बैतडीमा सत्ता गठबन्धमा दरार

बैतडी । बैतडीमा गठबन्धनका दलका बागी उम्मेदवारी फिर्ता नलिएपछि दरार पैदा भएको हो। नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारी दर्ता कायमै राखेको छ भने बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुले पनि उम्मेदवारी फिर्ता नलिएर उम्मेदवारी कायमै राखेका हुन्।

प्रतिनिधिसभाका लागि कांग्रेस नेता केशवबहादुर चन्दले आफ्नो उम्मेदवारी कायमै राखेका छन् भने प्रदेशसभाका लागि क्षेत्र नं (क)बाट पनि कांग्रेस नेता हरि मोहन भण्डारीले पनि उम्मेदवारी कायमै राखेको छ। क्षेत्र नं (क)बाटै नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गरेका नरेन्द्र बिष्टले पनि उम्मेदवारी कायमै राखेपछि सत्तागठबन्ध संकटमा परेको छ।

गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवँर (बियजसुन्दर)ले टिकट पाएका थिए। उनको प्रतिपक्षमा अब गठबन्धनकै हितौसी कांग्रेस नेता केशव बहादुर चन्दको सामना गर्नुपर्ने छ। बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दामोदर भण्डारीलाई राहत मिलेको छ।

त्यसैगरी दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धनबाट दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएको थियो। क्षेत्र नं (क)बाट कांग्रेसका वीरबहादुर बिष्टले टिकट पाएका हुन्। उनले अब नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्ट र नेपाली कांग्रेसबाट बागी उम्मेदवार हरिमोहन भण्डारीसँग नै भिड्नुपर्ने भएको छ। यसरी प्रदेशसभाको क्षेत्र नं (क)मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाललाई राहत मिलेको छ।

क्षेत्र नं (ख) बाट कांग्रेसका शिवराज भट्टले टिकट पाएका हुन्। क्षेत्र नं (ख)मा भने बागी उम्मेदवार छैनन्। निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका एमालेका लिलाधर भट्ट नै मुख्य प्रतिस्पर्धी हुन्।

नेता भीम रावलले पार्टी नछोड्ने

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्दै नेता रावलले आफूले पार्टी नछोड्ने बताएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अछामबाट टिकट नपमएपछि रावल असन्तुष्ट बनेका थिए।

पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिवद्ध उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए। रावलले भने,‘एमालेमा होलिवाइनलाई पनि उम्मेदवार बनाइएको छ। एमालेभित्रै संविधान दिवसलाई कालो दिवस मनाउने पनि देख्छु। जसको विरुद्धमा एमालेका कार्यकर्ताहरूले रगत बगाउनुप‍रेको थियो तिनलाई पनि एमालेले उम्मेदवार बनाएको देख्छु। अनि कसरी एमालेका सबै उम्मेदवारलाई जिताउन भन्छु ? भन्नुस् त।’

उनले आफू सधैं न्यायको पक्षमा लड्ने मान्छे भएको र पार्टी भित्र नै संघर्ष गरी योग्य उम्मेदवारलाई जिताउन लागी पर्ने बताए।

पार्टी कसैको निजी वा निजी स्वार्थ पूर्ति गर्ने माध्यम नभएको बताए। रावलले भने, ‘यो सामुहिक नेतृत्व, भावना तथा मार्क्सवादी दर्शनको आलोकमा नेपालको संविधानद्वारा निर्दिष्ट उद्देश्य हासिल गर्न क्रियाशील रही देश र जनताको हितमा काम गर्नुपर्ने संगठन हो।’

घोषित सिद्धान्त र कार्यक्रमको रक्षा नगरी पाटीको रक्षा हुन नसक्ने उनको भनाइ छ। रावलले भने राष्ट्रिय हित र स्वाधीनताको पक्षमा निर्भिकता साथ नउभिइ बाह्य हस्तक्षेप र षडयन्त्रलाई रोक्न सकिन्न। यही मान्यताका साथ म आजको बिन्दुसम्म प्रयासरत छु। देश र जनताको पक्षमा मैले उठाउँदै आएको झण्डा अविचलित निरन्तर समाति नै रहने छु। देश र जनताको हक–हितविरुद्धका विचार र गतिविधिविरुद्ध संघर्ष जारी रहने छ। यसमा मलाई विश्वास छ, नेपाली जनता र पार्टीका अधिकांश कार्यकर्ता–सदस्यको साथ–सहयोग रहने छ।’

नेप्से ४.१५ अंकले बढ्यो

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । नेप्से ४.१५ अंकले बढे र बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने अाज (बिहीबार) पनी बढ्न सकेन ।

बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ भएको छ । बिहीबार जलविद्युत् उपसमूहबाट अन्य उपसमूह हरियाली रहे ।

सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाए । अभियान लघुवित्तमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लाग्दै मूल्य ६६७.० रुपैयाँ पुग्यो ।

सिटिजन्स म्युचुअल फण्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट डिभेन्चरसहितको मूल्य धेरैले घटेको छ । नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

मन्त्री बर्खास्तीका लागि पुग्यो नामावली: राष्ट्रपति कार्यालय

काठमाडौँ । बर्खास्तीका लागि चार मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुगेको छ ।

प्रशासन विशेष स्रोतका अनुसार गठबन्धन तोडेका जसपाका चारजना मन्त्री बर्खास्तीका लागि प्रधानमन्त्रीले राष्ट्रपति कहाँ नामावली पठाएको हो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव सरकारमा सहभागी छन् ।

सत्ता गठबन्धनसँगको चुनावी तालमेलमा सिट बाँडफाँटबारे असहमति जनाएर जसपाले एमालेसँग सहकार्य गरेपछि उनीहरूको पद धरापमा परेको हो ।

०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि जसपाका मन्त्रीले राजीनामा नदिए सोही परिस्थिति आउने देखिन्छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन ।

सत्ता गठबन्धनको समर्थन साहलाई

काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्रबाट उम्मेदावी दिएको प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट(३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ।

आँखा स्वस्थ राख्ने उपाय

‘आँखामा नीलो आकाश अटाउँछ भने कहिलकाहीँ गहिरो सागर पनि बग्छ’
‘हुनत आँखा एउटा समग्र ब्रमाण्ड हो, जहाँ माइल दुरीसम्मका तस्बिरहरु कैद भएका हुन्छन्’

“सुन्दर संसारको परिकल्पना त्यतिबेला हुन्छ जति बेला हाम्रा आँखा स्वस्थ हुन्छन्”

प्रकृति अनि सुन्दर संसारको शितलतामा विलप्त हुन कसलाइ पो चाहाँना नहोला र अझ भन्नु पर्दा मानिस मात्र नभएर प्राय सबै प्राणीहरु प्रकृतिप्रेमी हुन्छन्। भनिन्छ फुलको आँखामा फुलै संसार अथवा राम्रो आँखा भयो भने संसार त्यसै राम्रो हुन्छ तर आँखामै खराबी भयो भने संसार जति राम्रो भएपनि कुनै किसिमको हर्सोउल्लास हुदैन।

सुन्दर संसारको निर्माण वा परिकल्पनाका लागि स्वस्थ आँखा हुनु एकदमै जरुरी छ।अन्तयमा भन्नुपर्दा स्वस्थ आँखा र सुन्दर संसार एक अर्काका परिपुरक हुन्।मानिसका पाँचवटा इन्द्रियमध्ये आँखा प्रमुख इन्द्रिय हो। राम्रा ठुला र चमकिला मृगनयनी आँखाको जति महत्व हुन्छ त्यो भन्दा महत्व स्वस्थ आँखाको हुन्छ।

सामान्य भाषामा भन्नुपर्दा स्वस्थ आँखा भन्नाले दृष्टि राम्रो भएको, आँखा राम्रोसँग खुल्ने बन्द हुने, आँखा सिधा भएको, आँखाको सेतो भाग सेतै र कालो भाग कालो भएको आँखालाई मानिन्छ। स्वस्थ आँखाले सौन्दर्यलाई पनि आकर्षक बनाउँछ। त्यसैले आँखाका विषयमा संवेदनशील हुनु आवश्यक छ। 

आँखा स्वस्थ राख्न सहयोग पुग्ने १० उपाय
हामी आफ्नो शरीर तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने आदि  गर्छौं। तर हाम्रो स्वास्थ्यको महत्त्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ भने ध्यान पुर्‍याउन सकेका हुँदैनौं। आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो। यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्‍याउन सक्छ। यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं। यहाँ आँखा जोगाएर स्वस्थ राख्ने मुख्य १० वटा उपायहरु दिइएको छ।

१.    सन्तुलित पोषण
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्त्वमा भिटामिन ‘ए’ महत्त्वपूर्ण मानिन्छ। जुन तत्त्व हरियो सागपात पहेलो फलफूलबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ। भिटामिन ‘ए’ रेटिनाका लागि अति आवश्यक तत्त्व हो दूध र दूधबाट बनेका पदार्थ र अण्डामा पनि भिटामिन ए र डी पाइन्छ। आँखाको समस्याबाट बच्न प्रशस्त पानी पिउनुपर्छ।

२. निद्रा 
स्वस्थ र राम्रो आँखाका लागि दिनमा कम्तिमा ८ घन्टा राम्रोसँग निदाउनुपर्छ। पर्याप्त मात्रामा निद्रा पुगेन भने आँखा दुख्ने रातो हुने टाउको दुख्ने खालका समस्याहरु देखा पर्न सक्छन जसले गर्दा असहज अवस्था आउँछ।

३. व्यायाम
नियमित व्यायाम गर्नाले शरीर फुर्तिलो हुन्छ।आँखा स्वस्थ हुनका लागि शरीर पनि स्वस्थ हुन जरुरी हुन्छ। शारीरीक व्यायामका साथै आँखाका पनि व्यायामहरु हुन्छन। नियमित रुपमा व्यायाम गर्ने बानी गर्नाले शरीरमा स्फुर्ती प्रदान हुने र आँखा पनि  स्वस्थ हुन्छ।

४. नियमित रुपमा हातमुख धुने
हाम्रो हातमा आँखाले नदेखिने खालका विभिन्न किसीमका रोगका किटाणुहरु टासिएर रहेका हुन्छन्। हामीले बारम्बार हाम्रो हातले अनुहार तथा आँखा छुने गर्दछौं जसले गर्दा हातमा रहेका किटाणुहरु अनुहार र आँखा सम्म पुग्ने गर्दछन्। ति किटाणुहरुले आँखामा संक्रमण गराइ आँखा खराब हुन सक्छ। त्यसैले नियमित रुपमा आँखा र हात मुख धुने गर्नु पर्दछ। 

५.नियमितरुपमा आँखा जाँच गर्ने
कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन्। जब समस्या आइपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ। भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि वर्षम्म कम्तीमा एक पटक आँखाको जाँच गराउनुपर्छ ।

६.चश्माको उचित प्रयोग गर्ने
आँखामा विभिन्न प्रकारका दृष्टि दोषहरु हुन्छन्। दृष्टि दोषहरुको उपचार वा व्यवस्थापन जे भने पनि त्यसको उपाय भनेको चश्माको प्रयोग हो। चश्मा प्रयोग गर्दा सम्बन्धित विषेशज्ञको सिफारिसमा मात्र प्रयोग गर्नुपर्छ।

७. सुरक्षाका उपायहरु अपनाउने 
कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना-साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ। त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ। सामान्य कार्य जस्तै- कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ। त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ।

८. धूमपान नगर्ने
धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन। धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ। त्यसैले आँखाका लागि धूमपान त्याग्नुपर्छ र धूम्रपान र मध्यपान जस्ता कुलत बाट टाढै रहनु पर्छ।

९. २०-२०-२०को नियमको पालना गर्ने
टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु हेर्दा वा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ।जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्ने जस्ता समस्या देखापर्छ।यसबाट बच्न छिन्-छिनमा कम्प्युटरको स्क्रिनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ। समग्रमा भन्नुपर्दा भिजन २०-२०-२०को नियमको पालना गर्नुपर्दछ। सो नियम अनुसार टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु लगातार २० मिनेट हेरिसकेपछि २०सेकेण्डसम्म २० फिट टाढाको दुरी हेर्ने गर्नुपर्दछ र सो कुरालाई पनि भुल्नु हुँदैन।

१०. स्वस्थकर बानी व्यवहार अपनाउने
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्त्व प्राप्त गर्न सकिन्छ। साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गराई आँखामा पर्ने चाप कम गर्न सकिन्छ। हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ। समय-समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ। आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फ लागि हाल्नुपर्छ।

शिर्ष नेतालाई क-कसले दिँदैछन् चुनौती ?

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेका छन्। निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशित गरिसकेका छन् र अब यीनै उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुरा निर्वाचन क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेले चक्र स्नेहीलाई उठाएको थियो तर पछि नाम फिर्ता लिएको छ।

देउवालाई चुनौती दिन एमालेले उम्मेदवार उठाएको छैन। एमालेले डडेलधुरा क्षेत्र नं.१ मा नेपाली कांग्रेस (बी.पी.)का उम्मेदवार कर्ण बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ।

देउवा उठेको क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले श्याम सिनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायतलाई उम्मेदवार बनाएका छन्। सोही क्षेत्रमा स्वतन्त्र रुपमा बिक्रम बहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायतले पनि उम्मेदवारी दिएका छन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरिएको छ।

ओली उठेको झापा क्षेत्र नं.५ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले ओम माया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्र प्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले चन्द्र प्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी र मंगोल नेशनल अर्गनाइजेसनले सान बहादुर मेचेलाई उठाएको छ।

झापा क्षेत्र नं.५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कविन्द्र शेर्मा लिम्बु, नेश्नलिस्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुत्ति पार्टीले पदम बहादुर जवेगु, नेपाली कांग्रेसले सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले राम प्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीले शुरेस कुमार पोखरेललाई उम्मेदवार बनाएको छ।

ओलीको क्षेत्रमा स्वतन्त्र रुपमा रोहीत प्रसाद पौड्याल, दिपक कुमार पाठक, रामचन्द्र बानिया, भेषराज भट्टराई, सिताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणी दाहाल, केदार नाथ चापागाई, रेवती रमण खनाल र तुलसी राम काफ्लेले पनि उम्मेदवारी दिएका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ । प्रचण्डलाई चुनौती दिन नेकपा एमालेले अब्दुस सलाम मियालाई गोरखा क्षेत्र नं.२ मा उतारेको छ।

प्रचण्ड उठेको गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीले प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टीले प्रकाश थापा, राष्ट्रि प्रजातन्त्र पार्टी नेपालले कुल बहादुर बस्नेत, नेकपा (माक्र्सवादी लेनिनवादी)ले नारायण बाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेसनले सोम बहादुर गुरुङ, नेपाली कांग्रेसले टिका दत्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा स्वतन्त्र रुपमा गणेश देवकोटा र विनोद कुमार गुरुङले उम्मेदवारी दिएका छन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ। नेपाललाई चुनौती दिन नेकपा एमालेले रौतहट क्षेत्र नं.१ मा अजय कुमार गुप्तालाई उम्मेदवार बनाएको छ।

रौतहट क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीले बैद्यनाथ चौधरी, जनमत पार्टीले राजेन्द्र प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरोज कुमारी, नेपाल सुशासन पार्टीले रंजित कुमार पटेल, नेपाल जनता दलले सुबोध चन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले मिस्टर सुर्यदेव प्रसाद कोइरालालाई उम्मेदवारको रुपमा उठाएको छ।

उक्त क्षेत्रमा स्वतन्त्ररुपमा अवधेश कुमार ठाकुर, राहुल कुमार मिश्र, अनिल कुमार लाल दास, राम अधार महतो कोइरी, मोहम्मद जियाउल हक, चन्दन कुमार जयसवाल, रेवन्त झा, रामबलि यकुमार यादव र कोशिला देवीले उम्मेदवारी दिएका छन्।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन्। यसक्षेत्रमा जनता समाजवादी पार्टी र नेकपा एमालेबीच तालमेल भएको छ। उपेन्द्र यादवलाई चुनौत दिन यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जय प्रकाश ठाकुरलाई उम्मेदवार बनाएको छ।

सप्तरी क्षेत्र नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले कैला मंसुरी, नेपाल मजदुर किसान पार्टीले देव नारायण यादव, जनमत पार्टीले चन्द्रकान्त राउत, हाम्रो नेपाली पार्टीले डम्बर नारायण साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हजरत अलि, नेपाली कांग्रेसले चिरञ्जिबी लाल देव, पिछडावर्ग निषाद दलित जनताजी पार्टीले सुमत्रा मण्डल, नेपाल संघीय समाजवादी पार्टीले प्रमलिा देवी मण्डल, नेपाली जनता दलले चन्द्र कुमारी देव र राष्ट्रिय स्वतन्त्र पार्टीले वरुण कुमार झालाई आफ्नो उम्मेदवार बनाएको छ।

सप्तरी क्षेत्र नं.२ मा स्वतन्त्ररुपमा विरेन्द्र कुमार मिश्र, महेन्द्र प्रसाद देव, चित्तनारायण यादव र विनोद कुमार यादवले उम्मेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.३ बाट उम्मेदवारी दिएका छन्।

यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरीएको छ। यसैकारण यहाँ एमालेले उम्मेदवारी दिएको छैन । झापा क्षेत्र नं.३ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले कृष्ण प्रसाद सिटौलालाई उठाएको छ।

यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले बीर बहादुर राई, नेपाल मजदुर किसान पार्टीले कृष्ण गोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीले भोट लाल राजवंशी, मौलिक जरोकिलो पार्टीले चूडामणि अधिकारी र हाम्रो नेपाली पार्टीले योगेन्द्र प्रसाद खनाललाई उम्मेदवार बनाएका छन्।

यस्तै झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देवी रमण भट्राई, मंगोल नेशनल अर्गनाइजेसनलले श्याम बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीले गजेन्द्र लिम्बु, नेपाली कांग्रेसले भक्ती प्रसाद पनेरु, सचेत नेपाली पार्टीले ओम प्रकाश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश पाठकलाई उठाएका छन् । यस क्षेत्रमा स्वतन्त्र रुपमा प्रेम प्रसाद खनाल, डम्बर बहादुर गिरी र मनोरथ राजवंशीले पनि उम्मेदवारी दिएका छन्।

असाेज २७ गते बिहिबार, यस्ताे छ तपाईकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा उर्जा थपिने छ । तपाईले आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । तपाईलाई गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आजको दिन आकस्मिक धनलाभ हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन देवीको मन्दिर यात्रा गर्नुहोला । मौन रहनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयका दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर गरिएको हरेक काम सफलता मिल्नेछ । आज तपाईको मनमा खुसियाली छाउने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

व्यापार ब्यबसायमा नयाँ लगानी गर्दा फाइदा हुन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाह अनुसारक काम गर्दा तपाईलाई फाइदा हुनेछ । कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले हरेक विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम नगर्न होला । आजका दिन व्रत गर्नु निकै उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन यात्राको लागि अवसर  र नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । कुमारी कन्यालाई खाना र बस्त्र दान दिनुभयो भने राम्रो हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । विहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गरेका तपाईकको अधुरा कामहरु पुरा हुनेछन् । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिनशुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । विवाद हुने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । परिवारबाट असहयोग हुनसक्छ त्यसैले कसैको साथ  नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ । अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ । नभए गुरुजनको आशीर्वाद सुन्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काम गर्न इच्छा जाग्नेछ । यात्राको लागि अवसर आउने छ । धार्मिक तीर्थस्थलीको यात्राले तपाईको मनोइच्छा पूरा हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन व्रत गर्नु उत्तम हुनेछ ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेका छन् । एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँ घटेको हो ।

दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको हो ।

एसोसिएसनका अनुसार यस अवधिमा कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँ घटेको छ । १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४१ खर्ब ९३ अर्बमा झरेको छ । समग्रमा असोजमा २१ दिनमा निक्षेप २५ अर्ब निक्षेप बढेको छ भने कर्जा प्रवाह ३ अर्ब मात्रै बढेको छ । असोज २१ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ ।

बाराही हाइड्रोपावर ४ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

काठमााडौँ । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

१७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।

अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । ‘हामीले बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ । तीन दिनमात्र दिनुपर्छ भन्यौं’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘श्रीमान सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको छ ।’

लोक सेवा आयोगले चार सय भन्दा बढी उपसचिव र सहसचिवको विज्ञापन ल्याउदै

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको विज्ञापन गर्ने भएको छ ।

आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार आज (बुधवार) विभिन्न सेवाका गरी चार सय भन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गर्न लागेको हो ।

प्रशासन सिंहदरबार स्रोतका अनुसार निजामती तर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवा तर्फ ११औँ र नवौँ तह, मानव अधिकार सेवाको अधिकृत प्रथम र द्वितीय, संघीय संसद्को राजपत्राङ्कित प्रथम र द्वितीयको प्राविधिक र अप्राविधिक गरी चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै छ ।

जसमध्ये प्रशासन सेवा तर्फ उपसचिव सामान्य प्रशासन तर्फ ८०, राजश्व १७ र लेखा १४ जनाको विज्ञापन हुँदै छ भने सहसचिवका लागि २२ पदका लागि विज्ञापन हुँदै छ ।

विगतमा झैँ आज पनि सहसचिवको दरबन्दी बढाउनु पर्ने भन्दै केही उपसचिवहरूले सिंहदरवास्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नाराबाजी गरे पनि सचिव अर्जुन प्रसाद पोखरेलले ‘जे हो, त्यही पठाइएको छ, यो भन्दा धेरै केही हुँदैन’ भन्दै हिँडेपछि लोक सेवालाई थोरै भए पनि हाइसन्चो भएको छ ।

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ ।

अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गर्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चात्को आर्थिक वृद्धिदर सकारात्मक रहने उस्को प्रक्षेपण छ ।

नेपालको आर्थिक विकासका लागि संरचनागत चुनौती रहेको उल्लेख गर्दै विश्व बैंकले कर प्रणालीको आधुनिकीकरण, वैदेशिक प्रत्यक्ष लगानी र सङ्घीय बजेटको पूर्ण कार्यान्वयनले मात्र दिगो र समावेशी वृद्धिको मार्ग रहेको उसको ठम्याइ रहेको छ ।

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

वाशिङ्गटन डिसी, २७ असोज । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।

युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पु¥याएको सहयोगबारे प्रशंसा गर्नुभएको थियो ।

साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गर्नुभयो । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गर्नुभयो ।

यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत पावरले लेख्नुभएको छ, “तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।” यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गर्नुभएको छ ।
उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो ।

नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशवाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ ।

उम्मेदवारी दर्ताका बेला केही विचित्र घटना

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको बाबुका लागि दलले दिएको टिकट छोरालाई दिनेदेखि पार्टीको टिकट अन्तिम समयमसम्म होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने सम्मका घटना भएका छन्।

त्यस्तै एउटा पार्टीबाट उम्मेदवारी दर्ता गराउन हिँडेका उम्मेदवार बीचमै अर्को पार्टी प्रवेश गरेर फरक पार्टीबाट उम्मेदवारी दर्तासम्म गराएका छन्। अदालतले तोकेको २ हजार रुपैयाँ जरिवाना बिर्सिएर वा जानाजानी नतिर्दा सत्ता गठबन्धनबाट पाएको टिकट रद्द भएको छ। प्रतिनिधि सभामा उठ्ने चक्करमा एक जनाले राष्ट्रिय सभाको उम्मेदवारी गुमाएका छन्।

मुस्ताङमा बाबुले दिए छोरालाई टिकट

मुस्ताङमा नेपाली कांग्रेसका सभापति रोमी गौचन थकालीलाई प्रतिनिधि सभा र प्रदेश सभाको टिकट केन्द्रले पठाएको थियो। त्यसमा उम्मेदवारको नाम भने समावेश थिएन। सबैले उक्त टिकटमा रोमी आफैं चुनाव लड्ने आँकलन गरेका थिए। तर रोमीले त्यस टिकटमा छोरा योगेश गौचनको नाम लेखेर उम्मेदवारी दर्ता गर्न लगाए।

छोरालाई आफ्नै बलमा टिकट भने नदिएको उनको दाबी छ। एमालेका उम्मेदवारसँग भिड्न पार्टीका कोही तयार नभएपछि छोरालाई उम्मेदवार बनाएको तर्क उनले गरेका छन्।

‘म प्रतिनिधि सभामा लड्ने विचारमा थिइनँ। साथीहरूसँग सल्लाह गर्दा एमालेका उम्मेदवार प्रेम तुलाचनसँग भिड्न कोही तयार भएनन्। साथीहरूले नै छोरालाई उठाउन सल्लाह दिएपछि मैले टिकट दिएको हुँ,।

२८ वर्षीय योगेश प्रतिनिधि सभातर्फ कांग्रेसबाट उठेका उम्मेदवारमध्ये कान्छा हुन्। त्यस क्षेत्रमा उनले नाताले भिनाजु पर्ने एमालेका प्रेम तुलाचनसँग प्रतिस्पर्धा गर्नेछन्।

पार्टीको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी

रौतहट-३ मा प्रभु साहले एमालेको टिकट पाएका थिए। अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएन। जसपाबाट एमाले प्रवेश गरेका नेताहरूलाई टिकट दिने प्रतिवद्धता अध्यक्ष केपी ओलीले पालना नगरेकाले साहले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

‘नेतृत्वबाट प्रतिवद्धताको पालना भएन म अब एमालेको रहिनँ, स्वतन्त्र भइसकें,।

एमालेको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएको घटनालाई अध्यक्ष केपी ओलीले गद्दारी भन्दै टिप्पणी गरेका छन्।

‘उहाँको योजना पार्टीलाई मधेस प्रदेशमै निल बनाउने थियो। सबै टिकट माग्नुभएको थियो। केही दिनदेखि उहाँले संदिग्ध गतिविधि गरेको खबर आएका थिए तर विश्वास गरेर पार्टीले टिकट दियो। उहाँले गद्दारी गर्नुभयो,’ ओलीले प्राइम टाइम्स टेलिभिजनसँग भनेका छन्। साहसहित उनी समर्थित आठ नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जसपाबाट मनोनयन दिन हिँडेका यादव बाटैमा बने कांग्रेसका उम्मेदवार

कपिलवस्तुमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउन हिँडेका सहश्रराम यादव कांग्रेसको उम्मेदवार बने। यादव यसअघि जसपाबाटै लुम्बिनी प्रदेशको सांसद तथा भौतिक पूर्वाधार मन्त्री थिए। अघिल्लो दिनको छलफल अनुसार उनलाई एमालेको समर्थनमा जसपाको उम्मेदवार बनाउने भनेर पार्टीले टिकट समेत दिएको थियो। तर निर्वाचन अधिकृतको कार्यालय बाणगंगा पुगेर उनले कांग्रेसबाट उम्मेदवारी दिए। यादव कपिलवस्तु १ को (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका हुन्।

बैंकिङ कसुरको २ हजार रुपैयाँ जरिवानाको नतिर्दा उम्मेदवारी रद्द

रूपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरूङको उम्मेदवारी रद्द भएको छ। बैंकिङ कसुरमा २ हजार रुपैयाँ जरिवाना नतिर्दा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरूङको उम्मेदवारी रद्द भएको हो।

गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनालसहितको नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरूङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो। त्यो जरिवाना तिरेको प्रमाण पेश गर्न नसक्दा गुरूङको उम्मेदवारी रद्ध भएको हो।

खिमलाल भट्टराईले गुमाए हुँदाखाँदाको सांसद पद

एमालेको क्षेत्र र जिल्लाले खिमलाल भट्टराईलाई नै रूपन्देही-५ को प्रतिनिधि सभा सदस्यका रूपमा एकल सिफारिस गरेको थियो। विष्णु पौडेलनिकट भनेर चिनिने भट्टराईको उक्त क्षेत्रमा राम्रो प्रभाव रहेको मानिन्छ। पौडेलको सिफारिस पनि भट्टराईलाई नै उम्मेदवार बनाउने भन्ने थियो। तर अध्यक्ष केपी ओलीले राष्ट्रिय सभामा भट्टराईको कार्यकाल अझै डेढ(दुई वर्ष बाँकी रहेकाले उनलाई बनाउन नमिल्ने जवाफ दिएका थिए।

भट्टराईले प्रतिनिधि सभामा टिकट नपाउने भएपछि रूपन्देही-५ मा अर्को उम्मेदवारको खोजी भयो। यस क्रममा नेता पौडेलले तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेलाई अघि सारे। घिमिरेलाई रूपन्देही-५ को टिकट दिएर पठाएलगत्तै भट्टराई अध्यक्ष ओलीकहाँ पुगे। उनले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभाबाट राजीनामा दिएको ओलीलाई स्मरण गराए।

त्यसपछि ओलीले पार्टीको आधिकारिक उम्मेदवार भट्टराई नै भएको निस्सा दिए। एमालेले निर्वाचन कार्यालयलाई पनि चिठी लेखेर वासुदेव घिमिरेको उम्मेदवारी भूलवस भएकाले भट्टराईको टिकटलाई मान्यता दिनु भन्यो। पार्टीले दिएको टिकट र चिठी लिएर भट्टराई आइतबार दिउँसो उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगे। तर आयोगले सुरूमा उम्मेदवारी दर्ता गराएका घिमिरेलाई नै आधिकारिकता दिएपछि भट्टराई उम्मेदवार हुन पाएनन्। उनी पुग्दासम्म घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका थिए।

एकै क्षेत्रमा एउटै दलबाट दुई जना उम्मेदवारको नाम हाम्रो कम्प्युटरमा इन्ट्री हुँदैन, रूपन्देही-५ का निर्वाचन कार्यालय प्रमुख चिन्तामणि शर्माले भने, भट्टराई आउँदासम्म घिमिरेको उम्मेदवारी दर्ता भइसकेको थियो। भट्टराई पनि पार्टीको पत्र लिएरै आउनुभएकाले हामीले यसबारे छुट्टै निर्णय गर्नुपर्ने भयो।

निर्वाचन कार्यालयले कानुनअनुसार जसले पहिले उम्मेदवारी दियो उसैको कायम हुनेु निर्णय सोमबार दिउँसो सुनायो। यसरी राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवार बन्न गएका भट्टराईको दुवै पद गुम्यो भने यही कारणले एमालेले राष्ट्रिय सभामा एक सिट गुमायो।