योग ध्यान अब पाठ्यसामग्रीमा समेटन जरुरीः गुरु एलपी भानु शर्मा

एलिजा लामिछाने बाट

ललितपुर ।गौतम बुद्ध जिवनयोग प्रयोगशाला ललितपुरको आयोजना र जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिका ललितपुरको सहकार्यमा सम्पन्न भएको समृद्ध जीवनका लागि तनाव व्यवस्थापन एकदिने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम ललितपुर जिल्ला भरिका सरकारी कर्मचारीलाई लक्ष्यित गरिएको भएपनि कार्यक्रममा उपत्यका बाहिरका सरकारी राष्ट्रसेवक कर्मचारीको बाक्लो सहभागी रहेको थियो ।

कार्यक्रममा जीवन योग विज्ञान प्रयोगशालाका संस्थापक,जीवन बिकास विशेषज्ञ गुरु एलपी भानु शर्माले अत्यन्तै सरलताका साथ सहभागीलाई जीवन उपयोगी प्रवचन तथा योग ध्यान गराउनु भएको थियो भने अब योग ध्यान पाठ्यसामग्री मै समेटन सरोकारवालालाई ध्यानाकषिर्त समेत गराउनु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि अर्थमन्त्री जनार्दन शर्माले अब पाठ्यसामग्रीमा समेत योग ध्यानको बिषय समेटेर जीवन उपयोगी पाठ्यसामग्री बनाउनुपर्ने गुरु शर्मा अनि सहभागीले राखेका जिज्ञासालाई जवाफ दिदैआफनो धारणा राख्नु भएको थियो भने अर्थ मन्त्री शर्मा दिनभर नै कार्यक्रममा सहभागी हुनुभएको थियो।

त्यसै गरि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वस्थ जिवनको निम्ति ध्यान योग अपरिहार्य रहेको बताउदै ललितपुर जिल्लामा भएको यस कार्यक्रम बाट जिल्लाभर सेवारत राष्ट्रसेवकहरुलाई फाइदा पुगेको बताउदै आयोजक लाई धन्यवाद सहित सहभागीलाई स्वागत गर्नुभएको थियो ।

गौतम बुद्ध जिवनयोग प्रयोगशाला ललितपुरका सल्लाहकार एवं नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्दप्रसाद चौलागाईंले जीवन उपयोगी यो कार्यक्रमको भावलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा फैलाउले उद्देश्यबाट आयोजित कार्यक्रम भएकोले अब सबै मिलेर अभियानकासाथ अगाडि बढन आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नाष्टका अध्यक्ष डा. खगराज बराल नेपाल सरकारका खेलकुद सचिब दामोदर रेग्मी कार्यक्रमका सभापति एकनारायण काफ्ले लगाएतले पनि बिषयवस्तुमा केन्द्रित रहेर आ-आफ्नो धारणा राख्नु भएको थियो।

ललितपुर सानेपा स्थित डि.ए.भि. स्कुलको सभाहलमा भएको यस् कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ ब्यक्ति ,न्याय क्षेत्रका माननीय न्यायाधीशहरु सुरक्षा निकायका ब्यक्तित्वहरु, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सुचना तथा प्रसारण बिभागका महानिर्देशक गोगनबहादुर हमाल लगाएत विभिन्न क्षेत्रका बिशिस्ट ब्यक्तित्वहरु सहित पाँच सय भन्दा बढीको उपस्थिति रहेको सस्थाका कोषाध्यक्ष मनोज थापाले सम्पति न्युजलाई बताउनुभयो ।

कार्यक्रम सुरुआत अगाडि सस्थाका सचिब शम्भु भण्डारीले कार्यक्रमको बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो।

कार्यक्रमको संचालन सस्थाका कर्णपृयशब्द कि धनी प्रशिक्षक रिता न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा माननीय अर्थ मन्त्री जनार्दन शर्मा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरू , प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्तेन, ललितपुरका प्रजिअ घनश्याम उपाध्याय ,रातोपाटिका सस्थापक अध्यक्ष ॐ शर्मा लगायत ध्यानसंग साक्षत्कार गर्दै।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ घनश्याम उपाध्याय

डाँका समूह र प्रहरीबीच मध्यरातमा दोहोरो भिडन्तः एक प्रहरी घाइते

काठमाडौं । उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच बारामा मध्यरातमा दोहोरो भिडन्त भएका छन् ।
भिन्डतमा एक प्रहरी नायब निरीक्षक घाइते भएको हो ।

जीतपुरसिमरा–२३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीबीच दोहोरा गोली हानाहान भएको थियो । प्रहरी टोलीले दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको खबर छ । विस्तृत विवरण आउन बाँकी छ ।

महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड

१७ भदौ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएका छन् ।

दलित महिला केन्द्र नेपाल र माण्डवी नामक संस्थाले यहाँ आज आयोजना गरेको ‘आगामी आम निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितासम्बन्धी र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा दलका नेताहरुले समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रत्यक्ष निर्वाचनमा महिला सहभागिता बढाउन महिलाको नेतृत्व विकाससँगै राजनीतिक पार्टीले प्रष्ट नीतिगत व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य अमृता थापा मगरले प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति टिकट पाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का सचिव गोमा विष्टले निर्वाचनमा महिलालाई ३३ प्रतिशत छुट्टै निर्वाचन क्षेत्रको संवैधानिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहले आरक्षणका नाममा एउटै व्यक्तिले पटकपटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाउनुभयो ।

नेकपा (एमाले) का सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिकका निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । दलित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधानसभाका सदस्य दुलारी हरिजनले महिला र दलित समुदायको सवालमा ऐन÷कानून र संविधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो ।

केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिए

नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएका छन् ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल बनाएको हो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १/१ विकेट हात पारे । नियमित कप्तान सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । उक्त सिरिजअन्तर्गतको दोस्रो खेल भालि शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३–२ ले विजयी भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

देउवामाथि दवाब बढाउन ओलीसँग नजिकिदै शेखर कोइराला

१७ भदौ, काठमाडौं। सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन गरेर चुनावमा जाने निर्णय गरिसकका छन्। गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल नै बनाएका छन्।

कांग्रेसभित्र आफूले १०० सिट लिएर बाँकी गठबन्धनमा आबद्ध दललाई दिनुपर्ने आवाज उठिरहँदा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ९० भन्दा कम सिटमा तालमेल गर्न लागेको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढिरहेको छ। अहिले कार्यदल सिट बाँडफाँटको विषय जटिल बन्दै गएको छ।

देउवाले नजित्ने सय सिट लिनु भन्दा जित्ने ८५ सिट लिएर भएपनि सिट बाँडफाँटलाई टुंग्याउनु पर्ने आफू निकट नेताहरु बताएपछि डा। शेखर कोइराला पक्षधर सशंकित बनेको छ।

पार्टीभित्र स्पष्ट बहुमतमा रहेका देउवाले महाधिवेशनमा ४० प्रतिशत मत पाएका कोइराला पक्षधरलाई बेवास्ता गर्दै अगाडि बढेपछि सशंकित बनेका नेता डा। कोइरालाले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरे।

दुई नेताबीच आगामी निर्वाचनको विषयमा केन्द्रित रहेर छलफल भए पनि ओलीसँगको भेट देउवामाथि दबाव बढाउने रणनीति अन्तर्गत भएको थियो। देउवाले गठबन्धन जोगाउने नाममा माओवादीसँग ‘आत्म समपर्ण’ गरेको आरोप लगाउँदै आएको कोइराला समूहले आगमी चुनावमा आफू पक्षीय नेतालाई टिकट नदिने आशंका गर्दै आएका छन्।

आफू पक्षीय नेताले टिकट नपाएको अवस्थाका विभिन्न विकल्पमा अध्यक्ष ओली र नेता कोइरालाबीच छलफल भएको थियो। स्रोतका अनुसार कोइरालाले ओलीलाई बहुदलीय प्रश्पिर्धामा सबै दल एक्ला एक्लै चुनाव लड्नुपर्नेमा जोड दिएका थिए भने ओलीले त्यसका लागि देउवालाई मनाउन आग्रह गरेका थिए। कोइरालाले आफूले ‘बरु दश सिट आओस्, कांग्रेसले रुखमा भोट हाल्न पाउनु पर्छ’ भनेको तर देउवाले नसुनेको गुनासो गरेका थिए।

गठबन्धन नगरी चुनावमा जाँदा यसअघि कै जस्तो नतिजा आउने भन्दै देउवाले पार्टीलाई जिताउन गठबन्धन गर्नु परेको स्पष्टिकरण दिँदै आएका छन्। तर कोइराला समूहले भने पार्टी हारे पनि कांग्रेसका कार्यकर्ताले रुखमा भोट हाल्न पाउनुपर्ने तर्क गर्दै आएको छ।

पछिल्लो केही समययता एमाले अध्यक्ष ओली र नेता कोइराला निकट नेताहरुमार्फत निरन्तर छलफलमा छन्। ओलीले आफू निकट नेता विष्णु पौडेलमार्फत कोइराला समूहसँग सम्पर्क राखेका छन्।

‘बिहीबार सार्वजनिक रुपमा भेट भएकाले मिडियामार्फत जानकारी भयो, तर यसअघि पनि दुवै पक्षका नेताहरुबीच अनौपचारिक छलफल भइरहेको थियो,’ कोइराला निकट एक नेताले भने, ‘शेरबहादुर देउवाले मनलाग्दी गरिरहे हामीले पनि केही विकल्प सोच्नुपर्छ भनेर एमालेसँग संवादमा छौं।’

कोइराला गठबन्धनमार्फत चुनाव लडेर कांग्रेस पहिलो पार्टी नै भए पनि पार्टी र देशले केही नपाउने ठहर गरेको छ। पार्टीभित्रको अर्को शक्तिलाई पेलेर अगाडि बढ्ने र फेरि आफू नै प्रधानमन्त्री बन्ने रहर पालेका देउवालाई रोक्नु पर्ने आवाज कोइराला समूहभित्र प्रखर बन्दै गएको छ।

ओली र कोइरालाबीच भएको बिहीबारको भेट देउवामाथि दबाव बढाउने रणनीति भएको हुन सक्ने बालुवाटारको बुझाइ रहेको छ। ‘उहाँलाई (शेखर कोइराला) देउवा माओवादीसँग मिल्दा म किन ओलीसँग मिल्न नहुने भन्ने लागेको हुन सक्छ,’ बालुवाटार निकट स्रोतले भन्यो, ‘अहिले शेखर दाइले ओलीजीलाई भेटेर केही फकर पर्दैन, यो खाली प्रधानमन्त्रीमाथि दबाव बढाउने रणनीति मात्रै हो।’

गठबन्धन नगरी चुनावमा जाँदा यसअघि कै जस्तो नतिजा आउने भन्दै देउवाले पार्टीलाई जिताउन गठबन्धन गर्नु परेको स्पष्टिकरण दिँदै आएका छन्। तर कोइराला समूहले भने पार्टी हारे पनि कांग्रेसका कार्यकर्ताले रुखमा भोट हाल्न पाउनुपर्ने तर्क गर्दै आएको छ।

एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको सङ्घीय क्षेत्र नं १ र २ को समिति बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ, समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरिएकोे छ भने समानुपातिकतर्फ मङ्गलाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्रकुमार तामाङ, निशा लामा, दोर्जे लामा र पाल्साङ लामाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतम तथा  समानुपातिकतर्फ प्रदीपकुमार लामा, पासाङ डोल्मो लामा, यशु लामा र ध्रुवकुमार रायमाझी र प्रतापसिं लामाको नाम सिफारिस गरिएको छ । (ख) मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुस्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिरफारिस गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर तामाङ, सरोजप्रसाद कुइँकेल र रामदेवी लामाको नाम परेको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, पदमबहादुर परियार र वीना परियारको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को (क)मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ।  उहाँ अहिले पनि बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ । समानुपातिकतर्फ हरिगोपाल प्रधानाङ्ग, वीरबहादुर तामाङ र कल्पना श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ को (ख) मा भने प्रत्यक्षतर्फ बसुन्धरा हुँमागाईको नाम सिफारिस गरिएकोे छ । उहाँ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री एवं एकीकृत समाजवादी पार्टीको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष हुनुहुन्छ । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ दिलबहादुर तामाङ, राजकृष्ण गिरी, प्रेमकुमार तामाङ र मधु श्रेष्ठको नाम सिफारिस गरेको जिल्ला कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिबाट सिफारिस भएर आएको नामलाई बागमती प्रदेश समितिमा पठाइएको र सो समितिबाट आवश्यकताको आधारमा छनोट गरी केन्द्रीय कमिटीमा पठाएपछि त्यहाँबाट अन्तिम टुङ्गो लाग्ने भएको छ  ।

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन

१७ भदौ, काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार (आज) प्रदर्शन गरेका हुन् ।

‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन गर, फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर’ जस्ता नारा र प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

महसुल नतिर्ने छ हजार ग्राहकको विद्युत लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने छ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले विद्युत् बन्द गरिदिएको हो ।

कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारवाही गरेपछि तिनीहरुबाट रु १७ करोड ५१ लाख २८ हजार जरिवानासहित विद्युत् महसुल उठेको छ । ती मध्ये सोही अवधिमा पाँच हजार सात सय ७६ ग्राहकको लाइन जोडिएको बताइएको छ । लाइन काटिएकाबाट कूल उठ्नुपर्ने रकम १९ करोड, ९५ लाख ७७ हजार दुई सय आठ रहेको थियो ।

उक्त कारवाही सो प्रदेश कार्यालयअन्तर्गतको हेटौँडा वितरण केन्द्र, टाडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली वितरण केन्द्र, सिन्धुली वितरण केन्द्र तथा पालुङ वितरण केन्द्रले विद्युत् सेवा लिएर महसुल नबुझाएपछि कारवाही गरेएको सो कार्यालयबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ ।

ती कार्यालयबाट विद्युत् चोरी गर्ने गत आर्थिक वर्ष ०७८/७९ मा एक सय ९४ ग्राहकलाई कारवाही गरी रु २१ लाख ४२ हजार चार सय ५४ जरिवाना सङ्कलन गरेको भएको थियो ।

त्यस्तै विभिन्न कारणले हुने विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा कम भएको सो प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा विद्युत् चुहावट घटेको हो । विद्युत् चुहावट अघिल्लो वर्षमा ७ दशमलव ७२ प्रतिशत थियो भने गत आर्थिक वर्षमा घटेर ७ दशमलव ३७ प्रतिशतमा झरेको हो ।

ती कार्यालयमा विगतका तुलनामा विद्युत् ग्राहक सङ्ख्या बढेर यस वर्ष तीन लाख तीन हजार आठ सय ४५ भएको बताइएको छ । सो अवधिमा ७३ करोड २९ लाख २१ हजार युनिट विद्युत् महसुल बिक्री भएको र त्यसबापत रु पाँच अर्ब ७६ करोड ६० लाख १७ हजार विद्युत् महसुल सङ्कलन भएको सो प्रदेश कार्यालयका लेखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । अर्थात् ९४ दशमलव ३७ प्रतिशत विद्युत् महसुल सङ्कलन भएको हो ।

सो कार्यालयअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको प्रदेश डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्राप्त विवरणअनुसार हेटौँडा वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा ५ दशमलव ११ प्रतिशत चुहावट थियो भने गत आर्थिक वर्षमा ३ दशमलव १५ प्रतिशतमा झरेको, पालुङ वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा २६ दशमलव ५५ प्रतिशत विद्युत् चुहावट थियो भने गत आर्थिक वर्षमा २५ दशमलव ९२ प्रतिशतमा झरेको, टाँडी वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा १२ दशमलव २७ प्रतिशतबाट गत आर्थिक वर्षमा १२ दशमलव १८ प्रतिशतमा चुहावट झरेको बताइएको छ ।

त्यस्तै भरतपुर डिभिजन केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट ५ दशमलव ४८ प्रतिशत थियो भने गत आर्थिक वर्षमा ५ दशमलव ४५ प्रतिशतमा झरेको, चनौली वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा १४ दशमलव ५१ प्रतिशत चुहावट थियो भने गत आवमा २० दशमलव ९१ पतिशतमा झरेको तथा सिन्धुली विद्युत् वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट १६ दशमलव ५२ प्रतिशत थियो भने गत आवमा ११ दशमलव ९८ प्रतिशतमा विद्युत् चुहावट झरेको प्राप्त विवरणमा बताइएको छ ।

अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर बनाइएका अनधिकृत संरचना दशैंसम्म भत्काउन निर्देशन दिएका छन् ।

ललितपुर महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको छ । ‘हाम्रो महानगरमा ठुला मलहरु धेरै छैनन्, अनधिकृत संरचनाहरु, निर्माण भएको, फुटपाथ ओगटेको संरचना पनि धेरै छैनन् । केही छन भने दशैंसम्म हटाउन निर्देशन दिएका छौं, मानेनन् भने हाम्रो नगर प्रहरी गएर हटाउँछ,’ हाछेथुले भने ।

महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेका छन् । ठेक्कामा दिएको उक्त भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो ।

नगर प्रहरी प्रमुख हाछेथुले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने भएकाले बिहान नगर प्रहरीको टोलीले भत्काएको बताए ।

डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले वृद्धि, पेट्रोलको भने यथावत

काठमाडौं । सेप्टेम्बर १ मा आईओसीबाट मूल्य बढेर आएपछि नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । यसअघि तीनपटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।

जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेका छन् ।

कान्ति बाल अस्तपालले माग्यो २० जना नर्स

काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्तपालले करार सेवामा नर्सको माग गरेका छन्। अस्पतालले सघन उपचारकक्ष विस्तारका लागि २० जना नर्स माग गरेको हो ।

नयाँ आर्थिक वर्षमा स्वीकृत दरबन्दी अनुसार पदपूर्ति समितिको भदौ १६ गतेको निर्णयअनुसार नर्सका लागि आवेदन खुल्ला गरिएको अस्पतालले जानकारी दिएको छ।

जनरल नर्सिङ समूहतर्फ पाचौँ तहमा स्टाफ नर्स माग गरेको हो। योग्यता पुगेका इच्छुकलाई भदौ ३१ गतेभित्र निवेदन दिन भनिएको छ।

राष्ट्रिय सभाको बैठक आज बस्दै नागरिकता विधेयकमाथि छलफल हुने

काठमाडौं १७ भदौ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो । बैठक भदौ १७ गते शुक्रबार अपराह्न २स् ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो ।

उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुंगो दाहाल

सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुंगोमा पुग्न लागेको बताएको छ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुगेका प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताएका हुन्।

गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनले भने, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ। तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन। सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौं।”

कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उनले बताए।

पत्रकार भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए। नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उनको भनाइ थियो। निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष प्रचण्डले बताए।

होर्डिङ बोर्ड पनि हटाउने बालेनको निर्देशन

काठमाडौं, भदौ १६ गते । अवैध संरचना हटाउने क्रममा अब काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउने भएका छन् ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान जारी राख्नु भएका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अब होर्डिङ बोर्ड हटाउन लागनु भएको हो ।

बालेनको निर्देशनमा महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउने भएको छ ।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जानकारी गरायो । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर जाँदै छ ।

महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गरेर अभियान शुरु गरेको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरेको भन्दै बन्द गरिएको हो ।

जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी

काठमाडौं, भदौ १६ गते । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।

बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले जवाफ लिएको हो । समितिका सदस्य कल्याणी कुमारी खड्काले समितिले जबरासँग दुई वटा प्रश्न सोधेको जानकारी दिइन् ।

बिहीबार बिहान ११ बजेदेखि सुरु भएको जवाफ कार्यक्रम केही समयअघि सकिएको जानकारी उनले जानकारी दिइन् । उनले अर्को बैठक १९ गते आइतबारलाई राखिएको बताइन् । बुधबारदेखि जवाफ लिने क्रम सुरू भएको हो । जवाफका लागि समितिले ४३ प्रश्न तय गरेको छ ।

पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको जवाफ दिएका थिए ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका जबराको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको हो ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई जवाफका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार जबरा बुधबारदेखि जवाफ दिनका लागि समितिमा उपस्थित भएका हुन् ।

जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबराविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।