निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय


पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएका छन् ।

कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ ।

नेप्से परिसुचक ३५ अंकले घट्यो

२० साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा भारि गिरावट भएको छ । शुक्रबार बजार नेप्से परिसूचक ३४.८५ अंक ले गिरावट भएर २११३.३० अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।
जसमध्ये शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल बैंकको १४ करोड १४ लाख १४ हजारको कारोबार भएको छ । बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २१ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयरमूल्य भने स्थिर छ । कारोबारमा आएकामध्ये जोशी हाइड्रोपावरको सेयरमूल्य ५.९१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३.९४ प्रतिशतले वृद्धि भएको छ ।

यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले गिरावट हुँदा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य ६.४२ प्रतिशतले घटेको छ ।

बुबाको मृत्युपछि ६ सन्तानको बिचल्ली


अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उहाँका सन्तानको बिचल्ली भएको छ ।

परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उहाँले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आइरहनुभएको थियो । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो ।

स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ । “घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भन्नुभयो । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ ।

स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । बालबालिकाले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा समेत नियमित पढ्न पाइरहेका छैनन् ।

राजस्वको असुली घट्दै

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएका छन् ।

कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल रु १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर रु २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७/७८ मा कार्यालयले कूल रु ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


२० साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेका छन् ।

मन्त्रिपरिषद्को हिजो (बिहीबार) बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् ।
सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक सुरु भएको हो ।

सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बताए ।

दिपक काफ्ले सचिवमा बढुवा सगै लुम्बिनी प्रदेशको प्रमुख सचिबमा पदस्थापन

काठमाडौँ । सहसचिव दिपक काफ्ले लाई सरकारले जागीरे जीवनको २६औ वर्षमा सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले काफ्लेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव दिपक काफ्ले , दोस्रो नम्बरमा नारायण प्रसाद दुवाडी र तेस्रो नम्बरमा विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।

सिफारिस नाम मध्य सहसचिव दिपक काफ्ले लाई सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।
कफ्लेले २०५२साल फाल्गुन ६ गतेदेखि शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

शिक्षा सेवा को उपसचिव हुदै प्रशासन सेवाको सह:सचिब पास गर्नुभएका काफ्ले पाँच जिल्लको प्रमुख जिल्ला अधिकारीको भुमिकामा रहि महत्त्वपूर्ण निर्णय गर्दै जनताको मन जित्न सफल काफ्ले चार महत्त्वपूर्ण निकायको महानिर्देशकको समेत भुमिकामा रहि काम गरि सक्नु भएको छ। साथै हिमाल पहाड तराई सबै भूगोलमा रहि एउटा राष्ट्रसेवकको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रशासक हुन।

जहाँ जहाँ रहनुभयो। उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाले एउटा प्रशासकले चाह्यो भने धेरै कुरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित समेत गराउनुभएको छ ।

काफ्लेले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाको यथार्थ यतिबेला पनि प्रशासन क्षेत्रमा चर्चा हुने गरेको छ ।

सचिब काफ्लेले बागमती प्रदेशको सामाजिक बिकास सचिबको भुमिका साथै वैदेशिक श्रम रोजगार मन्त्रालयको वैदेशिक महाशाखाको जिम्मेवारीमा रहदै गर्दा २०७९ श्रावण १९ गते सचिबमा बढुवा हुनुभएको हो ।बढुवा सगै सचिब काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिबमा पदस्थापना गरिएको छ।

बढुवा भएका सचिब काफ्लेले जहाँ जहाँ जुन जुन जिम्मेवारीमा रहेर गरेको कार्यले देश अनि जनताको भावनालाइ उच्च प्राथमिक्तामा राखेर काम गर्ने एउटा कुशल प्रशासकको छवि भएका कर्मचारीका रूपमा आफुलाइ स्थापित गराएका छ्न ।
आफ्नो सेवाकाल बाकी रहदै सचिव जस्तो उच्च प्रशासक पदमा बाट रिटायर्ड हुने भएका छन् । यसैगरी मन्त्रीपरिषद निर्णयले ६ सचिबलाई समेत सरुवा गरेको छ।

मतदाता नामावली संकलन स्थगित

२० साउन, काठमाडौं । निर्वाचन आयोगले आज देखी मतदाता नामावली संकलन स्थगित गरेका छन् । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो ।
निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगका प्रवक्ता पौडेलका अनुसार अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने आज र भोलि (साउन २० र २१ गते)सम्मको समय दिइएको छ ।

मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु हुने आयोगले जनाएको छ ।

लोकसेवाको उत्तरपुस्तिकामा फोन नम्बर लेखेपछि


१९ साउन, काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षामा एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखेपछि परीक्षा रद्ध भएका छन् ।

प्रदेश लोक सेवा आयोगको कार्यालय, कर्णालीले ४ साउनमा लिएको स्वास्थ्य सेवा अन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षाको उत्तरपुस्तिकामा सल्यानको सिद्धकुमाख गाउँपालिकाका नवीन कुमार रेउलेले आफ्नो नम्बरसँगै ‘कल गर्नू’ लेखेका थिए ।
उक्त उत्तरपुस्तिकामा फोन गर्न आग्रह गरेको भेटिएपछि परीक्षा रद्द गरेको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले बताए । आयोगको गत सोमबार बसेको बैठकले रेउलेले अब २ वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।

हेर्नुहोस् सूचना

वायुसेवा निगमकाे कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो ।

उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए । उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र कर्मचारीमाथि दूर्व्यवहार गरेको विषयमा उनीमाथि छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो ।

निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाउने

काठमाडौं । सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएका छन् । निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब निर्वाचनका लागि विशेष योजना योजना बन्ने र त्यहीँ अनुसार म्यादी प्रहरीको भर्ना खुल्ने छ । उनले भने, ‘अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्छ, त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिन्छ ।’

चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

७६० जनामा कोरोना संक्रमण पुष्टि, १ काे मृत्‍यु


१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्‍यु भएको छ भने थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।
आज बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६१३ पुगेको छ ।

चार करोड अनुदान झापाको कृषकलाई

कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई रु चार (४) करोड अनुदान उपलब्ध गराएका छन् ।

जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

प्रदेश सरकारमार्फत रु दुई करोड १३ लाख ९१ हजार आठ सय १०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक करोड ६७ लाख ६९ हजार आठ सय ६० र सङ्घको तर्फबाट रु २० लाख ४७ हजार तीन सय ३० जिल्लाका ती कृषि फार्म, कृषि सहकारी र कृषकलाई उपलब्ध गराइएको हो ।

कृषि ज्ञान केन्द्रले जिल्लामा सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट तीन हजार तीन सय ९० कृषक परिवार लाभान्वित भएका छन् । प्रदेश सरकारमार्फत आएको कार्यक्रमबाट पाँच सय ६७ महिला र पाँच सय १३ पुरुष गरी एक हजार ८०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको कार्यक्रमबाट एक सय ७८ महिला र एक सय ९७ पुरुष गरी तीन सय ७५, सङ्घ सशर्तबाट ५३ महिला र ५४ पुरुष गरी एक सय २७ तथा माटो तथा मल परीक्षण प्रयोगशालामार्फत एक हजार आठ सय आठ कृषक परिवार लाभान्वित भएका हुन् । लाभान्वित हुनेमा दलित एक सय १३ परिवार, जनजाति तीनसय ५५ र विपिन्न तीन सय ३८ परिवार रहेको कार्यालयले जनाएको छ ।

दुई लाख १७ हजार मेट्रिकटन खाद्यान्न बचत

यता झापामा आव २०७८/७९ मा दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको छ । जिल्लामा एक लाख ५९ हजार दुई सय २० हेक्टरमा धान, मकै, गहुँ, कोदो, फापरलगायतका अन्नबाली लगाएको थियो । त्यसबाट सात लाख २६ हजार एक सय १५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कार्यालयले जनाएको छ ।

खानयोग्य कुल उत्पादन चार लाख सात हजार तीन सय ५७ मेट्रिकटनमध्ये जिल्लामा वार्षिक खपत हुने एक लाख ८९ हजार आठ सय ७१ मेट्रिक टन कटौती गरी दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

कार्यालयले माटो सुधारका लागि माटो नमूना विश्लेषण छ सय, माटो परीक्षण घुम्ती शिविर छ, माटो परीक्षण शिविर नौ, मलको नमूना विश्लेषण ३०, माटो व्यवस्थापनसम्बन्धी सचेनामूलक घुम्ती तालिम १० सञ्चालन गरेको छ । ती कार्यक्रमबाट एक हजार पाँच सय २८ कृषकको माटो सुधारको प्रयास गरिएको छ ।

जिल्लामा गरिएको नमूना माटो परीक्षणबाट माटोको अवस्था कमजोर रहेको पाइएको छ । सङ्कलित माटोको नमूना परीक्षण गर्दा ७८ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ८० प्रतिशतमा नाइट्रोजन कम, ५३ प्रतिशतमा फस्फोसर कम र ६५ प्रतिशतमा पोटास कम मात्रा रहेको पाइएको कार्यालयले जनाएको छ ।

मङ्सिर ४ गते निर्वाचन गर्ने


काठमाडौं । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।
सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल प्रदान गरे

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल प्रदान गरेका छन् ।

विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे । मोटरसाइकलहरू आवश्यकता अनुसार प्रदेशका जिल्लाहरूमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाइकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाइकल उपलब्ध गराएको बताए । प्रहरी प्रमुख उपाध्यायले प्रदेश सरकारप्रति आभार व्यक्त गरेका छन् ।

एनएमबि बैंकको नाफा ३ अर्ब ७० करो


१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि भएको छ ।

बिहीबार बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आबमा ३६.५३ प्रतिशतले नाफा बढाएको हो ।

गत आबमा खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ५५ करोड २२ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनबाट ४८ करोड ४३ लाख राइटब्याक गरेको छ ।

कर्जा लगानी १६.४१ प्रतिशतले विस्तार गरेर एक खर्ब ७५ अर्ब ७८ करोड ८१ लाख पुर्‍याएको बैंकले निक्षेप १२.३७ प्रतिशतले वृद्धि गरी १ खर्ब ८४ अर्ब ८२ करोड ८९० लाख रुपैयाँ पुर्‍याएको छ । कर्जामा वृद्धिसँगै बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) पनि बढेको छ ।

जसले गर्दा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको हो । अघिल्लो आबमा ३.०९ प्रतिशत रहेको बैंकको स्प्रेड रेट गत आबमा ४.०५ प्रतिशत पुगेको छ ।

आम्दानी वृद्धिसँगै बैंकको खुद सञ्चलान आम्दानी ३०.६४ प्रतिशतले बढेर ९ अर्ब १८ करोड ९३ लाख पुगेको छ । बैंकको सञ्चालन आम्दानी सँगै कर्मचारी खर्च बढेपनि सञ्चालन मुनाफामा आकर्षक वृद्धि भएको छ ।

बैंकको कर्मचारी खर्च २४.४५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६० करोड नाघेको छ । खुद सञ्चालन आम्दानीमा भएको वृद्धिले कर्मचारी खर्च बढेपनि बैंकको सञ्चालन मुनाफा ३६।४३ प्रतिशतले वृद्धि भएर पाँच अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आबमा १२.५ प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १६ अर्ब ३१ करोड ५९ लाखबाट १८ अर्ब ३६ करोड ६७ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३९ करोड २४ लाख र जगेडा कोषमा ६ अर्ब ४४ करोड ८६ लाख छ ।

पुँजी बढे पनि बैंकको नाफामा वृद्धिसँगै प्रमुख वित्तीय सुचकहरुमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसाबाट बढेर २० रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६६ पैसाबाट बढेर १४८ रुपैयाँ १४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रिटर्न अन इक्युटी १४.४७ प्रतिशत पुगेको छ ।

यता बैंकको कोषको लागत बढेसँगै बेसरेट ६.९९ प्रतिशतबाट ९.३८ प्रतिशत पुगेको छ । यस्तै निष्कृय कर्जा २.२७ प्रतिशतबाट १.३३ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात १५.०८ प्रतिशतबाट १३.७६ मा झरेको छ । यस्तै बैंकको कर्जा( निक्षेप अनुपात ८५.५५ प्रतिशत छ ।