अलैँचीको मूल्य घट्न थालेपछि किसान चिन्तित

इलाममा । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।

रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एकलाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प्रति मन बिक्री हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष भाउ घटेको छ । बर्सेनि भाउ ओरालो लाग्न थालेपछि किसान चिन्नित बनेका छन् । पछिल्लो समय अन्नबाली मासेर किसानले बारीमा अलैँची लगाउन थालेका छन् । एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्नेतिर किसान पुगेका छन् ।

भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्यूँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानको गुनासो छ । गएको वर्ष खरिद गरेर राखिएको अलैँची यसवर्ष बढी मूल्यमा बेच्ने आशामा राखिएको भए पनि मूल्य घटेपछि व्यवसायीसमेत चिन्तित छन् । यसवर्ष प्रतिमन ३२ हजारले खरिदबिक्री भइरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताउनुभयो । उहाँका अनुसार राम्रो माल मात्र सो मूल्यमा किन्न सकिन्छ ।

अलैँची टिप्ने कामदारलाई पनि उच्च मूल्य दिइने गरिएको छ । वर्षभरी पानी लगाउने, मलजल र स्याहार गर्ने खेताला लगाएर अलैँची टिप्ने साथै छोडार सुकाउन्जेलमा किसानलाई धेरै नाफा नहुने उहाँहरुको भनाइ छ । नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ । प्रदेश नं १ को इलामसहित पाँचथर तेह्थुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङमा यसको व्यावसायिक उत्पादन हुने गरेको छ ।

नेपालमा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । साथै सात हजार नौ सय ५४ मेट्रिक टन वार्षिक अलैँची उत्पादन हुँदै आएको बताइएको छ । सरकारले नेपालको अलैँची नेपालमा नै प्रशोधन गर्न पहल गरे यसको मुल्य पुन बढ्ने किसानको भनाइ छ ।

काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाए

काठमाडौँ । काठमाडौँका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो।

उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए।

मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापनपत्र बुझाउन काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेका थिए।

उनीहरूले सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नु पर्नेसहित तीन वटा माग राखी महानगरलाई ज्ञापन पत्र बुझाएको काठमाडौँ महानगरपालिका प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

संघर्ष समितिले काठमाडौँका मेयर बालेन शाहलाई भेटी ज्ञापन पत्र बुझाउन खोजेका थिए तर मेयर शाहले समय नदिएपछि प्रवक्ता काफ्लेलाई ज्ञापनपत्र बुझाएका हुन्।

फुटपाथ व्यापारीको ज्ञापनपत्र मेयर शाहलाई बुझाउने उनले जानकारी दिए।

 एकैपटक २ मन्त्री र ३ सचिवको विदेश भ्रमणलाई स्वीकृत

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई रसियामा भदौ २० देखि २३ गतेसम्म हुने दोस्रो टाइगर फोरम सम्बन्धी कार्यक्रममा भाग लिन स्वीकृति दिएका छन् । मन्त्री यादवसँगै सचिव प्रेम नारायण कँडेललाई पनि स्वीकृति दिएको छ ।

त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीलाई भदौ २३ देखि आइभरीकोस्टमा आयोजना हुने ‘ट्रान्फर्मिङ लिट्रेसी लर्निङ स्पेस’सम्बन्धी कार्यक्रममा भाग लिन मन्त्रिपरिषदले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

सचिव रामप्रसाद थपलियालाई बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन मन्त्रिपरिषदले स्वीकृति दिएका छन् ।

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जाने ‘माधवकुमार’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जाने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् ।

माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

विदेशी नागरिक अब नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

७ भदौ, काठमाडौं । १३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएका थिए । तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वैशाख २०७८ को निर्णय खारेज गरेसँगै अब भने कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने छन् ।

सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएका छन् ।

कोभिड–१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि गत वर्ष सरकारले यस्तो निर्णय गर्नु परेको थियो । पर्यटन व्यवसायीले भने यो निर्णय खारेज गर्न माग गरिरहेका थिए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

श्रृजनशील लघुवित्तले १५ गतेदेखि आईपीओ निष्काशन

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएका छन्। लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको शेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

बन्दकर्ताले गरे टिप्परमा आगजनी

काठमाडौं । बन्धकर्ताले दाङमा बिहानै गाडीमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका छन् ।

चाररपाँच जनाको समूहमा रहेका बन्धकर्ताले टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । उनकाअनुसार घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी शुरु गरेको छ ।

विप्लव’को नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेको आयोगलाई ३७ बुँदे प्रस्ताव

काठमाडौँ । छलफलमा एमालेका तर्फबाट सहभागी नेता निरज आचार्यले ३७ बुँदे सुझाव पेश गरिएको जानकारी दिए ।

एमालेले निर्वाचन खर्च घटाउनुपर्ने लगायतका विषय सुझावमा समेटेको छ । दिएको छ ।

सोमबार आयोगले निर्वाचन आचारसंहितबारे दलहरुसँग छलफल गरेको थियो ।

छलफलमा एमालेका तर्फबाट सहभागी नेता निरज आचार्यले ३७ बुँदे सुझाव पेश गरिएको जानकारी दिए ।

एमालेले निर्वाचन खर्च घटाउनुपर्ने लगायतका विषय सुझावमा समेटेको छ ।

यस्तो छ एमालेको ३७ बुँदे प्रस्ताव

मिति २०७९/०५/०६

श्री निर्वाचन आयोग, नेपाल कान्तिपथ, काठमाडौं ।

विषय स् प्रस्तावित निर्वाचन आचारसंहिता २०७९ को मस्यौदा सम्बन्धमा राय–सुझाव

निर्वाचन आयोगको मिति २०७९/०५/०१ को प.सं. च.नं. ६७/०७९/८० को पत्रसाथ संलग्न मस्यौदामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निम्नानुसार राय सुझाव रहेको धारणा प्रस्तुत गर्दछौं ।

१. आचारसंहिताको दफा २ को परिभाषा खण्ड (प) मा रहेको मौन अवधिलाई घटाई २४ घण्टा बनाउनुपर्ने,

२. परिभाषा खण्डकै (व) मा रहेको सामाजिक सञ्जालको परिभाषा दिई उदाहरणको रूपमा रहेको एसएमएस हटाई बाँकीलाई राख्नुपर्ने,

३. दफा ४ को (क) ‘…सार्वजनिक निकाय वा भन्दा पछाडि सो अन्तर्गत थप गर्नुपर्ने,

४. दफा ४ को (छ) मा …प्रचारप्रसारमा भन्दा पछाडि संलग्न गराउने नियतले भन्ने थप गर्नुपर्ने,

५. दफा ४ को (ड) मा रहेको सेयर पछि लाइक हटाउने किनकि लाइक नियतरहित र अनायास पनि हुन्छ ।

६. दफा ४ को (त)मा रहेको मत परिणामको घोषणाको सट्टा मतदान सम्पन्न भन्ने राख्ने,

७. दफ ४ को (द) मा रहेको..कसैको पक्ष वा विपक्षमा.. भन्ने हटाउने, वा अवरोध गर्नेगरी भन्ने थप गर्ने

८. दफा ५ मा ‘….पदाधिकारीले भन्दा पछाडि निर्वाचन घोषणा भएर मतदान सम्पन्न नभएसम्म थप गर्ने,

९. दफा ५(क) मा शुरूमा सरकारी श्रोत साधन प्रयोग गरी थप्ने र सो को प्रतिवन्धात्मक वाक्य हटाउने,

१०. दफा ५ (छ) मा मौन अवधिभर पछाडी निर्वाचनसँग सम्बन्धित थप्ने र वा पछिको निर्वाचनसँग सम्बन्धित थप गर्ने,

११. दफा ६ को संवैधानिक निकायलाई सरकार र अन्यसरह एउटै स्थितिमा नराख्ने,

१२. दफा ६ को (ज) र (झ), तथा दफा ७ को (छ) र (ज) लाई गाभेर एउटै बनाउनु पर्ने,

१३. दफा ७ को(ङ) दफा ९ को (ङ) दफा १० को (घ) मा नियमित ग्रेडबाहेक थप ग्रेड भनी उल्लेख हुनुपर्ने,

१४. दफा ८ को (ख) मा रहेको ‘..कार्यालयको भन्दा पछिको ‘वा आफ्नो.. हटाउने,

१५. दफा ८ को (ग)मा निर्वाचनलाई भन्दा पछि प्रतिकुल थपी विषयमा सट्टा गरी शब्द राखी वाक्य मिलाउने,

१६. दफा ९ को अध्ययनलाई हटाउने,

१७. दफा ११ मा रहेको निजी क्षेत्रको हटाउने र त्यसको सट्टा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदार संस्थामा भन्ने थप्नुपर्ने,

१८. दफा १२ को (ख) मा‘.अनुमति नलिई‘. को सट्टालाई जानकारी नदिई भन्ने थप गर्ने,

१९. दफा १२ को (ग)मा रहेको बहत्तर. को सट्टा चौबीस राख्ने र कार्यक्रम जुध्ने भएमा स्थानीय प्रशासनले कार्यक्रमको मिति, समय, मार्ग र स्थान परिवर्तन गर्न दिएको आदेश पालना गर्नुपर्ने भनी थप गर्ने,

२०. दफा १२ को (ञ) मा ८ को सट्टा ७ र प्रतिबन्धात्मक वाक्यमा साँझ ७ राख्न उपयुक्त हुने,

२१. दफा १२ को (ट) मा.जुलुसमा.. भन्दा पछि सहभागि गराउने उद्देश्यले‘ भन्ने थप गर्ने,

२२ दफा १२ को (ड)र (ढ) गाभी एउटै बनाउने र उम्मेदवार वा दलको कार्यालय र उम्मेदवारले प्रयोग गर्ने एउटा गाडीमा दलको झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न पाउने गरी अन्यत्र कुनै किसिमले प्रयोग गर्न नपाउने गरी वाक्य संरचना गरी प्रतिबन्धात्मक वाक्यांश राख्ने ।

२३. दफा १२ को (ण) पुरै हटाउने,

२४. दफा १३ को (घ) मा दफा १७(ग) को प्रतिबन्धत्मक वाक्य थप गर्ने,

२५. दफा १३ को (छ) मा दुई जना‘ हटाउनुपर्ने,

२६. दफा १४ को (ख)मा कल निर्वाचन अवधिमा कति दिन भन्ने तोक्नुपर्ने, एकैपटक मात्र गर्ने भए कतिवटा पत्रिकामा खुल्नुपर्ने, अनलाइन पत्रिकाको हकमा के हुने स्पष्टता हुनुपर्ने।

२७. दफा (१५ को -च) मा रहेको पच्चीस हजारको सट्टा पचास हजार गर्ने,

२८. दफा २० मा रहेको मोबाइलको दुरूपयोग रोक्ने उपाय अवलम्बन गर्नुपर्ने,

२९. दफा २० को (च) मा मतदानको अवधिभर भन्ने थप गर्नुपर्ने,

३०. दफा २२ को (ख) को औचित्य प्रष्ट हुनुपर्ने,

३१. दफा २४ को (घ) मा दफा १४ मा लेखिएबाहेक थप्नुपर्ने,

३२. दफा २४ को (च) (झ) र (ञ) लाई गाभेर मौन अवधिमा मात्र सीमित नगरी निर्वाचन अवधिभरमा लागू गर्ने गरी वाक्य संरचना गर्नुपर्ने,

३३. दफा २४ मा कुनै राजनीतिक दल वा उम्मेदवारको कार्यक्रम र विचारलाई बढी वा कम स्थान नदिई समानुपातिक तथा सन्तुलित समाचार तथा विचार प्रवाह गर्नुपर्ने,

३४. दफा २९ को जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने

३५. दफा ३३ को सुक्ष्म अनुगमनको कार्यक्षेत्र डिजिटल माध्यम, अनलाइन पत्रिका, सामाजिक सञ्जाल आदिलाई समेटेर विशेष इकाई गठन गर्नुपर्ने,

३६. अनुसूची ३ को दफा ८ हटाउनुपर्ने,

३७. अनुसूची ४ को द्रष्टव्य (३) थप गरी उजुरीकर्ताले आवश्यकताअनुसार यस ढाँचाबाहेक उजुरी गर्न सकिनेछ ।

शंकर पोखरेल
महासचिव

नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ ।

आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवका रुपमा खटाउने निर्णय भएको छ । आजको बैठकले केही कार्यविधि समेत पास गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा दुवाडी, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

पहिलो नम्बरमा सिफारिस भएका दुवाडी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्याल अनिवार्य अवकाशमा गएसँगै प्रशासनतर्फ एक सचिव पद रिक्त रहेको थियो ।

देशभरबाट मिटरब्याजीविरुद्ध १८३२ उजुरी

काठमाडौँ । चर्को व्याजमा ऋण दिएर बिचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेका छन् ।

गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेस प्रदेशका छन् ।

मधेसमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत हो । मधेसपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेको छ ।

साहुले चर्को व्याजमा ऋण दिने र नतिरेको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौँको माइतीघर मण्डलामा आएर पटक पटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट मिटर ब्याज पीडितलाई उजुरी दिन आह्वान गरेको थियो ।

कार्यदलले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी सङ्कलन गरेको थियो । तर अझै केही जिल्लाबाट विवरण आउन बाँकी छ ।

कार्यदलले आइतबारसम्म मिटरब्याजीबारे उजुरी दिन समयसीमा तोकेको थियो । कार्यदलले सोमबार अपराह्न ४ बजेका लागि बैठक राखेका छन् । सबैभन्दा प्रभावित गाउँमा गएर स्थलगत अध्ययन र छानबिन पनि गर्ने कार्यदलको तयारी छ ।

अध्यक्ष दाहाल र नेपालबीच छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएका छन् ।

ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएका थिए । यस्तै, आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो । माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिनुभयो । आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी छ । 

एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएका छन् ।

काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ वडामा लागू गरिएका छन् । हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिनुभएको हो । 

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ । फोहर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको दिएको छ । 

कामपा एक्लैले व्यवस्थापन गर्दै आएका स्थानमा गत मङ्गलबारदेखि नियमितरुपमा उपत्यकाको फोहर व्यवस्थापन गर्न थालेसँगै कलङ्की, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन् । फोहर व्यवस्थापनकै कारण दुई महिनादेखि बन्द रहेको कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार सञ्चालमा आएको छ । लामो समयदेखि काठमाडौँका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहरको डङ्गुरले दैनिकीमा नै समस्या भएको थियो । कालीमाटी तरकारी बजार प्रवेश गर्ने स्थानमा फोहरका कारण आवतजावत बन्द थियो ।  

दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । 

साविकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी एक सातामा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापन स्थलसम्म लगिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।  

पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ ।  

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन रहेको छ । यसअघि पनि लामो समय फोहर जमा भएर बसेको हुनाले अहिले दैनिक ३०० गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् ।  

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट बाट चुनाव लढे जित्ने निश्चित

रौतहट । मंसिर ४ मा हुने संसदीय निर्वाचनमा गृह क्षेत्रबाट एकीकृत समाजवादी का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल रौतहट बाट चुनाव लढे गठबन्धन बिना नै चुनाव जित्ने अवस्थामा रहेको बताइएको छ। शिर्ष नेताहरु को कहाँ बाट सुरक्षित हुन्छ्न भन्ने बहस चलिरहेको बेला ठुला नेताहरु मध्ये नेता नेपाल बढी सुरक्षित देखिएका छन्। यद्यपि काङ्ग्रेस सहितको गठबन्धन मै चुनावी प्रतिस्पर्धामा जाने एकीकृत समाजबादी पार्टीका तर्फबाट अध्यक्ष नेपालका निम्ति गठबन्धनले थप बजबुत बनाउने बताइएको छ।

यसैबीच नेपालले पार्टीको निर्णय जहाँबाट हुन्छ त्यहीँबाट संसदीय चुनावमा उम्मेदवार बन्ने बताउँदै आएपनि रौतहटको सदरमुकाम गौरमा नेपालको जन्मघर रहेकोले यहीँबाट उम्मेदवार बन्ने करिब निश्चित देखिएको छ।

पहिले पनि यसै क्षेत्रबाट निर्वाचित हुने गरेकाले नेपालको लागि अहिलेको वातावरण केही सहज भएको बताइएको छ। सदरमुकाम गौर नगरपालिकामा नेकपा एसबाट शम्भु साह बहुमतसहित नगर प्रमुखमा निर्वाचित भएका छन्।

यसैगरी पहिलेदेखि नै नेपालका निकट मानिने भिखारीप्रसाद यादव राजदेवी नगरपालिकाको प्रमुखमा बहुमतसहित नेकपा एसबाट निर्वाचित भएका छन्।

अन्य नगरपालिका तथा गाउँपालिकामा नेकपा एसको बलियो उपस्थिति रहेको देखिएको छ। यसै क्षेत्र पर्ने स्थानीय तहमा पनि सदरमुकाम गौरका मेयर साहले गरेका राम्रा कामको प्रभाव बढदै गएकोले पनि गठबन्धन बिना नै एकीकृत समाजबादीका अध्यक्ष नेपालले भारी मतका साथ बिजय हुने सम्भावना बढेर गएको छ।

गौरका नगर प्रमुख शम्भु साहले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका नेपाललाई रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन आफूहरुले सुझाव दिइरहेको र यस क्षेत्रका मतदाताले पुर्व प्रधानमन्त्री नेपाल लाई मत हाल्न व्यग्र प्रतीक्षा गरिरहेको बताएका छन्।

केही महिनादेखि रौतहटको क्षेत्र नम्बर १ मा विभिन्न किसिमका विकास निर्माणले गति लिएको छ भने नेपालको सक्रियता पनि त्यतिकै बढेको छ। नेकपा एसबाट संघीय सरकारमा रहेका विभिन्न मन्त्रीहरुले पनि सदरमुकाम गौर र क्षेत्र नम्बर १ मा धेरै कार्यक्रम सहित आफ्नो उपस्तिथि राख्दै जनता बीचमा पुग्नाले पनि नेता नेपालको माहोल तात्दै गएको अनुभुती जनता बीच भएको छ।

नेता नेपालको ध्यान रौतहट केन्द्रित भएको बुझे पछि सो क्षेत्रका कतिपय चुनावी प्रतिस्पर्धामा उत्रने मनसाय बोकेका नेताहरू समेत पैसा मात्रै सकिने डरले साइड लागेको बुझिएको छ। यसै बीच एमालेका अध्यक्ष केपि ओलि शर्माले गौरका पुर्व मेयर अजय गुप्तालाई डेन्टिङ पेन्टिङ गर्दै नेपाल सग भिडाउने तयारी अनुरुप गौर मै एक कार्यक्रम गर्न पुगेका थिए।

एमालेको नाममा चुनावी प्रतिस्पर्धामा उत्रने कोहि नभेटेपछि भ्रष्टाचारले दुर्गन्धित गुप्तालाई अगाडि सारेकाले पनि नेपाललाई सजिलो भएको बताइएको छ।

गौर नगरपालिका भित्र करोडौं भ्रस्टाचार गरेका गुप्ता चुनाबि प्रतिस्पर्धामा आए नेपालले दुई तिहाइ मतका साथ बिजय हुने अहिलेसम्मको मत सर्वेक्षणले बताएको नेपाली काङ्ग्रेसका एक नेताले सम्पत्ति ज्युज लाई बताए ।

स्थानीय तहमा समाजबादिको वर्चस्व रहेकाले पनि बिगत भन्दा फरक ढंगले रौतहट क्षेत्र नम्बर एक लाई हेरिएको बताइएको छ। सबैतिरबाट माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर एक मा संसदीय निर्वाचनको उम्मेदवारको चर्चा चलिरहेको समयमा उहाँको माहोल पनि त्यतिकै बन्दै गएको छ।यो बन्दै गएको माहोलाई बचाइ राख्न समाजवादिका कार्यकर्ता मसिनो ढङ्गले परिचालन भएको देखिन्छ।

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

६ भदौ, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता रहेको छ भने अर्को २२ वर्षीय चन्दन गुप्ता रहेको प्रहरीले जनाएका छन् ।

उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाइएका छन् । सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको प्रशासन महाशाखामा गोप्य दरखास्त पेस गर्न सक्नेछन् ।

हेर्नुहाेस् सूचि :