५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२ भदौ, काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।

पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएका छन् ।

साँझको प्रार्थनाको समयमा विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले अहिले सम्म लिएको छैन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

विस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् । एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन् । केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएका छन् ।

प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद्रा(खेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । 

राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र पोखरा रङ्गशालामा हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा राष्ट्रिय खेलकुदको अपनत्वका लागि कम्तीमा एक खेल खेलाउने योजना राखेपका छन् ।

खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले चार दशकपछि पोखरामा हुन लागेको प्रतियोगिताले प्रदेशवासी उत्साहित भएका बताउनुभयो । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय आगामी भदौ १५ भित्र टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

“प्रदेशका अधिकांश जिल्लामा खेल पूर्वाधारको निरीक्षण गरेका छौँ । खेल सञ्चालनका लागि आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ”, गुरुङले भन्नुभयो । खेलस्थल व्यवस्थापन उपसमितिले सरकारीबाहेक निजी सङ्घ संस्थाबाट निर्मित खेल पूर्वाधारलाई समेत प्रतियोगिताका लागि उपयोग गर्ने योजना बनाएको छ ।

राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेल सञ्चालन गर्ने निर्णय राखेपले गरिसकेको छ । राष्ट्रिय खेलकुदको अपनत्व सबै जिल्लामा गराउन कम्तीमा एक खेल सञ्चालनको योजनाअनुसार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले यसअघिनै राखेपमा खेल र खेलस्थल प्रस्ताव गरेको पठाएको थियो । यसको अन्तिम निर्णय राखेपले गर्नेछ ।

प्रस्तावित खेलस्थलमा पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष स्पर्धाका खेल पोखरामा सञ्चालन हुनेछन् ।

यसैगरी जिमन्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषको खेल पनि पोखरामा प्रस्ताव गरिएको छ ।

महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराँते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने प्रश्ताव यसअघिनै पठाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । 

बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल )महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको उहाँले बताउनुभयो । प्रदर्शनी खेल लोकदोहोरी पोखरामा गर्ने योजना छ । 

आजको मौसम

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छन् । विभागले आगामी २४ घण्टा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छन् । 

शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्विनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम २१ दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस छ । 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएका छन् ।

आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएका छन् ।

आजको बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएका छन् ।

बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति

काठमाडौँ । उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन तीनबुँदे सहमति भएका छन्।

काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएका छन्।

यदी सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुमागन गरिने भएको छ।

माओवादी केन्द्र खराब हुँदै ‘अध्यक्ष प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र खराब हुँदै गएको टिप्पणी गरेको छ ।

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुन थालेको बताएका हछन् ।

उनले पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको बताएका छन् ।

उनले भने, ‘त्यो बेला सानो थियो, निष्ठावान् थियो तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेका छन् । हामी क्रान्तिकारी छैनौँ । हामी व्यक्ति बादी भएका छौँ आत्मकेन्द्रीत भएका छौँ । हामी स्वार्थ समूह बनाउने तिर लागेका छौँ । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्कलन आएको छ ।’

प्रचण्डले भने, ‘क्रान्तिकारी पार्टी बनाउने भन्ने कुरा बिचारमा, किताबमा दस्ताबेजमा छ । हाम्रो दैनिकी क्रान्तिकारी छैन । हाम्रो भनाइ र गराइमा फरक भइरहेको छ ।’

उनले यो विषयलाई हल नगरे क्रान्तिकारी को औचित्य सकिने बताए । यति हुँदा पनि अन्य पार्टी भन्दा माओवादी नै उपयुक्त रहेको दाबी गरे ।

‘देशमा भएका अन्य पार्टी मध्ये माओवादी मात्रै सही बाटोमा छ । यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना छ,’ उनले भने ।

अर्को महाधिवेशन छिटै गरेर नयाँ क्रान्तिकारी बनाउन आवश्यक रहेको प्रचण्डले टिप्पणी गरे ।

निर्वाचनको तयारीको सन्दर्भमा वामपन्थीको बिचमा एकताको प्रयास भइरहेको समेत उनले बताए । पार्टी एकता संयोजन समिति बनाएर भएपनि वामपन्थी एकताको प्रयास भइरहेको उनको भनाइ थियो ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छन् । बैठक आज बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको, सिट बाँडफाँटलगायत विषयमा छलफल हुने बताइएको छ ।

साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची समावेश छ ।

प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार निर्वाचित

बाजुराको बूढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार निर्वाचित भएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएको छ ।
एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

२ भदौ, रौतहट । चन्द्रपुर नगरपालिका- २ पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली गमभिर घाइते भएकी छिन् । उनको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताए ।

प्रदेश प्रमुख शर्माद्वारा प्रदेश निजामती सेवा र स्थानीय सेवासंग सम्बन्धित अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माज्यूले आज बुधबार (१ भदौ २०७९) मा दुई वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई जारी गरेका हुन् ।

बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि २६ साउन २०७९ मा पेश हुन आएका अध्यादेश प्रमुख शर्माले आज बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
१३९ वटा दफामा समेटिएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा प्रदेश इन्जिनियरिङ, कृषि, न्याय, प्रशासन, वन, शिक्षा र स्वास्थ्य सेवा गरी ६ वटा सेवा रहने व्यवस्था गरेको प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत प्रकाश चापागाईंले जानकारी दिए । कानून अधिकृत चापागाईंका अनुसार अधिकृत तहमा छैंठौं तहदेखि एघारौं तहसम्म रहने र प्रदेशका मन्त्रालयमा एघारौं तहका प्रदेश निजामती सेवाको कर्मचारी सचिव रहने व्यवस्था र सचिवको पदावधि पाँच वर्षको हुने व्यवस्था अध्यादेशले गरेको छ ।

यस्तै, अध्यादेशले प्रदेश निजामती कर्मचारीको अवकासको उमेर हद ६० वर्ष कायम गरेको छ । प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतिष्पर्धाबाट पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सोलाई सय मानी महिलालाई ३९ प्रतिशत, आदिवासी जनजातीलाई ३७ प्रतिशत, दलितलाई ८ प्रतिशत, मधेसीलाई ७ प्रतिशत, अपाङ्गलाई ५ प्रतिशत र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत छुट्याई पद पुर्ति हुने व्यवस्था अध्यादेशले गरेकोे छ ।

यस्तै, संघीय निजामती सेवा, जुनसुकै प्रदेश र स्थानीय सेवाका स्थायी कर्मचारी प्रदेश लोक सेवा आयोगको पदपूर्ति प्रकृयाद्घारा बागमती प्रदेशको कुनै निकायमा नियुक्ति वा पदस्थापना भई साविक निकायबाट रमाना लिई आएमा सेवा अवधि जोडिने व्यवस्था समेत अध्यादेशले गरेको छ ।

समावेशीतामा आधारित निर्धारित पदहरुमा प्रत्यक्ष मताधिकारको आधारमा निर्वाचित हुने गरी कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था अध्यादेशले गरेको छ ।

प्रशासन सेवाको एघारौं तहको सचिव पदमा बढुवा गर्ने प्रयोजनका लागि प्रदेश प्रशासन सेवा र प्रदेश शिक्षा सेवाका एक तह मुनिका आवश्यक न्यूनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा गरेका कर्मचारीहरु बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ ।

यस्तै, आजै जारी भएको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ ले प्रदेश भित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहको लागि आवश्यक कर्मचारी व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, विभागीय कारवाही, स्थानीय सेवा र सेवाका समूह तथा पदहरुमा एकरुपता तथा सुशासन कायम गर्न अध्यादेशले महत्वपूर्ण कानूनी आधार प्रदान गरेको छ ।

यस्तै, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद प्रदेश निजामती सेवाको पद हुने व्यवस्था अध्यादेशले गरेको अधिकृत चापागाईंले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षण गर्दा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेका छन् । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेका छन् । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट रु चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट रु तीन करोड २० लाख राजस्व असूल गरिएको छ ।

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट रु ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट रु ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट रु ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।

नेपाल र बेलायतबीच श्रम समझदारी हुने

नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएका छन् ।

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएका छन् ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो ।

नेप्से परिसूचक ०.३६ अङ्कले ओरालो

कठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आज समान्य अङ्कले ओरालो लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य .३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएका छन् ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुगेको छ । कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर रु एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ तीन दशमलव ७५, व्यापार तीन दशमलव ८४, होटल तथा पर्यटन शून्य दशमलव १८, अन्य तीन दशमलव ४२, जीवन बमिा ४५ दशमलव ३३ र लगानी शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै, विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त सात दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव शून्य आठ, उत्पादन दुई दशमलव ५२, लघुवित्त तीन दशमलव शून्य नौ, सामूहिक लगानी कोष शून्य दशमलव शून्य पाँच अङ्कले उकालो लागेको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ बराबर छ ।

कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १८ करोड ४३ लाख ११ हजार  आठ सय ९८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु छ करोड ९० लाख ५० हजार दुई सय २९, नबिल बैंक रु चार करोड २६ लाख ६५ हजार ७९, आइसिएफसी फाइनान्स रु तीन करोड ६५ लाख ५६ हजार तीन सय ३७ र नेपाल दूरसञ्चार कम्पनी रु तनि करोड ३३ लाख १४ हजार एक सय ४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन् । श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर नौ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

यस्तै, सामलिङ पावर कम्पनी पाँच दशमलव १४, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव शून्य पाँच, सिङ्गटी हाइड्रोपावर तीन दशमलव ६४, सबैको लघुवित्त तीन दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले दुई दशमलव २३ प्रतिशतले गुमाएका छन्