कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री शेरबहादुर

२२ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाई छ ।

उनले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए ।

उनले कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने बताए । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए । प्रधानमन्त्री देउवाले राजनीतिक दलहरू अस्थायी सरकार भएको समेत बताए ।
प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

उच्च अदालतको न्यायाधीशको सर्ट लिस्टमा परेका यी ८१ जनाविरुद्ध उजुरी

२२ भदौ, काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिस्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेका छन् ।

परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिस्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो ।

उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुने गरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।

परिषद्ले सर्ट लिस्टमा परेका सबै ८१ जनाको नामावली पनि प्रकाशित गरेको छ । सर्ट लिस्टमा परेका मध्येबाट २७ जनाको नियुक्ति हुनेछ ।

सम्बन्धित समाचार स् उच्च अदालतका २७ न्यायाधीशका लागि सर्ट लिष्टमा ८१ जना

सम्बन्धित समाचार स् सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस

काबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् ।

सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले जनाएको छ ।

आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको छ । कन्सुलर शाखामा पुगेका आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानेको अधिकारीहरूले बताएका छन् ।

सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो । यसअघि तालिबानले सो हमलामा कम्तीमा १० जना घाइते भएका जनाएको थियो ।

क्रिकेटर सन्दीपमाथि बलात्कारको आरोप

२२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बालिकालाई बलात्कार गरेको आरोप लागेका छन् । लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको प्रहरीले जनाएका छन् ।
लामिछानेले एक १७ वर्षीया बालिकालाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको तथा भदौ ५ गतेकाठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको आरोप छ । प्रहरी उजुरी दिएकी ती किशोरीको स्वास्थ्य जाँचपछि प्रहरीको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।
लामिछाने भदौ ६ गते टी–२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।
मंगलबार नै नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगका आरोपित अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकोको थियो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।

नमुना मतपत्र छपाइ शुरू

२२ भदौ,काठमाडौं । आयोगले १५ गतेबाट नमुना मतपत्र छपाइ गर्न तयारी गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै २० गतेमात्र सामग्री तयार गरी केन्द्रलाई दिएको हो ।

‘पहिलो चरणमा प्रदेश तहको समानुपातिक मतपत्र छपाइ गर्न लागेको हो । केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले मंगलबार आयोगको टोलीले छपाइ गर्न अनुमति दिएको थियो । आयोगले अनुमति दिएपछि आजबाट शुरू गर्ने भएका छौं’ –आचार्यले भन्नुभयो ।

केन्द्रले २ लाख ५० हजार थान नमुना मतपत्र छपाइ गर्नेछ । शुरूमा प्रदेश त्यसपछि संघअन्तर्गत समानुपातिक मतपत्र छपाइ गर्ने तयारी छ । मतपत्र छपाइ शुरू भएपछि सेक्युरिटी प्रेसको जिम्मा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले लिनेछ ।

मुख्य सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ । मुद्रणालयभित्र रहेका सबै कर्मचारीले प्रेसमा तैनाथ नेपाली सेनाको अनुमति लिएर मात्र बाहिर जान पाउनेछन् ।

प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटे

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणामसम्म मौजुदा प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेका छन् ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत् संसदीय निर्वाचनपछि पनि पुरानै संसद्लाई निरन्तरता दिन खोजेको सरकार चौतर्फी विरोधपछि पछि हट्न बाध्य भएको हो । सरकारले चुनावपछि पनि अहिलेका सांसदहरूलाई तलब सुविधा दिएर राख्ने गरी विधेयक अघि बढाएको थियो ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले म्याद थपसम्बन्धी संशोधन सरकारले स्वीकार गरेको जानकारी दिनुभयो ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकबाट निर्वाचन आयोग ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ माथिको संशोधन फिर्ता लिन सरकार तयार भएको हो । यससँगै चुनावपछिसम्म पुरानै संसद्लाई निरन्तरता दिने सरकारको योजना तुहिएको छ । यसैबीच निर्वाचन आयोगले सोमबार सरकारको निर्णयको विरोध गरेको थियो ।

चुनाव घोषणा भइसकेको अवस्थामा यो विधेयक ल्याएपछि सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै चर्को आलोचना भयो । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले विधेयक फिर्ता लिन निर्देशन दिनुभयो । त्यसअनुसार कांग्रेस सांसदहरूले हालेको संशोधनलाई कानुनमन्त्रीले स्वीकार गरेको जानकारी दिनुभयो ।

त्यसअघि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुमन्त्री बन्दीले सरकारले पवित्र उद्देश्यका साथ विधेयक ल्याएको दाबी गर्नुभएको थियो । संसद्को कार्यकाल कहिलेबाट शुरू हुन्छ र कहिले सकिन्छ भन्ने विषयमा अन्यौल भएपछि सरकारले विधेयक ल्याएको तर्क दिनुभयो ।

मंगलबारकै बैठकमा संसद्को आयु लम्ब्याउने कुरा कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने नेकपा एमालेले अडान राखेको थियो । नेपालका केही संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै गोकुलप्रसाद बाँस्कोटाले संसद्को आयु लम्ब्याउने विधेयक स्वीकार नर्ग नसकिने बताउनुभएको हो ।

‘सरकारले जनताको लोकतन्त्रलाई मुठ्ठीभित्र कैद गर्ने गरी यो संसद्को आयु लम्ब्याउन लागेकोमा एमालेको घोर आपत्ति छ’ पूर्व सञ्चारमन्त्री बाँस्काटाले भन्नुभयो ।

सरकारले निर्वाचनको प्रक्रिया शुरू भएपछि, अझ मनोनयन दर्ता भएपछि संसद्को आयु लम्ब्याउने कुरा लिएर आएको भन्दै यो सीधै लोकतन्त्रलाई गिज्याउने कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो जनताको अपमान गर्ने कुरा हो, जनताप्रति भरोसा नराख्ने कुरा हो । जनताको जनमतलाई चुनौती दिने कुरा हो ।’

बाँस्कोटाले यसमा नेकपा एमालेको सहमति नहुने स्पष्ट पार्दै विधेयक फिर्ता लिनु नै जनताको आवाज सुनेको हुने बताउनुभएको थियो । ‘असोज २ गते निर्वाचन आयोगले समानुपातिकतर्फका नाम दर्ता भएपछि निर्वाचन शुरू भइसक्छ,’ उहाँले भन्नुभयो, ‘कोही सांसद लोगो लगाएर कोही सामान्य नागरिक भएर, दुईवटा कानुनी व्यवस्थाका साथ, एउटै नागरिकमाथि प्राकृतिक न्यायको सिद्धान्तविपरीत प्रतिस्पर्धा गर्न खोजिँदैछ । मालिक र नोकरको व्यवहार गर्नेगरी ल्याइएको यो विधेयक खारेज होस्, फिर्ता होस् ।’

असोज १ गते सबैको म्याद समाप्त हुनेछ । विधेयक पारित भएको भए नयाँ जनप्रतिनिधि बहाल नहुँदा सम्म मौजुदा सांसदले तलब–भत्ता खाइरहेका हुने थिए ।

त्यस्तै, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले अहिले भएको ऐन संशोधन गर्नुपर्नेमा गलत काम गरेको दाबी गर्नुभयो । विगतमा समय हुँदाहुँदै सरकारले काम नगरेको तर अहिले त्रुटिपूर्ण काम गरेको भन्दै सरकारले दुईखाले सांसद खडा गर्न खोजेकाले स्वीकार्य नहुने टिप्पणी गर्नुभयो ।

माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड

काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन् ।

आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु नआउँदासम्म देशले गति लिँदैन, सडक तताउने, जनताको टोल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै छ भन्ने विश्वास छ ।’ संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको बिकृति र किसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउँदै उनले जनताको बीचमा यी मान्यताहरुलाई स्थापित गर्न विशेष पहल गर्न निर्देशन दिए।

टोल, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न उनले अनुरोध गरे । उनले भने, ‘जतिवेला हामी जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौ, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामा आफ्नै ढंगले पूरा गरेका छौं,। अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं । त्यसको नेतृत्वको जिम्मेवारी तपाईहरुको काँधमा छ ।’

प्रचण्ड–जनार्दन जुहारी : म प्रचण्डको कडा आलोचना गर्छु : जनार्दन, जनार्दन शर्मालाई मैंले हुर्काएको र रक्षा गरेको हुँ : प्रचण्ड

काठमाण्डौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ ।

अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा आज बुधवार पार्टीभित्रको पदाधिकारीको पद विभाजनलाई लिएर प्रचण्ड र शर्माबीच घोचपेच भएको हो । अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोज्नुभएको थियो तर उपमहासचिव जनार्दन शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि पहिले जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोल्नुभएको थियो ।

सम्बोधनका क्रममा जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्ने बताए । ‘नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडीले हुँदैन, लाइनले हुँदैन’, शर्माले भने ।

तर प्रचण्डले भने जनार्दन शर्मालाई आफैँले हुर्काएको र रक्षा गरेको बताए । उनले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो– नीति र नेतृत्वको रक्षाको कुरा, म तपाईँहरूलाई भन्न चाहन्छु– जनार्दनलाई हुर्काउन र रक्षा गर्न पनि प्रचण्डको मुख्य भूमिका छ । उनको रक्षा र विकास गर्ने कुरामा मेरो भूमिका छ । मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधान सभाको पनि नेतृत्व गरेँ, गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि धेरै चिज भएकै छ, अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन् भन्ने हो । उनीहरूले पार्टीलाई एकताबद्ध गराउन, क्रान्तिकारीलाई एकै ठाउँमा ल्याउन र हाम्रो विरासत जोगाइराखुन् ।’

कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हुनुपर्ने बताए । सडकको हिरो युवा विद्यार्थी भएको र विद्यार्थी सडकमा नआएसम्म देशमा परिवर्तन नहुने भएकाले टोल–टोलमा अभियान चलाउन पनि प्रचण्डले निर्देशन दिए । आफू देशव्यापी प्रशिक्षणमा जाँदा पनि अहिलेको चुनावी प्रणालीमाथि प्रश्न गरिरहेको भन्दै प्रचण्डले अहिलेको महँगो चुनाव लड्न माओवादीलाई समस्या भइरहेको बताए

प्रतिगामीहरूले माओवादीले लडेर ल्याएको संविधान र नागरिकका अधिकार खोस्ने प्रयास गरिरहेको भन्दै प्रचण्डले विरोधीविरुद्ध एकजुट हुन पनि आह्वान गरे ।

केन्याविरुद्ध नेपालको क्लिन स्विप

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेका छन् ।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३/० ले जितेको हो ।
यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यस अघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३र२ ले जितेको थियो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए ।

वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए ।

ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।

केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले ।

सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए ।

कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिए ।

वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।

सिरिज अन्तर्गत कै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

भारतमा कोरोना संक्रमित घट्दै तर दक्षिण कोरियामा ९९ हजार भन्दा बढी

काठमाडौं । भारतमा एकै दिनमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ। यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म चार हजार चार सय १७ जना कोरोना संक्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ।

यसैसँगै भारतमा चार करोड ४४ लाख ६६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन्। भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा पाँच हजार नौ सय १० जनामा संक्रमण देखापरेको थियो। दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ।

भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ५२ हजार तीन सय ३६ जना रहेका छन्। नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन्।

२४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना संक्रमणबाट भारतमा २३ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ३० भन्दा बढीको मृत्यु भएको छ। भारतमा हिजो एक दिनमा छ हजार ३२ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ८६ लाख चार सय ९६ जना कोरोनामुक्त भएका छन्।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।। सो समयबाट हालसम्म दुई अर्ब १३ करोड ७२ लाख ६८ हजार छ सय १५ भन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन्।

सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको सङ्ख्या दुई करोड ३७ लाख छ हजार चार सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

सोमबार कोरोना संक्रमणको कारण ४३ जनाको मृत्यु भएको यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार एक सय ९३ पुगेको छ। दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन।

कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेलमार्गको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेका छन् । नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिनुभयो ।

सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको इञ्जिनीयर साहले बताउनुभयो । रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने उहाँको भनाइ छ ।

बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ । “जग्गा मुआब्जाको समस्यालगायतका कारण बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो, “कतिपय ठाउँमा व्यावहारिकरुपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।”

उहाँका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरुसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गरिरहेका कारण रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।

आफूहरुले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेको महाप्रबन्धक झाले बताउनुभयो । उहाँले भन्नुभयो, “मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिवाससम्म रेल चल्न थाल्छ, मुख्यतः हामीलाई रेलमार्ग निर्माणका लागि अहिलेदेखि ठूलो समस्या यही नै हो ।”

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार सन् २०११ महिनामा निर्माणको थालनी भएको थियो ।

ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनिले जनाएको छ ।

महाप्रबन्धक झाका अनुसार नेपाललाई रेल सञ्जालमा जोड्ने सरकारको नीतिअनुरुप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य भइरहेको छ । यस्तै निजगढ–काठमाडौँ रेलसेवा सञ्चालनका लागि रेलमार्गको डिपिआर तयारी भईरहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको विकास समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा समितिका सदस्यको टोलीले निर्माणाधिन सो रेलमार्गको निरीक्षण गर्नुभएको थियो । महोत्तरीको बर्दिबासदेखि भारतको जयनगरसम्मको रेलमार्गको निरीक्षण गरी टोलीले कुर्थादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवाद र समाधानका उपायबारे प्रदेशसभाका सदस्य, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेलमार्गमा पर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको थियो ।

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किमी निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किमी रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेलसेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेलसेवाको उद्घाटन गर्नुभएको थियो । त्यसयता रेलसेवा दैनिक दुई पटक सञ्चालन भइरहेको छ ।

३ सय जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

२१ भदौ, काठमाडौं । नेपालमा थप ३ सय जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएका छन् । ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा खेरी पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा सङ्क्रमण पुष्टि भएका छन् ।

यही अवधिमा थप १२४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५७ पुगेको छ । त्यस्तै थप ३ लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

भारतका सेना प्रमुख मनोज पाण्डेले र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटबार्ता

२१ भदौ, काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन् ।

भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेका छन् । यो पृष्ठभूमिमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुनसक्ने भनिएको थियो ।

तर यो विषयमा कुनै छलफल नभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले अनलाइनखबरलाई बताए । ‘यो सैन्य नेतृत्वभन्दा पनि राजनीतिक र कुटनीतिक तहमा छलफल गर्ने भन्ने भएकाले कुरा नउठेको हो,’ उनले भने, ‘सामान्य शिष्टाचार भेट मात्र भएकाले पनि अग्निपथबारे कुराकानी हुने कुरा थिएन ।’

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई उल्लेख गर्दै देउवाले नेपाल र भारतको सेनाबीच फरक सम्बन्ध रहेको बताएका हुन् ।

उनले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिए । पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।

दलितमाथि भेदभाव गर्न पाउँदैनन्ः नेपाल

२१ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता कसैले पनि दलितमाथि भेदभाव अत्याचार गर्न नपाउने बताएकौ छ। उनले दलितमाथि छुवाछुत, विभेद गर्ने एकीकृत समाजवादीको सदस्य, कार्यकर्ता हुन नसक्ने स्पष्ट पारेका छन्।

नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कि चेतनाले मान्छे सुध्रिन्छ कि कानुनले मानिस तह लाग्छ।’ उनले दलित समुदायलाई जति गोलबन्द गर्न सक्यो उति शक्ति आर्जन हुने विश्वास व्यक्त गरे। दलितको लागि विद्रोहको आवाज उठाउने कम्युनिस्ट पार्टी भएको उनको दाबी छ।

देशभरी कहि कतै विभेदका घटना घटेको पाइए लिखित रुपमा जानकारी गराउनसमेत आग्रह गर्दै उनले विभेद गर्नेलाई छानबीन गरेर कानुन अनुसार कारबाहि गर्ने प्रतिबद्धता समेत गरेका छन् । तत्कालीन एमालेमा हुँदा पनि दलित समुदायलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लागेको स्मरण गर्दै नेपालले अब पनि दलितको हकहितमा लागि पर्ने बताए।

दलित अत्याचार भएका र उत्पीडनमा परेमा आवाज उठाएर एक किसिमको तरंग पैदान गर्न आग्रह गरे। उनले असमानता र विभेदलाई अन्त्य गर्न चाहेको बताए। नेपालले दलितलाई आर्थिक रुपमा सम्पन्न बनाउन योजना बनाएर अगाडि बढ्ने स्पष्ट पारे।

करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी । धुर्कोट गाउँपालिका-४ जैसिथोकका ४२ वर्षीय मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

मंगलबार बिहान रानालाई आफ्नै घरको छतमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि दुईतला माथिबाट खसेर घाइते भएका उनको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएका छन्।