नेप्से सूचकमा ११ अंकको सुधार

काठमाडौँ । दुई दिनको ४३ अंकको करेक्सनपछि चौथो दिन नेप्से सूचकमा ११ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचकमा ११.३६ अंकले बढ्दै १८६६.५२ अंकमा उक्लिएको हो ।

नेप्सेका अनुसार आज नेप्से सूचक ११ अंक माथिले बढे पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन । यसदिन पनि कुल २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदै ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।

आज ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरुमा आज सामान्य वृद्धि भएको छ ।

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा रहेका तीन यात्रु घाइते भएका छन् ।

सो दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडाँैतर्फ जाँदै गरेको सो गाडी अनियन्त्रित भएर पल्टिँदा चालकसहित चारजना घाइते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा चालकको मृत्यु भएको हो । घाइतेमध्ये वीरेन्द्रनगर नगरपालिका– ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका– ३ मा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नं को मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिँदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी–४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते कोइरालाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि ल्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘एक्सन’ मा उत्रियाे उपत्यका विकास प्राधिकरण

शहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले व्यापारिक भवन, हाउजिङलगायतका उपत्यका भित्रको सार्वजनिक जग्गा तथा संरचनाको दुरुपयोगलाई रोक्न एक्सनमा उत्रिने भएको छ । यसको लागि प्राधिकरणले एक साताको म्याद दिँदै सिधै कारबाही प्रकृयामा जाने भएको हो।

काठमाडौं । यसअन्तर्गत मापदण्ड पालना नगर्ने, स्वीकृती वा अनुमति नलिएका व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायतलाई कडा कारबाही गर्ने तयारी गरेको छ।

प्राधिकरणले असोज २४ गते (सोमबार) सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा तथा संरचनाहरुको नाप नक्सालगायतका कागतजात एक साता भित्र बुझाउन आदेश दिएको हो।

काठमाडौं उपत्यका भित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, सम्पूर्ण शिक्षण संस्था एव स्वास्थ्य संस्था लगायतका सार्वजनिक प्रयोग भइरहेका भवनहरुका सम्बन्धित व्यक्तिहरुले आफूसँग सम्बन्धित जग्गा तथा संरचनाहरुको नाप नक्सालगायतका कागतजात असोज ३० गतेसम्म बुझाउन प्राधिकरणले सार्वजनिक सूचना मार्फत आह्वान गरेको छ।

काठमाडौं उपत्यकाका सार्वजनिक जग्गा तथा भवनहरु कुन प्रयोजनमा प्रयोग भइरहेका छन् भन्ने विषय अनुगमन गर्न प्रयोगकर्तासँग सम्बन्धित जग्गा तथा भवनहरुको नाप नक्सा माग गरिएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले जानकारी दिइन्।

‘उपत्यकाका सार्वजनिक जग्गा तथा भवनहरु के कस्ता प्रयोजनका लागि प्रयोग भइरहेको भन्ने एकिन जानकारी प्राधिकरणलाई दिईएको छैन,’ ढकालले भनिन्, ‘त्यसैले सार्वजनिक सम्पत्ति कसरी र कसले प्रयोग गरिरहेको छ भन्ने बुझ्नका लागि नक्शा र आवश्यक कागजातहरु माग गरेका हौं।’

सार्वजनिक जग्गा तथा भवनको प्रयोगकर्ताहरुले असोज ३० गतेभित्र भक्तपुर, काठमाडौं र ललितपुर जिल्ला आयुक्त कार्यालयमा जग्गा तथा भवनहरुको नाप नक्शा बुझाउनु पर्नेछ। तोकिएको मिति भित्रमा सार्वजनिक जग्गा तथा भवनको नाप नक्सा उपलब्ध नगराउनेलाई कानुन बमोजिम कारबाही अघि बढाउने आयुक्त ढकालले बताइन्।

काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तथा गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण समेत गर्ने अधिकार प्राधिकरणमा रहेको छ । सोही अधिकार अन्तर्गत प्राधिकरणले सार्वजनिक जग्गा तथा भवनको नाप नक्सा माग गरेको हो।

रावलले भोलि पत्रकार सम्मेलन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक भीम रावलले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन् । ओलीले टिकट नदिएपछि पनि मौन बस्दै आएका रावलले टिकट नदिनुको कारण बिहीबार १ बजे कार्की बैंक्वटमा खोल्ने भएका हुन् ।

ओलीले अछाम–१ बाट रावललाई टिकट नदिएर झपट बोहोरालाई टिकट दिएका छन् ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले आफ्नो आलोचक रावलाई टिकट नदिएर बोहरालाई टिकट दिएका हुन् ।

नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज हुन् । अध्यक्ष ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो । दशबुँदे गरेर रावल सहित १० भाई माधव कुमार नेपालसमूहमा नगई एमालेमै बसेका थिए । रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।

चितवन-३ मा उम्मेदवारी फिर्ता

चितवन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवन-३मा बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उठ्ने तयारी गरेको उक्त क्षेत्रमा एमालले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो।
न्यौपानेले उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेका छन्।

उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि: “प्रमुख आयुक्त थपलियाक”

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताएका छन् ।

काठमाडौँ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि पर्यवेक्षण संस्थाहरूका लागि आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूमा केही उदाहरणले केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गरेका हुन् ।उनले निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग र एक प्रकारले नागरिक समाजको हैसियतमा पनि पर्यवेक्षक रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गरे ।

आवधिक निर्वाचनले नागरिकको अधिकार पुनः जागरण हुने र लोकतन्त्र बलियो भएको सन्देश जाने भएकाले यसका लागि उचित वातावरण बनाउन दलहरू, नागरिक समाज, आमसञ्चार र सबै पक्षको भूमिका हुने बताए । प्रमुख आयुक्त थपलियाले संविधान र कानुनबमोजिम निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको दायित्व आयोगको भएकाले सरकारले निर्वाचन गराउने अर्थमा बुझिनु गलत हुने स्पष्ट गर्दै बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा खराब दलको विकल्प असल दल हुने र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवार हुन पाउने उल्लेख गर्दै निर्वाचन सफल तुल्याउन सबैमा आग्रह गरे ।कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गरे ।

कार्यक्रमको प्राविधिक सत्रमा आयोगका सहसचिव पौडेलले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, समावेशीकरणसम्बन्धी कानुनी व्यवस्था, निर्वाचन तयारी र निर्वाचन कार्यक्रम, आयोगका पूर्वसचिव बेगेन्द्रराज पौडेलले पर्यवेक्षण संस्था र पर्यवेक्षकको आचारसंहिता तथा दायित्व, आयोगका उपसचिव कमल भट्टराईले निर्वाचन पर्यवेक्षणको अवधारणा र सम्बन्धमा नीतिगत व्यवस्था र आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले कार्ययोजना र प्रतिवेदनसम्बन्धी व्यवस्था तथा मतदान, मतगणना र निर्वाचन विवाद निरुपण विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षणमा निर्वाचनका लागि पर्यवेक्षण गर्न आवेदन दिइ अनुमति पाउने ४३ संस्थाका प्रतिनिधि सहभागी छन् ।

धादिङमा सिटामोल अभाव

धादिङ । डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमासमेत सिटामोल पाइन छाडेको छ। अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन्।

डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन। धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन्। निजी मेडिकलमा सिटामोल अभाव भएको छ।

धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै सकिएको छ। सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनुपरेको छ। सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजार–बजार चहार्न थालेका छन्।

डेङ्गुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ। धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन्। 

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सप्तरीमा जित्न कठिन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएको छ। जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष यादवले एमालेसँग गठबन्धन गर्दै उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनबाट बाहिरिँदै यादवले एमालेसँग तालमेल गरेका हुन्। स्थानीय तहको मतलाई आधार मानेर हेर्दा यादव उठेको सप्तरी क्षेत्र नम्बर २ मा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत बढी छ। एक्ला/एक्लै दलका रुपमा हेर्दा उक्त क्षेत्रमा जसपा ठूलो दलका रुपमा देखिन्छ। तर दुवैतर्फको गठबन्धनको मत हेर्दा भने यादवलाई निकै कम मत आउने सम्भावना देखिन्छ।

जसपा र एमालेको गठबन्धनभन्दा सत्ता गठबन्धन उक्त क्षेत्रमा धेरै मतले अगाडि देखिन्छ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेका छन्। सत्ता गठबन्धनबाट उक्त क्षेत्रमा लोसपाका जयप्रकाश ठाकुर उम्मेदवार छन्। उक्त निर्वाचन क्षेत्रमा जनमत पार्टीका सिके राउत पनि चुनावी मैदानमा उत्रेका छन्। तर स्थानीय तहमा भने उनको पार्टीबाट त्यति धेरै मत आएको देखिँदैन। स्थानीय तहमा मत नआए पनि राउतको आफ्नो छुट्टै छवि भएका कारण यसपटक मत बढ्न सक्ने अनुमान भने गरिएको छ।

जसपा अध्यक्ष यादव स्वास्थ्यमन्त्री हुँदा डुलुवा मन्त्रीको उपमा समेत पाएका थिए। मन्त्रालयको काममाभन्दा पार्टी र विदेश घुम्नमा मात्र उनको ध्यान थियो। उनले स्वास्थ्य मन्त्रालयमा असफल मन्त्रीको उपमा पनि पाएका थिए।

यस्तो छ स्थानीय तहको मत परिणाम
सप्तरी- २ अन्तर्गत महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन्। स्थानीय तह निर्वाचनमा यी ४ पालिकामध्ये २ वटामा लोसपाले प्रमुख जितेको छ। त्यस्तै, नेपाली कांग्रेस र जसपाले एउटारएउटा पालिका जितेका छन्।

गत स्थानीय तहको निर्वाचनमा सप्तरी-२ अन्तर्गत पर्ने वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा जसपा अगाडि छ। जसपाको १३ हजार १९७, कांग्रेसले ९ हजार ६६४, माओवादीले ८ हजार ९९० मत पाएका थिए। त्यस्तै, लोसपाले १० हजार १३२, एमालेले ४ हजार ८३७ र डा राउत नेतृत्वको जनमत पार्टीले ३ हजार ८७७ मत पाएको थियो।
यो आधारमा हेर्दा जसपा अध्यक्ष यादवलाई जसपा र एमालेको मत आउने देखिन्छ। जसपाको १३ हजार १९७ र एमालेको ४ हजार ८३७ मत गरेर यादवलाई १८ हजार ३४ मत आउने सम्भावना देखिन्छ।

यस्तै सत्ता गठबन्धनका तर्फबाट लोसपका उम्मेदवार जयप्रकाश ठाकुरलाई कांग्रेस, माओवादी र नेकपा एस र लोसपाको गरी ३० हजार ३४९ मत आउने देखिन्छ। सत्ता गठबन्धनको मत जसपा र एमालेकोभन्दा १२ हजार ३१५ बढी छ। स्थानीय तहको निर्वाचनपछि थपिएका मतदाता र सप्तरी दुईमा सप्तरीको सदरमुकाम राजविराज समेत पर्ने भएकाले मत तलमाथि हुने सम्भावना भने छ।

सिके राउतको पार्टीले सप्तरी जिल्लाकै दुई पालिका जितेको छ तर सप्तरी- २ अन्तर्गत पर्दैनन्। गृह पालिकामा एउटा वडाध्यक्ष जितेका डा राउत आफैं मैदानमा आउँदा फरक माहोल बन्ने अपेक्षा सो पार्टीको छ। राउत उपेन्द्र तथा उनी नेतृत्वको जसपाले हाँकिरहेको मधेस सरकारको तीव्र आलोचक पनि हुन्। त्यसैले उनले रणनीतिक रुपमै आफ्नो प्रतिस्पर्धी छनोट गरेको जस्तो देखिन्छ। त्यस्तै, डा राउतको छवि अध्ययनशील छ। उनले एउटा समूहमा आफूलाई लोकप्रिय पनि बनाएका छन्। सप्तरीको सदरमुकाम राजविराज पनि सप्तरी-२ अन्तर्गत नै पर्ने भएकाले सहरी क्षेत्रको मत तान्न सहज हुने आकलन उनको हुनसक्छ।

राउत नयाँ उम्मेदवार भएकाले पुराना उम्मेदवारलाई उनको लोकप्रियता आकलन गर्न कठिन हुन्छ। सम्भवतः यादवलाई पनि त्यही भइरहेको छ।

२०७४ को निर्वाचनमा सप्तरी-२ मा यादवले जितेका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेशकुमार यादव थिए।

उम्मेदवारी खारेज भएपछि सर्वोच्च जाने

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च जाने तयारी गरेको छ ।

समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले उम्मेदवारी खारेजीको विषयलाई लिएर सर्वोच्च जाने तयारी भएको जानकारी दिए । गुरुङसँग भने सम्पर्क हुन सकेन । बैङ्किङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भए पनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको विकले बताए ।

निर्वाचन आयोगले राजनीतिक पूर्वाग्रह राखेर उम्मेदवारी खारेज गरेकोले यसको विकल्पमा सर्वोच्च जाने तयारी भएको उल्लेख गरे । बैङ्किङ कसुर गरेको भनिएको कम्पनीले तिर्नुपर्ने रकम तिर्न खोज्दा पनि नदिइएको विकले दाबी गरे ।

निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मङ्गलवार राति ११ बजे सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैङ्कले कालोसूचीमा राखेको थियो ।

स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा। कमल भुसाल ९निकोलस०को उम्मेदवारी पनि खारेज भएको छ । गुरुङसहित तीनै जना रुपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धामा थिए ।

नवीन कार्कीको “सागर”ले श्रोताको मन छोयो

काठमाडौं । चाडपर्वको मौसमसँगै गायक नविन कार्की र मेलिना राईको नयाँ गीत ‘सागर’ले युवा ढुकढुकी समेट्दै बजार तताउन थालेको छ ।
यसअघि दुई दर्जन बढी गीत बजारमा ल्याइसकेका नविनको यो नविन प्रस्तुतिले साँगितिक बजारमा उनको उचाई थप्नेछ ।
सागरले मोति पायो, बत्तीले ज्योति पायो बोलको यो गीत सार्वजनिक भएको केही दिनमै २ लाख १५ हजारले युट्युवमा हेरिसकेका छन् ।
गीतको लेखन बरिष्ठ गीतकार डा।कृष्णहरी बराल र संगित रीमेशकुमार थापाले गरेका हुन् भने संगित संयोजन विश्व अधिकारी र रेकर्डिंग, मिक्सिंग भोला पौडेलले गरेका हुन् ।
यो भिडियो कार्टुन क्रीउका कलाकारले अभिनय गर्दै युट्युब च्यानलमार्फत यही दशैंको बीचमा श्रोता, दर्शकबीच सार्वजनिक गरिएको हो ।
भिडियोमा कार्टुन क्रीउका सरोज अधिकारी र आश्मा विश्वकर्माले मुख्य अभिनय गरेका छन् ।
माया प्रेम जोडिएको यो गीतमा मेलिना र नविनको स्वर खुलेको छ । गीतका शब्द र भाव अनुसार संगित र गायनसँगै अभिनयमा तालमेल देखिन्छ ।
दोलखा जफेका गायक नविनले यसअघि कुवाको पानी उघाई खाएँ जलुकी पातैमा, महलमा राज होला तिम्रो, आँखाले हेरिनीजस्ता गीत श्रोतामाझ लोकप्रिय भइसकेका छन् । ती गीतले विभिन्न म्युजिक अवार्ड समेत हात पारेका छन् ।
पछिल्लो सागरले मोती पायो, बत्तीले ज्योति पायोबाट हाम्रो टिमले निकै मेहनत पनि गरेको छ, श्रोता दर्शकबाट निकै राम्रो प्रतिक्रिया पनि पाइरहेका छौं । छोटो समयमा बढेका भियुर्स्ले पनि यही देखाउँछ, यो गीतप्रति आशावादी हुँदै गायक कार्कीले भने ।

मिनी ट्रक दुर्घटनाहुँदा दुईजना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनी ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

अत्यधिक वर्षाले किसानलाई नोक्सानी

अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “हामीले सबै पालिकामा लगातारको वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ”, उहाँले भन्नुभयो, “हालसम्म निसीखोलाको कागती र किबीखेतीमा क्षति पुर्‍याएको छ भने राम्रो धानबाली हुने क्षेत्रमा केही धान ढलेको पाइएको छ ।”

निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मीको किबी फार्ममा बाढी पसेर क्षति पुर्‍याएको छ भने निसीखोलाकै रमिलाल क्षेत्रीको कागतीको बगैँचा बगाएको छ । जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका केही क्षेत्रमा धानबाली पानीले ढलाएको छ । अत्यधिक वर्षाका कारण धानबाली ढलेको कृषकले बताएका छन् । बागलुङको दक्षिणि क्षेत्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा लगातार परेको वर्षाका कारण हिउँदे बालीमा क्षति पुर्‍याएको छ । बाला पसाउन लागेको धान र कोदोबाली तथा तरकारी बालीमा नोक्सानी पुर्‍याएकोे जैमिनी–१० किटेनीका नरबहादुर छन्त्यालले बताउनुभयो ।

बागलुङमा गत वर्ष पाँच हजार आठ सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो भने यो वर्ष छ हजार हेक्टर जमिनमा धानखेती गरिएको छ ।

ठूलोगाउँका छ घर उच्च जोखिममा

बागलुङमा गत वर्ष पाँच हजार आठ सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो भने यो वर्ष छ हजार हेक्टर जमिनमा धानखेती गरिएको छ ।

निरन्तरको वर्षाका कारण पहिरो जाँदा काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयवासीले बताए ।

स्थानीय जङ्गबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित छ परिवारको घर पहिराको उच्च जोखिममा परेको छ । घरभन्दा एक सय मिटर तलबाट निरन्तररूपमा जमिन चिरा–चिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जङ्गबहादुरले बताउनुभयो ।

“असारमा अलि–अलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छियाछिया बनेको छ, घरमा पकाउने खानेमात्रै हो सुत्ने र लत्ताकपडा छिमेकीको घरमा लगेर राखेका छौँ”, दर्जीले भन्नुभयो, “घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउँला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिराले मेरो घरसहित स्थानीय छ परिवारको उठिबास नै लगाउने भयो ।”

घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिराका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।

पहिरोले पुरिँदा चारको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन विवरण आइसकेको छैन ।

घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ । स्थानीय शाहीका अनुसार घाइते पाँच जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।

डा भुसालविरूद्ध दुईवटा उजुरी दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका कारन कमल भुसाल (डा निकोलस) विरूद्ध निर्वाचन अायाेगकाे कार्यालयमा उजुरी परेको छ। डा भुसालविरूद्ध दुईवटा उजुरी दर्ता भएको छ।

निर्वाचन कार्यालयका अनुसार डा भुसालविरूद्ध सोमबार दिउसो २ बजे दुई वटा उजुरी दर्ता भएको छ। भुसालविरूद्ध विष्णु विक र तोपनारायण पौडेलले अलगअलग उजुरी दर्ता गराएका हुन्। उनीहरु दुवै जना पनि उम्मेदवार हुन्।

भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी दिइएको छ। डा भुसाल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तह अध्ययन गरिरहेका छन्।

जसपाका मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी

सत्तागठबन्धन छाडेर जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग संघीय चुनावको लागी तालमेल गरेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले जसपाका मन्त्रीहरुलाई हटाउने भएका छन् ।

सत्तागठबन्धन छाडेर प्रतिपक्षी एमालेको गठबन्धनमा सामेल भएपछि देउवाले जसपाका मन्त्री हटाउने भएका हुन ।

जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादव वन तथा वातावरणमन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका छन्।

सत्तागठबन्धन छाडेसँगै जसपाले एमालेसँग १७ सिटका लागि तालमेल गरेको छ।