भारी वर्षाको सम्भावना

काठमाडौं । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् । प्रदेश १ र मधेश बाहेक प्रदेशमा आइतबारसम्म नै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छन् । यस्तै आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छन् ।
भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मुलकको पश्चिमी क्षेत्रमा धेरै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट

व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी लग्दा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो ।

व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रको महासचिवमा ७ नेताको दाबी

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले दाबी पेश गरेको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा दाबी रहेको बताएका हुन् ।

नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए । आफूहरुले ‘जसलाई बनाए पनि बनाउनुस्’ भनेको भन्दै उनीहरुले भनेका थिए, ‘बाहिर किन यस्तो गयो ? जति ढिला भयो, त्यति हामीलाई विस्थापित गर्ने खतरा छ ।’

दलबलसहित निस्किएः अशोक राई

२ भदौ, काठमाडौं । पूर्वमन्त्री हेमराज राई १० वर्षपछि पुरानै घर नेकपा एमाले फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोड्ने ठूलै समूहको नेतृत्व गरेका राईलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले स्वागत गरेको हो ।

जसपाका कार्यकारिणी सदस्य हेमराज, संघीय परिषद अध्यक्ष अशोक राई निकट शीर्ष नेता थिए । तर जसपा सिद्धान्तहीन दिशातिर लागेको आरोप लगाउँदै उनी एमालेमै फर्किएको छ । २०४८ र २०५१ मा भोजपुर–२ बाट सांसद जितेका हेमराज २०५५ मा उद्योगमन्त्री थिए ।
एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईलाई साथ दिएर ०६९ मा पार्टी छोड्नेहरूमा हेमराज गनिएकै नेताभित्र पर्थे । त्यसैले उनको फर्काइलाई एमालेले महत्वका साथ हेरेको छ ।

‘अशोक राईहरुले जुन एजेण्डा लिएर पार्टी छोड्नुभएको थियो, त्यो एजेण्डा समाजले स्वीकारेन,’ एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ भन्छन्, ‘धेरै नेताहरु फर्किनुभयो । बाँकी नेता–कार्यकर्ता पनि एमालेमै आउनुहुन्छ ।’
संविधान निर्माणका क्रममा एकल जातीय पहिचानमा आधारित संघीयताको विपक्षमा एमाले उभिएपछि अशोक राई नेतृत्वमा पार्टीभित्र बलियो प्रभाव राख्ने जनजाति नेताहरू त्यसबेला अलग भएका थिए । त्यही समूहमा उभिएका हेमराज राई ०४९ सालमै एमाले केन्द्रीय सदस्य थिए । सानो र छरिटो कमिटी प्रणालीमा रहेको एमालेमा त्यतिबेला केन्द्रीय सदस्य बन्नु सजिलो थिएन ।

तर संविधान निर्माणका क्रममा असन्तुष्टि जनाउँदै एमालेबाट अलग भएका हेमराज कुनै बेला चर्चामा रहेका भूराज राईहरू समेत लिएर एमाले फर्किएका छन् । महेन्द्र क्याम्पस र डिग्री क्याम्पसको स्ववियु सभापति जितेर चर्चा कमाएका भूराज ०५४ मा विराटनगर नगरको उपमेयर थिए । ‘लोकतन्त्र सुदृढ बनाउन सिद्धान्तनिष्ठ ध्रुवीकरण जरुरी छ, त्यसका लागि एमालेकै विचार ठीक छ’, पार्टी प्रवेशपछि हेमराजले भने ।

एक्लिदै अशोक

संविधानका अन्तर्वस्तुप्रति पार्टीभित्र देखिएको फरक मतलाई निषेध गरिएको भन्दै अशोक राईले एमाले छोडेर संघीय समाजवादी पार्टी गठन गर्दा हेमराजसँगै बलियो राजनीतिक पृष्ठभूमि भएकै नेताहरुले साथ दिएका थिए । हेमराज राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रिजवान अन्सारी, बीरबहादुर लामा, अजम्बर काङमाङ राई, रकम चेम्जोङ, रणध्वज कन्दङवा, केशव स्थापितहरूले त्यसबेला अशोक राईसँगै विद्रोह गरे ।
केन्द्रदेखि स्थानीय तहसम्मका जनजाति नेताहरुले पार्टी छोडेकाले त्यसबेला एमालेले जनजाति विरोधी पार्टीको आरोप खेप्नु परेको थियो । तर अहिले उनीहरुमध्ये अधिकांश नेता–कार्यकर्ताले अशोक राईलाई छोडिसके । ‘अशोक राईसँग पार्टीभित्र पहिलो व्यक्ति हुने गुण छैन’ अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका अजम्बर काङमाङ भन्छन्, ‘विनम्र बोल्नु हुन्छ, तर जोखिम उठाउन नसक्ने र घाटाको राजनीति नगर्ने स्वभाव छ ।’ जोखिम उठाएर पार्टी नेतृत्व गर्ने भन्दा पनि औपचारिक भागमै अल्मलिने स्वभावले अशोक राई एक्लिदै गएको उनी बताउँछन् ।

एमाले छोड्दै गर्दा अजम्बर आफैंमा प्रभावशाली युवा नेता थिए । एमालेको युवा संगठनका अध्यक्ष भइसकेका अजम्बर एमाले छोडिरहँदा पार्टीकै केन्द्रीय सदस्य थिए । तर उनी अशोक राईसँग धेरै समय बसेनन् । २०७४ मा माओवादी केन्द्रमा प्रवेश गरे ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि नै अशोक राई नेतृत्वको पार्टी परित्याग शुरु भएको थियो । त्यो चुनावमा संघीय समाजवादीले समानुपातिक तर्फ पाँच सिट जितेपनि प्रत्यक्षतर्फ कतै जित्न सकेन । त्यसपछि त राई आफैंले ०७४ को चुनाव अगाडि नै उपेन्द्र यादवसँग पार्टी एकता गरे ।
अहिले अशोक उपेन्द्रसँगै छन्, तर उनलाई साथ दिने नेताहरुले भने एकपछि अर्कोगरी छोड्ने क्रम रोकिएको छैन । कतिपय एमालेमै फर्किएका छन् भने कतिपयले अरू दल रोजे । विजय सुब्बा, केशव स्थापित लगायतले एमालेमै फर्किएर लाभको पद लिइसकेको हो । २०४८ मै तेह्रथुमबाट सांसद जितेका विजय सुब्बा अहिले एमाले निर्वाचन आयोगका अध्यक्ष छन् । पार्टीमा फर्किएपछि सुब्बालाई ०७४ मा एमालेले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनायो ।

केशव स्थापित गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा एमालेबाट काठमाडौं महानगरको मेयर पदका उम्मेदवार थिए । मेयर पराजित भएपनि ०७४ मा प्रदेश सांसद रहँदै बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री भए । स्थापित युवा संघका संस्थापक महासचिव हुन् ।

अशोक राईलाई साथ दिदै एमाले छोडेका रिजवान अन्सारी अहिले अलग्गै पार्टीका अध्यक्ष छन् । उपेन्द्र यादवलाई पार्टी बुझाएको भन्दै उनले नेपाल संघीय समाजवादी पार्टी खोले । पूर्व गृहराज्यमन्त्री अन्सारीको भूगोल र एमालेभित्र बलियो प्रभाव थियो ।

अन्सारीसँगै, बीरबहादुर लामाले पनि अशोक छोडे । नख्खु जेल ब्रेकका अभियन्ता लामा ०५४ मै मकवानपुर जिविस सभापति थिए । एमालेबाटै २०६४ मा मकवानपुर–३ बाट संविधानसभा सदस्य जितेका लामाको निधन भइसकेको छ । उनी पहिले एमालेबाट विद्रोह गरे, त्यसपछि अशोकसँग असन्तुष्टि जनाउँदै रिजवानलाई साथ दिन पुगेका थिए ।

एमाले छोडेका शीर्ष नेतामा अहिले अशोकसँग राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, रणध्वज कन्दङवा, सुशिला श्रेष्ठ लगायत बाँकी छन् । तर उपेन्द्र यादवसँग एउटै पार्टीमा रहेकाले अशोक राई सत्तारुढ नेता छन् भने आफूलाई साथ दिने राजेन्द्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् ।

अजम्बर काङमाङ, अशोक राई अहिले पार्टीभित्र भागबण्डामा पर्ने लाभको पद लिने ठाउँमा सीमित हुन पुगेको बताउँछन् । ‘राजेन्द्र श्रेष्ठको मन्त्री जोगिने भएपछि पार्टी विभाजनमा पनि उपेन्द्रसँगै उभिनुभयो’ उनी भन्छन्, ‘आउने चुनावमा गठबन्धनबाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । पत्नी (सुशिला श्रेष्ठ) लाई समानुपातिक सूचीमा राखिहाल्नुहुन्छ ।’

आज श्रीकृष्ण जन्माष्टमी पर्व, यस्तो छ धार्मिक महत्व

३ भदौ काठमाडौंं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएका छन् ।

तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ ।
आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरुको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुनेछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । आज कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ ।

छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

यस्तै पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन । स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन् ।

सुकेटार विमानस्थलमा तीन महिनापछि उडान

प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएका छन् । नेपाल एयरलाइन्सले आज उडान भरेको हो ।

जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुुभयो । उहाँका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो । लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ ।

कर्मचारीहरुको भदौ २० पछि सरुवा गर्न रोक

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा सम्पन्न गर्न, गराउन आवश्यक कर्मचारी व्यवस्थापनका सम्बन्धमा आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच बुँदे निर्देशन समेत दिएका छन् ।

आयोगद्वारा जारी विज्ञप्तिमा मंसिर ४ को निर्वाचनका सन्दर्भमा आयोगबाट भएका निर्णयलाई तीनै तहको सरकार र सोअन्तर्गतका निकाय, सार्वजनिक संस्थान, विकास समिति, बोर्ड, आयोग, कोष र प्रतिष्ठान, केन्द्र, प्राधिकरण तथा शैक्षिक संस्थाले उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्न, गराउन निर्देशन दिएको छ ।

निर्वाचन प्रयोजनका लागि सङ्घीय निजामती सेवा र प्रदेश निजामती सेवा वा स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्यरूपमा खटाउनुपर्ने भएकाले जिल्लास्तर तथा स्थानीय तहमा संरचना भएका नेपाल सरकार वा प्रदेश सरकार वा दुवै सरकारको स्वामित्व र नियन्त्रणमा रहेका वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाको स्वीकृत सङ्गठन संरचना र दरबन्दीअनुसारका कर्मचारी पद रिक्त नहुने गरी यही २० गतेभित्रमा अनिवार्यरूपमा पदस्थापन गरी खटाउने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।

यस्तै, आयोगले जनशक्ति व्यवस्थापनका लागि भदौ २० गते अगावै सङ्घ, प्रदेश र स्थानीय तहमा काज, कामकाजका लागि खटिएका कर्मचारीलाई अन्यत्र खटाइएको भए पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने वा त्यस्तो स्थानमा स्वीकृत दरबन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा, पदस्थापन गरी अनिवार्यरूपमा पदपूर्ति गर्ने व्यवस्था गर्न पनि भनेको छ ।

निर्वाचनको काममा खटिने कर्मचारीबाहेक भदौ २० गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पदनाम बमोजिम सरुवा, पदस्थापन भएका कर्मचारीको उक्त निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र कामकाज गर्न काजमा पठाउने र सरुवा नगर्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि केन्द्र, प्रदेश तथा जिल्लास्तरमा कार्यरत नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रण्मा रहेको वा सरकारको अनुदानमा सञ्चालित सङ्घसंस्था निकाय वा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी आवश्यकतानुसार निर्वाचनमा परिचालन गर्नुपर्ने हुँदा तोकिएको ढाँचामा कर्मचारीको यथार्थ विवरण अद्यावधिक गरी राख्ने र सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट माग गरेका बखत तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई छैनः रिजाल

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनुभएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको बताउनु भएका छन् ।

सो नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताउनुभयो । नेता रिजालले संसदको कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकताविहिन बनाउने अधिकार नभएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरुले हाल आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू चकित भएको बताउनुभयो ।

नेता रिजालले एक थरी अनुहारकाले अर्को थरी अनुहारकाको राष्ट्रियतामाथि प्रश्न उठाउने प्रचलन रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

अख्तियार थप कठोर बन्दै श्रावणमा मात्रै २१ सय उजुरी

काठमाडौ।आम जनतामा सुशासन प्रत्याभूत गराउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष परेका उजुरीको ट्रेन हेर्ने हो भने भ्रस्टाचार तिब्र रुपमा बढेको निष्कर्ष जो कोहीले पनि सजिलै भन्नसक्छ।

हरेक मन्त्रालय र बिभागका प्रमुखहरुलाइ आयोग मै बोलाइ अबका दिनमा राम्रो नतिजा नआए थप कठोर बन्ने संकेत गरेको आयोगले अब नियमक निकायलाई बोलाउने तयारी गरेको बुझिएको छ।

गत वर्षको आ.ब. बाट सरि आएका आठ हजार तिरानब्बे उजुरी लाई घटाएर सात हजार एक सय बैसठ्ठी यो आ.ब.मा झार्नुलाई अख्तियारले आफनो अनुसन्धान र फर्छ्यौटको कामलाई तीव्रता दिएकै कारण बाकी उजुरी घटन गएको बुझ्न गाह्रो पर्दैन।

पछिल्लो समय अख्तियारले उजुरी र आफनो कार्य सम्पादन अनलाइन मार्फत गर्न थाले सगै आयोग भित्र छिन छिन् मै कस्ता कस्ता उजुरी कहाँ कहाँ बाट पर्यो तत्काल नै प्रमुख आयुक्तले हेर्न र आवश्यक कार्वाहीको निम्ति जिम्मेवारी तोक्ने सम्मको अवस्थामा आयोग पुगिसकेको कारण हिजोका दिनमा परेका कतिपय उजुरी हराउने सूचना लिकहुने भयबाट अब अख्तियार जोगिएको मात्रै छैन यसले सुशासनलाई थप मद्दत पुर्याएको छ।

हरेक दिन परेका उजुरी कुन कर्मचारीले कसरी काम गरे कुन फाइल को सग छ सबै अनलाइन बाट नै काम हुनेभएकाले उजुरी बढे पनि पर्छ्योट सख्या पनि सगै बढन सकेको हो।

आयोगका सचिब तोयम रायको कडा मेहनत र इच्छाशक्तिका कारण आयोग पूरा प्रबिधिमैत्री बन्न पुगेको छ।

प्रचारमा न आउने सचिब रायाले लोकसेवा आयोग देखी वैदेशिक रोजगार सामाजिक सुरक्षा मन्त्रालय रहदा समेत तत निकायलाई प्रबिधिमैत्री बनाउन ठुलै मेहनत गरेको उहाँको कार्यशैली नियाल्नेहरुको प्रतिक्रिया सुन्न सकिन्छ।

प्रेमकुमार राई जस्तो निष्ठावान र परिणाममा बिश्वास राख्ने ब्याक्तित्वको नेतृत्वमा रहेको आयोग भएकोले नै यो सब सम्भब भएको बुझ्नलाइ गाह्रो पर्दैन।

पछिल्ला दिनहरूमा आयोग पुर्ण रुपमा प्रबिधिमैत्री बन्दै जादा कर्मचारीहरूको कार्य सम्पादन समेत नतिजामुखी बन्दै गएको बताइएको छ।

बलात्कार आरोपी क्याम्पस प्रमुखलाई कारागार चलान

बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । 

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो । आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए ।

सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न ‘शिक्षामन्त्री देवेन्द्र’

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिनुभयो ।

‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘ विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’
उहाँले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्न समेत मन्त्री पौडेलले निर्देशन गर्नुभयो ।
शिक्षक सेवा आयोगको नियामवली संशोधन प्रश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिएबमोजिम काम छिटो सम्पन्न गर्नुहुन आग्रह गर्नुभयो ।
विद्यालय समायोजनलागतयका काममा सक्रियता पूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिनुभयो ।

नेप्से आज दोहोरो अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य आठ अङ्कमा पुगेको छ ।

नेप्सेका अनुसार, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेत गङ्गा हाइड्रोपावर नौ दशमलव ९७, अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव ९६ र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।

कूल २२० कम्पनीको ५१ लाख एक हजार दुई सय ९० कित्ता शेयर रु दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । बैंकिङ सात दशमलव ९३, व्यापार २३ दशमलव ७४, होटल तथा पर्यटन १६ दशमलव १२, विकास बैंक एक सय १७, जलविद्युत् ७० दशमलव ७७, वित्त ५३ दशमलव ९३, निर्जीवन बीमा ५७ दशमलव ५६, उत्पादन ५३ दशमलव दुई, अन्य ३५ दशमलव ७३, लघुवित्त ६१ दशमलव ५६, जीवन बीमा ५२ दशमलब ३१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ र लगानी शून्य दशमलब ९७ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार नौ सय २४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ४३ लाख ५८ हजार आठ सय ५५ बराबरको कारोबार भयो ।

यस्तै अपि पावर कम्पनी रु सात करोड ८० लाख २६ हजार छ सय ३५, शिवम् सिमेन्ट रु छ करोड तीन लाख ९४ हजार चार सय ७३, अरुण काबेली पावर रु पाँच करोड ५६ लाख ३७ हजार सात सय ५५ र आइसिएफसी फाइनान्स रु पाँच करोड २८ लाख ८० हजार नौ सय ३८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

त्यस्तै एनआइबिएल प्रगति फण्ड तीन दशमलव ८०, सपोर्ट माइक्रोफाइनान्स तीन दशमलव २८, प्राइम बैंकको ऋणपत्र दुई, दोर्दी खोला जलविद्युत् कम्पनी एक दशमलव ९८ र सनराइज ब्ल्युचिफ फण्डका लगानीकर्ताले एक दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।

अर्थको राजस्व सचिव दङ्गाल आजबाट काममा

काठमाडौँ।जागिरे जिवनको २२ वर्षको उमेरमै सचिब भएका रामेश्वर दङ्गाललाई सुदूरपश्चिम प्रमुख सचिबको भुमिकामा रहदा रहदै सरकारले राजस्व सचिबको जिम्मेवारी दिए सगै दङ्गालले अर्थ मन्त्रालयको राजस्व सचिबको जिम्मेवारी आजबाट समाल्नुभएको छ।
मन्त्रालयको राजस्व महाशाखामा लामो समय काम गरि अनुभव बटुलिसक्नु भएका उहाँले भन्सार बिभागमा महानिर्देशकको भुमिका समेत उत्कृष्ट ढंगबाट काम गर्नुभएको बताइन्छ ।

सचिब दङ्गालको निजामती प्रवेश

दङगालले २०५६ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

२०६३ सालमा उपसचिव हुदै २०६९ सालमा सहसचिब पास गर्नुभएका दङ्गाल धनकुटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिकाका साथै प्रधानमन्त्री कार्यालय देखि वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुखको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रशासक हुन।

२०७२ सालको बिनाशकारी भुकम्पका बेला उहाँ गृह मन्त्रालयको बिपत ब्यबस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाले एउटा प्रशासकले चाह्यो भने धेरै कुरा गर्न सक्छन् भन्ने कुराको समेत प्रमाणित गराएको छ ।

त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाको यथार्थ यतिबेला पनि प्रशासन क्षेत्रमा चर्चा हुने गरेको छ ।

सचिब दङ्गाल गण्डकी प्रदेशको अर्थ सचिबको भुमिका साथै सङ्घिय अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुखको जिम्मेवारीमा रहदै गर्दा २०७८ माघ १७ गते सचिबमा बढुवा हुनुभएको हो ।

सचिब दङ्गालले जहाँ जहाँ जुन जुन जिम्मेवारीमा रहेर गरेको कार्यले देश अनि जनताको भावनालाइ उच्च प्राथमिक्तामा राखेर काम गर्ने एउटा कुशल प्रशासकको छवि भएका कर्मचारीका रूपमा आफुलाइ स्थापित गराएका छ्न ।

४८ बर्षको उमेरमा सचिवमा बढुवा भएका रामेश्वर दंगाल अहिले सम्मकै दोश्रो कान्छा सचिवको रुपमा रहेका छन् ।
उनीहरु आफ्नो सेवाकालको१२ वर्ष बाकी रहदै सचिव जस्तो उच्च प्रशासक पदमा आसिन भएका छन् ।
सचिव कार्यकालको ५ बर्ष सकिदा सचिव दङ्गाल उमेरको हदले जागिरे जिवन बाकी हुदै अवकास पाउने सचिबमा पर्ने भएका छन् ।

नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष पेस गरे के हुन्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनः विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेका छन् ।

संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनः विचार गर्न नपाइने व्यवस्था रहेका छन् । विधेयकलाई संसद्ले चाहे जस्ताको त्यस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन । दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनः विचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

संविधानविद् डा विपिन अधिकारीले संसद्ले पुनः पारित गरेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक पेश गरेमा प्रमाणीकरण गर्नुपर्ने बताउनुहुन्छ । “राष्ट्रपतिले संविधानअनुसार नागरिकता विधेयकलाई पुनः विचार गर्नका लागि संसद्मा फिर्ता गर्न मिल्दैन”, उहाँले भन्नुभयो, “अब राष्ट्रपतिले विधेयकलाई थुनछेक नगरी प्रमाणीकरण गर्नुहुन्छ ।
उहाँले सरकारको चाहनाअनुसार नै नागरिकता विधेयक आउने बताउनुहुन्छ । उहाँले राष्ट्राध्यक्षले पुनः विचार गर्न संसद्मा विधेयक फिर्ता गरेपछि प्रक्रिया मात्र पुर्‍याएर पारित गर्न नहुने उहाँको भनाइ रहेको छ । “राष्ट्रपतिले नागरिकता विधेयकमा जुन कुरा उठाउनुभएको छ, त्यो कुराको संसद्को दुवै सदनमा पर्याप्त छलफल हुनुपर्दछ”, उहाँले भन्नुभयो, “राष्ट्राध्यक्षले उठाएको कुरालाई सम्बोधन गरेर मात्र विधेयक प्रमाणीकरणका लागि पठाउनुपर्दछ ।” उहाँले नागरिकता विधेयकमा विवाद रहेकाले राष्ट्रपति भण्डारीले संसद्मा पुनः विचार गर्नका लागि पठाउनुभएको जानकारी दिनुभयो ।

संविधानविद् डा अधिकारीले राज्य व्यवस्था समितिमा दफावार छलफल गरेर मात्र नागरिकता विधेयकमा देखिएको विवाद सुल्झाउनुपर्नेमा जोड दिनुभयो । “राष्ट्रपतिले नागरिकता विधेयकका सम्बन्धमा पुनः विचार गर्न भनेको कुरालाई राज्यव्यवस्था समितिबाट नै टुङ्ग्याएर संसद्मा लैजानुपर्दछ”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीसमक्ष गत साउन १५ गते प्रमाणीकरणका लागि पेश गरिएको नागरिकता विधेयक साउन २९ गते फिर्ता भएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनः विचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।

यसरी फिर्ता पठाएको विधेयक आज पुनः संसद्ले पारित गरेर पठाउने कार्यसूची राखिएको छ । अहिले प्रतिनिधिसभामा राष्ट्रपति भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकबारे छलफल भइरहेको छ । प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पेश गर्नुपर्ने हुन्छ ।

अर्का संविधानविद् डा भिमार्जुन आचार्यले पनि संसद्को दुवै सदनले पुनः पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले स्वीकार गरेर प्रमाणीकरण गर्नुपर्ने बताउनुहुन्छ । “राष्ट्रपतिले फिर्ता गरेको विधेयकलाई पर्याप्तमात्रामा छलफल गरेर मात्र पुनः प्रमाणीकरणका लागि पठाउनुपर्दछ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिले उठाउनुभएको कुराको संसदीय व्यवस्थाअनुसार सम्बोधन हुनुपर्दछ ।” राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाएको विधेयकलाई अवसरका रुपमा संसद्ले लिनुपर्ने उहाँको भनाइ छ ।

अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अब नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति भण्डारीले पुनः विचार गर्ने ठाउँ नरहेको बताउनुभयो । “अब संसद्को दुवै सदनले पारित गरेपछि राष्ट्रपतिलाई फेरि पनि पुनः विचार गर्नका लागि ठाउँ छैन”, उहाँले भन्नुभयो, “संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई उहाँले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।”

राष्ट्रपति भण्डारीले नागरिकताका सम्बन्धमा स्थायी समाधान खोज्नका लागि नै विधेयक फिर्ता गरेको उल्लेख गर्दै भन्नुभयो, “उहाँले नागरिकताका विषयमा यो–यो विषयमा संशोधन गर भनेर सन्देशसहित अभिभावकको भूमिका निर्वाह गर्दै संसद्मा विधयेक फिर्ता पठाउनुभएको थियो । संसद्ले राष्ट्रपतिको सन्देशलाई मनन् गरेर नागरिकता विधेयकलाई पर्याप्त मात्रामा छलफल गरी संशोधनसहित प्रमाणीकरणका लागि पठाउनुपर्दछ ।