नेप्से परिसूचक २१.१६ अंकले घट्यो

काठमाडौं । परिसूचक घटेपनि कारोबार रकम भने बढेका छन् । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २१.१६ अंकले घटेर १९५१.८४ अंकमा आइपुगेका छन्।

आइतबार नेप्से ६.६८ अंकले बढेकोमा सोमबार ४.२९ अंकले घटेको थियो।

सोमबार २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता सेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१३ रुपैयाँमा खरिदबिक्री भएको छ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर ९.६८ प्रतिशत बढ्यो। सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए। यस कम्पनीको सेयर ७.३२ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट शीर्षस्थानमा रहेको छ। सो कम्पनीको ९ करोड १४ लाख बढीको कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये मेचुअल फन्डबाहेक सबै परिसूचक घटेको छ।

बीमा विधेयक प्रस्तावलाई स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद तुलसाकुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गर्नुभएका थिए ।

छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताको अधिकतम परिचालन र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्यअनुरुप विधेयक ल्याइएको बताउनुभयो । उक्त विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा छलफल भई सर्वसम्मतरुपमा पारित हुँदै प्रतिनिधिसभाबाट पनि पारित भएको र यसलाई बढी व्यावहारिक र समय सान्दर्भिक बनाउन सरकार सकारात्मक रहेको उहाँले जानकारी दिनुभयोे ।

हालको बीमा ऐनले बीमाका सबै विषय नसमेटेकाले विधेयकको अपरिहार्यता महसुस गरी सबै सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाइएको र प्राप्त सुझावलाई समेत समेटेर विधेयक अघि बढाइने मन्त्री शर्माले विश्वास दिलाउनुभयो । बीमामार्फत गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित् गर्न र जनताको विश्वास कायम गर्न विधेयकले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक माथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेका छन् । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे।

सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रमक रुपमा अभिव्यक्ति दिए । एक्लै चुनाव लड्न गठबन्धन आवद्ध दललाई चुनौती दिँदै उनीहरुले गठबन्धनप्रति टिप्पणी गरे । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्यकोषले व्यहोर्नुपरेको बताए ।

यसपछि संशोधन प्रस्ताव पेस गर्दै कांग्रेस सांसद प्रकाश रसाइलीले एमाले सांसदलाई जवाफ दिँदै भने, ‘मध्यराति संसद विघटन गर्ने, संसद चाहिँदैन भन्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?

आफूले गठबन्धन गर्दा पवित्र हुने र अरुले गर्दा अपवित्र हुने भन्दै एमाले सांसदलाई प्रश्न गर्दै उनले भने, ‘हिजो एमाले पनि गठबन्धन गरेर गएको थियो, त्यतिखेर कांग्रेस एक्लै लडेको थियो । अहिले अरुले गठबन्धन गर्दा अपवित्र हुने रु’

कांग्रेस र एमालेका सांसदले भने प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् ।

देशभर ७८ प्रतिशत जनसंख्या साक्षर

अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक गरेको तथ्यांकमा साक्षर प्रतिशत ७८ पुगेको उल्लेख छ । तथ्यांकअनुसार ६ वर्षमाथिका ७८, १५–२४ वर्ष उमेर समूहका ९२, १५ वर्षमाथि ५८ र १५–६० वर्ष उमेर समूहका ८५ प्रतिशत गरी समग्रमा ७८ प्रतिशत साक्षर भएका छन् । साक्षर हुनेमा सबैभन्दा बढी ९२ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका छन् ।

केन्द्रका प्रवक्ता एवं उपमहानिर्देशक लुइँटेलले स्थानीय तहले चासो नदेखाएसम्म साक्षरता घोषणा गर्न नसकिने बताउनुभयो । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले चालु आबमा सबै जिल्लालाई साक्षर गर्ने गरी केन्द्रले तयारी थालेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘यसका लागि केन्द्रले जिल्ला र स्थानीय तहसँग सम्वन्वय गरिरहेका छ ।’ पौडेलले साक्षर जिल्ला घोषणा गर्ने जिल्लालाई २ देखि १० लाख रुपियाँसम्म दिने व्यवस्था गरेको जानकारी दिँदै चालु आर्थिक वर्षमा तराईका जिल्लालाई साक्षर घोषणा गर्ने रणनीतिका साथ कार्ययोजना तयारी गरिरहेका बताउनुभयो । उहाँले तराईका जिल्लालाई साक्षर बनाउन स्थानीय तह र प्रदेश सरकारसँग छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

केन्द्रले सघन साक्षर कार्यक्रम सञ्चालन गर्न तयार गरेको कार्यविधिमा साक्षरता कक्षामा सहभागी निरक्षरले राष्ट्रभाषा वा मातृभाषाका वर्ण(अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम र उमेर लेख्न तथा पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, कार्यविधिमा शून्यदेखि ९ सम्मका अङ्क र अक्षर लेख्न सक्ने, १ देखि सयसम्म गणना गर्न सक्ने, लेनदेनका हरहिसाब राख्न सक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझन सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता जनाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रो हेरी तिथि र मिति बताउन सक्नेसम्मको हुनुपर्नेलगायतका सूचक राखिएको थियो ।

सरकारले साक्षर नेपालपछिको परिकल्पनासहित सञ्चालन गरिरहेको अभियानमा १५ वर्ष माथिका सबै नेपाली नागरिक साक्षर हुने, सामाजिक, राजनीतिक, आर्थिक तथा सांकृतिक रूपमा सचेत हुने परिकल्पना गरिएको छ भने अभियानअन्तर्गत उनीहरूले निरन्तर शिक्षाका साथै विभिन्न सीपमूलक तालिममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अगुवाइमा यही भदौ २३ अर्थात् सेप्टेम्बर ८ तारिखमा राष्ट्रिय कार्यक्रम आयोजना गरेर ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ ।

तथ्यांकअनुसार ६१ जिल्ला साक्षर घोषणा हुँदा मधेस प्रदेश साक्षरताको अवस्था भने शून्य छ । स्थानीय तहले जाँगर नदेखाउँदा तराईका ८ जिल्ला साक्षर हुन सकेको छैन ।हालसम्म वागमती र गण्डकी प्रदेशका सबै जिल्ला र स्थानीय तह पूर्ण साक्षर भएका छन् । तराईका ८ र अन्य ८ गरी १६ जिल्ला पूर्ण साक्षर हुन बाँकी छ । मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा साक्षर हुन सकेको छैन ।

त्यसै गरी लुम्बिनीको कपिलवस्तु, कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा, सुदूरपश्चिमको कञ्चनपुर र डोटी पनि साक्षर हुन बाँकी रहेका जिल्ला हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले मधेस प्रदेशका सबै जिल्ला र स्थानीय तह, लुम्बिनी प्रदेशको कपिलवस्तुको १० मध्ये ६, कर्णालीको मुगु र जुम्लाको सबै, कालीकोटको ९ मध्ये १, हुम्लाको ७ मध्ये १ र डोल्पाको ८ मध्ये २ स्थानीय तह साक्षर घोषणा भएका छन् ।

त्यस्तै, सुदूरपश्चिममा कञ्चनपुरको सबै र डोटीको ९ मध्ये २ स्थानीय तह साक्षर घोषणा भएका छन् । तीमध्ये यो वर्षको साउनमा बझाङ, सोलुखुम्बु, कैलाली, बाजुरा र बाँके साक्षर जिल्ला घोषणा भएका छन् । सरकारले सन् २०१५ सम्ममा नेपाललाई पूर्ण साक्षर घोषणा गर्न अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको सरकारको पालामा १४ वर्षअघि २०६५ सालमा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने घोषणा गरिएको थियो । सरकारले हरेक वर्ष निरक्षर उन्मूलन गर्न बजेट व्यवस्था गर्ने गरेको छ । साक्षरता अभियान शुरू भएयता हालसम्म करिब ९ अर्ब रुपियाँ खर्च भइसकेको छ ।

सरकारले यो वर्ष साक्षरताको १२ सूचकलाई समावेश गरी विद्यार्थी परिचालन गरी साक्षर बनाउने कार्यक्रम घोषणा गर्ने भएको छ । केन्द्रले साक्षर हुन बाँकी जिल्ला र स्थानीय तहमा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु

चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएका छन् । दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।

सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।

भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् ।

भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको थियो ।

ट्रमामा डा यादब नै हुनुपर्ने सबैको माग

२० भदौ काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको मन्त्रीले नेतृत्व गरेका छ्न ।

घरपरिवारका सबै सदस्य एकीकृत समाजवादी मै होमिएका छ्न ट्रममा काम गर्दागर्दै डेढ महिनामा सरुवामा पर्दा डा प्रमाेद यादव त छ्क्क परे परेनन, तर उनका परिवारका सदस्य लाई तपाईंहरू त समाजवादि फेरि डेढ महिना मै सरुवा भो डाक्टर सापको के हो ? यो प्रश्नको उत्तर यतिबेला डाक्टर यादवका परिवारले दिन सकिरहेका छैनन।

राम्रो काम गरिरहेका डाक्टर यादबलाइ एकाएक हाटाइएको खबर आएसगै पार्टी भित्र खैल्लाबैला भयो।

पार्टी अध्यक्ष माधवकुमार नेपाल समक्ष यो कुरा पुगेपछि मधेसी समाजमा संगठन बलियो बनाउने अभियान चलिरहेको बेला डेढ महिना काम गर्न नपाइ हटाउनु न्यायोचित होइन भन्ने धेरै शुभेच्छुकहरुको गुनासो पछि अध्यक्ष नेपालले मन्त्री सग यो सरुवाको बिषयमा चासो राख्नुभएको हो तर केहि स्वार्थमा लागेकाहरुले अध्यक्ष नेपाललाई जोडेर समाचार बाहिर सम्म ल्याउने काम गरेका छ्न।

प्राप्त जानकारी अनुसार गुण र दोष का आधारमा दण्ड र पुरस्कार दिनुपर्नेमा डाक्टर यादवको हकमा राम्रो काम गर्दागर्दै दण्ड दिन खोजे सगै पार्टीले चासो राखेको बताइएको छ।

ट्रमा सेन्टरमा डेढ महिना मात्रै काम गर्ने अवसर पाएका डाक्टर यादबले अस्पतालमा फरक अनुभुती दिलाइसकेका थिए तर एकाएक उनको सरुवा भयो भन्ने हल्ला फैलाए सगै काम गर्नेको मुल्यांकन यस्तै हो रुट्रमामा यतिबेला कर्मचारी बीच बहस सुरु भएको मात्रै छैन कामका हिसाबले राम्रो काम गर्दै गर्दा काङ्ग्रेस कै डाक्टर रुद्र मरासिनी को सरुवा भएको खबर सगै सबैको सहानुभूतिको ध्यान डाक्टर यादब तिर तानेको हो।

यो खबर सगै अस्थायी ज्यालादारी समाजवादी आस्था बोक्ने कर्मचारी बीचमा आक्रोश समेत बढेको छ।

केपी ओलीको नाम सिफारिस झापा-५ बाट

२० भदौ झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए ।
२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।

सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

काठमाडौँ, २० भदौ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

समारोहमा उहाँले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गर्नुभएका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति प्रभुराम शर्मासँग उहाँले भेटवार्तासमेत गर्नुभयो । पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

उहाँले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । आज अपरान्ह राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुने कार्यक्रम छ ।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति रहने जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो । विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो ।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ ।

यस्तो छ उहाँको भ्रमण तालिका

पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

यस्तै अपरान्ह ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ । उहाँले शनिबार साँझ हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष पाण्डेले बुधबार मुक्तिनाथको दर्शन गर्ने तथा पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले सोही दिन वसन्तपुरस्थित दरबार स्क्वायरको समेत भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ ।

होटलमा आगलागी हुँदा दुई जनाको मृत्यु, अन्य १० जना घाइते

उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएका छन् । भने अन्य १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म

काठमाडौं। विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानुन संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान भएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै विधेयक अघि नबढाउने सहमति भएको थियो ।

आइतबार अपराह्न सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रधानमन्त्री देउवाले कानुनमन्त्री शर्मालाई बोलाएर विधेयक अघि नबढाउने निर्देशन दिएका हुन् । प्रतिनिधिसभामा शुक्रबार राति दर्ता भएको केही नेपाल ऐन संशोधन विधेयकमा ‘प्रतिनिधिसभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’ भनिएको छ ।

प्रदेशसभाका विषयमा पनि यही प्रावधान छ । मंसिर ४ मा हुने आमनिर्वाचनका लागि असोज २ र ३ मा दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने तालिका छ । नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ताअघि सांसद पदमुक्त हुनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।

त्यही कारण प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म रहने आयोगको भनाइ छ । तर सरकारले कानुन संशोधनमार्फत त्यसपछि पनि सांसदको पद कायम गर्न खोजेको थियो । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई कानुन संशोधन गर्न लागिएको रहेछ,’ एक मन्त्रीले भने, ‘संसद्को कार्यकाल निर्वाचन आयोगले तोकेकै मितिमा सकिन्छ । विधेयकमा भनेजस्तो प्रावधान संशोधन हुँदैन ।’

संशोधन विधेयक आइतबारको बैठकमा फास्ट ट्र्याकबाट अघि बढाइएको छ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले विधेयक परिपक्व हुन लाग्ने पाँच दिनलाई घटाएर एक दिनमा झारेको छ । संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टा समय पनि घटाएर २४ घण्टामा झारिएको छ ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत स्वीकृत भएकाले सांसदहरूले सोमबारसम्म संशोधन हाल्ने समय थियो । ‘चुनावको बेला जनमत गुमाउने गरी सरकारले पेस गरेको विधेयकको विरोधमा गठबन्धनलाई नै असर पर्न सक्ने अनुमान गर्‍यौं,’ गठबन्धनको बैठकमा सहभागी एक नेताले भने, ‘सत्तारूढ दलका सांसदले कार्यकाल ल्याउन नहुने संशोधन राखेर विधेयक अघि नबढाउने सहमति भएको छ ।’

प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री शर्माले कानुनी अस्पष्टता हटाउन र अराजकता रोक्न संसद्को कार्यकाल नवनिर्वाचित सांसदको पहिलो बैठकसम्म रहने व्यवस्था गर्न खोजिएको बताएका थिए । कानुनमन्त्री शर्माले संसद्मा बोलेको केहीबेरमा उनलाई देउवाले गठबन्धनको बैठकमा बोलाएका थिए ।

‘यो प्रावधानले सरकारलाई विवादमा पार्ने भयो । निर्वाचन घोषणा गरेर तोकिएकै मितिमा सम्पन्न गर्न आफ्नो गतिमा बढिरहेका बेला अनावश्यक भ्रमले निर्वाचनमा समेत असर गर्ने देखियो,’ एक मन्त्रीले भने, ‘अब समानुपातिकको बन्दसूची बुझाउने दिन नै कार्यकाल सकिन्छ । अब कानुन संशोधन हुँदैन ।’ निर्वाचनसम्बन्धी कानुन संशोधन गर्दा सरकारले निर्वाचन आयोगसँग परामर्श र छलफलसमेत गरेको थिएन ।

आयोगले सरकारको कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘निर्वाचन कानुनको प्रावधान संशोधन गर्न सरकारले विधेयक संसद्मा दर्ता गरिसकेको रहेछ तर हामीसँग छलफल भएन । परामर्श नगरी निर्वाचन कानुन संशोधन गर्न खोज्नुलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

मनोनयनको अघिल्लो दिन सभामुख र उपसभामुखको समेत कार्यकाल सकिने भएकाले सदस्यहरूको पनि स्वतः पद जाने आयोगको भनाइ छ । कान्तिपुरबाट

क्यानडामा छुरा प्रहारमा कयौं घाइते, १० जनाको मृत्यु

ओटाबा । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएका छन् । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस ९आरसीएमपी० सास्काचेवानले ट्वीट गरे। जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन्

सात क्यासिनोलाई काठमाडौं महानगरको चेतावनी

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार एक पत्र पठाउँदै होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।

वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ ।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार सबै क्यासिनोहरुले प्रतिव्‍यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।

वागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।

महानगरको पत्र

लिङ्देनले दिए सांसदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेको छ । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने, मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता रोक्का गरियोस् ।

गठबन्धनबीच सिट बाँडफाँटको छलफल करिब सहमतिनजिक

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलमा जुटेका सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको सहमतिका लागि प्रयास भइरहेका छन् । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ८४ सिट लिएर सहयात्री दलहरूलाई ८१ सिट छाड्ने गरी सिट बाँडफाँटमा सहमतिको प्रयास भइरहेको छ ।

सिट बाँडफाँटको विषयमा अझै आधिकारिक धारणा आउन बाँकी नै रहे तापनि छलफल करिब सहमतिनजिक पुगेको कांग्रेसका केन्द्रीय सदस्य प्रतिमा गौतमले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । गठबन्धन दलका अन्य नेताहरूले पनि कांग्रेसलाई ५१ प्रतिशत र अन्य दलहरूलाई ४९ प्रतिशत सिट दिनेगरी कुरा टुंगिने अवस्थामा रहेको बताएका छन् । प्रतिनिधिसभामा १ सय ६५ सिट र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्र छन् । कांग्रेसले ८६ सिट लिने भने पनि लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई २ सिट दिने गरी छलफल अघि बढेको बताइएको छ ।

गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूबीच बिहीबार ११ घण्टासम्म सिट बाँडफाँटबारे गम्भीर छलफल भएको थियो । पछिल्लो छलफलमा कांग्रेस ८४, माओवादी केन्द्र ९बाबुराम भट्टराई र वामदेव गौतम० सहित ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३, लोसपा २ र राष्ट्रिय जनमोर्चाले १ सिट लिनेमा करिबकरिब सहमति भएको बताइएको छ । लोसपाले भर्खरै गठबन्धनमा सामेल हुने जनाएको छ ।

यसअघि कांग्रेसले सय, नेकपा ९माओवादी केन्द्र० ले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । यसमा बाबुराम भट्टराई र बामदेव गौतमसमेत माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने भएकाले ६० भित्रै मिलाउन सकिने जनाए पनि प्रचण्डले आफू ५० सिटबाट तल नझर्ने गरी प्रस्ताव ल्याउनुभएको थियो । सबै नेताहरू आफ्नो अडानमा लामो समयसम्म टसमस नभएपछि छलफल निकै लम्बिएको र सबैले आफ्नो वटम लाइनमा हेरफेर गर्ने गरी सिट संख्यामा सहमतिनजिक पुगेको छलफलमा सहभागी एक नेताले बताए ।

प्रतिनिधिसभासँगै प्रदेशसभा सिटको विषयमा समेत छलफल भइरहेको सिट बाँडफाँट कार्यदलका सदस्य तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । प्रदेशसभामा पनि प्रतिनिधिसभाकै अनुपातमा भागबण्डा गर्नेगरी नेताहरूबीच छलफल भइरहेको छ । गठबन्धन भित्रका सबै दलहरूलाई जितको महसुस हुनेगरी सिट संख्या करिब करिब टुंगो लाग्ने चरणमा रहेको उहाँको दाबी छ । सिट बाँडफाँट कार्यदलका सदस्य कार्कीले गठबन्धनको अर्थ जितहार र सिट घटीबढी मात्रै नभएर राज्यव्यवस्था जोगाउँदै देशको समृद्धि र विकासका लागि पनि भएको बताउनुभयो ।

सत्तागठबन्धनभित्र सिट भागबण्डा मिलाउने प्रयास भइरहे पनि गठबन्धनको मुख्य दल नेपाली कांग्रेसलाई आन्तरिक समस्या समाधानमा चुनौती छ । पार्टी संस्थापन पक्षबाट इतर समूहको कुरा सुनुवाइ नभएको भन्दै असन्तुष्टि चुलिएको छ । भागबण्डामा केन्द्रीय समितिदेखि टिकट वितरणमा समेत ४० प्रतिशत दाबी गरेको डा। शेखर कोइराला समूहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सय सिटभन्दा तल झरेर आफ्नो पार्टीले निर्णय गर्न नहुने अडान अझै छाडेको छैन ।

यसो गर्दा ४० जना कोइराला समूहका नेता सांसदमा अटाउने दाउमा रहे पनि संस्थापन पक्षले करिब ८६ सिट लिएर गठबन्धनमा तालमेलको सहमति गर्ने र कोइराला पक्षलाई २० प्रतिशत हिस्सा दिने तयारी गरेको बुझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा मनोनयन गर्दा आफ्नो पक्षका २० प्रतिशत मात्रै केन्द्रीय सदस्य बनाएको भन्दै कोइराला समूहले असन्तुष्टि पोख्दै आएको छ ।

सभापतिले सबैलाई मिलाएर लान्छु भन्ने अनि फेरि एकलौटी ढंगले अघि बढ्ने क्रमलाई निरन्तरता दिँदै गएकोले टिकट वितरणमा पनि ४० प्रतिशत पाउने विश्वास नभएको शेखर समूहका एक नेताले बताए । उनले भने– ‘हामी पार्टीको आन्तरिक समस्या समाधान गरेर जानुपर्छ भन्ने पक्षमा छौं । तर, सभापतिजीले सधैं पेलेर लाने, आफ्नो पार्टीका भन्दा प्रचण्ड–माधवजीका नेताहरूलाई काखी च्याप्न थाल्ने र कांग्रेसका नेताहरूलाई पाखा लगाउने कोसिस गर्नुभयो भने चुप लागेर बस्ने अवस्था हुँदैन ।’

कांग्रेसको तुलनामा गठबन्धनभित्रका बाँकी दलहरू टिकट वितरणलाई सर्वसम्मत बनाउने प्रयासमा छन् । नेकपा ९माओवादी केन्द्र० नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफलमा छ । माओवादीमा पनि नेताहरू धेरै भएकाले शुरूमा व्यवस्थापनमा कठिन देखिए पनि अन्त्यमा नेतृत्वको निर्णयलाई मान्नुपर्ने अवस्था आउने पार्टी सचिव राम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिलो त गठबन्धनको भागबण्डा मिलाउनुपर्यो । त्यसपछि नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयले प्राथमिकता पाउँछ, हामी छलफलमै छौं ।’

उता एकीकृत समाजवादी पनि आन्तरिक छलफलमा जुटेको छ । गठबन्धनभित्र सिट संख्यामा आफूलाई अपमान हुनेगरी सहमति गर्न नसकिने जनाउँदै आएको एकीकृत समाजवादी भागबण्डा टुंगिएपछि सर्वसम्मत रूपमा उमेद्वार टुंगो लगाएर जाने योजनामा छ । जसपाभित्र मधेश केन्द्रित सिटहरूमा मिलाएपछि खासै समस्या नआउने बताइएको छ ।

बिना छानबिन उम्मेदवार सिफारिस

कांग्रेसमा टिकटका लागि देशभरबाट उम्मेदवारका लागि नाम सिफारिस हुने क्रम चलिहरहेको छ । प्रतिनिधि तथा प्रदेशसभाका लागि हरेक क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ गरी करिब एक दर्जन नेताका नाम सिफारिस भएर आएका छन् ।

केन्द्रीय कार्यालयले १८ गतेसम्म जिल्लामा, २० गतेसम्म प्रदेशमा र २२ भदौभित्र प्रदेशबाट केन्द्रमा आइपुग्ने गरी सिफारिस गर्न परिपत्र गरेको छ । त्यहीअनुसार प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ सय ३० वटै प्रदेश क्षेत्रीय कार्यसमिति र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ६५ वटै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस भइरहेको छ ।

जिल्ला तथा क्षेत्रीय समितिबाट नेताहरूको नाम बिना छानबिन सिफारिस गरेर पठाएको पाइएको छ । कार्यकर्ताले कसलाई उम्मेदवार बनाउँदा चुनाव जितिन्छ भनेर चिन्ता लिने गरे पनि केन्द्रका नेताको दबाबमा उनीहरूकै नजिकका र आफन्तहरूको नाम सिफारिस हुँदै आएको आकांक्षीहरूको गुनासो छ । कतिपय आकांक्षा नराख्नेहरूलाई समेत नेताहरूले नाम हालेर पठाउन भनेपछि महत्वकांक्षी बढेको जिल्ला नेताहरू बताउँछन् ।

पार्टीभित्र केन्द्रीय गुटको प्रभाव जिल्ला र क्षेत्रीय कार्य समितिसम्मै छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाका नाममा केन्द्रमा जस्तै प्रदेश जिल्ला र निर्वाचन क्षेत्रसम्मै विभाजन छ । शीर्ष नेताहरूले आफ्नो क्षेत्रमा आफ्नो मात्रै नाम सिफारिस गर्न समेत दबाब आएको क्षेत्रीय सभापतिहरूको गुनासो छ ।

अहिले उम्मेदवार सिफारिस गर्दा आफ्नै गुटको नेतालाई मात्रै स्वीकार्ने र नाम सिफारिस गर्ने अभ्यासले पार्टी संगठन खस्कने उनीहरूको चिन्ता छ । तर, ‘माथि’बाट नेताले फोन गरेर फलानाको नाम राखिदिनू भनेपछि उसको नाम राखेर सिफारिस गरिएकाले त्यस्ता व्यक्ति पार्टी र गठबन्धनको साझा उम्मेदवार नबन्दा जनताको मन जित्नसमेत कठिन हुने अवस्था रहेको क्षेत्रीय सभापतिहरूको भनाइ छ ।

तालाबन्दी तोड्ने स्थानीयको चेतावनी “त्रिभुवन विश्वविद्यालय”

काठमाडौं । महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयले दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएको हो । एक साताअघि त्रिविको ताला खोल्न माग गर्दै पत्र टाँसेका स्थानीयले तालाबन्दी गर्ने सरकारआबद्ध नेपाल विद्यार्थी संघलाई दुई दिनभित्र ताला खोल्न अल्टिमेटम दिएका छन् ।

स्थानीय देव महर्जनले ताला नखोले कीर्तिपुवासीले ताला खोल्ने जानकारी दिँदै नेपाल समाचापत्रसँग भन्नुभयो– ‘परापूर्वकालदेखि हामी हिंड्ने बाटोमा ज्यानको जोखिम बढेकाले विभिन्न निकायलाई तत्काल ताला खोलेर बाटो खाली गर्न आग्रह गरिसकेका छौं । स्थानीयले बिहीबार कीर्तिपुरका नेपाली कांग्रेसका नेतासँग छलफल पनि गरिसकेका छन् । उनीहरूले एकदुई दिन भनेका कारण कुरिरहेका छौं ।’

३ वर्षमा ३ महिना बढी तालाबन्दी हँुदासमेत चुप लागेर बस्ने त्रिविका पदाधिकारीले यस्तो गम्भीर विषयमा खासै ध्यान नदिएको आरोप लगाउँदै महर्जनले भन्नुभयो– ‘अब अति भयो, नेविसंघ र कांग्रेसका नेताहरूको आग्रहमा सोमबारसम्म कुर्नेछौं, नभए मंगलबार बिहान कीर्तिपुरका स्थानीयवासी सबै भेला भएर ताला फोड्नेछौं । हामीले ताला फोडेपछि वा नेविसंघले खोलेमा फेरि कहिल्यै पनि बन्द गर्न दिनेवाला छैनौं ।’

उहाँले कांग्रेसले त्रिविमा सधैं हड्ताल गर्न लगाएर त्रिवि बेच्ने षड्यन्त्र गरेको आरोप लगाउँदै भन्नुभयो– ‘त्यसो होइन भने पदाधिकारीकै लागि किन यति लामो समयदेखि तालाबन्दी हुन्छ त रु’ नेविसंघका अध्यक्ष वाङजु शेर्पालाई ताला खोल्न आग्रह गर्दा बसेर कुरा गर्ने भनेको पनि तीन दिन भइसकेको जानकारी दिँदै स्थानीय महर्जनले भन्नुभयो– ‘स्थानीयले बाटो बन्द भएको विषयमा सुरक्षा निकायलाई जानकारी गराइसकेको थियो । तर, सुरक्षा निकाय सरकारप्रति मात्र प्रतिबद्ध भएका कारण समस्या परेको हो ।’

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सरकारले त्रिविको सुरक्षालाई बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले ताला फोड्नुप¥यो भन्दासमेत प्रहरीले वास्ता गदैनन्, हुँदाहुँदै त्रिविको कागजात लुट्ने विद्यार्थी नेतालाई पक्राउ गर्न जाहेरी दिँदा समेत जाहेर लिँदैनन् । यस्तो अवस्थामा सरकारबाट के अपेक्षा गर्ने रु भन्ने विषय उठ्न थालेको छ ।’

कुलपति एवं प्रधानमन्त्रीले तत्काल ताला खोल्नु भन्ने आदेश दिँदा पनि ताला नखुल्नुको कारण बुझ्न नसकिएको भन्दै उपकुलपति बास्कोटाले भन्नुभयो– ‘कुलपतिले ताला खोल भन्ने, अनि गृहमन्त्रीले प्रहरीलाई निर्देशन नदिने रु यस्तो अवस्थामा कसरी ताला खोल्ने कसरी कार्यालय छिर्ने रु’

आवश्यकताका आधारमा सामान्य व्यक्तिलाई त सुरक्षा दिनुपर्ने अवस्थामा उपकुलपतिलाई असुरक्षा भयोभन्दा अहिलेसम्म वास्ता नगर्नु गम्भीर विषय भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘मलाई असुरक्षा भयो सुरक्षा पाउँ भनेर गृह सचिवलाई भन्दा त सुरक्षा पाइएन । ताला फोडेर भित्र जाँदा के हालत होला रु’

उहाँले पत्र पठाएरै सुरक्षा माग गर्नुभएको थियो । तर, हालसम्म उहाँलाई सुरक्षा दिइएको छैन