता अन्त्य होस् भनेर अस्पताल सुरु गरेका हौँ ।” उहाँले अगाडि थप्नुभयो, “धेरै बिरामी भारतको दिल्ली जान्छन्, त्यहाँको ठूलो अस्पताल राजीवगान्धीको भन्दा एक स्तर उच्च उपकरण हामीले यही ल्याएका छौँ ।”

क्यान्सरका बिरामी उपचारका लागि भारतलगायतका अन्य देश जाने गर्दछन् । अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ । उहाँको भनाइमा यो उपकरणले दैनिक एक सय जनासम्मलाई रेडिएसन गर्न सक्दछ । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । ट्रियुबिम  मोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो ।

चितवन मेडिकल कलेजसँगै छ तले ४८ हजार स्क्वायर फिटको भवनमा बङ्करसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्यूटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहनु भएका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६डि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताउनुभयो । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । एसबिआरटी प्रविधिमार्फत उपचार भइरहेको बिरामीको ट्युमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले भारतका ठूला अस्पतालमा पनि काम गरेँ । त्यहाँको भन्दा अरु आधुनिक प्रविधि यहाँ ल्याइएको छ ।”

इन्स्टिच्युटले क्यान्सर उपचारका क्रममा विकिरण बाहिर आएर नागरिक र कर्मचारीलाई असर नगरोस् भन्नका लागि निर्माणको समयदेखि नै भारतीय विज्ञको निगरानीमा काम भइरहेको छ । सुरक्षा अधिकृत सलोनी चावलाले बाहिरी वातावरणमा रेडिएसन नजानका लागि निर्माणको समयदेखि नै निगरानी गरिएको बताउनुभयो । उहाँको अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्कर निर्माण गरिएको छ । यससँगै सफल परीक्षणसमेत गरिएको जनाउँदै उहाँले विकिरण काममा खटिनेमा के कस्तो रहेको छ भन्ने विषयमा नियमित परीक्षण भइरहेको जानकारी दिनुभयो ।

भारतसहितका विभिन्न देशका विज्ञहरुसँग परामर्श र त्यहाँका जनशक्ति झिकाएर इन्स्टिच्युटको निर्माणदेखि नै काम गरिएको हो । १४ वर्षअघि स्थापना भएको चितवन मेडिकल कलेजमा हाल वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । नेपालभरि र भारतीय बिरामी पनि यहाँ उपचार गर्न आउने गर्दछन् ।

यस अस्पतालमा २८ विभागमार्फत सेवा दिइँदै आएको छ । क्यान्सरका बिरामीलाई अन्य विभागको सेवासमेत आवश्यक पर्ने भएकाले उपचार सहज हुने अस्पतालको भनाइ छ । नेपालमा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै क्यान्सरको उपचार हुने जनाइएको छ । सरकारले क्यान्सरका बिरामीलाई उपचारमा रु एक लाखसम्म सहयोग गर्दै आएको छ । विदेश जाने बिरामीले यो सुविधा पाउँदैनन् ।

सिट बाँडफाँटको लागी सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै

२३ साउन, काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै ।

सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका एक जना सदस्यले जानकारी दिएका छन्।
यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीयको कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।